नेप्सेमा १४.६८ अंकको गिरावट, कारोबार रकम कति ?
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १४.६८ अंकले घटेको छ । आइतबार बजार परिसूचक नेप्से शून्य दशमलव ६७ प्रतिशतले गिरावट हुँदा २१६८.५३ बिन्दुमा बन्द भएको छ ।
२६७ धितोपत्रको ५१ हजार ९७३ वटा कारोबारबाट ८२ लाख ७६ हजार ७५१ कित्ता सेयर किनबेच भएको छ । यसबाट ३ अर्ब १ करोड ७० लाख ६३ हजार ९५६ रुपैयाँको कारोबार भएको छ ।
आइतबार होटल र पर्यटन, जीवन बीमा उपसूचक हरियो देखिए भने अन्य सबै उपसूचक राताम्य देखिए । घटेको बजारमा पनि दुई वटा कम्पनीमा सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स र बलेफी हाइड्रोपावरको मूल्य धेरैले बढेको हो । धेरै घट्नेमा समृद्धि फाइनान्स र सिभिल लघुवित्त वित्तीय संस्था रहे ।
२४ वर्षीया गीता बनिन् शिवालयको उपाध्यक्ष
जाजरकोट । जाजरकोट जिल्लाको शिवालय गाउँपालिकाको उपाध्यक्षमा २४ वर्षीया गीता शाही निर्वाचित भएकी छन् । माओवादी केन्द्रबाट उम्मेदवार बनेकी शाहीले नेकपा एमालेकी नैनसरा शाहीलाई २४० मतान्तरले पराजित गर्दै विजयी भएकी हुन् ।शाहीले २६५९ मत ल्याउँदा एमालेकी नैनसरा शाहीले २४२९ मत ल्याईन् । विद्यार्थी राजनीतिमा सक्रिय शाही अखिल क्रान्तिकारी कर्णाली प्रदेश कमिटी सदस्य हुन् । पढाइसँगै राजनीतिमा सक्रिय उपाध्यक्षमा निर्वाचित शाही शिवालय गाउँपालिका–६ थालाकी स्थायी बासिन्दा हुन् । २०५४ साल कात्तिक ३० गते जन्मिएकी गीता जिल्ला समन्वय परिषद् सदस्य विनोदकुमार शाहीकी छोरी हुन् । सानै उमेरदेखि राजनीतिमा सक्रिय रहेकी शाही ईन्द्रज्योति माध्यामिक विद्यालय थालारैकरमा अखिल क्रान्तिकारीको इकाइ अध्यक्ष भएर राजनीतिक यात्रा सुरु गरिन् । अखिल क्रान्तिकारी, जाजरकोट जिल्ला कमिटी सदस्य हुँदै हाल कर्णाली प्रदेश कमिटी सदस्यको जिम्मेवारी समालेकी शाहीले कक्षा १ देखि कक्षा १० सम्मको पढा इन्द्रज्योति माध्यामिक विद्यालय शिवालय६ थालारैकरबाट पूरा गरेकी हुन् । कक्षा ११–१२ को पढाइ वीरेन्द्र सामुदायिक माध्यामिक विद्यालय जुङ्गाथापाचौरबाट पूरा गरेकी शाहीले महेन्द्र बहुमुखी क्याम्पसबाट अर्थ र राजनीति शास्त्रमा स्नातक गरेकी छन् । शाहीका हजुर बुवा बिद्रोहीले २०५४ असारदेखि माओवादी जनयुद्धमा सहभागी भएका थिए भने उनका बुवा विनोद कुमार शाही सशस्त्र प्रहरी बलको जागिर छोडेर माओवादी पार्टीको राजनीतिकमा सक्रिय भएका थिए ।
चर्चित साहित्यकार तारानाथ शर्माको निधन
काठमाडौं । नेपाली साहित्यमा आत्मपरक निबन्धका लागि लोकप्रिय लेखक तथा साहित्यकार डा. तारानाथ शर्माको निधन भएको छ । शर्माको ८७ वर्षको उमेरमा आज मंगलबार बिहान निधन भएको हो । उनले लेखेको “घनघस्याको उकालो काटदा” भन्ने निबन्ध निकै चर्चित छ । झर्रोवादी लेखनका रुपमा समेत उनको विशिष्ट पहिचान कायम छ । इलामको बरबोटेमा जन्मेर संस्कृत शिक्षाबाट पठन सुरु गरेका शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा बल्लभमणि दाहाल, बालकृष्ण पोखरेललगायतका साथीभाइसँग मिलेर सुरु गरेको ‘झर्रोवादी आन्दोलन’ नेपाली साहित्यको आन्दोलनमा मानक बनेर उभिएको छ । तारानाथले बनारसमा पढ्दै गर्दा २०१३ सालमा बालकृष्ण पोखरेल, चुडामणि रेग्मी, कोषराज रेग्मी, बल्लभमणि दहालहरूसँग मिलेर झर्रोवादी अभियान थालेका थिए। उनीहरूले ‘नौलो पाइलो’ भन्ने पत्रिका निकाले र झर्रोवादबारे विभिन्न पत्रिकामा लेखे। नेपाली भाषामा हिन्दी, उर्दु, अङ्ग्रेजी भाषाको आन्दोलन गर्न झर्रोवादी अभियान चालेका थिए। ‘हाम्रो अभियानलाई अहिले पनि अरूले पछ्याउँदैछन्,’ उनी गर्व गर्छन्। संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि झर्रोवादी अभियानबाट प्रभावित भएर नाम फेरे। उनले श र ष हटाएर दन्त्य स लेख्ने अभियान थाले। ‘सुवाषको सट्टा सुवास लेख्न थालेँ,’ नेम्वाङले भनेका थिए, ‘झर्रोवादको अर्थ बुझेपछि झर्रो शब्द खोज्न र प्रयोग गर्न थालेको हुँ।’
युक्रेनद्वारा पश्चिमी देशहरुलाई चेतावनीः युद्धको हल्ला पिटेर अनावश्यक तनाव सिर्जना नगर
काठमाडौं । अमेरिकाले बारम्बार रुसले आक्रमण गर्दैछ भन्ने प्रचार गर्न थालेपछि युक्रेनले अनावश्यक तनाव सिर्जना नगर्न चेतावनी दिएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमी देशहरुलाई रुस युक्रेन विवादलाई अतिरिञ्जत नबनाउन भनेका हुन । अमेरिकाले रुसले युक्रेनमा आक्रमण गर्न थालेको चेतावनी दिने कुराले युक्रेनको अर्थतन्त्रमा नकारात्मक असर परेको बताएका छन् । अमेरिकाले भने युक्रेनमाथि रुसले आक्रमण गर्न गइरहेको भन्दै त्यसविरुद्ध नाटो र आफ्नो देशले प्रतिवाद गर्ने धम्की दिँदै आएको छ । अमेरिकी धम्की र चेतावनीका कारण तनाव बढेको भन्दै युक्रेनका राष्ट्रपतिले पश्चिमी देशहरुलाई हैसियतमा बस्न भनेका हुन । रुसले समेत आफूले आक्रमण गर्ने कुनै मनशाय नभएको बारम्बार बताउँदै आएको छ । शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै युक्रेनका राष्ट्रपतिले यूरोप र अमेरिकालगायतका देशहरुले युक्रेनबाट कुटनीतिज्ञ फिर्ता बोलाउने निर्णयको समेत बिरोध गरे । युद्दको हौवा दिएर गरिएका हर्कतका कारण अर्थतन्त्र र सामाजिक जीवनमा असर परेको उनले बताए । भोली युद्ध हुन्छ, पर्सी युद्ध हुन्छ भन्ने त्रास फैलाउँदा युक्रेनलाई निकै ठूलो नोक्सानी भएको छ । यसअघि युक्रेन र अमेरिकाका राष्ट्रपतिबीच भएको टेलिफोन संवादमा समेत उनले अमेरिकालाई युद्धको खतरा नभएको बताएका थिए । अमेरिकाले भने रुसले युद्धकै तयारी गरिरहेको दावी गरेको छ ।
को हुन् महात्मा गान्धीका हत्यारा हिन्दुवादी नाथुराम गोडसे, किन गरे त हत्या ?
नयाँ दिल्ली, माध्यमिक तहको पढाइ छोडेका नाथुराम गोडसे लुगा सिउने काम गर्थे सन् १९४८ को ज्यानुअरी ३० को साँझ नाथुराम विनायक गोडसेले मोहनदास करमचन्द गान्धीलाई नजिकैबाट गोली हानेर हत्या गरे। भारतका सबैभन्दा सम्मानित व्यक्ति महात्मा गान्धीलाई राजधानी दिल्लीस्थित एउटा प्रार्थनाबाट फर्किनै लाग्दा एकदमै नजिकैबाट गोली हानिएको थियो। अठतीस वर्षीय कट्टरवादी गोडसे दक्षिणपन्थी सङ्गठन हिन्दू महासभाका सदस्य थिए। उक्त सङ्गठनले गान्धीमाथि मुस्लिम समर्थक र पाकिस्तानप्रति नरम भएर हिन्दूहरूलाई विश्वासघात गरेको आरोप लगाएको थियो। उनीहरूले गान्धीमाथि भारत(पाकिस्तान विभाजनमा मच्चिएको रक्तपातको दोष पनि लगाएका थिए। सन् १९४७ मा ब्रिटेनबाट स्वतन्त्रता पाएपछि उक्त विभाजनबाटै भारत र पाकिस्तान अस्तित्वमा आएका थिए। एउटा अदालतले गान्धीको हत्याको एक वर्षपछि गोडसेलाई मृत्युदण्डको सजाय सुनायो। उच्च अदालतले उक्त फैसलालाई सदर गरिदिएपछि सन् १९४९ को नोभेम्बरमा गोडसेलाई मृत्युदण्ड दिइयो। उनीसँगै उनका साथी नारायण आप्टेले पनि मृत्युदण्ड पाए भने अन्य छ जनालाई जन्मकैदको सजाय दिइयो। आरएसएसका सदस्य हिन्दू महासभामा आबद्ध हुनुपूर्व गोडसे राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस)का सदस्य थिए। आरएसएस भारतको अहिलेको सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा)लाई जन्माउने मुख्य माउ सङ्गठन हो। भारतमा हिन्दू राष्ट्रवादको ९५ वर्षे अवधिमा प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं पनि लामो समयदेखि आरएसएसको सदस्य रहेका व्यक्ति हुन्। अहिले पनि उनको सरकार र बाहिर पनि आरएसएसले गहिरो तथा प्रभावशाली भूमिका खेल्छ। अहिले कसैका आदर्श दशकौँदेखि आरएसएसले गोडसेलाई “राष्ट्रपिता”का हत्याराका रूपमा “एक पतित व्यक्ति” का रूपमा चित्रित गर्दै आएको छ। गान्धीलाई भारतीयहरू सबैभन्दा सम्मानित व्यक्तित्वका रूपमा मान्ने गर्छन्। यद्यपि पछिल्ला वर्षहरूमा हिन्दू दक्षिणपन्थीहरूले गोडसेलाई आदर्शका रूपमा चित्रित गर्न र गान्धीको हत्या भएको दिनलाई खुला ढङ्गले उत्सवका रूपमा मनाउन थालेका छन्। गत वर्ष भाजपाकी एक सांसदले गोडसेलाई “देशभक्त”को सङ्ज्ञा दिएकी थिइन्। त्यसले धेरै भारतीयलाई आक्रोशित बनाएको थियो। आरएसएस भने गान्धीको हत्या गर्नुअघि नै गोडसेले उक्त सङ्गठन छाडिसकेको पुरानै अडानमा कायम देखिएको छ। यद्यपि एउटा नयाँ पुस्तकले त्यो सत्य नभएको दाबी गरेको छ। महात्मा गान्धीको शवयात्रामा जलसेनाको एउटा टोलीले सुरक्षा प्रदा गरेको थियो के काम गर्थे गोडसे? माध्यमिक शिक्षा अध्ययन गर्दागर्दै पढाइ छाडेका गोडसले महासभामा सदस्य बन्नुअघि लुगा सिउने काम गरेका थिए र फलफूल बेच्ने काम पनि गरे। महासभाको सदस्य भएपछि भने उनी उक्त संस्थाको पत्रिका सम्पादन गर्थे। अदालतमा बयानका बेला उनले एउटा अनुच्छेद पढ्न पाँच घण्टाभन्दा बढी समय लगाएका थिए। उनले महात्मा गान्धीको हत्या गर्ने कुनै पनि “षड्यन्त्र नभएको” बताएर आफ्ना साथीहरूले गलत कार्य नगरेको प्रमाणित गर्न खोजेका थिए। उनले आफ्ना नेता विनायक दामोदर सवारकरको उक्त हत्यामा कुनै मार्गनिर्देशन थियो भन्ने आरोपलाई अस्वीकार गरे। सवारकरलाई भारतमा हिन्दूत्व र हिन्दूपनको जन्मदाता मानिन्छ। सवारकरमाथि लागेका सबैखाले आरोपबाट उनलाई मुक्त गरिएको थियो तर पनि आलोचकहरू गान्धीको उग्र घृणा गर्ने उनी उक्त हत्याकाण्डमा संलग्न भएको ठान्छन्। गोडसेले अदालतमा आफूले गान्धीको हत्या गर्नु धेरै अघि आरएसएस छाडिसकेको बताएका थिए। ‘गान्धीज् अस्यासिन’ का लेखक धीरेन्द्र झाका अनुसार हुलाकका एक कर्मचारी पिता र गृहिणी आमाका छोरा गोडसे आरएसएसका एक “प्रमुख कार्यकर्ता” थिए। उनका दाबीमा गोडसेलाई उक्त संस्थाबाट हटाइएको कुनै प्रमाण देखिँदैन। अदालतको कारबाही सुरु हुनुअघि रेकर्ड गरिएको गोडसेको एउटा बयानमा उनले “हिन्दू महासभाको सदस्य बनेपछि आफूले आरएसएस छाडेकोबारे बताएका छैनन्।” यद्यपि अदालतमा बयानमा भने गोडसेले “आरएसएस छाडेपछि हिन्दू महासभाको सदस्य बनेको तर आफूले त्यसो गर्दा मौन रहेको” बताएका छन्। “गान्धीको जीवनबारे उक्त दाबी एउटा सबैभन्दा बहसयुक्त विषयका रूपमा रहेको छ,” झा भन्छन्। उनलाई “आरएसएस समर्थक” लेखकहरूले त्यसलाई प्रयोग गरेको जस्तो लाग्छ। उनीहरूले त्यसैलाई प्रयोग गर्दै “गोडसले हिन्दू महासभामा सहभागी भएपछि गान्धीको हत्यापूर्व करिब एक दशकअघिदेखि नै आरएसएससँग सम्बन्ध भङ्ग गरिसकेको” लेखेका छन्। अमेरिकी शोधकर्ता जेए करेन जुनियरका दाबीमा गोडसेले सन् १९३० मा आरएसएसको सदस्यता लिएका थिए र त्यसको चार वर्षपछि आरएसएस छाडेका थिए। तर आफ्नो दाबीका लागि उनले कुनै पनि प्रमाण पेस गरेका छैनन्। अदालतमा बहस सुरु हुनुपूर्व सार्वजनिक भएको वक्तव्यमा गोडसेले सँगसँगै दुवै संस्थामा काम गरिरहेको स्वीकारेका छन्। गोडसेका परिवारका सदस्यहरू पनि विगतमा उक्त बहसमा संलग्न भएका छन्। सन् २००५ मा मृत्यु दिवङ्गत भएका नाथुराम गोडसेका भाइ गोपालले आफ्नो दाजुले “आरएसएस नछाडेको” बताएका थिए। त्यस्तै सन् २०१५ मा गोडसेका एक नातेदारले पत्रकारहरूलाई उनले सन् १९३२ मा आरएसएसको सदस्यता लिएको र त्यसपछि कहिले पनि उनलाई “न हटाइएको न त उनले संस्था छाडेको” बताएका थिए। अभिलेखहरू केलाएका झाले ती दुई हिन्दू सङ्गठनबारे पनि प्रकाश पारेका छन्। उनी हिन्दू महासभा र आरएसएसबीच “एकमाथि अर्को खप्टिएको जस्तो र तरल सम्बन्ध” रहेको तथा विचारधारा समान रहेको देखिएको लेख्छन्। उनले त्यसलाई उजागर गर्दै लेखेका छन्, “गान्धीको हत्याका बेलासम्म ती दुई समूहबीच नजिकको सम्बन्ध रहेको र कहिलेकहीँ सदस्यता पनि एक अर्कामा खप्टिएको देखिन्छ।” के भन्छ आरएसएस? गान्धीको हत्यापछि आरएसएसलाई एक वर्षभन्दा बढी समयका लागि प्रतिबन्धित गरिएको थियो। आरएसएसले सधैँ नै गोडसेले सन् १९३० कै दशकमा उक्त सङ्गठन छाडिसकेको भनी अदालतमा दिएको बयानलाई नै दोहोर्याउने गर्छ। अदालतको फैसलाले आफ्नो सङ्गठनको उक्त हत्यामा कुनै पनि सम्बन्ध नभएको देखाइसकेको उसको तर्क हुने गर्छ। “उनी आरएसएसका सदस्य थिए भनेर भन्नु राजनीतिक उद्देश्यका लागि प्रस्तुत गरिने झुट मात्र हो,” आरएसएसका वरिष्ठ नेता राम माधवले भनेका छन्। आरएसएसका प्रभावशाली नेतामध्येका एक एमएस गोलवालकर गान्धीको हत्यालाई हत्यारा देशकै र हिन्दू पनि भएकाले त्यो “अतुलनीय त्रासदी वा त्यसभन्दा पनि बढी” भएको रूपमा वर्णन गर्छन्। हालै आरएसएस नेता एमजी वैद्यले गोडसेलाई “हत्यारा” भनेका थिए। उनले भारतका सबैभन्दा सम्मानित व्यक्तिको हत्या गरेर हिन्दूत्वकै “अपमान” गरेको बताएका थिए। विक्रम संपतजस्ता लेखक आरएसएस र हिन्दू महासभाबीच अशान्त खालको सम्बन्ध रहेकोमा विश्वास गर्छन्। उनले सवारकरबारे विस्तृत रूपमा दुई खण्डको जीवनी लेखेका छन्। उनी लेख्छन्, “हिन्दू महासभाको हिन्दूहरूको हित रक्षाका लागि स्वयंसेवकहरूको गोप्य विद्रोही समाज बनाउने निर्णयले आरएसएससँगको सम्बन्धमा कष्ट पैदा गरिदिएको थियो।” संपतका अनुसार आरएसएसले महासभाका नेता सवारकरले विश्वास गर्नेजस्तो “व्यक्ति पूजा र मूर्ति पूजा” विपरीत बाटो लिएको थियो। सवारकर भने “व्यक्ति पूजा र अतिरञ्जनामा” विश्वास गर्ने खालका थिए। अर्को पुस्तक ‘आरएसएसस् अ भ्यू टु द इन्साइड’ मा वाल्टर के एन्डरसन र श्रीधर डी दामले कसरी आरएसएसले आफ्ना पूर्वसदस्य नाथुराम गोड्से गान्धी हत्यामा संलग्न भएको कुरालाई ढाकछोप गरेको थियो भन्नेबारे चर्चा गरेका छन्। यद्यपि गोडसे आरएसएसका अंश थिए र उनले कहिल्यै पनि आरएसएस छाडेका थिएनन् भन्ने कुरामा देखिएको द्विविधा कहिल्यै मेटिएन। सन् १९४९ नोभेम्बर १५ मा फाँसी दिइनुअघि गोडसले आरएसएसको प्रार्थनाका चार पङ्क्ति वाचन गरेका थिए। “त्यसले फेरि एक पटक उनी उक्त संस्थाका सक्रिय सदस्य थिए भन्ने देखाउँछ,” झा भन्छन्, “गान्धीको हत्याबाट आरएसएसलाई अलग राख्नु भनेको इतिहासमाथिको जालसाजी हो।” (बिबिसीबाट साभार गरिएको)
फेरी बढ्यो सूनचाँदीको मूल्य, नयाँ मूल्य कति ?
काठमाडौं । साताको दोस्रो दिन आज सोमबार बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोलामा ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार १ सय रुपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा ०२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । जसको मूल्य आइतबार प्रतितोला रु. ९१ हजार ९ सय तोकिएको थियो । यस्तै, चाँदीको मूल्य पनि आज ५ रुपैयाँले बढेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सुर्खेतमा दुखद घटनाः कोठामा कोइला बालेर सुतेका आमासहित ३ बालकको मृत्यु
सुर्खेत । सुर्खेतको बिरेन्द्रनगर नगरपालिकामा निकै दुखद घटना भएको छ । नगरपालिकाको बुदबुदीमा कोइला बालेर सुतेका आमा र तीनजना बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा ३५ वर्षीया कल्पा बुढा, ९ वर्षीय छोरा निरज बुढा, ८ वर्षीय छोरा चिरञ्जीवी बुढा र ५ वर्षीय सोमराज बुढा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवंम प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले मिडियालाई दिएको जानकारी अनुसार, मृतकहरु शुक्रबार राति साढे नौ बजेतिर कोइला बालेर कोठामा सुतेका थिए । तर प्रहरीले भने अर्को दिन साँझ साढेबजेमात्र खबर पाएको थियो । घरमैं रहेका ससुरा भने शनिबार बिहानै बाहिर निस्केका थिए । शनिवार साँझ ६ बजे घर फर्किँदा बुहारी र नातिहरुलाई नदेखेपछि उनले भित्रबाट ढोका लगाएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।’ शनिबार बेलुकी साढे ७ बजेतिर घटनास्थल पुगेको प्रहरीले जनप्रतिनिधि र स्थानीयको रोहबरमा घरको ढोका फोडेर हेर्दा उनीहरु मृत अवस्थामा फेला परेका थिए । खाटमुनि कोइला बालेको देखिएको थियो । मृतक चारै जनाको मुखमा फिज थियो । कल्पाका श्रीमान कृष्णबहादुर जाजरकोट भएकाले आइतबारमात्र प्रहरीले मुचुल्का उठाई अनुसन्धान अघि बढाएको छ । मृतकहरुलाई पोष्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको छ प्रहरीले अहिल पोष्टमार्टम रिपोर्ट नआउँदासम्म घटनाको कारण बताउन नसकिने जनाएको छ ।
आजदेखि १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोना खोप लगाइने
काठमाडौं, सरकारले काठमाडौं उपत्यकाका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै मंगलबारदेखि उपत्यकाका तीन वटै जिल्लाका विद्यालयहरूमा खोप लगाउने जानकारी दिएको हो । मन्त्रालयका अनुसार उपत्यकाका यी तीन जिल्लाका केही स्थानीय तहमा भने केही दिन अघिदेखि नै खोप कार्यक्रम सूरु भइसकेको छ। खोप कार्यक्रम सुरु नभएका स्थानमा भोलिबाट लगाइने मन्त्रालयले जनाएको छ। बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइने मन्त्रालयले जनाएको छ। बालबालिकाहरुलाई उमेर खुल्ने कागजात लिई तोकिएका खोप केन्द्रमा गई भीडभाड नगरी स्वास्थ्यका मापदण्ड पूरा गरी खोप लिन मन्त्रालयले आग्रह गरेको छ ।
राष्ट्रिय सभा निर्वाचनको चटारो, दल दर्ताको समय आजसम्म मात्रै
काठमाडौं । राष्ट्रिय सभामा रिक्त १९ सदस्यका लागि आगामी माघ १२ मा निर्वाचन हुने भएको छ । यसका लागि दुई हजार २५ मतदाता कायम रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा स्थानीय तहका एक हजार चार सय ९३ जना र प्रदेश सभामा पाँच सय ३२ जना मतदाता रहेको आयोगले जनाएको छ । मतदानको लागि आठ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्रको व्यवस्था गरेको आयोगले जनाएको छ । निर्वाचनमा भाग लिन राजनीतिक दल दर्ताको समयावधि शनिबारसम्म तोकिएको छ । आयोगका अनुसार शुक्रबारसम्म माओवादी केन्द्र, एमाले, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी ९जसपा० र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी दर्ताको लागि निवेदन दिएको छ । कांग्रेस, लोकतन्त्रिक समाजवादी पार्टी र राप्रपाले शनिबार दर्ताको लागि आउने आयोगमा जानकारी गराएको छ । पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली र निर्वाचन चिन्ह दिने कार्यक्रम तय गरिएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले निर्वाचन अधिकृतमा नियुक्ति गरिसकेको छ ।
प्रतिक्रियावादीहरुकाे षडयन्त्र जारी छ, ढुक्क हुने अवस्था छैन- प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रमा अध्यक्ष प्रचण्डले संसद विघटनका शृंखलामार्फत लाद्न खाेजिएकाे प्रतिक्रियावादी षडयन्त्र परास्त गरेकाे भएपनि अझै ढुक्क हुन सकिने अवस्था नभएकाे बताएका छन् । नेकपा माओवादी केन्द्र र नेकपा मसाल सम्पर्क केन्द्रबीच पार्टी एकता कार्यक्रममा बाेल्दै प्रचण्डले इतिहासका उपलब्धि कुल्चिने षडयन्त्र अहिले पनि जारी रहेकाेले सचेत भइरहनुपर्नेमा उनले जाेड दिए । जनताकाे सेटिङका अगाडि प्रतिक्रियावादीकाे सेटिङ चल्दैन भन्ने प्रमाणित भएकाे बताउँदै प्रचण्डले सामन्तवादका अवशेस र दलाल पूँजिवादका एजेण्टहरुकाे चलखेल चलि नै रहेकाेले रिल्याक्स हुने अवस्था नभएकाे बताएका हुन । प्रतिक्रियावादी षडयन्त्रसँग लड्न कम्युनिष्ट शक्तिबी एकता अनिवार्य शर्त भएकाे उनले बताए । कार्यक्रममा बाेल्दै प्रचण्डले मसाल सम्पर्क केन्द्रसँगकाे एकताले पाँच दलीय गठबन्धनमा कुनै असर नपर्ने बताए । आफू माेहनबिक्रम सिंहकै स्कुलबा हुर्केकाे बताउँदै उनले पछिल्लाे समयमा माेहनबिक्रमसँग नयाँ ढंगले अघि बढ्ने विषयमा छलफल भएकाे बताए । हिजाेपनि अभिभावक हाे रअब पनि अभिभावकत्व ग्रहण गर्नुस भन्ने किसिमले सकारात्मक कुराकानी भएकाे उनकाे भनाई थियाे । मार्क्सवादलाई गतिशीलतामा बुझेर उपलब्धिकाे रक्षा गर्दै प्राप्त हुन नसकेका कुरा प्राप्तीका लागि समाजवादी क्रान्तिकाे तयारिमा अघि बढनुपर्ने बताए । नेकपा मसाल सम्पर्क केन्द्रका संयनेजकसहित ३८ जिल्ला कमिटी माओवादी केन्द्रसँग एक भएकाे हाे ।
विवेकशील साझा पार्टी परित्याग गरिन रञ्जु दर्शनाले
काठमाडौं । विवेकशील साझा पार्टीकी बागमती प्रदेश संयोजक रञ्जु दर्शनाले पार्टी परित्याग गर्नु भएको छ । । रञ्जुले आज पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई पत्र लेख्दै साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझाबाट अलग भएको घोषणा गर्नु भएको हो । उहाँले लेख्नु भएको पत्रमा भनिएको छ, ‘वि.सं. २०७० बाट सुरू भएको राजनीतिक यात्रामा कैयौं उताव–चढावहरू आए जसलाई पार गर्दै जीवन निरन्तर चलिरहेको छ। तर राजनीतिक यात्राको यो मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठन, मूल नेतृत्वमा मैले अधिकतम ढोंग पाएँ ।’ आफू राजनीतिमा सके सफा गर्छु, नसके फोहोर गर्दिनँ भनेर लागेको भन्दै उहाँले थप लेख्नुहुन्छ, ‘मेरो लागि यो भन्दा दुःख लाग्ने कुरा अन्य छैन । म राजनीतिमा सके सफा गर्छु नसके फोहोर गर्दिनँ भन्ने अठोटका साथ आएको व्यक्ति हुँ । वैकल्पिक राजनीतिक पार्टीको खोल मात्र ओढेको विवेकशील साझा पार्टीमा म आफ्नो समय, ऊर्जा, विद्धता, भावना, आर्थिक केही पनि कुरा प्रदान गर्न असमर्थ छु ।’ अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेबीच पार्टीले लिने विचारबारे तीव्र विवाद छ । अध्यक्ष मिश्र संघीयता खारेजी र धर्म निरपेक्षतामा जनमत संग्रह हुनुपर्ने विचारमा हुनुहुन्छ । रञ्जु तत्कालीन विवेकशील नेपाली दलको संस्थापक सदस्य हुनुहुन्थ्यो ।
सभामुखले बाेलाए कार्यव्यवस्था समितिकाे बैठक
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परापर्श समितिको बैठक बोलाउनु भएको छ । बैठक आज बिहान साढे ११ बजे संसद भवन नयाँबानेश्वरस्थित शंकर हलमा बोलाइएको हो । संसद् सञ्चालनका लागि आवश्यक छलफल गर्न प्रतिनिधिसभाको बैठकअघि समितिको बैठक बस्न लागेको हो । एमालेले दोस्रो पटक संसद पुनस्र्थापना भए यता हरेक बैठकमा अवरोध गर्दै आएको छ । आफुले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदहरुलाई निष्काषन नगरेसम्म संसदको अवरोध जारी राख्ने एमालेको अडान छ ।
एकीकृत समाजवादीले खोल्यो पार्टी कार्यालय, आजबाट सञ्चालनमा आउने
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले आजबाट पार्टी कार्यालय सञ्चालनमा ल्याउने भएको छ । एमालेमाबाट विभाजन भएर नेको एकीकृत समावादीले काठमाडौंको नयाँबानेश्वरस्थित आलोकनगरमा केन्द्रीय कार्यालय सञ्चालनमा ल्याउने भएको हो । पार्टीका अध्यक्ष माधवकुमार नेपालले आलोकनगरस्थित पूजा थापा बस्नेतको घरमा केन्द्रीय कार्यालय रहने बताउनुभएको छ । कार्यालय आज बिहान १० बजेदेखि आरम्भ हुने नेता नेपालले बताउनुभएको छ । उहाँले सबैबाट सकारात्मक सहयोगको अपेक्षा गरेकोसमेत बताउनुभएको छ । कार्यालयको विधिवत उद्घाटन अध्यक्ष नेपालले नै गर्ने कार्यक्रम रहेको उक्त पार्टीले जनाएको छ । पार्टीले संसदीय दलमा समेत आफ्नो छुट्टै दलको कार्यालय सञ्चालनमा ल्याइसकेको छ । त्यस्तै प्रदेशसभाहरुमा समेत एकीकृत समाजवादी पार्टीले मान्यता पाइसकेको छ । गएको भदौ २ गते एमालेबाट अलग भएर एकीकृत समाजवादी बनेको हो ।
नेपाली सेनामा खुल्यो बिभिन्न पदका लागि भर्ना
नेपाली सेनाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । कार्यरथी विभाग जंगी अड्डाले सूचना जारी गर्दै विभिन्न ट्रेडका प्राविधिक पदिक तथा बिल्लादार, अमल्दार कर्मचारी र पुजारी हुद्दा पदहरुको लागि दरखास्त आव्हान गरेको हो । हेर्नुस सूचना
कांग्रेस अधिवेशनः क्रियाशील सदस्यताबारे सभापति देउवाकै जिल्लामा लफडा
डेलधुरा । क्रियाशील सदस्यताका विषयमा नेपाली काँग्रेस डडेल्धुरामा फेरी लफडा शुरु भएको छ । सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा क्रियाशील सदस्यता सार्वजनिक भए पनि नियोजित षडयन्त्र गरिएको भन्दै फेरी विवाद सुरु भएको हो । क्रियाशिल सदस्यताको सुचिबाट केही व्यक्तिको नाम हटेपछि अधिवेशन गर्ने वा नगर्ने भन्नेमा विवाद चर्किएको छ । वडा अधिवेशन समेत सुरु नभएको डडेल्धुरामा सभापति देउवाको गुटमा रहेका नेताहरुले क्रियाशील सदस्यतामा धाँदली गरेको भन्दै पौडेल पक्षका नेता कार्यक्रताले विरोध गर्दै आएका छन् । विवादमा रहेको सदस्यताबारे केन्द्रीय छानविन समितिले बुझाएको ४ सय ४४ जनाको नाम हटाइएर पहुँचका आधारमा २ सय ८१ जनाको नाम थपेपछि सदस्यताको विवाद चर्किएको हो । -Imagekhabar
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
काठमाडौँ — हाल देशमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नम्बर १, प्रदेश नम्बर २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । २०७८ भदौ २१ गते (सोमबार) दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। राति: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश १, वाग्मती तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । २०७८ भदौ २२ गते (मंगलबार) दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश १, वाग्मती तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । राति: देशभर सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिमका धेरै र बाँकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । २०७८ भदौ २३ गते (बुधबार) दिउँसो: देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति: देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।