ट्विटरको नयाँ सीईओ लिन्डा याकारिनोले पदभार ग्रहण गरिन

एजेन्सी । लिन्डा याकारिनोले औपचारिक रूपमा ट्विटरको नयाँ सीईओको पदभार ग्रहण गरेकी छिन् । उनले आफ्नो लिंक्डइन प्रोफाइलको बायोमा ट्विटरका सीईओलाई पनि अपडेट गरेकी छिन्।

लिन्डाले एक पोस्ट सेयर गर्दै लेखेकी छन्, म लामो समयदेखि एलोन मस्कको दर्शनबाट प्रेरित छु। कार्यालयमा पहिलो दिन किताब पढेर बिताए । यसअघि एनबीसी युनिभर्सलको ग्लोबल एडभर्टाइजिङ एण्ड पार्टनरसिपको अध्यक्षको रूपमा काम गरिसकेकी याकारिनोले एनबीसी युनिभर्सलका कार्यकारी उपाध्यक्ष जो बेनारोचेलाई उनीसँग ट्विटरमा काम गर्न नियुक्त गरेकी छिन्।

बेनारोचे याकारिनोका भरपर्दो सल्लाहकार थिए। वाल स्ट्रीट जर्नलको रिपोर्ट अनुसार ट्विटरमा उनको भूमिका व्यापार सञ्चालनमा केन्द्रित हुनेछ। गत महिना नयाँ सीईओको बारेमा जानकारी दिँदै, ट्विटर मालिक एलोन मस्कले लेखेका थिए, म ट्विटरको नयाँ सीईओको रूपमा लिन्डा याकारिनोलाई स्वागत गर्न पाउँदा उत्साहित छु ।

लिन्डाले मुख्य रूपमा व्यापार सञ्चालनमा ध्यान दिनेछ, जबकि म उत्पादन डिजाइन र नयाँ प्रविधिमा ध्यान दिनेछु। एलोन मस्कले टेस्ला र स्पेसएक्समा बढी ध्यान केन्द्रित गर्ने लक्ष्य राखेका छन्। ५९ वर्षीया लिन्डा एनबीसी युनिभर्सल मिडिया एलएलसीमा ग्लोबल एडभर्टाइजिङ एण्ड पार्टनरसिपकी अध्यक्ष हुन्। २०२२ मा एनबीसी युनिभर्सल मिडियामा सामेल भएपछि, उनले कम्पनीको लागि एक प्लेटफर्म सिर्जना गरे।

एउटा प्लेटफर्मले प्रिमियम भिडियो इकोसिस्टम परिवर्तन गर्‍यो। प्लेटफर्मले विज्ञापनदाताहरूलाई स्क्रिन र ढाँचाहरूमा दर्शकहरू पुग्न मद्दत गर्दछ। लिन्डा एप्पल, गुगल जस्ता ब्रान्डसँगको व्यावसायिक साझेदारीका लागि पनि परिचित छिन्। एकै समयमा, फर्च्यून, फोर्ब्स जस्ता प्रकाशनहरूले उनलाई प्रभावशाली र शक्तिशाली महिलाको रूपमा छानेका छन्।

लिन्डाको शिक्षाको बारेमा कुरा गर्दा, उनले पेन स्टेट युनिभर्सिटीबाट लिबरल आर्ट्समा डिग्री गरेकी छिन्। लिन्डाले क्लाउड पिटर मड्राजोसँग विवाह गरिन्। दुवै इटालियन मूलका हुन् र न्यूयोर्कमा बस्छन्।

घट्यो नेप्से

काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयर बजार घटेको छ । नेप्से २७.९२ अंकले गिरावट भएर २०१०.०१ अंकमा बन्द भएको छ । २० साउनमा सामान्य बढेर बन्द भएको नेप्से त्यसपछि कारोबार भएको ५ दिनसम्म लगातार नै घटेको हो । नेप्सेसँगै सबै उपसूचक र कारोबार रकम पनि घट्दै गएका हुन् । आइतबार सबै उपसूचक ऋणात्मक हुँदा उत्पादनमुलक उपसूचक ३.५८ प्रतिशतले गिरावट भएको छ । गत मंगलबार २ अर्ब ८१ करोडको कारोबार भएको बजारमा बुधबार १ अर्ब ९४ करोड र बिहीबार १ अर्ब ७६ करोडको कारोबार भएको छ । बिहीबारको तुलनामा कारोबार रकम केही बढेर २ अर्ब नजिक पुगेको छ । आइतबार बजारमा ४५ लाख ५९ हजार २२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८७ करोड ३२ लाख ८२ हजारको कारोबार भएको छ । जसमध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक १६ करोड ५३ लाख ९७ हजार र नेपाल लाइफको ११ करोड २९ लाख ११ हजारको कारोबार भएको छ ।  

सुनको मूल्यमा प्रतितोला ११ सयले वृद्धि

काठमाडौं । आज नेपालमा सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजोको तुलनामा आजको मुल्य ११ सय रुपैयाँले मूल्य बढेको जनाएको हो । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँ पुगेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८०० रुपैयाँ छ । हिजो बुधबार छापावाल सुनको कारोबार मूल्य प्रतितोला ९९ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७०० रुपैयाँ थियो । हिजो एकै दिन ११ सय रुपैयाँ घटेको सुनको मूल्य आज फेरी सोही मूल्यले उकालो लागेको हो । सुनको मूल्य बढेसँगै चाँदीको बिक्री मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार यसको कारोबार मूल्य तोलामा १३ सय ७० रुपैयाँ थियो ।

कक्षा १२ को परीक्षा जेठ १८ गतेदेखि हुने

काठमाडौं । कक्षा १२ को परीक्षा आगामी जेठ १८ गतेदेखि हुने भएको छ। परीक्षा तालिका भने शुक्रबार बस्ने राष्ट्रिय परीक्षा बोर्डको बैठकबाट सार्वजनिक हुने छ । बोर्डकाअनुसार आगामी जेठ १८ गतेबाट परीक्षा सञ्चालन गर्ने गरि तयार गरिएको प्रस्तावलाई बोर्ड बैठकले स्वीकृति प्रदान गर्नेछ। यस पटक बोर्डले अनलाइन माध्यमबाट प्रश्नपत्र पठाउने छ भने परीक्षा विद्यार्थीको भौतिक उपस्थितिमा नै सञ्चालन गरिनेछ। यसअघिको बोर्ड बैठकले एसईई आगामी वैशाख ९ देखि २० गतेसम्म सञ्चालन गर्नेगरी परीक्षा तालिका सार्वजनिक गरिसकेको छ।

सिरिया जेलमा भएको आक्रमणमा १२० बढीको मृत्यु

सिरियामा अमेरिका समर्थित कुर्दिस फोर्स र आईएसबीचको युद्धमा कम्तीमा १२० जनाको मृत्यु भएको छ। अल जाजिराका अनुसार सिरियाको जेलमा भएको आक्रमणपछि दुई पक्षबीच युद्ध सुरु भएको हो। हेसाकेह सहरमा रहेको जेलमा सो आक्रमण भएको हो। बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार ७७ आईएसका लडाकु र ३९ कुर्दिस लडाकुको मृत्यु भएको छ। जसमा आन्तरिक सुरक्षाकर्मी, जेलका सुरक्षाकर्मी र आतंकवादविरोधी सुरक्षा बल पनि रहेका छन्। यो युद्ध गत बिहीबारदेखि सुरु भएको हो। युद्धमा थप सात जना आम नागरिक मारिएका छन्। जेलमा भएको आक्रमणपछि भागेका ११० कैदीहरु पुनः समातिएको कुर्दिसको नेतृत्वमा रहेको सिरियन डेमोक्रेटिक फोर्सले बताएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ३ सचिवसहित ४० कर्मचारी संक्रमित

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको फैलावट देशको प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबारमै व्यापक बनेको छ। संसद सचिवालय, मन्त्रालयका साथै पछिल्लो समय प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कर्मचारीहरु नै कोभिड–१९ को संक्रमणबाट पीडित बनेका छन्। आइतबार बेलुकीसम्मको तथ्यांकअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका ३ सचिवसहित ४० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। दुई दिनमा २ सय जना कर्मचारीको पीसीआर परीक्षण गर्दा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। कोभिड १९ बाट संक्रमित हुनेहरुमा आर्थिक तथा पूर्वाधार विकास हेर्ने सचिव शिशिरकुमार ढुंगाना, सीसीएमसीसीका प्रमुख रहेका प्रादेशिक समन्वय र सामाजिक विकास हेर्ने सचिवहरु रामप्रसाद थपलिया र कृष्णबहादुर रावत रहेका छन्। त्यसैगरी प्रधानमन्त्री कार्यालयमा रहेका ४० जना कर्मचारीमा कोरोना पुष्टि भएको कार्यालयका प्रवक्तासमेत रहेका सहसचिव महादेव पन्थले जानकारी दिनुभयो। प्रवक्ता पन्थका अनुसार कार्यालयका २ सचिवमा कोरोना संक्रमण पुष्टि भएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोली बोलाएर कार्यालयमा नै पीसीआर परीक्षण गराएको थियो। उहाँका अनुसार थप केही कर्मचारीको आइतबार परीक्षण गरिएकाले उनीहरुको रिपोर्ट आउन बाँकी छ।  

गण्डकी प्रदेश समन्वय परिषद कतारले मनायो ५ औं स्थापना दिवस

दोहा, कतार गण्डकी प्रदेश समन्वय परिषद कतारले आफ्नो पाचौं स्थापना दिवस मनाएको छ । संस्थाले शुक्रबार भौतिक तथा भर्चुअल रूपमा कार्यक्रम गर्दै अङ्ग्रेजी नयाँ वर्षको शुभकामना आदानप्रदान सहित आफ्नो ५ औं स्थापना दिवस मनाएको हो । कार्यक्रमको उद्घाटन गर्दै गैरआवासीय नेपाली संघ, रास्टिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले एनसिसि कतार समस्यामा परेका नेपालीको साथमा रहेको बताए । अध्यक्ष मुक्तदाले एनआरएनए कतारले कतारमा कुनै पनि नेपाली खान नपाएर भएर तथा टिकट काटन नसकेर नेपाल फर्कन नसक्ने अवस्था आउन नदिने बताए । एनआरएनए कतारले बिगत देखि नै गण्डकी प्रदेश समन्वय परिषद कतार सङ्ग समन्वय गरेर अगाडि बढेको भन्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने बताए । साथै उनले कतार सरकारले विभिन्न कारणले अबैध बनेका आप्रवासीको लागि बैध बनेर काम गर्न तथा आफ्नो देश फिर्ता हुनको लागी विभिन्न छुट सहितको सुविधा मार्च ३१ सम्म थप गरेकोले नेपाली समुदायलाई मौकाको फाइदा लिन अनुरोध गरे । कार्यक्रममा गण्डकी प्रदेश समन्वय परिषद कतारका प्रमुख सल्लाहकार हंसराज ढकाल, संस्थापक संयोजक एवं सल्लाहकार आश बहादुर गुरुङ, संस्थापक सचीव रमेश पौडेल, संस्थापक सदस्यहरु बिमल सुवेदी, बिल गुरुङ, मन प्रसाद गुरुङ, पदम गिरी, प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चानक पोख्रेल, नेपाली जनसम्पर्क समिती कतारका सभापति अजिज अली, नेपाली जनप्रगतिशिल मञ्च कतारका अध्यक्ष बुद्धि प्रसाद भण्डारी, प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष रामहरि गैरे, बिबेकशिल साझा सद्भाव समुह कतारका संयोजक गणेश कार्की, नेपाली महिला समाज कतारका अध्यक्ष सरिता भण्डारी पौडेल, प्रदेश समन्वय परिषदको तर्फबाट सुदुर पश्चिमेली नेपाली समाज कतारका अध्यक्ष परमानन्द भट्ट, जिल्ला संस्थाको तर्फबाट गोर्खा सेवा समाज कतारका अध्यक्ष रामजी खत्री र परिषद सदस्यको तर्फबाट सन्तोष क्षत्रीले शुभकामना मन्तव्य राखेका थिए । गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष राकेश श्रेष्ठको अध्यक्षता सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष अजमत अली र संचालन महासचिव सन्तोष रेग्मीले गरेका थिए ।

बिराट कोहलीद्वारा टी २० को कप्तानी छोडने घोषणा (पत्रसहित)

नयाँ दिल्ली । बिराट कोहलीले टी २० क्रिकेटको कप्तान नबन्ने घोषणा गरेका छन । यसअघि बेलायतसँगको खेलपछि नै उनलाई हटाउने चर्चा शुरु भएको थियो । यद्यपी कोहलीले भने यो चर्चा गलत भएको बताउँदै आएका थिए । बिहिबार कोहलीले एक पत्र लेख्दै अक्टुबर १ देखि नहुने टी २० विश्वकपपछि यो फर्मेटको नेतृत्व नगर्ने बताएका हुन । अब टी२० फर्मेटको कप्तान रोहित शर्मालाई बनाइने सम्भावना छ । सामाजिक सञ्जालमा एक पत्र लेख्दै कोहलीले आफ्नो कार्यकालमा भारतीय क्रिकेटलाई उचाईमा पुर्याउन सक्दो कोशीस गरेको बताएका छन् । विगत ८, ९ वर्ष यता तीनवटै फर्मेटको नेतृत्व गर्दा आफ्ना लागि समय निकाल्न नसकेकोले यो निर्णयमा पुगेको उनले बताएका छन् । उनले सहयोग गरेकोमा सबैलाई धन्यवाद समेत दिएका छन् ।

१२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

काठमाडौँ — १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा भएकाे छ । बुधबार गृह मन्त्रालयले १२ जनालाई जिल्लामा सरुवा गरेको र चार जनालाई मन्त्रालयमा तानेको छ । मन्त्रालयलका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार घनश्याम उपाध्यायलाई ललितपुरको सीडीओ बनाएर पठाइएको छ । उनी मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख थिए । त्यस्तै, गुल्मीको सीडीओ रहेकी रुद्रादेवी शर्मालाई भक्तपुर पठाइएको छ । त्यस्तै, मन्त्रालयले पुण्यविक्रम पौडेललाई गुल्मी, शंकर अर्याललाई गोरखा, काशिराज दाहाललाई मोरङको प्रमुख जिल्ला अधिकारीको रुपमा खटाएको छ । मोरङको प्रमुख जिल्ला अधिकारी रहेका कोषहरि निरौलालाई मन्त्रालय तानिएका छन् । यस्तै, दीपक पहाडीलाई रामेछाप र नुरहरि खतिवडालाई संखुवासभा पठाइएको छ । टेकनारायण पौडेललाई मन्त्रालय तानिएको छ भने टेकराज निरौलालाई दोलखा पठाइएको छ । दोलखाको प्रमुख जिल्ला अधिकारी रहेका बासुदेव घिमिरे मन्त्रालय तानिएका छन् । आसमान तामाङलाई चितवन पठाइएको छ । त्यस्तै, कृष्णा लम्साललाई धादिङ, वीरेन्द्र यादवलाई उदयपुर र ऋषि तिवारीलाई रुपन्देही सरुवा गएिको छ ।

अमेरिकाले स्पष्ट पारेपछि मात्रै एमसिसीको काम अघि बढ्छ- प्रकाशशरण महत

काठमाडौँ — नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश शरण महतले एमसीसीको सम्बन्धमा नेपाली जनतामाझ उठेको आशंकालाई अमेरिकी सरकारले स्पष्ट पारेपछि मात्रै प्रक्रिया अगाडि बढ्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सहमहामन्त्री महतले एमसीसी विभिन्न सरकारहरुको सहभागितामा टुंगो लागिसकेको विषय भएको भन्दै यसको सम्बन्धमा नेपाली जनतामाझ उठेका आशंकालाई अमेरिकी सरकारले स्पष्ट पारेपछि प्रक्रिया अगाडि बढ्ने बताएका हुन् । एमसीसी सैन्य प्रयोजनको लागि नभएको सम्झौतामा उल्लेख नै भएको उनको भनाइ छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको आधारमा ठेक्का प्रक्रिया अगाडि बढ्ने उनले उल्लेख गरे । नेपाली जनतामाझ उठेका आशंकाहरुलाई स्पष्ट पार्नका लागि सरकारले अमेरिकी सरकार समक्ष पहल गरिराखेको भन्दै उनले अमेरिकी सरकारले स्पष्ट पार्ने विश्वास पनि व्यक्त गरे । उनले भने,‘यो विषय कयौं सरकारहरुको सहभागितामा टुंगो लागेको विषय हो । हामी विदेशबाट ऋण पनि लिन्छौं । ऋण लिएर पनि त्यही देशका ठेकेदार नै आउने प्रावधान छ । कामदार पनि आउँछन् । यो चाहीँ अनुदानमा आएको आयोजना हो । हामीले प्राथमिकता तोकेको क्षेत्रमा पैसा आउँदैछ । अर्थ मन्त्रालयको संयन्त्रले कार्यान्वयन गर्दैछ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भएर ठेक्का प्रक्रिया अगाडि बढ्छ । सैन्य प्रयोजनको लागि यो पैसा प्रयोग गर्न पाइदैन भन्ने उल्लेख नै छ । त्यसबारेमा पनि क्लेरिफिकेसनको लागि सरकारले पहल गरिराखेको छ । त्यो स्पष्ट क्लेरिफिकेसन आएपछि यसले पनि एउटा ल्याण्डिङ गर्छ भन्ने कुरा मलाइ लाग्दछ ।’ सहमहामन्त्री महतले सत्तारुढ गठबन्धनका दलहरु नेकपा(एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले मन्त्रीको नाम दिन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भन्दै मन्त्रीको नाम पाउनासाथ मन्त्रिपरिषद् विस्तार हुने बताए । नेपाली कांग्रेसभित्र भने मन्त्रिको विषयमा समस्या नरहेको र मन्त्रीको नाम तय भइसकेको उनको भनाइ छ । -कान्तिपुर दैनिकबाट

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी, महाधिवेशन कार्यतालिकाकाे बारे टुंगो लाग्नसक्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शरु भएको छ । बैठक दिउँसो ११ बजे देउवा निवास बुढानीरकण्ठमा शुरु भएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा क्रियाशील विवाद देखिएका विभिन्न जिल्लाका नेता कार्यकर्ता अनसनमा रहेकाले बैठक बुढानीलकण्ठ बस्न लागेको हो । बैठकको मुख्य एजेन्डा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका सम्बन्धी हुनेछ । कांग्रेसले क्रियाशील विवाद समाधान गर्न नसक्दा पार्टीको १४ औ महाधिवेशन अनिश्चित बनेको छ । आजको बैठकले महाधिवेशनको मितिका बारेमा सहमति जुटाउने सम्भावना रहेको बताइन्छ । महाधिवेशनको मिति र प्रक्रियाका बारेमा संस्थापन र इतर पक्षको मत मिल्न सकेको छैन । यसअघि पौडेल र देउवा निकट जिल्ला सभापतिहरुको बेग्लाबेग्लै बैठक बसेको थियो ।

आजदेखि मनसुन सक्रिय हुने, केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ — सोमबार देशभर सामान्यतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । मनसुन सक्रिय भएकाेले देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने माैसम महाशाखाकाे अनुमान छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भू-भाग नजिक विस्तारै आउने क्रम सुरु भएकाले सोमबारदेखि मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको हाे । आज रातिसम्म उक्त रेखा नेपालको तराई भू–भागसम्म आइपुग्‍ने सम्भावना रहेकोले मनसुन सक्रिय भई बुधबारसम्म वर्षा हुने सम्भावना देखिएको हो,’ जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा वाग्मती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । हाल देशभर सामान्य बदली रही प्रदेश नम्बर १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । विभागका अनुसार राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २२ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै, आइतबार सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम १७ दशमलव ५ डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३६ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

प्रचण्डद्वारा भोलि कोभिड-१९ विशेष म्यागाजिनको विमोचन गरिने

चितवन :माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केटीबी एडर्भटाइजिङ्ग एजेन्सी एण्ड मिडीया सर्भिस  प्रा.लि. चितवनले प्रकाशित कोभिड-१९ बिशेष ‘एटुजेड बिजनेश पेज’ को मंगलबार विमोचन गर्ने भएका छन् । उक्त म्यागाजिनको विमोचन समारोह भरतपुरमा गर्ने तय भएपनि पनि कोरोनाको महामारी बढ्दै गएका कारण जारी भएको निषेधाज्ञाका कारण सृजना भएको असहज परिस्थितलाई ध्यानमा राखी भर्चुअल प्रविधिबाट विमोचन गर्न लागिएको प्रकाशक संस्था केटीबी एडभर्टाइजिङ्गले जनाएको छ । ‘हामीले यो म्यागाजिनको विमोचन भौतिक रुपमै गर्ने पूर्ण तयारी गरिसकेका थियौं । मिति समेत तय गरिसकेको अवस्था थियो तर अकस्मात जारी भएको निषेधाज्ञाका कारण विमोचन कार्यक्रम भर्चुअल मोडालिटीमा गर्नु परेको हो’ केटीबी एडभर्टाइजिङ्ग एजेन्सीका अध्यक्ष किशोर चन्द्र सापकोटाले भने । ‘प्रचण्ड’ प्रमुख अतिथि रहने उक्त विमोचन समारोह जुम भुर्चअल प्रविधिबाट मंगलबार बिहान ८ बजे शुरु हुने जनाइएको छ । यसका लागि सम्पूर्ण तयारी पुरा गरिसकेको र आमन्त्रित अतिथिहरुलाई जुम आईडी प्रदान गरी सहभागी गराइने पनि सापकोटाले बताए । चितवनबाट कार्यक्रमको सञ्चालन तथा व्यवस्थापन हुने उक्त कार्यक्रममा दाहालले भर्चुअल प्रविधिबाट काठमाडौंबाट म्यागाजिनको विमोचन गर्नेछन् । म्यागाजिनका सम्पादक सूर्यप्रसाद अधिकारीले लामो समयको प्रतिक्षा पश्चात विभिन्न कठिनाई बीच म्यागाजिनको विमोचन गर्न लागिएको बताए । गतसालबाट सुरु भएको महामारीले विभिन्न व्यवसाय , विकास निर्माण र समग्र संचार क्षेत्रमा परेको असरको बिषयमा म्यागाजिन केन्द्रीत भएको अधिकारीले जानकारी दिए। ’यो म्यागाजिन मार्फत हामीले देशको विभिन्न क्षेत्रलाई कोरोनाले पारेको असरलाई उजागर गर्न खोजेका छौं । यी विषय अहिले झन सान्दर्भिक बन्दै गएको छ’ अधिकारीले भने । म्यागाजिनमा चितवन आधार क्षेत्र बनाएर संचारक्षेत्र, कृषि शिक्षा, स्वास्थ्य , पर्यटन उद्योग, साना व्यवसायलाई समेटेर कोभिडले यस क्षेत्रमा परेको असर, चुनौति , संभावनाका साथै विषयविज्ञ, प्राध्यापक डाक्टरका लेख, व्यवसायीका धारणा,उद्योग व्यवसायका प्रोफाइल, अन्तवार्ता, कोभिड बीच महानगरमा भएका विकास निर्माण लगायतका विषयवस्तुलाई समेटिएको छ । ‘यो एउटा दस्तावेज बन्न सफल भएको छ, यसका विषयवस्तु, लेख रचना उत्तिकै सान्दर्भिक र मार्गनिर्देशक छन भन्ने विश्वास लिएका छौं ।’ उनले भने । विशेष अवस्थामा केन्द्रित भई विशेष म्यागाजिनको रुपमा प्रकाशित यो म्यागाजिन संभवतः चितवनमा पहिलो म्यागाजिन भएको अधिकारीको भनाई छ । कुल ११२ पृष्ठ लामो रंगीन यस म्यागाजिनमा कोभिड १९ को समयको शुरुवाती समय , मध्यमसमय र मत्थर भइसकेको अवस्थालाई मिहिन रुपमा केलाएर चित्रण गर्ने प्रयास गरिएको छ ।

कोभिड–१९ उपचारका लागि अस्पताल र शय्या थप

काठमाडौं । सरकारले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि स्वास्थ्यको भौतिक पूर्वाधार थप्ने क्रम जारी राखेको छ । सरकारले सङ्क्रमण दोस्रो लहरको बढेपछि कोभिड–१९ व्यवस्थापनका लागि लक्षित कार्ययोजनानुसार अस्पताल र शय्या थप्ने गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का प्रवक्ता किरणराज आचार्यले विज्ञप्ति जारी गर्दै कार्ययोजनानुसार नै सङ्क्रमणको रोकथाम, उपचार र नियन्त्रणका लागि अस्पताल र शय्या थप गरिएको जानकारी दिए । उनका अनुसार १२ अस्पताल, ५४ सघन उपचार कक्ष, १२ हाई डिपेन्डेन्सी युनिट र पाँच भेन्टिलेटर थप गरिएको छ । नयाँ थपसँंगै अहिले अस्पताल ५०५, आइसियु एक हजार ८७१, भेन्टिलेटर ७४१, एचडियु दुई हजार ८७७ र शय्या २० हजार ३६४ पुगेका छन् ।

आजसम्म विश्वभर २० करोडले लगाए कोरोनाविरुद्धको खोप

पेरिसः कोभिड-१९ विरूद्धको खोप अभियान सञ्चालनको आधिकारिक तथ्याङ्क अनुसार शनिबारसम्म विश्वभर २० करोड मात्रा खोप लगाइसकिएको सम्बन्धित देश र स्वास्थ्य क्षेत्रमा सक्रिय निकायको आधिकारिक स्रोतहरुका आधारमा एएफपी संकलन गरेको तथ्यांकमा उल्लेख गरिएको छ । विश्वका खासगरी १०७ मुलुक र क्षेत्रमा खोप अभियानलाई तीब्र पारिएको अन्तर्राष्ट्रिय स्वास्थ्य निकायहरूले बताएका छन् ।ग्रीनवीच समय अनुसार शुक्रबार साँझ १० बजेसम्म चीन र रूसबाहेकका विश्वका १०७ मुलुकमा २० करोड १० लाख ४२ हजार १४९ मात्रा खोप प्रयोग भइसकेको एएफपीलाई प्राप्त तथ्यांकमा उल्लेख छ । चीन र रूसले भने खोप प्रयोगबारे प्रगति विवरण पछिल्ला केही दिनमा सार्वजनिक गरेका छैनन् । विश्वभर प्रयोग भएका खोपको मात्राको करिब ४५ प्रतिशत जी-७ समूह राष्ट्र संयुक्त राज्य अमेरिका, क्यानडा, बेलायत, जर्मनी, फ्रान्स, इटली र जापानमा प्रयोग भएको बताइएको छ । यी देशहरूमा विश्वको कूल जनसङ्ख्याको १० प्रतिशत जनसंख्या रहेको छ । यद्यपि यी मुलुकहरूले शुक्रबार आफूहरू खोपलाई बढी प्रभावित मुलुकमा न्यायोचित रूपमा पठाउने प्रतिवद्धता व्यक्त गरेका छन् । जी-७ सदस्य राष्ट्रका नेताहरूले विश्वव्यापी कोरोनाभाइरस खोपका लागि उनीहरूको कुल सहयोगलाई दोब्बरभन्दा बढी अर्थात् ७.५ अर्ब अमेरिकी डलर गर्ने योजना बनाएको बताएका छन् । उक्त सहयोगलाई विश्व स्वास्थ्य संगठनको नेतृत्वमा कोभाक्स योजनामार्फत अघि बढाइने छ ।

सुशान्तको मृत्युको कारण भन्दै सलमान खानसहित ८ जनाविरुद्ध मुद्दा

बलिउड अभिनेता सलमान खान, निर्माता तथा निर्देशक करन जोहर, एकता कपुर तथा सञ्जयलीला भन्साली सहित ८ जनाविरूद्ध फौजदारी मुद्दा दायर गरिएको छ । भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार बुधबार एक वकिलले उनीहरूलाई अभिनेता सुशान्तसिंह राजपुतको मृत्युको कारण भन्दै बिहार अदालतमा मुद्दा दायर गरेका हुन् । वकिल सुधिर कुमार ओझाले सलमान, करनसहित ८ जनाका विरूद्ध मुद्दा दायर गरेका टाइम्स अफ इन्डियाले लेखेको छ । अदालतले आगामी ३ जुलाईमा सुनुवाइ मिति दिएको छ। ओझाले दायर गरेको मुद्दामा आदित्य चोपडा, साजिद नाडियडवाला, भुषण कुमार र निर्देशक दिनेशको पनि नाम छ । टाइम्स अफ इन्डियाका अनुसार यी ८ व्यक्तिले सुशान्तका फिल्म रिलिज हुन बाधा पैदा गरेको र यिनीहरूकै कारण सुशान्तलाई फिल्मी कार्यक्रमहरूमा पनि बोलाउन छाडिएको मुद्दामा उल्लेख छ । वकिल ओझाका अनुसार उनले सेक्सन ३०६, १०९, ५०४ र ५०६ अन्तर्गत मुद्दा दायर गरेका हुन् । यसका साथै उनले साक्षीको सूचीमा अभिनेत्री कंगना रनावतको नाम राखेका छन् । अभिनेता सुशान्त सिंहले यही आइतबार मुम्बईस्थित आफ्नै फ्ल्याटमा आत्महत्या गरेका थिए । उनी लामो समयदेखि डिप्रेसनमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी