समितिलाई सभामुखको निर्देशन -'संसद्को अधिवेशनअघि नै विधेयक पारित गर्नू '

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को आगामी अधिवेशनअगावै महत्वपूर्ण विधेयकहरूमाथि छलफल गरी पारित गर्न संसदीय समितिहरुलाई निर्देशन दिएका छन् । 

मंगलबार संसद सचिवालय सिंहदरबारमा विभिन्न विषयगत समितिका सभापतिका साथै राष्ट्रिय दलका मुख्य सचेतक, सचेतकसँग सामूहिक रूपमा छलफल गर्दै सभामुख घिमिरेले आगामी अधिवेशनअगावै विधेयकहरू पारित गर्नेगरी तयारी गर्न ध्यानाकर्षण गराएका हुन् । 

आगामी अधिवेशनमा आउन सक्ने विधेयक, समितिमा विधेयकको अवस्था, आगामी अधिवेशनको तयारी लगाायतका विषयमा छलफल भएको सभामुख घिमिरेले जानकारी दिए । अझै पनि धेरै विधेयकहरू समितिमा टंग्गो लाग्न बाँकी रहेको र छिटो टुंग्याउने काममा गति दिन आफूले आग्रह गरेको उनले बताए । सभामुख घिमिरेले आगामी अधिवेशनको तयारी गर्नुपर्ने र अधिवेशनमा आउन सक्ने अप्ठेराहरु हल गर्न सबैले भूमिका खेल्न आग्रह गरे। 

बैठकपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले संविधान कार्यान्वयनका निम्ति धेरै विधेयकहरु समितिमा रहेकाले यसलाई छिटोभन्दा छिटो अघि बढाउनुपर्ने जोड दिइएको बताए। आगामी अधिवेशनमा समितिबाट धेरै विधेयकहरु पेस हुने उनको भनाइ छ। उनले सहकारीको समस्या पूर्णरूपमा समाधानका लागि आगामी अधिवेशनबाटै आवश्यक कानुन निर्माण हुने जानकारी दिए। 

मलाई मत दिएबापत तपाईँहरूले कहिल्यै पछुताउनुपर्ने छैन : सुहाङ

काठमाडौँ । इलाम २ मा भएको उपनिर्वाचनमा विजय भएपछि एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदातालाई आभार प्रकट गरेका छन् । साथै उनले आफूलाई मत दिएबापत कहिल्यै पछुताउनुपर्ने अवस्था आउन नदिने प्रतिबद्धता पनि जनाएका छन् ।  साथै उनले चुनाव प्रचारप्रसारमा अट्ने नेता कार्यकर्ताप्रति पनि ऋणी भएको बताएका छन्।उनले भनेका छन्–‘मकै गोड्ने, चिया टिप्ने, तरकारी रोप्न, अलैँची स्याहार्ने’ अनेकन कामलाई थाँती राखेर निर्वाचन अभियानमा अहोरात्र खट्नुभएका आमाबुवा, दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक आभार प्रकट गर्दछु।' हेर्नुहोस् सुहाङको आभार तथा धन्यवाद हार्दिक आभार तथा धन्यवाद  अति आदरणीय इलामेली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरु  इलाम क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य पदमा आफ्नो अमूल्य मत दिएर अत्यधिक मतले विजय गराउनुभएकोमा इलाम–२ का अति आदरणीय मतदाताहरुप्रति हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु । हजुरहरुको मनमा रहेको हामीप्रतिको अगाध माया, गहिरो विश्वास र भरोसालाई मतमा परिणत गरेर आफ्नो प्रतिनिधिको रूपमा मलाई छनोट गर्नुभएको छ ।   हाम्रा अग्रजहरूले गर्नुभएको कष्टसाध्य सङ्घर्ष, बलिदान र असाधारण त्यागको जगमा आज हामी उभिएका छौँ । इलामको माटोमा जन्मिएर पञ्चायती व्यवस्थाविरुद्ध देशभरी क्रान्तिको उज्यालो फैलाउने आदरणीय शहीदहरु रत्नकुमार वान्तवा, बमप्रसाद वान्तवाप्रति हार्दिक श्रद्धा–सुमन व्यक्त गर्दछु । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माणको नेतृत्वकर्ता इलामेली जनताका प्रिय नेता मेरो बुवा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धा–सुमन व्यक्त गर्दछु ।  सर्वप्रथम उहाँले देखाउनुभएको निष्ठाको बाटो र दिएर जानुभएको इमानको उज्यालोलाई शिरमा राखेर ‘समृद्ध इलाम ः  सुखी इलामेली’ हाम्रो साझा सपना र सङ्कल्प पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । इलामको माटोको कसम खाएर म यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु, ‘मलाई मत दिएबापत तपाईँहरूले कहिल्यै पनि पछुताउनुपर्ने छैन ।’ तपाईँ हामीलाई थाहा छ, परिवर्तनको आन्दोलनमा इलामेली अग्रजहरूले गौरवमय इतिहास निर्माण गर्नुभएको छ । उहाँहरूको नाम लिदा सबैको शिर श्रद्धाले झुक्छ । हाम्रो छाती गर्वले चौडा हुन्छ । यही गरिमा र गौरवलाई पछ्याएर हामीले समृद्धिको महाअभियानमा उज्यालो इतिहास निर्माण गर्नु छ । मैले अभियानको दौरानमा हजुरहरुसँग भनेको थिएँ, ‘वैशाख १५ गते इलामको समृद्धिको नयाँ अध्याय आरम्भ गर्ने दिन हो । मलाई एकपटक विश्वास जित्ने मौका दिनुहोस् ।’ हो, त्यो मौका दिनुभएको छ । अब समृद्धिको नयाँ अध्याय सुरु भएको छ ।  ‘मकै गोड्ने, चिया टिप्ने, तरकारी रोप्न, अलैँची स्याहार्ने’ अनकन कामलाई थाँती राखेर निर्वाचन अभियानमा अहोरात्र खट्नुभएका आमाबुवा, दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक आभार प्रकट गर्दछु । घर–दैलोको क्रममा वृद्ध आमाबुवाहरूले दिनुभएको आशीर्वादलाई शिरमा सजाएको छु । कलिला नानी बोकेर घर–दैलो गर्नुहुने आमा दिदीबहिनीहरु, भविष्यप्रतिको उज्यालो आशासहित अहोरात्र निर्वाचनमा खट्नुभएका इलामेली नौजवान साथीहरुको समर्पण र साथ अवर्णनीय छ । ‘अल द बेस्ट सुहाङ दादा’ भन्दै मसँग झुम्मिने कलिला नानीहरूका आँखामा प्रतिविम्बित निश्छल माया मनभरी सजाएको छु । समयको सीमाले कति ठाउँमा पुग्न सकिनँ । अभियानको क्रममा भेट्न नसके पनि आँखा रसाउनेगरी पठाउनु भएको भिडियो शुभकामना र सन्देशहरुले भावुक र अवाक बनाएको छ । सबैलाई एकमुष्ट धन्यवाद भन्छु । ती सबै भिडियो सन्देश, शुभकामनाहरू मसँग सुरक्षित छन् । तपाईँहरूसँग सकेसम्म छिट्टै भेट्ने बाचा पनि गर्दछु ।  मेरो हात समाएर ‘बाबु, अब युवाहरु तयार हुनुपर्छ । अब तिमी इलामेली जनताको सेवाको लागि तयार हुनुपर्छ’ भनेर इलामेली जनताको न्यानो काखमा पठाउनुहुने हाम्रो पार्टी नेकपा ९एमाले०का श्रद्धेय अध्यक्ष कमरेडप्रति आभारी छु ।  नेकपा ९एमाले० इलाम जिल्ला कमिटीका आदरणीय नेतृत्वगण, इलामका सबै आदरणीय नेता कमरेडहरूप्रति आभारी छु। इलामबाट राष्ट्रिय सन्देश प्रवाह गर्ने गहिरो सङ्कल्पका साथ अहोरात्र खट्नुहुने नेकपा (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी, नेपाल परिवार दलका आदरणीय नेता तथा कार्यकर्ताहरूप्रति आभार व्यक्त गर्दछु ।  म उम्मेदवार बन्दै गर्दा आफ्नो जिन्दगीको उर्वर समय पार्टीको विकास, विस्तार र आन्दोलनका लागि खर्चिनुभएका इलामका आदरणीय नेताहरूको भावनालाई शिरमा राखेको छु । उहाँहरूको कष्टसाध्य सङ्घर्ष, अभूतपूर्व त्याग र असाधारण योगदानप्रति सधैँ नतमस्तक छु । उहाँहरूप्रति असाध्यै ऋणी छु ।  हाम्रो सपना र सङ्कल्पलाई जनताका बिचमा प्रवाह गरिदिनुहुने सबै सञ्चारकर्मीहरू, निर्वाचन सम्पन्न गराउने कार्यका लागि मुख्य निर्वाचन अधिकृत, प्रशासन, सुरक्षाकर्मीहरू र कर्मचारी मित्रहरूलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु । गएको एक महिनायता सफलताको सङ्कल्प बोकेर निर्वाचनमा खटिने पार्टी कमरेडहरू, मत दिनकै लागि प्रवास, काठमाडौँदेखि समेत आइपुग्नुभएका प्रियजनहरूप्रति कृतज्ञ छु ।  स–शरीर इलाम उपस्थित हुन नसके पनि प्रवास र देशभरिबाट विभिन्न माध्यमबाट मलाई शुभकामना व्यक्त गर्नुहुने एवं प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैप्रति धन्यवाद व्यक्त गर्दछु ।  अन्तमा, फेरि पनि भन्छु, ‘हाम्रा अग्रजहरूले परिवर्तनको आन्दोलनमा गौरवमय इतिहास निर्माण गर्नुभएको छ । त्यही गरिमा र गौरवलाई बचाइराख्दै अब समृद्धिको अभियान सुरु गर्नेछौँ ।’  हाम्रो समाज इन्द्रेणी जस्तै धेरै रङ मिलेर बनेको छ । सात रङ मात्रै मिलेको इन्द्रेणी त त्यति राम्रो छ, अझ हाम्रो देश त सयौँ जातजाति, भासाभासी, धर्म, संस्कृति र भूगोलका जनता मिलेर बनेको छ । हाम्रो राष्ट्र गानले भने जस्तै यो सयौँ थुङ्गा फूलहरू मिलेर बनेको माला जस्तै छ । यो विविधता हाम्रो सम्पदा हो, हाम्रो शक्ति हो । विविधतायुक्त पहिचान हाम्रो साझा सम्पत्ति, अजस्र शक्ति र सामर्थ्य हो । इलामको निर्वाचनमा यही भावना प्रतिबिम्बित भएको मैले पाएको छु । हाम्रो सप्तरङ्गी समाजको शक्तिलाई थप बलियो र दरिलो बनाएर समृद्धिको बाटोमा मुलुकलाई लैजाने ऐतिहासिक जिम्मेवारी हाम्रो हो ।  इमान र निष्ठाको साथ मन, वचन र कर्मले लाग्ने वाचाको साथ फेरि पनि सबैप्रति आभार र धन्यवाद १  १८ वैशाख २०८१ इलाम  उही तपाईँहरूको स्नेही सुहाङ नेम्वाङ

सुदूरपश्चिममा नागरिक उन्मुक्तिका टीका थापा मन्त्री नियुक्त

धनगढी । सुदूरपश्चिम सरकार आज विस्तार गरेको छ।मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सांसद टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका हुन्।  आजै १ बजे थापाको शपथ ग्रहणको तयारी गरिएको छ। वैशाख ६ गते मुख्यमन्त्रीमा सोडारी नियुक्त भएका थिए। सोही दिन मुख्यमन्त्री सोडारीले भौतिक पूर्वाधार विकास मन्त्रीमा नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई नियुक्त गरेका थिए। आज बिहान मुख्यमन्त्री तथा मन्त्रपरिषद् कार्यालयमा बसेको सत्ता गठबन्धनको बैठकमा मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने विषयमा पनि समझदारी भएको छ।

कर्णाली सरकारले आजै पूर्णता पाउँछ  मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारले आजै पूर्णता पाउने बताएका छन्। मुख्यमन्त्रीसहित सबै मन्त्रालयको जिम्मेवारी आफैँले सम्हालेका उनले सत्ता साझेदार दलहरुसँगको समन्वयमा मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिन थालेका हुन् । उनले यही वैशाख १२ गते विनाविभागीयमन्त्रीका रूपमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक रनसिंह परियारलाई नियुक्त गरेका थिए। मंगलबार नेकपा (एमाले)को भागमा परेका भौतिक पूर्वाधार तथा सहरी विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त गरिने मुख्यमन्त्री कँडेलले बताए । माओवादीको भागमा परेका आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण, जलस्रोत तथा ऊर्जा विकासमन्त्री नियुक्त हुने जनाइएको छ । नियुक्त हुने मन्त्रीहरूको नाम मुख्यमन्त्री कँडेललाई दिइसकिएको माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका नेता राजकुमार शर्माले जानकारी दिए । दुवै दलबाट को–को मन्त्री हुने भन्नेबारे भने खुलाइएको छैन । मन्त्रीहरु नियुक्त गरेर पद तथा गोपनीयताको शपथ मंगलबार नै खुवाउने गरी गृहकार्य भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जनाएको छ। मुख्यमन्त्री कँडेलले गत चैत २७ गते कर्णाली प्रदेश सरकारको नेतृत्व ग्रहण गरेका थिए । रासस 

सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने भएका छन् । मंगलबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको संयुक्त बैठकले मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने सहमति गरेको हो । बैठकमा सहभागी माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता मानबहादुर धामीले मुख्यमन्त्रीले प्रदेश सभामा २१ गते विश्वासको मत लिने समझदारी भएको जानकारी दिए । उनकाअनुसार नागरिक उन्मुक्ति पार्टीलाई थप एउटा मन्त्रालय दिने सहमति पनि भएको छ । सहमतिअनुसार नाउपाकाले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाउनेछ । नाउपा प्रदेश सभा सदस्य टीका थापालाई मंगलबार नै मन्त्रीमा नियुक्त गरेर सपथ लिनेछन् । बैठकमा एमालेका तर्फबाट प्रमुख सचेतक सुरेन्द्र पाल, भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका नाउपाका कैलाश चौधरी, प्रदेश सभा सदस्य टीका थापा, स्वतन्त्र प्रदेश सभा सदस्य डा.ताराप्रसाद जोशी सहभागी थिए । एकीकृत समाजवादीसहित एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र प्रदेश सभा सदस्य जोशीको समर्थनमा सोडारी ६ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नाउपाका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्री बनाएका सोडारीले अरु मन्त्रालय आफैंसँग राखेका छन् । एमाले र माओवादी केन्द्रलाई समेत सरकारमा सहभागी हुन सोडारीले आग्रह गरेका छन् । तर, उनीहरु दुवै दलले विश्वासको मत पछि मात्र सरकारमा सहभागी हुने जनाएका छन् ।

स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन पूर्व अर्थमन्त्री जनार्दन शर्माको आग्रह

काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व मन्त्री जनार्दन शर्माले ‘सिधा कुरा’ अनलाइनले प्रसारण भएको स्टिङ अप्रेशनको सत्य तथ्य छानबिन गर्न आग्रह गरेका छन् । मंगलबार सामाजिक सञ्जालमा उनले स्टिङ अपरेशनको सत्य तथ्य छानबिन गरी सत्य कुरा जनता सामु ल्याउन जरुरी रहेको बताएका छन् ।  छानबिन बिना नै कुनै संस्था र व्यक्तिको मान मर्दन गर्न नहुने र अन्य प्रमुख समाचार गृहले पनि यस्ता विषयमा पाठ सिक्नुपर्ने बताएका छन् ।  उनले भनेका छन्–‘सिधा कुरा डटकम अनलाइनमा प्रसारणमा आयका 'डार्क फाइल' समाचारले निकै चर्चा पायो। यस्ता खालका स्टिङ अपरेशनको सत्य तथ्य छानबिन गरी सत्य कुरा जनता सामु ल्याउन जरुरी छ। छानबिन विना नै कुनै संस्था र व्यक्तिको मानमर्दन गर्नु हुँदैन। यस विषयमा अन्य प्रमुख समाचार गृहले पाठ सिक्दा राम्रो होला कि ?’

सुहाङको विजयोत्सवमा अध्यक्ष ओली सहभागी हुने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने भएका छन्। इलाम क्षेत्र नम्बर २ मा गत शनिबार भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएपछि विजयोत्सव मनाउन उनी इलाम जान लागेका हुन्। आज दिउँसो १ बजे इलाम चोकबजारमा आयोजना हुने विजयसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला उपसचिव रवीन्द्र सुवेदीले जानकारी दिए। इलाम–२ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ २७ हजार ७७२ मत प्राप्त गरी विजयी भएका हुन्।उनले कांग्रेस उम्मेदवार डम्बर खड्का भन्दा ५ हजार ८३० मत बढी ल्याएका छन्। खड्काले २१ हजार ९४२ मत प्राप्त गरे। २०७९ सालको प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले सांसद सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन भएको हो। सुहाङ स्वर्गीय सुवा नेम्वाङका छोरा हुन्।

उपप्रधानमन्त्री यादव र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ।संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको न्युयोर्कमा जारी ५७औँ बैठकमा भाग लिने सिलसिलामा उपप्रधानमन्त्री यादव र संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच आज भेटवार्ता भएको उनको सचिवालयले जनाएका छन् । संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा भएको भेटवार्तामा उपप्रधानमन्त्री यादवले संयुक्त राष्ट्रसङ्घको बडापत्र एवं सिद्धान्तप्रति नेपाल प्रतिबद्ध रहेको बताउँदै देशको सामाजिक–आर्थिक विकासमा राष्ट्रसङ्घले गरेको योगदानको सराहना गरेको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ। भेटवार्ताका क्रममा मन्त्री यादवले जलवायु परिवर्तन र विश्वमा बढ्दो द्वन्द्वका कारण नेपालले दिगो विकासका लक्ष्यहरूका साथै स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धि जोगाइराख्न चुनौतीपूर्ण भएकाले राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय विकास सहायता अपरिहार्य भएकामा जोड दिए। नेपालले गरिबी निवारण, स्वास्थ्य सेवाको विकास, प्रजनन दर र मातृ मृत्युदर घटाउनेलगायत जनस्वास्थ्यका क्षेत्रमा प्रगति गरेको जानकारी दिँदै भूवरिवेष्टित एवं अतिकमविकसित राष्ट्र नेपाललाई विकासका निम्ति बाह्य सहायता आवश्यक भएको उपप्रधानमन्त्री यादवले बताए। महासचिव गुटेरेसले नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सम्बन्ध र सहयोग प्रगाढ रहेकामा प्रशन्नता व्यक्त गर्दै हालैको आफ्नो नेपाल भ्रमणको स्मरण गरेका थिए । उनले मानवअधिकार, विश्व शान्ति र सुरक्षा एवं दिगो विकासका लक्ष्यहरू प्राप्तिमा नेपालले गरेको योगदानको मुक्तकण्ठले प्रशंसा गरे। महासचिव गुटेरेसले शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसङ्घअन्तर्गत शान्ति सेना परिचालन गर्ने मुलुकहरूमा नेपाल अग्रस्थानमा रहेको बताउँदै नेपाली शान्ति सेनाले निर्वाह गरेको भूमिकाको सराहना गरे। साथै उनले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिको पनि प्रशंसा गरे । स्वास्थ्य क्षेत्रका निम्ति राष्ट्रसङ्घीय निकायहरूमार्फत थप सहयोग प्रदान गर्ने उनको प्रतिबद्धता छ। उक्त नियोगका अनुसार महासचिव गुटेरेसले नेपालले जलवायु परिवर्तनका असर भोग्नुपरेकाले त्यसलाई सम्बोधन गर्न सम्बद्ध पक्षबाट सहयोग हुनुपर्नेमा जोड दिँदै नेपालले सहायता पाउनु उसको अधिकार रहेको बताए। हरित ग्यास उत्सर्जनमा नगण्य गोयदान गरेको नेपाललाई ‘जलवायु न्याय’का आधारमा न्यूनीकरण तथा अनुकूलन सहायता प्रदान गर्नुपर्नेमा उनले जोड दिए। त्यस अवसरमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापासहित नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरूको उपस्थिति थियो ।

इलाम २ मा माओवादीको साथ पाएका एमालेका सुहाङ नेम्वाङ विजयी

माओवादी केन्द्रको समेत साथ पाएका सुहाङ निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै विजयी भएका हुन् ।

गण्डकीका मुख्यमन्त्री खगराजको नियुक्ति वैधानिक, सुरेन्द्र पाण्डेको रिट खारेज

पोखरा । गण्डकी सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासले कांग्रेस संसदीय दलको नेता सुरेन्द्रराज पाण्डेले दर्ता गरेको रिट खारेज गरिदिएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । एमाले संसदीय दलका नेता खगराज अधिकारीले सभामुखलाई समेत गणना गरेर दाबी पेसपछि मुख्यमन्त्री बनेपछि कांग्रेस संसदीय दलको नेता सुरेन्द्रराज पाण्डेले रिट दायर गरेका थिए । गत चैत २८ गते सर्वोच्च अदालतले मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन असर गर्ने निर्णय नलिन अन्तरिम आदेश जारी गरेको थियो ।

मोहन बैद्यको पार्टी फेरि चोइटियो

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालमा गम्भीर वैचारिक, राजनीतिक, आर्थिक, सांगठनिक तथा सांस्कृतिक समस्या देखापरेको भन्दै गत वर्ष बैशाख १८ गते भएको तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (बहुमत) र तत्कालिन नेकपा (क्रान्तकारी माओवादी) बीचको एकता भङ्गको घोषणा भएको छ ।  सचिवालय सदस्य समरजङले उक्त एकता घोषणा भङ्ग भएको बताएका हुन् ।  रिपोर्टर्स क्लब नेपालमा आज (सोमबार) पत्रकार सम्मेनलको आयोजना गरेर समरजङले अब सच्चा क्रान्तिकारी कम्युष्निटहरु एकजुट हुन आवश्यक रहेको बताए । उनले वैज्ञानिक समाजवादी जनक्रान्तिको कार्यदिशामा गोलबन्द हुन सबैमा अपिल समेत गरेका छन् । पार्टीमा असहमति पत्र बुझाउनेहरुमा भने समरजंग, विप्लव, खलिल, हरि श्रेष्ठ, विनोद थापा, शम्भु फुयाँल, नवराज भट्ट, युगान्त लगायत रहेका छन् ।  पार्टीभित्र देखापरेका सबैखाले समस्या हल गर्नको लागि पटक पटक अध्यक्ष मोहन बैद्यसँग छलफल भएको भएपनि निकास निकाल्ने र आन्दोलनलाई गति दिने विषयमा कुनै ठोस पहल नभएकोले आफूहरु अलग हुने निश्कर्षमा पुगेको उनीहरुको भनाई छ । उनीहरुले अध्यक्ष बैद्यमाथि जनवादी केन्द्रीयताको उल्लंघन गरेको र पार्टी एकताको नाममा केन्द्रीय कमिटीलाई पङ्गु बनाईएको, गुट तथा निहित आर्थिक स्वार्थको बन्दी बनाईएको गम्भीर आरोप लगाएका छन् ।  उनीहरुले अध्यक्ष बैद्यमा रुढीवाद हाबी रहेको निश्कर्षसहित अब त्यो विचारले नयाँ क्रान्तिको नेतृत्व गर्न नसक्ने ठोकुवा गरेका छन् । समरजङ्ले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘विश्वसाम्राज्यवादले सच्चा कम्युष्निटहरुमाथि चौतर्फी हलमा गरिरहेको सन्दर्भमा सर्वशक्तिमान विचारको उच्चतम चरण माओवादलाई लत्याउँदै महान जनयुद्धलाई ‘सामाजिक फाँसीवाद’, र उग्रवामपन्थी भड्कावको मिथ्या आरोप लगाउँदै जनयुद्धकालमा प्रतिकारमा संलग्न गुटहरुसँग गरिएको कथित पार्टी एकता हाम्रा लागि अस्विकार्य छ । परन्तु हामी विगतका सम्पूर्ण न्यायपूर्ण आन्दोलनका उपलब्धिहरुको रक्षा, समिक्षा र सच्चा क्रान्तिकारीहरुसँग सहकार्य, कार्यगत एकता र एकताको ढोका बन्द गर्ने पक्षमा भने छैनौं ।’  उनीहरुले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निरंकुश एवम् घोर सामन्तवादी प्रवृत्तिबाट ग्रस्त रहेको आरोप पनि लगाएका छन् ।

डढेलो तथा आगलागी प्रभावितको सहायतामा खटिन माओवादीको निर्देशन

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले डढेलो एवं आगलागीलगायत विपद्का घटनाबाट प्रभावित नागरिकको उद्धार, राहत र मानवीय सहायता व्यवस्थापनमा खटिन नेता(कार्यकर्ता एवं स्वयंसेवकलाई निर्देशन दिएको छ। देशव्यापी रुपमा आगलागी र डढेलोलगायत विपद्का घटना बढेसँगै माओवादीले मातहतका पार्टी कमिटीलाई उक्त निर्देशन दिएको हो। माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले आज विज्ञप्ति जारी गर्दै पीडित परिवार तथा समुदायलाई उद्धार, राहत, उपचार तथा सुरक्षाजस्ता आधारभूत सेवा प्रदान गर्न राज्यका सबै निकायको गम्भीर ध्यानाकर्षणसमेत गराएका छन्। माओवादीले दमकल, एम्बुलेन्स, खाद्यान्न, औषधोपचार आदिको प्रबन्ध गरी पूर्वतयारीलाई चुस्त बनाउन स्थानीय तहलाई अपिल गरेको छ। माओवादीले विपद्का जोखिम कम गर्न, घटना भइहाले शीघ्र प्रतिकार्य गर्न आफ्ना पालिकाबासीलाई जनचेतनाका कार्यक्रममार्फत् घरेलु र स्थानीय उपायसहित तम्तयार अवस्थामा राख्न पनि आह्वान गरेको छ। प्रवक्ता सापकोटाले विपद्मा प्रभावकारी उद्धार तथा तत्काल राहतका लागि स्थानीय तहलाई सहयोग गर्न, पालिकालाई सबल बनाउन तथा आवश्यक सामग्रीको व्यवस्था गर्न प्रदेश तथा संघीय सरकारको ध्यानाकर्षण गराए। माओवादीले विभिन्न विपद्का घटनाका कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि र पीडित एवं प्रभावितमा सहानुभूति प्रकट गरेको छ। गर्मी र सुक्खापन बढेसँगै देशका विभिन्न भागमा आगलागी एवं डढेलोका घटना वृद्धि भएका छन्। डढेलोका कारण जनधनको क्षतिका साथै हजारौं नागरिक पीडित हुन पुगेका छन्। देशैभरि वायु प्रदूषणको उच्च मात्रा र तापक्रममा उच्च वृद्धिका कारण तराईरमधेसका जिल्लामा तातो हावाको लहर चल्दा दैनिक जनजीवन कष्टकर बनेको छ।

इलाम–२ मा आधा मत गनिसक्दा, सुहाङलाई ५३ सयको अग्रता, लिम्बुले कटाए २ हजार

काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपचुनाव अन्तर्गत् जारी मत गणनामा नेकपा (एमाले) ले ५ हजार ३०२ मतले अग्रता लिएको छ। एमाले उम्मेदवार सुहाङ नेम्वाङले १४ हजार ६१३ मत प्राप्त गरेका छन् भने नेम्वाङलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ९ हजार ३११ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८ हजार ५७० मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बूले २ हजार ५७ मत पाएका छन् । इलाम–२ मा अहिलेसम्म फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ र माइ नगरपालिकाको ६, ७  र ८ नम्बर वडाको मतगणना भइसकेको छ। देउमाइ नगरपालिकाको मतगणना भइरहँदा अहिलेसम्म त्यहाँ ३५ हजार ६११ सदर मतगणना भएको छ । १ लाख १५ हजार ८८९ मतदाता मध्ये शनिबार भएको चुनावमा ६९ हजार २८७ मत खसेको थियो । २०७९ को चुनावमा विजयी भएका एमाले उम्मेदवार सुवास नेम्वाङको निधन भएपछि यहाँ उपचुनाव भएको हो ।

एमाले उम्मेदवार नेम्बाङ ४६८३ मतले अगाडि

काठमाडौं । इलाम २ को मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले फराकिलो मतान्तर बनाएका छन् । ३२ हजार १९४ मत गणना हुँदा नेम्बाङले १३,०६९ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ८,३८६ मत प्राप्त गरेका छन् । नेम्वाङका निकटतम् प्रतिद्वन्द्वी दुई उम्मेदवारबीच ४६८३ मतको अन्तर भएको छ । जारी मतगणनामा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८०९८ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले १७१३ मत पाएका छन् ।

बझाङ १ प्रदेशसभामा एमालेका दमनबहादुर भण्डारी निर्वाचित

धनगढी । बझाङ (१) को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेद्वार दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । सोमबार दिउँसो सकिएको मतगणनामा उनले ११ हजार ६१३ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत पाए । मत गणना सकिए पनि निर्वाचन आयोगले मत परिणाम औपचारिक रुपमा सार्वजनिक गरिसकेको छैन । प्रमुख निर्वाचन अधिकृत सुदर्शन लामिछानेले उम्मेदवारले मुचुल्कामा हस्ताक्षर गरिसकेपछि औपचारिक रूपमा अन्तिम मत परिणाम घोषणा गरिने बताए । उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले ३ हजार ८३१ मत पाए भने चौथो भएको एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१४ मत पाएका छन् ।

सुहाङले कटाए ११ हजार मत, डम्बरसँग ३७३४ को अग्रता

काठमाडौं। इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ११ हजार मत कटाएका छन् । सोमबार बिहान ११ः१० को अद्यावधिक विवरणअनुसार सुहाङले ११ हजार ९ मत प्राप्त गरेका हुन् ।  यसैगरी दोस्रो स्थानमा रहेर उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले ७ हजार २७५ मत पाएका छन् । उनीहरुबीच ३ हजार ७ सय ३४ मतको अन्तर छ ।   यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले ५ हजार ८६९ मत पाएका छन् ।  चौथो स्थामा रहेका स्वतन्त्र पार्टीका मिलन लिम्बुले १ हजार ५ सय ९ मत पाएका छन् ।  २६ हजार ४३९ सदर मत गणना हुँदा स्वतन्त्र उम्मेदवार डाक प्रसाद गौतमले एक मत पनि पाउन सकेका छैनन् । अर्का उम्मेदवार धनराज राना मगरले २ मत पाएका छन् ।  शनिबार उपनिर्वाचन भएको इलाम २ को मतगणना आइतबारदेखि भैरहेको छ ।