उपत्यकामा डेङ्गु फैलनसक्ने

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले काठमाडौं उपत्यका डेङ्गुको उच्च जोखिममा रहेको जनाएको छ । डब्लूएचओ विशेषज्ञहरूको टोलीले नमुना सङ्कलन गरी गरेको अध्ययनपछि यो जानकारी आएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डब्लूएचओ टोलीलाई आमन्त्रण गरी अध्ययन गरेको थियो । रोग नियन्त्रण महाशाखा प्रमुख डा। विवेककुमार लालले डब्लूएचओ टोलीको अध्ययनले उपत्यकामा डेङ्गु फैलनसक्ने निष्कर्ष निकालेको भन्दै सचेतना अपनाउन सुझाव दिएको बताए ।

डब्लूएचओ टोलीले गरेको नमुना सङ्कलनमा काठमाडौं उपत्यकामा डेङ्गु सार्ने लामखुटे प्रशस्त मात्रामा भेटिएको पाइएको थियो । प्रमुख लालले भने, “काठमाडौं वरिपरिका जिल्लाहरूमा पनि डेङ्गु देखिसकेको छ । ” गत वर्ष पनि काठमाडौंमा डेङ्गु सङ्क्रमित देखिएको थियो ।

महाशाखाका प्रमुख लालले गोरखापत्रसँंग कुरा गर्दै भने, “काठमाडौंको हावापानी, वातावरण, पानी, खाल्डाखुल्डी, पानी जम्ने ठाउँजस्ता विषयले काठमाडौं डेङ्गुको उच्च जोखिम रहेको पाइएको छ । ’’ उन्ले डेङ्गु सार्ने लामखुट्टेले सफा पानीमा अन्डा पार्ने र अन्डा पारेको भाँडा, प्लास्टिक, गमला, पोखरी, खाल्डाखुल्डी जस्ता ठाउँमा अन्डा भित्तामा टाँसिएर रहने भएकाले सतर्क हुनुपर्नेमा जोड दिए ।

प्रदेश नं। १ को सुनसरीमा मात्र यस वर्ष तीन हजार ४२५ जनामा डेङ्गु देखा परेको छ । पाँच वर्ष अघिसम्म १२ जिल्लामा देखिएको डेङ्गु पाँच वर्षको बीचमा ५६ जिल्लामा फैलिइसकेको छ । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।

मलेरियाका कारण मलेसियामा एक नेपालीको मृत्यु

मलेसिया, जेठ २५ । मलेसियामा मलेरियाका कारण एक नेपालीको ज्यान गएको छ । राजधानी क्वालालम्पुर स्थित कोतरायामा लामो समयदेखि व्यवसाय गर्दै आएका मोरङका सन्तोष खड्काको मलेरियाका कारण ज्यान गएको हो । उनको उपचारको क्रममा शनिवार मृत्यु भएको मलेसिया स्थित नेपाली दूतावासले जनाएको छ । कोतराया स्थित साईनो रेस्टुरेन्टका सञ्चालक खड्कालाई गत ६ तारिख चेरास अस्पतालमा भर्ना गरिएको थियो । उनको शव अस्पतालमै रहेको र आवश्यक कागजी प्रक्रिया पूरा गरि नेपाल पठाउने तयारी भईरहेको दूतावासले जानकारी दिएको छ।

भाषण गर्दागर्दै नेताको पाइन्ट खुस्किएपछि….. (भिडियोसहित)

एजेन्सी । केही दिनदेखि सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भइरहेको छ । एक जना भीड माझ भाषण गरिरहेका हुन्छन् । बोल्दाबोल्दै उनको पाइन्ट खुस्किन्छ, सबै मानिस गलल हाँस्छन् । फेसबुक ट्वीटरमा भाइरल भइरहेको यो भिडियोलाई लिएर विभिन्न किसिमका अफवाह फैलिरहेको छ । भाजपा र काँग्रेस समर्थक भारतीयले एकअर्को पार्टीलाई व्यंग्य गर्न यो भिडियो प्रयोग गरिरहेका छन् । भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुस् कतिपयले व्यक्ति भाजपा नेता तथा राजस्थानको अजमेरका उम्मेद्वार राकेश परिख भएको दाबी धेरैले गरेका छन् भने भाजपा समर्थकले काँग्रेस उम्मेद्वार राकेश पारिखको भिडियो भन्दै शेयर वा पोष्ट गरिरहेका छन् । तर, यो भिडियोको वास्तविकता भने अर्कै छ । खासमा यो पुरानो भिडियो हो । भिडियोमा भएका व्यक्ति हुन् उत्तराखण्डको जसपुरका नगर परिषद अध्यक्ष मोहम्मद उमर सिद्धकी । नगरपालिका निर्वाचनका दौरान भएको एक कार्यक्रममा उनको पाइन्ट खुस्किएको थियो । उनी न काँग्रेसका नेता हुन्, न भाजपा । आफू त्यसबेला बहुजन समाजवादी पार्टीमा भएको र चुनावी अभियानका दौरान आफ्नो पाइन्ट खस्किएको उनको भनाई छ ।  पारिख र उनको अनुहार करिब मिल्छ । र, वास्तवमा पारिख भाजपा उम्मेद्वार नभएर काँग्रेसका उम्मेद्वार हुन् ।

‘शुक्लाफाँटा पर्यटन महोत्सव’ सफल बनाउने सम्पूर्ण स्थानीय तहद्वारा प्रतिवद्धता

कञ्चनपुर, चैत ८ । शुक्लाफाँटा घुम्न जाऔं भन्ने नारा सहित आयोजना हुन लागेका शुक्लाफाँटा पर्यटन महोत्सव सफल बनाउन सबै स्थानीय तह एकजुट भएर लाग्ने भएका छन् । जिल्ला समन्वय समितिको आयोजनामा शनिबार कृष्णपुर नगरपालिकामा गरिएको सबै स्थानीय तहका प्रमुख र उप प्रमुखको बैठकमा महोत्सव सफल बनाउन सबैले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । भीमदत्त नगरपालिकाको संयोजनकमा सबै स्थानीय तह र सरोकारावाला निकायले संयुक्त रुपमा चैत १५ देखि २१ गतेसम्म महोत्सव गर्न लागेका छन् । बैठकमा शुक्लाफाँटा पर्यटन महोत्सव, स्थानीय तहको बजेट विनियोजन, आर्थिक स्रोत व्यवस्थापन, कर्मचारी व्यवस्थापन लगायतका विषयमा छलफल गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख फैरु तामाङ्गले शुक्लाफाँटा पर्यटन महोत्सव शुक्दाफाँटामा पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण भएकाले सबै स्थानीय तहले सहयोग गर्ने बताए । ‘यो निर्कै महत्वपूर्ण महोत्सव हो, यसलाई सफल बनाउन सबैले लाग्ने निर्णय गरिएको छ, यसलाई सफल बनाउन सबै तहको प्रतिवद्धता आएको छ’ उनले भने । जिल्ला समन्वय समितिको अगसवाईमा विकास निर्माण सहित समसामयिक विषयमा स्थानीय तहका प्रमुख र उप प्र मुखबीच मासिक रुपमा बैठक आयोजना हुँदै आएको छ । भीमदत्त नगरपालिकाबाट सुरु गरिएको बैठक यस अघि शुक्लाफाँटा र पुनर्वास नगरपालिकामा बसेको थियो । बैठककमा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले शुक्लाफाँटालाई प्रमुअ पर्यटकीय गन्तव्य बनाउने लक्ष्य सहित सबै तहको आयोजनामा महोत्सव आयोजना गर्न लागिएको बताए । ‘शुक्लाफाँटालाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्य सहित भीमदत्तको संयोजनमा सबै तहको आयोजनामा यो महोत्सव हुन लागेको छ’ उनले भने,‘यसबाट शुक्लाफाँटाको प्रचारप्रसार भएर आन्तरिक र बाह्य पर्यटक आउने विश्वास लिएका छौ ।’ शुक्लाफाँटाको पर्यटन प्रवद्र्धनका लागि बेल्डाँडी र बागफाँटा प्रवेशद्वार खोल्ने कार्य अघि बढेको उल्लेख गर्दै उनले भीमदत्त नगरपालिकाको वडा नं. १४ मा सञ्चालन गरिएको होमस्टे प्रवद्र्धन र शुक्लाफाँटा नगरपालिकामा होमस्टे सञ्चालन गर्न लागिएको बताए । शुक्लाफाँटा प्रवेशका लागि सवारी साधनको शुल्क महँगो भएकाले त्यसलाई घटाउन निकुञ्ज सहितका निकायसित पहल गरिएको नगर प्रमुख विष्टले बताए । नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजगर गरी शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना गरिएकाले शुक्लाफाँटा जाऔ भन्ने नारा सहित आन्तरिक र बाह्य पर्यटकलाई निकुञ्जभित्र लगिने बताए । ‘यो महोत्सवमा कुनै स्टल हुने छैन, उद्घाटन कार्यक्रममा सबै जना हुनेछौ, उदघाटनपछि दैनिक सात दिन निकुञ्जभित्र घुम्न जान्छौ’ उनले भने,‘यसरी तीन हजारदेखि तीन हजार पाँच सयसम्म पर्यटक निकुञ्ज घुम्ने छन्, यो ऐतिहासिक नै हुनेछ ।’ शुक्लाफाँटा निकुञ्ज घुम्नका लागि नगरपालिकाले कर्मचारीलाई एक दिनको विदा दिने निर्णय गर्ने विषयमा छलफल गरिएको नगर प्रमुख विष्टले बताए । ‘कर्मचारीलाई घुम्नका लागि एक दिनको विदा दिने निर्णय कार्यपालिकाबाट गराउने गरी छलफल गरिरहेका छौ’ उनले भने । बैठकमा शुक्लाफाँटाका नगरपालिकाका नगर प्रमुख दिल बहादुर ऐरले शुक्लाफाँटा महोत्सव पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण भएको उल्लेख गर्दै त्यसका लागि सक्दो सहयोग गरिने बताए । ‘यो महोत्सव राम्रो छ, यसमा पर्यटन बोर्डको पनि सहयोग आवश्यक छ, प्रदेश सरकारसित पनि समन्वय गरी जानु पर्ने हुन्छ’ उनले भने । शुक्लाफाँटा नगरपालिकाले पनि जनप्रतिनिधि, कर्मचारी सहितलाई एक दिन घुम्नका लागि उत्पेरित गर्ने नगर प्रमुख ऐरले बताए । कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर हमालले महोत्सवमा जनप्रतिनिधि, कर्मचारी सबैलाई सहभागी हुने गरी तयारी गरिने बताए । बैठकमा भीमदत्त नगरपालिकाका नगर उप प्रमुख सुशिला चन्द सिह, बेदकोटका नगर उप प्रमुख सुशिला सिह, शुक्लाफाँटाका नगर उप प्रमुख तुलसी हमाल, कृष्णपुरका उप नगर प्रमुख रमिता राना, बेल्डाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा, उपाध्यक्ष कमला कार्की, लालझाडी गाउँपालिकाका अध्यक्ष मदन सेन बडायक, उपाध्यक्ष सत्यादेबी महरा, बेलौरी नगरपालिकाका नगर उप प्रमुख चित्रा चौधरी र पुनर्वास नगरपालिकाका नगर उप प्रमुख शारदा विष्ट सहभागी भएका छन् । अर्को बैठकमा बेल्डाँडी गाउँपालिकामा बस्ने निर्णय गरिएको छ ।

इण्डोनेसियामा बाढी, कम्तिमा पनि ७३ जनाको मृत्यु

काठमाडौँ, चैत ४। इन्डोनेशियाको पूर्वी प्रान्त पपुआमा बाढीले ठूलो धनजनको क्षति भएको छ। अहिलेसम्म प्राप्त विवरणका अनुसार बाढीमा परेर कम्तीमा ७३ जनाको ज्यान गएको छ भने ६० भन्दा बढी मानिसहरू हराएका छन्। उद्धारकर्मीहरूले पपुआको दुर्गम क्षेत्रमा पुग्न सङ्घर्ष गर्नुपरेको छ। हताहत हुनेको सङ्ख्या बढ्न सक्ने बताइएको छ। बाढीपछि पहिरो गएको छ र रूखहरू ढलेका छन्। त्यसले गर्दा बाटो अवरुद्ध भएको छ। बाढीले दुईवटा पुल र सयभन्दा बढी घरहरूमा क्षति पुर्‍याइदिएको छ। कम्तीमा चार हजार मानिसहरू घर छोडेर अन्यत्र गएका छन्। तिनमध्ये केहीले सरकारी कार्यालयहरूमा आश्रय लिएका छन्। स्थानीय बासिन्दाहरूका अनुसार शनिवार साँझदेखि ठूलो वर्षा हुन थाल्यो र रातभरि पानी परिराख्यो। त्यसपछि कारण बाढी र पहिरोहरू गए। “हाम्रो घरमा बाक्लो लेदो भएको बाढी आयो… हामीले हतारहतार आफ्ना बहुमूल्य सामग्री बटुल्यौँ र छिमेकीको [दुईतले] घरमा शरण लिन गयौँ,” दुई बच्चाकी आमा लिली पुजी हास्टुटीले समाचारसंस्था एएफपीलाई बताइन्। “यो ठाउँबाट बाहिर निस्किन गाह्रो छ किनभने बाटाहरू थुनिएका छन्…। म चिन्तित, दु:खी र त्रसित छु।” बाढीले नराम्ररी प्रभावित भएको स्थानमध्ये सेन्तानी नगर पनि हो। त्यहाँ पीडितहरूको खोजी भइराखेको छ। सेन्तानीमा कम्तीमा ५१ जनाको मृत्यु भएको राष्ट्रिय विपद् निकायका प्रवक्ता सुतोपो पुर्वो नुग्रोहोले समाचारसंस्था रोएटर्सलाई बताएका छन्। नजिकै रहेको प्रान्तीय राजधानी जयपुरामा अरू सात जनाको मृत्यु भएको पुष्टि भएको छ। त्यहाँ सेनाले एउटा पाँचमहिने शिशुको सकुशल उद्धार गरिएको जनाएको छ। ती शिशु घण्टौँसम्म बाढीबाट प्रभावित स्थानमा फसेका थिए। उनलाई परिवारलाई जिम्मा लगाइएको छ। उनका बुवा जीवित छन्, तर आमाको भने अत्तोपत्तो छैन। चेतावनी इन्डोनेशियामा अक्टोबरदेखि एप्रिल महिनासम्म वर्षा याम हुन्छ। यस बेला बाढी आउनु सामान्य नै मानिन्छ। उता जेनुअरीमा सुलावेसी द्वीपमा बाढीले कम्तीमा ७० जनाको ज्यान लियो। मार्च महिनाको पूर्वार्धमा ठूलो पानी पर्दा पश्चिम जाभामा सयौँ जना विस्थापित भएका थिए। आपत्कालीन निकायमा रहेका अधिकारीहरूका अनुसार जयपुरावरिपरि रहेका पर्वतीय क्षेत्रमा भएको वनविनाशका कारण पपुआमा बाढीको खतरा रहेकोबारे त्यहाँको सम्बन्धित निकायलाई सतर्क गराइएको थियो। इन्डोनेशियाको पपुआ प्रान्तको सीमा स्वतन्त्र राष्ट्र पपुआ न्यू गिनीसँग जोडिएको छ।

अमेरिकामा नेपाली डायस्पोरा लगानी कोष (एनडिआईएफ) कम्पनी संचालनमा

वाशिंगटन डिसी, चैत ४ । अमेरिकामा नेपाली डायस्पोरा लगानी कोष (एनडिआईएफ) कम्पनी स्थापना भएको छ । अमेरिकाका विभिन्न राज्य तथा शहरमा बसोबास गर्ने र विभिन्न पेशामा संलग्न व्यक्तिहरुले संचालनमा ल्याएका छन् । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत उक्त प्रतिष्ठानका पदाधिकारीले जानकारी गराएका छन् । उक्त पत्रकार भेटघाट कार्यक्रम मार्फत विभिन्न पदाधिकारीहरुले प्रतिष्ठानको पृष्ठभूमि, परिचय, उद्देश्य, योजना, वर्तमान पदाधिकारीको परिचय दिनुको साथै विभिन्न विषयमा संचारकर्मी तथा सहभागीहरुले राखेका जिज्ञासाको उत्तर दिएका थिए । उक्त सम्मेलनमा छापा विज्ञप्ति जारी गर्दै मार्फत संयुक्त राज्य अमेरिकामा बसोवास गरिरहेका नेपाली पेशाकर्मीहरुले नेपाली डायस्पोरा लगानी कोष नामक सामूहिक लगानी गर्न सकिने कम्पनी स्थापना र संचालन गरेको घोषणा गरेका थिए । नेपाल, क्यानाडा, लगायत विश्वका विभिन्न मुलुकहरुमा शाखा कार्यालयहरु खोल्दै जाने उद्देश्यका साथ गठन गरिएको कम्पनी भर्जिनिया राज्यमा स्टक कर्पोरेशनको रुपमा जनवरी २०१९ मा दर्ता गरिएको हो । नेपालमा रहेका नेपालीहरुको जीवनमा परिवर्तन ल्याउने तथा लाखौंको संख्यामा रहेका डायस्पोराका नेपालीहरुलाई प्रतिफल प्राप्त हुने गरी सामूहिक लगानीको अवसर उपलब्ध गराउनु हाम्रो प्रमुख उद्देश्य हो । हामी भविष्यमा विश्वभर लगानीका विविध संभावनाहरुको खोजी गर्ने योजनामा रहेका छौं । मुख्यतया डायस्पोरा नेपालीहरुको स्वामित्वमा उनीहरुद्वारा नै संचालित रहने भए तापनि हामी अन्य सरोकारवालाहरु समक्ष समेत लगानीको लागि खुला गर्ने छौं भनी छापा विज्ञप्तिमा जनाइएको छ । साथै एनडिआईएफले प्रमुख रुपले नेपाल सरकारले प्राथमिकता क्षेत्र भनी निर्धारण गरेका स्वच्छ ऊर्जा, पूर्वाधार, पर्यटन, प्रविधि र कृषि उद्योग जस्ता क्षेत्रहरुका साथै उच्च सामाजिक आर्थिक प्रभाव पार्ने र दिगो प्रतिफल दिने अन्य उत्पादनमूलक क्षेत्रहरुमा समेत लगानी विस्तार गर्नेछ भनि जनाएको छ । हामीले बढ्दो संख्यामा रहेका नेपाली डायस्पोरामा विद्यमान रहेको लगानीको विशाल संभावनालाई उजागर गर्ने र यसलाई विकासको महत्वपूर्ण साझेदारको रुपमा स्थापित गर्ने लक्ष्य राखेका छौं । एनडीआईएफले १० करोड कित्ता शेयर प्रतिशेयर मूल्य १० डलरका दरले जम्मा १ अरब डलरको शेयर निस्कासन गरेको जनाएको छ । हाल हामी प्राइभेट प्लेस्मेण्टबाट ‘ए’ वर्ग र ‘बी’ वर्गका कमन स्टक जारी गर्न गइरहेका छौं । साथै एनडीआईएफ संयुक्त राज्य अमेरिकाको सेक्युरिटी ऐन १९३३ बमोजिम संयुक्त राज्य अमेरिका तथा अन्य मुलुकहरुबाट इक्विटी शेयरका प्राइभेट प्लेस्मेण्टका लागि संयुक्त राज्य अमेरिकी सेक्युरिटी एण्ड एक्स्च्यान्ज कमिशन (एसईसी) मा रेगुलेशन डी फाराम दर्ता गराइसकेको जनाएका छन् । ‘ए’ वर्गका कमन स्टकका लागि न्युनतम शेयर खरिद प्रतिशेयर १० डलर पर्ने १००० वटा शेयर गरी जम्मा १० हजार डलर मूल्य बराबर तथा बि वर्गका लागि न्युनतम प्रतिशेयर १० डलरका दरले १०० शेयरको जम्मा एक हजार डलर मूल्य पर्ने शेयर खरिद गर्नुपर्ने प्रावधान राखिएको छ । कर्पोरेट सामाजिक उत्तरदायित्वको रुपमा खुद नाफाको बढीमा ५ प्रतिशत रकम स्वास्थ्य, शिक्षा तथा सर्वांगीण मानव विकास लगायतका क्षेत्रमा सामाजिक योगदानका लागि छुट्याउने लक्ष्य राखेको जनाएका छन् । पत्रकार सम्मेलन मार्फत सामाजिक क्षेत्रका कामहरुको विस्तार गर्ने उद्देश्यले विभिन्न नेपाली सामाजिक संघसंस्थाहरुसँग मिलेर सहकार्य गर्ने छौं भनि समेत उल्लेख गरेका छन् । तस्वीरः राजीव श्रेष्ठ

विद्यार्थीले नै जब शिक्षकलाई खुकुरी देखाए….

नवरपरासी । नवलपरासीको एउटा विद्यालयमा शिक्षक एवम् पूर्वप्रधानाध्यापक खुकुरी देखाउँदै विद्यालय पुगेपछि विद्यालयमा त्रास छाएको छ । विद्यालयका प्रधानाध्यापकबाट राजिनामा दिन परेपछि आक्रोशमा आएका जितबहादुर चौधरीले बुधबार एक्कासी खुकुरी लिएर विद्यालय पुगेका थिए । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका २ हरपुर माविमा पूर्वप्रधानाध्यापक समेत रहेका चौधरी विद्यालयमा श्रीमती र छोरीसहित होहल्ला गर्दै नयाँ शिक्षकमा नियुक्त भएका सेवरी हरिजनसँग विवाद गर्न पुग्दा विद्यालयका अन्य शिक्षकहरुले प्रतिवाद गर्दा उनले कक्षाकोठामै श्रीमतीसँग रहेको झोलाबाट खुकुरी झिकेका थिए । उनले लिएको खुकुरी खोस्ने क्रममा एकजना विद्यार्थीको हातमा चोट पनि लागेको स्थानीयले बताएका छन् । पूर्वप्रधानाध्यापक एवम् हालका शिक्षकसमेत रहेको चौधरीले कक्षाकोठामै खुकुरी देखाएर ताण्डव गर्न थालेपछि उनलाई नियन्त्रणमा लिन प्रहरी नै विद्यालय हाता भित्र पुग्नु परेको थियो । विद्यालय व्यवस्थापन समितिको निर्णय विरुद्ध दुई नयाँ शिक्षक नियुक्तिका विषयलाई सदर गर्न नखोजेका चौधरीले सोही विषयमा विवाद चर्कदै गएपछि उनलाई समितिले प्रधानाध्यापकबाट हटाएर करार शिक्षक दिनेश कुमार गुप्तालाई निमित्त प्रधानाध्यापकको जिम्मा दिएको थियो । यो समाचार राजधानी दैनिकले छापेको छ ।

निमाविकाे गणित र कम्प्युटर विषयको नतिजा सार्वजनिक (नतिजा)

काठमाडौँ, फागुन २४ । शिक्षक सेवा आयोगले कार्यरत अस्थायी शिक्षकहरूको निम्न माध्यमिक तहको गणित र कम्प्युटर विषयको नतिजा प्रकाशित गरेको छ। उक्त स्थानहरूमा पदपूर्तिका लागि गत असार २९ गते लिखित परीक्षा लिइएको थियो। नतिजा हेर्न यहाँ क्लिक गरौँ । प्राप्तांक हेर्न यहाँ क्लिक गरौँ ।

स्वकीय सचिवको तलब अब बैंकबाट, खाता नबुझाउनेको तलबभत्ता रोकिने

काठमाडौँ — संघीय संसद् सचिवालयले सांसद र पदाधिकारीका स्वकीय सचिवको तलबभत्ता बैंकमार्फत पठाउने प्रक्रिया सुरु गरेको छ । सांसद र पदाधिकारीले स्वकीय सचिव र कर्मचारीको तलबसमेत आफैं लिन थालेपछि सचिवालयले बैंक खातामा पठाउन लागेको हो । तलब बैंकबाट भुक्तानी हुने व्यवस्था भएपछि अब स्वकीयसचिवहरू सरकारले सुरु गरेको सामाजिक सुरक्षा कार्यक्रमबाट समेत लाभान्वित हुनेछन् । सचिवालयले २०४८ देखि नै स्वकीय सचिवको तलबभत्ता सांसदको बैंक खातामा पठाउँदै आएको थियो । स्वकीयको तलबभत्ता सांसदले लिने गरेको समाचार कान्तिपुरमा छापिएपछि सचिवालयले उनीहरूकै बैंक खातामा पठाउने प्रक्रिया सुरु गरेको हो । सचिवालयले स्वकीय सचिव र कर्मचारीको बैंक खाता खोलेर त्यसको जानकारी दिन मोबाइलमा म्यासेज पठाएको छ । सचिवालयका अनुसार मंगलबार अपराह्नसम्म ६० स्वकीय सचिवले बैंक खातासहित व्यक्तिगत विवरण बुझाएका छन् । ‘बैंक खाता नबुझाउने स्वकीय सचिवको तलबभत्ता नै रोक्न लागेका छौं,’ सचिवालयका प्रवक्ता रोजनाथ पाण्डले भने, ‘खाता खोलेपछि मात्रै तलब उपलब्ध गराउँछौं ।’ संघीय संसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐनको अनुसूची २ मा स्वकीय सचिवको तलबभत्ता बैंकमार्फत पठाउनुपर्ने व्यवस्था छ । सचिवालयले ऐनविपरीत सांसद र पदाधिकारीको खातामा पठाउने गरेको थियो । संसदीय समितिका केही सभापति र २४ सांसदले आफ्ना स्वकीय नै नराखी उनीहरूको तलब आफैं लिने गरेका थिए । धेरैजसो सांसदले आफन्तलाई स्वकीय सचिव राखेका छन् । सचिवालयले पदाधिकारीका निजी सचिवालयका कर्मचारी र सांसदको स्वकीय सचिवको तलबभत्ताबापत मासिक १ करोड १७ लाख ४६ हजार २ सय ६९ रुपैयाँ भुक्तानी गरिरहेको छ । संसद् सचिवालयले कर्मचारीको तलबभत्ताबापत सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको खातामा मात्रै मासिक १ लाख ९७ हजार ५ सय १० रुपैयाँका दरले जनही जम्मा गरिदिने गरेको छ । प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा, उपसभामुख शिवमाया तुम्बाहाम्फे र उपाध्यक्ष शशिकला दाहालले निजी सचिवालयका कर्मचारीको पारिश्रमिक मासिक १ लाख २६ हजार ८ सय ६० रुपैयाँ बुझ्ने गरेका छन् । प्रतिनिधिसभाका सत्तारूढ दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ, राष्ट्रिय सभाका विपक्षी दलका नेता सुरेन्द्र पाण्डे, सत्तापक्षका नेता दीनानाथ शर्माले १ लाख १० हजार ६ सय ३० रुपैयाँका दरले निजी सचिवालयका कर्मचारीको तलब बुझ्ने गरेका छन् । प्रतिनिधिसभा विपक्षी दलका सचेतक पुष्पा भुसाल, फोरमका प्रमुख सचेतक उमाशंकर अरगरिया, नेकपाका सचेतक शान्ता चौधरीले ८७ हजार १ सय ३० रुपैयाँका दरले निजी सचिवालयका कर्मचारीको तलबभत्ता बुझ्छन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाका १६ संसदीय समितिका सभापतिले १ लाख २ सय ९० रुपैयाँका दरले कर्मचारीको तलब बुझ्छन् । कतिपय सभापतिले अझै कर्मचारी नराखी उनीहरूको तलब आफैं लिने गरेका छन् । सांसदले भने शाखा अधिकृत तहका स्वकीय सचिवको तलब ३० हजार ५ सय रुपैयाँ बैंकमार्फत आफैं बुझ्ने गरेका छन् । केही पदाधिकारी र सांसदले देखावटी स्वकीय सचिव पनि आफन्तलाई राखेका छन् । अधिकांश सांसदले स्वकीय सचिवमा साला, साली, भाइ, श्रीमान्, श्रीमती, बहिनीलाई स्वकीय सचिव बनाएका छन् । ‘यो पनि देखावटी मात्रै हो,’ सचिवालय स्रोतले भन्यो, ‘कागजमा उनीहरूको नाम देखाए पनि कहिल्यै आउँदैनन् । उनीहरूले पाउने तलब सांसदले लिइरहेका छन् ।’ केही सांसदले भने आफ्ना स्वकीय सचिवको तलब बैंकमार्फत नै पठाइदिन आग्रह गर्दै संसद् सचिवालयमा यसअघि नै निवदन दिएका थिए । नेकपाका सांसद विन्दा पाण्डे र खगराज अधिकारीले आफ्ना स्वकीय सचिवको बैंक खातामा तलब पठाइदिन पुस ९ गते नै संसद् सचिवालयमा निवेदन दिएका थिए । ‘निवेदन दिए पनि मेरो स्वकीयको तलब बैंक खातामा पठाएको छैन,’ सांसद अधिकारीले भने, ‘स्वकीयको तलब बैंकमार्फत पठाउन सुरु गरे सामाजिक सुरक्षा कार्यक्रमबाट लाभान्वित गराउन सकिन्थ्यो ।’ संसद्को तेस्रो अधिवेशन सुरु हुने अघिल्लो दिन कार्यव्यवस्थाको बैठकमा समेत अधिकारीले स्वकीयको तलब बैंकमार्फत पठाउनुपर्ने माग राखेका थिए । कान्तिपुर दैनिकबाट साभार गरिएको समाचार

रोल्पाली सेवा समाज मलेसियाको अधिवेशन माघमा हुँदै

उमेश बन्जाडे, क्वालालम्पुर । ‘मातृभूमिका लागि विश्वभरका रोल्पाली गोलबन्द होऔं’ भन्ने मुल नाराका साथ गठित अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज मलेसियाको प्रथम महाधिवेशन आगामी माघमा हुने भएको छ। आउँदो फेब्रुअरी १० अर्थात् माघ २७ गते अधिवेशन क्वालालम्पुरमा आयोजना गर्ने समाजको आइतबार मलेसियामा सम्पन्न बैठकले निर्णय गरेको हो। समाजका मलेसिया शाखा अध्यक्ष राजकुमार बुढा मगरको अध्यक्षता एवं केन्द्रिय उपाध्यक्ष टोपबहादुर पुन मगरको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले बोनम्यारो पिडित रोल्पाका प्रेमबहादुर पुनको उपचार र अवैधानिक रुपले मलेसिया कार्यरत रहेकै बखत मृत्यु भएका रोल्पाकै नरबहादुर पुनको शव नेपाल पठाउँदा लाग्ने सहयोग रकम संकलनका लागि सम्पूर्ण नेपालीमा आह्वान गर्ने निर्णयसमेत गरेको छ । साथै, बैठकले मलेसिया लगायतका मुलुकमा छरिएर रहेका सम्पूर्ण नेपाली मजदुरले भोग्नु परेका समस्याको निराकरणका लागि तत्पर रहन समाजमा आवद्ध सबै सदस्यलाई सचेत समेत गराएको समाजका सचीव अर्जुन घर्ती मगरले जानकारी दिए ।

भोजपुरमा जिप दुर्घटनाः ११ घाइते, तीनजना गम्भीर घाइते

भोजपुर, पुष २२ । भोजपुरको हतुवागढी गाउँपालिकाको हसनपुरबाट घोरेटार आउँदै गरेको जिप दुर्घटना हुँदा ११ यात्रु घाइते भएका छन् । हसनपुरबाट घोरेटार आउदै गरेको स १ ज ९० नम्बरको जिप आज दिउँसो १ बजे ब्रेक फेल भएर वडा नम्बर ४ – खैराङ्को वडा कार्यालय छेउमा दुर्घटना भएको हो । घाइतेमध्ये ३ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिइएको छ । दुर्घटनामा परी घाइते हुनेमा हतुवागढी गाउँपालिका ४ खैराङ्का अम्बर कार्की, हतुवागढी २ का लङ्कमान राई, मनमाया राई, पृतम राई, आमचोक गाउँपालिका –६ का जितमान राई, आश्मा राई, कुशुम राई, आमचोक – २ का शन्तोष चौहान, हतवागढी –१ का गोपाल बस्नेत, चालक सुनसरी बराहाक्षेत्रका जिवन सुवेदी, सहचालक हतुवागढी –५ का यादव श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा हतुवाढी –२ शंखरानी आधारभूत विद्यालयका शिक्षक लङकमान राई, पृतम राई र जितमान राई गम्भिर घाइते भएका छन् । घाइते सबैको दुर्घटना प्राथामिक स्वास्थ्य चौकि घोरेटारको समान्य उपचार पछि थप उपचारका लागी विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रीफर गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिइएको छ ।

मलेशियामा कार्यरत बिदेशी कामदारलाई सामाजिक सुरक्षा कार्यक्रम (बिज्ञप्ति सहित )

मलेशिया,पुष १३। मलेसियामा रहेका रोजगारदाता कम्पनीहरुले बिदेशी कामदारहरु लाई मलेसियाको सामाजिक सुरक्षा सस्था सोक्सोमा दर्ता गराउनु पर्ने भएको छ । एफ ड्ब्लु सी एस फरेन वर्कर कम्पेन्सेसनको सट्टामा सोसियल सेक्युरिटी अर्गनाइजेसनमा १जनवरी २०१९ देखि दर्ता गराउनु पर्ने भएको हो। बिदेशी कामदार लाई रोजगारदाता कम्पनीले सोक्सो मा दर्ता गराउनुपर्ने र श्रमिकको मासिक पारिश्रमिकको १.५ प्रतिशत रोजगारदाता कम्पनीले श्रमिकको पारिश्रमिक बाट कटौती नहुने गरि दर्ता गराउनुपर्ने प्राबधानमा उल्लेख छ। दर्ता भएका कामदारले स्वास्थ उपचार ,अस्थायी तथा स्थायी आवश्यक सुबिधा ,आश्रित परिवार सुबिधा मृतकको सब फिर्ता लगायत अन्तिम दाहसंस्कार सुबिधा ,सहयोग भत्ता र पुनःस्थापना सुबिधा पाउने भएका छन। पुर्णतः बैधानिक हैसियतमा काम गर्दै आएका कामदारहरुले मात्रै सोसियल सेक्युरिटी अर्गनाइजेसन बाट पाउने सामाजिक सुरक्षा सुबिधा प्राप्त गर्ने छन । शुक्रबार मलेसिया स्थित नेपाली राजदुतावासले एक प्रेस बिज्ञप्ति जारी गर्दै नयाँ प्रावधान बारे जानकारी गराएको छ।

मलेसियामा एउटै कम्पनीका दुई नेपाली कामदारको मृत्यु

मलेशिया,पुष १३।मलेसियाको बातु पहाड स्थित सिन कावाङ प्लास्टिक कम्पनी मा कार्यरत दुई नेपाली कामदारको मृत्युु भएको छ। केहि दिन अघि मात्र रोजगारीको शिलशिलामा मलेसिया पुगेका रौतहटका सन्तोष यादव र पाल्पाका चुरा दर्लामी मगरको मृत्युु भएको हो। विहिबार बिहान रसायनिक ( केमिकल ) को ट्याङ्की सफा गर्ने क्रममा केमिकलको गन्धले बेहोस भएका यादव उक्त ट्याङ्की भित्र खसेका थिए । उनलाई निकाल्नका लागि सहयोग गर्ने क्रममा मगर पनि बेहोस भएका थिए। केमिकलको अत्याधिक असरका कारण स्वासप्रस्वास बन्द भएर उनिहरुको मृत्यु भएको सोही कम्पनीमा कार्यरत हिरालाल तामाङले जानकारी दिएका छन्। विहिबार कम्पनीमा विदा भएको भन्दै सबै जना मिलेर उक्त ट्याङ्की सफाई गरिदिन कम्पनीका सुपरभाइजर ले आदेश गरेका थिए। केमिकल को ट्याङ्की धेरै दिनदेखि त्यतिकै राखिएको र त्यसभित्र केमिकलको ग्यास भरिएको थियो । ट्याङ्की भित्र फसेका उनिहरु लाई बचाउको लागि त्यहाँ कार्यरत नेपाली कामदारहरुले सुपरभाइजर लाई आग्रह गरी ट्याङ्की काट्नको लागि आदेश मागेका थिए । तर उनले प्रहरीले आदेश नदिएसम्म काट्न नमिल्ने बताए । केही बेर पछि ट्याङकी काटियो तर तब सम्म सन्तोषले ज्यान गुमाई सकेका थिए भने मगर लाई अस्पताल त पुर्याईयो तर बाच्न सकेनन् समयमै ट्याङ्की काटेर उनिहरु लाई निकालिएको भए सन्तोषको बाँच्ने सम्भावना थियो तर प्रमुखले आदेश नदिएपछि सन्तोषलाई हत्या गरिएको अारोप लगाउदै कामदारहरुले केही घण्टा कम्पनीमा हडताल समेत गरिएको थियो । मृतकको सव पोस्टमार्टम पछी नेपाल पठाउने तयारी रहेको जानकारी समेत तामाङले दिए। घटना बारे नेपाली दुतावास मलेसिया लाई सम्पर्क गर्दा शुक्रबार दिउसो सम्म पनि केही जानकारी नभएको दूतावासका कर्मचारीले बताए।

नेपाली दूतावास मलेशियाको आयोजनामा श्रमिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

मलेशिया पुष,९। मलेशिया स्थित नेपाली दूतावासको आयोजनामा आइतबार जोहोर र मेलाका राज्यमा श्रमिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जोहोरको बागु सिटि होटेल तथा मेलाका को होटेल आर्किडमा आयोजना गरिएको कार्यक्रममा दूतावासको तर्फबाट श्रमिक लाई उपलब्ध सेवा ,मलेसियामा श्रमिकले पालना गर्नैपर्ने नियम ,जेल तथा डिटेन्सनमा रहेका नेपालीहरुको अवस्था ,उद्दार प्रक्रिया तथा श्रमिक सुरक्षाका समग्र पक्षहरु बारे जानकारी गराउदै प्रशिक्षण समेत दिइएको थियोे। कार्यक्रममा मलेशियामा कार्यरत श्रमिक,अध्यनका लागि पुगेका बिध्यार्थीहरु,विभिन्न संघसंगठनका प्रतिनिधिहरु पत्रकार लगाएतको बाक्लो उपस्थिति रहेको थियोे । अन्तरक्रियाकै क्रममा श्रमिकहरुले कन्सुलर सेवा तथा वैदेशिक रोजगारी र नीति नियममा बारेमा राखेका विभिन्न बिसयमा गरिएका गुनासो बारे दूतावासको तर्फबाट कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले जबाफ दिएका थिए। कार्यक्रमको अन्तिममा सहभागीहरुले यस्ता कार्यक्रम बाट नेपाली श्रमिकहरुले धेरै लाभ लिन सक्ने भन्दै कार्यक्रम लाई निरंतरता दिन र दूतावासको सेवालाई चुस्त बनाउन अनुरोध गरेका थिए ।

कुवेतमा एक नेपालीको मृत्‍यु

कुवेत ,मंसिर २८।रोजगारीका लागि कुवेत पुगेका एक नेपालीको सडक दुर्घटनामा परि मृत्यु भएको छ। कुवेतमा लामो समय देखि कार्यरत दाङका लक्ष्मण बहादुर खत्रीको सडक दुर्घटनामा परि गत शुक्रबार मृत्‍यु भएको कुवेत स्थित नेपाली दूतावासले जानकारी दिएको छ।मृतक खत्रीलाई गत नोभेम्बर-२३ तारिक सबारी साधनले ठक्कर दिएर घाइते बनाए पछी उपचारका लागी अस्पताल पुर्याईएकोमा उनको उपचारकै क्रममा गत शुक्रबार मृत्‍यु भएको हो । कुवेत स्थित इस्को इन्टरगल सर्भिसेज कम्पनीम काम गर्दै आएका खत्री केही समय पहिले मात्र उक्त कम्पनी छोडि अबैधानिक रुपमा काम गर्दै आएका थिए। इस्को कम्पनीले मृतक लक्ष्मण बहादुर खत्री बिरुद्द गत नोभेम्बर ३ तारीखमा कम्पनी छोडेर भागेको”भगुवा मुद्दा” दायर गरेको पाइएको दूतावास स्रोतले जानकारी दिएको छ। कुवेत स्थित नेपाली दुताबासले मृतकको शब नेपाल पठाउन कानुनी प्रकृया शुरु गर्दै शब पठाउन लाग्ने पैसा र मृतकले पाउन बाँकी रकमको लागी ऊक्त कम्पनिमा अनुरोध गरेको जानकारी गराएको छ।

सोलारको ब्याट्री पड्किएर आगलागी हुँदा ३ बालबालिकाको मृत्यु

दाङ — बंगलाचुली गाउँपालिका–८ गुराँशेमा बिहीबार राति आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ । नवराज पुनको घरमा आगलागी हुँदा उनका ७ वर्षीय छोरा कृष्णबहादुर पुन, ५ वर्षीया छोरी अस्मिता पुन र २ वर्ष ६ महिनाकी छोरी अन्जु पुनको मृत्यु भएको छ । एक वर्ष चार महिनाको छोरा बिरामी भएका कारण तीन छोराछोरीलाई घरमै सुताएर श्रीमती जीवना पुन र नवराज झारफुक गराउन गाउँमा गएको बेला सोलारको ब्याट्री पड्किएर आगलागी भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले बताएका छन् । आगोले जलेर ७ वटा बाख्रा ४ वटा गाईसमेत मरेको उनले जानकारी दिए । यसैगरी तुलसीपुर उपमहानगरपालिका–५ बिरेन्द्रचौकस्थित एक जुता पसलमा शुक्रबार बिहान आगलागी भएको छ । बिहान ६ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । भीमप्रसाद घिमिरेको घरमा रहेको जुताको होलसेल पसलमा बिहान एक्कासी आगोको मुस्लो निस्किएको थियो । मानिसहरु बाहिर निस्कन सफल भएकाले मानवीय क्षति नभएको र अन्य क्षतिको विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए । विद्युत सर्ट भएर आगलागि भएको हुनसक्ने प्रहरीको भनाइ छ । आगो नियन्त्रणका लागि तुलसीपुर उपमहानगरपालिकाका साथै घोराही उमहानगरपालिका र लमही नगरपालिकाको दमकल समेत पठाइएको छ । आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी खटिएका छन् । तीन तलाको घरभित्र रहेका सम्पूर्ण समाना जलेर नष्ट भएको प्रहरीले जनाएको छ । कान्तिपुरबाट