यस्ता छन् आजको लगानी बोर्ड बैठकका निर्णय

काठमाडौं ।  लगानी बोर्डको कार्यालयले चार जलविद्युत् आयोजनाको ९९ अर्ब २० करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ ।बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा  बसेको लगानी बोर्डको ५७ औं बैठकले चार जलविद्युत् आयोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको हो ।

जसमा १६६ मेगावाटको सुपर तमोर (३४ अर्ब ५९ करोड रुपैयाँ), ४२ मेगावाटको अप्पर मोदी ‘ए’ (१० अर्ब ८ करोड रुपैयाँ) , २५० मेगावाटको सोलार राइजन इनर्जी (२१ अर्ब १०  करोड रुपैयाँ) र १३९.२ मेगावाटको लोवर मर्स्याङदी (३३ अर्ब ४१ करोड रुपैयाँ) रहेको छ ।


राइजन इनर्जी र लोवर मनाङ मर्स्याङदी विदेशी लगानी भएका आयोजना हुन् । राइजनमा सिंगापुर र लोवर मनाङ मर्स्याङदीमा चिनियाँ लगानी रहेको  छ ।

लोवर मनाङ मर्स्याङदी बुटवल पावर कम्पनीसहित तीनवटा चिनियाँ कम्पनी छन । सिचुवान प्रोभिन्सियल इन्भेष्टमेन्ट ग्रुप, छेन्दु सिनचेङ इन्भेष्टमेन्ट ग्रुप र  कुइङ युआन इन्जिनियरिङ कन्सल्टेन्सीको ८० प्रतिशत सेयर छ । लोवर मनाङ मर्स्याङदी पिकिङ रन अफ दी रिभर (अर्ध जलाशय) प्रकृतिको आयोजना हो । गण्डकीमा निर्माण हुने यो आयोजना अन्नपूर्ण संरक्षित क्षेत्रभित्र पर्छ।

त्यसै गरी बोर्डको बैठकले  ६ अर्ब ६३ करोड रुपैयाँ  हुवासीन सिमेन्टको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले लगानी सम्मेलनको प्रभावकारी तयारी गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ ।

नेप्से निरन्तर वृद्धि, कारोबार रकम ३५ महिनायताकै उच्च

काठमाडौं । बुधबार पनि नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो सोमबार सामान्य करेक्सनपछि बढ्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। यस दिन नेप्से परिसूचक ५४.०४ अंक बढेर २३६४.६३ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १०.२५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.५५ अंक बढेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ९ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा यस दिन ३०६ स्टकको १ लाख ४९ हजार ६८१ पटकको कारोबारमा १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँ बराबरको ३ करोड २० लाख ९५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिनको कारोबार रकम करिब ३५ महिनायताकै उच्च हो। यस अघि २०७८ भदौ १५ गते १३ अर्ब १६ करोडभन्दा बढीको शेयर कारोबार भएको थियो। सोपश्चात आजै नेप्सेमा १२ अर्बबढीको शेयर खरिदबिक्री भएको हो। यस दिन सेन्ट्रल फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो फाइनान्सको शेयरमूल्य यस दिन ५४ रुपैयाँ ९० पैसा बढेर ६०३ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन सिंगटी हाइड्रो इनर्जी, आँखुखोला जलविद्युत कम्पनी, मन्दाकिनी हाइड्रोपावर लगायतका कम्पनीहरुको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। कारोबारमा आएको सिटिजन्स म्युचुअल फण्ड २ को इकाईमूल्य यस दिन सर्वाधिक ९.९० प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन सिंगटी हाइड्रो नै शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २३ करोड ५५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट बैंकको करिब २३ करोडको शेयर खरिदबिक्री भएको छ भने सोनापुर मिनरल्स एण्ड आयल र हिमाल दोलखा हाइड्रोपावरको कारोबार रकम २० करोड नाघेको छ। यस दिन पनि १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ७.३० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक साढे ५ प्रतिशत बढेको छ भने विकास बैंक उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ।

राष्ट्रपति पौडेलद्वारा ३ विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ३ वटा विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसदको दुवै सदनले पारित गरी पठाएका आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेको शीतल निवासले जनाएको छ ।

राष्ट्रिय सभा अध्यक्ष सहित २० सदस्यको आज बिदाइ

राष्ट्रिय सभाको कार्यकाल सकिएकाहरुको विदाइ र नवनिर्वाचित सदस्यहरुको स्वागत कार्यक्रम आज हुँदै

भ्रष्टाचारीलाई कारवाही भए अर्थतन्त्र सहि दिशामा जान्छ : मन्त्री किराँती

सुनसरी । पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भ्रष्टाचारीलाई कारवाही भए अर्थतन्त्र सहि दिशामा जाने बताएका छन् ।   धरान एक्स्पो २०८० को उद्घाटनपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री किराँतीले भ्रष्टाचारीहरुलाई कारवाही भएमा मुलुकमा सुशासन कायम हुने र कमजोर बनेको अर्थतन्त्र सहि दिशामा आउने दाबी गरे ।  वर्तमान गठबन्धनले पूर्णकार्यकालसम्म सरकार सञ्चालन गर्ने बताउँदै मन्त्री किराँतीले २०८४ को निर्वाचनमा समेत तालमेल गरिने बताए । मन्त्री किराँतीले निर्वाचनमा कुनैपनी दलले बहुमत ल्याउने अवस्था नभएकोले वर्तमान गठबन्धन कायमै रहने बताए ।

यूएईविरुद्ध ब्याटिङमा नेपालको खराब सुरुआत

काठमाडौं । एसीसी इमर्जिङ कपको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध नेपालले पहिलो पावर प्लेको समाप्तिमा दुई विकेट गुमाएको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले पहिलो ब्याटिङ पावर प्ले (६ ओभर)समाप्त हुँदा दुवै ओपनरलाई गुमाएको हो। नेपालले आसिफ सेखलाई आठ रनमा गुमाउँदा कुशल भुर्तेल गोल्डेन डकभए । जारी खेलको ६ ओभर समाप्त हुँदा नेपालले दुई विकेट गुमाएर ३० रन बनाएको छ । हाल क्रिजमा रहेका कप्तान रोहितकुमार पौडेल चार र सन्दीप जोरा १६ रनमा खेलिरहेका छन् ।

यस्तो छ वीरगन्जबाट काठमाडौं आउँदै गरेको बसमा सवार बेपत्ता यात्रुको विवरण

काठमाडौं । प्रहरीले वीरगन्जबाट काठमाडौं आउँदै गरेको वाग्मती प्रदेशको ०३–००६ ख १५१६ नम्बरको बसमा सवार यात्रुको विवरण सार्वजनिक गरेको छ ।  चितवन प्रहरीका अनुसार राति भरतपुर महानगरपालिका–२९ नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा आएको पहिरोमा परेर बेपत्ता बसमा सवार २४ जनाको विवरण सार्वजनिक गरेको हो । बस चालक जवाहिर महतो, बसका सञ्चालक राजेन्द्र केसी, यात्रुहरू वीरगन्ज महानगर–१४ का प्रकाश, अरवीन्द्र दुवे, हरिचन्द्र पण्डित, मुसहर्वा बाराका प्रमानन्द जी, सालिम मिया, रैजुल आलम, रामनगरी पर्साका कुलदिप, हृदयनारायण राउत छन् । चौधरी थरका सहचालकको नाम खुलेको छैन ।  भारतीय नागरिक अंसारी जी, सान्तोष ठाकुर, सुरेन्द्र साह, आदित मिया, सुनिल र सहनवाज आलम छन् ।  सातजनाको भने विवरण खुल्न बाँकी छ । 

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बङ्गलादेशको टोली विजय

काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)लाई पराजित गरेको छ। राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८१ को अवसरमा एनएफपिजे नेपालले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजना भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशले ५–३ गोलले पराजित गरेको हो। खेलमा बङगलादेशको तर्फबाट जाकिर होसेन सहिमले ३ र मय्हेदी हसन तोपुले २ गोल गरे भने नेपालबाट सुमन लिम्बुले २ र दीवाकर शेनले एक गोल फर्काए। मैत्रीपूर्ण खेल राष्ट्रिय फोटो पत्रकार समुह नेपालले आयोजना गरेको हो। फोटो पत्रकारिता दिवसको अवसरमा खेलकुदको माध्यमबाट छिमेकी राष्ट्रहरुसँगको आपसी सम्बन्ध बलियो बनाउँदै लैजाने उद्देश्यले मैत्रीपूर्ण फुटबल आयोजना गरिएको जानकारी सहित राष्ट्रिय फोटो पत्रकारिता दिवसको सबै फोटोप्रेमीहरुमा  समुहका अध्यक्ष प्रदीपराज वन्तले शुभकामना  दिए। नारायणगंज क्लबसँगको खेल खेल्नुअघि कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद् राखेप का सदस्य सचिव टंकलाल घिसिङले खेलाडीलाई बल हस्तान्तरण गरेका थिए। सहभागी सम्पूर्ण खेलाडीहरूलाई मेडल प्रमाणपत्रसंगै मायाको चिनो साटासाट गरिएको  थियो। कार्यक्रम सफल बनाउन राष्ट्रिय खेलकुद परिषद् राखेप ,गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ आरुबारी, प्रिण्टिङ्ग एक्सप्रेस, म नेपाली, गोल्ड स्टार सूज, एन्फा एकेडेमी, नेपाल एरहोस्टेज एकाडमी, हिमाल हस्पिटल, स्वतिश्री गुरुकुल स्कुल र ललितपुर महानगरपालिकाको सहयोग रहेको थियो।

आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्य सुरू भएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुन (अनन्त)ले बजेट सार्वजनिक गर्दै छन् ।

४७ अंकले बढ्यो नेप्से

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ४७ अंक बढेर बन्द भएको छ । मंगलबार नेप्से परिसूचक ४७.०४ अंकले बढेर २१०० विन्दुमा बन्द भएको हो । यसदिन चार अर्ब ५७ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बजार खुलेको एक मिनेटमा नै चार प्रतिशतले बढेर २० मिनेट बन्द भएको थियो। त्यसपछि पुनः पाँच प्रतिशत बजार बढेर ४० मिनेट बन्द भएको थियो ।  ११ बजेर २१ मिनेट जाँदासम्म बजार १०२.६८ अंकले बढेर २१५६.०७ विन्दुसम्म पुगेको थियो । त्यसपछि मध्याह्न १२ बजे खुलेको बजार निरन्तर ओरालो लागेको थियो ।    आज नेप्से परिसूचक २.२९ प्रतिशतले बढेको छ । २२७ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १७ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर छ । हिमालयन डिष्टिलरीको सेयर मूल्य प्रतिकित्ता ८.५४ प्रतिशतले वृद्धि भएको छ । कारोबारमा आएका १३ समूहको परिसूचक नै बढेको छ । परिसूचक सर्वाधिक वृद्धि उत्पादन तथा प्रशोधन समूहको ३।३ प्रतिशतले वृद्धि भएको छ ।  

क्रिकेटर लामिछानेको पुनरावेदनमाथि आज सुनुवाइ हुँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाप्रति गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ । यसअघि वैशाख ३ गते न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुङ्गेलको इजलासले तादी गाउँपालिकाको वडा नम्बर २ गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो। साथै, जन्ममिति सम्बन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश समेत गरेको थियो । उच्च अदालतको आदेशपछि तादी गाउँपालिकाको वडा नम्बर २ ले विवरण पठाइसकेको छ।जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका लामिछाने पुनरावेदनका लागि उच्च अदालत गएका थिए। लामिछानेले नेपाल सरकारलाई विपक्षी बनाई गत फागुन १० गते उच्च अदालत पाटनमा पुनरावेदन गरेका हुन्।जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा उनलाई दोषी ठहर गर्दै आठ वर्षको कैद सजाय सुनाएको छ।सो आदेश बदर गर्न लामिछानेले माग गरेका छन् ।

नेपालद्वारा बरोडासामु १५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी २० कपमा बरोडालाई जित्नका लागि १५७ रनको चुनौति दिएको छ ।  सुरुमा कमजोर ब्याटिङ प्रदर्शन गरेको नेपालले मध्य र अन्तिममा सम्हालिदा मध्यम लक्ष्य प्रस्तुत गर्न सकेको हो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाउन सक्यो । नेपालका कुशल मल्लले २५ बलमा अविजित ४० रनको योगदान गरे । यस्तै सन्दिप जोराले रन आउट हुनु अघि १६ बलमा २९ रन बनाए ।  यसैगरी अनिल कुमार शाह २७ बलमा २ चौका र १ छक्कासहित २५ रनमा क्याच आउट भए । उनी परिक्षित पाटिदारको बलमा टप एज लागेर आउट भएका थिए । कप्तान रोहित पौडेल १३ बलमा ३ चौकासहित १८ रनमा रन आउट हुन पुगे । गुलशन झा १४ बलमा १ चौकासहित १३ रनमा आउट भए । त्यसअघि नेपालले ओपनर आसिफ शेख र कुशल भुर्तेललाई ९–९ रनमा गुमाएको थियो । दुबै ओपनर तीव्र गतिका बलर बाबा खानको बलमा क्याच आउट भएका थिए । दिपेन्द्रसिंह ऐरी पाँच रनमा अविजित रहे । 

एसीसी प्रिमियर कपः साउदीसँग भिड्दै नेपाल

काठमाडौं । नेपाल एक खेल अगाडि नै एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगिसकेको छ । आज बुधबार नेपालले समूहचरणको अन्तिम खेलमा साउदी अरबसँग प्रतिपर्धा गर्दैछ ।  लगातार तीन खेलमा विजयी भएर ६ अंक जोडेको नेपाल यसअघि नै सेमिफाइनल पुगिसकेको छ । समूहचरणको अन्तिम खेल बुधबार बिहान ११ः४५ बजे सुरु हुँदैछ । शुक्रबार भएको पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको नेपालले शनिबार कतारलाई ३२ रनले पराजित गरेको थियो। तेस्रो खेलमा हङकङमाथि नेपालले आठ विकेटको शानदार जित दर्ता गरेको हो। नेपालको समूह विजेता बन्दै सेमिफाइनल खेल्न लक्ष्य छ।

ओली सरकार बिचौलियाले बनाएको पुष्टि भयो : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले काँग्रेस र एमालेलाई बिचौलिया र दलाल पुँजीपति वर्गले मिलाइदिएको बताएका छन् ।   पार्टी सम्बद्ध काठमाडौँ–दोरम्बा सम्पर्क मञ्चले शनिबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै पुनले प्रचण्ड नेतृत्वको सरकारले सुशासन कायम गर्न सञ्चालन गरेको भ्रष्टाचारविरोधी अभियानबाट तर्सिएका बिचौलिया र दलालहरुले राजनीतिक समीकरण फेरेको पछिल्लो घटनाक्रमहरुले पुष्टि गर्दै लगेको बताए ।  बिचौलियाहरुले नेपालमा प्रधानमन्त्री र मन्त्रीहरुको नियुक्ति र सचिव सरुवा गर्ने हैसियत बनाएको भन्दै उनले यो अवस्था अब लामो समयसम्म रहन दिन नहुने उल्लेख गरे ।  धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा करोडमा नभई अरबमा लेनदेन भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आफूले हिम्मतसाथ बिचौलियाको चाहनामा काम नगरेको उनले बताए।  ‘धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा भएको त्यही हो । प्रधानमन्त्री र मैले बिचौलियाले भनेअनुसार नियुक्ति सरुवा र बढुवा गर्न नमानेका कारण हामीलाई सरकारबाट हटाइयो’, उनले भने, ‘हामीले बिचौलियाको हित हुने गरी धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न इन्कार गरेकै हौं । भ्रष्टाचारविरुद्ध लड्दा सरकारबाट निकालिएका छौं। यो जनताले बुझेका छन् ।’   देशमा बिचौलियाले नियुक्त गरेका प्रधानमन्त्री र मन्त्री भएका कारण भ्रष्टाचार, अनियमितता र राज्य दोहनको प्रक्रिया तीव्र रुपमा बढेर जाने दाबी पुनले गरे। त्यस्ता प्रवृत्तिविरुद्ध प्रतिपक्षमा बसेर संघर्ष गर्ने नीतिमा आफूहरु रहेको पुनले बताए।  ‘हाम्रो अध्यक्ष प्रचण्डले डेढ वर्ष सरकारमा रहँदा भ्रष्टाचार, अनियमिताता र बिचौलिया प्रवृत्तिविरुद्ध संघर्ष गर्नुभयो । बाहिर आउँदा पनि माओवादीले सरकार चलाउँदा गलत काम गरेन भनेर मानिसहरुले भनिरहेका छन्’, उनले भने, ‘आफ्नो स्वार्थमा काम नगरेका कारण बिचौलिया र दलाल पुँजीपति वर्गले हामीलाई मन पराएन । थप एक दिन सरकारमा बस्न दिँदा पनि आफ्नो बर्बाद हुने भयो भनेर काँग्रेस र एमालेलाई मिलाउने काम उनीहरुले गरे ।’  सरकार कसले र केका लागि बनाएको थियो भन्ने विषयको पटाक्षेप ट्रंक लाइन र डेडिकेटेड लाइनको विद्युत महसुल नतिर्ने व्यवसायीहरुलाई सरकारले संरक्षण गरिरहेबाटै भएको तर्क उनले गरे ।  लाल आयोगले न्यायोचित ढंगले ८ अर्ब तिर्नुपर्छ भनेकामा सरकारका प्रधानमन्त्री र मन्त्रीहरुले तिर्नुपर्दैन भनेर हिंड्नुले उनीहरुको असली चरित्र उदाँगो भएको आरोप पुनले लगाए ।  प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले विद्युत महसुल तिर्दिन भन्ने उद्योगीलाई बोलाएर छलफल गर्नु गम्भीर विषय भन्दै उनले त्यसप्रति आपत्ति जनाए। ‘जनतालाई १८ घण्टा लोडसेडिङमा राखेर उद्योग चलाउनेहरुले महसुल तिर्दिन भनेर च्यालेन्ज गरिरहेका छन् ।  ठूूला दल,  प्रधानमन्त्री र मन्त्रीहरु तिर्नुपर्दैन भन्दै हिंडेका छन् । यसैले पुष्टि हुन्छ कि यो कसले कुन स्वार्थले बनाएको गठबन्धन रहेछ र सरकार कसको रहेछ?’, पुनले भने, ‘संसदको लेखा समितिलाई तिनीहरुलाई ल्याएर बैठक बसाइएको छ । यो गम्भीर कुरा हो ।’  सरकारमा रहेका दलहरु जनताको नभई बिचौलिया र दलाल पुँजीपतिहरुको हित संरक्षणमा लागेको आरोप उनले लगाए ।  सांसद पुनले बिचौलिया वर्गको हित संरक्षण गर्न नसकेका दिन वर्तमान केपी ओली नेतृत्वको सरकार बनाउनेहरुले नै ढाल्ने ठोकुवा गरे । पुनले काँग्रेस र एमालेले आफ्ना नागरिकलाई भुटानी बनाएर अमेरिका पठाउँछु भन्दै पैसामा बेच्ने, बुटवलसहित विभिन्न ठाउँमा सुकुम्बासीका नाममा सरकारी जमिन ओगटेर बेच्ने, बालुवाटारको सरकारी जमिन किर्ते गर्ने तथा ठूला भ्रष्टाचारका काण्ड घटाएकामा जनता स्पष्ट रहेको दाबी गरे ।   उनले दुई ठूला दलले संविधानमार्फत जनताले प्राप्त गरेका अधिकार खोज्ने र मुलुकलाई पछाडि फर्काउने गरी संविधान संशोधनको सहमति गरेको भन्दै त्यो सफल हुन नदिइने बताए । माओवादी र प्रचण्डका कारण मुलुकमा राजनीतिक अस्थिरता निम्तिएको भन्ने दुई दलको दाबी सही नभएको भन्दै पुनले दुई तिहाई बहुमतको संसद विघटन गर्ने केपी ओली र उनलाई बोक्ने काँग्रेसले अरुमाथि त्यस्तो आरोप लगाउन नसुहाउने तर्क गरे ।  सरकारबाट बाहिरिनुपर्दा पनि आफ्नो पार्टीको शीर्ष नेतृत्वदेखि कार्यकर्ता पंक्तिसम्म कुनै चिन्तामा नरहेको भन्दै पुनले सुशासनको मामिलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग पनि सहकार्य गरिने स्पष्ट गरे ।  फरक प्रसंगमा उनले पृथ्वीनारायण शाहपछिको युगनायक आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भएको बताए । पुनले प्रचण्ड नेतृत्वमा भएको १० वर्षे सशस्त्र माओवादी जनयुद्धले समाज परिवर्तनमा अतुलनीय भूमिका निर्वाह गरेको बताए ।   जनयुद्धका महिला, मजदुर, मधेसी, दलित, जनजाती, धार्मिक अल्पसंख्यक र किसानका पक्षमा गरिएको संघर्ष भएको चर्चा गर्दै उनले जनयुद्धले दबाएर राखिएका बोल्न नसक्नेलाई बोल्न सक्ने बनाएको तर्क गरे। जनताको अधिकारका लागि भएको संघर्षको नेतृत्व गरेका कारण कुनै दिन चोकचोकमा प्रचण्डको शालीक बनाउने अवस्था आउने दाबी उनको थियो ।

नेपाल एले टस जितेर आयरल्यान्ड एविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं । नेपाल ए ले पहिलो टी–२० अभ्यास खेलमा आयरल्यान्ड ए विरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपाल एका कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी–२० र एक दिवसीय सिरिज हुनेछ । विहीबार वर्षाको कारण पहिलो खेल रद्द भएको थियो ।  नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ तालिका निकालेर नेपाल ए र आयरल्यान्ड ए बीच तीन टी–२० खेल शुक्रबार, शनिबार र सोमबार हुने तय गरेको छ । त्यस्तै तीन एकदिवसीय खेल चैत २१, २३, र २५ गते हुनेछ । नेपाल एको प्लेइङ ११ मा कप्तान विनोद भण्डारी सँगै लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर अहमद, राशिद खान, सागर ढकाल, कमल सिंह ऐरी र हेमन्त धामी रहेका छन् । ए टिमका पवन सर्राफ, नारायण जोशी, विपिन खत्री र विकाश आग्रीलाई आज बेन्चमा राखिएको छ ।

पूर्वसचिव उपाध्याय भन्छन्: प्रचण्ड बाहेक अरू शीर्ष नेता जनतामाझ जान डराए

  काठमाडौं । पूर्वसचिव भिम उपाध्यायले नेकपा(माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाहेकका नेताहरु बिपतको स्थलगत अवलोकन र अनुगमनमा जान डराएका हुन ? भनेर प्रश्न गरेका छन् । सामाजिक तथा राजनीतिक विषयमा सामाजिक संजालमार्फत धारणा राख्दै आएका उपाध्यायले आज सामाजिक संजालमा  लेख्दै विपतका बेला प्रचण्ड मात्रै फिल्डमा देखिएको टिप्पणी गरेका हुन् । उनले सामाजिक संजालमा लेखेको स्टाटस जस्ताको तस्तै यो बाढी पहिरोबाट भएको बिपतको स्थलगत अवलोकन र अनुगमनमा जाने शिर्ष नेताहरूमध्ये एक मात्र प्रचण्ड रहेको देखिन्छ। अरूलाई जनतासंग डर रहेको हो र? पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड डुबान, बाढी तथा पहिरो प्रभावित जनताको घरदैलोमा पुग्नुभएको थियो ।  गत साताको बाढी र पहिरोमा प्रभावित बनेका जनतालाई राहतका लागि उपाध्यायले समन्वय र सहयोग गर्दै आएका छन् ।