अध्यक्ष प्रचण्डको चर्चित लेखः दर्शन, वर्गसङ्घर्ष र सामाजिक क्रान्तिको सम्बन्ध

प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकतापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गठन भएको छ । नयाँ पार्टीको राजनीतिक कार्यदिशाका बारेमा बहस अझै शुरु भने भएको छैन । नेपाली क्रान्तिको कार्यदिशा के हुने ? नेपाली कम्युनिष्ट आन्दोलन अब कसरी अगाडि बढ्छ ? वर्ग, वर्ग संघर्ष र राज्यको चरित्रबारे नेकपाले कस्तो दृष्टिकोण बनाउने भन्ने विषय अब भने घनिभूत बहसको विषय बन्ने छ । यही सन्दर्भममा अध्यक्ष प्रचण्डको यो चर्चित लेख यहाँ साभार गरिएको छ ।

ज्ञान प्राप्तिको आशक्तिका रूपमा ग्रिक भाषाको Philosophy बाट बनेको दर्शन शब्दको पहिलो प्रयोगकर्ता पिथागोरसदेखि नै दर्शनबारे बहस अगाडि बढ्दै आएको छ । प्रारम्भदेखि नै आफू वरिपरिको प्रकृति, मानव समाज र चिन्तन प्रक्रियाबारे सुसङ्गत ज्ञान प्राप्तिको उत्कट इच्छाद्वारा दर्शनशास्त्र एवम् दार्शनिकहरूको विकास हुदै आएको छ ।

आदिम साम्यवाद र त्यसभन्दा अगाडिको सिङ्गो सामाजिक जीवनमा दर्शनशास्त्रको प्रत्ययवादी (Idealistic) स्वरूप मुख्य रूपमा प्रचलित थियो जसले सामाजिक चेतनामाथि पुराना र काल्पनिक शक्तिको आधिपत्य स्थापित गर्ने जमर्कोद्वारा एउटा निश्चित पौराणिक विधि–विधान खडा गर्ने र मानव जातिलाई भयमुक्त तुल्याउने प्रयत्न गर्दथ्यो । यसलाई कार्ल मार्क्सले, ‘कल्पना मार्फत् प्रकृतिका शक्तिहरूमाथि नियन्त्रण गर्ने’ चेष्टा बताउँदै वास्तविक अर्थमा नै प्रकृतिमाथि नियन्त्रण स्थापित भएपछि त्यो स्वतः बिलाएर जाने तथ्य पनि स्पष्ट गर्नु भएको छ ।

जब मानव समाज आफ्नो विकासक्रममा आदिम साम्यवादको विघटन र दासयुगको प्रारम्भको ऐतिहासिक चरणबाट गुज्रँदै थियो तब दर्शनशास्त्रको विकासले पनि एउटा गुणात्मक फड्को हान्न पुग्यो । अब दर्शनशास्त्र काल्पनिक, पौराणिक र धार्मिक मतवादका प्रत्ययवादी (आदर्शवादी) प्रस्तावनाद्वारा प्रकृतिमाथि ‘नियन्त्रण गर्न’ मानिसलाई दिइने मिथ्या विश्वासका रूपमा नभएर जीवनको यथार्थ धरातलमा टेकेर विज्ञानका रूपमा अगाडि बढाउने महान् ऐतिहासिक प्रक्रियाको थालनी पनि त्यसै अवधिबाट भयो ।

विज्ञानका विभिन्न विशिष्ट शाखाहरू जस्तै विज्ञानका रूपमा दर्शनको इतिहास पनि त्यति नै प्राचीन रहिआएको छ । फरक के मात्र छ भने विज्ञानका विशिष्ट शाखाहरूले सम्बन्धित विशिष्टको विशिष्टताको अध्ययन–अनुसन्धान गर्दछन् भने दर्शन विज्ञानका समग्र उपलब्धिहरूको संश्लेषण गर्दै अगाडि बढ्दछ ।

विकासका क्रममा जब मानव समाज मानसिक र शारीरिक श्रम गर्ने दुई अलग–अलग कित्तामा विभाजित हुन पुग्दछ तब दर्शनशास्त्रमा पनि दुई भिन्न धाराको विकास हुन थाल्दछ । समाजको मानसिक श्रम गर्ने कित्ता क्रमशः मालिक र भौतिक श्रम गर्ने कित्ता दासका रूपमा स्थापित हुन पुग्दछ । यही ऐतिहासिक यथार्थसँगै मानव समाज विपरीत स्वार्थका विपरीत वर्गमा विभाजित हुन पुग्यो । यही यथार्थसँगै दर्शन पनि यथास्थिति र मालिकहरूको पक्षपोषण गर्ने प्रत्ययवादी धारा र परिवर्तन र श्रमजीवीहरूको पक्षपोषण गर्ने भौतिकवादी (materialistic) धारामा विभाजित र विकसित हुँदै गयो । यस सन्दर्भमा फ्रेडरिक एङ्गेल्सको निम्न भनाइ विशेष महत्वपूर्ण छ, “एक पुस्ताबाट अर्को पुस्ता हुँदै श्रम स्वयम् भिन्न अधिक पूर्ण, अधिक विविधतायुक्त बन्दै गयो । सिकारी र पशुपालनमा कृषि थपियो अनि धागो कताइ, बुनाइ, धातु कार्य, माटाका भाँडा बनाउने काम थपिए । व्यापार र उद्योग सँगसँगै कला र विज्ञान देखा परे । प्रजातिबाट जाति र राज्यहरूको विकास भयो । कानुन र राजनीतिको उत्पति भयो र त्यससँगै मानव मनमा मानवीय चीज सम्बन्धी काल्पनिक प्रतिबिम्ब, धर्म पैदा भयो ।

सर्वप्रथम मनको उपजका रूपमा देखा परेको र मानव समाजमाथि प्रभुत्व जमाएको देखिएका उक्त सारा सिर्जनाहरूका अगाडि शारीरिक श्रमका अत्यधिक सहज र सरल उत्पादनहरू पछिल्तिर धकेलिए । त्यस्तो स्थिति झन् बढ्यो । किनकि समाज विकासको प्रारम्भिक चरणमा नै श्रम प्रक्रियालाई योजनाबद्ध पारेको मनले आफ्नो हातबाट भन्दा अर्कैको हातबाट सो आयोजित श्रमिकलाई काम गराउन सक्ने भयो । सभ्यताको छिटो प्रगति हुनुको सारा श्रेय मनलाई, मस्तिष्कको विकास र क्रियाशीलतालाई दिइयो । मानिसहरू आफ्ना कार्यहरूको व्याख्या आफ्ना आवश्यकताहरू (जुन कुनै पनि सवालमा मनमा प्रतिबिम्बित हुन्छन्, चेतनामा आउँछन्) बाट नगरीकन आफ्ना विचारबाट गर्न अभ्यस्त भए र यसरी समयको क्रममा प्रत्ययवादी विश्व दृष्टिकोणको विकास भयो र सो दृष्टिकोणले खास गरी प्राचीन संसारको पतनदेखि मानिसको मनमा प्रभुत्त्व जमाएको छ, अझसम्म मानिसको मनमा त्यसको प्रभुत्व रहेको छ ।”

ऐतिहासिक विकासको विशिष्ट पृष्ठभूमिसहित दर्शनशास्त्रको प्रत्ययवादी धाराले प्रकृति, समाज र चिन्तनको विकासका नियमहरूको अध्ययन गर्दा आत्मा, चेतना, परम, विचार जस्ता अत्मगत पक्षलाई र भौतिकवादी धाराले पदार्थ भौतिक तत्त्व जस्ता वस्तुगत पक्षलाई प्राथमिकतामा रख्यो । अन्ततः पदार्थ वा चेतनामध्ये कुन प्रधान भन्ने प्रश्न दर्शनशास्त्रको आधारभूत प्रश्न बन्न गयो ।

पदार्थलाई प्रधान ठान्ने भौतिकवादीले प्रकृति, समाज र चिन्तनका नियमहरूलाई बोधगम्य (बुझ्न सकिने) मान्दछ भने प्रत्ययवादले तिनलाई बुझ्न नसकिने रहस्यका रूपमा व्याख्या गर्दछ । यस सन्दर्भमा लेनिनले आफ्नो प्रशिद्ध दार्शनिक रचना भौतिकवाद र अनुभवसिद्ध आलोचनामा भन्नुभएको छ, “भौतिकवादी र प्रत्ययवादी दर्शनका अनुयायीहरूका बिचको मूल भिन्नता कुन तथ्यमा रहेको छ भने भौतिकवादले सामान्यतः संवेदना, ज्ञान, विचार र मानिसको मनलाई वस्तुगत यथार्थको प्रतिबिम्ब ठान्दछ । संसार भनेको हाम्रो चेतनामा प्रतिबिम्बित उक्त वस्तुगत यथार्थको गति हो । विचार, ज्ञान आदिको गतिभन्दा बाहिर रहेको भौतिक तत्त्वको गति अनुरूप रहन्छ । भौतिक तत्त्वको अवधारणाले हाम्रो संवेदनामा परेको वस्तुगत यथार्थबाहेक अन्य कुनै कुरालाई व्यक्त गर्दैन ।”

प्रत्येक विशिष्ट विज्ञानको क्षेत्रमा अनुसन्धान गर्ने आफ्नै विधि, प्रणाली भए जस्तै दर्शनशास्त्रको पनि आफ्नै मौलिक विधि र प्रणाली रहिआएका छन् । दर्शनशास्त्रमा अध्ययन–अनुसन्धानको आफ्नो तरिका पनि दर्शनशास्त्रकै आधारभूत प्रश्नको उत्तरसँग अभिन्न रूपले जोडिएको हुन्छ ।

भौतिकवादले आफ्नो अनुसन्धानको विधिका रूपमा द्वन्द्ववादको प्रयोग गर्दछ भने प्रत्ययवादले अधिभूतवादको । यद्यापि भौतिकवादको विकासका क्रममा विधिका विभिन्न रूपहरू, जस्तै– प्राचीन कालको सरल भौतिकवाद, सोह्रौ शताब्दीदेखि उन्नाइसौँ शताब्दीसम्मको अधिभूतवादी भौतिकवाद र अन्त्यमा द्वन्द्वात्मक भौतिकवाद रहेका छन् ।

द्वन्द्ववादका अनुसार अस्तित्वमा रहेका प्रत्येक वस्तुहरू निरन्तर गति र परिवर्तनको प्रक्रियामा रहेका छन्, ती प्रत्येक वस्तुहरूको कुनै न कुनै रूपमा एक–अर्कासँग सम्बन्धित रहेका छन् । यस मतका अनुसार अस्तित्वमा रहेका प्रत्येक वस्तुहरूको विनाश अपरिहार्य छ । जन्मसँग मृत्यु जोडिए जस्तै अस्तित्वसँग विनाश जोडिएको हुन्छ । द्वन्द्ववादले प्रकृति, समाज र मानव चिन्तनको प्रक्रियामा परिवर्तनको मुख्य कारक तत्त्व बाहिर नभएर सम्बन्धित वस्तुभित्रै अन्तर्निहित विपरीत तत्त्वहरूको सङ्घर्षलाई नै द्वन्द्ववादले विकासको प्रमुख नियम मान्दछ । साथै मात्रात्मक र गुणात्मक परिवर्तन एवम् निषेधको निषेधलाई पनि यस नियमभित्र पार्न सकिन्छ भनेर अध्यक्ष माओले स्पष्ट गर्नुभएको छ ।

द्वन्द्ववादका विपरीत अधिभूतवादले गति, परिवर्तन र अन्तर्सम्बन्ध, अन्तर्सङ्घर्ष, अस्तित्व र विनाश कुनै कुरालाई स्वीकार गर्दैन । अपितु यसले सबै वस्तुलाई अलग–अलग, स्थिर एवम् अपरिवर्तनीय मान्दछ । परिवर्तनलाई उसले उही वस्तुमा भएको थपघट मात्र मान्दछ ।

दर्शनशास्त्रमा भौतिकवादको विकासका लागि इतिहासका अनेकौँ कालखण्डमा दार्शनिकले यथास्थितिवादीहरूका अनगिन्ती यन्त्रणाको सामना गरेका छन् । यस प्रक्रियामा भौतिकवादको विकासको पछिल्लो कडीका रूपमा लुडविग फायरबाखको योगदान र द्वन्द्ववादको विकासमा हेगेलको योगदान असाधारण रहेको कुरा स्वयम् कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले स्वीकार गर्नु भएको छ । अन्ततः फायरबाखको भौतिकवाद र हेगेलको द्वन्द्ववादमा रहेको प्रत्ययवादी पक्षलाई हटाई मार्क्सवादले दर्शनशास्त्रका क्षेत्रमा एउटा महान् क्रान्तिका रूपमा भौतिकवादी द्वन्द्ववादको वैज्ञानिक आधारशिलाको अविष्कार गर्यो ।

भौतिकवादी द्वन्द्ववाद स्पष्टतः सर्वहारावर्गको वर्गसङ्घर्षको वैज्ञानिक हतियारका रूपमा विकसित भयो । “हरेक युगमा शासक वर्गका विचारहरू नै शासक विचार हुन्छन्, अर्थात् समाजको जुन वर्ग शासक हुन्छ, त्यही नै बौद्धिक शासकवर्ग हुन्छ । जुन वर्गको अधीनमा भौतिक उत्पादनका साधनहरू हुन्छन्, त्यही वर्गको अधीनमा मानसिक उत्पादनका साधनहरू पनि रहेका हुन्छन्, जसले गर्दा सामान्यतः मानसिक उत्पादनका साधनहरूको अभावमा रहेकाहरूको विचार त्यसको अधीनस्थ रहन्छ” भन्दै मार्क्स–एङ्गेल्सले आफ्नो कृति ‘जर्मन विचारधारा’ मा यस नयाँ युगमा सर्वहारावर्गलाई वर्गसङ्घर्षको दिशानिर्देश गर्नुभएको छ ।

माथिको सामान्य चर्चाबाट यो कुरा स्पष्ट गर्न खोजिएको हो कि प्रथम, प्रकृतिमाथि नियन्त्रण गर्ने मानवजातिको सङ्घर्षमा दर्शनशास्त्रको अहम् भूमिका रहँदै आएको छ । द्वितीय, मानव समाज वर्गमा विभाजित भएसँगै दर्शनशास्त्रमा त्यसको प्रत्यक्ष प्रभाव रहँदै आएको छ । तृतीय, विकासका विभिन्न चरणमा विभिन्न रूपले भौतिकवादले परिवर्तन र प्रत्ययवादले यथास्थितिको पक्षपोषण गर्दै आएको छ । चतुर्थ, भौतिकवादी द्वन्द्ववादको आविष्कार दर्शनका क्षेत्रमा एउटा क्रान्ति हो र यसले सर्वहारावर्ग र श्रमजीवी जनसमुदायको वर्गसङ्घर्षको पक्षपोषण गर्दै मानव जातिलाई साम्यवादको सुन्दर भविष्यको दिशानिर्देश गर्दछ ।

भौतिकवादी द्वन्द्ववादको उपरोक्त दार्शनिक मान्यताका आधारमा मार्क्सवाद–लेनिनवाद–माओवादले समग्र वर्गसङ्घर्ष राज्य र सामाजिक क्रान्तिसम्बन्धी वैज्ञानिक अवधारणाको विकास गर्दै आएको छ । यस प्रकारका वैज्ञानिक अवधारणाहरूको विकास, तत्कालीन समयका गलत विचारहरूका विरुद्ध विभिन्न रूपमा गरिएका भीषण सङ्घर्षसँग गाँसिएका छन् । अध्यक्ष माओले “वर्गसङ्घर्ष, उत्पादनका निमित्त सङ्घर्ष र वैज्ञानिक प्रयोग” का बिचबाट नै सामाजिक विकासले गति लिर्दै आएको भन्नुको तात्पर्य पनि यही हो ।

भौतिकवादी द्वन्द्ववादको विज्ञानका रूपमा मार्क्सवादी दर्शनको आविष्कार भएदेखि नै पुँजीवादी र अवसरवादीहरूका तर्फबाट यसमाथि भीषण प्रहार हुँदै आएको छ । सैद्वान्तिक धरातलमा पुँजीवाद र त्यसका पृष्ठपोषकहरू मार्क्सवादसँग बहस र सङ्घर्षमा पराजित भएपछि मार्क्सवादको नामभित्र रहेर यसका आधारभूत सिद्धान्तहरूलाई तोडमोड गर्ने, संशोधन गर्ने तथा यसलाई वर्गसङ्घर्षको सट्टा वर्ग–समन्वयको हतियारमा परिणत गरी पुँजीपतिवर्गका आधारभूत हितअनुकूल पार्ने ठूलो कसरत हुँर्दै आएको छ । यस किसिमको संशोधनवादी र अवसरवादी प्रवृत्तिले मार्क्स, एङ्गेल्सकै समयदेखि आजसम्म पनि निरन्तर मार्क्सवादमाथि प्रहार गर्दै आएको छ । भौतिकवादी द्वन्द्ववादको वैज्ञानिकतालाई आत्मासात् गर्ने सच्चा मार्क्सवादीहरूले पनि त्यस प्रकारको संशोधनवादी र अवसरवादी प्रवृत्तिलाई साम्यवादी आन्दोलनभित्र घुसेको पुँजीवादका रूपमा भन्डाफोर गर्दै आएका छन् । यस सङ्घर्षका क्रममा नै मार्क्सवादको मार्क्सवाद–लेनिनवादमा र मार्क्सवाद–लेनिनवाद–माओवादमा विकास भएको हो ।

यहाँ एउटा अर्को पक्षमा पनि आज कम्युनिस्ट क्रान्तिकारीहरूको ध्यान जानु पर्दछ । साम्राज्यवादले नियोजित रूपमा आफ्ना दलालहरूलाई मार्क्सवादी जामा पहिराएर कम्युनिस्ट पार्टीभित्र घुसाउने तथा निश्चित ख्याति प्राप्तिपछि आफ्ना दलालहरूलाई त्यो जामा फालेर घोषित रूपमा पुँजीवादका पक्षमा खडा गराई श्रमजीवी जनसमुदायलाई भ्रमित पार्ने षड्यन्त्र पनि गर्दै आएका छन् ।

वर्गसङ्घर्ष र कम्युनिस्ट आन्दोलनको इतिहासमा यस प्रकारका अनगिन्ती घटनाहरू देख्न सकिन्छ । हालै नेपाली कम्युनिस्ट आन्दोलनमा हाम्रो पार्टी परित्याग गरी पुँजीवादी विकासको वकालत गर्ने ‘वरिष्ठ‘ नेता पनि यसै कोटीमा रहेको तथ्यलाई घटनाक्रमले राम्रोसँग पुष्टि गरिरहेको छ । यस स्थितिमा वर्गसङ्घर्ष र राज्यसत्ताबारे मार्क्सवादका आधारभूत सिद्धान्तहरूको अध्ययन र प्रचारप्रसारमा जोड दिनु आज विशेष रूपले आवश्यक हुन गएको छ । त्यसमा पनि युवा पुस्तामा मालेमाका आधारभूत सिद्धान्तको प्रचारले सामाजिक क्रान्तिको विकासमा महत्त्वपूर्ण योगदान पुराउने कुरा स्पष्ट नै छ । त्यसैले यहाँ वर्गसङ्घर्ष, राज्य र क्रान्तिका सम्बन्धमा मालेमाका आधारभूत सिद्धान्तहरूबारे सङ्क्षिप्त चर्चा गरिएको छ ।

आदिम साम्यवादको विघटनसँगै मानव समाज दुई विपरीत वर्गमा विभाजित हुन पुगेको तथ्यमा कसैको दुईमत छैन । विकासको वस्तुगत आवश्यकताले पैदा गरेको मानव जातिको मानसिक र शारीरिक श्रमको विभाजन अन्ततः मालिक र दासका रूपमा दुई विपरीत वर्ग बन्न पुगे जुन युगलाई दास युग भनेर चिनिन्छ । यस वर्ग विभाजनले समाजका शान्ति र व्यवस्था कायम गर्न अर्थात् दासहरूलाई गरिने शोषण, अत्याचारलाई कायम राख्न, उनीहरूको विद्रोहलाई दबाइराख्न एउटा यस्तो संयन्त्रको आवश्यकता महसुुुस गरियो जसले वर्गसङ्घर्षलाई रोक्न सकोस् । राज्यसत्ताको जन्म विपरीत वर्गका बिचको यही सङ्घर्षको परिणामका रूपमा भएको हो । यस सम्बन्धमा फ्रेडरिक एङ्गेल्सको विश्वप्रसिद्ध वैज्ञानिक रचना ‘परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति” मा गरिएको निम्न विश्लेषण विशेष रूपले मननयोग्य छ ।

“राज्य कुनै यस्तो शक्ति होइन, जुन बाहिरबाट समाजमा थोपरिएको होस्, न त्यो कुनै नैतिक विचारको मूर्त रूप वा विवेकको मूर्त र वास्तविक रूप” हो जस्तो कि हेगेलले भन्ने गरेका छन् । अपितु भन्नै पर्दछ कि त्यो (राज्य..अनु.) समाजकै उपज हो, जुन विकासको एक निश्चित अवस्थामा पैदा हुन पुग्दछ , त्यो यस कुराको स्वीकारोक्ति हो कि यो समाज समाधान नै नहुने अन्तर्विरोधमा फस्न गएको छ, त्यो यस्ता विरोधहरूद्वारा क्षतविक्षत भएको छ जसको समाधान गर्न सकिँदैन र जसलाई समाधान गर्नु उसको क्षमताभन्दा बाहिरको कुरा हो । तथापि यो अन्तर्विरोधले परस्पर विरोधी आर्थिक हित भएका यी वर्गहरूले व्यर्थको सङ्घर्षमा आफूलाई र पुरै समाजलाई नै ध्वस्त नपारून्, यसकारण एउटा यस्तो शक्ति जुन समाजभन्दा माथि रहेको भान परोस्, त्यस्तो शक्ति आवश्यक बन्न गयो, ताकि यस सङ्घर्षलाई मत्थर गर्न सकियोस् र त्यसलाई व्यवस्थाको सिमानाभित्र राख्न सकियोस् । यही शक्ति, जुन समाजबाट पैदा हुन्छ तर समाजभन्दा माथिको स्थान ग्रहण गर्दछ र त्यसबाट बढीभन्दा बढी टाढा हुँदै जान्छ, त्यही नै राज्य हो ।”

वर्ग–विरोध र राज्यको उत्पत्तिबारे मार्क्सवादको वैज्ञानिक र आधिकारिक धारणा उपरोक्त संश्लेषणमा सटिक रूपमा अभिव्यक्त भएको छ । वर्गसङ्घर्ष एवम् राज्यको उत्पत्ति र चरित्रबारेको ठिक यही वैज्ञानिक संश्लेषणमाथि नै संसारभरिका पुँजीवादी र निम्न पुँजीवादी तत्त्वहरूले सर्वाधिक हमला र तोडमोड गर्दै आएका छन् । लेनिनका अनुसार कैयौँ पुँजीवादी विद्वान् र प्रोफेसरहरूले वर्ग–सङ्घर्ष र राज्यको सम्बन्धका बारेमा मार्क्सको प्रमुख शिक्षालाई मार्क्सकै हवाला दिएर संशोधन गर्ने धृष्टता गर्दै आएका छन् । त्यस्ता कथित विद्वान् र प्रोफेसरहरूले कहिले मार्क्सवादको औचित्य सकिएको तर्क गर्दै र कहिले त्यसमा संशोधन र परिमार्जन आवश्यक भएको कुरा गर्दै वर्ग र राज्यका सम्बन्धमा मार्क्सका आधारभूत वैज्ञानिक प्रस्थावनाहरूलाई भुत्ते पार्ने कसरत गर्दै आएका छन् । नेपालमा अहिले त्यस्तै कथित विद्वान्हरू नयाँ शक्तिका नाममा वर्ग–समन्वय र राज्यलाई त्यसको साधन मान्दै तमाम विजातीय तत्त्वहरूसँग हनिमुन (सुहागरात) मनाउँदै हिँडेका छन् ।

यहाँ विशेष रूपले ध्यान दिनुपर्दछ कि संशोधनवादी र अवसरवादी बुर्जुवा ‘विद्वान्’हरूले वर्ग–विभाजित समाजलाई समन्वय गर्ने आवश्यकताको परिपूर्ति गर्ने यन्त्र नै राज्य हो भनेर प्रचार गर्ने प्रयास गर्दछन् । जबकि मार्क्सवादका अनुसार “यदि वर्गहरूका बिचमा समन्वय सम्भव हुन्थ्यो भने राज्यको उत्पत्ति हुनै सक्दैनथ्यो र त्यो कायम रहनै सक्दैनथ्यो ।”

लेनिनले वर्ग–विरोध र राज्यको उत्पत्तिका बारेमा माक्र्सका शिक्षाहरूलाई आफ्नो विश्वप्रसिद्ध रचना “राज्य र क्रान्ति” मा सुन्दर र व्यवस्थित ढङ्गले प्रस्तुत गर्नुभएको छ । लेनिन भन्नुहुन्छ, “मार्क्सका अनुसार राज्य भनेको वर्गीय प्रभुत्वको निकाय हो, एउटा वर्गद्वारा अर्को वर्गमाथि उत्पीडन गर्ने निकाय हो, यस्तो ‘व्यवस्था’ को सिर्जना हो, जसले वर्गीय टक्करलाई मत्थर गरेर उत्पीडनलाई वैधानिक र बलियो बनाउँछ ।”

वर्ग र राज्यसम्बन्धी मार्क्सवादको ठिक यही वैज्ञानिक र क्रान्तिकारी सारतत्त्वमाथि नै विश्वभरिका सारा बुर्जुवा बुद्धिजीवी, संशोधनवादी र अवसरवादीहरूको प्रहार केन्द्रित हुँदै आएको छ र विश्वभरिका मालेमावादीहरूले पनि यिनै वैज्ञानिक प्रस्तावनाहरूको रक्षा, प्रयोग र विकासका निमित्त सङ्घर्ष गर्दै आएका छन् । आज नेपालका मालेमावादीहरूका अगाडि पनि यही सङ्घर्षलाई अगाडि बढाउने ऐतिहासिक जिम्मेवारी रहेको छ ।

मार्क्सवादका अनुसार मानव समाजमा ‘राज्य’ न प्रारम्भदेखि थियो न अन्तसम्म रहन सक्दछ । समाजमा वर्ग–विभाजनको एक निश्चित कालखण्डको आवश्यकतासँग जोडिएको राज्य अर्को निश्चित अवस्था जहाँ गएर वर्ग–विभाजन समाप्त हुन्छ, त्यहीँ नै राज्यको पनि अन्त्य हुने कुरालाई मालेमाले स्पष्ट व्याख्या गर्दै आएको छ । यस सन्दर्भमा एङ्गेल्स भन्नुहुन्छ, “राज्य अनादिकालदेखि चलेर आएको होइन, यस्तो समाज पनि रहेको थियो, जसले राज्यविना नै आफ्नो काम चलाउँथ्यो र जसलाई राज्य र राज्यसत्ताको कुनै ज्ञान थिएन । आर्थिक विकासको एक निश्चित अवस्थामा जुन समाजमा वर्ग विभाजन हुने कुरासँग अभिन्न रूपले गाँसिएको थियो, यही विभाजनका कारण राज्य अनिवार्यतः बन्यो अब हामीहरू उत्पादनको विकासको यस्तो अवस्थातिर तीव्र रूपले बढिरहेका छौँ । जहाँ यी वर्गहरूको अस्तित्व अनावश्यक मात्रै होइन बरु उत्पादनका लागि निश्चित रूपमा बाधक बन्न जान्छ । वर्गहरूको त्यति नै अवश्यम्भावी विनाश हुनेछ जति अवश्यम्भावी ढङ्गबाट यसको जन्म भएको थियो । त्यसका साथसाथै राज्य पनि अनिवार्य रूपमा मेटिने छ । जुन समाजले उत्पादकहरूको स्वतन्त्र तथा समान सहयोगका आधारमा उत्पादनहरूको सङ्गठन गर्नेछ, त्यस समाजले राज्यको पुरै मेसिनरीलाई उठाएर त्यस ठाउँमा राखिदिने छ, जुन उसको लागि सबैभन्दा उपयुक्त ठाउँ हुनेछ, अर्थात् यसले राज्यलाई हातको चर्खा र फलामको बन्चरोसँगै पुराना वस्तुहरूको सङ्ग्रहालयमा राख्ने छ ।”

राज्यको उत्पत्ति र विघटनसम्बन्धी यो निष्कर्ष मालेमाको आधिकारिक र आधारभूत निष्कर्ष हो । यहाँ वर्ग–विभाजनको अन्त्यसँगै राज्यको आवश्यकताको पनि अन्त्य हुने कुरा गर्दा क्रान्ति र बल प्रयोगको भूमिकाका सम्बन्धमा पनि स्पष्ट हुन आवश्यक छ । ड्युहरिङ मत खण्डनमा एङ्गेल्सले विकासको एक विशिष्ट परिस्थितिमा भनेको “राज्यलाई रद्द गरिँदैन बरु त्यो आफैँ विलुप्त हुँदै जान्छ”लाई लिएर अराजकतावादी र अवसरवादीहरूको क्रान्ति र बल प्रयोगको आवश्यकतालाई नै अस्वीकार गर्ने षड्यन्त्रलाई लेनिनले राज्य र क्रान्तिमा व्यवस्थित रूपले भन्डाफोर गर्नुभएको छ ।

लेनिन भन्नुहुन्छ, “एङ्गेल्स यी तर्कहरूका सुरुमै भन्नुहुन्छ कि राज्यसत्तामाथि अधिकार कायम गरेर सर्वहारावर्गले, राज्यका रूपमा राज्यको अन्त्य गर्दछ । यसको अर्थ हो, यसलाई अन्यथा सोच्नु अप्रचलित हुन्छ । वास्तवमा एङ्गेल्सले सर्वहारा क्रान्तिद्वारा बुर्जुवा राज्यको अन्त्यको कुरा गर्नुभएको छ, जबकि राज्यको विलोपसम्बन्धी शब्दको नाता समाजवादी क्रान्तिपछिका सर्वहारा राज्यको अवशेषसँग रहेको छ । एङ्गेल्सका अनुसार बुर्जवा राज्य विलोप हुँदैन अपितु सर्वहारावर्गले क्रान्तिद्वारा त्यसलाई अन्त गरिदिने छ ।” क्रान्तिपछि सर्वहारा राज्य वा अर्द्धराज्यको विलोप हुन जान्छ भनेर क्रान्ति र राज्यको विलोपीकरण सम्बन्धी मार्क्सवादी प्रस्थापनाको स्पष्ट व्याख्या लेनिनले गर्नुभएको छ ।

कार्ल मार्क्सको ‘दर्शनको दरिद्रता’, कम्युनिस्ट घोषणा पत्रको ‘अन्तिम भाग’ र गोथा कार्यक्रमको आलोचनालाई उद्धरण गर्दै लेनिनले मार्क्स, एङ्गेल्सले बुर्जुवाका विरुद्ध बलात् क्रान्तिको अनिवार्यतालाई सगर्व घोषणा गरेको तथ्यलाई अगाडि सार्दै ‘बलपूर्वक क्रान्तिको ठिक यही धारणालाई व्यवस्थित रूपबाट जनतामा प्रचार गर्ने आवश्यकता नै मार्क्स, एङ्गेल्सका सम्पूर्ण शिक्षाको आधार हो’ भन्नुभएको छ ।

समाजमा वर्गहरूको अस्तित्व वर्ग–सङ्घर्ष र सर्वहारावर्गको आधिपत्यका सम्बन्धमा कार्ल माक्र्सले १८५२ मा लेखेको एउटा पत्रमा भन्नुभएको निम्न निष्कर्ष पनि यहाँ विशेष ध्यान दिन आवश्यक छ । पत्रमा भनिएको छ, “जहाँसम्म मेरो कुरा छ, आधुनिक समाजमा वर्गहरूको अस्तित्वको खोजी गर्ने श्रेयको म अधिकारी होइन । न उनीहरूका बिचको (वर्गहरूका बिचको अनु.) सङ्घर्षको खोजी गर्ने श्रेय नै मलाई मिल्नु पर्दछ । मभन्दा धेरै पहिले बर्जुवा इतिहासकारहरूले वर्गहरूका बिचको सङ्घर्षको ऐतिहासिक विकास र बुर्जुवा अर्थशास्त्रीहरूले वर्गहरूको आर्थिक बनावटको व्याख्या गरिसकेका थिए । मैले जुन नयाँ चीज गरेँ, त्यो यो सिद्व गर्नका लागि थियो किः १) वर्गहरूको अस्तित्व उत्पादनको विकासको खास ऐतिहासिक प्रक्रियासँग जोडिएको छ, २) वर्ग–सङ्घर्षले अनिवार्य रूपमा सर्वहारावर्गको अधिनायकत्त्वको दिशामा लैजान्छ, ३) यो अधिनायकत्त्व आफैँ सबै वर्गहरूको उन्मूलन तथा वर्गविहीन समाजतिरको सङ्क्रमण मात्र हो ।”

मार्क्सले सरल भाषामा तर इतिहासको निकै नै जटिल प्रश्नको उत्तर दिनुभएको छ । यहाँ मार्क्सले दर्शनको निर्धनतामा भौतिक उत्पादन र सामाजिक सम्बन्धका अन्तर्सम्बन्धबारे व्याख्या गर्दै प्रुधोंलाई गरेको आलोचना पनि स्मरणीय छ । मार्क्सले भन्नुभएको छ , “अर्थशास्त्री श्री प्रुधों राम्रोसँग यो कुरा बुझ्दछन् कि उत्पादनको निश्चित सम्बन्धभित्र मानिसले नै कपडा, सनपाट वा रेसम बनाउँछन् तर जुन कुरा उनले बुझ्दैनन् त्यो के हो भने, सनपाट आदि जस्तै मानिसहरूले एक सामाजिक सम्बन्धलाई पनि जन्म दिन्छन् । सामाजिक सम्बन्धको उत्पादक शक्तिसँग गहिरो सम्बन्ध हुन्छ । नयाँ उत्पादक शक्ति हासिल गर्ने प्रक्रियामा मानिसले आफ्नो उत्पादनको पद्धतिलाई बदल्छन् र आफ्नो उत्पादन पद्धतिलाई बदल्दै उनीहरू आफ्नो सामाजिक सम्बन्धलाई पनि बदल्छन् । हातको चर्खाले तपाईलाई सामन्ती प्रभुवाला समाज दिन्छ, वाष्प इन्जिनले पुँजीवादी समाज दिन्छ ।”

लुई बोनापार्टको अठारौँ ब्रुमेरमा संसदीय लोकतन्त्रको भन्डाफोर गर्दै बुर्जुवा क्रान्तिको सीमा स्पष्ट गर्नुका साथै कार्ल मार्क्सले विशाल नोकरशाही र फौजी सङ्गठनमा बचेका बुर्जुवा राज्य मेसिनरीलाई चकनाचुर पार्ने कुराको आवश्यकतामा जोड दिनुभएको छ । सामन्तवादको पतनपछि युरोपमा जति पनि पुँजीवादी क्रान्तिहरू भए ती सबैले नोकरशाही र फौजी सङ्गठनसहितको राज्य मेसिनरीलाई थप विकास र सुदृढीकरण मात्र गरेका तथ्यका सन्दर्भमा मार्क्सको यो संश्लेषण पनि उत्तिकै ऐतिहासिक महत्त्वको रहेको छ, “क्रान्तिका विरुद्ध आफ्नो सङ्घर्षमा संसदीय लोकतन्त्रले दमनकारी कारबाहीहरू बाहेक सरकारी सत्ताका साधन एवम् केन्द्रीकरणलाई पनि सुदृढ गर्न आफैँलाई विवश पार्यो । सबै क्रान्तिकारीहरूले त्यस यन्त्रलाई चकनाचुर गर्नुको सट्टा सर्वाङ्गपूर्ण बनाए । पालैपालो प्रभुत्वका लागि होड गर्ने पार्टीहरू त्यस भीमकाय राजकीय ढाँचाको स्वामित्व प्राप्त गर्नुलाई विजयको प्रधान पुरस्कार सम्झन्छन् ।” यहाँ मार्क्सले संसदीय दलहरूको राजनैतिक चरित्रको संश्लेषण मात्रै गर्नुभएको छैन, अपितु सबै बुर्जुवा क्रान्तिहरूले विशाल नोकरशाही र फौजी सङ्गठनमा आधारित राज्य मेसिनरीलाई ‘चकनाचुर’ गर्नुको सट्टा ‘सुदृढ’ गरेको आरोपभित्र सर्वहारा क्रान्तिको उद्देश्य स्पष्ट रूपमा निर्देशित भएको छ ।

दर्शन, वर्ग–सङ्घर्ष, राज्य र क्रान्तिको अन्तर्सम्बन्धको माथि गरिएको व्याख्याबाट वर्तमान नेपाली कम्युनिस्ट आन्दोलनका विभिन्न धारा र प्रवृत्तिलाई बुझ्न सहज हुनेछ । त्यसअनुसार भौतिकवादी द्वन्द्ववादको स्थानमा आदर्शवाद वा सारसङ्ग्रहवादको पक्षपोषण गर्ने प्रवृतिले राजनीतिमा वर्ग–समन्वयको दक्षिणपन्थी विसर्जनवादी बाटो पक्डने गरेको तथा भौतिकवादी द्वन्द्ववादी दर्शनप्रति दृढ रहने प्रवृतिले वर्ग–सङ्घर्ष र क्रान्तिको पक्षपोषण गर्ने गरेको कुरा स्पष्ट देख्न सकिन्छ । यस दृष्टिकोणले नेपालका कुन पार्टी र नेताहरू कुन कित्तामा पर्दछन् भन्ने कुराको निर्णयको अधिकार पाठकहरूलाई नै दिनु उपयुक्त ठानिएको छ ।

तोलामा कतिले बढ्यो सुनको भाउ ?

काठमाडौं, असोज २४ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । मंगलबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर बजारमा सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । मंगलबार तेजावी सुन प्रतितोला ५८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर बजारमा सुन प्रतितोला ५८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, बुधबार पनि बजारमा चाँदीको मूल्य स्थिर नै रहेको छ । मंगलबार बजारमा चाँदी प्रतितोला मूल्य ७४० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी प्रतितोला ७४० रुपैयाँमै कारोबार भइरहेको जनाएको छ ।

नेपाल टेलिकमले ल्यायो दसैं अफर; यस्तो छ व्यवस्था

काठमाडौं, असोज २३ । आसन्न चाड विजया दशमीको उपलक्ष्यमा नेपाल टेलिकमले ग्राहकहरूले थप सेवा प्रदान गर्ने भएको छ । चाडबाडको अवसर पारेर टेलिकमले भ्वाइस र डाटामा सहुलियत दिने घोषणा गरेको हो । टेलिकमले दसैँको अवसरमा अनलिमिटेड भ्वाइस तथा एसएमएस प्याक दिने भएको छ । अनलिमिटेड प्याक अन्तर्गत जीएसएम तथा सीडीएमए मोबाइलमा अनलिमिटेड भ्वाइस र अनलिमिटेड एसएमएस सेवा उपभोग गर्न सकिने छ । रु. ६०० ब्यालेन्समा १५ दिन समयावधिको लागि प्रत्येक दिन २ जीबी डाटा प्याक उपलब्ध गराइने छ । सो प्याक अन्तर्गत १ जीबी पिक आवर (बिहान ६ बजेदेखि राति १० बजेसम्म) र १ जीबी ‘अफपिक आवर’ (राति १० देखि बिहान ६ बजेसम्म) प्रयोग गर्न सकिनेछ । सोही प्याक ७ दिन समयावधिका लागि मात्र ३०० ब्यालेन्समा समेत उपलब्ध हुनेछ । प्याक लिने सेवाग्राहीलाई ‘वाउ टाइम’ र म्युजिक नेपालको म्युजिक स्ट्रिमिङ सेवा निःशुल्क उपलब्ध गराइने छ । त्यस्तै टेलिकमको भ्वाइस प्याक अन्तर्गत ६ रुपैयाँ ब्यालेन्समा निरन्तर ६० मिनेट भ्वाइस सुविधा उपभोग गर्न सकिने छ । एक दिनका लागि मात्र उपलब्ध हुने त्यो सुविधा बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने छ । यो सुविधा नेपाल टेलिकमको नेटवर्कमा मात्र प्रयोग गर्न सकिने छ । टेलकमको डाटा प्याक अन्तर्गत ३६ एमबी डाटा ६ रुपैयाँमा एक दिनका लागि उपलब्ध हुनेछ । सो डाटा पनि बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने छ । यी अफरहरु आउँदो असोज २४ देखि कात्तिक ७ सम्म खरिद गर्न सकिने छन् । टेलिकमले अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्न ग्राहकले *१४१५*९# डायल गर्नु पर्ने जनाएको छ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यी प्याकेज खरिद गर्न सकिने जनाइएको छ । त्यसैगरी कम्पनीको वेबसाइट डब्ल्युडब्ल्युडब्ल्युडटएनटिसीडनेटडटएनपी  मार्फत पनि यस सम्बन्धी विस्तृत जानकारी लिन सकिने जनाएको छ । यसका साथै टेलिकमले रिचार्जमा बोनस पनि दिने जनाएको छ । आउँदो असोज २९ देखि कात्तिक ४ गतेसम्म रिचार्ज कार्ड, इलेक्ट्रोनिक रिचार्ज वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने छ । यस अन्तर्गत १०० रुपैयाँ र २०० रुपैयाँको रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्ज मार्फत रिचार्ज गर्दा १० प्रतिशत र ५०० रुपैयाँ र १००० रुपैयाँको रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्जबाट रिचार्ज गर्दा १५ प्रतिशत बोनस प्राप्त हुनेछ । १०० रुपैयाँ र २०० रुपैयाँको बोनस ३ दिन भित्र र ५०० रुपैयाँ र १००० रुपैयाँको बोनस ५ दिनभित्र उपभोग गरिसक्नु पर्नेछ । त्यसैगरी एमपोसबाट जतिसुकै दरको रिचार्ज गर्दा पनि १५ प्रतिशत बोनस उपलब्ध हुनेछ र त्यो बोनस ५ दिनभित्र उपभोग गरिसक्नुपर्नेछ । आउँदो असोज ३० देखि कात्तिक ६ गतेसम्म एडीएसएल–एफटीटीएच तथा वाइम्याक्सको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि कात्तिक ७ गतेसम्म थप गरिने छ । यसबाट बीचैमा समय सकिए पनि ग्राहकहरुको सेवा सुचारु रहने छ ।

तोलामा कतिले कारोबार भइरहेको छ सुनचाँदी ?

काठमाडौं, असोज १९ । साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत नै कायम रहेकाे छ । बिहीबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि बजारमा सुन प्रतितोला ५८ हजार ९०० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बिहीबार तेजावी सुन प्रतितोला ५७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि बजारमा सुन प्रतितोला ५८ हजार ६०० रुपैयाँमै कारोबार भइरहेको छ। त्यस्तै, बिहीबार बजारमा चाँदी प्रतितोला मूल्य ७४५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी प्रतितोला ७४५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

डिजाइएर नेपाल ट्रेक्स ट्राभल्स एण्ड टुर्स कम्पनीमा कर्मचारी माग्यो

काठमाडौं, असोज १४ । डिजाइएर नेपाल ट्रेक्स ट्राभल्स एण्ड टुर्स प्रालिमा विभिन्न रिक्त रहेका पदहरुमा कर्मचारीको लागि अवेदन माग गरेको छ । ट्रेकिङ म्यानेजर, मार्केटिङ म्यानेजर, अपरेशन म्यानेजर, टिकेटिङ म्यानेजर, करेसपोन्डिङ म्यानेजर र लेखा पदहरुमा निम्न योग्यता भएकाहरु अावेदकहरुले अावेदन निम्न ठेगानामा दिन सकिने छ । तलको लिंकमा क्लिक गरी अावेदन फाराम भर्न सकिने छ । Trekking/ Tour Manger, Marketing Manger, Marketing Officer, Operation Manager, Accountant !

ज्ञानु र प्रकाश बृहत निशुल्क स्वास्थ्य शिविर,३०० जनाकाे स्वास्थ्य परीक्षण

काठमाडौं, ५ जेठ । दिवंगत ज्ञानु दाहाल र प्रकाश दाहालको स्मृतिमा उनको परिवारले निशूल्क स्वास्थ्य परीक्षण र औषधि बितरण गरेको छ । मंगलबार भरतपुरको शिवनगरमा एक कार्यक्रमको आयोजना गरी औषधि बितरण गरिएको हो । दिवंगत ज्ञानु दाहालकी छोरी तथा प्रकाश दाहालकी भाञ्जी सृष्टि दाहालको अग्रसरतामा उक्त कार्यक्रम गरिएको थियो । शिबिरमा ३०० जना क्यान्सर रोगीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो भने २०० जना क्यान्सर रोगीहरुलाई निशूल्क औषधि बितरण गरिएको थियो । बिरामीहरुलाई बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सकहरुले स्वास्थ्य परीक्षण गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले स्वास्थ्य शिबिरले बिपन्न नागरिकहरुका लागि राहत मिल्ने बताइन् । मेयर दाहालले भनिन्, ‘मेरी दिदी क्यान्सरबाट बित्नुभयो, क्यान्सरबाट कोही पनि मानिस मर्नु नपरोस्, त्यही भावनाका साथ यो कार्यक्रम आयोजना गरिएको छ, यसले थोरै भए पनि राहत मिल्ने विश्वास लिएका छौं ।’ आफ्नी आमा र मामाजस्तै कोही पनि अकालमा मर्नु नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक सृष्टि दाहालले बताइन् । उनले भनिन्, ‘मेरो आमा क्यान्सरले बित्नुभयो, त्यसले परिवारमा कति ठूलो पीडा हुन्छ भन्ने कुरा हामीले भोगेका छौं । कसैले पनि त्यस्तो पीडा भोग्न नपरोस् । त्यसैले थोरै भए पनि क्यान्सरपीडितलाई राहत दिउँ भनेर नै यो शिबिर आयोजना गरेका हौं । कार्यक्रमले मलाई उर्जा मिलेको छ ।’

शिक्षकलाई अब मासिक रुपमा तलब

दोलखा, जेठ २० । चौमासिक तलब बुझ्दै आएका शिक्षकले अब आउँदो आर्थिक वर्षदेखि मासिक रुपमा तलब पाउने भएका छन् । नेपाल शिक्षक महासंघले बुझाएको ज्ञापनपत्र बुझ्दै भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले नगरक्षेत्रमा कार्यरत शिक्षकलाई मासिक रुपमा तलब दिने घोषणा गर्नुभयो । गुणस्तरमा कुनै सम्झौता गर्न नसकिने जानकारी गराउँदै उहाँले सम्पूर्ण सेवा सुविधा प्रदान गर्न नगरपालिका तयार रहेको बताउनुभयो । प्रमुख केसीले बालकक्षामा अध्यापन गराउने शिक्षकलाई विद्यालय पोशाक खरिदमा केही रकम सहयोग गर्ने र बालकक्षामा पढ्ने बालबालिकालाई दिवा खाजाको समेत व्यवस्था गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । विद्यालय पोशाक एकरुपता अभियानमा सरकारी विद्यालयमा अध्यापन गर्ने प्रथामिक तहका सबै विद्यार्थीलाई ट्र्याकसुट खरिद गर्दा रु ३० लाख खर्च भएको बताउँदै उहाँले नगरभित्रका १० विद्यालयमा विद्यार्थी संख्या अत्यन्तै न्यून रहेकाले त्यस्ता विद्यालयलाई तत्कालै एकआपसमा गाभ्ने (मर्ज) कार्य पनि अन्तिम चरणमा पुगेको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मर्ज हुँदा केही शिक्षकलाई घरपायक केहीलाई टाढा पर्न सक्छ, यसमा सबैले चित्त बुझाउनु पर्छ ।” नेपाल शिक्षक महासंघ भीमेश्वर नगरपालिकाका अध्यक्ष बालकृष्ण दाहाल, सहअध्यक्ष इन्द्रकुमार बस्नेत र सचिव ध्रुव सापकोटाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा शिक्षकका पेशागत हकअधिकार सुरक्षित गर्दै शैक्षिक गतिविधि चुस्त दुरुस्त र प्रभावकारी बनाउन २८ बुँदे माग पेश गरिएको छ ।

गजलः आमाको काखमा स्वर्ग

पुजा वागीश यदि कँही कतै निस्वार्थ प्रेम छ भने, त्यो आमाको प्रेममा छ । यदि कतै आनन्दित स्वर्ग छ भने, त्यो आमाको काँखमा छ । यदि कोही वास्तविक जीवन शिक्षा सिकाउने गुरू छ भने, त्यो आमा नै हो । यदि कतै ईश्वर छन् भने त्यो आमा नै हो ।

बजारमा सुनचाँदीको मूल्य स्थिरै !

काठमाडौं । साताको चौथो दिन बुधबार सुनको मूल्य स्थिर नै कायम भएको छ । आज छापावाला सुन तोलामा ५८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला ५८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन ५८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला ७५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि चाँदी प्रतितोला ७५९ रुपैयाँमै कारोबार भएको थियो ।

विप्लवलाई प्रचण्डको कडा जवाफ– हाम्रै जनयुद्धको नक्कल गर्छु भनेर कसैले गरे त्यो सम्भव हुन सक्दैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले क्रान्तिको नक्कल गरेर नहुने बरु विकास गर्नुपर्ने बताउनु भएको छ । शनिवार अपरान्ह खुमलटारमा सिन्धुपाल्चोक जिल्लाबाट पार्टी प्रवेश गर्ने विप्लव समुहका नेता तथा कार्यकर्ताहरुलाई स्वागत गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो,‘ हाम्रै जनयुद्धको नक्कल गर्छु भनेर कसैले गरे त्यो सम्भव हुन सक्दैन । २०/२५ वर्षको सन्दर्भ र अहिलेको सन्दर्भ फरक छ ।’ अध्यक्षले पार्टी प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई सही निर्णय गरेको बताउँदै माओवादी क्रान्तिकारी आन्दोलनलाई नयाँ शिराबाट माथि उठाउने वातावरण तयार बन्दै गएको जानकारी दिनुभयो । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि रगत पसिना बगाउने कै नेतृत्वमा कम्युनिष्ट एकता हुनुपर्ने उहाँको धारणा थियो । उहाँले भन्नुभयो, ‘जसले बाली लगायो, उसैले थन्काउन पाउने नै वैज्ञानिक कुरा हो ।’ दुईचार दिन समय लिएपनि एमाले माओवादी केन्द्रबीचको एकता अन्ततः भएरै छोड्ने उहाँको भनाई थियो । शान्ति सम्झौतामा हस्ताक्षर गरेका बेला माओवादी सिंगो पार्टी हुँदा नै देशमा एउटै कम्युनिष्ट केन्द्र बनाउने बिषयमा छलफल भएको अध्यक्षले स्मरण गर्नुभयो । त्यसलाई माओवादी नेतृत्व र बिचारले नै पहल गर्नुपर्ने सल्लाह भएको उहाँको भनाई थियो । ‘त्यतिखेर केही साथीहरुले यो उपलब्धीलाई पचाउन सकेनन् र उनीहरुलाई बचाउन पनि सकिएन,’ उहाँले भन्नुभयो, ‘पहिलो संविधान सभामा ठूलो बनेको हाम्रो पार्टीलाई बचाउन सकेको भए संविधान पनि समयमै बनाउन सकिन्थ्यो । यो भन्दा राम्रो संविधान बनाउन सकिन्थ्यो । तर हामी सफल भईएन । हाम्रा विरोधीहरु माओवादी आन्दोलनलाई टुक्रा टुक्रा बनाउन सफल भए । ’ माओवादीलाई फुटाएर परिवर्तनका मुद्धाहरुलाई लावारिस बनाउने खतरा पैदा भएको थियो, अध्यक्षले भन्नुभयो । अब सबै छरिएर रहेका माओवादीहरु ढिलोचाँडो मूल पार्टीमा फर्कने उहाँको विश्वास थियो । उक्त कार्यक्रममा विप्लव समुहका सिन्धुपाल्चोक जिल्लाका इन्चार्ज र सेक्रेटरीसहित दुई दर्जनभन्दा बढि नेता तथा कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका थिए । उनीहरुले विप्लव नेतृत्वको नेकपाले जनहित र राष्ट्रहितमा काम गर्नुको साटो पूर्वाग्रही मानसिकताका साथ ध्वंश तर्फमात्र अगाडि बढेन कतिपय सामाजिक अपराधिक क्रियाकलापजन्य घटनाहरुलाई समेत क्रान्तिकारी कामको जामा पहिर्याएर अगाडि बढ्ने बाटो समातेको बताए ।

धेरै एयरफोन लगाउनेलाई हुनसक्छ बहिरोपन ?

काठमाडौं, वैशाख १५ । आजकाल किशोरकिशोरीहरु कानमा एयरफोन लगाएर हिडिरहेका हुन्छन् । पकेटमा मोबाइल या आइपड, कानमा एयरफोन फेसन जस्तै चलेको छ । तर, संगीतको यो आनन्द जीवनभरका लागि सजाय बन्न सक्छ भन्ने कुराचाहिँ कसैले पनि ख्याल गरेको देखिँदैंन । एयरफोनको आवाजले बहिरोपन निम्त्याउन सक्ने अनुसन्धानकर्ताहरु बताउँछन् । ठूलो आवाजका साथ एयरफोन सुन्दा कानको पर्दामा नकारात्मक असर पर्न सक्ने उनीहरुको भनाई छ । एक अध्ययन अनुसार १५ वर्षयता अमेरिकी किशोरकिशोरीमा बहिरोपनको समस्या तीब्र रुपमा बढिरहेको छ । ५ जनामध्ये १ किशोरीमा यस्तो समस्या देखिएको छ । यसअघि यस्तो समस्या ५० देखि ६० वर्षका व्यक्तिमा हुने गथ्र्यो । हार्वर्ड स्कुल अफ पब्लिक हेल्थ र बर्मिङघम एण्ड उमन्स हस्पिटलका अनुसन्धानकर्ताका अनुसार १९८८ देखी १९९४ मा गरिएको सर्वेक्षणको तुलनामा २००५ देखी २००६ मा १२ देखि १९ वर्षका किशोरकिशोरीमा बहिरोपन ३० प्रतिशत बढेको पाइएको छ । यस्तै, विगत १५ वर्षमा अमेरिकी किशोरमा हल्का या गम्भीर खालको बहिरोपनमा ७० प्रतिशत वृद्धि भएको पाइएको छ । अनुसन्धानकर्ताका अनुसार ५ मध्ये एक किशोरीमा सुन्ने क्षमतामा कमी पाइएको थियो भने २० मध्ये एक जनामा सुन्ने क्षमता निकै कम भएको पाइएको थियो । अनुसन्धानको नेतृत्व गरेका बर्मिङघम एण्ड उमन्स हस्पिटलका जोसेफ शरगोरोडस्कार्डका अनुसार हालैका अध्ययनमा किशोरकिशोरीमा आएको सुन्ने क्षमताको कमी चिन्ता जनक छ । खासमा युवाहरु आफ्नो श्रवणशक्ति बचाउने विषयमा ध्यानै दिँदैंनन् । तर अध्ययनमा किशोरकिशोरीबीच बढ्दो बहिरोपनको मुख्य कारण उल्लेख गरिएको छैन । तर, मोबाइल फोन र इयरफोन यसको कारक हो कि होइन भन्ने विषयमा अनुसन्धानकर्ताहरुले अध्ययन गरिरहेका छन् । जोसेफ भन्छन्, ‘बहिरोपनको खास कारण थाहा पाउन थप अनुसन्धान जरुरी छ ।’ अनुसन्धानकर्ताहरुका अनुसार अमेरिकामा किशोरीको तुलनामा किशोरमा बहिरोपनको समस्या बढी छ । २००५ देखी २००६ मा करिब २२ प्रतिशत किशोर र १७ प्रतिशत किशोरीमा बहिरोपनको समस्या बढेको छ । कानको हेरविचार कसरी गर्ने १. कानलाई स्वस्थ राख्न शरीरका अन्य अंगजस्तै हेरविचार गर्नुपर्छ । २. कहिल्यै पनि चाबी या फलामले नकोट्याउनुस् । ३. कानमा बढी समस्या भयो, इन्फेक्सन भयो भने तत्काल चिकित्सकको सल्लाह लिनुपर्छ । ४. ठूलो स्वरमा गीत नबजाउने या एयरफोनमा ठूलो आवाज लगाउनुहुन्न । ५. नुहाउदा कानमा कपास वा सुतिको कपडा हाल्नुहोस्, ताकि साबुन,पानी सिधै कान भित्र छिर्न नपाओस् । ६. नियमित कानको परिक्षण गराउनुपर्छ ।

मान्छे जस्तै देखिने बाँदर, भिडियोसहित

मान्छेका पुर्खा को थिए भन्ने बारे थुप्रै खोज अनुसन्धानहरू भएका छन्। उद्विकास सिद्धान्तले मान्छेका पुर्खा बाँदर थिए भन्ने कुरा किटानीसाथ भनिसकेको भए तापनि आजसम्म बाँदरबाट मान्छे भएको भने कसैले देखेको छैन। यो लाखौँ करोडौं वर्षसम्म चलिरहने सतत प्रक्रिया अन्तर्गत घटित हुने घटनाक्रम भएकाले यसो भएको हो। बाँदर भनी बित्तिकै मनमा यसका कयौं प्रजातिहरूबारे विचार आउनु स्वाभाविक नै हो। आखिर यी मध्ये कुन बाँदर होला त मानिसको पुर्खा? कतिपय बाँदरहरू को मुखाकृति दुरुस्त मान्छे जस्तै हुने गर्दछ। तर चीनको एउटा चिडियाखानामा भने एउटा बाँदर भेटिएको छ जसलाई देख्ने बित्तिकै यो मान्छे नै पो हो कि भन्ने भ्रम समेत हुने गर्छ। यहाँको टिआन्जिन जुलोजिकल गार्डनमा भेटिएको यो बाँदर मान्छे जस्तै देखिने मात्रै होइन यसले मान्छे जस्तै हाउभाउ समेत देखाउने गर्दछ। अचेल यस बाँदरक तस्बिर र भिडियोहरू सामाजिक सनाजाल्मा निकै भाइरल भैरहेका छन्। युत्युबमा मात्रै यस बाँदरको भिडियो निकै पटक हेरिइसकेको छ। हेरौं भिडियो….

हुँदैछ उथल पुथल, बदलिन सक्छ विश्वको नक्सा, अफ्रिकाका कयौं देशको अस्तीत्व संकटमा

पृथ्वीमा भौगर्भिक परिवर्तनहरू आम हुन्। पृथ्वीको सतह मुनि रहेका प्लेथारूको गतिशीलताको असर लामो कालखण्डपछि सतहमा समेत देखा पर्दछ। भनिन्छ हाल नेपाल रहेको स्थानमा करोडौं वर्ष पानीले एउटा साग थियो रे। पछि भारतीय प्लेटको उत्तर सराई र तिब्बतीय प्लेटको स्थिर बसाइका कारण अहिलेको हिमाल, नेपाल र उत्तर भारतको कतिपय भाग बनेको भनेर वैज्ञानिकहरू मान्दछन्। भूगर्भशास्त्रीहरूका अनुसार एउटै भूखण्डका रूपमा रहेका दक्षिण अमेरिका र अफ्रिका प्लेटहरूकै गतिशीलताका कारण अलग अलग महादेश हुन पुगेका थिए एक अर्कालाई निरन्तर घचेटिरहेका सोमालियन र नुबियन प्लेटले रिफ्ट भ्याली महासागरमा परिणत हुन सक्छ। त्यस्तै भूगर्भशास्त्रीहरू भन्छन् लगभग १३ करोड ८० लाख वर्ष पहिले एउटै भूखण्डका रूपमा रहेका अफ्रिका र दक्षिण अमेरिका अलग भएका थिए। त्यसबेला धर्तीमा  धाँजा फाटेर परेका चिराहरू कालान्तरमा फैलिँदै गई नया समुद्र या महासागर बने र दुई महादेश अलग भएको मानिन्छ। फेरि लामो कालखण्डपछि त्यस्तै भौगर्भिक परिघट्नाको संकेत देखिएको छ। भूगर्भशास्त्रीहरूले आउँदो एक करोड वर्षसम्म अफ्रिका महादेश दुई टुक्रामा विभाजित भइसक्ने र त्यसको बिचमा एउटा महासागर नै बन्ने भविष्यवाणी गरेका छन्। ज्वालामुखीय चट्टानमाथि रहेको रिफ्ट भ्याली निरन्तर फैलिरहेको छ। नयाँ महासागर बन्ने यस प्रक्रियाको सुरुवात समेत भइसकेको छ। दक्षिण पश्चिम केन्यामा सयौं किलोमिटर लामो र चौडा धाँजा परेको छ। यसको आकार निरन्तर बढ्दै गएको बुझिएको छ। यस चिराले केन्याकोको न्यारोबी- न्यारोक राजमार्ग पूर्णरूपमा तहसनहस भइसकेको छ। र यहाँ निरन्तर भूकम्पका झड्का महसुस गरिँदै छन्। यसो हुनुको कारणबारे फल्ट डाइनामिक्स रिसर्च ग्रुप लण्डन रोयल होलोवेका अनुसन्धाता लुसिया पेरेज डियाजले केही प्रकाश परेका छन्। डियाजका अनुसार पृथ्वीको लिथोस्फेयर अर्थात् क्रस्ट र मेन्टलको माथिको भाग अनेकौं टेक्टोनिक प्लेटहरूले बनेको हुन्छ जुन निरन्तर चलायमान हुन्छन्। यिनीहरू फरक फरक गतिले एक-अर्कातिर बढिरहेका हुन्छन्। लिथोस्फेयरको मुन्तिर एस्थेनोस्फेयर भन्ने बढी चलायमान अर्को पत्र हुन्छ। वास्तवमा एस्थेनोस्फेयरकै गतिशीलताका कारण टेक्टोनिक प्लेटहरू गतिमान रहने हुन्। एस्थेनोस्फेयरको गतिशीलताले प्लेटहरूलाई गतिमान गर्ने मात्र हैन तिनमा चिरा पारिदिने या फुटाउने पनि गर्दछ। यसो हुँदा नयाँ प्लेटहरू बन्दछन् र त्यसको प्रभाव स्वरूप भूकम्प आउने र धर्तिको सतहमा चिरा पर्ने हुन्छ। एक अर्कालाई निरन्तर घचेटिरहेका सोमालियन र नुबियन प्लेटले रिफ्ट भ्याली महासागरमा परिणत हुन सक्छ। पूर्वी अफ्रिकामा रहेको रिफ्ट भ्याली उत्तरमा यमन र सोमालियाबिच रहेको अडानको खाडीदेखि दक्षिणमा जिम्बाब्वेसम्म ३ हजार किलोमिटर क्षेत्रमा फैलिएको छ। यसले अफ्रिकी टेक्टोनिक प्लेटलाई दुई भागमा बाँड्दछ। यसको पूर्वी भागमा अर्थात् इथियोपिया, केन्या, तान्जानियामा तीव्र भौगर्भिक हलचल भइरहन्छ। फलस्वरूप दक्षिण पश्चिम केन्यामा जमिनमा सयौं किलोमिटर लामो चिरा परेको छ, जुन निरन्तर फैलिँदैछ। यो चिरा अफ्रिकाको रिफ्त भ्याली हो जुन  ज्वालामुखीय चट्टानहरूले बनेको छ। जसले गर्दा यहाँको लिथोस्फेयर साह्रै पातलो रहेको छ। र यो अझै  टुक्रिने सम्भावना प्रबल छ। यस्तो भएको खण्डमा खाली स्थानमा म्याग्मा जमेर नयाँ महासागर बन्ने प्रक्रिया सुरु हुने वैज्ञानिकहरू बताउँछन्। वैज्ञानिकहरूका अनुसार यस्तो धाँजा परेर गहिरिएको जमीन समुद्र सतहभन्दा होचो हुने भएकाले वैश्विक तापमान वृद्धिजस्ता कारणले समुद्री सतह बढेर यस स्थानलाई पुरिदिनेछ र यहाँ नयाँ महासागरको निर्माण हुनेछ। यसले अफ्रिकाको क्षेत्रफल समेत संकुचित हुने अनुमान गरिएको छ। साथै यसले हाल भूपरिवेष्टित रहेको इथियोपियालाई एउटा समुद्री दीपमा परिणत गरिदिने छ। वैज्ञानिकहरूका अनुसार पूर्वी अफ्रिकी प्लेट निरन्तर टुक्रिने क्रममा छ। यसको पूर्वी भागमा ५ हजार किलोमिटर लामो विशालकाय टेक्टोनिक प्लेट रहेको छ। अफ्रिकाको पूर्वमा सोमालियन प्लेट छ जुन इन्डियन प्लेटसँग जोडिएको छ भने यसको पश्चिममा नुबियन प्लेट रहको छ। यी दुवै प्लेथारूले एक अर्कालाई घचेट्दै छन्। जसले गर्दा प्रति वर्ष केही मिलिमिटरका दरले यहाँ धाँजा फाट्दै छ। यसले गर्दा केही करोड वर्ष भित्रमा नै यहाँ एउटा नयाँ महासागर बनेर सम्पूर्ण विश्वको मानचित्र नै बदलिदिने छ।

मन्त्री मगरको पहलमा सयाैं महिलाले गरे क्यान्सरको परीक्षण, केहीमा देखियो पोजिटिभ

कञ्चनपुर, चैत्र १९ । खानेपानी तथा सरसफाइ मन्त्री बीना मगरको पहलमा कञ्चनपुरमा धैरे महिलाले निशुल्क रुपमा क्यान्सर रोगको परीक्षण गरेको शिविर संयोजक सरु दाहाल अधिकारीले बताएकी छन । संयोजक सरुले भनिन, ‘धेरै–धेरै आभार ब्यक्त गर्दछु संयोजकको नाताले कन्चनपुरसम्म शिबिर पुर्याउन सहयोग गर्नु हुने नेपाल सरकारका माननीय खानेपानी तथा सरसफाई मन्त्री बिना मगरलाई । आफ्ना दिबङगत परिवार दिदी स्व ज्ञानु दाहाल र पति स्व प्रकाश दाहालको संझनामा चार दिनको बृहत् निशुल्क स्तन तथा पाठेघरको मुखको भीआइए टेस्ट कार्यक्रम राख्नुभको जानकारी गराउछु ।’ चारदिनसम्म कञ्चनपुरका विभन्न स्थानमा सञ्चालन भएको शिविरको पहिलो दिन पुनर्बास नगरपालिकामा सात सय जना महिलाले स्तन तथा पाठेघरको जाँच गराएका थिए । जसमध्ये २२ महिलामा भीआइए पोजेटिभ देखिएको भने एक महिलामा क्यान्सर भेटिएकाे संयाेजक सरुले बताइन। शिविरमा २२ जनालाई र cervical polyp भएका २५४ जनालाई एन्टीबायाेटिक वितरण गरिएकाे थियाे । त्यसैगरी तीन जनामा क्यान्सरकाे लक्ष्यण देखिएपछि  मेमोग्राम गर्न रिफर गरिएका सरुले बताइन । साथै शिबिरमा क्यान्सर संबन्धि जनचेतना कक्षा संचालन गरी सचेत गराइएकाे थियाे । विरामीलार्इ बायस्बि गराउन र थप उपचारका लागि सेती अञ्चल अस्पताल र भरतपुरस्थित क्यान्सर अस्पतालमा सहुलियत उपलब्ध गराउने पनि तयारि गरिएको छ। चितवनकाे बि पि कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राबिधिक सहयोगमा शिबिर संचालन भएकाे थियाे । मंगलबार उक्त शिबिर कञ्चनपुरकाे बेलाैरी  नगरपालिकामा हुने बताइएकाे छ ।

गुगलले ल्याउने भयो एंड्रोइड-पी, आइफोन प्रयोगकर्ताहरूसम्म पुग्ने कोसिस

तपाईं यदि एंड्रोइड अपरेटिंग सिस्टमबाट चल्ने मोबाइल चलाउनु हुन्छ भने त्यसमा एंड्रोइडको कुन भर्सन रहेको छ ? हाल बजारमा उपलब्ध नयाँ स्मार्ट फोनहरूमा पनि धेरैमा त अझै पनि ६.० मार्समेलो नै छ र अधिकतरले ७.० नुगटको अपडेट प्राप्त गरिसकेका छन्। अहिले बजारमा उपलब्ध रहेको सबैभन्दा अद्यावधिक एंड्रोइड भर्सन भनेको ८.० ओरियो हो। अहिलेका कतिपय फ्ल्यागसिप फोनहरूमा यो भर्सनको एंड्रोइड उपलब्ध रहेको छ भने कतिपय ब्रान्डहरूले धमाधम ओरियो अपडेट पठाइरहेका छन्। हाल बजारमा उपलब्ध स्मार्ट फोनहरूमध्ये लगभग १.१ प्रतिशत मात्रै डिफल्ट ओरियो सिस्टमका साथ बजारमा आएका छन्। बाँकीले या त किन्नासाथ नै या केही समय पछि यसको अपडेट उपलब्ध गराएका हुन् र यो क्रम केही समय अझै जारी रहने छ। हुन त ओरियो अपडेट प्राप्त भएको मोबाइल फोन लेटेस्ट नै हो तर गुगलले भने ओरियो भर्सनको उत्तराधिकारी कस्तो हुने भनेर निर्धारित गरिसकेको छ। आजसम्म गुगलले जति पनि एंड्रोइड भर्सनहरू सार्वजनिक गरेको छ सबै कुनै न कुनै खानेकुराको नामबाट छन् र त्यो पनि वर्नानुक्रम अनुसार। यसपालि भने गुगलले सायद अल्फाबेट मात्रैबाट नयाँ अपरेटिंग सिस्टम सार्वजनिक गर्ने सम्भावना देखिएको छ र यस सबैभन्दा अद्यावधिक एंड्रोइड भर्सनको नाम ‘एंड्रोइड-पी’ दिइएको छ। प्रविधि समाचारहरूमा हाल यस सफ्टवेयरको ‘लुक’ बदल्ने काम भइरहेको र यसका माध्यमले गुगलले आइफोन प्रयोगकर्ताहरूलाई आकर्षित गर्न खोजेको छ। एप्पलले आफ्नो नयाँ भर्सनको अपरेटिंग सिस्टममा ठुलो परिवर्तन नल्याउने समाचार आइरहेको अवस्थामा गुगलको यस कदमले उसलाई रणनीतिक फाइदा पुग्ने देखिन्छ। गुगलको एंड्रोइड-पीमा मल्टिपल स्क्रीन सपोर्ट गर्ने भएकाले यसले प्रयोगकर्तालाई नयाँ अनुभव दिने विश्वास गरिएको छ। गुगलले एंड्रोइड-पीको पहिलो डेभेलपर प्रिभ्यु केही दिनमै सार्वजनिक गर्न सक्ने जनाइएको छ।  

प्रकाश र श्रीदेवीको कमेडी गीत ‘वरको छाँयाले’ सार्वजनिक (भिडियोसहित)

नेपाली लोक तथा दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरेका चर्चित तथा लोकप्रिय गायक प्रकाश ढकाल र गायिका श्रीदेवी देवकोटाको सुमधुर आवाजले सजिएको कमेडी गीत ‘वरको छायाँले’ गीतको भिडियो भर्खरैमा सार्वजनिक भएको छ। गायक प्रकाशले अन्य माया–प्रितीका गीतहरु बजारमा ल्याइरहँदा कमेडी गीत बजारमा आउनुलाई आमदर्शक तथा श्रोताले गायकलाई निकै रुचाएका छन् । गीतमा शब्द तथा संगीत प्रकाश ढकालको रहेको छ । प्रस्तुत गीतको लय शब्द र गायन जति उत्कृष्ट बनेको छ, त्यति नै उत्कृष्ट भिडियो बनेको छ । भिडियोमा चर्चित मोडल तथा निर्देशक काजिश श्रेष्ठ र करिष्मा ढकाल र सरापे को अभिनय रहेको छ । काजिश श्रेष्ठको निर्देशन तयार भएको यस गीतको भिडियोलाई छायांकन भने सुरेश श्रेष्ठले गरेका हुन् । दिपक विष्टको सम्पादन रहेको गीतको अडियो तथा भिडियोलाई गोरखा चौतारी म्युजिकले आफ्नै युटुब चयानलबाट सार्वजनिक गरेको छ । भिडियो हेर्न तल क्लिक गर्नुहोला