सार्क सम्मेलन आयोजना गर्न पाकिस्तान तयार
काठमाडौं, माघ १७ । पाकिस्तानले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९ औं शिखर सम्मेलन आयोजना गर्न आफू तयार रहेको बताएको छ। सार्कका महासचिव अर्जुनबहादुर थापासँग हालै भएको भेटमा पाकिस्तानी प्रधानमन्त्रीका विदेश नीति सल्लाहकार सरताज अजिज र त्यहाँका विदेशसचिव अजिज अहमद चौधरीले त्यस्तो बताएका हुन्।
प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार पाकिस्तानी प्रधानमन्त्रीका विदेश नीति सल्लाहकार अजिजले भारतले सार्कको वडापत्रको उल्लंघन गरेको बताएका थिए। महासचिव थापाको तीन बर्षे कार्यकाल फेब्रअुरी २८ मा सकिंदैछ। थापा यतिबेला विदाइ भेटका क्रममा सार्क मुलुकको भ्रमणमा छन्।
भारतका कारण सार्क शिखर सम्मेलन स्थगीत हुँदा सार्कका सबै गतिविधिमा अवरोध आएको पाकिस्तानले आरोप लगाएको छ। इस्लामावादमा सार्क शिखर सम्मेलन आयोजना गर्न प्रतिबद्ध रहेको उसले बताएको छ। सार्कको वर्तमान अध्यक्ष मुलुक नेपालले सार्क शिखर सम्मेलन आयोजना गर्न कुनै पहल नगरेको टिप्पणी भइरहेका बेला पाकिस्तानले यस्तो बताएको हो।
यो खबर आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
मलेसियाले गैरकानुनी कामदारलाई ‘वर्कपास’ दिने, रोजगारीका थप चार क्षेत्र खुला
मलेसिया, माघ ४ । मलेसियाले गैरकानुनी हैसियतमा रहेका विदेशी कामदारहरुलाई ‘अस्थायी श्रम स्वीकृति(वर्कपास) दिने भएको छ । मंगलबार विदेशी विदेशी एवं गैरकानुनी कामदारबारे संसदीय समितिको बैठकपछि मलेसियाली उपप्रधान तथा गृहमन्त्री अहमद जहिद हमिदीले उक्त कुरा बताएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यो निर्णय लागू भएमा यहाँ गैरकानुनी अवस्थामा रहेका रहेका हजारौं नेपालीले बैधानिकता लिएर रोजगारी गर्न पाउनेछन् । यद्यपि यो निर्णय मलेसियाली महान्यायाधिवक्ताको कार्यालयबाट कानुनी प्रक्रियाबारे टुंगो लागिसकेपछि मात्र लागू हुने जनाइएको छ । गैरकानुनी कामदारले बैध हुन पूरा गर्नुपर्ने पूरा प्रक्रिया एवं शुल्क र समयावधिबारे पनि हाल केही पनि खुलाइएको छैन । मलेसियाले गत वर्ष जनवरीमा संशोधित बजेट भाषणसँगै गैरकानुनी आप्रवासी कामदारलाई बैधता दिने घोषणा गरेको थियो । त्यसपछि गत वर्ष फेब्रुअरी १५ देखि ‘पुनः भर्ना एवं स्थानान्तरण कार्यक्रम’मार्फत दर्ता भई योग्य हुने कामदारलाई निर्माण, उत्पादन लगायत क्षेत्रमा रोजगारीमा लगाइएको थियो । त्यतिबेला रोजगारीका विभिन्न थप १७ सहायक क्षेत्रहरु खुला गरिएको थियो । त्यसरी गैरकानुनी कामदारलाई बैधता हुन दिइएको समयावधि सकीएको झण्डै तीन सातापछि मलेसियाको यस्तो निर्णय आएको हो । औद्योगिक क्षेत्रहरुमा भएको माग पूर्ति गर्न र गैरकानुनी कामदारको संख्या घटाउन यस्तो अवसर दिन लागेको हो । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार रोजगारदाताले यसअघि विदेशी कामदारलाई रोजगारी दिन अवलम्बन गरेको सामान्य प्रक्रियाअनुसार नै यसपाली पनि गैरकानुनी कामदार राख्न पाउनेछन् । रोजगारदाताले कामदारको लेभी रकम र आवश्यक प्रक्रिया पूरा गरी कामदारको लागि अस्थायी श्रम स्वीकृतिका लागि आवेदन दिनुपर्नेछ । विदेशी कामदारका लागि रोजगारीका विभिन्न चार क्षेत्रहरु पनि खुला गरिएको जनाइएको छ । मलेसियाले गैरकानुनी हैसियतमा रहेका कामदारका लागि अस्थायी श्रम स्वीकृति लिई सेवा, निर्माण लगायत अन्य क्षेत्रका साथै पोल्ट्री फार्म, खानी तथा उत्खनन्, कार्गो ह्याण्डिलिङ र ट्राभल एण्ड टुरिजम् लगायत चार क्षेत्र समेत खुला गरिएको उल्लेख गरेको छ । समाचारहरुअनुसार यीमध्ये उत्खनन् र टुरिज्म क्षेत्र आगामी सन् २०२० सम्मका लागि खुला हुनेछ । नेपाली कामदारहरु बढीजसो सेवा, सुरक्षा र उत्पादन क्षेत्रमा कार्यरत छन् । त्यसका अलावा यहाँका थीम पार्क, गल्फ क्लब, होलसेल एण्ड रिटेल सप, टेक्सटाइल, ज्वेलरी, कार वास, वेयलफेयर एसिस्टेन्ट, मार्केट्स, पेट्रोल स्टेशन, हाइपर मार्केट, खानी, फर्नीचर, वायर हाउस, पोर्ट कार्गो लगायत विभिन्न क्षेत्रमा पनि विदेशी कामदार कार्यरत छन् ।
क्रान्तिकारीलाई लाग्याे चुनाव,उपत्यकामा खटिने यी हुन्, ९ जना कमाण्डर
माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले अध्यक्ष नरेन्द्र न्यौपानेको संयोजकत्वमा ५४५३ सदस्यीय स्ववियु मूल निर्वाचन परिचालन समिति बनाएको छ। सो समितिमा क्रान्तिकारीको केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिहरुका सबै सदस्यहरुका साथै देशभरका सबै इकाई अध्यक्षहरु सदस्य रहनेछन्। बागबजारस्थित क्रान्तिकारी कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा क्रान्तिकारीले मुलुकका सबै प्रमुख क्याम्पसहरुको चुनाबी कमाण्डर समेत तोकेको छ। पौष २७ र २८ गते काठमाडौंमा बसेको केन्द्रीय पदाधिकारीको बैठकले आसन्न फागुन १४ गते हुने स्ववियु निर्वाचनलाई स्वागत गर्दै पुर्ण रुपमा चुनावमा होमिने निर्णय गरेको क्रान्तिकारी अध्यक्ष नरेन्द्र न्यौपानेले बताए। न्यौपानेले उपत्याकाका क्याम्पसमा चुनावको माहोल बनारउन कमाण्डर ताेकेको बताए । त्यस्तै त्रिभुवन विश्वविद्यालयमा रामचन्द्र अधिकारी, पुल्चोक क्याम्पसमा अनिल शर्मा, मिनभवन क्याम्पसमा रञ्जित तामाङ, त्रिचन्द्र क्याम्पसमा मदन अर्याल, पशुपति क्याम्पसमा जितेस योञ्जन तोकिएका छन्। त्यस्तै कोटेश्वर क्याम्पसमा रुद्र विष्ट, पाटन क्याम्पसमा गंगाराम तिमल्सिना, पब्लिक युथमा पुरन केसि, सानोठिमी क्याम्पसमा वीरेन्द्र बस्नेत लगायत छन् । २०६५ सालयता हुन नसकेको स्ववियु निर्वाचन २८ वर्षे उमेरहद सहितको मिश्रित निर्वाचन प्रणालीका आधारमा पहिलो पटक हुन लागेको हो। क्रान्तिकारीले सो निर्वाचनका लागि विभिन्न उपसमिति समेत बनाएको छ। उम्मेदवार छनौट उपसमितिमा नरेन्द्र न्यौपाने, आर्थिक उपसमितिमा अनिल शर्मा, स्वयंसेवक उपसमितिमा रामचन्द्र अधिकारी, घोषणापत्र उपसमितिमा मदन अर्याल, वार्ता तथा तालमेल उपसमितिमा रञ्जित तामाङ छन् । त्यस्तै प्रचारप्रसार उपसमितिमा सुरेन्द्र बस्नेत, अनुगमन उपसमितिमा रुद्र विष्ट, सम्पर्क तथा समन्वय उपसमितिमा जितेस योञ्जन, संगठन परिचालन उपसमितिमा वीरेन्द्र बस्नेत लगायत छन्। स्ववियु तयारीलाई घनिभुत बनाउने सन्दर्भमा पौष १० गतेभित्र सातैबटै प्रदेशमा प्रदेश स्तरीय स्ववियु सम्बन्धी वृहत कार्याशाला गोष्ठी समेत गरिसक्ने अखिल (क्रान्तिकारी)का प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी गराए ।
भन्सार कार्यालयको भूकम्प प्रतिरोधी भवन बन्दै
रसुवा, पुस २३ । भन्सारको कामलाई सरलीकृत गर्न पहिलो चरणअन्तर्गत रसुवागढीको अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा भूकम्प प्रतिरोधी (प्रिफेबिकेटेट) भवन निर्माण अगाडि बढेको छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रसुवाका प्रमुख राजेन्द्र खतिवडाका अनुसार भन्सारसम्बन्धी सबै कार्य नेपाल–चीनको सीमा क्षेत्र रसुवागढीबाटै व्यवस्थित तवरले सञ्चालन गराउन प्रिफेब्रीकेटेट भवन निर्माण हुन थालेको छ । भुइँ सतह मिलाउने कार्य पूरा भई समग्रमा ६० प्रतिशत काम पूरा भइसकेको छ । फलामे तयारी सामग्री जडान गरी भन्सार कार्यालयको व्यवस्थापन हुन लागेको बताउँदै खतिवडाले अब छिट्टै सुरक्षा अंग समेतलाई पुग्ने स्थायी एकीकृत पाँचतले भन्सार कार्यालय भवन निर्माणका लागि बोलपत्र प्रक्रिया अन्तिम चरणमा पुगेको छ । पहिलो चरणमा प्रिफेब्रिकेटेट र दोस्रो चरणमा स्थायी संरचना निर्माण हुँदै जाने छ । स्थायी भवन निर्माण हुन भने तीन वर्ष लाग्ने बताइएको छ । भूकम्पले रसुवागढीको भवनमा क्षति पुर्याएपछि टिमुरेबाट सेवा दिँदै आएको भन्सार कार्यालय पुनः रसुवागढीमा फर्केपछि अबका दिनको सेवा अझ बढी प्रभावकारी बन्ने अपेक्षा गरिएको नेपाल व्यापार संघका अध्यक्ष कुमार कार्कीले बताए । रासस
कथा: निमोठिएको गुलाब – २
दिन झन-झन् बिक्षिप्त बन्दै थियो । मनमा उनको यादसिबाय केही थिएन । निद्राले त आँखाबाट बसाइँ सरिसकेको थियो । दिन त जसोतसो काट्थें तर रात कटाउने साथी आँसु मात्रै थियो । आँसुले सिरानी भिजाएरै सारा रात कट्थें । मोबाइलको घण्टी बज्नासाथ उनको याद झन बल्झिएर आउँथ्यो । आउने प्रत्येक कलमा उनैको बोली चाहन्थ्यो मनले । तर उनको नाम लेखेको कल आएन । अहँ आउँदै आएन । आजकल मेरो दिनचार्य पुरै फेरिएको थियो । साथीहरूसितको साथ छुटेको महिनौ भैसकेको थियो । मनिसको आगमन र बोली सुन्दा पनि रिसको पारो चढेर ह्वात्तै माथि पुग्थ्यो । मेरो यो पारा देखेर मेरो साथी ऐन निकै चिन्तित बनेको थियो । दिनौं जसो फोन गर्थ्यो उसले, घुम्न जाने फिल्म हेर्ने जाने कुरा गर्थ्यो । तर म बहाना बनएरै टार्थें । एकदिन ऊ मेरै रुममा आएर कराउन थाल्यो, “यदि मलाई बचपनदेखिको साथी ठान्छस् भने मसँग हिंड् नत्र मसँग कुनै सम्बन्ध छैन भन ।” उसको यो कुराले मलाई तर्सायो । म नचाहेरै भए पनि सहमति जनाए । उसले मलाई घुमाउनको लागि सहर्षथारा लिएर गयो । त्यहाँ हाम्रा अरु साथीहरू पनिरहेछन् – नरेस, अमोल र समिर पनि । ऐनसँग ती सथिको परिचय मैले नै गराएको थिएँ । दोस्रो वर्ष चल्दै गर्दा ऐन भने मन्यजमेन्ट पढ्थ्यो । साथीहरूसँगको त्यो बसाइले अलिकति सहज भयो । त्यो दिन कमसेकम उसको याद त्यति आएन । म अलिकति एकोहोरिएको थाहा पाउनसाथ साथीहरू बहाना बनाइहाल्थे हँसाउने । त्यस रात अलि सजिलै सुते जस्तो अनुभव भयो । हाम्रो भेटघाटको क्रम फेरि बाक्लियो । साँझमा चोकको पसलमा बसेर चिया पिउने क्रम फेरि सुरु भयो । यसै बीचमा उसको खबर बुझ्न उसका सबै साथीलाई कल गरे । नबिना, सरिता, अञ्जली, मनिषा कोही बाँकी राखेन । तर उनीहरूको जवाफ नि उस्तै थियो,”हाम्रो फोन नि उठाउदिन । न त उसले नै गर्छे छुटेपछि ।” म सोच्थें – ऊ कसरी एक्लिएर बाँच्न सक्छे ? म सगँ रिसाए पनि उसका साथीसित त कन्ट्याक्टमा हुनुपर्ने । पीडै-पीडाका बीच दिन ब्यथित हुँदै गए । समयले उसको यादको घाउ बिस्तारै पुर्न थाल्दै थियो । म पनि आफ्न दैनिकक्रममा फर्कने थाले नतिजा आयो प्रथम श्रेणीमा उतिर्ण पनि भएछु । घरबाट जागिर खोज्नको लागि प्रेसर आउन थाल्यो । धेरै ठाउँको कोसिसपछि एक ठाउमा जगिर को लागि अफर आयो । मन निकै खुसी भयो । घरमा फोन गरेर सुनाएँ,”बुबा जागिरको लागि कम्युनिटी सपोर्ट ग्रुप भन्ने NGOबाट फोन आयो, भोलि पोखरा जानुपर्ने भयो अन्तर्बार्ताको लागि ।” भोलिपल्ट लागें पोखरातिर । मेरो साथी समिर उतै थियो । उसकै रूममा बस्ने कुरा भयो । निकै रमाइलो भयो त्यो साँझ हामी लेकसाइडमा गयौं । साँच्चिकैको फरक अनुभूति छुट्टै किसिमको आनन्द त्यो साझको, लाईभ म्युजिकसँग रमाउनुको । बारमै हुँदा फेरि उसको कमिको आभास भयो । उसको साथ त्यहाँ भएको भए त्यो साझ अँझ स्वर्णिम हुन्त्यो होला । तर के गर्नु ऊ निष्ठुरी बनेर मबाट टाढा बनिसकेकी थिई । मन बुझाउने कोसिस गरे । साथीले बाटोमा फर्कदै गर्दा भन्यो तलाई बीच-बीचमा भावनाको यादले झस्कायो है । मैले टाउको मात्रै हल्लाएँ । अर्को दिन अन्तर्वार्ता थियो । मनमा अलि अलि डर पनि थियो । लागे कम्युनिटी सपोर्ट ग्रुप्को अफिस नयाँबाटोतिर । अन्तर्बार्ता सफल भयो, जागिर बाग्लुङ्मै हुने भयो । म मुस्कान सहित बाहिरिएँ । पहिलो फोन बुबालाई नै गरें । तर मन त यो कुरा सुनाउने अरुलाई नै थियो । तर विवश थिए म सम्झेरै मात्र चित्त बुझाउन । त्यो रात झन मस्ती मै बित्यो । पुरानै ठाउँ लेकसाईड अनि साथी समिर । जागिर बाग्लुङ्मै भएसि अप यहाँको बसाइ अनिश्चित थियो । जुन ठाउमा पुग्थे जहाँ उनीसँग भेट हुन्थे मलाई गिज्याइरहेको भान मलाई पर्थ्यो । दिनभर अफिसको काममा ब्यस्त साझको साथीहरूसितको बसाइ दिन जनतन कटेकै थिए । तर रात आफ्नै ब्यथा बोकेर बित्थे । जागिरकै मेलोमा सानो कामकोलागि बुर्तिबाङ्ग जानुपर्ने भयो । बाग्लुङ् बजारदेखि ८ घण्टे यात्रा त्यो पनि कच्चि सडक । साँझ अबेर झन्डै ५ बजे म त्यहाँ आइपुगे र बसको लागि होटेल खोज्न थलें । त्यहाँ म ३ दिन बस्नु थियो स्वास्थ्य शिक्षा अन्तर्गत एच आई भि एड्सको जानकारी प्रदान गर्ने कार्यक्रम चलाउन । कार्यक्रमस्थल भएको दलित बस्तीमा मलाई निकै पीडा भो त्यहाँको बस्तुस्थिति देख्दाँ । जहाँ बालबालिका एकसरो कपडामा थिए । जुन वर्षौं नपखालिएका झै देखिन्थे । सरसफाइ पनि निकै कमजोर, बच्चाहरू अनियन्त्रित रुपमा सौच गर्दै थिए, सबैतिर भाँडा अनियन्त्रित देखिन्थे । घरहरू पोत्नै बिर्सिएकाझैं वर्षौ । खानेपानीको अवस्था त झन कुरै गर्न नमिल्ने । सबै घरमा चुलो बलिरहेको थियो । तर आगोभन्दा बढी धुवाकोमुस्लो देखिन्थे । त्यसैमा झन चुरोटको धुवा थप्दै अर्धबैंशे महिलाहरू । मन भित्रैबाट रोयो । अनुभूति भो एच् आईभि एड्सको शिक्षा होइन सरसफाइको लागि शिक्षा अवाश्यकता थियो । तर पनि म बाध्य थिएँ सोही कार्यक्रम चलाउन । मैले कार्यक्रमको ढाँचा परिवर्तन् गरी दुवै विषय मिसाएर कार्यक्रम सम्पन्न गरे । त्यो बस्तीका केही तस्वीर मेरो क्यामेरामा कैद थिए । म त्यहाको बसाई टुङ्गाउदै फेरि बाग्लुङ् फर्किएँ । म अफिस फर्किएर आफ्नो फिल्ड प्रतिवेदन तयार पार्दै थिएँ । मेरो मोबाइलमा घण्टी बज्यो । फर्केर हेरें त्यो कल भावनाको नामबाट आएको थियो । म फेरि एकपटक झस्किएँ, मन असन्तुलित बन्यो । मेरो मनमा रिसको पारो चढेर निकै माथि पुग्यो । फोन काटिदिएँ । फेरि कल आयो । मन नलागि नलागि उठाएँ, तर केही बोलिन । ऊ एकोहोरो भनिरहेकी थिई,”के छ हजुरको खबर? के गर्दै हुनुहुन्छ?” मलाई बोल्न मनै लागेन, फोन काटिदिएँ । उसको कल लगातर आएको थियो तर म आफ्नो कामतिर लागे झै गरे । २१ औ कल पछि एउटा टेक्स्ट् आयो,”प्लिज् मेरो कल उठाउन ल ।” मैले रिप्लाई गरें,”अब के नै बाँकी छ र बोल्नु ? म काममा ब्यस्त छु ।” उसले फेरि म्यासेज गरी,”म तिमीलाई साँझ कल गर्छु love u ।” मैले म्यसेजको प्रतिकृया दिनूनपर्ने ठाने । म आफ्नो काममा मन लागाउन सकिन । फेरि उसले एकपटक मेरो मनलाई बिथोल्न सफल भई । मेरो अनुहारको चमक हरायो मन अँध्यारो भयो । मैले मेरो साथी ऐनलाई कल गरे आजको कुरा सुनाएँ । ऐनले उसको कुरामा ध्यान नदिन र मनलाई ढुक्क् बनाउन भन्यो । तर मेरो मन उसको कलले पगाल्न थालिसकेका थियो । घडीले ५ बजाउन नपाउँदै फोनमा उसैका कल आउन सुरु भयो । मेरो नियमित कामहरू सकिन अँझै १ घण्टा जति लाग्थ्यो, फोन काटिदिएँ । बारबार कल आएसि म अलि काम गर्न असजिलो महसुस भयो । मेरो बोसको ध्यान मैतिर परेको देखें। म्यासेज गरें I’m still on office call me after 1 hour । कोठामा पुग्दा म निकै उदास बनें । मनभरि ऊप्रतिको आक्रोश भरिएर आयो । मनले भन्यो,”उसलाई एक पटकमै कल नउठ्दा यति पीडा हुने म यत्रा दिन कसरी काटें होला । ऊ किन त्यो सोच्दिन ? आज म उसलाई आफ्नो नहुनुको पीडा बोध गराउँछु ।” उसको त्यो कलले मेरो बिर्सिएको अतित सम्झ्यायो, खाटो बसेको घाउको खाटो उक्कायो । पीडामै रम्न सिकेको मन फेरि भक्कानिने बनायो । वास्तवमै उसले फेरि मलाई पुरानै मोडमा फर्काई हजारौ घुम्ती घुमाएर । उसको कल आउने क्रम फेरि सुरु हुन थाल्यो । म झन् उत्तेजित् बन्दै गए रिसले । १० पटकको लगतार्को कलपछि फेरि म्यासेजको टोन बज्यो । म्यासेज उसैको थियो ऊ लेख्दै थिई,”तिमी के भयौ ? किन मलाई तड्पाउदैछौ ?” मलाई झन रिस उठ्यो, लेखें,”तिमी यसलाई तड्पाउने भन्छौ है ? अनि तिम्रो आजसम्मको व्यवाहारले मलाई के गर्यो तिमीलाई हेक्कासम्म छ ?” फेरि उसको कल आयो । रिसकै झोकमा उठाएँ अनि भनें,”तिमीले मलाई रुवाएर अँझै पुगेको छैन है भावना ?” ऊ सुँक्कसुँक्क रोई मात्र । म झन् क्रोधित बन्दै गए,”जो स्वार्थी बन्दै तड्पाउन खोज्छ उसकै आँसु धेरै ? तिमी मैले नउठाएका १० कल सम्झेर रुन्छ्यौ, म के गरौं भावना तिमीले नउठाएका ती हजारौ कल अनि अनुत्तरित सयौँ म्यासेजको बदलामा ?” मेरो मनमा रिसको आगो शान्त भएन म के-के बोल्न पुगेछु मलाई नै पत्तो भएन। उसले फोन काटिदिई । केही बेर त यसै रिसाएरै बसें तर उसको त्यो बोलीले मनलाई यति पगालिसकेको थियो कि म उसले गर्ने कलको प्रतिक्षामा बसिरहे । घन्टा बिते, तर उसको कल आएन । म आफै कल गर्न तयार भएँ । अघिसम्म रिसको आगोमा जलेको मन एकै छिनमा यति पग्लियो जुन बर्णन गर्न नि असमर्थ थिएँ । मैले फोन लागाएँ, एक घण्टी जान नपाउँदै उसले कल उठाई र रुन्चे स्वरमा भनी,”अँझै केही भन्न बाँकी छ कि ?” मैले शान्त हुँदै भनें,”भन्न र सोध्न त यति कुरा छन् कि भावना तिमी रातभर जवाफ दिएरै बसे पनि सक्दैनौ ।” ऊ सुँक्क-सुँक्क गर्दै थिई, सोधेँ,”तिमी यत्रो समय कहाँ हराएको ?” ऊ नाजवाफ बसिरही । मैले फेरि भनें,”म तिम्रो लायक कहिल्यै बनिन है भावना !” उसले रुँदै उत्तर दिई,”यी सब कुरा म भेटेरै भन्छु केही दिन पर्ख ।” “भावना, मेरो धैर्यताको बाँध टुटिसक्यो । अब म केही धैर्य गर्न नि सक्दैन । मेरो मुटु यति छिया-छिया बनिसक्यो कि अब टाल्ने कुनै चिज नै छैन होला यो धर्तीमा । तिमी किन बार-बार मलाई टुक्राउँछौ ? तिमीले दिएका सब चोटहरू म अचानो बनी सधैं सहेरै बसौं ।” ऊ केही बोलिन, रोई मात्र रही । मैले अघि भनें,”भावना, रुनु सम्स्याको समधान होइन । सायद गल्ती मेरो नै थियो होला तिमीलाई यति धेरै माया गर्नु, तिमीप्रति यो प्रेम दर्शाउनु ।” “गल्ती न तिम्रो थियो न मेरो । यो सबै समयको खेल रहेछ,” ऊ यत्ति बोली । “गल्ती समयको होइन, मेरै हुनुपर्छ । पहिलोपटक तिमी हराउँदै तिमीप्रतिको मोह त्याग्नुपर्ने मैले त्यो नै ढुलो भूल भयो मेरो ।” ऊ सरी भन्दै थिई, म अँझै उसँग निहु खोजिरहेको थिएँ । यतिकैमा उसले भनी,”मप्रति यति धेरै नै गुनासो रहेछ त म तिम्रो जीवनबाट टाढा बनिदिउँला ।” “नजिक त महिना दिनलाई मात्रै हुन्छौ भावना, बाँकी दिन त ताढा नै छौं । बस् तिमीलाई सम्झेरै काट्य त छु नि !” ऊ फेरि रुन थाली । जब ऊ रुन सुरु गर्थी, मेरो मन पग्लिहाल्थ्यो । “समस्या खासमा के हो भावना ? तिम्रो मनको यथार्थ के छ प्लिज भन । तिमी आफै भन यो तड्पाइ कहिलेसम्मको ?” “म तिमीलाई छिट्टै भेट्छु, अनि भन्छु ।” ऊ अरु केही बोलिन । “कहिले भेट्छौ त ?” “खोइ थाहा छैन तर छिट्टै ।” “फेरि हराउने त हौली नि तिमी ।” ऊ केही बोलिन एकछिन अनि भनी,”म कहिल्यै हराउने छैन अब ।” “यो कुरा पनि पहिलेका झैं नबनून है भावना ।” “गुड नाइट्, टेक् केयर्” भन्दै उसले फोन राखी । “गुड नाईट्,” मैले यति भने । साँझ-बिहान ऊसँगको कुराकानी यसरी नै बितिरहेका थिए । म अफिसबाट निस्कनै लगेको थिएँ, उसले म्यासेज् गरी,”अनलाइन आऊ” भन्दै । म एकछिन रोकिएँ, जाऊँ या अफिस नै बसेर ऊसँग कुरा गरौं भनेर । मेरो मनले अफिस छाड्ने छाँट नै गरेन । फेरि फर्किएँ र बसें आफ्नो कुर्चीमा । अनि खोले फेसबुक । फेसबुक खोल्न नपाउदै उसकै म्यासेजको बिप् बज्यो । लेखें,”किन अनलाइन बोलाको ?” “तिमीसँग बोल्न नि !” उसले सिधा उत्तर दिई । “अनि साँझ बोलेर हुन्नथ्यो ?” “नाइँ, विशेष कुरा छ के !” “के कुरा ?” म अलि उत्सुक भएँ । उसले भनी,”म फेरि बाग्लुङ् आउँदै छु ।” म झस्किएँ,”अब फेरि तड्पाउने भयौ ?” उसले हाँस्दै भनी,”किन तड्पाउनु र तिमीलाई ?” “कहिले पो नतड्पाई राख्या छौ र भावना ?” उसले फेरि 😛 लेखेर पठाई । “तिमी आज निकै खुसी छौ हो ?” “किन नहुनु त ! फेरि जो बाग्लुङ् आउँदै छु, फेरि त्यो तिम्रो साथ मिल्दै छ ।” म केही बोलेन एक्छिन । उतैबाट म्यासेज आयो,”म कहिले आऊँ ?” “आउने तिमी हो तिम्रो मर्जी ।” “मप्रतिको रिस अँझै मरेको छैन कि कसो हँ ?” “किन मार्नु छ र ?” “म तिमीलाई भेटेसि सब कुरा फेरिदिन्छु ।” “हुन्छ भावना सब कुरा फेर्दिनु सक्छौ भने यो तिमीलाई माया गर्ने मन अनि मुटु पनि साटिदिनु फेरिदिनु ।” उसले फेरि रिसाएको स्टिकर पठाई । मैले जवाफ दिएँ,”म यही दिनको प्रतिक्षामा छु तिम्रो मुखबाट ती अनुत्तरित सयौं प्रश्नको जवाफ माग्ने ।” “सब प्रश्नको जवाफ पर्सी पाउनेछौ, म पर्सी आउँछु ।” हुन्छ भन्नुबाहेक मसँग अरु कुनै शब्द थिएन । अन्य रात जस्तो लागेन । आजको रात केही समयपछि फेरि रात अनिद्रामै बित्ने निश्चित थियो । किन किन फेरि उनको तस्वीर अगाडि नाचिरहयो । न त कुनै गम थियो न त कुनै खुसी नै । पर्सी भेट्ने कुराले बस मनमा एउटा अनौठो भाव पैदा भयो, छटपटी पनि सँगसँगै पैदा भयो । रात घडीको सुई हेर्दा हेर्दै कट्यो । त्यो दिन अफिस बिदा थियो निद्रा नपरेकोले होला बिहान १० बजेसम्म बिस्तारामै पल्टिरहे उठ्ने कुनै जागर थिएन । ११ बज्नै लाग्द थियो ऐनले फोन गरेर घुम्न जाने भन्न थाल्यो । मैले मुड नभएको कुरा गरें । तर ऊ अड्डी कसेरै बस्यो,”हामी सब तयार छौं, तँलाई के भा’को हँ ? कि फेरि उसैको लागि हामीलाई बिर्सन थालिस् ?” यो कुराले मलाई झस्कायो । भावनासँग कुरा हुना थालेपछि हाम्रो भेट्घाट पुन: पातलिएको थियो । म अवाक भएँ, उसले फेरि भन्यो,”यार् हिड न जाऊ के !” म बाध्य भएँ,”जाने चाहिं कहाँ ?” “अग्लो पुल हेर्न ग्यादि ।” “ह्या नाजाऊ भो ।” मेरो जवाफ् सुनेपछि उसले रिसाउँदै भन्यो,”तँ यस्तै होस्, त्यसको एक कल के आको थियो हामीलाई बाल नि दिन छाडिस् ।” “सरी यार्, म भर्खर् उठ्या, ढिला हुन्छ होला । तिमीहरू जाऊ ल ।” उसले म नगए नजाने अड्डि कस्न थलेसि म बाध्य मे स्वीकार्न उसको कुरा । लामो समय पछिको साथीहरूसँगको बसाई निकै रमाइलो रह्यो । मैले मेरा साथीको अनुहार यति फुर्तिलो पहिले देखेको थिइन । साथीहरूले पुलसँगैको रेस्ट्रुरेन्टमा बसेर खाजा खाने निर्णय गरे । साथीहरू खाजाभन्दा बढी झ्याप हुने तरखरमा थिए । उनीहरूले खाजाभन्दा पहिले ड्रिन्क्सको मेन्यु पल्टाउन थाले । म भने चुपचाप उनीहरूलाई हेरिरहेको थिए । साथीहरूले भोड्का पिउने निर्णय गरे तर मेरो भने मुड थिएन । मैले नपिउने कुरा दर्साएँ, तर उनीहरू ५ जनाकोसामु के चल्थ्यो र मेरो । झण्डै २ घण्टाको बसाइपछि हामी त्यहाँबाट बाहिरियौ । रुममा पुग्दा रात परिसकेको थियो । रुम नपुग्दै फोन आयो उसको । मैले गिजाउदै भनें,”आज म ससुराली गाउँ आ’को थिएँ नि, तिमीलाई त देखिन नि !” उसले हाँस्दै भनी,”आज ससुराली पो रे ?” “हो त !” मेरो जवाफ सुनेपछि ऊ एकछिन मज्जाले हाँसी । “कहाँ गको थियौ र ?” “ससुराली गाउँ क्या ?” “ह्या, भन न कहाँ गा’को ?” “ग्याग्दी घुम्न साथीहरूसित ।” “म त्यही थिएँ नि फुपूकोमा ।” मैले हाँस्दै भने,”आज दिउँसो नै फोन भा’को भए फुपूसासूको दर्शन हुने रहेछ ।” “हुन्थ्यो नि आजकल मेरो याद आउने भए पो कल गर्थ्यौ ।” “के साथीहरूसँग घुम्न जाँदा तिमीसित फोन गरेरै बसौ ?” “हिजो त केही भनेनौ त ?” “आज एक्कासि बनाएछन् के साथीले योजना । तर आज यत्रो मौका फुत्कियो फुपूसासूसित तिम्रो हात मागेर आउनु पर्ने ।” “मर्ने मन छ कि क्या हो मलाई ?” “एकदिन त थाहा हुनु नै छ, आजै भन्दिन्थे नि ।” “बदमास, म भोलि आउँछु, गुड् नाइट् लभ यु,” भन्दै फोन राखी । दिनभरको हिडाई र साझको मस्तिले रात सजिलै बित्यो । बिहान उठ्दा ८ बजेछ, म झस्किएँ । अफिसको आलिकति काम बाँकी थियो । हतार हतार त्यो सक्ने कोसिस गरे । १० बजेतिर उसको म्यासेज आयो,”साँझ ५ बजेसम्म बाग्लुङ् आउछु भेट्ने है” भन्दै । “हस्” भनी रिप्लाइदिएँ अनि लागे अफिसतिर । अफिसको दैनिकी अलि व्यस्त थियो, कामहरू धेरै थुप्रिएका थिए । अँझै अफिस पुग्दा हेड अफिसको अनुगमन् भन्ने मेलले झन् झस्कायो । दिनभर फुर्सद भएन । ४ बजेतिर उसको कल आयो तर उठाउन सक्ने अवस्था थिएन । म काममै व्यस्त भएँ । ५:३० बजे आफिसबाट निस्कदा मोबाइलमा ४५ कल र ४ ओटा म्यासेज् सबै उसैको थिएँ । म झस्किएँ, उसको अन्तिम म्यासेजले झन् झस्कायो,”तिम्रो माया कतिरहेछ देखाइहाल्यौ नि ।” चार पटकसम्म कल गर्द उसले उठाइन, पाचौ कलमा बल्ल उठ्यो । ऊ रिसाउँदै भन्न थाली,”के गर्न फोन गरेको ?” “के गर्न रे, के भयो ? म अफिसमा बिजी थिएँ । आज अनुगमन् आको थियो ।” “बाहना हो तिम्रो,” ऊ अँझै रिसाउदै थिई । कुरा मोड्ने प्रयास गरें,”कहाँ भेट्ने त ?” ऊ “पर्या छैन भेट्न किन भेट्नु पर्यो ?” भन्दै झर्कन थाली । “के हो, आज घरदेखि नै धम्काउने योजना बनाएर आको हो र ?” ऊ केही बोलिन । “म कहाँ आऊ ?” फेरि सोधें । “पर्दैन । म साथीकोमा छु ।” “भोलि मलाई भेट्ने फुर्सद छ ? भोलि नि त्यही अफिस छ ।” म केही बोलिन । केही छिन फोनमै सुन्यता छायो । “आऊ के साँझ एकछिन । अनि जाउली,” बस यति भने । अन्त्यमा ऊ सहमत भई ऊ । पुरानै ठाउ हल्लनचोकमा भेट्ने कुरो भयो । मनमा अलि कौतुहलता पैदा भयो । झन्डै ६ महिनापछि उसको र मेरो फेरि भेट हुँदै थियो । एक पटक मनले मारिसकेको हाम्रो प्रेम फेरि मनको कुनाबाट टुसाउँदै थियो । मनले खै अर्कै आभास गर्दै थियो । जब ऊ मेरो अगाडि देखिई, म झस्किएँ । उसको पहिरन पहिले पहिले जस्तो थिएन । उसका आँखामा पहिले झै गाजल थिएन न त ओठमा लिपिस्टिक नै पोतिएको थियो । ऊ दुब्लाएर सानी बने झैं देखिएकी थिई । ऊ सदा कुर्था सरवालमा सजिएकी थिई । म उसको त्यो रुप देखेर मेरो मन अत्तालियो । ऊ मलाई देख्ने बित्तिकै झ्याम्मै अङगालोमा बाँधिई । म उस्को त्यो बानीले अलि अचम्मित परें । उसले पहिले त्यस्तो व्यवाहर कहिल्यै देखाएकी थिएन । ऊ रुन थाली । मैले उसको कानमा अरुले देखिरहेको र शान्त हुन भने । ऊ एक्कासि मेरो अङगालोबाट पर भागी । उसले कतै एकान्त ठाउँमा जाने इच्छा व्यक्त गरी, हामी लाग्यो रुद्रेपिपलतिर । बाटोमा जादै गर्दा ऊ निकै मौन थिई । उसका आँखाबाट आँसु झरिरहेको स्पष्ट देखियो । “के भयो भावना ? तिमी किन रुँदैछौ ?” “केही भएको छैन,” उसले जवाफ दिई । “नत्र तिम्रो आँखामा आँसु किन बग्दैछ ?” जब हामी ब्याडमिन्टन् कवर्डहल सँगैको चौतारीमा बस्यौं । उसको रुवाई चर्को भयो । म उसलाई सम्हाल्न असफल भएँ । उसको आँखाको आँसु देखेर मेरो आँखा रसाउन थाले । बस मैले उसले झै देखाएर जाहेर गरेको थिइन । ऊ फेरि मेरो अङ्गालोमा बाधिई र किस गर्न थाली । मै झन अन्योल्मा परें उसको त्यो प्रबृति देखेर । ऊ शान्त हुन झन्डै १० मिनेट लाग्यो । उसका रसाएका आँखा म आफैंले पुछिदिएँ । मन नलाई नलाई सोधें,”तिमी यत्रो समय कहाँ हराएको ?” “म बाध्य थिएँ । घरमा बुबाले हाम्रो कुरा थाहा भएपछि सब कुरा बिग्रियो । मलाई कसैको फोन उठाउन दिनुहुदैनथ्यो, न त बोल्न नै । एउटा केटी भएर बाँच्न कति गारो हुन्छ । त्यो पनि मेरोजस्तो अबुझ परिवारमा तिमी बुझ्दैनौ ।” मैले अरु धेरै कुरा खोतल्न आवश्यक ठानिन,”अनि बाग्लुङ् ?” “मेरो फुपूले यहाँ कतै जागिर मिलाइदिन्छु र मेरो सामुमा राख्छु भनेसि पठाउनु भा’को ।” “ठिक छ नि । अब सब पुरानै जस्तै हुन्छ,” मैले भन्ने अरु केही भेटिन । ऊ फेरि मबिना एक्लिएर बाँच्न नसक्ने भन्दै रुन थाली । “म पनि तिमीबिना बाँच्न कहाँ सक्छु र भावना !” योभन्दा बढी त के भन्न सक्थे र ? उसका निर्दोष आँखाले मेरो अनुहार हेरिरहन्थे । तर मेरो आँखाले उसको अनुहारमा पहिलेको जस्तो खुसी कतै भेटिन । झन्डै एक घण्टाको बसाइपछि हामी छुटिने निधो गर्यौं । मैले उसलाई मेरो कोठातिर हुँदै बिदा गर्ने विचार गरे । ऊ हुन्छ भन्दै हिंडी । मैले फेरि उसका हात समाउदै हिड्ने मौका पाए लाग्यो । उसको यो साथभन्दा ठुलो कुरो केही छैन यो धर्तीमा । उसको मेरो भेट नभएको कुनै साँझ थिएन । पहिले जस्तै गरी साँझमा पानीपुरी खाने क्रम फेरि सुरु भयो । हाम्रो सामिप्यता निकै नजिक बन्यो सायद । यसलाई रोक्ने कुनै बार नै थिएन शारीरिक सुखसम्मका सुखहरू साटिइसकेका थिए । समय यसरी नै बित्दै थियो । एकदिन ऊ घर जाने भन्दै मेरो कोठामा आई । एक घण्टा जति बसेर गई । छुट्ने बेला उसका आँखा रसाएका मैले स्पष्टै देखे । त्यो बेला उसको मनमा मप्रतिको प्यार छर्लङ्ग भयो । मनमा अलिकति भए नि सन्तोष पैदा भयो । जब ऊ घर गई, फेरि ऊ बिलाई । न उसको फोन आयो न उसको म्यसेज । फोन गर्दा फोन स्विच अफ भन्थ्यो । आयो त केबल उसको याद मात्रै । मेरा दिन फेरि अँधेरिन थाले । न त जगिरको लागि आफिस जनै मन लग्न थाल्यो । अफिस गए पनि काममा कुनै दिल लाग्दैनथ्यो । झन्डै १५ दिनपछि उसको म्यासेज आयो । जब त्यो म्यासेज हेरें धर्ती नै फाटे झैं भयो, आकास सबै आफैंमाथि खसे झैं भयो । मुटुमा Heart Attack को दुखाई भए झैं लाग्यो । म्यासेजमा लेखिएको थियो i am getting married । मेरो आसाका सबै कुरा हुरिले उडाएर लग्यो । ऊ अर्कैको बेहुली बन्दै थिई । मैले म्यासेजको उत्तर दिने कुनौ शब्द भेटिन। बस आँखामा आँसुका धारा बग्न थाले । मेरा ती गन्तव्य सबै ढोङ्ग्रा बने । उसको त्यो म्यासेजले मलाई के बनायो त्यो आफैलाई पत्तो भएन । उसको यादले उज्यालो मन नपर्ने बनायो । मेरो दैनिक जीवनचक्र सब परिवर्तन् भयो । उसको यादमा बस्नु दिन रात रुनु । त्योभन्दा बढी मेरो दैनिकी केही थिएन । न त आफिस जन्न्थे न कोही साथी सँग भेटघाट नै हुन्थ्यो । बस म फेरि डिप्रेसनको सिकार बन्न पुगे । उसले बिहे त गरी । तर मेरा सब आशा तथा गन्तव्य टुटेर गए । म गन्तव्यबिहीन भए । उसको यादमा दिनरात पागल बन्ने, बस् पागल-प्रेमी, बनें । निमोठिएको गुलाब (भाग १) (कथामा उल्लेखित पात्र तथा स्थान काल्पनिक हुन् । कसैको जीवनसँग मेल खाएमा केबल संयोग मात्रै हुनेछ।)
सन् २०१६ मा इराकमा छ हजार ८७८ सर्वसाधारण मारिए
बग्दाद, पुस २० । सन् २०१६ मा इराकमा भएका हिंसाहरुमा परी कम्ती छ हजार ८७८ सर्वसधारणको ज्यान गुमाएका संयुक्त राष्ट्र सङ्घले हालै जानकारी दिएको छ । इराकको लागि संयुक्त राष्ट्र सङ्घको सहयोग मिसन (युएनएएमआइ)ले जारी गरेको एक विज्ञप्तिका अनुसार सन् २०१६ मा भएका यस हिंसाहरुमा परी १२ हजार ३८८ सर्वसाधारण घाइते भएका थिए । तर गत मे, जुलाई, अगस्त र डिसेम्बरमा इराकको पश्चिमी प्रान्त अन्बार भएका मानवीय हताहतसम्बन्धि घटना भने यस तथ्याङ्कमा समावेश नगरिएको युएनएएमआइले थप जानकारी दिएको छ । युएनएएमआइका अनुसार सन् २०१५ मा इराकभरी भएका घटनाहरुका सात हजार ५१५ व्यक्तिको मृत्यु भएको थियो । सन् २०१७ को सुरुवातसँगै इराकमा पुनःहिंसा सुरु भइसकेको छ । इराकको राजधानी बग्दादको छिमेकमा पर्ने अत्याधिक जनघनत्व भएको एक इलाकामा गत सोमबार भएको एक कार बम विस्फोटमा परी कम्तीमा ३५ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ६९ व्यक्ति घाइते भएका छन् । सो आक्रमणमा मारिए प्रायःव्यक्ति सदर सरहको विभाजन रेखामा कामको लागि फर्खिरहेका श्रमिक परेका जानकारी दिइएको थियो । त्यसैगरी सन् २०१७ सुरु हुनुभन्दा अगाडिको् पूर्वसन्ध्यामा नै भएका दुई विस्फोटनमा परी पनि २७ व्यक्तिको मृत्यु भएको थियो । यस आक्रमणहरुको आइएसले नै दाबी गरेका थिए । रासस
किन आत्तिएका छन् अध्यक्ष ओली ?
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच अंग्रेजी नयाँ वर्षको दिन कुनै गोप्य स्थानमा करिब दुई घण्टा छलफल चल्यो । छलफलमा दुबै नेताबीच के कस्ता कुरा भए, त्यो पुरै सार्वजनिक भएको छैन । तर सकारात्मक भनिएपनि छलफल अन्ततः निष्कर्शविहिन नै भयो । व्यवस्थापिका संसदमा दर्ता भएका बिभिन्न प्रस्तावहरुमाथि दलहरुलाई सहमति जुटाउन सभामुख ओनसरी घर्तीमगरले दिएको ३ दिने समयसीमको अन्तिम दिन उनीहरुबीच भेटघाट भएको थियो । त्यसको भोलीपल्ट आज बिहान सिंहदरबारमा शीर्ष दलबीच बैठक बस्यो । त्यसमा समेत सहमति हुन सकेन । किन आउँदैनन् ओली सहमतिमा ? प्रधानमन्त्री र सभामुखको बारम्बारको प्रयासपछि पनि एमाले अध्यक्ष ओली किन सहमतिमा आउन खोजिरहेका छैनन ? यो प्रश्न अहिले टड्कारोरुपमा उठेको छ । जबकि एजेण्डाका हिसाबले ओलीले असहमत हुनुपर्ने कुनै कुरा छैन । अहिले आएर पूर्व प्रधानमन्त्री समेत रहेका केपी ओलीले यो कुरामा किन बुझ पचाइरहेका छन् ? किन उनी सहमतिमा आउन खोजिरहेका छन् । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबाले पटकपटक एमाले अध्यक्ष ओलीलाई विगतको सहमतिको स्मरण गराउँदै आएका छन् । “५ नं. प्रदेशको सीमांकन स्वयम् ओलीको हस्ताक्षरमा प्रस्तुत भएको प्रस्ताव हो” भन्ने कुरा स्थापित तथ्य समेत हो । भाषा र नागरिकताको विषयमा अन्तरिम संविधानको प्रतिकूल प्रस्ताव सरकारले पेश गरेको छैन । तथ्यगतरुपमा हेर्दा अहिलेको संशोधन प्रस्ताव एमालेको आफ्नो प्रस्ताव हो । एमालेले विगतमा सुझाव दिएको कुरा नै अहिलेको प्रस्तावमा छ । तर पनि अहिले आएर पूर्व प्रधानमन्त्री समेत रहेका केपी ओलीले यो कुरामा किन बुझ पचाइरहेका छन् ? किन उनी सहमतिमा आउन खोजिरहेका छन् । उनको अहिलेको व्यवहार हेर्दा उनले ‘सरकारलाई हलो अड्काउन’ खोेजिरहेको स्पष्ट हुन्छ । राष्ट्रिय सहमति जुट्न नसकेपछि र दोश्रो संविधानसभा समेत असफल हुने खतरा देखिएपछि तत्कालिन एमाओवादीले ३३ दलीय मोर्चाबाट अलग भएर घोषणा गरेको ३ दिने आन्दोलन फिर्ता लिएको थियो । किन आत्तिए ओली ? नैतिकवान राजनीति या एजेण्डाका आधारमा चल्ने राजनीतिमा राजनीतिज्ञहरुमा केही निष्ठा बाँकी रहन्छ । बेइमानी भन्ने शब्द त्यहाँ हुन्न । यो आधारमा हेर्दा इमान हुन्थ्यो– प्रतिपक्षले राष्ट्रिय सहमतिका लागि पहल गर्नु । इमान्दारिता हुन्थ्यो– एमालेले सदनमा आफ्ना असहमति र फरक मत राख्नुपथ्र्यो । हिजो आफैले पेश गरेको प्रस्ताव अहिले आएर चित्त नबुझेको भएपनि ‘त्यतिखेर हामीले नै यो प्रस्ताव गरेपनि अहिले हाम्रो फरक मत यस्तो छ’ भनेर जनप्रतिनिधिहरुले चुनेको संसदमा आफ्ना कुरा राख्नुपथ्र्यो । तर एमालेले यो इमान देखाएन । जति आलोचना गरेपनि सरकारका कतिपय कामहरुले विस्तारै जनतामा प्रभाव पर्न थालेपछि ओलीले आत्तिएर अन्तिम अस्त्रका रुपमा संविधान संशोधन प्रस्तावलाई सरकारविरुद्ध तेस्र्याउन खोजे । जबकि इतिहास साक्षी छ– राष्ट्रिय सहमति जुट्न नसकेपछि र दोश्रो संविधानसभा समेत असफल हुने खतरा देखिएपछि तत्कालिन एमाओवादीले ३३ दलीय मोर्चाबाट अलग भएर घोषणाच गरेको ३ दिने आन्दोलन फिर्ता लिएको थियो । नेपाली कांग्रेसका तत्कालिन सभापति सुशिल कोइरालाको नेतृत्वमा संविधान निर्माणका लागि आफ्ना कतिपय असहमतिलाई फरक मतका रुपमा सदनमा राखेर संविधान जारी गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । तर अहिले एमालेले यो इमान देखाएन ।यसबाट एमाले अध्यक्ष ओली वर्तमान सरकारबाट आत्तिएको स्पष्ट हुन्छ । नेकपा एमालेका अध्यक्ष ओली स्वैच्छिकरुपबाट सत्ताबाट बाहिरिएका होइनन् । उनले अन्तिम समयसम्म पनि प्रधानमन्त्री बनिरहन निकै कोशिस गरे । तर अन्ततः सदनको सामना गर्नैपर्ने अवस्था आएपछि उनले सदनमा नै राजिनामा दिए । यो पृष्ठभूमिमा सरकार बनेपछि ओली नेतृत्वमा वर्तमान सरकारका विरुद्ध ठूलो अभियान नै सञ्चालन भयो । सरकारको आलोचनामा एमाले पंक्ति दृढ भएर लाग्यो । तर जति आलोचना गरेपनि सरकारका कतिपय कामहरुले विस्तारै जनतामा प्रभाव पर्न थालेपछि ओलीले आत्तिएर अन्तिम अस्त्रका रुपमा संविधान संशोधन प्रस्तावलाई सरकारविरुद्ध तेस्र्याउन खोजे । यो कुरा अहिले आएर झन पुष्टि भएको छ । भारतीय आशीर्वादको आरोप लागेको सरकारले ‘फाष्ट ट्रयाक’ आफै बनाउने निर्णय गरेपछि अध्यक्ष ओली र पार्टी पंक्ति झन आत्तिएको हो । आफूले आलोचना गर्ने एजेण्डाहरु (अर्को शब्दमा, तुरुपका पत्ता) एकपछि अर्को गर्दै तुहिन थालेपछि उनीहरु आत्तिनु स्वभाविकै थियो । यही बीचमा सरकारले काठमाडौं उपत्यकामा लोडसेडिङ अन्त्य गर्ने अनौपचारिक घोषणा गर्यो । यसले सरकारप्रति आम जनसमुदायको जनमतमा १८० डिग्रीले फरक ल्यायो । मध्यमवर्गदेखि लेखक, कलाकारदेखि बुद्धिजीविसम्मले माओवादीको राजनीतिक विचारको बिरोध गरेपनि यी कतिपय कामहरुको स्वागत गरे । यसले ओलीलाई झनै अत्यास लाग्ने अवस्थामा पुर्यायो । उनले आत्तिएकै भाषामा भने– सरकारले के नै पो नयाँ काम गर्यो र ? यो त मैले नै देखेको सपना न हो । यति मात्रै होइन, गत हप्ता अध्यक्ष ओलीले नेपालको मिडिया प्रचण्डसँग मिलेको समेत आरोप लगाए । यो सरकारको काम र लोकप्रियताबाट उनी आत्तिएको प्रत्यक्ष प्रमाण थियो । मिडियामा सरकारका कामहरु विगतमा आलोचनात्मकरुपमा देखिएपनि राजस्व संकलनदेखि विकास निर्माण, विदेशका नेपालीका लागि राहतदेखि बिजुली, यातायातलगायतका क्षेत्रमा सरकारले चालेका र गरेका कामहरुले मिडियामा प्रशंसा पाएपछि ओली चिढिएको यसबाट देखिन्थ्यो । एमालेको यो अस्त्र उसका लागि गम्भीररुपमा प्रत्युत्पादक हुने पनि निश्चित नै छ । किनभने एमालेले आफ्नो इगोका कारण आन्दोलनका उपलब्धिहरुको बिरोध गरेर आफ्नो एजेण्डाहरु समाप्त गर्न खोजिरहेको छ । यी कतिपय घटनाबाट ओली र एमालेको नेतृत्व सरकारको लोकप्रियताबाट आत्तिएको देखिन्छ । यसका लागि उनीहरुका सामु जनताको मतलाई ‘भ्रम छरेर भएपनि क्यास गर्नुपर्ने’ बाध्यात्मक अवस्था सिर्जना गरिदियो । लोकप्रियताविरुद्ध भ्रमको अस्त्र सरकारले सदनमा संशोधन प्रस्ताव लैजानु अघि नै मैले लेखेको थिएँ– सरकारको लोकप्रियता देखेर अब एमालेले सरकारलाई अप्ठ्यारोमा पार्ने, देशका कतिपय स्थानमा साम्प्रदायिक आन्दोलनलाई बढावा दिने सम्भावना बढेको छ । यो कुरा स्पष्टरुपमा अहिले आएर देखियो । एमालेले ५ नं. प्रदेशका जनताको मनोभावलाई क्यास गर्न खोज्यो । बुझ पचाएर पनि संघीयताका विरुद्धमा र अझ धर्म निरपेक्षताका विरुद्धमा उनीहरुको अभिव्यक्ति आए । सदनमा गतिरोध कायमै रह्यो र यसलाई अन्तिम अस्त्रका रुपमा अहिले पनि एमालेले उपयोग गरि नै रहेको छ । तर एमालेको यो अस्त्र उसका लागि गम्भीररुपमा प्रत्युत्पादक हुने पनि निश्चित नै छ । किनभने एमालेले आफ्नो इगोका कारण आन्दोलनका उपलब्धिहरुको बिरोध गरेर आफ्नो एजेण्डाहरु समाप्त गर्न खोजिरहेको छ । तथाकथित राष्ट्रवादको जति कुरा गरेपनि एमालेले सरकारको बिरोधको नाममा संघीयता र धर्म निरपेक्षतामा नै हथौडा चलाउन थालेपछि एमाले समर्थक र बुद्धिजीविहरुबाट समेत यसको चर्को बिरोध शुरु भएको छ । यो पछिल्लो रणनीतिले एउटा तप्कामा उसले भ्रम छरेर जनमतलाई आफू अनुकुल पार्न तत्कालका लागि सफल भएपनि यसको परिणती भने संविधान कार्यान्वयन असफल हुने र प्रतिक्रियावादी तथा पुनरोत्थानवादीहरुको उदय हुनु नै हो । यो अवस्था पक्कै पनि एमालेका लागि सुखद हुने छैन । राजनीतिलाई एजेण्डा र इमानका आधारमा चलाउने हो भने एमालेले आत्तिनुको कुनै अर्थ छैन । हिम्मतका साथ सदनको सामना गर्नसक्नुपर्छ एमालेले । संविधान संशोधन प्रस्ताव मन नपरे सदनबाटै त्यसलाई असफल पार्ने साहस राख्नुपर्छ । संसद भनेको जनताले नै चुनेका प्रतिनिधिहरु बस्ने थलो हो । हिजो संविधान जारी गर्दा “जनताले चुनेका प्रतिनिधिहरुले बनाएको संविधानको पनि बिरोध गर्ने ?” भनेर कुर्लिने अध्यक्ष ओलीले अहिले त्यही जनताका प्रतिनिधिहरुको थलोको सामना गर्न नसक्नु उनको कायरता मात्रै हो । यसबाट संविधान कार्यान्वयन त हुन सक्दैन साथै दीर्घकालमा एमालेलाई नै गम्भीर क्षति पुग्ने निश्चित छ ।
कमल थापाले पनि मागे चुनाव
काठमाडौँ, पुस १२ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले स्थानीय निकायको निर्वाचनका लागि दलहरुको सहमतिमा मिति तोक्नुपर्नेमा जोड दिएका छन् । पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनले आज आयोजना गरेको महिला भेलामा उनले निर्धारित समय अवधिमा तीन तहको निर्वाचन गरी संविधान कार्यान्वयनतर्फ सरकार लाग्नुपर्ने बताए । अध्यक्ष थापाले महिलाको प्रतिनिधित्व बढाउन उनीहरुको सहभागितालाई संविधानले सुनिश्चित गरेको बताउँदै संवैधानिक व्यवस्था अनुसार आफ्नो पार्टीले महिला वर्गलाई अगाडि बढाउने विषयलाई प्राथमिकतामा राखेको बताए । स्थानीय निकायको अभावमा जनताका काम छिटो छरितो हुन नसकेकोले चुनाव हुनुपर्ने उनको भनाइ थियो । पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणाले मुलुकमा विखण्डनको आवाज उठिरहेका बेला राष्ट्रवादी शक्ति एकजुट हुनुपर्ने बताउँदै देशमा विद्यमान समस्या समाधानका लागि राप्रपाले प्रभावकारी भूमिका खेल्ने बताए । निर्वाचनका लागि आवश्यक ऐन निर्माणका लागि सरकार लाग्नुपर्नेमा राणाले जोड दिए । पार्टी सङ्गठन प्रमुख कुन्ती शाहीले मुलुकको विकासका लागि महिला वर्गको उल्लेख्य भूमिका रहने बताउँदै अब मुलुकमा हुने स्थानीय निर्वाचनमा उनीहरुको प्रतिनिधित्व वृद्धि गर्नुपर्ने बताइन । रासस
आँखा अस्पतालले तीस हजार बिरामीलाई सेवा दिँदै
झापा, पुस ९ । हुलका हुल नेपाली बिरामी भएपछि उपचारका लागि दिनहुँ काँकरभिट्टा हुँदै भारतका विभिन्न अस्पताल धाइरहेका बेला सन्तोष तामाङ भने पाँच वर्षीय छोरा प्रशान्तलाई बोक्दै बिर्तामोडस्थित मेची आँखा अस्पताल पसे । भारत आसामको तीनचुके जिल्लाका सन्तोष आँखाका बिरामी छोरालाई उपचारका लागि यहाँ आएको छ। भारतका विभिन्न अस्पतालमा रोग निको नभएपछि उनी १३ हजार भारतीय रुपैयाँ भाडा तिरेर मेची आँखा अस्पताल आइपुगेको छ । ‘दुई वर्षदेखि छोराको उपचार गराउँदै आएको छु,’ उनले भने– ‘भारतमा निको नभएपछि उपचार गराउन यहाँ आएको हुँ ।’ यस क्रममा उनले छोराको उपचारका लागि रु तीन लाख खर्च गरिसकेको छ । यस्तै भारत सिक्किमका सुनिता भण्डारी गुरुङ ८ वर्षीय छोरा विजयका साथ अस्पतालमा भेटिए । उनी तीन वर्षदेखि लगातार छोराको उपचार गराउन नेपाल धाउँदै आएको छ । ‘अढाइ वर्षको हुँदादेखि नै आँखाको समस्या छ, भारतीय अस्पतालमा जति उपचार गरेपनि रोगको पत्तो लागेन,’ उनले भजे– ‘यहाँ ल्याएपछि एकैदिनमा रोग पत्ता लाग्यो ।’ छोराको रोग निको हुँदै गएको गुरुङको भनाइ छ । छोरालाई नियमित चेकजाँच गराउन आउने गरेको उनले बताए । विर्तामोडस्थित सैनिक मोडमा रहेको मेची आँखा अस्पतालमा उपचार गराउन आउने बिरामीमध्ये ५० प्रतिशतभन्दा बढी भारतीय नागरिक हुन्छन् । अन्य रोगको उपचारका लागि दिनहुँ सयौं नेपाली भारतका विभिन्न अस्पताल जाने गरेपनि आँखाको उपचार गर्न भने सोही सङ्ख्यामा भारतीय झापा आउने गरेका छन् । पहिला पहिला रोगले थलिएर बस्ने नेपाली अहिले आँखामा सामान्य समस्या देखिँदा समेत अस्पताल धाउने गरेका छन् । घरआँगनमै उपचार सहज भएपछि उनीहरु रोग लाग्ने वित्तिक्कै अस्पताल दौडिने गरेका हुन् । ‘आँखामा कचेरा आएपछि नजिकैको अस्पतालमा जचाउन आइहाले,’ १ वर्षीय छोरा सम्भवलाई काखी च्यापेर आउनुभएका धुलाबारीका सिर्जना कडरियाले भने– ‘कचेरा झिक्न नियमित अस्पताल आउने गरेकी छु ।’ ‘दैनिक एक हजारदेखि एक हजार तीन सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन्’ अस्पतालका नेत्ररोग विशेषज्ञ डा.पवन महतले भनेण्– ‘उपचार गर्न आउनेमा नेपाली र भारतीय बराबरीको सङ्ख्यामा छन् ।’ सन् १९९६ मा लायन्स क्लब अफ विर्तामोडले नेदरल्यान्डमा रहेको ‘आईकेयर’ फाउन्डेसनको सहयोगमा यहाँ १५ दिनको आँखा शिविर सञ्चालन गरेको थियो । उक्त शिविरमा पाँच हजार ७३८ जनाले सेवा पाए । शिविरमै यति धेरै बिरामीको चाप देखेपछि नेदरल्यान्डको आईकेयर फाउन्डेसनले अस्पतालका रुपमा सेवा दिन मद्दत गर्ने बताएपछि सोही वर्ष विर्तामोडमा आँखा अस्पताल सञ्चालन भएको लायन्सक्लब अफ विर्तामोडका संस्थापक अध्यक्ष तथा अस्पतालका पूर्वअध्यक्ष भरतलाल गिरीले बताए । स्थापनाको दुई दशकमा २० लाख ७० हजारभन्दा बढी बिरामीले आँखाको उपचार पाइसकेका छन् । सुरुवातमा एकजना चिकित्सकबाट सेवा प्रारम्भ गरेको सो अस्पतालमा हाल १३ चिकित्सकसहित एक सय २० जना कर्मचारी रहेका छन् । अस्पतालले शनिबार समेत सेवा प्रदान गर्दैआएको छ । तीन बिगाहा १६ कठ्ठा ६ धुरमा फैलिएको सो अस्पताल रु २५ करोडको लागतमा स्थापना भएको अस्पतालका प्रशासन प्रमुख सुरज रौनियारले जानकारी दिए । अहिले अस्पतालसँग पाँचवटा अत्याधुनिक भवन रहेका छन् । ती भवनको उद्घाटन तत्कालीन राष्ट्रपति डा रामवरण यादवले सन् २००९ मा गरेको छ । अस्पतालले बिहानदेखि राति ८ बजेसम्म सेवा प्रदान गर्दै आएको छ । ‘बालबालिकाका लागि छुट्टै सेवा प्रदान गर्दै आएका छौँ,’ नेत्ररोग विशेषज्ञ डा महतले भने । ‘शल्यक्रिया गरेबापत बिरामीबाट रु दुई हजारदेखि रु ३२ हजारसम्म सेवा शुल्क लिने गरेको छ । ‘न्यून शुल्कमा गुणस्तरीय उपचार पाउनथालेपछि भारतीय बिरामीको चाप बढ्दै गएको छ,’ उनले भने । अस्पतालले मेची अञ्चलका विभिन्न जिल्लामा समेत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । दुई सय ५० श्ययाको अस्पताल सञ्चालन गर्न विभिन्न उपकरणको अभाव रहेको अस्पतालका प्रशासन प्रमुखले बताए । ‘एउटै मेसिन किन्न रु ५० लाखदेखि रु ६० लाखसम्म खर्च लाग्छ,’ उनले भने– ‘यति धेरै महँङ्गा उपकरण किन्न अस्पताल आफैलेसक्ने अवस्था छैन, सरकारले सहयोग गरे हामी थप सेवा प्रदान गर्न तयार छौँ ।’ सो अस्पतालसहित हाल जिल्लामा हाल मेची नेत्रालय, काँकरभिट्टा आँखा अस्पताल र दृष्टि आँखा अस्पतालबाट आँखाका बिरामीले सेवा उपभोग गर्दै आएका छन् ।
चीनमा सडक दुर्घटनामा ५८ हजारको मृत्यु
सिन्हवा, बेइजिङ । चीनमा २०१५ मा मात्रै सवारी दुर्घटनाका कारण ५८ हजार जनाको सडकमै मृत्यु भएको अधिकारीले जनाएका छन् । चीनको संसद्को वेबसाइटमार्फत् बुधबार सार्वजनिक गरिएको प्रतिवेदनअनुसार यसअघि सन् २०१४ मा १ लाख ७ हजारको सडक दुर्घटनामा मृत्यु भएको थियो । ट्राफिक नियम उल्लंघन गर्ने प्रवृत्तिका कारण चीनमा ठूला दुर्घटना गम्भीर समस्याका रूपमा छन् । बसको लामो दूरीको यात्राका कारण हुने दुर्घटनाले चीनमा बेलाबेलामा तनाव दिने गरेको छ । आकस्मिक रूपमा हुने व्यक्तिगत दुर्घटनाका कारण पनि नियमित रूपमा धेरैको मृत्यु भइरहेको हुन्छ । सवारी दुर्घटनामध्ये झन्डै ९० प्रतिशत दुर्घटनाको कारण ट्राफिक नियमको उल्लंघन हुने गरेको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी, अत्यधिक भार भएका ट्रक, कमजोर सडक संरचना र ग्रामीण क्षेत्रमा हुने असुरक्षित यात्रा पनि सवारी दुर्घटनाका अन्य प्रमुख कारण रहेको प्रतिवेदनमा जनाइएको छ । विश्व स्वास्थ्य संगठनले भने चीनको यो रिपोर्ट वास्तविकताभन्दा थोरै भएको दावी गरेको छ ।
जाने हाेइन त चित्लाङ्ग ?
स्थलगत/ रूद्रप्रसाद भट्टराई तस्वीर : लेखक काठमाडौँमा ‘रिफ्रेस’ हुनको लागि स्थानहरु धेरै छैनन्, केही ठाउँ छन् । तर, सधैँ जान मन लाग्दैन । तर घुम्ने र ‘मुड फ्रेसु’ बनाउन चाहनेहरुले मकवानपुर गए पुग्छ । सुन्दर नगर मकवानपूरको ग्रामीण क्षेत्र ‘चित्लाङ्ग’ आज लोकप्रिय स्थान बनेको छ। काठमाडौं उपत्यकाबाट नजिकै रहेको चित्लाङमा पुगेर फर्किन समस्या छैन । त्यहाँका सुन्दर दृश्यले मन लोभ्याउँछ । अनि लामो समयदेखिको कामको थकान मेटाउँछ । काठमाडौँ कलकीबाट करिब २० किलोमिटर, थानकोटबाट गाडीमा १ घण्टा र पदयात्राबाट २ घण्टाको हिँडाइमा पुगिन्छ, चित्लाङ्ग । सवारीसाधन बोकेर ल्याएको बाटोको इतिहास मात्र होइन ग्रामीण जीवनशैली, धार्मिक स्थल, जलासयको क्षेत्र कुलेखानी र हेटौँडाको वैकल्पिक मार्ग लगायतका स्थानहरूको सेतु बनेकोमा पछिल्लो समय पर्यटकीय गन्तव्य को रुपमा परिचित छ, चित्लाङ्ग । थप आकर्षण थपेको छ अर्ग्यानिक भिलेज रिसोर्टले । चित्लाङ्ग टाईगर, अर्थात “चित्लाङ्ग पर्यटनका पिता” स्थानीय देबेन्द्र नेपाल, सन् २०१० बाट सामुदायिक विद्यालयको जग्गा १५ वर्षलाई भाडामा लिई सक्रिय बनेका छन् “अग्र्यानीक भिलेज रिसोर्ट प्रा। लि।” बाट । डाँडामा रहेको रिसोर्टबाट पर्यटक र पर्यटनसँग सम्बन्धित सम्पूर्ण स्वादलाई जस्ताको तस्तै उतारेका छन् नेपालले । सुरुमा सानो लगानीबाट स्थापित रिसोर्टले छोटो समयमा नै पुग्नैपर्ने गन्तब्यको रुपमा ख्याती कमाउन सफल भएको छ । अहिलेसम्म आइपुग्दा १ जनाको सहयात्रामा सुरु गरिएको यो व्यवसायले प्रत्यक्ष रुपमा २० जना र अप्रत्यक्ष रुपमा गाउँमा सयौँलाई आँशिक रोजगारी दिन सफल भएकोमा उनी हर्षित छन् । आफू पर्यटक र पर्यटनका अब्बल अध्यापक, विद्यार्थीलाई घुमाउने क्रममा आफ्नै ठाउँमा केहि गरौँ भन्ने हेतुले चित्लाङ्गमा पर्यटनको सँभावना रोजे । विषयले उनलाई विदेशका राम्रा विश्वविद्यालयहरूले विभिन्न अवसर प्रदान गरेपनि गाउँ छाड्न मानेनन् । विद्यार्थी अवस्थामै पर्यटन अवधारणाको विकास गरेका नेपालले नेशनल टुरिजम एण्ड हस्पिटालिटी मेनेजमेन्ट ९नाथम० को ४२ जना विद्यार्थीबाट व्यवसायिक पर्यटनको सुरुवात गरेका उनले घाटामा सत्कार गरेका थिए । तर, पछि हटेनन् । त्यसपश्चात झन् बृहत्तर तरिकाले सुरु पनि गरिहाले थप कार्यक्रमहरू । विद्यार्थीबाट सुरु भएको गतिविधि त्यहिमै सीमित रहेन, अहिले सम्पूर्ण प्रकारका पर्यटकहरू घुमफिर, बसाई र अन्य आकर्षक मोज लुट्न चित्लाङ्ग पुग्ने गरेका छन् । अहिले आएर महिनाको लगभग् ७०० देखि १००० जति आन्तरिक पर्यटकहरू आउने गरेका छन् । पानीको सहज उपलब्धता नभएपनि रिसोर्टको आतिथ्यता बाहेक ७ धारा, श्री ३ र ५ को पौराणिक दरबार, माझगाउँ, चन्द्रागिरीको द्वार, सामुदायिक होमस्टे, अशोक चैत्य, स्वचन्द्र भैरव मन्दिर, भेडा फार्म, बाख्रा फार्म, सामुदायिक वन, गाउँले जीवनशैली र चमेरे सँगै राकश गुफाहरूको आकर्षण छ, चित्लाङ्गमा । थप योजनामा यसको अलावा डाँडाको पारीपट्टी डिलक्स सत्कार र बसाइको योजना लगभग् सुरु भएको छ । सबै प्रकारका पर्यटकलाई यो स्थानमा अटाउन अलि असहज महशुसका साथ वृद्ध र बच्चाको साथै अब्बल पर्यटकको लागि थप प्याकेजहरू स्थापित गर्ने योजनामा नेपाल लागिपरेका छन् । पर्यटन उद्योग विश्वमा अत्यधिक रुपमा बढीरहेको बेला त्यहि मन्त्रलाई शिरोधार गरी नेपाल अगाडि बढिरहेका छन् । कर्म गर्न नडराउने नेपाल सबै काममा आफैँ पुग्छन् र गर्छन् । नयाँ वर्ष, चाडपर्व र अन्य कार्यक्रमहरूमा खुट्टा राख्ने ठाउँ पाउन मुस्किल पर्छ उनको रिसोर्टमा । गाउँ र वरपरका आकर्षण घुमाउनका लागि छुट्टै पथप्रदर्शकहरूका व्यवस्था छ । सहरबाट त्यस स्थानसम्मको लागि टाटाका मिनि बसहरू केहिसमयको दौरानमै उपलब्ध हुन्छ । थोरै समस्या बाटोको छ । कच्ची सडक त्यहिँ माथिको धुलो जसले बिरामी बनाउने सम्भावना भने रहेको छ । रातो किताबमा बाटो बन्ने योजना परेको छ तर सुरुवात भएको छैन । नजिकै गुराँस फुल्ने भएकोले बाघको पनि जम्काभेट हुँदो रहेछ । जस्तो भएपनि दिउसो जति नै गर्मी भएपनि साँझमा सिरक ओड्नैपर्ने ठाउँ, जसले धुलो र थकानलाई सहज निद्मा रुपान्तरण गरिदिन्छ । नेपालले चित्लाङ्गमा पर्यटन सुरु गर्दा चुनौतिहरू धेरै थिए । तर, यूवा जोशजाँगरलाई बल सम्झेर सुरु गरेको यो पर्यटन व्यवसाय बीचमा खस्केपनि अहिले सुधार भएको बताउँछन् । “अहिलेको जस्तो परिस्थिति त्यसबेला हुनेथियो भने व्यवसायप्रतिको आकर्षण घट्न सक्थ्यो” उनले बताए । समय फेरिएको छ, तर सबैको चेतनामा त्यतिठुलो परिवर्तन देखेका छैनन देबेन्द्रले । यदि सामाजिक चेतनामा अभिवृद्धि, पूर्वाधार विकास, सम्बन्धित पेशाप्रतिको सोचमा परिवर्तन ल्याउन सकियो भने चित्लाङ्गको पर्यटन दोब्बर बढ्ने ठोकूवा गर्छन् । उनी भन्छन् ‘तर, गाउँमा यो सब कुराको अभाव छ, अहिले खाऊँ र जलि मरौँ जस्तै सबैकुरा छिट्टै प्राप्ति होस् भन्ने महत्वकांक्षा बढ्दो छ’ । समन्वय भन्दा खुट्टा तान्ने प्रवृति मौलाउँदो छ । राजनीतिलेपनि गाउँको पर्यटनमा हाबी जमाएको छ । आर्थिक विकासको सारथी यो व्यवसायलाई अझ अगाडि बढाउने योजना भएरपनि नेपाल तत्कालै दौडनसक्ने अवस्थामा भने देखिँदैनन् । तर, नभई नहुने पक्षहरूमा भने उनी बढी केन्द्रित भएर लागिपरेका छन् । चित्लाङ्गले यो ७ वर्षमा धेरैकुरा पाएको छ । खाली रहेको जमीनको बहुउपयोग गरेर खोलिएको अ¥ग्यानिक रिसोर्टबाट विभिन्न प्रकारका पर्यटकहरूलाई खुसी पारेको छ । यसले चित्लाङ्गलाई स्थापित मात्र गराएको छैन, प्रशिद्धिपनि कमाएकोे छ । आज अ¥ग्यानीक रिसोर्टसँगै चित्लाङ्गको मौलिकता चुम्न कुना कुनामा सन्देश पुगेको छ । सोचमा सबैकुरा जैविकसँग सम्बन्धित बनाउन लागिपरेपनि पूर्णता प्राप्त भने गर्न नसकेको दुःखेसो पोख्छन् देबेन्द्र नेपाल । यसका साथै व्यक्तिगत रुपमा सबै ठाउँको मायाँ र स्नेह पाएको बताउने देबेन्द्रले सम्बन्ध विस्तारमा भएको प्रगति देखेर आफैँ छक्क पर्छन् । उनले आन्तरिक पर्यटकको मायाँले विदेशी पर्यटक आगमनमा पनि वृद्धि भएको बताउँछन् । अहिले गरिरहेको शैलीलाई थप विस्तार गर्दै भावीदिनमा सेवा र सुविधालाई अझ व्यापक बनाएर लैजाने सोच चित्लाङ्ग टाइगरको छ । यसकारण जो कोहि एकपटक चित्लाङ्ग पुग्छ उसको जालो रोकिन्न, बस चलिरहन्छ र भन्ने गर्छन् ‘पुगौँ है चित्लाङ्ग’ ।
पुटिन र ट्रम्पबिच छिट्टै भेटवार्ता हुने
मस्को (रसिया), मङ्सिर २९। रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आफू अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पसँग कुनै समयमा भेट्ने तयारीमा रहेको बताएका छन् । सञ्चारकर्मीद्वारा रसियाली राष्ट्रपति पुटिनलाई ट्रम्पसँग भेट्नसक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा पुटिनले हामी कुनै समयमा भेट्न तयार छौँ । हाम्रोतर्फंबाट कुनै समस्या छैन, भनेको कुरा क्रेमलिनद्वारा मङ्गलबार सार्वजनिक गरिएको अन्तरवार्ताको प्रतिलिपिमा जनाइएको छ । अन्तरवार्तामा पुटिनले भनेका छन्, “यो सबैमा जगजाहेर छ कि अमेरिकी राष्ट्रपतिमा निर्वाचित नेता ट्रम्पले सार्वजनिक रुपमा रसिया र अमेरिकाबीचको सम्बन्ध समान्यीकरण गर्ने कुरा बोलेका छन् । हामी यो गर्न त सक्दैनौँ तर यसको समर्थन गर्छौँ ।” “हामीलाई थाहा छ अमेरिका र रसियाको सम्बन्ध कुन हदसम्म बिग्रीएको छ र यसलाई सामान्यीकरण गर्ने कुरा सामान्य काम हुने छैन । तर हामी हाम्रो तर्फबाट केही गर्न तयार छौँ, पुटिनले भने । उनले २०१७ को जनवरी अर्थात् ट्रम्पको सत्तारोहणपछि दुई नेताबीच भेट हुने सम्भावना व्यक्त गरे। रासस
जाडोले जनजीवन प्रभावित
धनगढी, मंसिर २४ । पछिल्लो केही यता मध्यपश्चिममा बढेको हुस्सु र कुहिरोसंगै चलेको शीतलहरकार र कठ्याङ्ग्रिने जाडोले त्यहाँको जनजीवन प्रभावित बनेको छ । कैलालीलगायतका जिल्लाहरुमा दिनहुँ घाम नदेखिने गरी लाग्ने हुस्सु र शीतलहरका कारण बढेको जाडोले वृद्धवृद्धा, विद्यालयका छात्रछात्रा र मुक्तकमैया प्रभावित बनेका हुन् । जाडो बढेकाले न्यानोका लागि आगो ताप्न दाउरा अभावको समस्या सर्वसाधारणले झेलिरहेका छन् । शीतलहर अझै केही दिन यथावत् रहेमा गोलभेँडा, आलु तोरी लगायतको हिँउदे बालीमा डढुवा रोगको सङ्क्रमण देखिने कृषि प्राविधिकले बताएका छन् । विगत चार दिन अघिसम्म न्यूनतम तापक्रम १५ डिग्री सेल्सियस आसपास रहेकामा न्यूनतम् तापक्रम बढ्दै जाँदा हिजोआज ८ डिग्री सेल्सियसको आसपास पुगेको अत्तरियास्थित जल तथा मौसम विज्ञान कार्यालय प्रमुख राममणि मिश्रले बताए । निरन्तर लाग्ने हुस्सुका कारण आकासबाट देखिने अवस्था कम भएकाले हवाई उडान समेत प्रभावित हुने गरेको विमानस्थल कार्यालयका प्रमुख छविसिं ठकुल्लाले जानकारी दिए ।
चितवनमा ट्रक र माइक्रोबस जुध्दा चालकको मृत्यु
चितवन, मङ्सिर २१ । भरतपु उपमहानगरपालिका–३ रेडक्रस चोकमा गएराति ट्रक र माइक्रोबस एकापसमा जुध्दा माइक्रोबस चालकको घटनास्थलमानै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ३ ख ८६३१ नम्बरको माइक्रोबस र विपरीत दिशातर्फ जाँदै गरेको ना ६ ख ७०१२ नम्बरको ट्रक एकापसमा जुध्दा माइक्रोबसका चालक पाल्पा जिल्लाको हुगीका २५ वर्षीय प्रदीप परियारको घटनास्थलमानै मृत्यु भएको हो । राति १२ः४५ बजे भएको सो दुर्घटनामा माइक्रोबस र ट्रकमा रहेका अन्य यात्रु भने सकुशल रहेका छन् । रासस
एड्स दिवसमा र्याली
डिसेम्बर १ अर्थात विश्व एड्स दिवस आज नेपालमा पनि बिभिन्न चेतनामुलक कार्यक्रम गरी मनाईदैछ । २९औं विश्व एड्स दिवसको अवसरमा बागलुङमा पनि सचेतना ¥याली निकालियो । तस्बिर : रामबहादुर थापा, बागलुङ
विधेयक पारित हुन तीन साता लाग्ने
काठमाडौँ,मंसिर १६ । संविधान संशोधन विधेयक संसद्मा दर्ता भएसँगै राजनीतिक ध्रुवीकरण थप बढेको छ । राजनीतिक वृत्तमा मात्र हैन, प्रदेशको सिमाना हेरफेर भएपछि सर्वसाधारणसमेत सडकमा आएका छन् । राजनीतिक ध्रुवीकरणबीच प्रस्ताव आएपछि संशोधन प्रक्रिया कसरी अगाडि बढ्छ भन्नेमा प्रश्न उठेको छ । राजनीतिक सहमति भई तत्काल विधेयक पारित गर्न आवश्यक रहेको अवस्थामा भने ढिलोमा पनि तीन सातामा विधेयक पारित हुनसक्ने अवस्था रहन्छ । कानुनमन्त्री अजयशङ्कर नायकले सहमतिमै छिटोभन्दा छिटो प्रस्ताव पारित हुने बताए । मन्त्री नायकले भने, ‘हिजो काँग्रेस एमालेको सहमतिमा ल्याइएको प्रस्तावलाई नै अहिले सरकारले ल्याएको हो, सबै पक्षको सहयोगमा पारित हुन्छ ।’ संविधानको धारा २७४ को व्यवस्था अनुसार दर्ता गरेको संशोधन प्रस्ताव परिपक्व हुन पाँच दिन लाग्छ । यस्तै सांसदहरूलाई अध्ययनका लागि समय दिने प्रचलन छ । बढीमा दुई दिनसम्म सांसदहरूलाई अध्ययनका लागि दिइनेछ । परिपक्वको समय पुगेपछि विधेयक संसद्मा पेस हुनेछ । संसद्मा पेस भएपछि विधेयक सर्वसाधारणको जानकारीका लागि प्रकाशित हुनेछ । संसद्मा पेस भएको बढीमा ३० दिनभित्र सर्वसाधारणको जानकारीका लागि प्रकाशित गर्नुपर्नेछ । सर्वसाधारणलाई जानकारी दिनुपर्ने संवैधानिक व्यवस्था अनुसार विधेयक सार्वजनिक रूपमा प्रकाशित गर्नुपर्नेछ । आजको गोरखापत्र दैनिकमा खबर छ ।