५९ औँ विद्यार्थी दिवस : प्रचण्ड, माधव र विप्लव सहितका नेताले एउटै मञ्चबाट सम्वोधन गर्ने

काठमाडौं । ५९ औँ विद्यार्थी दिवसको अवसरमा पाँच विद्यार्थी संगठनले काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गर्ने भएका छन् ।

नेकपा माओवादी निकट अखिल क्रान्तिकारी, नेकपा एस निकट अनेरास्ववियु, राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौ, नेसपा निकट समाजवादी विद्यार्थी युनियन र नेकपा निकट अखिल क्रान्तिकारीले संयुक्त रुपमा कार्यक्रमको आयोजना गर्ने भएका हुन् ।

विद्यार्थी संगठनले सोमवार राष्ट्रिय नाचघरमा  विद्यार्थी दिवस र अबको बाटो “ विषयक कार्यक्रम आयोजना गर्न लागेको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए।

पराजुलीका अनुसार कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई ,राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव सहभागी हुनेछन् ।

विद्यार्थीहरुमा एकताको सन्देश दिन आफुहरुले संयुक्त कार्यक्रम गर्न लागेका छौँ पराजुलीले भने, पार्टी सडक र सत्तामा जहा भएपनी हामी सँगै छौ र सँगै हुनेछौ।

नेप्सेमा १४.६८ अंकको गिरावट, कारोबार रकम कति ?

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १४.६८ अंकले घटेको छ । आइतबार बजार परिसूचक नेप्से शून्य दशमलव ६७ प्रतिशतले गिरावट हुँदा २१६८.५३ बिन्दुमा बन्द भएको छ । २६७ धितोपत्रको ५१ हजार ९७३ वटा कारोबारबाट ८२ लाख ७६ हजार ७५१ कित्ता सेयर किनबेच भएको छ । यसबाट ३ अर्ब १ करोड ७० लाख ६३ हजार ९५६ रुपैयाँको कारोबार भएको छ । आइतबार होटल र पर्यटन, जीवन बीमा उपसूचक हरियो देखिए भने अन्य सबै उपसूचक राताम्य देखिए । घटेको बजारमा पनि दुई वटा कम्पनीमा सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स र बलेफी हाइड्रोपावरको मूल्य धेरैले बढेको हो । धेरै घट्नेमा समृद्धि फाइनान्स र सिभिल लघुवित्त वित्तीय संस्था रहे ।

वाम एकताको विकल्प छैन, नेकपा एस छिट्टै सरकारमा समेटिन्छ : देव गुरुङ

रुपन्देही । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने प्रक्रियामा लाग्नुको विकल्प नभएको बताएका छन् । शुक्रबार रुपन्देहीको भैरहवामा पत्रकारहरूसँग कुराकानी गर्दै उनले दीर्घकालीनरूपमा वामपन्थी एक नभए प्राप्त उपलब्धि गुम्दै जाने बताए । सदनभित्र र बाहिर रहेका कम्युनिष्ट घटकहरूबीच सहमति, संवाद गरी एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लाग्नुपर्नेमा गुरुङको जोड थियो । ‘सबै कम्युनिष्ट घटकहरूबीच सहमति र सहकार्य हुनुपर्छ, नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेका छौं ’, उनले भने । मुलुकको स्वाधीनताको रक्षा विगतका नेतृत्वबाट सम्भव नदेखिएकाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकार गठन प्रक्रिया अगाडि बढाइएको उनको दाबी छ । पूर्वमन्त्रीसमेत रहेका गुरुङले विगतको नेतृत्वबाट संविधान, लोकतन्त्रको रक्षा र संसद्को पुनस्स्थापनामा सफल भए पनि राष्ट्रिय स्वाधीनतामाथि खतरा पर्दा र बाह्य शक्तिले चलखेल गर्दा नेतृत्वले ध्यान पुर्‍याउन नसकेको बताए । उनले भने, ‘विभिन्न ढंगले मुलुक संकटमा जानसक्ने अवस्था भएकाले नेतृत्व परिवर्तन गर्नुपर्छ भन्दा पाँच दलबीच सहमति जुट्न सकेन, मुलुकलाई सामान्य अवस्थामा लैजानुपर्ने आवश्यकता छ ।’ राष्ट्रियतासँग जोडिएका मुद्दामा सहमति जुटाउँदै अघि बढ्नुपर्ने नेता गुरुङको भनाइ थियो । ‘प्रचण्डले धेरैलाई प्रधानमन्त्री बनाउन भूमिका खेल्नुभयो, यो संकटपूर्ण अवस्थामा सरकारको नेतृत्व गर्ने कार्य महत्वपूर्ण छ’, उनले भने, ‘माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई समेट्न सकिएन, विस्तारै समेट्ने प्रक्रियामा छौं ।’ उनले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गृहमन्त्री बन्ने प्रस्ताव राखेपछि अहिलेको अवस्थामा उहाँको मागदाबीअनुसार जिम्मेवारी दिँदा उपयुक्त हुन्छ भन्ने हिसाबले नै अगाडि बढिएको बताए । ‘मन्त्रालयको जिम्मेवादी दिने कुरा प्रधानमन्त्रीले मात्र सोच्ने विषय होइन्, आपसी समझदारी खोज्ने प्रक्रियामा गृहमन्त्रीको जिम्मेवारी दिइएको हो, रवि लामिछानेलाई समेट्नु स्वाभाविक प्रक्रिया हो ’, महासचिव गुरुङले भने । निर्वाचनको प्रक्रियाबाट नयाँ घटक आएकाले राजनीतिक रूपमा कसैलाई निषेध गरी जान सक्ने स्थिति नभएको उनले प्रष्ट्याए ।

गठबन्धन सरकारले कालिगण्डकी वारितर्फ सालिग्राम करिडोर बनाउँदै छ : प्रकाश मल्ल

गल्याङ् । नेपाली कांग्रेसका नेता तथा स्याङ्जा क्षेत्र २(ख)का प्रदेशसभा सांसद प्रकाश मल्लले गण्डकी प्रदेशमा गठबन्धन सरकार बनिसकेपछि स्याङ्जा जिल्लाको तल्लो बेल्टको विकासले महत्व पाएको बताएका छन् । कालिगण्डकी करिडोर पाल्पा जिल्ला तर्फबाट बनिरहेको सन्र्दभमा कालिगण्डकी वारिको (तनहुँ र स्याङ्जा)तर्फको सडकलाई एमाले नेतृत्वको सरकारले वेवास्ता गरेको उनको भनाई थियो । उनले भने –‘एमाले नेतृत्वको सरकार ढलिसकेपछि हामीले गठबन्धनको सरकार बनायौं । त्यसपछि वारितर्फको सडकलाई सालिग्राम करिडोरको रुपमा विकास गर्न डिपिआर गरेर बजेट छुट्टयाएका छौं ।’ उनले गठबन्धनको साझा उम्मेदवारको रुपमा नेपाली कांग्रेसबाट क्षेत्र २ का उम्मेदवार रहेका धनराज गुरुङले सालिग्राम करिडोरलाई रणनितिक महत्वको सडकको रुपमा विकास गर्ने बताए । सालिग्राम करिडोर नवलपरासी , तनहुँ स्याङ्जाकाका कलिगण्डकी बेसीका जनताको भौतिक विकासको आधार बन्नेछ । एमाले नेता पद्मा अर्याललाई स्याङ्जाली जनताले मत दिएर सांसद मन्त्री बनाएको भएपनि स्याङ्जाको विकासमा ध्यान नदिएको मल्लले आरोप लगाए । स्याङ्जा जिल्लाका दुई ग्रामीण सडक गल्याङ चापकोट र वालिङदेखि पर्वत जाने सडकलाई पद्मा अर्यालले अलपत्र पारेको उनले बताए । एमालेले स्याङ्जाको विकासलाई पछाडी परेको भन्दै गठबन्धन सरकार आइसकेपछी सडकहरु पिच हुन थालेको उनको भनाई थियो । साथै, उनले उम्मेदवार कांग्रेसको भएपनि गठबन्धन दल माओवादी केन्द्र र नेकपा समाजवादीसँगको सल्लाहमै स्याङ्जाको विकास निर्माणमा अघि बढ्ने विश्वास व्यक्त गरे । उनले एकमत भएर गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न आग्रह समेत गरे ।

बालेन शाह, सुनिता डंगोलसहित मेयर–उपमेयर पदका २०८ उम्मेदवारले बुझाएनन चुनाव खर्च (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भएको चुनावी खर्चको विवरण नबुझाउने महानगरपालिकाका मेयर तथा उपमेयर पदका २०८ उम्मेदवारलाई जनही ७ लाख ५० हजारका दरले जरिवाना तोकेको छ । आयोगले सार्वजनिक गरेको खर्च विवरण नुबझाउनेको सूचीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोलसहित रहेका छन् । यस्तै वीरगन्ज महानगरपालिकाका मेयर राजेश मानसिंह, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, पोखराका मेयर धनराज आचार्यसमेत रहेका छन् । उनीहरुले निर्वाचन कानुनअनुसार ६ महिनाभित्र जरिवाना तिर्नुपर्नेछ । जरिवाना नतिरेको खण्डमा पद नै जाने कानुनी व्यवस्था रहेको छ ।

व्यापार सम्झौताका लागि अमेरिका र ताइवानबीच वार्ता

काठमाडौं । चीनको विरोधकाबीच पनि अमेरिका र ताइवानबीच व्यापार सम्झौता गर्नका लागि वार्ता सुरु भएको छ । त्यसका लागि अमेरिका र ताइवानबीच छलफल सुरु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । केही दिनअघि चीनले विरोध जनाउँदा जनाउँदै अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेकी थिइन् । र चीनले ताइवानी सीमा क्षेत्रमा सैन्य अभ्यास पनि गरेको थियो । पेलोसीको भ्रमणपछि चीन र अमेरिकाबीचको सम्बन्ध तनावपूर्ण बनेको थियो । त्यस लगत्तै अमेरिका र ताइवानबीच व्यापार सम्झौताका लागि वार्ता सुरु भएको हो । एक चीन नीतिलाई माने पनि अमेरिकाले चीनले आफ्नो एक हिस्सा मान्दै आएको ताइवानसँग छुट्टै सम्झौता गर्न लागेको हो । अमेरिकाका अनुसार प्रारम्भिक वार्तामा व्यापारमा सहुलियत, डिजिटल ट्रेड र भ्रष्टाचार नियन्त्रणबारे कुराकानी हुने छ । २१ औ शताब्दीको व्यापारका लागि भन्दै गत जुनमा अमेरिका ताइवान इनिसिएटिवको घोषणा भएको थियो । त्यो घोषणा कार्यान्वयनका लागि नै अहिले वार्ता सुरु भएको हो । अमेरिकी उपव्यापार प्रतिनिधि सारा बियान्चीले निष्पक्ष, समृद्ध तथा उदार अर्थव्यवस्थाका लागि आफूहरुले समयसीमामै रहेर काम गर्ने बताएकी छिन् । ताइवान र अमरिकाबीच यसअघि पनि व्यापार हुने गरेको थियो । सन् २०२० मा दुई देशबीच १०६ अर्ब डलरको व्यापार भएको थियो ।

प्रचण्ड भेट्न राजेश हमाल खुमलटारमा

काठमाडौ । नेपाली सिने जगतका महानायक भनेर चिनिएका राजेश हमालले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् । भेटका अवसरमा दुबैबीच समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएकाे भेटमा सहभागी संस्कृतिकर्मी चेतन सापकाेटाले जानकारि दिए ।

२४ वर्षीया गीता बनिन् शिवालयको उपाध्यक्ष

जाजरकोट । जाजरकोट जिल्लाको शिवालय गाउँपालिकाको उपाध्यक्षमा २४ वर्षीया गीता शाही निर्वाचित भएकी छन् । माओवादी केन्द्रबाट उम्मेदवार बनेकी शाहीले नेकपा एमालेकी नैनसरा शाहीलाई २४० मतान्तरले पराजित गर्दै विजयी भएकी हुन् ।शाहीले २६५९ मत ल्याउँदा एमालेकी नैनसरा शाहीले २४२९ मत ल्याईन् । विद्यार्थी राजनीतिमा सक्रिय शाही अखिल क्रान्तिकारी कर्णाली प्रदेश कमिटी सदस्य हुन् । पढाइसँगै राजनीतिमा सक्रिय उपाध्यक्षमा निर्वाचित शाही शिवालय गाउँपालिका–६ थालाकी स्थायी बासिन्दा हुन् । २०५४ साल कात्तिक ३० गते जन्मिएकी गीता जिल्ला समन्वय परिषद् सदस्य विनोदकुमार शाहीकी छोरी हुन् । सानै उमेरदेखि राजनीतिमा सक्रिय रहेकी शाही ईन्द्रज्योति माध्यामिक विद्यालय थालारैकरमा अखिल क्रान्तिकारीको इकाइ अध्यक्ष भएर राजनीतिक यात्रा सुरु गरिन् । अखिल क्रान्तिकारी, जाजरकोट जिल्ला कमिटी सदस्य हुँदै हाल कर्णाली प्रदेश कमिटी सदस्यको जिम्मेवारी समालेकी शाहीले कक्षा १ देखि कक्षा १० सम्मको पढा इन्द्रज्योति माध्यामिक विद्यालय शिवालय६ थालारैकरबाट पूरा गरेकी हुन् । कक्षा ११–१२ को पढाइ वीरेन्द्र सामुदायिक माध्यामिक विद्यालय जुङ्गाथापाचौरबाट पूरा गरेकी शाहीले महेन्द्र बहुमुखी क्याम्पसबाट अर्थ र राजनीति शास्त्रमा स्नातक गरेकी छन् । शाहीका हजुर बुवा बिद्रोहीले २०५४ असारदेखि माओवादी जनयुद्धमा सहभागी भएका थिए भने उनका बुवा विनोद कुमार शाही सशस्त्र प्रहरी बलको जागिर छोडेर माओवादी पार्टीको राजनीतिकमा सक्रिय भएका थिए ।

चर्चित साहित्यकार तारानाथ शर्माको निधन

काठमाडौं । नेपाली साहित्यमा आत्मपरक निबन्धका लागि लोकप्रिय लेखक तथा साहित्यकार डा. तारानाथ शर्माको निधन भएको छ । शर्माको ८७ वर्षको उमेरमा आज मंगलबार बिहान निधन भएको हो । उनले लेखेको “घनघस्याको उकालो काटदा” भन्ने निबन्ध निकै चर्चित छ । झर्रोवादी लेखनका रुपमा समेत उनको विशिष्ट पहिचान कायम छ । इलामको बरबोटेमा जन्मेर संस्कृत शिक्षाबाट पठन सुरु गरेका शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा बल्लभमणि दाहाल, बालकृष्ण पोखरेललगायतका साथीभाइसँग मिलेर सुरु गरेको ‘झर्रोवादी आन्दोलन’ नेपाली साहित्यको आन्दोलनमा मानक बनेर उभिएको छ । तारानाथले बनारसमा पढ्दै गर्दा २०१३ सालमा बालकृष्ण पोखरेल, चुडामणि रेग्मी, कोषराज रेग्मी, बल्लभमणि दहालहरूसँग मिलेर झर्रोवादी अभियान थालेका थिए। उनीहरूले ‘नौलो पाइलो’ भन्ने पत्रिका निकाले र झर्रोवादबारे विभिन्न पत्रिकामा लेखे। नेपाली भाषामा हिन्दी, उर्दु, अङ्ग्रेजी भाषाको आन्दोलन गर्न झर्रोवादी अभियान चालेका थिए। ‘हाम्रो अभियानलाई अहिले पनि अरूले पछ्याउँदैछन्,’ उनी गर्व गर्छन्। संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि झर्रोवादी अभियानबाट प्रभावित भएर नाम फेरे। उनले श र ष हटाएर दन्त्य स लेख्ने अभियान थाले। ‘सुवाषको सट्टा सुवास लेख्न थालेँ,’ नेम्वाङले भनेका थिए, ‘झर्रोवादको अर्थ बुझेपछि झर्रो शब्द खोज्न र प्रयोग गर्न थालेको हुँ।’

युक्रेनद्वारा पश्चिमी देशहरुलाई चेतावनीः युद्धको हल्ला पिटेर अनावश्यक तनाव सिर्जना नगर

काठमाडौं । अमेरिकाले बारम्बार रुसले आक्रमण गर्दैछ भन्ने प्रचार गर्न थालेपछि युक्रेनले अनावश्यक तनाव सिर्जना नगर्न चेतावनी दिएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमी देशहरुलाई रुस युक्रेन विवादलाई अतिरिञ्जत नबनाउन भनेका हुन । अमेरिकाले रुसले युक्रेनमा आक्रमण गर्न थालेको चेतावनी दिने कुराले युक्रेनको अर्थतन्त्रमा नकारात्मक असर परेको बताएका छन् । अमेरिकाले भने युक्रेनमाथि रुसले आक्रमण गर्न गइरहेको भन्दै त्यसविरुद्ध नाटो र आफ्नो देशले प्रतिवाद गर्ने धम्की दिँदै आएको छ । अमेरिकी धम्की र चेतावनीका कारण तनाव बढेको भन्दै युक्रेनका राष्ट्रपतिले पश्चिमी देशहरुलाई हैसियतमा बस्न भनेका हुन । रुसले समेत आफूले आक्रमण गर्ने कुनै मनशाय नभएको बारम्बार बताउँदै आएको छ । शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै युक्रेनका राष्ट्रपतिले यूरोप र अमेरिकालगायतका देशहरुले युक्रेनबाट कुटनीतिज्ञ फिर्ता बोलाउने निर्णयको समेत बिरोध गरे । युद्दको हौवा दिएर गरिएका हर्कतका कारण अर्थतन्त्र र सामाजिक जीवनमा असर परेको उनले बताए । भोली युद्ध हुन्छ, पर्सी युद्ध हुन्छ भन्ने त्रास फैलाउँदा युक्रेनलाई निकै ठूलो नोक्सानी भएको छ । यसअघि युक्रेन र अमेरिकाका राष्ट्रपतिबीच भएको टेलिफोन संवादमा समेत उनले अमेरिकालाई युद्धको खतरा नभएको बताएका थिए । अमेरिकाले भने रुसले युद्धकै तयारी गरिरहेको दावी गरेको छ ।

को हुन् महात्मा गान्धीका हत्यारा हिन्दुवादी नाथुराम गोडसे, किन गरे त हत्या ?

नयाँ दिल्ली,  माध्यमिक तहको पढाइ छोडेका नाथुराम गोडसे लुगा सिउने काम गर्थे सन् १९४८ को ज्यानुअरी ३० को साँझ नाथुराम विनायक गोडसेले मोहनदास करमचन्द गान्धीलाई नजिकैबाट गोली हानेर हत्या गरे। भारतका सबैभन्दा सम्मानित व्यक्ति महात्मा गान्धीलाई राजधानी दिल्लीस्थित एउटा प्रार्थनाबाट फर्किनै लाग्दा एकदमै नजिकैबाट गोली हानिएको थियो। अठतीस वर्षीय कट्टरवादी गोडसे दक्षिणपन्थी सङ्गठन हिन्दू महासभाका सदस्य थिए। उक्त सङ्गठनले गान्धीमाथि मुस्लिम समर्थक र पाकिस्तानप्रति नरम भएर हिन्दूहरूलाई विश्वासघात गरेको आरोप लगाएको थियो। उनीहरूले गान्धीमाथि भारत(पाकिस्तान विभाजनमा मच्चिएको रक्तपातको दोष पनि लगाएका थिए। सन् १९४७ मा ब्रिटेनबाट स्वतन्त्रता पाएपछि उक्त विभाजनबाटै भारत र पाकिस्तान अस्तित्वमा आएका थिए। एउटा अदालतले गान्धीको हत्याको एक वर्षपछि गोडसेलाई मृत्युदण्डको सजाय सुनायो। उच्च अदालतले उक्त फैसलालाई सदर गरिदिएपछि सन् १९४९ को नोभेम्बरमा गोडसेलाई मृत्युदण्ड दिइयो। उनीसँगै उनका साथी नारायण आप्टेले पनि मृत्युदण्ड पाए भने अन्य छ जनालाई जन्मकैदको सजाय दिइयो। आरएसएसका सदस्य हिन्दू महासभामा आबद्ध हुनुपूर्व गोडसे राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस)का सदस्य थिए। आरएसएस भारतको अहिलेको सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा)लाई जन्माउने मुख्य माउ सङ्गठन हो। भारतमा हिन्दू राष्ट्रवादको ९५ वर्षे अवधिमा प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं पनि लामो समयदेखि आरएसएसको सदस्य रहेका व्यक्ति हुन्। अहिले पनि उनको सरकार र बाहिर पनि आरएसएसले गहिरो तथा प्रभावशाली भूमिका खेल्छ। अहिले कसैका आदर्श दशकौँदेखि आरएसएसले गोडसेलाई “राष्ट्रपिता”का हत्याराका रूपमा “एक पतित व्यक्ति” का रूपमा चित्रित गर्दै आएको छ। गान्धीलाई भारतीयहरू सबैभन्दा सम्मानित व्यक्तित्वका रूपमा मान्ने गर्छन्। यद्यपि पछिल्ला वर्षहरूमा हिन्दू दक्षिणपन्थीहरूले गोडसेलाई आदर्शका रूपमा चित्रित गर्न र गान्धीको हत्या भएको दिनलाई खुला ढङ्गले उत्सवका रूपमा मनाउन थालेका छन्। गत वर्ष भाजपाकी एक सांसदले गोडसेलाई “देशभक्त”को सङ्ज्ञा दिएकी थिइन्। त्यसले धेरै भारतीयलाई आक्रोशित बनाएको थियो। आरएसएस भने गान्धीको हत्या गर्नुअघि नै गोडसेले उक्त सङ्गठन छाडिसकेको पुरानै अडानमा कायम देखिएको छ। यद्यपि एउटा नयाँ पुस्तकले त्यो सत्य नभएको दाबी गरेको छ। महात्मा गान्धीको शवयात्रामा जलसेनाको एउटा टोलीले सुरक्षा प्रदा गरेको थियो के काम गर्थे गोडसे? माध्यमिक शिक्षा अध्ययन गर्दागर्दै पढाइ छाडेका गोडसले महासभामा सदस्य बन्नुअघि लुगा सिउने काम गरेका थिए र फलफूल बेच्ने काम पनि गरे। महासभाको सदस्य भएपछि भने उनी उक्त संस्थाको पत्रिका सम्पादन गर्थे। अदालतमा बयानका बेला उनले एउटा अनुच्छेद पढ्न पाँच घण्टाभन्दा बढी समय लगाएका थिए। उनले महात्मा गान्धीको हत्या गर्ने कुनै पनि “षड्यन्त्र नभएको” बताएर आफ्ना साथीहरूले गलत कार्य नगरेको प्रमाणित गर्न खोजेका थिए। उनले आफ्ना नेता विनायक दामोदर सवारकरको उक्त हत्यामा कुनै मार्गनिर्देशन थियो भन्ने आरोपलाई अस्वीकार गरे। सवारकरलाई भारतमा हिन्दूत्व र हिन्दूपनको जन्मदाता मानिन्छ। सवारकरमाथि लागेका सबैखाले आरोपबाट उनलाई मुक्त गरिएको थियो तर पनि आलोचकहरू गान्धीको उग्र घृणा गर्ने उनी उक्त हत्याकाण्डमा संलग्न भएको ठान्छन्। गोडसेले अदालतमा आफूले गान्धीको हत्या गर्नु धेरै अघि आरएसएस छाडिसकेको बताएका थिए। ‘गान्धीज् अस्यासिन’ का लेखक धीरेन्द्र झाका अनुसार हुलाकका एक कर्मचारी पिता र गृहिणी आमाका छोरा गोडसे आरएसएसका एक “प्रमुख कार्यकर्ता” थिए। उनका दाबीमा गोडसेलाई उक्त संस्थाबाट हटाइएको कुनै प्रमाण देखिँदैन। अदालतको कारबाही सुरु हुनुअघि रेकर्ड गरिएको गोडसेको एउटा बयानमा उनले “हिन्दू महासभाको सदस्य बनेपछि आफूले आरएसएस छाडेकोबारे बताएका छैनन्।” यद्यपि अदालतमा बयानमा भने गोडसेले “आरएसएस छाडेपछि हिन्दू महासभाको सदस्य बनेको तर आफूले त्यसो गर्दा मौन रहेको” बताएका छन्। “गान्धीको जीवनबारे उक्त दाबी एउटा सबैभन्दा बहसयुक्त विषयका रूपमा रहेको छ,” झा भन्छन्। उनलाई “आरएसएस समर्थक” लेखकहरूले त्यसलाई प्रयोग गरेको जस्तो लाग्छ। उनीहरूले त्यसैलाई प्रयोग गर्दै “गोडसले हिन्दू महासभामा सहभागी भएपछि गान्धीको हत्यापूर्व करिब एक दशकअघिदेखि नै आरएसएससँग सम्बन्ध भङ्ग गरिसकेको” लेखेका छन्। अमेरिकी शोधकर्ता जेए करेन जुनियरका दाबीमा गोडसेले सन् १९३० मा आरएसएसको सदस्यता लिएका थिए र त्यसको चार वर्षपछि आरएसएस छाडेका थिए। तर आफ्नो दाबीका लागि उनले कुनै पनि प्रमाण पेस गरेका छैनन्। अदालतमा बहस सुरु हुनुपूर्व सार्वजनिक भएको वक्तव्यमा गोडसेले सँगसँगै दुवै संस्थामा काम गरिरहेको स्वीकारेका छन्। गोडसेका परिवारका सदस्यहरू पनि विगतमा उक्त बहसमा संलग्न भएका छन्। सन् २००५ मा मृत्यु दिवङ्गत भएका नाथुराम गोडसेका भाइ गोपालले आफ्नो दाजुले “आरएसएस नछाडेको” बताएका थिए। त्यस्तै सन् २०१५ मा गोडसेका एक नातेदारले पत्रकारहरूलाई उनले सन् १९३२ मा आरएसएसको सदस्यता लिएको र त्यसपछि कहिले पनि उनलाई “न हटाइएको न त उनले संस्था छाडेको” बताएका थिए। अभिलेखहरू केलाएका झाले ती दुई हिन्दू सङ्गठनबारे पनि प्रकाश पारेका छन्। उनी हिन्दू महासभा र आरएसएसबीच “एकमाथि अर्को खप्टिएको जस्तो र तरल सम्बन्ध” रहेको तथा विचारधारा समान रहेको देखिएको लेख्छन्। उनले त्यसलाई उजागर गर्दै लेखेका छन्, “गान्धीको हत्याका बेलासम्म ती दुई समूहबीच नजिकको सम्बन्ध रहेको र कहिलेकहीँ सदस्यता पनि एक अर्कामा खप्टिएको देखिन्छ।” के भन्छ आरएसएस? गान्धीको हत्यापछि आरएसएसलाई एक वर्षभन्दा बढी समयका लागि प्रतिबन्धित गरिएको थियो। आरएसएसले सधैँ नै गोडसेले सन् १९३० कै दशकमा उक्त सङ्गठन छाडिसकेको भनी अदालतमा दिएको बयानलाई नै दोहोर्‍याउने गर्छ। अदालतको फैसलाले आफ्नो सङ्गठनको उक्त हत्यामा कुनै पनि सम्बन्ध नभएको देखाइसकेको उसको तर्क हुने गर्छ। “उनी आरएसएसका सदस्य थिए भनेर भन्नु राजनीतिक उद्देश्यका लागि प्रस्तुत गरिने झुट मात्र हो,” आरएसएसका वरिष्ठ नेता राम माधवले भनेका छन्। आरएसएसका प्रभावशाली नेतामध्येका एक एमएस गोलवालकर गान्धीको हत्यालाई हत्यारा देशकै र हिन्दू पनि भएकाले त्यो “अतुलनीय त्रासदी वा त्यसभन्दा पनि बढी” भएको रूपमा वर्णन गर्छन्। हालै आरएसएस नेता एमजी वैद्यले गोडसेलाई “हत्यारा” भनेका थिए। उनले भारतका सबैभन्दा सम्मानित व्यक्तिको हत्या गरेर हिन्दूत्वकै “अपमान” गरेको बताएका थिए। विक्रम संपतजस्ता लेखक आरएसएस र हिन्दू महासभाबीच अशान्त खालको सम्बन्ध रहेकोमा विश्वास गर्छन्। उनले सवारकरबारे विस्तृत रूपमा दुई खण्डको जीवनी लेखेका छन्। उनी लेख्छन्, “हिन्दू महासभाको हिन्दूहरूको हित रक्षाका लागि स्वयंसेवकहरूको गोप्य विद्रोही समाज बनाउने निर्णयले आरएसएससँगको सम्बन्धमा कष्ट पैदा गरिदिएको थियो।” संपतका अनुसार आरएसएसले महासभाका नेता सवारकरले विश्वास गर्नेजस्तो “व्यक्ति पूजा र मूर्ति पूजा” विपरीत बाटो लिएको थियो। सवारकर भने “व्यक्ति पूजा र अतिरञ्जनामा” विश्वास गर्ने खालका थिए। अर्को पुस्तक ‘आरएसएसस् अ भ्यू टु द इन्साइड’ मा वाल्टर के एन्डरसन र श्रीधर डी दामले कसरी आरएसएसले आफ्ना पूर्वसदस्य नाथुराम गोड्से गान्धी हत्यामा संलग्न भएको कुरालाई ढाकछोप गरेको थियो भन्नेबारे चर्चा गरेका छन्। यद्यपि गोडसे आरएसएसका अंश थिए र उनले कहिल्यै पनि आरएसएस छाडेका थिएनन् भन्ने कुरामा देखिएको द्विविधा कहिल्यै मेटिएन। सन् १९४९ नोभेम्बर १५ मा फाँसी दिइनुअघि गोडसले आरएसएसको प्रार्थनाका चार पङ्क्ति वाचन गरेका थिए। “त्यसले फेरि एक पटक उनी उक्त संस्थाका सक्रिय सदस्य थिए भन्ने देखाउँछ,” झा भन्छन्, “गान्धीको हत्याबाट आरएसएसलाई अलग राख्नु भनेको इतिहासमाथिको जालसाजी हो।” (बिबिसीबाट साभार गरिएको)

फेरी बढ्यो सूनचाँदीको मूल्य, नयाँ मूल्य कति ?

काठमाडौं । साताको दोस्रो दिन आज सोमबार बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोलामा ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार १ सय रुपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा ०२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । जसको मूल्य आइतबार प्रतितोला रु. ९१ हजार ९ सय तोकिएको थियो । यस्तै, चाँदीको मूल्य पनि आज ५ रुपैयाँले बढेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुर्खेतमा दुखद घटनाः कोठामा कोइला बालेर सुतेका आमासहित ३ बालकको मृत्यु

सुर्खेत । सुर्खेतको बिरेन्द्रनगर नगरपालिकामा निकै दुखद घटना भएको छ । नगरपालिकाको बुदबुदीमा कोइला बालेर सुतेका आमा र तीनजना बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा ३५ वर्षीया कल्पा बुढा, ९ वर्षीय छोरा निरज बुढा, ८ वर्षीय छोरा चिरञ्जीवी बुढा र ५ वर्षीय सोमराज बुढा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवंम प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले मिडियालाई दिएको जानकारी अनुसार, मृतकहरु शुक्रबार राति साढे नौ बजेतिर कोइला बालेर कोठामा सुतेका थिए । तर प्रहरीले भने अर्को दिन साँझ साढेबजेमात्र खबर पाएको थियो । घरमैं रहेका ससुरा भने शनिबार बिहानै बाहिर निस्केका थिए । शनिवार साँझ ६ बजे घर फर्किँदा बुहारी र नातिहरुलाई नदेखेपछि उनले भित्रबाट ढोका लगाएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।’ शनिबार बेलुकी साढे ७ बजेतिर घटनास्थल पुगेको प्रहरीले जनप्रतिनिधि र स्थानीयको रोहबरमा घरको ढोका फोडेर हेर्दा उनीहरु मृत अवस्थामा फेला परेका थिए । खाटमुनि कोइला बालेको देखिएको थियो । मृतक चारै जनाको मुखमा फिज थियो । कल्पाका श्रीमान कृष्णबहादुर जाजरकोट भएकाले आइतबारमात्र प्रहरीले मुचुल्का उठाई अनुसन्धान अघि बढाएको छ । मृतकहरुलाई पोष्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको छ प्रहरीले अहिल पोष्टमार्टम रिपोर्ट नआउँदासम्म घटनाको कारण बताउन नसकिने जनाएको छ ।

लोकसेवाद्वारा बैंक, टेलिकम, शाखा अधिकृत र प्रहरीको परीक्षा स्थगित, लाखौं परीक्षार्थी तनावमा

काठमाडौं । लोकसेवा आयोगले नेपाल बैंक तथा टेलिकमलगायतका कतिपय परीक्षा स्थगित भएको सूचना प्रकाशित गरेपछि लाखौं परीक्षार्थी तनावमा परेका छन् । परीक्षा दिनका लागि राजधानीमा चर्को पैसा खर्च गरेर तयारी गरिरहेका लाखौं विद्यार्थीहरु परीक्षा नहुने सूचना सार्वजनिक भएपछि ठूलो समस्यामा परेका हुन । लोकसेवा आयोगले नेपाल राष्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम र नेपाल प्रहरीका बिभिन्न पदका लागि यसअघि आव्हान गरेको दरखास्त रद्द गर्ने सार्वजनिक सूचना प्रकाशित गरेको छ । सार्वजनिक भएको दरखास्त निवेदन अनुसार, थारु समुदायका लागि समावेशी क्लष्टर अन्तर्गत कोटा नछुट्याएको भन्दै प्रेमिलाल चौधरी तथा पिन्टुकुमार कर्णले अदालतमा निवेदन दिएपछि सोको फैसला गर्दै निवेदनमाथि अन्तिम सुनुवाई नभएसम्मका लागि परीक्षा स्थगित गर्नु भन्दै लोकसेवालाई आदेश जारी भएको थियो । लोकसेवा आयोगले अदालतको आदेशबमोजिम एक सूचना प्रकाशित गर्दै “बिभिन्न रिट निवेदनहरु सम्बन्धमा देहाय बमोजिमका निकायहरुको देहाय बमोजिम तिमिा प्रकाशति विज्ञापन बमोजिमका बिभिन्न विज्ञापनहरुको छलफलको मितिसम्म पदपूर्ति गर्ने काम नगर्नु, नगराउनु भनी लोक सेवा आयोग केन्द्रीय कार्यालय समेतलाई बिभिन मितिमा अल्पकालिन अन्तरिम आदेश जारी भएको ले यो सूचना प्रकाशित गरिएको छ” भन्दै सूचना प्रकाशित गरेको छ । बैंक क्षेत्रको परीक्षा तयारीका लागि महिनौंसम्म राजधानीका बिभिन्न कोचिङ सेन्टरमा भर्ना भएका र तयारी गरिरहेका हजारौं परीक्षार्थी यो निर्णयका कारणठूलो तनावमा परेका छन् । “पाँच महिनादेखि डेरा गरेर तयारी गरिरहेको छु । अहिले आएर एक्कासी परीक्षा रोकिएपछि रुनु कि हाँस्नु भएको छ । हाम्रो भविष्यमाथि खेलवाड भयो ।” एक परीक्षार्थीले भने, “अदालतले एकजना व्यक्तिको मर्का हेर्ने कि लाखौं परीक्षार्थीको भविष्य हेर्ने ?” आरक्षणको विषय नीतिगत भएकोेले यसको मार आम परीक्षार्थीले भोग्नुपर्ने किन ? भन्दै उनले थप प्रश्न गरे । “अब त झन लकडाउनले सताएको छ । न घर फर्किन सकिन्छ, न परीक्षाको तयारी गर्न नै ।” उनले भने । लोकसेवा आयोगले भने अदालतको निर्णय कार्यान्वयन गर्नुपर्ने बाध्यता भएकोले परीक्षा स्थगित गर्नुपरेको बताएको छ । तर अदालतको अन्तरिम आदेशको फैसला छिटै नभएको अवस्थामा हजारौं परीक्षार्थी थप अन्यौल र समस्यामा पर्ने देखिएको छ । नेपालका अदालती अभ्यासमा अन्तरिम आदेश जारी जति सहज र छरितो हुनेगर्दछ, त्यसको फैसला आउन कहिलेकाहिँ महिनौं समेत लाग्ने गर्दछ । यसले गर्दा अब ती रोकिएका पदको परीक्षा कहिले हुने हो भन्ने कुनै टुंगो नहुँदा विद्यार्थीहरु रनभुल्ल अवस्थामा परेका छन् । लोकसेवा आयोगले शाखा अधिकृतको परीक्षा समेत अदालतको आदेश भन्दै स्थगित गरेको छ । लोकसेवाद्वारा जारी सूचनामा भनिएको छ– (अप्राविधिक) शाखा अधिकृत वा सो सरहको पदको लागि सूचना नं. ४१८÷०७८–७९ बाट ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनबाट हुने बढुवा र सूचना नं. ४१९र०७८–७९ बाट खुला तथा समावेशी प्रतियोगिता तर्फ विज्ञापन गरी उक्त विज्ञापनहरुमा हाल दरखास्त लिने कार्य सूचारु रहेकोमा श्री उच्च अदालत पाटन, ललितपुरबाट आयोगको नाममा “सूचना नं. ४१८र०७८–७९ कोबढुवाकोसूचना र सूचना नं. ४१९÷०७८–७९ कोविज्ञापन बमोजिमको कार्य अन्तरिम आदेशको छलफलको मिति सम्म नगर्नु नगराउनू यथास्थितीमा राख्नु” भनी अल्पकालिन अन्तरिम आदेश भएकोले रा.प.तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरहका पदका लागि हाल सूचारु रहेको वढुवा एवं खुला विज्ञापन तर्फ दरखास्त लिने कार्य मिति २०७८÷९÷१८ सम्म स्थगन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएकोछ ।

आजदेखि १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोना खोप लगाइने

काठमाडौं, सरकारले काठमाडौं उपत्यकाका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै मंगलबारदेखि उपत्यकाका तीन वटै जिल्लाका विद्यालयहरूमा खोप लगाउने जानकारी दिएको हो । मन्त्रालयका अनुसार उपत्यकाका यी तीन जिल्लाका केही स्थानीय तहमा भने केही दिन अघिदेखि नै खोप कार्यक्रम सूरु भइसकेको छ। खोप कार्यक्रम सुरु नभएका स्थानमा भोलिबाट लगाइने मन्त्रालयले जनाएको छ। बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइने मन्त्रालयले जनाएको छ। बालबालिकाहरुलाई उमेर खुल्ने कागजात लिई तोकिएका खोप केन्द्रमा गई भीडभाड नगरी स्वास्थ्यका मापदण्ड पूरा गरी खोप लिन मन्त्रालयले आग्रह गरेको छ ।

राष्ट्रिय सभा निर्वाचनको चटारो, दल दर्ताको समय आजसम्म मात्रै

काठमाडौं । राष्ट्रिय सभामा रिक्त १९ सदस्यका लागि आगामी माघ १२ मा निर्वाचन हुने भएको छ । यसका लागि दुई हजार २५ मतदाता कायम रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा स्थानीय तहका एक हजार चार सय ९३ जना र प्रदेश सभामा पाँच सय ३२ जना मतदाता रहेको आयोगले जनाएको छ । मतदानको लागि आठ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्रको व्यवस्था गरेको आयोगले जनाएको छ । निर्वाचनमा भाग लिन राजनीतिक दल दर्ताको समयावधि शनिबारसम्म तोकिएको छ । आयोगका अनुसार शुक्रबारसम्म माओवादी केन्द्र, एमाले, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी ९जसपा० र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी दर्ताको लागि निवेदन दिएको छ । कांग्रेस, लोकतन्त्रिक समाजवादी पार्टी र राप्रपाले शनिबार दर्ताको लागि आउने आयोगमा जानकारी गराएको छ । पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली र निर्वाचन चिन्ह दिने कार्यक्रम तय गरिएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले निर्वाचन अधिकृतमा नियुक्ति गरिसकेको छ ।