धारिलो हतियार प्रयोग गरी खोला गाउँका एकै परिवारका ६ जनाको हत्या
खाँदबारी, संखुवासभाको मादी नगरपालिका-१, खोला गाउँका एकै परिवारका ६ जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी लालध्वज सुवेदीले दिएकाे जानकारी अनुसार स्थानीय तेजबहादुर कार्कीको परिवारमा अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या भएकाे हाे ।
सोमबार बिहान मात्र छिमेकीले सबैलाई मृत अवस्थामा भेटेपछि प्रहरीलाई जानकारी गराएको स्थानीय शिक्षक योगेन्द्र ओझाले जानकारी दिए। ५८ वर्षीया तेजबहादुर कार्की, उनकी आमा ८० वर्षीया पार्वता कार्की, श्रीमती ५६ वर्षीया मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दिपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको ओझाले बताए ।
घटनाको थप विवरण बुझ्नका लागि डीएसपी सुवेदीसहितको प्रहरी टोली घटनास्थलतर्फ लागेको छ । सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्न ६ घण्टा लाग्ने प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी निरीक्षक योगराज खतिवडाको टोली भने घटनास्थल पुग्न लागेको जनाएको छ ।
लालपुर्जा हातमा, जग्गा खोलाको बगरमा
सिरहा स् अमरलाल यादवले चार वर्षअघिसम्म आफ्नै खेतको उब्जनीले घरपरिवारको गुजारा चलाउँथे। लहान नगरपालिका–२३ तिलबोना गाउँका यादवलाई अहिले परिवार पाल्न धौं–धौं परिरहेको छ। यसको एउटै कारण हो, बलान नदीको फेरिएको धार। तीन वर्षको अन्तरालमा उनको २ बिघा खेतीयोग्य जग्गा बलान नदीले निल्यो। उनको लालपुर्जा हातमा छ, जग्गा खोलाको बगरमा परिणत भएको छ। सोही गाउँका महेन्द्र यादवको अवस्था पनि उनी भन्दा फरक छैन। उनको १ बिघा जग्गा नदीमा परिणत भएको छ। लालपुर्जा छ। जग्गा छैन। फुलचन यादवको १० कठ्ठा जग्गा नदीले बगर बनाएको छ। बलान नदी खेतीयोग्य जमिन निल्न थालेपछि यहाँका किसान मारमा परेका छन्। लहान नगरपालिका–२३ का करैया, तिलबोना, सखुवानन्कारकटी गाउँपालिका–४ का सिमराहा र भगवानपुर गाउँपालिकाका केही गाउँ अन्न उत्पादनका हिसाबले उम्दा थिए। घनाबस्ती रहेको यी गाउँका लागि बरदान मानिने नदी पछिल्लो समय काल बनेर कहर मच्चाउन थालेपछि खाद्य संकटको त्रास पनि बढेको स्थानीय राजु यादवले बताए। ‘विगतमा धान, मसुरो, बदाम र गहुँको बाला झुल्ने खेत अहिले नदीमा मिसिएको छ,’ उनले भने, ‘यो नदीले हामीलाई बेहाल बनाइदियो।’ यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
ब्राजिलमा एकैदिन १ लाख बढी कोरोना संक्रमित
ब्राजिलमा एकैदिन १ लाख बढी कोरोना संक्रमित थपिएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार बिगत २४ घण्टामा २ हजार बढीको मृत्यु भएको छ । ब्राजिलमा बिगत केही महिना अघि मृत्युदर घटेपनि संक्रमितको संख्या दिनानुदिन उकालो लागिरहेको बताईएको छ । ब्राजिलको साओपालो शहरका ६० प्रतिशत बासिन्दा संक्रमित भएको त्यहाँको स्वास्थ्यमन्त्रालयले जनाएको छ । ब्राजिलमा केही महिनादेखि जारी लकडाउन खुकुलो भएपछी कोरोना संक्रमितको संख्यामा बृद्धी आएको हो । ब्राजिलमा खोप अभियान पनि प्रभावकारी नभएका कारण संक्रमितको संख्या बढिरहेको आंकलन गरिएको छ । ब्राजिल धेरै कोरोना संक्रमण हुने देशको सूचीमा तेश्रोे स्थानमा रहेको छ । ब्राजिलमा कोरोनाका कारण ५ लाख ४९ हजार ५ सय बढीको मृत्यु भइसकेको छ ।
जसपा विवाद : एकताको साटो फुटेर आ-आफ्नो बाटो लाग्न सहमत भए नेता
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) फुटतर्फ अग्रसर भएको छ । मंगलबार निर्वाचन आयोगमा भएको छलफलमा दुबै पक्ष पार्टी एकताको साटो फुटेर आ–आफ्नो बाटो लाग्न सहमत भएका हुन् । मंगलबार आयोगले सहमतिका लागि जसपाका दुबै पक्षलाई आयोगमा बोलाएर छलफल गरेको थियो । तर, दुबै पक्षले आफ्नो दावी नछाडेपछि आयोगले उनीहरुलाई दल दर्तासम्बन्धी ऐनअनुसार दावी लिएर आउन भनेको छ । आयोगले जसपा विवाद समाधानका लागि बुधबार इजलास गठन गर्ने र दुबै पक्षले दल दर्तासम्बन्धी ऐन बमोजिम दावी पेश गर्ने सहमति जुटेको आयोग स्रोतको भनाइ छ । अब निर्वाचन आयोगले आधिकारिकताका लागि दुबै पक्षलाई दावी पेश गर्न आग्रह गर्ने भएको छ। आजको बैठकमा महन्थ ठाकुर पक्षबाट महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, शरदसिंह भण्डारी, उमाशंकर अरगरिया, सुरेन्द्र झा लगायतका नेताहरू सहभागी थिए । यस्तै उपेन्द्र यादव पक्षबाट नेता यादव सहित मोहम्मद इस्तियाक राई, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए ।
विश्वका राजनीतिक दलहरुको सम्मेलन गर्दै चीन, नेपालबाट को को छन् त सम्बोधन गर्ने ?
एजेन्सी । चिनले विश्वका विभिन्न देशका पार्टीहरुलाई समेटेर राजनीतिक सम्मेलन गर्ने भएको छ । चिनिया कम्युनिष्ट पार्टीको एक सयौं वर्षको अवसरमा चीनले नेपालसहित विश्वका राजनीतिक दलका नेताहरुको सम्मेलन आयोजना गर्न लागेको हो । नेपलाी समय अनुसार भोलि साँझ ६ बजेपछि सुरु हुने उक्त सम्मेलनलाई ‘वर्ल्ड पोलिटिकल पार्टी समिट’ नाम दिइएको छ । सम्मेलनमा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवं चीनका राष्ट्रपति सि जिनपिङले ‘कि नोट स्पीच’ दिदैछन् । नेपालसहित विश्वका नेताहरुले पठाएको भिडियो सन्देश प्रशारण गरिने छ । भर्चुअल कार्यक्रममा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत सहभागी हुने बताईएको छ ।
घट्यो जोखिम, रोङसी नदी सुचारु हुँदै, तामाकोशीतर्फ राहत
काठमाडौं । चीनको तिङ्ग्री काउन्टी नजिकै पहिरो जाँदा थुनिएको रोङसी नदीको प्रवाह बिस्तारै सुचारु गरिएको छ । उक्त पहिरोका कारण तामाकोशी क्षेत्रमा बाढी आएको थियो । जिल्ला प्रशासन कार्यालय दोलखाले गएराति सूचना जारी गरेर चीन तर्फबाट प्राप्त जानकारी अनुसार पहिरो आंशिक रुपमा हटाई नदीको प्रवाह सीमित मात्रामा सुचारु गरिएको जनाएको हो । यसले नेपालतर्फ तामाकोशी नदीको किनारमा बस्ने वासिन्दालाई राहत मिलेको छ । तर अझैपनि जोखिम पूर्णरुपले टरेको भने छैन । त्यसैले पूर्व सावधानी अपनाउन प्रशाशनले आग्रह गरेको छ । पछिल्लो सूचना अनुसार हाल नदी थुनेर बनेको जलायसबाट पहिरोलाई सीमित रुपमा कटान गरि पानीलाई बगाउन सुरु गरिएको छ । हाल उक्त जलासयमा अनुमानित एक लाख घनमिटर पानी जम्मा भएको हुनसक्ने बताईएको छ । नदीको थुनिंदा सीमावर्ती गाउँ र तामाकोशी नदीको तटीय क्षेत्रका सिन्धुली, दोलखा र रामेछाप जिल्लामा जोखिम बढेको थियो ।
कस्तो छ आजको मौसम, कहाँ कहाँ हुँदैछ वर्षा ?
मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै भूभागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भने, हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको छ। आज बिहान देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका प्रदेश १, प्रदेश २ र सुदुरपश्चिम प्रदेशको थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको महाशाखाले जनाएको छ । यसैगरी, देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका थोरै स्थान र बाकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन चट्याङ सहित भारी वर्षा साथै प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षा को सम्भावना छ । यस्तै, राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका थोरै स्थान र बाकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन चट्याङसहित भारी वर्षा साथै प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।
कोरोनाबाट संविधानसभा सदस्य मोहम्मदी सिद्दिकीको निधन
नेपालगञ्ज : कोरोना संक्रमणबाट संविधानसभा सदस्य मोहम्मदी सिद्दिकीको निधन भएको छ । अस्पतालका अनुसार सिद्दिकीको शनिबार भेरी अस्पताल नेपालगञ्जमा निधन भएको हो । नेपालगञ्ज-३ निवासी ६५ वर्षीय सिद्दिकीको बेलुकी साढे सात बजे उपचारका क्रममा निधन भएको अस्पतालका प्रमुख डा. प्रकाश थापाले जानकारी दिए । थापाका अनुसार सिद्दिकीलाई चैत २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएदेखिनै अस्पतालले भेन्टिलेटरमा राखेर उपचार गरिरहेको थियो । उनलाई मधुमेहको समस्या रहेको डा. थापाले बताए । २०३६ सालदेखि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएकी सिद्दिकी संविधान सभामा समानुपातिकतर्फ नेपाली कांग्रेसबाट सभाषद् बनेकी थिइन् ।
त्रिकोणात्मक सिरिजः नेपाल र मलेसियाको खेल सुरू (LIVE)
काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा मलेसियाविरुद्ध नेपालले टस जितेर बलिङ गरिरहेको छ । यी दुई टिमबीचको खेल १ः१५ बजे पछिदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको छ । नेपालले प्लेइङ–११ मा आज एक खेलाडी परिवर्तन गरिएको छ । नेपालले आरिफ शेखलाई विश्राम दिँदै कुशल मल्ललाई मौका दिएको छ । पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको थियो । पहिलो खेलमै फराकिलो जित हासिल गरेको नेपाली टिममा आत्मविश्वास भरिएको छ । नेपालको प्लेइङ–११: ज्ञानेन्द्र मल्ल (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा र साहब आलम ।
डेनमार्कमा लकडाउनको विरोध गर्नेहरु पक्राउ
कोपेनहेगन । कोरोना भाइरसको संक्रमण फैलिएपछि डेनमार्कमा गरिएको लकडाउनको विरोध गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । राजधानी डेनमार्ककै लकडाउनको विरुद्धमा उत्रिएका आठ जनालाई शनिबार अबेर पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । लकडाउनबाट असन्तुष्टहरुको समूहले आयोजना गरेको लकडाउन विरोधी प्रदर्शनमा झण्डै एक हजार २०० सहभागी भएका थिए । प्रदर्शनमा सुरुमा झण्डै ६०० सय सहभागी भएकोमा कार्यक्रम समापन हुने बेलासम्म एक हजार २०० पुगेका थिए । शान्तिपूर्ण प्रदर्शन गरेकाहरुलाई केही नगरिएको र हिंसात्मक क्रियाकलाप गर्नेहरुलाई मात्रै पक्राउ गरिएको प्रहरी अधिकारीहरुको भनाई छ । प्रदर्शनमा सहभागीमध्ये पक्राउ परेका आठ जनाले हिंसात्मक र तोडफोड तथा आगजनी जस्ता व्यवहार गरेको प्रहरीले जनाएको छ । कोरोना भाइरसको महामारी नियन्त्रणमा नआएको भन्दै सरकारले डेनमार्कमा लकडाउनको अवधि थप्दै लगेको छ । डेनमार्कमा अहिले आंशिक लकडाउन रहेको छ । डेनमार्कमा गत डिसेम्बरदेखि लकडाउन कायमै रहेको छ ।
प्रहरीका १८ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीका १८ डीएसपीको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको हो । फागुन महिनादेखि तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको हो । निर्णयअनुसार इन्द्रबहादुर रानाको इलाका प्रहरी कार्यालय टाँडीमा सरुवा भएको छ भने कुमार विक्रम थापाको बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको छ । यसैगरी दान बहादुर थापाको जिल्ला प्रहरी कार्यालय जुम्लामा सरुवा भएको छ । को कहाँ सरुवा? सूची :
बागमती नदी किनारमा फोहोर फाल्ने व्यवसायीसहित ३ जनालाई कारवाही
काठमाडौंः महानगरपालिका-३१ स्थित मीनभवन, आलोकनगर क्षेत्रको घर अगाडि सार्वजनिक सडकपेटीमा फोहर एवं सामान राखेकोमा अब्दुल अली खानलाई रु चार हजार, ध्रुव सिट हुड वर्कसलाई रु एक हजार र खगेन्द्र कुँवरलाई रु १ हजार गरी जम्मा रु ६ हजार जरिवाना गरिएको छ । जरिवाना रकम काठमाडौं महानगरपालिका वातावरण विभागको कोषमा दाखिला गरिएको वाग्मती सफाइ महाअभियानका अभियानकर्मी गोविन्द काफ्लेले जानकारी दिए । वाग्मती सफाइ महाअभियानको ४०५औँ हप्ताको सफाइ तीनकुने एवं मीनभवन क्षेत्रको वाग्मती किनारमा भएको थियो । आजको सफाइबाट १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको पनि उनले बताए । मीनभवन, आलोकनगर र तीनकुने सुविधानगरको बीचबाट बग्ने वाग्मती नदी भित्र र किनाराको फोहर व्यवस्थापन र सर्वसाधारणमा जनचेतना जगाउने काम पनि आज गरिएको सफाइ अभियानकर्मी प्रमिला पौडेलले जानकारी दिए । जनचेतनाकै सिलसिलामा काठमाडौं महानगरपालिकाले शहर स्वच्छ सफा राखौँ भन्ने आह्वानकासाथ माइकिङ समेत गरेको थियो । सफाइमा महान्यायाधिवक्ता अग्निप्रसाद खरेल, सरकारका पूर्वमुख्यसचिव एवं चीनका लागि नेपालका पूर्वराजदूत लीलामणि पौड्याल, नेपालको पहिलो कमेडियन च्याम्पियन हिमेश पन्त, अधिकार सम्पन्न वाग्ग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, सहयोगी नगर टोल सुधार समिति, आलोक नगर सफाइ समूह, आलोकनगर आमा सेवा नेपाल, फोहर मैला वातावरण वानेश्वर, पहिलो पाइला, एस ट्राभल्स, वाग्मती फोहर उन्मूलन नमूना उपभोक्ता समिति, नेपाली सेना, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत समितिका कर्मचारी, वाग्मती सफाइ अभियानकर्मी एवं स्थानीय सर्वसाधारण समेत सयौँको उपस्थिति रहेको थियो । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ महाअभियान चिसो, गर्मी, वर्षाद्, चाडबाड, भूकम्प, कोभिडको महामारी जस्ता समयमा पनि निरन्तर चल्दै आएको छ । वाग्मती सफाइ महाअभियान शुरु भएपछि उपत्यकामा यसका सहायक नदीसमेत सफाइ हुन थालेको छ । उपत्यकामा गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमती माथिल्लो र तल्लो खण्ड, मनोहरा, चक्रपथका उत्तर र पश्चिम खण्डमा सफाइ गरिएको छ ।
मापदण्ड पूरा गरी विद्यालय सञ्चालन
लहान: स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गर्दै सिरहाका विभिन्न स्थानका सामुदायिक तथा निजी विद्यालयहरु आजबाट सञ्चालनमा आएका छन् । जिल्लाको मिर्चैया र गोलबजार नगरपालिका तथा लक्ष्मीपुर पतारी गाउँपालिकालगायतका स्थानीय तहमा सामुदायिक तथा निजी विद्यालयहरु आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सञ्चालनमा आएका हुन् । कोरोना सङ्क्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दीका कारण गत चैत्र ११ गतेदेखि बन्द रहेका विद्यालयहरु स्थानीय तहको निर्णयअनुसार नियमित सञ्चालनमा आएका छन् । विद्यालयमै सामाजिक दूरी कायम गरी स्वास्थ्य सतर्कता अपनाएर कक्षा सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिएअनुसार नगर क्षेत्रका विद्यालयहरु आजबाट सञ्चालनमा आएको मिर्चैया नगरपालिका शिक्षा शाखाका स्रोतव्यक्ति श्यामकुमार यादवले जानकारी दिए । करीब ६ महिनापछि विद्यालय सञ्चालनमा आएकाले विद्यार्थीको सङ्ख्या कम भएपनि दुई सिफ्टमा गरी नियमित पठनपाठन सञ्चालनमा ल्याइएको विद्यालयहरुले जनाएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट यसअघि जारी गरिएको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ को व्यवस्थावमोजिम नगरपालिकाले स्वास्थ्य सुरक्षा मापदण्ड तयार पारेको छ । विद्यार्थीले विद्यालय आउँदा अनिवार्य रुपमा मास्क लगाएको र सामाजिक दूरी कायम गरेको हुनुपर्छ ।
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड
काठमाडौंः बिहीबार सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ । सोमबार ९१ हजार ५ सयमा कारोबार भएको सुन एकैदिन ९ सयले बढेर नयाँ रेकर्ड कायम गरेको हो । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८ सय १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढिरहेको छ । जसको असर नेपालमा पनि देखिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि बढेर ९ सय ८० प्रतितोला पुगेको छ । यो अघिल्लो दिनको तुलनामा २५ रुपैयाँले बढी हो ।
दिल्ली रेड जोनबाट बाहिरः नीजि र सार्वजनिक यातायात सुचारू हुने, बजार पनि खुल्ने
नयाँ दिल्लीः कोरोना संक्रमणको दरमा स्थिरतासँगै भारतको राजधानी नयाँ दिल्लीमा लकडाउन खुकुलो हुने भएको छ । मुख्यमन्त्री अरबिन्द केजरीवालले लकडाउनसम्बन्धी नयाँ निर्देशिका आज जारी गरिने बताएका छन् । नयाँ निर्देशिका अनुसार, सार्वजनिक तथा नीजि यातायात सेवा खुकुलो हुनेछ । सामाजिक दूरीको नियम पालना गर्दै पसल समेत खुला हुने उनले बताएका छन् । यसअघि दिल्ली रेड जोनमा राखिएको थियो । पछिल्लो दिनमा भने संक्रमण दरमा स्थिरता देखिएसँगै दिल्ली रेड जोनबाट यलो जोनमा राखिएको हो । दिल्लीमा पछिल्लो दिनहरुमा औसत ४ सयदेखि साढे चार सयका बीचमा नयाँ संक्रमित थपिएका छन् । अहिलेसम्म दिल्लीमा ७६ वडा रेड जोन क्षेत्र घोषणा गरिएका छन् । यी क्षेत्रमा भने निषेध जारी नै रहनेछ । दिल्ली सरकारका अधिकारीलाई उद्धृत गर्दै अमरउजाला दैनिकले प्रकाशित गरेको समाचार अनुसार, दिल्ली सरकारले अब संक्रमणको प्रभावका आधारमा नयाँ जोन घोषणा गर्नेछ । केन्द्र सरकारले यसअघि नै संक्रमणबारे आवश्यक निर्णय लिन राज्यलाई अधिकार दिएको थियो । हटस्पट भएका क्षेत्र रेड जोनमा हुनेछन् भने ५ सय देखि एक किलोमिटर क्षेत्रभित्र पर्ने ओरेन्ज जोनमा । यसबाहिरको क्षेत्र भने ग्रीन जोनमा राखिने छ । दिल्ली सरकारले यससम्बन्धी कार्ययोजना तयार गरिरहेको छ । नयाँ निर्देशिकामा मजदूरहरुलाई भने दिल्लीभरि नै आवतजावत गर्न दिइने बताइन्छ । शपिङ मल, रेष्टुरेन्ट, होटल लगायतका सेवाहरु खोल्ने अनुमति केन्द्रले दिएको छैन तर बजार भने खुल्न सक्छन् । दिल्लीमा मेट्रो रेल भने तत्काल नचल्ने भएको छ । बरु यसको बेचमा सामाजिक दूरिको पालना गर्दै परिरवहनको छूट दिल्ली सरकारले दिने भएको छ । यस अन्तर्गत बसको संख्या पनि कम हुने र बसमा २० जना मात्रै यात्रु रहनेछन् । दिल्लीका लाखौं जनताको सुझाव लिएर मुख्यमन्त्री केजरीवालले निर्देशिका तयार गरेर केन्द्रमा पठाएका थिए । कोरोनासँग बानी पार्नुपर्ने भन्दै मुख्यमन्त्रीले जुनसुकै परिस्थितिका लागि समेत दिल्ली तयार रहेको बताएका छन् । यद्यपी केन्द्रका विशेष निर्देशन भने राज्यले पालना गर्नेछ ।
जन्मदिवसमा उद्योगमन्त्री भट्टको मार्मिक स्टाटस
काठमाडौंः उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले विश्वव्यापी रुपमा फैलिरहेको कोराना भाइरस (कोभिड–१९) को रोकथामका लागि सरकारले गरेको ‘लकडाउन’काे पालना गर्न सबैलाई अनुरोध गरेका छन् । आज आफूलाई जन्मदिनको शुभकामना दिने सम्पूर्णलाई धन्यवाद दिँदै मन्त्री भट्टले भनेका छन्, ‘आउनुस् सबै मिलिर कोरोना संक्रमणसँग लडौं । सबैले लकडाउनको नियम पालना गरौं । अप्ठ्यारो परे सम्बन्धित निकायमा खबर गरौं । हामी तपाईसँगै छौ ।’ उनले देशभर ‘लकडाउन’भए पनि उपभोग्य वस्तुको सहज आपूर्ति र पहुँचका लागि निरन्तर प्रयास गरिरहेकोसमेत बताएका छन् । मन्त्री भट्टले अप्ठ्यारो अवस्थाका बाबजुत आवश्यक वस्तुको आपूर्तिका लागि सहज व्यवस्थापनको संरचना तयार गर्न आफूहरु सफल भएको दावी गरेका छन् । जन्मदिनमा उद्योगमन्त्री भट्टको मार्मिक स्टाटस विभिन्न माध्यमबाट मलाई जन्मदिनको शुभकामना दिनुहुने सम्पूर्ण अग्रज, इष्टमित्र, दिदिबहिनी तथा दाजुभाइहरुमा हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्दछु । आजकाे दिनमा म ईतिहासमा नै सबैभन्दा जटिल जिम्मेवारी बहन गरिरहेकाे छु । आम जनतामा काेराेना संक्रमणले फैलिएका त्रासका बीचमा आपूर्ति व्यवस्थापनकाे जटिल चुनाैति मेरा सामु छ । मेराे विचारमा कोरोना Covid-19 को प्रकोप विश्वभर फैलिरहेको अवस्थामा हामीले याे संक्रमणविरुद्ध सामूहिक प्रयास गर्नु जरुरी छ । नेपालमा पनि संक्रमणकाे राेकथामका लागि लकडाउन गर्ने घाेषणा सरकारले गरेकाे छ । तर पनि उपभाेग्य वस्तुकाे सहज आपूर्ति र पहुँचका लागि मैले सकेसम्म प्रयास गरेकाे छु । मैले आम जनतालाइ निराश हुन दिएकाे छैन । कतिपय अप्ठ्याराे हुँदा पनि आवश्यक वस्तुकाे आपूर्तिका लागि सहज व्यवस्थापनकाे संरचना तयारगर्न हामी सफल भएका छाैं । तर म एक्लाेकाे प्रयासले मात्र याे सम्भव हुँदैन । यसमा हामी सबैकाे पहल र साथ जरुरी छ । आउनुस् सबै मिलेर कोरोना संक्रमणसँग लडौं सबैले लकडाउनको नियम पालना गरौं । अप्ठ्याराे परे सम्बन्धित निकायमा खबर गराैं । हामी तपाईसँगै छाैँ । पुनः मलाई शुभकामना दिनुहुने सबैमा हार्दिक धन्यवाद छ !