यी सामान्य ५ प्रश्न: जसकाे उत्तर नजानेर आलोचित भइन् पुजा शर्मा (भिडियोसहित)

काठमाडौंः नायिका पुजा शर्मा आलोचनाको शिकार भएकी छन् ।

प्राइम टाइम टेलिभिजनमा प्रकाश सुवेदीको ‘रजतपट अंकल’ मा कुराकानी गर्ने क्रममा सामान्य प्रश्नहरूको समेत उत्तर दिन नसक्दा उनी अहिले आलोचनाको शिकार भइरहेकी हुन् ।

सामाजिक सञ्जालमा आलोचना मात्रै हैन, उनी ट्रोलको समेत शिकार भइरहेकी छन् । पुजालाई मुलुकको परिस्थिति, भौगोलिक अवस्थासमेत थाहा नहुनुलाई धेरैले अचम्मै मानेका छन् ।

आफुलाई प्रतिभावान नायिकाको रूपमा चिनाउने शर्मालाई नेपालको भौगोलिक अवस्था तथा राजनीतिका सामान्य ज्ञान समेत थाहा नभएको भन्दै धेरैले उनलाई आलोचनात्मक गाली पनि दिएका छन् । उक्त अन्तर्वार्ताको भिडियो निकै भाइरस भइरहेको छ, धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले सेयर गरिरहेका छन् ।

कार्यक्रममा पुजलाई अहिलेको अर्थमन्त्री को हुनुहुन्छ ? सञ्चारमन्त्री को हुनुहुन्छ ? ३ जना बहालवाला मन्त्रीहरुको भन्न आग्रह गरिइको थियो ? तर पुजाले कुनै पनि प्रश्नको उत्तर दिन सकिनन् । उनले आफूलाई राजनीतिकप्रति चासो नरहेको र केही जानकारी नभएको बताइन् ।

अचम्मको कुरा त के छ भने पुजालाई नेपालमा कतिवटा जिल्ला र प्रदेश छन् भन्ने पनि थाहा रहेनछ । पुजाले ७२ प्रदेश र १४ जिल्ला रहेको जवाफ दिएकी थिइन् ।

केही समयअघि लिइएको अन्तर्वार्ताको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोः प्राइम टेलिभिजन

 

‘हिजो आजका कुरा’ को ‘माया जदौ’लाई करोड भ्यु

काठमाडौंः समसामयिक हाँस्य कथामा निर्माण गरिएको फिल्म ‘हिजो आजका कुरा’ को ‘माया जदौ’ बोलको गीतले १ करोड भन्दा बढी भ्यु पाएको छ । २ महिनाअघि सार्वजनिक भएको गीतले दर्शकको उत्कृष्ट प्रतिक्रियासहित चर्चा पाइरहेको छ । साकार पन्तको डेब्यू निर्देशनमा बरिष्ट हास्य कलाकार सन्तोष पन्त नीर्मित ‘हिजो आजका कुरा’ को यस गीतमा रामकृष्ण ढकाल र मेलिना राईको स्वर, आनन्द अधिकारीको शब्द र दीपक शर्माको संगीत छ । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोमा बरिष्ट हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, नीर शाह, शम्भुजीत बाँस्कोटा, भुवन चन्द, बसुन्धरा भुसाल, मिथिला शर्मा, गौरी मल्ल, धीरेन शाक्य, रमा थपलीया, दिनेश डिसी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमीरे, जयनन्द लामा, शिबहरि पौडेल, केकी अधिकारी, ऋचा शर्मा, साकार पन्त, रिमा बिश्वकर्मा, जेबिका कार्की, नवीन के भट्टराई, नितेशजंग कुँवर, नम्रता श्रेष्ठ, यमन श्रेष्ठ, रमेश अधिकारी, सबिन शाक्य, मन्जु श्रेष्ठ, बिनय कुँइकेल, अनुष्का अधिकारी, लुनिभा तुलाधरलगायतका चर्चित कलाकारलाई प्रस्तुत गरिएको छ । कोरोना भाइरसका कारण जारी लकडाउनले गर्दा प्रदर्शन स्थगित गरिएको फिल्मको जनजीवन सामान्य भएपछि नयाँ प्रदर्शन मिति तय गरिने निर्माण पक्षले जनाएको छ । आफ्नो फिल्मको गीतले छोटो समयमै करोड भन्दा बढी भ्यु पाएकोमा निर्देशक साकारले खसी व्यक्र गरेका छन् । उनले गीत हेर्ने सम्पूर्ण दर्शकमा आभार व्यक्त गरेका छन् । फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलीया, लक्ष्मी भुसाल, केकी अधिकारी, ऋचा शर्मा,दिब्यदेव पन्त, रिमा बिश्वकर्मा, जयनन्द लामा, जेविका कार्की, रमेश अधिकारी, बिनय कुँइकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सबिन शाक् लगायतका कलाकारले अभिनय गरेका छन् । पन्त फिल्म प्रोडक्सनको ब्यानरमा प्रतिभा पन्त कार्यकारी निर्माता तथा बैकुण्ठप्रसाद उपाध्याय र सचितकुमार मिश्र सह–निर्माता रहेको फिल्मको कथा सन्तोष पन्तको हो भने पटकथा सन्दीप किस्नाले लेखेका हुन् । रवि सायमीले खिचेको फिल्म निर्माण घोषणा देखिनै चर्चामा छ ।

केकी र स्वस्तिमा अमेरिकन चलचित्रमा अभिनय गर्दै

काठमाडौंः २ नेपाली नायिका स्वस्तिमा खड्का र केकी अधिकारीले अमेरिकन चलचित्रमा काम गर्दैछन्। केही समयअगाडि नेपाल आएको चलचित्रको टिमले अडिसनबाट नै स्वस्तिमा र केकीलाई छनोट गरेको थियो। अमेरिकन चलचित्र निर्माण पक्षले अङ्ग्रेजी भाषामा निर्माण गर्न लागेको चलचित्रमा स्वस्तिमा अनुबन्धित भएकी हुन् यस चलचित्रमा स्वस्तिमाले मुख्य भूमिका निर्वाह गर्ने बताइएको छ। चलचित्रमा स्वस्तिमा र केकी दिदी(बहिनीको भूमिकामा प्रस्तुत हुने बताइए पनि क्न विषयवस्तुमा चलचित्र निर्माण हुँदै भन्‍ने विषय भने खुलाइएको छैन। अन्य कलाकार भने अमेरिकी रहनेछन्। कोरोना त्रासपछि उक्त चलचित्र अमेरिकामा छायाकंन हुनेछ।

रामायणले बनायो विश्व कीर्तिमान

लकडाउनको यो समयमा दूरदर्शनले आफ्नो एकदमै चर्चित शो ‘रामायण’ फेरि प्रशारण गरेको छ। पौराणिक कथामा आधारित यो कार्यक्रम सन् १९८० को दशकमा प्रदर्शनमा आएको थियो, अहिले लकडाउनमा यो टेलिभिजन श्रृंखला पुन: प्रशारण गरिएको थियो, दर्शकको दृश्य मूल्यांकन गर्दा यसको ‘भिओरसिप’ अहिले बढेको पाइएको छ। कार्यक्रमको नयाँ रेटिङ गर्दा ‘रामायण’ ले पुरानो सबैभन्दा धेरै हेरिएको टेलिभिजन शोलाई पछाडि पारेको छ। यो भारतको मात्र हैन पूरै विश्वकै रेकर्ड हो। विश्वमा सबैभन्दा धेरै हेरिएको शो ‘गेम अफ थ्रोन्स’ को अन्तिम संस्करलाई रामायणले जितेर नयाँ रेकर्ड बनाएको हो। १६ अप्रिल सम्म यो कार्यक्रम ७ करोड ७० लाख भन्दा धेरैले हेरेका छन्। र यो कार्यक्रमा विश्वमा नै धेरै हेरिएको टेलिभिजन कार्यक्रम बनेको छ। यो भन्दा अगाडि रेकर्ड बनाएको ‘गेम अफ थ्रोन्स’ लाई दिनमा १ करोड ९३ करोड पल्ट हेरिएको थियो। ‘रामायण’ मा स्टार अरुण गोभिल र दिपिका चिखाइला मुख्य भूमिका छन्। यस्तै गेम अफ थ्रोन्समा इमिलिया क्लार्के, लेना हेडे, माइसेई विलियम्स, सोफि टर्नर, किट ह्यारिङटोन लगायतका कलाकारहरु मुख्य भूमिकामा छन्। रामायण रामानन्द सागरले लेखेका र निर्देशन गरेका हुन्। यो कार्यक्र पहिलोपल्ट सन् १९८७ को जनावरी २५ देखि जुलाई ३१, १९८८ सम्म प्रशारणमा आएको थियो। त्यसको केही वर्षपछि रामायण विश्वमा नै धेरै हेरिएको पौराणिक कथामा आधारित टेलिभिजन कार्यक्रम अन्तर्गत पर्छ। एजेन्सी

‘माकुरी’ लिएर बजारमा आए किरण गौतम (भिडियोसहित)

काठमाडौंः नेपाली लोक दोहोरीमा कृयाशिल युवा गायक–सर्जक किरण गौतमको नयाँ लोक गीत ‘माकुरी’ आज सार्वजनिक भएको छ । विशुद्ध मनोरन्जनात्मक ठट्यौली शैलीको यो गीतमा लय तथा शब्द सर्जक किरण गौतमको रहेको छ भने नव गायिका शुसिता तामाङले किरणलाई स्वरमा साथ दिएकी छन् । बिक्रम चौहानको निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई प्रकाश खड्काले छायांकन गरेका हुन् । लक्ष्मण चौहानले सम्पादन गरेको म्युजिक भिडियोमा सुसिता तामाङ महेन्द्र बस्नेत र संजिव ठकुरीको अभिनय रहेको छ ।

पूर्वमिस नेपाल खतिवडा पनि ‘द लिडर’को निर्णायक

काठमाडौंः टेलिभिजन प्रस्तोता रवि लामिछानेले सञ्चालन गर्ने रियालिटी शो ‘द लिडर’को निर्णायकमा पूर्वमिस नेपाल शृंखला खतिवडा पनि सामेल हुने भएकी छन् । यसअघि नै उक्त रियालिटी शोको निर्णायकमा बाबुराम भट्टराई, सुशीला कार्की, रवीन्द्र मिश्र, प्रदीप गिरी, प्रदीप नेपाल रहेका छन् । यस्तै अडिसन जजको रुपमा पूर्व डिआइजी रमेश खरेल र शृंखला खतिवडा पनि रहने भएका छन् । चितवनबाट पहिलो अडिसन सुरु हुने उक्त रियालिटी शोको विजेताले अपार्टमेन्ट, गाडी र २० लाख रुपैयाँबाट पुरस्कार प्राप्त गर्ने छन् ।

इन्स्टाग्राममा पलले आँचललाई गरे अनफलो, किन ?

काठमाडौंः पल शाहको फ्यान क्रेज लोभलाग्दो छ । सामाजिक संजालमा पनि उनलाई पछ्याउनेको संख्या गज्जबको छ । सामाजिक संजाल इन्स्टाग्राममा पललाई पछ्याउनेको संख्या डेढ लाख छ । पलको यो लोभलाग्दो फ्यान क्रेजले पनि उनको स्टारडम कस्तो छ भनेर वुझ्न सकिन्छ । पलले सामाजिक संजाल इन्स्टाग्राममा भने निकै कमलाई मात्र पछ्याएका छन् । उनले केही समय अघिसम्म १० जनालाई फलो गरेका थिए । अहिले यो संख्या ७ मा झरेको छ । अचम्मलाग्दो कुरा त के छ भने, पलले केही समय अगाडिसम्म नायिका आँचल शर्मालाई पनि फलो गरेका थिए । आँचलले पनि पललाई इन्स्टामा पछ्याएकी थिइन् । तर, अहिले पलले आँचललाई अनफलो गरेका छन् । आँचलको सूचीमा पनि पलको नाम हटेको छ । नायिका आँचल शर्माले बिहिवार मात्र प्रेमी उदिप श्रेष्ठसँग बिहे गरेकी छिन् । आँचलको बिहे पक्का भएसँगै पलले उनलाई अनफलो गरेका हुन् । पल र आँचलको केही समय अगाडिसम्म प्रेम चर्चा थियो । तर, यी दुइले आफूहरुलाई राम्रो साथी भन्दै आएका थिए । पछिल्ला केही महिनादेखि भने यी दुइले एकसाथ काम पनि गरेका छैनन् ।

विवाह बन्धनमा बाँधिइन् आँचल शर्मा (तस्बिरसहित)

काठमाडौंः नायिका आँचल शर्मा आज विवाह बन्धनमा बाँधिएकी छिन् । प्रेम सम्बन्धमा रहेको केही समयपछि आँचलले प्रेमी उदिप श्रेष्ठसँग विवाह गरेकी हुन् । आज पारिवारिक माहोलबीच आँचल र सुदिपको विवाह बुढानिलकण्ठ स्थित पार्क भिलेजमा सम्पन्न भएको हो । विवाहमा आँचलले चलचित्र क्षेत्रका निकट साथीलाई मात्र निम्त्याएकी थिइन् । शनिवार उनले भव्य रिसेप्सन पार्टी आयोजना गर्दै छिन् । आँचल शर्माका श्रीमान् पेसाले मेडिकल डाक्टर हुन् । आँचलले करिब ६ महिना अघि मात्र आफ्नो प्रेम सम्बन्ध सार्वजनिक गरेकी थिइन् ।

अभिनेत्री आँचल शर्माको विहे, किन राखियो गोप्य ?

काठमाडौंः अभिनेत्री आँचल शर्माले आज विवाह गरेकी छन् । उनले प्रेमी डा. उदिप श्रेष्ठसँग विवाह गरेकी हुन् । एक वर्षदेखिको प्रेमलाई उनीहरुले आज विवाहमा परिणत गरेका हुन् । उनको विवाहको स्थान भने गोप्य राखिएको छ । विवाह किन गोप्य राखियो भन्नेबारे खुलाइएको छ । दुबैतर्फका सिमित सदस्यको उपस्थितिमा विवाह गरेको उनीहरूले चैत्र १ पार्टी आयोजना गर्दैछन् ।

‘सेन्टी भाइरस’को गीत ‘पार्टी जिताइदे’ सार्वजनिक (भिडियोसहित)

काठमाडौंः आउँदो शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘सेन्टीभाइरस’को नयाँ गीत ‘पार्टी जिताइदे’ सार्वजनिक गरिएको छ । केही अगाडि मात्र छायाँकन गरिएको यो गीत निर्माण युनिटले प्रमोसन गीतको रुपमा बनाएको छ । चितववनको भरपुरमा निर्माणधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला भित्र छायाँकन गरिएको गीत तामझाम साथ ‘पार्टी जिताइदे’ नारा गुन्जाउँदै छायाँकन गरिएको छ । गीतमा फिल्मका मुख्य कलाकार कुञ्जना घिमिरे, सन्दिप क्षेत्री, विल्सन विक्रम राई लगायत थुप्रै कोरस पनि प्रयोग गरिएको छ । गीतमा फिल्मको केही महत्त्वपूर्ण दृश्य पनि समेटिएको छ । गीतको निर्देशन चलचित्रका लेखक दीपक आचार्यले गरेका हुन् । गीतमा राजनीतिक पार्टीको प्रचारमा दुई पार्टी बिच भएको झगडा देखाउन खोजिएको छ । शुभविहानी फिल्मसको ब्यानरमा निर्माण भएको ‘सेन्टी भाइरस’मा सिताराम कट्टेल (धुर्मुस), कुन्जना (सुन्तली), सन्दीप क्षेत्री, विल्सन बिक्रम राई लगायतको अभिनय रहेको छ । फिल्ममा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ । २ करोडको लागतमा बनेको फिल्म डिन्डु लामा ह्योल्मोले निर्माण गरेका हुन् । फूर्पा लामा सह निर्मातामा रहेको फिल्म कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन् । रामबाबु गुरुङको निर्देशन रहेको फिल्मको आम्दानी मध्यको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’लाई दिने घोषणा समेत निर्माण युनिटले केही अगाडि गरेको थियो ।

बिहे गर्दै आँचल शर्मा, कहिले र कोसँग ?

काठमाडौंः अभिनेत्री तथा मोडल आँचल शर्मा बिहे गदैछन् । उनले फागुनमा बिहे गर्ने बताइएको छ । आँचल केही समययता डा. उदीप श्रेष्ठसँग प्रेम सम्बन्धमा रहेकी छन् । आँचल र उदीपले आफ्नो आफ्नो प्रेमसम्बन्धलाई फागुन २९ गते विवाहमा परिणत गर्ने भएका छन् । उनीहरू अहिले अहिले आफ्नो विवाहको तयारीमा व्यस्त छन् । आँचल र उदीपको लगनगाँठो बुढानिलकण्ठमा रहेको होटल पार्क भेन्यूमा कस्सिने भएको छ ।

मुस्ताङमा खिचिएको ‘के यो माया हो’ सार्वजनिक

काठमाडौंः मुस्ताङमा खिचिएको रोमान्टिक म्युजिक भिडियो ‘के यो माया हो’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गोविन्द राई र अनु चौधरीको स्वर सुन्न सकिन्छ भने गीतमा चिरन्जिबी अधिकारीको शब्द तथा दिपक राज विश्वकर्माको एरेन्ज तथा संगीत रहेको छ । म्युजिक भिडियोमा श्रृष्टि खड्का र चिरन्जिबी अधिकारी फिचर्ड छन् । गीतलाई निसान घिमिरेले निर्देशन गरेका हुन् भने कोरियोग्राफी प्रमोद कुमार भण्डारीको रहेको छ । भिडियोमा बुद्ध थापाको छायाँकन, सुरेश काफ्लेको ड्रोन, मनोज लामा र महि सिंहको मेकअप समाबेश रहेको छ ।

किन रुचाइयो डियर कमरेड?

काठमाडौंः युट्युबमा अपलोड भएको २४ घण्टा नबित्दै नेपाल ट्रेन्डिङको नम्बर १ मा उक्लियो, तेलगु भाषामा बनेर हिन्दीमा डब भएको फिल्म ‘डियर कमरेड’ । दस दिन बितिसक्दा पनि ट्रेन्डिङमा पहिलो स्थानमा रहेको यो फिल्म कस्तो छ त ? सामाजिक सञ्जालमा खुब चर्चा भइरहेको छ,‘डियर कमरेड’को। यसको मुख्य कारण हुन्– अभिनेता विजय देवरकोन्डा।‘अर्जुन रेड्डी’बाट विजयले टन्नै नेपाली फ्यान कमाएका थिए। यही फिल्मको हिन्दी रिमेक‘कवीर सिंह’पनि उस्तै रुचाइयो। शाहिद कपुरका लागि त यो फिल्म वरदान नै सावित भयो। त्यसैले नेपालमा समेत ‘डियर कमरेड’प्रतीक्षित थियो। तर दक्षिण भारतीय फिल्म हाम्रा हलमा लाग्दैनन्। त्यसैले ६ महिना अगाडि रिलिज भए पनि नेपाली दर्शकले बल्ल यो फिल्म हेर्न पाएका छन्। यसको निर्देशक हुन्, भारत कम्मा। विजयको चरित्र ‘अर्जुन रेड्डी’को भन्दा तात्विक भिन्न छैन– रिसाहा र आक्रामक। फरक कति भने यसपटक उनको आक्रोश अन्यायको विरुद्ध पोखिन्छ, आफूमात्र होइन, अरूमाथिको विभेद पनि सहँदैनन्। यही कारण उनी लोकप्रिय छन् र धेरैको आँखाको तारा पनि। सामाजिक जीवनलाई जत्तिकै प्राथमिकता दिइएको छ, उनको प्रेमसम्बन्धलाई। रश्मिका मन्दन्नसँगको केमिस्ट्री आकर्षक छ। कलेजको विद्यार्थी युनियनका नेता बब्बी (विजय)को क्रिकेटर लिली (रश्मिका) सँग माया बस्छ। तर बब्बीको रिस नियन्त्रण गर्न नसक्ने बानीले फाटो आउँछ। लिली पनि विजयभन्दा क्रिकेटलाई बढी माया गर्छिन्। उनको सपना छ– राष्ट्रिय टिमबाट खेल्ने। बिछोडको केही वर्षपछि उनीहरूको अस्पतालमा भेट हुन्छ। लिलीले क्रिकेट छोडिसकेकी हुन्छिन्। लिलीको जीवनमा त्यस्तो के भयो, जसले उनलाई आफ्नो सपनाबाट टाढा राख्यो? फिल्म यही सवालमा केन्द्रित छ। दक्षिण भारतीय फिल्मको विशेषता नै हो– लभ, रोमान्स, एक्सन र रोनाधोनाको मिश्रण। ‘डियर कमरेड’मा यी गुण त छँदैछन्, वर्तमान समयमा युवतीहरूले भोगिरहेको यौन दुर्व्यवहारको नियतिलाई मुख्य कथासँग प्रभावकारी ढंगले जोडिएको छ। शक्ति र सम्पत्तिको दुरुपयोग गरेर धेरै महिलामाथि हिंसा भइरहेको छ। त्यस्तैमध्येकी एक प्रतिनिधि पात्र हुन्, लिली। क्षमता छ तर उनी राष्ट्रिय टिममा पर्दिनन्। किन?सायद भन्नु पर्दैन। यही कारण उनी मानसिक समस्याबाट ग्रस्त हुन्छिन् तर आफ्नो असली पीडा कसैलाई पोख्न सक्दिनन्। यसरी छटपटाइरहेका युवतीहरू हाम्रो वरपर कति होलान्? पीडकले गल्ती स्विकार्नुको साटो झन् जाइलाग्ने विडम्बनालाई पनि निर्देशकले नजरअन्दाज गरेका छैनन्। लिलीप्रतिको बब्बीको प्रेम अभिव्यक्ति गर्ने शैली र त्यागले दर्शकको मन जित्छ। वियोगबाट निस्कन उनले रोजेको मार्ग उत्तिकै व्यावहारिक लाग्छ। कलेज र प्रशासनबाट विद्यार्थीमा हुने ज्यादतीलाई उनी कडा चुनौती दिन्छन्। उनका आदर्श हुन्छन्– हजुरबुबा। क्लाइमेक्समा लिलीमा भरिएको आँटलाई निर्देशक भारत कम्माले मर्मस्पर्शी ढंगले व्यक्त गरेका छन्। खासमा‘डियर कमरेड’को ‘मुटु’ नै क्लाइमेक्स हो। विजय र दक्षिण भारतीय फिल्म पारखीलाई यसले निराश पार्दैन। फिल्ममा देखाइएको विषयप्रति संवेदनशीलता खोज्नेका लागि पनि प्रिय हुन सक्छ। विजय र रश्मिकाले यसअघि ‘गीता गोविन्दम्’मा एकसाथ काम गरेका थिए। तेलगु भाषाबाटै ‘डियर कमरेड’ले भारु ३० करोड कलेक्सन गरेको थियो। त्यसपछि तामिल, कन्नड र मलयालम भाषामा डब गरियो। यसको हिन्दी रिमेकको राइट करण जोहरले किनिसकेका छन्, जोहरले भारु ६ करोड तिरेको सार्वजनिक भएको थियो। मुख्य भूमिकामा विजयलाई नै अफर गरिएको थियो, उनलाई भारु ४० करोड दिन तयार थिए जोहर तर विजयले अस्वीकार गरे।‘कवीर सिंह’पनि खेल्न मानेका थिएनन् उनले। उनले भनेका थिए– ‘मलाई उस्तै काम दोहोर्‍याएर गर्न मन लाग्दैन।’

सुदूरपश्चिमका कमल सोव आइडलको उत्कृष्ट ११ मा, भोटको अपिल

काठमाडौंः नेपाल आइडल सिजन–३ मा सुदूरपश्चिमका एक्ला प्रतिस्पर्धी कमल सोव उत्कृष्ट ११ मा पुगेका छन् । बिहीबार राति प्रसारित कार्यक्रमबाट उनी उत्कृष्ट ११ मा पुग्न सफल भएका हुन् । नेपाल आइडलको अडिसन धनगढी नभएपछि नेपालगञ्ज अडिसनबाट छनोट भएका सोव निर्णायहरूलाई प्रभावित गर्दै टप–१२ सम्म पुगेका थिए । भोटिङको आधारमा उनी उत्कृष्ट ११ पुगेका हुन् । अव उनको आइडल यात्रा दर्शकहरुको भोटले निर्धारण गर्ने छ । उत्कृष्ट १० का लागि उनले बिहीबार राति नै प्रस्तुति दिइसकेका छन् । उनले नेपाल आइलडकी प्रतिस्पर्धी रचना रिमालसँग ‘फुलपाती भाकेर मनकामना’ गीत गाएका थिए । कमलको गायनको जजहरूले निकै तारिफ गरेका थिए । उत्कृष्ट ११ पुग्न सफल कमलले उत्कृष्ट १० मा पुर्याउनका लागि भोट अपिल गरेका छन् । भोटिङकै आधारमा नेपाल आइडलको यात्रा निर्धारण हुने भएकाले भोट दिन उनले अपिल गरे । यस्तै, धनगढीमा ‘कमल सोव जिताउ अभियान’ समेत शुरू भएको छ । विजय कार्कीलगायतको अगुवाईमा सुदूरपश्चिमका एक्ला प्रतिस्पर्धी कमल सोवलाई जिताउन ‘कमल सोव जिताउ अभियान’ शुरू गरिएको हो । कसरी गर्ने भोट ? कमललाई शुक्रबार साँझ ८ः३० देखि सोमबार दिउँसो १२ बजेसम्म भोट गर्न सकिनेछ । कमलाई भोट गर्न मोवाईलको म्यासेज बक्समा गएर NI 01 लेखि 37000 मा पठाउनपर्ने छ । कमललाई भोटिङ गर्ने अन्य तरीका यसप्रकार रहेका छन्ः को हुन कमल ? ५ कक्षा सम्मको पढाई डोटीको बुडरमा गरेका शोव त्यसपछिको अध्ययनलाई अगाडि बढाउन धनगढी प्रवेश गरेका थिए । माध्यमिक शिक्षासम्मको पढाई सकेपछि सुदूरपश्चिमाञ्चल एकेडेमीमा भर्ना भएका शोवले स्थानीय स्तरमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागीता जनाउँदै आएका थिए । संगीतकार कुलीप राईबाट संगीत सिक्ने मौका पाएका उनले धनगढीका विभिन्न व्याण्डहरुमा समेत जोडिने मौका पाएका थिए ।

बिहे गर्ने तयारीमा आलिया र रणवीर

काठमाडौंः बलिउडमा अभिनेत्री आलिया भट्ट र रणवीर कपूर सबैभन्दा क्युट जोडीका रुपमा चिनिन्छन् । पछिल्लो समय यी दुईको विवाहको चर्चाले मिडियामा प्रथामिकता पाएको छ । याे जाेडीले आधिकारिक धारणा सार्वजनिक गरिसकेको नभए पनि उनीहरुले यसै वर्ष विवाह गर्ने अनुमान गरिएको छ । दुबैले पहिलो पटक एकसाथ अभिनय गरेको फिल्म ‘ब्रह्मास्त्र’ हो । जसको सुटिङ चलिरहेको छ । फिल्म अभिनयको सिलसिलमा उनीहरु एकअर्काेको झन् नजिक भएका छन् । केही भारतिय मिडियाले फिल्म युनिटका सदस्यलाई उद्घृत गर्दै आलिया र रणवीर बिवाहको तयारीमा जुटेको समाचार समेत बनाएका छन् । समाचारमा उनीहरु हनिमुन डेष्टिनेशनको खोजिमा रहेको समेत उल्लेख गरिएको छ । आलिया र रणवीर अभिनित फिल्म ‘ब्रह्मास्त्र’का निर्देशक अयान मुखर्जी हुन् । फिल्ममा अमिताभ बच्चनको पनि मुख्य भुमिका रहेको छ । फिल्ममा मौनी राय, नागार्जुन, डिम्पल कपाडिया, प्रतीक बब्बर समेतको अभिनय रहने छ । फिल्मको रिलिज यसै वर्ष हुने बताइएको छ ।

अक्षय कुमारको नाममा बनेका तीन कीर्तिमान, जो आजसम्म कसैले तोड्न सकेका छैनन्!

काठमाडौंः बलिउडका लोकप्रिय अभिनेता अक्षय कुमार उनलाई नचिन्ने सायदै होला । अक्षयले अभिनय गरेका केही चलचित्र ब्लकबस्टरको सूचीमा सूचिकृत छन । उनले आफ्नो करियरमा यस्ता केहि रेकर्ड बनाउन सफल भएका छन जसलाई आजसम्म कुनै अभिनेताले पनि तोड्न सकेका छैनन् १०० करोडको रेकर्ड! अक्षय कुमारले १ बर्षमा लगातार ३ सय करोडको कमाई गर्ने रेकर्ड बनाएका छन। उनि अभिनित १० चलचित्रले १०० करोडको आँकडा पार गरेको छ। जसमध्ये ३ चलचित्रले २ सय करोडको व्यापार गरेको छ। उनी अभिनित २.०  ले वैश्विक बक्स अफिसमा ८ सय करोड भन्दा बढी व्यापार गरेको छ। जुन बलिउडको सबैभन्दा बढी कमाई गर्ने तेस्रो चलचित्र हो। ५० हिट फिल्म  अक्षय कुमारको नाममा बलिउडमा ५० भन्दा बढी हिट फिल्म दिने अभिनेताको रेकर्ड बनेको छ । जसको आसपासमा आजसम्म पनि कुनै अभिनेता पर्न सकेका छैनन् । १३,००० करोडको रेकर्ड  अक्षयले आफ़्नो करियरमा अहिलेसम्म ११० चलचित्रमा अभिनय गरेका छन जसमध्ये उनको चलचित्रले कुल १३००० करोडको कलेक्सन गरेको छ। जुन कलेक्सनको पनि बलिउडमा रेकर्ड बनेको छ।