सरकारले भन्नुपर्याे, चुनाव गराउन तयार छाैं : निर्वाचन आयोग
नेपालगञ्ज, मंसिर १६ । सबै तहको निर्वाचन गराउन निर्वाचन आयोग तयार रहेको आयोगका आयुक्त इला शर्माले बताएका छन् । अाज आयोजित ‘निर्वाचन कानुन र स्थानीय निर्वाचन’ विषयक अन्तक्र्रिया कार्यक्रममा शर्माले निर्वाचन गराउका लागि आवश्यक चार महिना भए निर्वाचन गराउन आयोग तयार रहेको बताएका हुन् । शर्माले भने, ‘हामीलाई निर्वाचन गराउन कम्तीमा चार महिनाको समय आवश्यक पर्छ र त्यो व्यवस्था भयो भने निर्वाचन गराउनु सकिन्छ ।” आयुक्त शर्माले निर्वाचनका लागि मतदाता नामावली ऐन, राजनीतिक दलसम्बन्धी ऐन, निर्वाचन कसुर तथा सजाय ऐन, स्थानीय तह कार्यविधि ऐन तथा स्थानीय तह निर्वाचन कार्यविधि ऐन पारित भए र स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन सार्वजनिक भए आयोगले निर्वाचन गर्नसक्ने बताए । पत्रकारहरुको जिज्ञासामा निर्वाचनले संविधान संशोधनका विषयलाई ओझेलमा नपार्ने बताउँदै उनले संविधान संशोधनको विषय राजनीतिक भएकाले यसमा आयोगको कुनै भूमिका नरहने बताए । ‘आयोगले आफ्नो मर्यादा बिर्सेको छैन, निष्पक्ष, स्वतन्त्र निर्वाचन गराउनु नै आयोगको एकमात्र उद्देश्य रहन्छ,’–शर्माले भने ।
चोरी गरेको अभियोगमा ६ जना पक्राउ
झापा । विभिन्न मिति, समय र स्थानहरूमा जम्मा बिगो ३० लाख १६ हजार ६ सय ८७ रूपैयाँ बराबरको रकम चोरीका १३ वटा घटनाहरूमा संलग्न रहेको अभियोगमा झापाका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर ईन्द्रसरोबर गाउँपालिका(५ फाखेल बस्ने ३० वर्षीय सोमलाल स्याङ्तान, २१ वर्षीय सुनिल भन्ने सन्त बहादुर स्याङ्तान, २२ वर्षीय सुनिल स्याङ्तान, २५ वर्षीय बुद्ध स्याङ्तान, २६ वर्षीय सुजन स्याङ्तान र मकवानपुर गढी गाउँपालिका ८ बस्ने २८ वर्षीय अजय राना मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको समन्वय एवम् जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा ईटहरीबाट उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत झापाबाट चोरी कसूरमा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नयाँ गठबन्धन निरन्तर जान्छ : सांसद पौडेल
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले वर्तमान सत्तागठबन्धन निरन्तर अगाडि जाने बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा दलीय आधारमा धारणा राख्दै उनले वर्तमान गठबन्धनलाई कसैले पनि तोड्न नसक्ने बताए । “यो गठबन्धन बाँकी चार वर्ष निरन्तर जान्छ, कसैले तोड्न सक्दैन । हिजो तोडेर गल्ती भयो, मुलुकले स्थायित्व प्राप्त गर्न सकेन”, सांसद पौडेलले भने, “मुलुकलाई स्थायित्व दिन फेरि गठबन्धन गरेका छौँ ।” वर्तमान गठबन्धनमा लामो राजनीतिक अनुभव प्राप्त गरेका तथा आलोचक भएर सरकारका कामकारबाहीबारे ध्यानाकर्षण गराउँदै आएका दल सहभागी रहेको उल्लेख गर्दै उहाँले वर्तमान सरकारले तीव्र गतिका साथ काम गर्ने विश्वास व्यक्त गरे । “वर्तमान सरकार कानुन निर्माण तथा मुलुकले भोग्दै आएको समस्या समाधान गर्न सक्षम हुनेछ”, सांसद पौडेलले भने, “राष्ट्र निर्माण गर्ने जिम्मेवारी दलहरुको काँधमा छ, मुलुकको समृद्धि तथा साझा मुद्दामा राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुपर्छ ।” रासस
दावा छिरिङलाई नागरिकता दिलाउने अधिकृत अर्याल पक्राउ
काठमाडौं । तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङलाई नागरिकता दिलाउने एक अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ । तत्कालीन समयमा जिल्ला प्रशासन कार्यालय काभ्रेमा कार्यरत रामचन्द्र अर्याललाई काभ्रे प्रहरीले नियन्त्रणमा लिएको हो । उनी हाल वागमती प्रदेशसभा सचिवालय हेटौँडामा छैटौँ तहका अधिकृतका रूपमा कार्यरत छन् । उनलाई हेटौँडाबाटै पक्राउ गरिएको काभ्रेका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । गएको साउनमा ६० किलो सुन तस्करीको आरोपमा पक्राउ परेका दावाले काभ्रेबाट नागरिकता लिएको खुलेपछि प्रहरीले अनुसन्धान थालेको थियो । दावाले निमा तामाङका नामबाट ०७४ पुस २० गते नागरिकता लिएका थिए । अधिकृत अर्यालसँगको मिलोमतोमा नागरिकता लिएको खुलेपछि उनी पक्राउ परेका हुन् । दावाले नागरिकता लिँदा सनाखत गर्ने अर्का अधिकृत अझै फरार छन् ।
माओवादी केन्द्रीय समिति बैठक, तस्बिरमा हेर्नुहोस्
काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी छ।बैठक भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आजदेखि सुरु भएको हो। बैठकमा ४ सय ९ केन्द्रीय सदस्यसहित ८ सय जनाभन्दा बढीको उपस्थिति रहने माओवादी केन्द्रले जनाएको छ। केन्द्रीय समिति बैठक आज र भोलि दुई दिनसम्म माओवादीको तयारी छ । बैठकले जागर अभियानको समिक्षा गर्नुका साथै विधान अधिवेशनमा पेश गरिने मस्यौदा विधानलाई केन्द्रीय समितिबाट अनुमोदन गराउने तयारी माओवादीको छ । माओवादीको हाल केन्द्रीय समितिमा ४ सय ९ जना सदस्य छन् भने वैकल्पिक सदस्यको संख्या १ सय ९० छ। बैठकमा प्रदेशका पदाधिकारीलाई समेत सहभागी गराउने निर्णय भएको छ। सबै प्रदेशका कूल पदाधिकारी ९४ छन्। माओवादी केन्द्रले १० प्रदेशको अभ्यास गरिरहेको छ। यसैगरी माओवादी केन्द्रको केन्द्रीय अनुशासन समिति, केन्द्रीय लेखा परीक्षण समिति र केन्द्रीय निर्वाचन समिति गरी तीनवटा आयोग छन्। यी आयोगमा ७५ सदस्य छन्। सबैलाई समेट्दा झण्डै ८ सय जना बैठकमा सहभागी हुने अनुमान छ। बैठकमा विधान सम्मेलनका लागि विधानबारे केन्द्रीय सदस्यहरुले सुझाव राख्ने छन्। यसअघि गत साउन १७ देखि २१ गतेसम्म काठमाडौँकै प्रज्ञा प्रतिष्ठानमा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बसेको थियो। प्रचण्ड अध्यक्ष निर्वाचित भएपछि पार्टीको पाँचौँ केन्द्रीय समिति बैठक राखिएको हो।
मुलुकको अर्थतन्त्र लयमा फर्किँदै छ : अर्थमन्त्री डा.महत
काठमाडौं। अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र लयमा फर्कदै गएको बताएका छन् । इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान) को प्रथम वार्षिकोत्सवका अवसरमा आज आयोजित ‘अर्थतन्त्र पुनरुत्थानमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रियामा उहाँले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा अगाडि बढ्दै गएको बताएका हुन् । “विगतका दिनमा धेरै रकम अनुत्पादक क्षेत्रमा खर्च भयो, उक्त खर्चको दायित्व तिर्दा अर्थतन्त्र केही दबाबमा परेको थियो, पुँजीगत खर्च अब बढ्छ, त्यो विस्तारै समाधान हुँदैछ, अर्थतन्त्र लयमा फर्कँदै छ”, उनले भने । अर्थमन्त्री डा महतले बैंक तथा वित्तीय क्षेत्रबाट लिएको ऋण तिनुपर्ने बताए । “बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण कुनै हालतमा पनि तिनुपर्छ”, उनले भने । उनले निजी क्षेत्र, सञ्चारकर्मी, सरकार, नागरिक समाज, समग्र जनता मिलेर मुलुकको अर्थतन्त्रलाई सपार्ने बाटोमा लाग्नुपर्ने बताए । सबै क्षेत्रको सामूहिक प्रयासबाट मात्र अर्थतन्त्रले गति लिने उनको भनाइ थियो। उनले अर्थतन्त्रले पछिल्लो समय राम्रो गति लिएको तथ्याङ्कले देखाएको बताउ। “हामीसँग पुँजी छ, तर खर्च गर्न समस्या भएको छ, आगामी दिनमा खर्च पनि बढ्छ”, उनले भने। नेपाल राष्ट्र बैंककका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले पछिल्लो समय नेपालको अर्थतन्त्र गतिशील बन्दै गएको बताए । उनले आयात विस्तारै घट्दै जानुका साथै विप्रेषणसमेत बढ्दै गएको बताए । उनले नेपालको बैंक तथा वित्तीय क्षेत्रमा जुन खालको कर्जा प्रवाह गर्नुपर्ने हो त्यो हुन नसकेको स्पष्ट पाए। उनले कर्जालाई उत्पादन क्षेत्रमा प्रवाह गर्नुपर्नेमा जोड दिए। अर्थतन्त्रलाई सकारात्मक सन्देश दिने खालका समाचार सम्प्रेषणमा लाग्न सञ्चारमाध्यमलाई उनले आग्रह गरे। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रका सूचकाङ्क पछिल्लो समय सकारात्मक गतिमा जाँदा पनि उक्त सकारात्मक कुरा आम जनतामा जान नसकेको बताए । फ्रेबुअरीमा हुन लागेको लगानी सम्मेलनलाई आवश्यक पर्ने ऐन, कानुन सहजीकरणका लागि निजी क्षेत्रले सरकारलाई सुझाव दिइसकेको उनको भनाइ छ । अध्यक्ष ढकालले मुलुकमा लगानीको वातावरण निर्माण गर्न जरुरी रहेको उल्लेख गरे। नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेशकुमार अग्रवालले अर्थतन्त्रलाई अगाडि बढाउन निजी क्षेत्रको मनोबल बढाउन जरुरी रहेको बताए । राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष ओमदेवी मल्लले व्यक्तिगत पाराले सहकारी चलाउँदा सहकारी क्षेत्रमा समस्या उत्पन्न भएको उल्लेख गरे । नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनिल केसी, नेपाल उद्योग परिसङ्घ उद्योग समितिका संयोजक लक्ष्मीप्रसाद सुवेदीलगायतले मुलुकको अर्थतन्त्रको विकासको क्षेत्रमा इमानले खेलेको भूमिका सराहनीय रहेको बताए। इमानका अध्यक्ष रोयल आचार्यले मुलुकको अर्थतन्त्रलाई सबल बनाउनका लागि इमानले भूमिका खेल्दै आएको बताए। बैंक तथा वित्तीय संस्थाको आवाज इमानले बोल्दै आएको उनको भनाइ थियो । रासस
उदयपुर सिमेन्ट कारखाना पूर्णरूपमा सञ्चालन गर्न सामूहिक सुधारको खाँचो छ : मन्त्री डा. महत
उदयपुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले उदयपुर सिमेन्ट कारखाना देशकै लागि महत्त्वपूर्ण भएको बताएका छन्। उद्योग र उद्योगले प्रयोगमा ल्याएका खानीको आज उदयपुरमा निरीक्षण गर्दै उहाँले यस उद्योगका समस्या सबै मिलेर समाधान गर्नुपर्ने बताए । मन्त्री डा. महतको सचिवालयका अनुसार सो अवसरमा उहाँले कारखाना निरीक्षणका क्रममा सामूहिक प्रयासबाट मात्र उद्योग पुनः सञ्चालनको सम्भावना रहेको उल्लेख गरे। सरकारले अनुदान दिएर मात्र समस्याको समाधान ननिस्कने मन्त्री डा। महतको भनाइ थियो । “व्यवस्थापनमा ध्यान दिनुपर्यो, यहाँ काम गर्ने श्रमिकले पनि जिम्मेवारीबोध गर्नुपर्यो । कसैले पनि जिम्मेवारीबोध नगर्दा यो अवस्था सिर्जना भएको हो । विगतबाट पाठ सिकेर आफूलाई परिवर्तन गर्नुपर्छ”, उनले भने । निजी क्षेत्रद्वारा धेरै उद्योग व्यवसाय सञ्चालन भएका उल्लेख गर्दै मन्त्री डा.महतले श्रमिकका गुनासा सम्बोधन गर्न जरुरी भएको बताए । उनले भने, “निजीक्षेत्रले आफैँले जमिन किन्छ, उद्योगका संरचना आफैँ निर्माण गर्छ, ऋण लिएर मेसिन किन्छ र सञ्चालन गर्छ । सबै सञ्चालन खर्च तिरेर पनि नाफा कमाउँछ ।” उदयपुर सिमेन्ट कारखाना सञ्चालनका लागि जापान सरकारले सहयोग गरेको हो । स्थापनाका बेला कारखानामा रु। ४४ करोड लगानी गरिएको थियो । अहिले पनि कारखानाले रु। एक अर्बको सावाँब्याज केही तिर्नुपरेको छैन । सञ्चालन खर्चको दायित्व पूरा गरे पुग्छ । तर कारखानाले पूर्ति गर्न सकेको छैन । अहिले कारखानामा रु। ७५ करोडको दायित्व रहेको मन्त्री डा.महतले बताए । उनले भने, “सरकारले व्यवस्थापक नियुक्ति गर्यो, त्यहाँ पनि कमजोरी छ । व्यावसायिकतालाई हामीले महत्व दिएनौँ । व्यवस्थापनको नेतृत्व पनि कमजोर भयो, श्रमिकले आफ्नो जिम्मेवारी पूरा गरेनन्, सुविधा मात्र माग गर्नमा जोड दिए । त्यही कारणले उद्योगको अहिलेको अवस्था आएको हो ।” कोभिड–१९ भन्दा अगाडिदेखि नै समस्या थपिँदै आएका मन्त्री डा. महतको भनाइ थियो । “महत्व दिएर यसको सम्पत्ति रक्षा गर्नुपर्छ भन्ने मानसिकता देखिएन । यसैले सफलता प्राप्त गर्न सकिएन”, उनले भने– “उद्योगमा सरकारको सहभागिता जरुरी होइन । निजी क्षेत्रलाई प्रतिस्पर्धी बनाउन सरकारले लगानी गर्यो, मित्रराष्ट्रहरुको पनि सहयोग रह्यो । यसलाई निरन्तरता दिन जरुरी छ ।” व्यवस्थापन र ट्रेड युनियनबाट प्रतिबद्धता आएन भने उद्योग बचाउन कठिन हुने मन्त्री डा। महतको भनाइ थियो । उद्योग बचाउन समयसँगै नयाँ प्रविधिको उपयोग गर्न आवश्यक भएको उनले बताए । उद्योग बचाउनुपर्छ भन्ने मानसिकता बोकेर काम गरे सरकारले सहयोग गर्ने मन्त्री डा.महतले बताए। काममा व्यावसायिकता देखिनुपर्ने भन्दै मन्त्री डा.महतले भने, “प्रतिस्पर्धामा टिक्नुपर्छ । यो उद्योगमा अन्तबाट उठेको कर यहाँ हाल्दै जबर्जस्ती बचाउन सकिँदैन । यसलाई बचाउन व्यवस्थापन, मजदुर, सञ्चालक र स्थानीय सरकारले सामूहिक प्रतिबद्धता जनाउनुपर्छ । अनि मात्र सरकारले हेर्छ ।” रासस
कांग्रेस जिल्ला सभापतिको बैठक आज बस्दै, अनलाइनमार्फत पनि सहभागी हुनसकिने
काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मध्याह्न १२ बजे बस्ने बैठकमा पार्टी सदस्यता वितरण, नवीकरण र पार्टी सञ्चालन विधिबारे छलफल हुने कांग्रेसले जनाएको छ । जिल्ला सभापतिहरूलाई बैठकमा आउँदा क्रियाशील सदस्यता र कांग्रेस सदस्यताको विवरण, नवीकरण र अभिलेखीकरणको विषय, विधान बमोजिम गर्नुपर्ने पार्टीका विभिन्न तहका सम्मेलनका विषय र पार्टी सञ्चालन तथा व्यवस्थापनलगायतका विषयसहित उपस्थित हुन पत्राचार गरिएको छ । आफ्नो जिल्ला अन्तर्गतका प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति, गाउँ, नगरपालिका कार्यसमिति, वडा समितिका पदाधिकारी तथा सदस्यहरूको नामावली र सम्पर्क नम्बर समेत लिएर उपस्थित हुन भनिएको छ । यसैगरी वडादेखि जिल्लासम्म विधान बमोजिम हुनुपर्ने सम्मेलनहरू कुन कुन तहो सम्मेलन सम्पन्न भए, कुन कुन हुन बाँकी छ सोको विवरण र योजना समेत ल्याउन भनिएको छ । जिल्ला सभापति उपस्थित हुन नसके उपसभापति उपस्थित हुने, भौतिक रूपमा सहभागिता जनाउन नसके अनलाइनमार्फत अन्तरक्रियामा सहभागी हुनसक्ने व्यवस्था पनि गरिएको छ । बैठक भोलिसम्म चल्ने कांग्रेसले जनाएको छ ।
जन्मसिद्धका सन्तानलाई सरकारले आजदेखि नागरिकता वितरण गर्ने
काठमाडौं । सरकारले जन्मसिद्धका सन्तानलाई आजदेखि नागरिकता वितरण गर्ने भएको छ । अधिकांश जिल्ला प्रशासन कार्यालयले आजदेखि नागरिकता वितरण गर्ने तयारी मिलाएको गृह मन्त्रालयले जनाएको छ । महोत्तरी र सिरहाले शुक्रवारदेखि नै नागरिकता वितरण गर्न थालेका थिए । महोत्तरीस्थित जलेश्वर नगरपालिका वडा–१ का ब्राइट जन्मसिद्धका सन्तानका रूपमा नागरिकता लिने पहिलो व्यक्ति हुन् । चौधरीले शुक्रबार नै जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट नागरिकता लिएका थिए । आफ्ना बाबु र आमा नेपाली नागरिक भएर पनि नागरिकता नपाएकाले लामो संघर्षपछि नागरिकता पाउने स्थिति पैदा भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले हालै प्रमाणीकरण गरेको सो ऐन कार्यान्वयन नगर्न यसअघि दिएको अल्पकालीन आदेश बिहीबार सर्वोच्च अदालतले खारेज गरेपछि सो ऐन कार्यान्वयनमा आएको थियो । राष्ट्रपति पौडेलले सो विधेयक प्रमाणीकरण गरेसँगै सो ऐन जेठ १७ गते राजपत्रमा प्रकाशित गरिएको थियो । राजपत्रमा प्रकाशित भएको स्वतः कानुन हुने भएकाले कार्यान्वयन स्वतः हुने (परिपत्र जारी गर्न नपर्ने) प्रावधान रहेको छ । जिल्ला प्रशासन कार्यालय बारा, सर्लाही, बाँके, बर्दिया, रौतहट, पर्सा, सर्लाही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), सिरहालगायतले ऐनबमोजिम नागरिकता लिन संलग्न गर्नुपर्ने कागजात उल्लेख गरी, नागरिकताका लागि सम्बन्धित स्थानीय तहको वडा कार्यालयबाट सिफारिस गरी पठाउन शुक्रबार नै सार्वजनिक आग्रह गरेको थियो ।
नेपाललाई हराउँदै भारतले जित्यो यू–१७ साफको उपाधि
काठमाडौं । भारतले साफ यू–१७ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । बुधबार भएको फाइनलमा नेपाललाई ४–० गोल अन्तरले हराउँदै भारतले उपाधि जितेको हो । कोलम्बोको रेस कोर्स ग्राउण्डमा भएको खेलको १८ औं मिनेटमा बोबी सिंहले गोल मार्फत भारतले अग्रता लिएको थियो । खेलको ३० औं मिनेटमा कोरोउ सिंहले गोल गर्दै भारतको अग्रता दोब्बर पार्यो । खेलको ३९ औं मिनेटमा नेपाल १० खेलाडीमा समेटियो । भारतका ड्यानीलाई फउल गरेपछि कप्तान प्रशान्त लक्समले रातो कार्ड पाए । खेलको ६२औं मिनेटमा भारतका थङ्गालाइसुनले गोल गर्दै भारतलाई ३–० गोलको अग्रता दिलाए । खेलको इन्जुरी समयमा अमनले गोल गर्दै भारतलाई ४–० गोलको जितसँगै उपाधि दिलाए ।
घट्यो नेप्से
काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयर बजार घटेको छ । नेप्से २७.९२ अंकले गिरावट भएर २०१०.०१ अंकमा बन्द भएको छ । २० साउनमा सामान्य बढेर बन्द भएको नेप्से त्यसपछि कारोबार भएको ५ दिनसम्म लगातार नै घटेको हो । नेप्सेसँगै सबै उपसूचक र कारोबार रकम पनि घट्दै गएका हुन् । आइतबार सबै उपसूचक ऋणात्मक हुँदा उत्पादनमुलक उपसूचक ३.५८ प्रतिशतले गिरावट भएको छ । गत मंगलबार २ अर्ब ८१ करोडको कारोबार भएको बजारमा बुधबार १ अर्ब ९४ करोड र बिहीबार १ अर्ब ७६ करोडको कारोबार भएको छ । बिहीबारको तुलनामा कारोबार रकम केही बढेर २ अर्ब नजिक पुगेको छ । आइतबार बजारमा ४५ लाख ५९ हजार २२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८७ करोड ३२ लाख ८२ हजारको कारोबार भएको छ । जसमध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक १६ करोड ५३ लाख ९७ हजार र नेपाल लाइफको ११ करोड २९ लाख ११ हजारको कारोबार भएको छ ।
सुनको मूल्यमा प्रतितोला ११ सयले वृद्धि
काठमाडौं । आज नेपालमा सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजोको तुलनामा आजको मुल्य ११ सय रुपैयाँले मूल्य बढेको जनाएको हो । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँ पुगेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८०० रुपैयाँ छ । हिजो बुधबार छापावाल सुनको कारोबार मूल्य प्रतितोला ९९ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७०० रुपैयाँ थियो । हिजो एकै दिन ११ सय रुपैयाँ घटेको सुनको मूल्य आज फेरी सोही मूल्यले उकालो लागेको हो । सुनको मूल्य बढेसँगै चाँदीको बिक्री मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार यसको कारोबार मूल्य तोलामा १३ सय ७० रुपैयाँ थियो ।
कक्षा १२ को परीक्षा जेठ १८ गतेदेखि हुने
काठमाडौं । कक्षा १२ को परीक्षा आगामी जेठ १८ गतेदेखि हुने भएको छ। परीक्षा तालिका भने शुक्रबार बस्ने राष्ट्रिय परीक्षा बोर्डको बैठकबाट सार्वजनिक हुने छ । बोर्डकाअनुसार आगामी जेठ १८ गतेबाट परीक्षा सञ्चालन गर्ने गरि तयार गरिएको प्रस्तावलाई बोर्ड बैठकले स्वीकृति प्रदान गर्नेछ। यस पटक बोर्डले अनलाइन माध्यमबाट प्रश्नपत्र पठाउने छ भने परीक्षा विद्यार्थीको भौतिक उपस्थितिमा नै सञ्चालन गरिनेछ। यसअघिको बोर्ड बैठकले एसईई आगामी वैशाख ९ देखि २० गतेसम्म सञ्चालन गर्नेगरी परीक्षा तालिका सार्वजनिक गरिसकेको छ।
सिरिया जेलमा भएको आक्रमणमा १२० बढीको मृत्यु
सिरियामा अमेरिका समर्थित कुर्दिस फोर्स र आईएसबीचको युद्धमा कम्तीमा १२० जनाको मृत्यु भएको छ। अल जाजिराका अनुसार सिरियाको जेलमा भएको आक्रमणपछि दुई पक्षबीच युद्ध सुरु भएको हो। हेसाकेह सहरमा रहेको जेलमा सो आक्रमण भएको हो। बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार ७७ आईएसका लडाकु र ३९ कुर्दिस लडाकुको मृत्यु भएको छ। जसमा आन्तरिक सुरक्षाकर्मी, जेलका सुरक्षाकर्मी र आतंकवादविरोधी सुरक्षा बल पनि रहेका छन्। यो युद्ध गत बिहीबारदेखि सुरु भएको हो। युद्धमा थप सात जना आम नागरिक मारिएका छन्। जेलमा भएको आक्रमणपछि भागेका ११० कैदीहरु पुनः समातिएको कुर्दिसको नेतृत्वमा रहेको सिरियन डेमोक्रेटिक फोर्सले बताएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ३ सचिवसहित ४० कर्मचारी संक्रमित
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको फैलावट देशको प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबारमै व्यापक बनेको छ। संसद सचिवालय, मन्त्रालयका साथै पछिल्लो समय प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कर्मचारीहरु नै कोभिड–१९ को संक्रमणबाट पीडित बनेका छन्। आइतबार बेलुकीसम्मको तथ्यांकअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका ३ सचिवसहित ४० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। दुई दिनमा २ सय जना कर्मचारीको पीसीआर परीक्षण गर्दा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। कोभिड १९ बाट संक्रमित हुनेहरुमा आर्थिक तथा पूर्वाधार विकास हेर्ने सचिव शिशिरकुमार ढुंगाना, सीसीएमसीसीका प्रमुख रहेका प्रादेशिक समन्वय र सामाजिक विकास हेर्ने सचिवहरु रामप्रसाद थपलिया र कृष्णबहादुर रावत रहेका छन्। त्यसैगरी प्रधानमन्त्री कार्यालयमा रहेका ४० जना कर्मचारीमा कोरोना पुष्टि भएको कार्यालयका प्रवक्तासमेत रहेका सहसचिव महादेव पन्थले जानकारी दिनुभयो। प्रवक्ता पन्थका अनुसार कार्यालयका २ सचिवमा कोरोना संक्रमण पुष्टि भएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोली बोलाएर कार्यालयमा नै पीसीआर परीक्षण गराएको थियो। उहाँका अनुसार थप केही कर्मचारीको आइतबार परीक्षण गरिएकाले उनीहरुको रिपोर्ट आउन बाँकी छ।