बागमती नदी किनारमा फोहोर फाल्ने व्यवसायीसहित ३ जनालाई कारवाही

काठमाडौंः महानगरपालिका-३१ स्थित मीनभवन, आलोकनगर क्षेत्रको घर अगाडि सार्वजनिक सडकपेटीमा फोहर एवं सामान राखेकोमा अब्दुल अली खानलाई रु चार हजार, ध्रुव सिट हुड वर्कसलाई रु एक हजार र खगेन्द्र कुँवरलाई रु १ हजार गरी जम्मा रु ६ हजार जरिवाना गरिएको छ । जरिवाना रकम काठमाडौं महानगरपालिका वातावरण विभागको कोषमा दाखिला गरिएको वाग्मती सफाइ महाअभियानका अभियानकर्मी गोविन्द काफ्लेले जानकारी दिए ।

वाग्मती सफाइ महाअभियानको ४०५औँ हप्ताको सफाइ तीनकुने एवं मीनभवन क्षेत्रको वाग्मती किनारमा भएको थियो । आजको सफाइबाट १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको पनि उनले बताए । मीनभवन, आलोकनगर र तीनकुने सुविधानगरको बीचबाट बग्ने वाग्मती नदी भित्र र किनाराको फोहर व्यवस्थापन र सर्वसाधारणमा जनचेतना जगाउने काम पनि आज गरिएको सफाइ अभियानकर्मी प्रमिला पौडेलले जानकारी दिए । जनचेतनाकै सिलसिलामा काठमाडौं महानगरपालिकाले शहर स्वच्छ सफा राखौँ भन्ने आह्वानकासाथ माइकिङ समेत गरेको थियो ।

सफाइमा महान्यायाधिवक्ता अग्निप्रसाद खरेल, सरकारका पूर्वमुख्यसचिव एवं चीनका लागि नेपालका पूर्वराजदूत लीलामणि पौड्याल, नेपालको पहिलो कमेडियन च्याम्पियन हिमेश पन्त, अधिकार सम्पन्न वाग्ग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, सहयोगी नगर टोल सुधार समिति, आलोक नगर सफाइ समूह, आलोकनगर आमा सेवा नेपाल, फोहर मैला वातावरण वानेश्वर, पहिलो पाइला, एस ट्राभल्स, वाग्मती फोहर उन्मूलन नमूना उपभोक्ता समिति, नेपाली सेना, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत समितिका कर्मचारी, वाग्मती सफाइ अभियानकर्मी एवं स्थानीय सर्वसाधारण समेत सयौँको उपस्थिति रहेको थियो ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ महाअभियान चिसो, गर्मी, वर्षाद्, चाडबाड, भूकम्प, कोभिडको महामारी जस्ता समयमा पनि निरन्तर चल्दै आएको छ । वाग्मती सफाइ महाअभियान शुरु भएपछि उपत्यकामा यसका सहायक नदीसमेत सफाइ हुन थालेको छ । उपत्यकामा गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमती माथिल्लो र तल्लो खण्ड, मनोहरा, चक्रपथका उत्तर र पश्चिम खण्डमा सफाइ गरिएको छ ।

जन्मदिवसमा उद्योगमन्त्री भट्टको मार्मिक स्टाटस

काठमाडौंः उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले विश्वव्यापी रुपमा फैलिरहेको कोराना भाइरस (कोभिड–१९) को रोकथामका लागि सरकारले गरेको ‘लकडाउन’काे पालना गर्न सबैलाई अनुरोध गरेका छन् । आज आफूलाई जन्मदिनको शुभकामना दिने सम्पूर्णलाई धन्यवाद दिँदै मन्त्री भट्टले भनेका छन्, ‘आउनुस् सबै मिलिर कोरोना संक्रमणसँग लडौं । सबैले लकडाउनको नियम पालना गरौं । अप्ठ्यारो परे सम्बन्धित निकायमा खबर गरौं । हामी तपाईसँगै छौ ।’ उनले देशभर ‘लकडाउन’भए पनि उपभोग्य वस्तुको सहज आपूर्ति र पहुँचका लागि निरन्तर प्रयास गरिरहेकोसमेत बताएका छन् । मन्त्री भट्टले अप्ठ्यारो अवस्थाका बाबजुत आवश्यक वस्तुको आपूर्तिका लागि सहज व्यवस्थापनको संरचना तयार गर्न आफूहरु सफल भएको दावी गरेका छन् । जन्मदिनमा उद्योगमन्त्री भट्टको मार्मिक स्टाटस विभिन्न माध्यमबाट मलाई जन्मदिनको शुभकामना दिनुहुने सम्पूर्ण अग्रज, इष्टमित्र, दिदिबहिनी तथा दाजुभाइहरुमा हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्दछु । आजकाे दिनमा म ईतिहासमा नै सबैभन्दा जटिल जिम्मेवारी बहन गरिरहेकाे छु । आम जनतामा काेराेना संक्रमणले फैलिएका त्रासका बीचमा आपूर्ति व्यवस्थापनकाे जटिल चुनाैति मेरा सामु छ । मेराे विचारमा कोरोना Covid-19 को प्रकोप विश्वभर फैलिरहेको अवस्थामा हामीले याे संक्रमणविरुद्ध सामूहिक प्रयास गर्नु जरुरी छ । नेपालमा पनि संक्रमणकाे राेकथामका लागि लकडाउन गर्ने घाेषणा सरकारले गरेकाे छ । तर पनि उपभाेग्य वस्तुकाे सहज आपूर्ति र पहुँचका लागि मैले सकेसम्म प्रयास गरेकाे छु । मैले आम जनतालाइ निराश हुन दिएकाे छैन । कतिपय अप्ठ्याराे हुँदा पनि आवश्यक वस्तुकाे आपूर्तिका लागि सहज व्यवस्थापनकाे संरचना तयारगर्न हामी सफल भएका छाैं । तर म एक्लाेकाे प्रयासले मात्र याे सम्भव हुँदैन । यसमा हामी सबैकाे पहल र साथ जरुरी छ । आउनुस् सबै मिलेर कोरोना संक्रमणसँग लडौं सबैले लकडाउनको नियम पालना गरौं । अप्ठ्याराे परे सम्बन्धित निकायमा खबर गराैं । हामी तपाईसँगै छाैँ । पुनः मलाई शुभकामना दिनुहुने सबैमा हार्दिक धन्यवाद छ !

कोरोना भित्रिन नदिन सुरक्षामा कडाइ

काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) ले विश्वमा महामारीको रूप लिएपछि मुलुकभित्र सङ्क्रमण भित्रिन नदिन सरकारले सुरक्षा व्यवस्थामा कडाइ गर्ने भएको छ । नोबेल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले अति सङ्क्रमित थप केही मुलुकबाट नेपाल प्रवेशको भिसा रोक्ने निर्णय गरेको छ । यसअघि सरकारले कोरोना भाइरस सङ्क्रमित पाँच मुलुकका लागि अन अराइभल भिसा रोक्ने निर्णय गरेको थियो । बैठकपछि अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले भिसा निरुत्साहित गर्ने मुलुकको सङ्ख्या बढ्ने बताए । उनले भने, “वर्कआउट हुँदैछ । युरोपियन देश, मध्यपूर्वका देशमा पनि सङ्क्रमण बढी देखियो । सङ्क्रमणको यो बढ्दो स्थितिलाई हेरेर भिसा रोकिने छ । ” उनले भने, “पाँचवटा अति सङ्क्रमित मुलुकबाट आउनेहरूको भिसा निरुत्साहित गर्ने भनिएकोमा सङ्क्रमित मुलुकहरूको सङ्ख्या बढ्दै गएकाले भिसा निरुत्साहित गर्ने मुलुकहरूको सङ्ख्या बढ्ने छ । ” उनले तत्कालकै अवस्थामा एयरलाइन्सको उडान बन्द नगरिने बताए । उनले भने, “भिसा प्रवन्ध नै रोकेपछि मानिसको आवागमन स्वतः कम हुने भएकाले एयरलाइन्सको उडान उसै कटौती हुन्छ । ” बैठकले तत्कालै विद्यालय र परीक्षा बन्द नगर्ने निर्णय गरेको छ । मुलुकमा सङ्क्रमण देखिएमा तत्कालै निर्णय गर्न सकिने भन्दै हाललाई विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता डा. खतिवडाले जानकारी दिए । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) लाई महामारीको रूपमा घोषणा गरेपछि उत्पन्न भएको जोखिमको समीक्षा समेत बैठकमा गरिएको जनाइएको छ । दक्षिणतर्फको छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएकाले भारतसँगको नाकामा सुरक्षा सतर्कता व्यवस्थित गर्ने निर्णय गरिएको छ । प्रवक्ता डा. खतिवडाले भने, “भारततर्फको नाका नियमन गर्न भारतले पनि खासखास नाकाबाट मात्र आवागमन खोल्ने भनेको छ । नेपालले पनि त्यही नाकाबाट मात्रै आवागमनलाई व्यवस्थित गर्ने गरी गृह र परराष्ट्र मन्त्रालयले सहकार्य गर्ने भन्ने छलफल भएको छ । ” प्रवक्ता डा. खतिवडाका अनुसार बैठकमा क्वारेन्टाइन र आइसोलेटेड वार्ड निर्माण, उपकरण, स्वास्थ्यकर्मीलाई सुरक्षित तरिकाले उपचारमा संलग्न हुन चाहिने पर्सनल प्रोटेक्सनका इक्विपमेन्टहरूको आपूर्ति बढाउने विषयमा समेत छलफल भएको थियो । बैठकमा आवश्यक परेमा तत्कालै संरचना बनाउन सक्नेगरी तयारी गर्ने विषयमा समेत छलफल भएको थियो । यस्तै, आवश्यक परेमा मेडिकल कलेज, स्वास्थ्य क्षेत्रमा काम गर्ने सामाजिक संस्थाहरू, रेडक्रस, स्काउटजस्ता संस्थालाई स्वयंसेवीका रूपमा परिचालन गर्न तयारी अवस्थामा राख्नेसमेत बैठकले निर्णय गरेको छ । संयन्त्रका संयोजकसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले राजनीतिक पार्टीका कार्यक्रमका साथै विवाह, भोजभतेरजस्ता कार्यक्रमसमेत स्थगित गर्न आमसमुदायलाई आह्वान गर्ने निर्णय गरेको जनाइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।

प्रधानमन्त्री ओलीको शरीरमा अब चारवटा मिर्गौला

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा आज प्रत्यारोपण गरेपछि अब चारवटा मिर्गौला रहने भएको छ। प्रधानमन्त्री ओलीको अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण गरिँदैछ। यसअघि पनि प्रधानमन्त्री ओलीको शरीरमा २०६४ साउनमा पनि मिर्गौला प्रत्यारोपण गरिएको थियो। तर, शरीरमा रहेको मिर्गौला नफालिकन नयाँ मिर्गौला राखिएकाले प्रधानमन्त्री ओलीको शरीरमा यसअघि नै तीनवटा मिर्गौला थिए। आज गरिने प्रत्यारोपणपछि अब उनको शरीरमा चारवटा मिर्गौला रहनेछ। मिर्गौला प्रत्यारोपण गर्दा सामान्यतयाः शरीरमा रहेको मिर्गौला नफालिकन नयाँ मिर्गौला राख्ने गरिन्छ। १२ बर्षअघि भारतको एपोलो अस्पतालमा प्रत्यारोपण गरिएको थियो। तर त्यतिखेर प्रत्यारोपण गरिएको मिर्गौलाले पनि काम गर्न छाडेपछि प्रधानमन्त्री ओलीको शरीरमा आज फेरि अर्को मिर्गौला राख्न लागिएको हो। पहिले प्रत्यारोपण गरिएको मिर्गौला शरीरमा जेलिएर बसेको हुने र त्यसलाई हटाउन समय लाग्ने भएकाले नयाँ प्रत्यारोपण गर्दा पुरानो मिर्गौला नफालिने चिकित्सकहरुले बताएका छन्। ओलीको मिर्गौला प्रत्यारोपणका लागि भारतको एपोलो अस्पतालबाट पनि चिकित्सक नेपाल आएका छन्। उनीहरुले नै १२ बर्षअघि प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेका थिए। यसअघि बुहारीबाट मिर्गौला दान लिएका प्रधानमन्त्री ओलीले यसपटक भाञ्जीको मिर्गौला आफूमा राख्न लागेका हुन्।

आइपीएलः राजस्थान रोयल्समा भित्रिए नयाँ बलिङ प्रशिक्षक नियुक्त

काठमाडौंः इन्डियन प्रिमियर लिग (आइपीएल) को फ्रेन्चाइज टीम राजस्थान रोयल्सले नयाँ बलिङ प्रशिक्षक नियुक्त गरेको छ । राजस्थानले अष्ट्रेलियाका पूर्व फास्ट बलर रोब क्यासललाई नयाँ बलिङ प्रशिक्षकमा नियुक्त गरेको हो । राजस्थानका मुख्य प्रशिक्षक एन्ड्रयु म्याकडोन्ल्डले बलिङ कोच क्यासलको प्रवेशले टीम अझै बलियो भएको बताए । क्यासलले प्रथम श्रेणी क्रिकेटमा ९ खेलमा २४ विकेट लिएका छन् । योपटक राजस्थानमा एन्ड्र टाय, जोफ्रा आर्चर, जयदेव उनादकट जस्ता स्टार फास्ट बलर छन् ।

मध्यरात ठाटीकाँध गाउँपालिका अध्यक्ष दम्पती अपहरणमा

काठमाडौंः दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले अपहरण गरेका छन् । शाही र उनकी श्रीमतीलाई आफ्नै घरबाट शनिबार राति साढे १२ बजेतिर १५ जनाको समूहमा आएका मानिसहरुले अज्ञात स्थलतर्फ लगेको उनको परिवारले जनाएको छ । अध्यक्ष शाहीसँगै श्रीमती लिला शाहीलाई पनि उक्त समूहले लिएर गएको जनाइएको छ । गाउँपालिकाकी उपाध्यक्ष सुस्मिता सिंहले भने आफू जिल्लामा रहेको र उक्त जानकारी आएको बताइन् । उनले भनिन्, ‘म जिल्लामा रहेको हुनाले गाउँमा बुझ्दै छु, यस्तै खबर आएको छ ।’ जिल्ला प्रहरी कार्यालय दैलेखले उक्त घटना जानकारीमा आएको बताए पनि पुष्टि भने भइनसकेको जनाएको छ ।

१०७९ शिक्षक करारमा नियुक्त (सूचीसहित)

काठमाडौंः शिक्षक सेवा आयोगले २१ जिल्लाका १ हजार ७९ प्राथमिक शिक्षकलाई करारमा नियुक्त गरेको छ । आयोगले बारा, सिरहा, सप्तरी कपिलवस्तु, डडेल्धुरा, नवलपरासी, महोत्तरी, सुनसरी, रौतहट, अर्घाखाँची, ललितपुर, जुम्ला, बाँके, झापा, रोल्पा, कञ्चनपुर, नुवाकोट, मोरङ, मनाङ र चितवन जिल्लाको करार शिक्षकको सूची सार्वजनिक गरेको हो । उनीहरू शिक्षक सेवा आयोगको परीक्षामा अनुर्त्तीण भएका उम्मेदवार रहेको जनाएको छ । नामावली हेर्न यहाँ क्लिक गर्नुस्

५ हजार शिक्षक भर्ना गर्ने तयारीमा सरकार

विराटनगरः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले सार्वजनिक शिक्षा सवलीकरण गर्न खोजेको बताएका छन् । प्रेस सङ्गठन नेपाल मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उनले नेपालमा पहिलोपटक शिक्षा नीति बनाएर शिक्षा विधेयक ल्याउन लागेको जानकारी दिए । मन्त्री पोखरेलले सबै नागरिकलाई सीप सिकाउने तवरले कार्यक्रम ल्याउन लागेको चर्चा गर्दै शिक्षकले आफ्नो सक्षमताको विकास गरेर सीपमूलक ज्ञान प्रवाह गर्नुपर्ने बताए । उनले शिक्षालाई सीप, सीपलाई श्रम र श्रमलाई उत्पादनसँग जोड्नुपर्ने धारणा राख्दै सरकारले १० वर्षमा शैक्षिक क्षेत्रमा सुधार ल्याइसक्ने दाबी गरे । मन्त्री पोखरेलले अङ्ग्रेजी भाषाको नाममा नेपाली भाषालाई कमजोर बनाउन नहुने तर्क गर्दै देशभरमा सरकारले ५ हजार शिक्षक भर्ना गर्ने तयारीमा रहेको जानकारी दिए । ‘सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर सुधान गर्न तीनै तहका सरकारको भूमिका अग्रणी छ’ मन्त्री पोखरेले भने, ‘दिगो विकासको लक्ष्य हासिल गर्न शिक्षा क्षेत्रको सवलीकरण आवश्यक छ ।’ उनले बुद्ध, सगरमाथा र पूर्वीय दर्शन बुझ्न र बुझाउन पनि शिक्षा नै माध्यम हुने उल्लेख गर्दै वि।सं २०८५ सम्ममा सबै नागरिकले आधारभूत शिक्षा लिइसक्ने गरी सरकार तयारीमा जुटेको जानकारी दिए ।

लोकसेवाले माग्यो १०९६ अधिकृत (सूचनासहित)

काठमाडौंः लोकसेवा आयोगले निजामती सेवाको शाखा अधिकृत वा सो सरह पदका लागि बुधवार एक हजार ९६ पद माग गरेको छ । निजामती सेवाका विभिन्न सेवा समूहअन्तर्गत खुलातर्फ ४१९, बढुवा (कार्य सम्पादन मूल्याङ्कन र कार्यक्षमता) तर्फ ३२८, आन्तरिक प्रतियोगितातर्फ तीन,महिलातर्फ ३४९,आदिवासी जनजातीतर्फ ९१, मधेशीतर्फ ८१, दलिततर्फ ३१, अपाङ्गतर्फ १७ र पिछडिएको क्षेत्रका लागि १५ पदका लागि आयोगले विज्ञापन गरेको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुस् प्रशासन सेवाअन्र्तगत सामान्य प्रशासन समूहका लागि ५६० पद माग गरिएकोमा बढुवामा १६८ रहेको छ । यस अन्तरगत खुलामा २१६, महिलामा ५८, आदिवासी जनजातीमा ४८, मधेशीमा ३९, दलितमा १५, अपाङ्गमा ९ र पिछडिएको क्षेत्रमा सात रहेको छ । यसैगरी प्रशासन सेवा राजस्व समूहअन्र्तगत ६९ पद माग गरिएकोमा बढुवातर्फ २० रहेको छ । यसको खुलातर्फ २७, महिलातर्फ ८, आदिवासी जनजाती पाँच, मधेशी पाँच,दलित दुई, अपाङ्ग एक र पिछडिएको क्षेत्रका लागि एक पद माग गरिएको छ । प्रशासन सेवा लेखा समूह अन्तरगत ३० पद माग गरिएकोमा बढुवातर्फ नौ रहेको छ । यसको खुलातर्फ १२, महिला तीन, आदिवासी जनजाती दुई, मधेशी दुई, दलित एक र पिछडिएको क्षेत्र एक रहेको छ । लेखापरीक्षण सेवा अन्तरगत ४२ पद माग गरिएकोमा बढुवातर्फ १३ रहेको छ । यसको खुलातर्फ १६, महिला चार, आदिवासी जनजाती चार,मधेशी तीन, दलित एक र पिछडिएको क्षेत्रमा एक पदमा गरिएको छ । यसैगरी परराष्ट्र सेवाअन्र्तगत चार पद माग गरिएकोमा बढुवातर्फ एक रहेको छ । परराष्ट्रको खुलातर्फ दुई र महिलाका लागि एक पद माग गरिएको छ । न्याय सेवाको न्याय समूहतर्फ २९० पद माग गरिएकोमा बढुवातर्फ ८५ रहेको छ । यसको खुलातर्फ १०९, महिला २९, आदिवासी जनजाती २४, मधेशी २४, दलित दश, अपाङ्ग पाँच र पिछडिएको चार पद रहेका छन् । न्याय सेवा कानुन समूहतर्फ ४९ पद माग गरिएकोमा बढुवातर्फ १५ रहेको छ । यसको खुलातर्फ १९, महिला पाँच, आदिवासी जनजाती चार, मधेशी चार, दलित एक, अपाङ्ग एक रहेका छन् । न्याय सेवा सरकारी समूहतर्फ २४ पद माग गरिएकोमा बढुवातर्फ आठ रहेको छ । यसको खुलातर्फ आठ, महिला तीन,आदिवासी जनजाती दुई, मधेशी दुई र पिछडिएको एक रहेका छन् । व्यवस्थापिका संसदतर्फ २८ पद माग गरिएकोमा बढुवातर्फ छ र आन्तरिक प्रतियोगितातर्फ तीन रहेका छ । यसको खुलातर्फ दश, महिला तीन, आदिवासी जनजाती दुई, मधेशी दुई, दलित एक, अपाङ्ग एक रहेका छन । लोकसेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले आयोगको बार्षिक कार्यतालिकाअनुसार विज्ञापन गरिएको जानकारी दिए । गत वर्ष समायोजनका कारण प्रशासनतर्फ विज्ञापन नभएकोमा यस वर्ष उल्लेख्य सङ्ख्यामा माग भएको बताए ।

नायिका ऋचा शर्माले गरिन् बिहे

काठमाडौंः नायिका ऋचा शर्माले बिहे गरेकी छन् । ललितपुरको लबिम मलका म्यानेजर दिपेक्क्षविक्रम राणासँग नायिका शर्माले शनिबार बिहे गरेकी छन् । शर्मा राणासँग लामो समयदेखि प्रेमसम्बन्धमा रहेकी थिइन् । केही समयअघि मात्रै ऋचाले पोखरामा आफ्ना साथीहरुलाई ब्याचलर पार्टी दिएकी थिइन् । बिहेको फोटो शेयर गर्दै उनले भनेकी छन्, ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आशिर्वाद सदैब यसरी नै मिलोस् ।’ ऋचा अहिले रियालिटी शो ‘कमेडी च्याम्पियन’ मा निर्णायकको भूमिकामा छन् ।

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य, नयाँ भाऊ कति?

काठमाडौंः नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बढाएको छ । आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो । इन्डियन आयल कर्पोरेशन (आईओसी)ले १ डिसेम्बरमा पठाएको मूल्य सूचीमा इन्धनको मूल्य बढाएर पठाएका कारण पेट्रोल, डिजेल मट्टीतेलको मूल्य बढाइएको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । यसअघि प्रतिलिटर १ सय ७ रुपैयाँ रहेको पेट्रोलको मूल्य अब १ सय ९ रुपैयाँ पुगेको छ । यस्तै, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ पुगेको निगमले जनाएको छ । आईओसीले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य समेत बढाएर पठाएको भएपनि त्यसको मूल्य भने नबढाइएको निगमका प्रवक्ता गोइतको भनाइ छ ।

‘छ माया छपक्कै’ अब डिस होमको सिनेमा घर च्यानल नम्बर १०८ मा

काठमाडौंः वर्षकै सर्वाधिक सफल चलचित्र ‘छ माया छपक्कै’ अब डिस होमको सिनेमा घर च्यानल नम्बर १०८ मा प्रदर्शन हुँदैछ । हाँस्यकलाकार दिपकराज गिरी, केदारप्रसाद घिमिरे (माग्ने बुढा), जितु नेपाल (मुन्द्रे)लगायत दर्जनौँ चर्चित कलाकारहरुको अभिनय रहेको यो चलचित्र डिस होमको सिनेमा घर च्यानल नम्बर १०८ मा मंसिर १३ गते देखि प्रदर्शन हुने छ । डिस होमले हलसम्म गएर सिनेमा हेर्न नभ्याउने र हलहरुको सहज पहुँच नभएको दर्शकहरुका लागि न्यूनतम शूल्कमा स–परिवार घरैमा बसी चलचित्र हेर्न मिल्ने पे पर भ्यु सुुविधा उपलब्ध गराईरहेको छ । पे पर भ्यु सुुविधा अन्तर्गत संचालन भईरहेको सिनेमा घर च्यानल नं. १०८ मा नयाँ नेपाली सिनेमा हलमा लागेसंगै वा हलमा लागेको केहि समय पछि न्युनतम शुल्कमा हेर्न सकिन्छ । हरेक दिन आठ शो प्रदर्शन हुने सिनेमा घर एसएमएस पठाएर,डिस होमको ग्राहक सेवा केन्द्रमा फोन गरेर र नजिकै डिस होम बिक्रेता संग सम्पर्क गरेर सजिलै खुलाउन सकिन्छ । आमा सरस्वती मुभिज प्रा.लि. र रोहित अधिकारीको ब्यानरमा निर्माण भएको वर्षकै सर्वाधिक सफल चलचित्र ‘छ माया छपक्कै’ कात्र्तिक २४ गतेदेखि विभिन्न सहरहरुका मूख्य हलहरुमा सार्वजनिक रुपमा प्रदर्शन भएको थियो । चलचित्रले नेपाली सिनेमा जगतमा उत्कृष्ट प्रदर्शनी कायम गर्न सफल रहेको छ । व्यापारको उच्च प्रतिफल पाएको यस चलचित्र ५१औँ दिन मनाउने तयारीमा रहेको छ ।

नेपालको लिम्पियाधुरा समेटेर भारतद्वारा दोस्रो पटक नक्सा सार्वजनिक

काठमाडौंः भारतले नेपालको लिम्पियाधुरा क्षेत्रको भूभाग समेटेर दोस्रो पटक आफ्नो नक्सा सार्वजनिक गरेको भन्दै विरोध सुरु भएको छ । यसअघि सार्वजनिक गरेको नक्सामा रहेको काली नदी शब्द मेटेर उसले त्यही नक्सा सार्वजनिक गरेको हो । नदीको नाम नै मेटेर भारतले त्यो भूभागमा नेपालको कुनै क्षेत्रको नाम नराखी सार्वजनिक गरेको छ । भारतद्वारा सार्वजनिक नक्साप्रति नेपालका नागरिक अगुवाहरूले विरोध गरेका छन् । सन् १८१६ मा भएको सुगौली सन्धिको धारा ५ अनुसार काली नदी नेपाल र भारतको सिमाना हो । जसअनुसार नदीवारि पर्ने नावी, गुञ्जी र गब्रयाङ गाउँ नेपालमा पर्छ । सुगौली सन्धिपश्चात् भारतस्थित ब्रिटिस अफिसर जे आदमले नेपालस्थित ब्रिटिस रेजिडेन्ट एवं तत्कालीन अधिकारी एडवार्ड गार्डनरलाई सन् १८१७ फेबु्रअरी ४ मा एक पत्र लेखे । तत्कालीन कुमाउ प्रान्त ब्रिटिस इन्डिया मातहतको नभई नेपालको भएको पत्रमा उल्लेख छ । त्यस पत्रमा सुगौली सन्धिअनुसार काली नदीको पूर्वमा पर्ने व्यास प्रगन्नाअन्तर्गतको त्यो ठाउँ नेपाल सरकारका अधिकारीहरूलाई सुपुर्द गरिदिनू भन्ने उल्लेख छ । सन् १८१७ मार्च २२ मा उही जे आदमले ब्रिटिस इन्डियाका तर्फबाट तत्कालीन कुमाउका कार्यवाहक कमिस्नर जी डब्लू ट्रललाई लेखेको पत्रमा पनि त्यही तथ्य रहेको विज्ञहरू बताउँछन् । पत्रमा काली नदीको पूर्वमा अवस्थित प्रगन्ना व्यासका गाउँ र त्यहाँका भोटिया जमिनदारहरूलाई नेपाल मातहत रहेर काम गर्न भनिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

पाकिस्तान जाने नदीको पानी रोक्ने मोदीको घोषणा

हरियाणा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतबाट पाकिस्तानतर्फ बग्ने नदीको पानी रोक्ने घोषणा गरेका छन् । हरियाणामा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले पाकिस्तानका विरुद्ध पानीमा सर्जिकल स्ट्राइक गर्ने घोषणा गरेका हुन । पानी रोक्ने विषयमा काम भइरहेको र छिट्टै नै त्यहाँ गइरहेको पानी रोकिने उनले बताए । पाकिस्तानतर्फ हरियाणा, पञ्जाब र राजस्थानबाट नदीहरु बग्ने गर्दछन् । जम्मु कश्मिरको आतंकवादको चर्चा गर्दै मोदीले यो युद्द कति लामो जाने हो ? भनेर प्रश्न समेत गरे । हिन्दुस्तान र हरियाणाका किसानको हकको पानी ७० वर्षदेखि पाकिस्तान गइरहेको बताउँदै मोदीले अब पानी रोकिने बताए । “यो पानी अब तपाईको मोदीले रोक्नेछ र तपाईको घरसम्म ल्याउने छ । उनले दादरी सभामा भने, “यो पानीमा हिन्दुस्तानको हक छ र यो रोक्ने दिशामा काम भइरहेको छ । छिट्टै नै पाकिस्तान गइरहेका हाम्रा नदीको पानी किसानहरुलाई पाइनेछ । भारतले जम्मु र कश्मिरलाई संविधानले दिएको विशेष दर्जा खोसेपछि अहिले पाकिस्तानसँग सम्बन्ध तनावपूर्ण बनेको छ । यसअघि पाकिस्तानले आफ्नो आकाश मार्ग भारतका लागि प्रतिबन्ध लगाएको छ । भारतले पानी रोक्ने घोषणाले पाकिस्तानमा ठूलो प्रभाव पर्ने छ । कतिपयले यसले वार्ता र संवादको बाटो पूर्णरुपमा बन्द हुने र युद्दको परिस्थिति झन नजिक आउने विश्लेषण समेत गरेका छन् ।

नेपाली मूलकी युवतीको शव विभत्स अवस्थामा फेला

विराटनगर– भारतको जोगवनीमा नेपाली मूलकी युवतीको शव विभत्स अवस्थामा फेला परेको छ । विराटनगर–११ पञ्चमुखी चोक माइत भएकी २२ वर्षकी रञ्जना सहनीको हातखुट्टा बाधेको अवस्थामा परवाना नदीमा शव फेला परेको हो । स्थानीय मनिकचन्द सहनीको २२ वर्षीय छोरी रञ्जनाको गत फागुनमा भारतीय नागरिक भीम बहरदारसँग विवाह भएको थियो । विवाहमा मागेजती दाइजो नल्याएको भन्दै घरपक्षबाट मानसिक यातना भोगिरहेकी रञ्जनाको शव सिमावर्ती क्षेत्र जोगवनीदेखि करिब १० किलोमिटर दक्षिण अररिया जिल्ला स्थित परवाना नदीको मिरगन्ज पुल नजिकै भेटिएको हो । आइतबार शव भेटिएपछि प्रहरीले मृतकका श्रीमानसहित ४ जनालाई पक्राउ गरेको छ । माइती पक्षको उजुरीपछि भारतीय प्रहरीले मृतकका श्रीमान भीम बहरदार, जेठाजु अर्जुन बहरदार, ससुरा सैनी बहरदारलाई पक्राउ गरेको हो । स्थानीय उमालाल सहनीका अनुसार रञ्जनाको गत फागुनमा अररिया जिल्ला तकिया निवासी २५ वर्षिय भिम बहरदार मागी विवाह भएको थियो । विवाहपछि दाइजोमा मोटरसाइकल मागेपछि सहनी परिवारले ९० हजार भारतीय रुपैयाँमा मोटरसाइकल किनिदिएको थियो । तर दाइजो नपुगेको युवतीलाई परिवारले मानसिक यातना दिइरहको सहनीले बताए । पछिल्लो समय बहरदार परिवारले पसल राख्न भन्दै युवतीको माइती पक्षसँग दुईलाख मागिरहेको थियो । केही दिन अघि माइत आएकी युवतीलाई श्रीमानले आएर लगेपछि हत्या गरेको माइती सहनीले बताए ।

पार्किंङ गरिका ९ मोटरसाईकलमा आगलागी

धनुषा– धनुषामा एकै पटक ९ वटा मोटरसाईकल र ३ वटा साईकलमा आगोलागी भएको छ । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिका–३ प्रखे महुवामा पार्किंङ गरि राखिएको ९ वटा मोटरसाईकल र ३ वटा साईकलमा आगलागी भएको हो । आगोलागी रहस्यमय ढंगले भएको बताइएको छ । आज बिहान करिब ३ः३० बजेको समयमा पार्किंङ गरि राखिएको मोटरसाईलमा आगलागी हुँदा पार्किङ गरि राखिएका मोटरसाईकल र साईकल जलेर पूर्ण रुपमा ध्वस्त भएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । तर मोटरसाईकल र साईकल कसैले जलाएको वा आफैँ जलेको भन्ने पुष्टि हुन बाँकी रहेको एसपी खनालले बताए । मोटरसाईकल र साईकल पार्किङ गरिएको स्थानमा बिजुलीको तारहरु समेत रहेकोले यसबारे प्रहरीले अनुसन्धान सुरु गरिसकेको एसपी खनालले बताए । उनका अनुसार अनुसन्धानका लागि प्रहरी नायब उपरिक्षक रामेश्वर कार्की नेतृत्वको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ । मोटरसाईकलहरुमा लागेको आगो निभाउन स्थानीयहरुले तत्कालै प्रयास गरेपनि मोटरसाईकल र साईकल जलेर ध्वस्त भईसकेको थियो । उक्त पार्किङ स्थलमै रहेको जनकन्दिनी गाउँपालिका वडा नं. ३ का वडाध्यक्षको सरकारी गाडी समेत जलेर ध्वस्त भएको छ । घटनामा ५ ओटा नेपाली प्लेट र ४ वटा भारतीय नम्बर प्लेटको मोटरसाईकल जलेर नष्ट भएको एसपी खनाले जानकारी दिए । सार्वजनिक जग्गामा पार्किङ गरी राखिएको ज ९ प ७६२५ , स १ प ४३८१, स ८ प ७७१८ , ज १ प ९३३ ९गाउँपालिकाको वडा नं.. ३ को० र ज ६ प ७९९५ नम्बरको नेपाली प्लेटका मोटरसाईकलहरु जलेर ध्वस्त भएको हो । आगलगीमा त्यही पार्किंग गरी राखिएको बिआर ३२ एन ५३३९, बिआर ३२ एफ ९३००, बिआर ३२ भि ३०८४, बिआर ३२ एफ ६०७८ भारतीय नम्बर प्लेटको मोटरसाईकल समेत जलेर ध्वस्त भएको हो । एकैपटक ९ मोटरसाईकल र ३ साईकलमा आगलगी भएपछि त्यहाँका स्थानीयबासी त्रसित बनेका छन् ।