केजरीवाललाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

एजेन्सी । भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । उनले जुन १ सम्मको आन्तरिक जमानत प्राप्त गरेका हुन् ।

यसअघि सम्पत्ति शुद्धीकरण मुद्दामा उनी पक्राउ परेका थिए।

न्यायाधीशहरु सञ्जीव खन्ना र दीपंकर दत्तको इजलासले यस्तो आदेश दिएको हो।

केजरीवाललाई जमानत दिने विषयमा ईडीले चर्को विरोध गरेको थियो। 

केजरीवाल हाल तिहाड जेलमा रहेका छन् । उनलाई मार्च २१ मा ईडीले पक्राउ गरेको थियो । सर्बोच्चको फैसला अनुसार उनले अब चुनावको प्रचार गर्न समेत पाउनेछन् । 

इरानी राष्ट्रपतिको पाकिस्तान भ्रमणबारे अमेरिकाको कडा चेतावनी

एजेन्सी । इरानी राष्ट्रपति इब्राहिम रायसीको पाकिस्तान भ्रमणमा दुई देशबीचको व्यापारिक सम्झौताका विषयमा अमेरिका कडा चेतावनी दिएको छ। अमेरिकाले इरानसँगको व्यापार सम्झौताका विषयमा पाकिस्तानलाई  ‘प्रतिबन्धको सम्भावित जोखिम’ बारे चेतावनी दिँदै इरानविरुद्ध कारबाही जारी राख्ने प्रतिक्रिया दिएको हो।  पाकिस्तानको ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमको आपूर्तिकर्ताहरूविरुद्ध प्रतिबन्धलाई जोड दिँदै अमेरिकी विदेश मन्त्रालयका उपप्रवक्ता वेदान्त पटेलले भने, ‘हामी जहाँसुकै भए पनि आम विनाशकारी हतियार खरिदसँग सम्बन्धित गतिविधिहरूमा अवरोध र कारबाही जारी राख्नेछौं।’ उनले अगाडि भनेका छन्, ‘मैले भन्ने यत्ति मात्र हो– कुनै पनि देशलाई प्रतिबन्धको सम्भावित जोखिमबारे होसियार रहन सल्लाह दिन्छु। तर अन्ततः पाकिस्तानी सरकारले आफ्नो विदेश नीति आफैँले बनाउन सक्छ।’

चीनमा आँधीका कारण ११ जना बेपत्ता

बेइजिङ । दक्षिणी चीनमा आँधीबेहरीका कारणले एघार जना बेपत्ता भएका छन् । दशौँ हजारलाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको राज्य मिडियाले सोमबार जनाएको छ ।   पछिल्लो समयमा गुआङ्गडोङको दक्षिणी प्रान्तमा भारी वर्षा भएकाले नदीहरूको सतह बढ्दा गम्भीर बाढीको डर बढेको छ । यस्तो ‘शताब्दीमा एक पटक मात्र’ हुने राज्य मिडियाले बताएको छ । गुआङ्गडोङका धेरै भागमा लगातारको भारी वर्षाले ११ जना बेपत्ता भएको स्थानीय आपत्कालीन व्यवस्थापन विभागलाई उद्धृत गर्दै राज्य समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । बाढीको जोखिमबाट बचाउन ५३ हजारभन्दा बढी मानिसलाई स्थानान्तरण गरिएको एजेन्सीले जनाएको छ ।  तीमध्ये ४५ हजारभन्दा बढीलाई उत्तरी गुआङ्गडोङ सहर किङयुआनबाट विस्थापित गरिएको थियो । उक्त सहर फराकिलो नदी डेल्टामा सहायक नदी बेई नदीको किनारमा फैलिएको छ ।  सोमबार पनि भारी वर्षा जारी रहने अनुमान गरिएको छ । मौसम विज्ञान अधिकारीहरूले ‘गुआङ्गडोङको तटीय पानीमा आँधीबेहरी र तीव्र हावा’ हङकङ र शेन्जेनलगायत प्रमुख सहरहरूको सिमानामा रहेको समुद्री क्षेत्रमा रहेको पूर्वानुमान गरेका छन् । फुजियान, गुइझोउ र गुआङ्सीलगायत छिमेकी प्रान्तहरू पनि ‘अल्पकालीन भारी वर्षा’ बाट प्रभावित हुने राष्ट्रिय मौसम विज्ञान केन्द्रले जनाएको छ । गुआङडोङ चीनको सघन जनसङ्ख्या भएको प्रान्त हो । यहाँ करिब १२ करोड ७० लाख मानिस बस्छन् ।  जियाङवान सहरमा भारी वर्षाका कारण भूस्खलनमा छ जना घाइते भएका छन् भने धेरैजना प्रभावित भएका छन् । राज्य प्रसारणकर्ता सिसिटिभीको तस्बिरहरूमा खैरो माटोको पर्खालले घरहरू ध्वस्त पार्दा मानिसहरू प्रभावित भई सार्वजनिक खेलकुद कोर्टमा शरण लिइरहेको देखाइएको छ । पर्ल नदीको सहायक नदीहरूमा सोमबार बिहान चेतावनी सीमाभन्दा पाँच दशमलव आठमाथि बाढी आउने सिसिटिभीले रिपोर्ट गरेको छ ।

माल्दिभ्समा भारतविरोधी पार्टीलाई दुई तिहाइ बहुमत

एजेन्सी । माल्दिभ्समा भारत विरोधी र चीन निकट मानिने राष्ट्रपति मोहम्मद मुइज्जुको पार्टीलाई बहुमत प्राप्त भएको छ। आइतबार माल्दिभ्समा भएको निर्वाचनबाट मुइज्जुको पार्टी पिपुल्स नेसनल कंग्रेसले ९३ मध्ये ६० भन्दा बढी सिट जितेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ। त्यहाँ १३० स्वतन्त्र सहित ३६८ जना उम्मेदवार रहेकोमा पूर्वराष्ट्रपति मोहम्मद सोलिहको मालदिभियन डेमोक्र्याटिक पार्टीले १५ सिट मात्रै जित्ने अनुमान गरिएको छ। गत सेप्टेम्बरमा मोहम्मद सोलिहलाई पराजित गर्दै मुइज्जु माल्दिभ्सको राष्ट्रपति बनेका थिए । उनी राष्ट्रपति निर्वाचित भएपनि संसदमा भने मालदिभियन डेमोक्र्याटिक पार्टीको बहुमत थियो । निर्वाचन परिणाम अनुसार अब संसदमा पनि राष्ट्रपति मुइज्जुको पार्टीको बहुमतमा हुनेछ। उनी चीन निकट मानिन्छन्। राष्ट्रपति बन्नासाथ उनले आफ्नो औपचारिक भ्रमणसमेत चीनबाट सुरू गरेका थिए । यसबाट भारत थप रूष्ट बनेको थियो। मुइज्जुले माल्दिभ्सबाट भारतीय सेना फिर्ता गर्नसमेत आग्रह गरेका थिए । माल्दिभ्सबाट भारतीय सेना फिर्ता हुनुपर्ने विषय जोडतोडले उठेको थियो । त्यही पक्षको नेतृत्व गरेर मुइज्जु नयाँ राष्ट्रपति बनेका थिए।   राष्ट्रपति बनेपछि भारतलाई ६ महिनाभित्र आफ्नो सेना फिर्ता गर्न मुइज्जुले आग्रह गरेका थिए। त्यतिबेला भारतमा ‘बोयकट माल्दिभ्स’ अभियान नै सञ्चालन भएको थियो ।

क्यानडाले अब इजरायललाई हतियार नबेच्ने

काठमाडौं । क्यानडा सरकारले अब इजरायललाई हतियार नबेच्ने भएको छ। त्यहाँको संसदमा यस सम्बन्धमा मतदानपछि यस्तो निर्णय भएको हो । विदेशमन्त्री मेलानी जोलीले भविष्यमा उनको सरकारले इजरायललाई हतियार नबेच्ने स्पष्ट पारिन्।  क्यानडाका विभिन्न राजनीतिक दलहरुले इजरायललाई हतियार बिक्री रोक्न माग गर्दै प्रस्ताव ल्याएपछि त्यसमा मतदान भएको थियो।  मतदानमा हतियार विक्री रोक्ने पक्षमा २०४ मत परेको थियो भने विपक्षमा ११७ मत मात्रै परेको थियो ।  पारित भएको यो प्रस्तावमा प्यालेस्टाइन राज्य स्थापनाका लागि काम गर्न सरकारलाई निर्देशन पनि दिइएको छ। पछिल्लो समय त्यहाँका प्रधानमन्त्री जस्टिन टुडोले पनि गाजामा इजरायली आक्रमणको आलोचना गर्दै आएका छन्। पछिल्लो कदमले गाजामा इजरायलको नरसंहारकारी युद्धमा क्यानडाको मिलेमतो अन्त्य गर्नेतर्फ सानो कदम भएको क्यानेडियन्स फर जस्टिस एन्ड पिस इन द मिडल इस्ट नामक समूहले टिप्पणी गरेको छ । (एजेन्सीको सहयोगमा)

म्यान्मारमा सेनाको हवाई आक्रमणबाट कम्तीमा २३ सर्वसाधारणको मृत्यु

काठमाडौं । म्यान्मारको रखाइन प्रान्तका ग्रामिण इलाकामा जारी हवाई आक्रमणबाट आफू चिन्तित भएको संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले बताएका छन्।  स्थानीयले एएफपीलाई बताएअनुसार सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको थियो। म्यान्मारको पश्चिमी राखिन राज्यमा गत नोभेम्बरमा अराकान आर्मी (एए) ले सुरक्षा फौजमाथि आक्रमण गरेपछि झडप भएको थियो। महासचिव गुटेर्रेसले सोमबार जारी वक्तव्यमा भनिएको छ, ‘सेनाले मिनब्या बजारमा गरेको हवाई आक्रमणमा कैयौँ सर्वसाधारणको मृत्यु भएको र दर्जनौँ घाइते भएको खबरले आफूलाई चिन्तित तुलाएको छ।’ हालका हप्ताहरूमा अराकन लडाकुहरूले मिनब्याको राजधानी सिट्वेको पूर्वमा अवस्थित उक्त बजारमा आक्रमण गरी केन्द्रको बजारसँगको सम्पूर्ण सम्बन्ध विच्छेद् गरिदिएका छन्।  थार डार गाउँमा सोमबार राति १ः४५ बजे भएको हवाई आक्रमणमा १० पुरुष, चार महिला र १० बालबालिकाको मृत्यु भएको एक स्थानीयले एएफपीलाई जानकारी दिएका छन्। सुरक्षाको कारण देखाउँदै नाम उल्लेख नगर्ने शर्तमा उनले भने, ‘हाम्रो गाउँमा कुनै झडप भएको थिएन । उनीहरूले हामीमाथि सिधै आकाशबाट बम प्रहार गरेका थिए ।’  अर्का स्थानीयले विस्फोटमा परी २३ जनाको मृत्यु भएको र १८ जना घाइते भएको बताएका छन्। सन् २०१७ मा भएको सैन्य कारबाहीका कारण रखाइनमा दशौँ हजार रोहिङ्ज्या समुदाय भागेर छिमेकी मुलुक बङ्गलादेश पुगेका थिए। जुन्टा सेनाले सिट्वेलाई आफ्नो नियन्त्रणमा राखेको छ तर हालैका हप्ताहरूमा अराकन लडाकुहरूले वरपरका जिल्लाहरूमा सफलता प्राप्त गरेका छन्। छिमेकी मुलुक भारत र बङ्गलादेशमा पनि युद्ध फैलिएको छ। गत महिना पनि बङ्गलादेशमा भएको झडपका क्रममा म्यान्माबाट मोर्टार प्रहार हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको थियो। सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएदेखि नै स्वायत्तता र आकर्षक स्रोतसाधनको नियन्त्रणका लागि सेनासँग लडेका म्यान्माको सीमावर्ती क्षेत्रका थुप्रै सशस्त्र जातीय अल्पसङ्ख्यक समूहमध्ये अराकन आर्मी पनि एक हो।

रुसी राष्ट्रपतिमा फेरि पुटिनको जित सुनिश्चित

काठमाडौं । रुसको राष्ट्रपतिमा फेरि भ्लादिमिर पुटिनको जित सुनिश्चित भएको छ । चुनावी सर्वेक्षणबाट उनले ८८ प्रतिशतभन्दा बढी भोटसहित चुनाव जित्ने देखिएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले उल्लेख गरेका छन् । रुसमा राष्ट्रपति पदका लागि गत शुक्रबारदेखि आइतबारसम्म तीन दिन सम्म चुनाव भएको थियो । सीएनएनले पोलस्टर पब्लिक ओपिनियन फाउन्डेसन (एफओएम)को एक एग्जिट पोलबाट पुटिनले ८७.८ प्रतिशत भोट पाउने देखिएको जनाएको छ । यो रुसको सोभियत इतिहासकै सबैभन्दा ठूलो परिणाम हो । रसियन पब्लिक ओपिनियन रिसर्च सेन्टर (वीसीआईओएम)ले पनि पुटिनले ८७ प्रतिशत भोट पाएर राष्ट्रपति पदमा थप ६ वर्ष कायम रहने निश्चित रहेको जनाएको छ । यसपटकको राष्ट्रपति चुनावमा ७१ वर्षीय पुटिन उनी एकल दाबेदार रहेका छन् । पुटिनका कट्टर आलोचक एलेक्सी नाभाल्नीको जेलभित्रै मृत्यु भएको र अरु सशक्त उम्मेदवार कोही नहुँदा पुटिनको जित पहिल्यै सुनिश्चित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

विदेशी पर्यटकको चाप बढेसँगै श्रीलंकाको अर्थतन्त्रमा सुधार

कोलम्बो । अकल्पनीय वित्तीय संकटको सामना गरेको श्रीलंकामा आर्थिक पुनरुत्थान भएको श्रीलंका सरकारले जनाएको छ । सन् २०२३ को चौथो त्रैमासिकमा पर्यटन आगमनमा वृद्धिसँगै आर्थिक पुनरुत्थान भएको सरकारको भनाई छ । श्रीलंकामा कृषि, उद्योग र सेवा क्षेत्रको विस्तार दर डिसेम्बरमा सकिएको त्रैमासिकमा ४.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा १२.४ प्रतिशतले सङ्कुचन भएको थियो । सन् २०२२ मा ७.८ प्रतिशतले सङ्कुचन भएको अर्थतन्त्र सन् २०२३ मा समग्रमा २.४ प्रतिशतमा झरेको छ ।  विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सन् २०२३ मा श्रीलंकाको अर्थतन्त्रले द्वैधताको अनुभव गरेको छ, यस वर्षको पहिलो छ महिनामा ऋणात्मक वृद्धि भएको छ भने दोस्रो त्रैमासिकमा अर्थतन्त्रमा सुधार आएको छ । पर्यटनमा लामो समयदेखि प्रतीक्षा गरिएको सुधारको सन् २०२३ को अन्त्यतिर नतिजा आएको र कामदारको रेमिटेन्समा पनि सुधार आएको सरकारले जानकारी दिएको छ । गत डिसेम्बरमा श्रीलंका घुम्न आउने पर्यटकको सङ्ख्या दुई लाख १० हजार पुगेको छ । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढी हो । अघिल्लो वर्ष ९१ हजार ९०० पर्यटक आएका थिए । श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा कोष (आर्एएमएफ) बाट चार वर्षका लागि २.९ अर्ब अमेरिकी डलरको जमानत कर्जा लिएको छ । ऋण पुनर्संरचनाको लागि विदेशी ऋणदाताहरूसँग श्रीलंकाले छलफल गरिरहेको छ । श्रीलंकामा सन् २०२२ मा आर्थिक संकटको शिखरमा पुगेको थियो । त्यतिबेला आयातका लागि भुक्तानी गर्न विदेशी मुद्रा सञ्चिति सकिएपछि महिनौँसम्म खाद्यान्न, इन्धन र औषधिको समेत अभाव भएको थियो । राष्ट्रव्यापी नागरिक आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले सन् २०२२ को जुलाईमा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षको सरकारी निवासमा आक्रमण गरेपछि उनले पदबाट राजिनामा दिएका थिए ।

प्यालेस्टाइनी राष्ट्रपति अब्बासद्वारा आर्थिक सल्लाहकारलाई प्रधानमन्त्री नियुक्त

एजेन्सी । प्यालेस्टाइन राष्ट्रपति महमुद अब्बासले आफ्ना आर्थिक सल्लाहकार मोहम्मद मुस्तफालाई प्यालेस्टिनी प्राधिकरणको नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन्। २६ फेब्रुअरीमा मोहम्मद सतेहले राजीनामा दिएपछि यो पद खाली रहेको थियो। सन् २०१४ मा इजरायलको आक्रमणपछि गाजाको पुनर्निर्माणमा मुस्तफाले महत्वपूर्ण भूमिका खेलेका थिए। गाजामा जारी युद्धपछि अमेरिकाले प्यालेस्टिनी प्राधिकरणको भूमिका परिवर्तन गर्ने योजना बनाएको बेला मुस्तफाको नियुक्ति भएको हो। गाजामा युद्ध समाप्त भएपछि हमासको सट्टा प्यालेस्टिनी प्राधिकरणले त्यहाँको सत्ताको जिम्मेवारी लिनुपर्ने अमेरिकी चाहना छ। तर, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकाको यो योजनाको कडा विरोध गरिरहेका छन्। अर्कोतर्फ गाजामा इजरायलको आक्रमण अझै रोकिएको छैन। प्यालेस्टिनी प्राधिकरणको प्रमुख राष्ट्रपति हो, जसलाई वेस्ट बैंक र पूर्वी जेरुसेलमका जनताले चुन्छन्। महमूद अब्बास सन् २००५ देखि प्यालेस्टिनी प्राधिकरणको प्रमुख छन्।

चीनमा पानीजहानको ठक्करबाट पुल भत्किदा कयौं सवारीसाधन नदीमा डुबे

एजेन्सी, १० फागुन ।  दक्षिणी चिनियाँ शहर ग्वान्जाओमा कार्गो पानीजहाज पुलमा ठोक्किँदा कयौं सवारी साधन नदीमा खसेका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार उद्धारको प्रयास जारी रहेको छ भने अहिलेसम्म क्षतिको विवरण एकीन हुन सकेको छैन। चिनियाँ सञ्चारमाध्यम सीसीटीभीमा सार्वजनिक भएको तस्बिरमा पुलको एक भाग नदीमा खसेको र त्यसभन्दा मुनि पानीजहाज फसेका देखिएको छ। यद्यपि जहाजले सामान बोकेको भने देखिएको छैन। घटना स्थानीय समयअनुसार विहान साढे पाँच बजे भएको हो। पुल स्तरोन्नत्तिको योजना बने पनि तीन पटक सम्म पोस्टपोन्ड भएको सीसीटिभीको समाचारमा उल्लेख छ। 

एनआरएनए आइसीसी महिला संयोजक पदमा संगीता मरहट्टाले उम्मेदवारी दिने

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको दशौ विश्व सम्मेलनमा युकेबाट संगीता मरहट्टाले महिला संयोजक पदका लागि उम्मेद्वारी दिने भएकी छिन् । सन्चारकर्मीका रुपमा समेत परिचित मरहट्टाले २०११(२०१३ कार्यकालको एन आर एन ए युके महिला संयोजक ,२०१३(२०१५ एन आर एन ए युके सचिब ,२०१५(२०१७ आई सि सि सदस्य ,२०१७(२०१९ एन आर एन ए युरोप महिला संयोजक साथै २०१९(२०२१एन आर एन ए को अभियान सगै मानार्थ परिषद सदस्य पदको जिम्मेवारी निर्वाह गरिसकेकी छिन् । उनले नेपालमा रहदा समेत विभिन्न समाजिक सस्थाहरुमा रहेर महत्त्वपूर्ण भुमिका निभाएका थिईन। एनआरएनएको संस्थागत विकासका साथै पछिल्लो पुस्तालाई नेपालप्रति समिप्यता र उत्तरदायित्व बहन गर्दै अगाडी बढाउन जोड दिने बताउँदै उनले नेपाल समृद्धि र बिकासमा सामुहिक लगानी र पर्यटन प्रबर्द्धनका लागि नेपाल सरकारसँग समन्वयको प्रतिबद्धता रहेको बताइन । मुलुकबाहिर रहेका नेपालीहरुले एनआरएनए मेरो हो भन्ने बनाउन आवश्यक रहेकोले यो अभियानलाई सार्थकता दिन सामुहिक नेतृत्व सहित टिममा सबैजना मिलेर कार्ययोजना नै बनाएर आउने भन्दै उनलेसबैको साथ र सहयोग अपिल रहेका छन् ।

अमेरिकाको अलबा राज्यमा आएको आँधीबाट ९ बालबालिकासहित १० जनाको मृत्यु

काठमाडौं । अमेरिकाको अलबामा राज्यमा आँधीमा परेर बालबालिकासहित १० जनाको ज्यान गएको छ । १८ वटा गाडी दुर्घटना हुँदा नौ बालबालिकासहित १० जनाको ज्यान गएको बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा ९ महिनाकी बालिकासमेत रहेको खबरमा उल्लेख छ । आँधीले कयौँ घरमा क्षति पु¥याएको छ । घटनाको अनुसन्धानका लागि विज्ञको टोली खटिएको छ । अत्याधिक वर्षासँगै आएको बाढीले केहीलाई बगाएको आशङ्कामा खोजी भइरहेको छ ।

इन्डोनेसियामा बेपत्ता विमानको ‘ब्ल्याक बक्स’ भएको स्थान पत्ता लाग्यो

जकार्ता । इन्डोनेसियाली अधिकारीहरूले समुद्रमा हराएको यात्रुवाहक विमानका ब्ल्याक बक्सहरू भएको स्थान पत्ता लागेको बताएका छन् । यसअघि जलसेनाले उक्त विमान हराएको ठानिएको स्थान पत्ता लगाएको जनाएको थियो । श्रीविजय एयरजेटको बोइङ ७३७ विमान शनिबार दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालकदलका सदस्यसहित ६२ जना थिए । कालिमान्तान प्रान्तस्थित पोन्तियानकका लागि उडेको विमान चार मिनेटमै राडारको सम्पर्कबाट बेपत्ता भएको थियो । विमान खोज्नका लागि जलसेनाका पौडीबाजसहित करिब एक दर्जन पानीजहाज परिचालन गरिएको थियो । विमानको भग्नावशेष ठानिएका सामग्रीहरूको अनुसन्धानकर्ताहरूले विश्लेषण गरिरहेका छन् । उद्धारकर्ता र स्थानीय माझीहरूले श्रीविजय एयरको भनिएको भग्नावशेष सम्हालेर राखेका जनाइएको छ । अधिकारीहरूका अनुसार आइतबार बिहानैबाट खोजी र उद्धारका प्रयास भइरहेका छन् । विमानको भग्नावशेषजस्ता देखिने सामग्रीहरू समुद्रमा फेला परेका जनाइएको छ । ‘हामीले दुई ठाउँमा संकेत प्राप्त गरेका छौं । त्यो ब्ल्याक बक्स हुन सक्छ,’ खोजी तथा उद्धार निकाय प्रमुखले भनेका छन् । अनुसन्धानकर्ताहरूले एउटा पाङ्ग्रा र विमानको मध्यभागका केही टुक्राहरूको भेटिएको जनाउँदै त्यसको विश्लेषण गरिरहेको बीबीसीले उल्लेख गरेको छ । ‘त्यस्तै उक्त क्षेत्रमा भेटिएका विभिन्न सामग्री राखिएका दुइटा झोला खोज तथा अनुसन्धान निकायले जकार्ता प्रहरीलाई दिएको प्रवक्ता युस्री युनुसले बताए । ‘एउटा झोलामा यात्रुहरूका सामान र अर्कोमा शरीरका केही अंग छन्,’ उनले भने । श्रीविजया एयरको विमान जकार्ता विमानस्थलबाट शनिबार दिउँसो उडेको ४ मिनेटमै सम्पर्कविहीन भएको थियो । राष्ट्रिय खोजी तथा उद्धार निकायका एक वरिष्ठ अधिकारीका अनुसार विमानले कुनै आपत् परेको सूचित गरेको थियो । प्रत्यक्षदर्शीहरूले सामुद्रिक क्षेत्रमा एक विस्फोट देखिएको र त्यसको केही आवाजसमेत आएको बताएका थिए । विमान हराएको क्षेत्रनजिकै बस्ने स्थानीयले केही सामग्री फेला पारेको र त्यो विमानको भएको हुन सक्ने जनाए ।

डेटिङमा समस्या आएपछि आमाले छोरी बेचिन् !

एजेन्सी । एक आमा आफ्नो बच्चाको खुसीका लागि आफ्ना सबै खुसी त्याग गर्छिन्, तर रुसमा एक महिलाले आफ्नो स्वार्थका लागि नवजातलाई जुन व्यवहार गरिन् त्यसले आमा र बच्चाको सम्बन्धलाई लज्जास्पद बनाएको छ । बच्चाका कारण आफ्नो डेटिङमा समस्या आएकाले उनले एक हप्तामात्र पुगेकी आफ्नी छोरीलाई बेचेकी थिइन् । उक्त घटनाका कारण मस्कोमा प्रहरीले २३ वर्र्षीय ती महिलालाई गिरफ्तार गरेको डेली मेलले जनाएको छ । उनी बच्चा बेच्न मस्कोबाट उफामा खरिदकर्ताहरुसँग भेट्न आएकी थिइन् । उनीहरुले नै प्रहरीलाई यस विषयमा जानकारी दिएका थिए । उनले बच्चालाई ११ हजार ५ सय १२ पाउन्डमा बेचेकी थिइन्, त्यसपछि खरिदकर्ताले नै प्रहरीलाई यस विषयमा जानकारी दिएको र उनलाई गिरफ्तार गरिएको अखबारले जनाएको छ । कुनै महिलाले यस प्रकारको कार्य गरेको यो दोस्रो घटना हो । याे समाचार नेपाल समाचारपत्र दैनिकबाटमा छापिएकाे छ ।

श्रीमानको मृत्युमा नरोएको भन्दै ५ वर्ष जेल सजाय !

गुहाइटी, । श्रीमानको मृत्युमा नरोएको भन्दै एक महिला विगत ५ वर्षदेखि जेल सजाय भोगिरहेकी छन् । भारतको असममा ती महिलालाई श्रीमानको मृत्युमा नरोएको भन्दै आफैले हत्या गरेको आरोपमा जेल सजाय भएको हो । उनलाई स्थानीय अदालतले आफ्नो पतिको हत्या गरेको दोषी ठहर ग-यो । गुहाइटीको उच्च अदालतले पनि स्थानीय अदालतले गरेको फैसलालाई सदर गर्दै उनलाई जेल सजाय सुनायो । श्रीमानको हत्यामा आफ्नो संलग्नता नभएको भन्दै ती महिलाले सर्वोच्च अदालतमा मुद्दा हालिन् । गत बुधबार सर्वोच्च अदालतले उच्च अदालतले गरेको फैसलालाई उल्टाउँदै ती महिलालाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश द्वय आरएफ नरीमन र जस्टिस नवीन सिन्हा ले महिलाको पक्षमा फैसला गर्दै ‘मौकामा भेटिएका तमाम सबुत र प्रमाणले श्रीमानको हत्यामा उनको संलग्नता छ भन्न सकिने आधार छैन् । र जहाँसम्म श्रीमाको मृत्युमा नरोएको कुरालाई हत्याको मुख्य आधार वा प्रमाण भनिएको छ, त्यो अप्राकृतिक व्यवहार हो । यसलाई हत्याको प्रमाण मान्न सकिन्न ।’

पुटिनलाई भेट्न मस्को पुगे राष्ट्रपति मुन

मस्को, असार ७ । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन रूसको राजधानी मस्को आइपुग्नुभएको छ । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न मुन बिहीबार मस्को आउनु भएको उच्च अधिकारीहरुले जानकारी दिएका छन् । दुई समकक्षीबीच आर्थिक सहकार्य र उत्तर कोरियाबारे कुराकानी हुने अपेक्षा गरिएको छ । मुनले पुटिनलाई शुक्रबार भेट्ने कार्यक्रम तय भएको छ । त्यस क्रममा उहाँहरूले केही संयुक्त सम्झौतापत्रहरूमा हस्ताक्षर गर्ने तयारी गरिएको अधिकारीहरूले बताएका छन् । तीन दिने भ्रमणका क्रममा राष्ट्रपति मुनले आउँदो शनिबार विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत मेक्सीको विरुद्ध दक्षिण कोरियाले खेल्ने खेलको पनि अवलोकन गर्नुहुने अपेक्षा गरिएको छ । सो खेल रूसको रोस्टोभ अन डनमा हुने तय भएको छ । रूसका राष्ट्रपति पुटिनले गत हप्ता उत्तर कोरियाका नेता किम जोङ उनलाई रूसमा स्वागत गर्न पाए खुशी हुने बताएको केही दिनपछि दक्षिण कोरियाका राष्ट्रपति रूस पुग्नु भएको हो ।