किसान लघुवित्त वित्तीय संस्थाले एफपीओ जारी गर्ने

काठमाडौं । किसान लघुवित्त वित्तिय संस्थाले एफपीओ जारी गर्ने भएको छ । प्रतिकित्ता १२५ रुपैयाँ अंकित दरमा थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले संस्थापक साधारण सेयर अनुपात कायम गर्न १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ जारी गर्न लागेको जनाएको छ । संस्थाले प्रतिसेयर २५ रुपैयाँ प्रिमियम थपेर १२५ रुपैयाँको दरले १२ लाख ८९ हजार २५९ कित्ताका लागि १६ करोड २२ लाख ८२ हजार ४३६ रुपैयाँ बराबरको बिक्री अनुमति माग्दै बोर्डमा निवेदन दिएको हो ।

कम्पनीको सेयर दोस्रो बजारमा प्रतिकित्ता १७३२ रुपैयाँ किनबेच भइरहेको छ । संस्थामा संस्थापक सेयरधनीको हिस्सा ६० प्रतिशत र सर्वसाधारणको हिस्सा ४० प्रतिशत छ।

 

पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले सोमबार ५ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना मार्फत बोलकबोल प्रक्रिया मार्फत ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ । सूचना अनुसार ० करोड बराबरको ट्रेजरी बिल ९१ दिने अवधिका लागि विक्री गर्न लागिएको छ । सो बिल आगामी साउन ५ गते परिपक्व हुनेछ । यस्तै, ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल भने कूल १८२ दिनका लागि विक्री गरिने छ । सो बिल भने आगामी कात्तिक २ गते परिपक्व हुनेछ । राष्ट्र बैंकले यसअघि गत चैत ३० गते २० अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गरेको थियो ।

लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा १०% लाभांश घोषणा

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/ ७७ को लाभांश प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजन सहित ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण पारित गर्दै सो आर्थिक वर्षको मुनाफामध्येबाट शेयरधनीलाई ११ करोड ४१ लाख ८० हजार रुपैयाँ बोनश र सो मध्ये ५ करोड ७० लाख ९० हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । प्रस्तावित लाभांश बीमा समितिले स्वीकृति दिए पछि कम्पनीले आगामी साधारणसभामा पेश गर्ने छ । साधारणसभाले लाभांस पारित गरेपछि मात्रै लगानीकर्ताले पाउनेछन् ।

वर्षको अन्तिम दिन सेयर बजारमा नयाँ रेकर्ड

काठमाडौं । २०७७ सालको अन्तिम दिन सेयर बजारको परिसूचक नेप्सेले नयाँ रेकर्ड बनाएको छ । मंगलबार नेप्से २३ अंकले बजार बढेर २७१४ अंकमा कायम भएको छ, जुन अंक हालसम्मकै उच्च हो । आज विकास बैंकको सूचक ९५ अंकले बढ्दा वाणिज्य बैंक समूहको सूचक ४२ अंकले बढेको छ । मंगलबार कारोवार रकममा सुधार हुँदै ७ अर्ब १४ करोड रुपैयाँको सेयर किनबेच भएको छ । आज एनआइसी एसिया लघुवित्त, माउन्टेन इनर्जी, ज्योति लाइफ, सिन्धु विकास बैंक, छ्याङ्दी हाइड्रोपावरको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ । आजको कारोबारपछि एनआइसी एसिया लघुवित्तको मूल्य १६९९ रुपैयाँ, माउन्टेनको ८३३, ज्योतिको ५१४, सिन्धुको २४६, छ्याङ्दीको २६९ रुपैयाँ कायम भएको छ । ग्लोबल आइएमई लघुवित्त र लक्ष्मी लघुवित्तको मूल्य ४ प्रतिशतले घटेको छ । आज सबैभन्दा बढी नबिल बैंकको २८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । वर्षको अन्तिम दिन सेयर बजारले नयाँ रेकर्ड कायम राख्दा लगानीकर्ताहरू उत्साहित भएका छन् । नयाँ वर्षसँगै बजारमा थप उत्साह थपिने अनुमान उनीहरूको छ ।

ज्योति लाइफकाे आईपीओमा आवेदन दिन त छुटेन ? १७ लाखले भरिसके अहिलेसम्म,आज अन्तिम दिन

ज्योति लाइफ इन्स्योरेन्सले फागुन २१ गतेदेखि निष्काशनमा ल्याएको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज (फागुन २६ गते) अन्तिम दिन हो। कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो। त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो। कम्पनीको आइपीओमा छिटोमा फागुन २६ गते आवेदन दिन सकिनेछ। त्यस अवधिमा पर्याप्त आवेदन नपेरमा चैत ६ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरोशेयरको वेब तथा एप मार्फत पनि आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ। कम्पनीलाई क्रेडिट रेटिङ्ग नेपालले ‘केयरएनपी ‘आइआर बीबी प्लस’ रेटिङ्ग प्रदान गरेको छ। यसले समय नै कम्पनीको दायित्व पुरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित रहेको जनाउछ। हाल कम्पनीको अधिकृत पूँजी ३ अर्ब, जारी पूँजी २ अर्ब २० करोड र चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ छ। सर्वसाधारणलाई आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ भने धितोपत्र प्रत्याभुत गर्ने संस्थामा लक्ष्मी क्यापिटल रहेको छ।

५ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेप्सेमा सूचीकृत ५ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हाे । यसमध्ये पहिलो ३ कम्पनीहरुले फागुन २८ गते बुकक्लोज गर्दैछन् भने बाँकी २ कम्पनीले चैत १ गते बुकक्लोज गर्दैछन्। फागुन २७ गते महाशिवरात्री, २८ गते शुक्रबार र २९ गते शनिबार बजार बन्द रहने हुनाले यी ५ कम्पनीहरुको लाभांश सुरक्षित गर्न आजसम्म शेयरधनी कायम हुनुपर्नेछ। कुन कुन कम्पनी ? -सबैको लघुवित्त -नेपाल दूरसञ्चार -स्वाबलम्बन लघुवित्त -सिर्जना फाइनान्स -महिला सहयात्रा लघुवित्त सबैको लघुवित्त (SABSL) ले १०.५० प्रतिशत बोनस शेयर र ०.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न चैत १४ गते चौथो वार्षिक साधारण सभा बोलाएको छ। त्यसैगरी, नेपाल दूरसञ्चार (NTC) ले ४० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्न चैत १३ गते १३ औँ वार्षिक साधारण सभा डाकेको छ। स्वाबलम्बन लघुवित्त (SWBBL) ले चैत ११ गते १९ औँ वार्षिक साधारण सभामार्फत १९.००५६ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्दैछ। त्यस्तै, सिर्जना फाइनान्स (SFFIL) ले १३.३९ प्रतिशत बोनस शेयर र ०.६८ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्न चैत १४ गते २० औँ वार्षिक साधारण सभा डाकेको छ। चैत १८ गते आठौँ वार्षिक साधारण सभा डाकेको महिला सहयात्रा लघुवित्त (MSMBS) को १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत लाभांश सुरक्षित गर्न पनि आजसम्म शेयरधनी बन्नु पर्नेछ।

शेयरमा उतारचढाव किन भयो, लगानीका लागि कुन कम्पनी छन् त सुरक्षित ?

तिलक काेइराला शेयर बजारमा फेरि अन्योल र भागदौडको अवस्था देखिएको छ। बजारमा मूल्य बढेको रापले नयाँ लगानीकर्ता आकर्षित भएर माग पक्ष निकै बलियो बनेको बेला केही लगानीकर्ताहरु खराब र कमजोर कम्पनीमा नचाँहिदो रुपमा उचालिएका कारणले पनि अहिलेको भागदौड र अन्योलको अवस्था सिर्जना हुन सहयोग पुगेको हो। त्यसरी भागदौड गर्नुपर्ने आवश्यकता नै छैन। सर्वसाधारणमा आईपीओ बिक्री गरेर भरखरै शेयर बजारमा सूचीकृत भएका र नियमनकारी निकायले तोकेको वा कारोबार विस्तारका लागि आवश्यक चुक्ता पूँजी कायम गर्न नसकेर हकप्रद बिक्री गरी पूँजी संकलन गर्न खोजेका कम्पनीहरुमा लगानीकर्ताहरु अनावश्यक ढंगले उचालिएकाले कतिपयलाई अहिले शेयर बजारको घटाई थाम्नै नसक्ने खालको हुन गएको छ। सस्ता र राम्रा कम्पनीमा संयमित भएर लाभांश र पूँजीगत लाभ दुबैको हिसाब गरी लगानी विविधिकरण गर्नेहरुलाई अहिले कुनै चिन्ता गर्नुपर्ने अवस्था नै हैन। राजनीतिक अवस्था र तरलता भन्ने कुरा जहिले पनि शेयर बजारको सरोकारको विषय हुनसक्छ तर लगानीकर्ताले मुख्य रुपमा हेर्नुपर्ने कम्पनीको अबस्था र आफ्नो जोखिमबहन क्षमता हो। त्यो नहेरी हावा, हल्ला र अफवाहको आधारमा जथाभावी लगानी गर्दा यस्तै भागदौडको सामना गर्नुपर्छ। पछिल्लो समय जो पूँजी बजारमा छिरे र बजार उनीहरुको लागि नयाँ छ, त्यस्ता लगानीकर्तालाई सेयरको मूल्य जहिले पनि बढ्छ, यहाँ त कहिले पनि मूल्य घट्दैन भन्ने भ्रम परेको हुनसक्छ तर उनीहरुले थाहा पाउनु पर्ने वस्तविकता के हो भने सेयरको मूल्य घटाई र बढाई हुने ठाउँ नै सेयर बजार हो, घटाई र बढाई नै बजारको जीवन्त रुप हो । अरु सेयर बजारमा प्रबेश गर्ने ९० प्रतिशतले गुमाउने तर १० प्रतिशत भन्दा कमले कमाउँने संभावना हुन्छ भनिन्छ तर बृद्धि र बिकास हुँदै गरेको नेपालको सेयर बजारमा सुरक्षित लगानी गर्ने हरेक लगानीकर्ताले कमाउँने संभावना छ । यसलाई मनन् गरेर सस्ता र राम्रा कम्पनी चिनेर लगानी गर्नु भने अनिबार्य छ । हालै आईपीओ जारी गरेका र खराब अबस्था पार गर्न नसकी पूँजी बढाएर संकट मोचन गर्न संघर्ष गरिरहेका कम्पनीहरुमा जसरी लगानीकर्ताहरुले आँखा चिम्लेर पैसा खन्याए, अहिलेको संकट आउनमा उनीहरु पनि कारक हुन् । कुनै लाभांश नपाउने र बैंकमा धितो राखेर कर्जा समेत लिन नसकिने कम्पनीको सेयर मध्ये एउटामा पाँच सय र अर्कोमा सातामै दुईसय रुपैयाँको घाटा खानपर्नु भनेको सामान्य लगानीकर्ताका लागि निकै घातक कुरा हो । उनीहरुलाई त्यसरी उचालिएर सेयर किन्नु वा नकिन्नु कसैले भनेको थिएन र अहिलेको घटाईमा त्यस्ता कम्पनीमा डुबेकाहरुलाई उद्धार गर्न कोही पनि आउँदैन । अर्को तर्फ संचित घाटा नै करोडौ रहेको, खराब कर्जाको अंश ६०, ७० प्रतिशत, आउने चार पाँच बर्षसम्म लाभांश वितरण गर्न नसक्ने कम्पनीमा दिनहुँ बुर्कुसी मारेर उचालिई सेयर किन्ने लगानीकर्तालाई पनि सान्त्वना दिन सकिन्न । सिमित ब्रोकरको हातबाट एकैचोटी लाखौं लगानीकर्ताको हातमा आफैले सेयर किन्ने र बेच्ने साँचो अर्थात युजर आईडी र पासवर्ड पुग्दा बजारमा नयाँ माहौल सिर्जना भयो । फेसबुक, युट्युबलगायतका सामाजिक संजाल र विभिन्न खाले अनलाईनले प्रबाह गर्ने सूचना, कुसुचना र खबरहरुको भिन्दाभिन्दै प्रस्तुतिले पनि लगानीकर्तालाई तत्कालै उत्तेजित र निराश बनाईदियो । लगानीकर्ता त्यसमा सतर्क बन्न नसक्दा परिणाम अलि चिन्ताजनक बनेको हो । सेयर बजारमा प्रबेश गर्ने हरेकले जान्नु पर्छ कि यो जोखिमको क्षेत्र हो । आफैले अध्ययन, विश्लेषण र निर्णय गरी बजारको चाल बुझेर लगानी गर्न सकिएन भने नराम्रो धोका पाईन्छ । बजारमा खेलाडीहरुले खेल्छन् र सोझा सिधाहरु उनीहरुको जालमा परेर फस्नसक्ने संभावना बढी हुन्छ । राजनीति, अर्थतन्त्र, तरलता, ब्याज दर, अन्य क्षेत्रमा लगानी जानसक्ने संभावना, कम्पनीको अबस्थामा फेरबदल, लगानीकर्ताको मनोबिज्ञान, माग र आपुर्तिको अबस्था लगायत धेरै कुराले सेयर बजारलाई प्रभावित बनाईदिन्छ । कथित विश्लेषकहरुको मनगढन्ते विश्लेषणहरु पढेर सुनेर कुद्नेहरुलाई पनि केही भन्न सकिन्न । यदि कोही सेयर बजारको खेलाडी अर्थात कारोबारी बनेर आएको हो भने उसले अहिले कमाएको वा गुमाएको कुरामा धेरै चिन्ता गर्नु आबश्यक छैन, उसले मोलेको जोखिमको भार उसैले लिन्छ । यदि सामान्य लगानीकर्ता नव प्रबेशीको रुपमा आएर कमजोर वा खराब कम्पनीमा फस्यो र दुख गरेर कमाएको पैसा गुमायो भने त्यो नियमनकारी निकायहरुको सरोकारको बिषय बन्नुपर्छ । सरकारले ल्याउछु भनेको नीति, नियम पूर्वाधार र प्रविधिको सही समयमा प्रबन्धन नभएकाले बजारमा संकट गहिरिएको हो कि भनेर तत्कालै गर्नुपर्ने काम गरिहाल्नुपर्छ । हामी लगानीकर्ताको तर्फबाट यसमा लगातार पहल भईरहेकै छ । सेयर बजारमा सुरक्षित लगानी गर्न चाहनेहरुलाई अहिले पनि नेपालको सेयर बजार अथाह संभावनाको मैदान हो । बजारको बिकास हुँदै गरेको अवस्था हुँदा सस्ता र राम्रा कम्पनीको सेयरमा दीर्घकालीन लगानी गर्नेहरुले लाभांश र पूँजीगत लाभ हासिल गर्नसक्ने ब्यापक संभावना छ । सेयर बजारका कारोबारीहरुका लागि कुनै सुझाव वा सल्लाह आबश्यक नपर्ला तर दीर्घकालीन लगानी गर्नेहरुका लागि कयौं कम्पनीहरु धेरै सुरक्षित छन् । कारोबारी बन्नेले कम्पनीको अबस्था र लाभांश क्षमता मात्र नहेरी पूँजीगत लाभ आर्जनको संभावनालाई धेरै ध्यान दिएका हुन्छन् भने दीर्घकालीन लगानीकर्ताले कम्पनीको अबस्था र लाभांशका साथै पूँजीगत लाभको पाटोलाई पनि उत्तिकै ख्याल गर्नुपर्छ । सेयर कारोबारी अर्थात खेलाडीले कहिल्यै लाभांश नबाँडेका, ऋणात्मक नेटवर्थ भएका, संस्थागत सुशासन नभएका कम्पनीहरुको सेयर मूल्यलाई माग र आपुर्तिमा खेलेर, विभिन्न हल्ला चलाएर मूल्य तलमाथि गरी कमाई गर्छन भने लगानीकर्ताले यस्तो खेलमा नलागी आफु जोखिमबाट बच्न धेरै कुरामा विचार पुर्याउँनै पर्छ । कारोबारी केही दिनमै करोडपति वा रोडपति हुन बेर लाग्दैन तर लगानीकर्ताले सोची विचारी राम्रा कम्पनीमा गरेको दीर्घकालीन लगानी खेर जाने संभावना कम हुन्छ र एकैपल्ट करोडपति बन्ने सपना देख्नु पनि गल्ति हुन्छ । अहिलेको अबस्थामा हाईड्रो तर्फ गत बर्षको नाफाबाट लाभांश बाँडेका, बृद्धि र बिकास संभव भएका कम्पनीहरुमा लगानी गर्दा दीर्घकालीन लाभ प्राप्त गर्न सकिन्छ । यसमा चिलिमेलाई सबैभन्दा माथि राखेर बिचार गर्दा सानिमामाई, बुटवल पावर, अप्पर तामाकोशी, अपी, अरुण काबेली, अरुण भ्याली, राधी देखि सुधारिदै गरेको नेशनल हाईड्रोसम्मका थुप्रै कम्पनीहरु हुन्सक्छन्, जहाँ भबिष्यमा लाभांश र पूँजीगत लाभको संभावना छ । जगेडा कोष ऋणात्मक भएका, लाभांश क्षमता नभएका र बृद्धि र बिकास संभव नभएका हाईड्रो कम्पनीहरुमा चाँही लाग्नैहुन्न । हकप्रदको लोभमा झन् फस्नै हुन्न । सुरक्षित लगानीको अर्को आधार बाणिज्य बैंकहरु हुन् । पाँच सय रुपैयाँ प्रतिकित्ता भन्दा मूल्य कम भएका बाणिज्य बैंकहरुमा लाभांश र पूँजीगत लाभ दुबै हुनसक्छ । लगानी सुरक्षाका हिसाबले पनि यस्ता कम्पनीहरु उपयुक्त छन् । बिकास बैंकमा मुक्तिनाथ, गरिमा, साँग्रिला, कामना सेवा, महालक्ष्मी, लुम्बिनी र ज्योति बिकास बैंक जस्ताको सेयरमा लगानी उपयुक्त हुनसक्छ । यी कम्पनीहरुमा ढुक्कको लाभांशका साथै भोलि बाणिज्य बैंकमा मिसिदा पनि राम्रै स्वापको कारणले फाईदा छ । फाईनान्सहरु तर्फ आईसीएफसी, मन्जुश्री, गुडविल, श्री ईन्भेष्टमेन्ट, पोखरा, गोर्खाज, रिलायन्स, गुहेश्वरी मर्चेन्ट, जानकीमा लगानी उपयुक्त छ किनभने यिनीहरुले चालु बर्षको नाफाबाट कम्तिमा १० प्रतिशत लाभांश वितरण गर्नसक्छन् । ८० करोड चुक्ता पूँजी भएकाले माग र आपुर्तिको हिसाबले पनि फाईनान्सको सेयर मूल्य बृद्धिमा चाप पर्नसक्छ । सेयर मूल्य सस्तो छ र कुनै बाणिज्य बैंकमा मिसिए भने राम्रै स्वाप प्राप्त गर्नसक्छन् । फाईनान्सहरुको दोस्रो र तेस्रो त्रैमासको नाफामा अभुतपूर्व प्रगति हुने संभावना छ किनभने उनीहरुले सेयर र सम्पति बेचेर धेरै कमाएको अबस्था छ । जीवन र निर्जिवन बीमा तर्फ आफ्नो जोखिमबहन क्षमता हेरी राम्रा कम्पनीहरु छनौट गरेर लगानी गर्दा भबिष्यमा राम्रै हुन्छ । अन्तर्राष्ट्रिय सेयर बजारमा बीमाहरुको सेयर मूल्य माथि नै रहेको देखिदा यहाँ पनि उच्च मूल्य हुनु अस्वभाविक हैन । लघुवित्ततर्फ बाणिज्य बैंकहरु संस्थापक रहि राम्रो पूँजी आधार भएका, बृद्धि र बिकास गर्दै गएका स्वावलम्बन, छिमेक, निर्धन उत्थान, आरएमडीसी, साना किसान, डिप्रोक्स, फस्र्ट माईक्रो, आरएसडीसी जस्ता कम्पनीहरु उपयुक्त छन्, जसबाट लाभांश सुनिश्चित छ, मर्जरमा गएर लामो समय सेयर बन्धक बनाउने संभावना छैन, संस्थागत सुशासन राम्रो छ । लगानीको अर्को उपयुक्त क्षेत्र सामुहिक लगानी कोषहरु पनि हुन् । हालै सेयर बजारमा भएको मूल्य बृद्धिले यी कोषहरुको नाफा बढेको छ र आगामी दिनमा राम्रो नगद लाभांश हात पर्नसक्छ । आफुले ठ्रलो जोखिम नलिई ढुक्कको लाभ प्राप्त गर्न सामुहिक लगानी कोषहरु धेरै राम्रो बिकल्प हो । अघिल्ला बर्षहरु भन्दा यस बर्ष सामुहिक लगानी कोषहरुले राम्रो लाभांश वितरण गर्ने संभावना छ । अलि बढी जोखिम लिन चाहनेले नेपाल टेलिकम, शिवम, हिालयन डिष्टीलरी, साल्ट ट्रेडिड., नागरिक लगानी कोष, जलविद्युत बिकास कम्पनी जस्ता कम्पनीहरुमा पनि लगानी गर्नसक्छन् । धेरै चर्चामा रहेका निफ्रा र पुर्नबिमा कम्पनीहरुको बारेमा साधारण लगानीकर्तालाई तत्काल केही सुझाव दिन सकिन्न । कोराना कहरले पर्यटन क्षेत्र थला परे पनि होटल क्षेत्रमा ओरियन्टल र तारागाँउमा गरिने लगानी पनि भबिष्यको हिसाबले उपयुक्त छ । सोल्टी होटलको १० रुपैयाँको मूल्य अहिले दुई हजार माथि पुगेको छ भने नयाँ आएको चन्द्रागिरीले आगामी तीन बर्षसम्म लाभांश दिन सक्दैन तर माग र आपुर्तिको सन्तुलन नमिल्दा मूल्य माथि गईरहेको छ । यहाँ उल्लेख गरिएका बाहेकका कम्पनीका सेयरहरुमा कारोबारीहरुका लागि उपयुक्त छन् । कारोबारीहरुले हेर्ने भनेको मूल्य उचालिने, अनेक बहानाबाजी र खेल हुने, खेलाडीहरु लाग्ने कम्पनी नै हुन् तर त्यसमा जोखिमको मात्रा अत्यधिक हुने हुँदा सामान्य लगानीकर्ताहरुका लागि सिफारिस गरिदैन । सस्ता सेयर मूल्य रहेका तर राम्रा फरक समूहका कम्तिमा पाँच वटा कम्पनीमा लगानी विविधिकरण गरेर अगाडि बढ्दा अहिलेको जस्तो भागदौडमा सामेल हुनु पर्दैन । अहिले सेयरको मूल्य बेस्सरी घटेर लगानीकर्ताहरु भागिरहेका बेला छानी छानी राम्रा कम्पनीका सस्ता सेयर उठाउँन बिलम्ब गर्नु हुँँदैन । सेयर बजार घटाई लगानी गर्ने मौका नै हो । कम्पनीको अबस्था, प्रतिशेयर आम्दानी, सेयर मूल्य, मूल्य आम्दानी अनुपात, लाभांश क्षमता, माग र आपुर्तिको अबस्था हेरेर नै घटेको बेला सेयर किन्ने हो । नेप्से सूचक हेरेर सेयर किन्ने वा बेच्ने गर्दै नगरौं । सेयरको मूल्य बढेको बेला त बेचेर फाईदा सुरक्षित गर्ने हो । त्यसैले नआँत्तिई, नमात्तिई मौकाको सदुपयोग गरौं । नेप्से सूचक बढेको वा घटेको आतंक र कुनै अफवाहको पछि नलागौं, नभागौं । स्पष्टिकरणः यहाँ उल्लेख गरिएका कम्पनीहरुमा लगानी गर्नुभन्दा पहिले लगानीकर्ता स्वयंले गहन अध्ययन, बिश्लेषण गरी आफ्नो लगानी रणनीति र जोखिम बहन क्षमता बलियो बनाउनु अनिबार्य छ । (कोइरालाको यो विश्लेषणात्मक लेख मेरोलगानी डटकमबाट साभार गरिएको हो । कोइराला पूँजी बजार बिकास अभियानका संयोजक हुन्, यो सामाग्री उनको ब्यक्तिगत विचार हो )

एकाएक किन घट्यो शेयरबजार, अब के होला ?

साताको पहिलो दिन आइतबार ७९.७४ अकंले ओरालो लागेर नेप्से २४७४.३९ अंकमा आइपुगेको छ । किन यस्तो भयो त ? लगानीकर्ता पनि आश्चर्यचकित छन् । धेरैजसो लगानीकर्ताले अस्थिर राजनीतिका कारण शेयर बजार ओरालो लाग्न पुग्दै आएको बताएका छन् । निरन्तर उकालो लाग्दै गएको शेयर बजार घटने हो कि भन्ने त्रास पनि छ । त्यस्तो त्रासका कारण बजारबाट नाफा बुक गर्न थाल्दा शेयर बजार ओरालो लागेको भन्ने लगानीकर्ता पनि कमी छैनन् । अर्कोतिर लगानीयोग्य रकम (तरलता)को अभाव हुन थालेको र बैंकबाट शेयर धिताेमा लिएको ऋणको ब्याज बढ्ने हल्ला फैलिएकाले पनि शेयर बजार घटन पुगेको तर्क पनि गरिदै आएको छ । यी र यस्तो हल्लाका कारण शेयर बजार ओरालो लाग्न पुगेको बिश्लेषकको भनाइ छ । तर बैंकका प्रमुख कार्यकारी अधिकृतहरु भने असोजभन्दा यता तरलताको अभाव नहुने बताउँदै आएका छन् । तर लगानीकर्ता भने तरलतको अभाव हुने र ऋणको ब्याज बढ्ने भन्दै अतालिएर शेयर बिक्री गर्न थालेका छन् । यसले पनि शेयर बजार ओरोलो लाग्न पुगेको ठूला लगानीकर्ताहरु बताउँछन् । शेयर बजार घटनु पर्ने कारण नै नभएको शेयर बिश्लेषकहरुको भनाइ छ । कोरोना भाइरसको खोप आइसकेको, नेपाल राष्ट्र बैंकले शेयर धितोमा जाने कर्जालाई नियन्त्रण नगरेको, केन्द्रीय बैंकको शेयर बजारमैत्री नीतिले लगानीकर्तामा उत्साह थपिनु पर्ने हो । त्यति हुँदा पनि शेयर बजारमा सुधार हुन सकेन् अखिर किन त ? नेपाली शेयरबजारका लगानीकर्ता कति बेला खुसीले उफ्रन्छन, कतिबेला तनाबले थचारिन्छन, पत्तै हुँदैन । कारण हो- शेयरबजारको प्रवृत्ति । शेयर विश्लेषक भन्छन- यहाँको शेयरबजार प्रवृत्ति अन्य मुलुकको भन्दा ठिक उल्टो छ, कतिखेर घट्छ, कतिखेर बढ्छ आँकलनै गर्न सकिन्न । सबैभन्दा खतरनाक त हल्लैहल्लामा आकाशबाट पाताल झर्छ,पातालबाट आकाश उक्लन्छ, नेपाली शेयरबजारमूल्य । राजनीतिक स्थिति, देशको अर्थतन्त्र र नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण विश्लेषणका भरमा आफ्नो लगानीबारे निश्चिन्त रहनु पर्ने र समयमा सही निणर्य लिनुपर्ने लगानीकर्ता हुन्डरीजस्तो प्रवृत्तिले हैरान छन् । शेयरबजारमा अनावश्यक हल्ला फिँजाइएकाले ‘अस्वाभाविक’ गिरावट आउने गरेको विज्ञले बताएका छन् । शेयरबजार वास्तविकतामा भन्दा ज्यादा हल्लाको भरमा चलिरहेको पनि शेयर बिश्लेषकहरुको भनाइ छ । खासगरी नयाँ र साना लगानीकर्ता हल्लाका भरमा लगानी गर्ने र निकाल्ने प्रवृत्ति छ । हल्लासँगै बजार नियमन गर्ने नेपाल धितोपत्र बोर्डको कमजोरीका कारण पनि शेयर बजारमा उच्च उतारचढाव आउने गरेको छ । नेपाली शेयरबजारको चरित्रै नै फरक भएको बिश्लेषकहरु बताउँछन् । विदेशी मुलुकमा भन्दा विपरीत ढंगले नेपालको शेयरबजार चल्ने उनीहरुको भनाइ छ । ‘संसारले नपत्याउने किसिमले शेयरबजार चल्छ,’ ती बिश्लेषकले भने, ‘विदेशमा त्यो देशको अर्थतन्त्रको सूचक अनुसार बढ्ने र घट्ने गर्छ तर नेपालमा अर्थतन्त्रसँग सम्बन्ध नै हुँदैन ।’ अर्थतन्त्र तथा शेयरबजारको सम्बन्ध नङ र मासुको जस्तै हुन्छ । तर, अर्थतन्त्र उकालो लाग्ने संकेत देखिदा पनि शेयरबजार ओरालो लाग्नुको पछाडि नकारात्मक हल्ला नै हो । साना लगानीकर्तालाई हतोत्साहित पार्ने र ठूला लगानीकर्ताले यही मौकामा शेयर खरिद गर्दाको परिणाम हो यो । यस्तो अवस्थामा अतालियर शेयर फ्याक्नु पर्ने कुनै कारण नभएको बिश्लेषकहरु बताउँछन् । नेपाल उद्योग बाणिज्य महासंघ पुँजी बजार फोरमका सभापति तथा ठूला लगानीकर्ता अम्बिका प्रसाद पौडेलले आफ्नो फेसबुक पेजमा ‘पूँजी बजारमा धैर्यता गुमायौं भने सँगै ठूलो धनपनि गुमाउँछौं । गन्तब्य धेरै माथि छ । धैर्य लगानीकर्ता बनौं,’ भन्दै साना लगानीकर्तालाई ढाडस दिन पुगेका छन् । मेरोलगानीबाट

अब आइपिओको नतिजा हेर्न नयाँ वेबसाइट

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आइपिओको नतिजा हेर्नका लागि नयाँ वेबसाइट सञ्चालनमा ल्याएको छ । सम्वद्ध कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट र सिडिएसको वेबसाइटबाट आइपिओको नतिजा हेर्दा चापका धान्न नसकेपछि सिडिएस एण्ड क्लियरिङ लिमिटेडले नयाँ वेबसाइट ल्याएको हो । अब iporesult.cdsc.com.np मा आइपिओको नतिजा हेर्न सकिन्छ ।

आइपीओ निष्काशन गर्दै ज्योति लाइफ इन्स्योरेन्स

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले यही फागुन २३ गतेदेखि साधारण शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले १०० का दरले ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । तीमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषलाई र तीन लाख ३३ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आइपीओका लागि फागुन २८ गतेसम्म आवेदन दिन सकिनेछ । आइपीओ निष्काशनका लागि एनएमबी क्यापिटल बिक्री प्रबन्धक रहेको छ । आइपिओ बिक्री तथा वितरणपश्चात् कम्पनीको चुक्ता पूँजी दुई अर्ब २० करोड पुग्नेछ ।

के हो PE Ratio? शेयर किन्दा बढी PE भएकाे कम्पनी राम्रो कि कम भएकाे ?

शेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेशसँगै यससँग सम्बन्धित कतिपय विश्लेषणहरुबारे पर्याप्त जानकारी नहुन सक्छ । कतिपय समाचारमा कम्पनीको इपिएस र पिइ रेसियो यति भनेर लेखिने कुरालाई धेरै नबुझेका हुन्छन् । के हो त पिई रेसियो ? लगानी गर्नुअघि सम्बन्धित कम्पनीको समग्र वित्तीय सूचकहरुको राम्रो अध्ययन गर्नु जरुरी हुन्छ । यस्तै, अल्पकालीन होस् या दीर्घकालीन, दुवैथरीका लगानीकर्ताका लागि महत्वपूर्ण सूचकमध्ये पीइ रेसियो पनि एक हो । कम्पनीको पछिल्लो बजार भाउलाई प्रतिसेयर आम्दानीले भाग गर्दा आउने अनुपात नै पीइ रेसियो हो । पीइ रेसियोले कम्पनी ‘अन्डरभ्यालुड’ वा ‘ओभरभ्यालुड’ के हो भन्ने छुट्याउन मद्दत पुर्याउने भएकाले लगानीमा यसलाई महत्वपूर्ण सूचक मानिन्छ । सामान्यतयः पीइ रेसियो थोरै भएका कम्पनीहरुमा लगानी सुरक्षित मानिन्छ । तर पीइ कम हुँदैमा सधैं सबै कम्पनी राम्रा हुन्छन् भनेर मात्र चाहिँ बुझ्नु हुँदैन । अनि, पीइ केही बढी हुँदैनमा त्यो कम्पनीमा लगानी गर्नु हुँदैन भन्ने पनि सधैं सोच्नु हुँदैन । यसमा अन्य केही पक्षहरुको पनि भूमिका रहने गर्छ । पीइसँगै अन्य सूचकहरु पनि उत्तिकै ध्यान दिनुपर्ने हुन्छ । अहिले त पीइसँग कम्पनीको ग्रोथलाई पनि विशेष ख्याल गर्न थालिएको छ । भविष्यको सम्भावनातर्फ पनि ध्यान दिनुपर्छ । अर्कोतर्फ पीइ रेसियोको आधारमा तुलना गर्दा एउटै व्यवसाय गर्ने कम्पनीहरु वा एउटै इन्डस्ट्रीका बीचमा मात्र गर्न उचित हुन्छ । मूल्य आम्दानी अनुपातका केही सीमाहरु पनि रहेका छन् । कम्पनीको कमाई उसको विगतको कमाई हो । विगतको कमाईले मात्र सधैं भविष्यको नतिजा ग्यारेन्टी गर्दैन । विगतमा राम्रो कमाएको कम्पनीले भविष्यमा पनि राम्रै गर्छ भनेर ग्यारेन्टी गर्न सकिँदैन । यसैगरी, विगतमा राम्रो परफर्मेन्स गर्न नसकेका कम्पनीले पनि भविष्यमा निकै राम्रो गर्न सक्ने सम्भावना पनि रहन सक्छ । यसर्थ, लगानीकर्ताले यी विषयहरु पनि ख्याल गर्नुपर्ने हुन्छ । अन्त्यमा, तर पीइ रेसियो लगानीकर्ताले विश्लेषण गर्नैपर्ने महत्वपूर्ण सूचक चाहिँ हो ।

ग्रीन लाइफकाे आइपीओमा आइतबारसम्म साढे ४ गुणा बढी आवेदन, २७ गते अन्तिम म्याद

ग्रीन लाइफ हाइड्रोपावरले बिक्रीमा ल्याएको आइपीओमा आइतबार साँझसम्ममा साढे ४ गुणा बढी आवेदन परेको छ। बिक्री प्रबन्धक बिओके क्यापिटलले दिएको जानकारी अनुसार कम्पनीको आइपीओमा आइतबार साँझ ४ः४० बजेसम्ममा ८ लाख ९ हजार ५६३ जना आवेदकबाट १ करोड ४७ लाख ६८ हजार ५९० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। यो कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको आइपीओको ४.५४ गुणा धेरै हो। ग्रीनलाइफ हाइड्रोपावरले माघ २३ गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो। त्यसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ। बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सकिने छ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत माघ २७ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ।

फेरि बढ्यो सुनको मूल्य

काठमाडौंः स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ । सोमबार प्रतितोला रु ९० हजारमा कारोवार भएको छापावाला सुन आज रु ५०० ले वृद्धि भई रु ९० हजार ५०० पुगेको छ । त्यसैगरी सोमबार प्रतितोला रु ८९ हजार ५५० मा कारोवार भएको तेजाबी सुनको मूल्य आज भने रु ९० हजार ५० तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन पनि प्रतितोला रु ५०० ले वृद्धि भएको हो । यस्तै चाँदी प्रतितोला रु एक हजार १५५ मा कारोवार भएको छ । सोमबार प्रतितोला रु एक हजार १२० मा कारोवार भएको चाँदी आज भने तोलामा रु ३५ ले वृद्धि भएको हो ।

नेप्से नयाँ उचाइमाः दोहोरो अङ्कको वृद्धि

काठमाडौंः धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचकले आज नयाँ उचाइ कायम गरेको छ । निर्जीवन जीवन बीमा, जीवन बीमा र उत्पादन उपसमूहका कम्पनीको शेयरमा उच्च अङ्कले वृद्धि भएपछि नेप्से परिसूचकले एक हजार ८०० को विन्दु पार गरेको हो । आइतबार र सोमबार मात्रै झण्डै रु १२ अर्ब बराबरको कारोवार भएको बजारमा आज पनि कारोवार रकम रु पाँच अर्ब ४४ करोड बराबरको भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा दाहोरो अङ्कको वृद्धि भयो । स्टकका अनुसार नेप्से २९.६८ विन्दुले उकालो लागेर एक हजार ८१०.११ म पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.४२ विन्दुले उकालो लागेर ३४९.३७ मा पुगेको छ । कूल १९६ कम्पनीको एक करोड १७ लाख ४८ हजार ५२० कित्ता शेयर रु पाँच अर्ब ४४ करोड २९ लाख ५० हजार १८९ मा खरीदबिक्री भए । स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज होटल उपसमूहको शेयर ओरालो लाग्दा अन्य ११ उपसमूहको शेयर भने उकालो लागेको छ । होटल ३४.९२ विन्दुले ओरालो लागेको छ । यस्तै बैंकिङ १.४४, व्यापार १७२.६३, विकास बैंक १२.८६, जलविद्युत् २१.३२, वित्त ६.२३, निर्जीबन बीमा ३२७.५१, उत्पादन २२७.१२, अन्य ६१.५१, लघुवित्त २५.५९, जीवन बीमा २४८.५२ र सामूहिक लगानी कोष ०.१ विन्दुले उकालो लागेका छन् । कारोवारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु ३७ करोड ३३ लाख ८६ हजार ५०५ बराबरको कारोवार भयो । यस्तै नेपाल दूरसञ्चार कम्पनी रु २८ करोड ५१ लख १७ हजार १८८, नेपाल पुनर्बीमा कम्पनी रु २५ करोड ८२ लाख तीन हजार ५७९, हिमालयन डिस्टिलरी रु २० करोड ९४ लाख ७८ हजार २५७, नेको इन्स्योरेन्स रु २० करोड १४ लाख ७३ हजार ५८६, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रु १८ करोड ९९ लाख २४ हजार ९८८, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १८ करोड ३३ लाख १४ हजार २६८, नेपाल बैंक लिमिटेड रु १७ करोड ६९ लाख ७० हजार २८३ र शिवम् सिमेन्ट रु १५ करोड २३ लाख दुई हजार ५४२ बराबरको कारोवार भई शीर्ष स्थानमा छन् । कारोबार भएका कम्पनीमध्ये १२४ को शेयर उकालो लागेको छ भने ३५ कम्पनीको शेयर ओरालो लाग्दा १३ को भने कुनै परिवर्तन भएन । कारोवारका आधारमा आज बोटलर्स नेपाल तराई ९.९९, हिमालयन डिष्टिलरी ९.९८, विशाल बजार कम्पनी ९.९५, आँखु खोला जलविद्युत् कम्पनी ९.९२, मल्टीपर्पोज फाइनान्स ९.८७, अजोड इन्स्योरेन्स ९.८६, ङादी ग्रुप अफ पावर ९.७३, नेको इन्स्योरेन्स ९ र नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ८.८२ प्रतिशतले कमाए । यस्तै सोल्टी होटल ३.२०, सप्तकोशी डेभलपमेन्ट कम्पनी ३.०७, जानकी फाइनान्स २.६५, युनिलिभर नेपाल २, अपि पावर कम्पनी १.९२, एभरेष्ट बैंक १.७८, गणपति माइक्रोफाइनान्स १.७८, हिमालयन बैंक १.५०, नेपाल फाइनान्स १.४९ र सानिमा इक्विटी फण्डका लगानीकर्ताले १.३५ प्रतिशतले गुमाए ।

दुई दिनकै कारोवार रकम झण्डै १२ अर्ब

काठमाडौंः धितोपत्र बजारमा हरेक दिन जसो नै नयाँ नयाँ रेकर्ड बनिरहेको छ । आइतबार र आजको कारोवार रकम कूल रु १२ अर्बको हराहरीमा रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार पछिल्ला दिनमा बन्द अवस्थामा रहेका होटल उपसमूहको शेयरमा लगातार वृद्धि भइरहेको छ । कम परिमाणका शेयर भएका कम्पनीको शेयरमा लगानीकर्ता आकर्षित भएका कारण नेप्सेमा उच्च अङ्कको वृद्धि भएको छ । यस्तै, कारोवार रकममा समेत उल्लेख्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार कूल २०१ कम्पनीको एक करोड ६० लाख ३४ हजार ७१७ कित्ता शेयर रु ६ अर्ब ९० करोड ६७ लाख २८ हजार ३१५ मा खरिद बिक्री भए । कारोवार रकममा आज भएको वृद्धि पछिल्ला दिनको हालसम्मकै उच्च हो । यस्तै, आज कूल १९९ कम्पनीको एक करोड २० लाख २१ हजार ३४७ कित्ता शेयर रु चार अर्ब ७६ करोड २७ लाख चार हजार ६११ मूल्यमा कारोवार भयो । स्टकका अनुसार नेप्से आज २.३८ बिन्दुले घटेर एक हजार ७८०.४३ मा ओर्लेको छ । नेप्सेको सुधार आज रोकिएको भए पनि कारोवार रकम भने झण्डै साँढे चार अर्ब माथि रहेको छ । आज ठूला कम्पनीको कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.१२ अङ्कले ओरालो लागेर ३४४.९५ मा झरेको छ । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर उकालो लाग्दा सात उपसमूहको शेयर भने आरोलो लागेको छ । बैंकिङ ६.०५, व्यापार २९.१७, होटल ७६.६९ र उत्पादन १३३.९८ बिन्दुले बढेको छ । कारोवारको प्रवृत्ति हेर्दा आज पनि कोरोनाका कारण बन्द भएका होटल उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । विशेष गरी सोल्टी होटल, ¥याडिसन (ओरन्टल )होटलको शेयर मूल्यमा वृद्धि भएको छ । ती दुवै होटल चालू आवको पहिलो त्रैमासमा घाटामा रहेको विवरण सार्वजनिक भएपनि शेयर बजारमा भने सकारात्मक देखिएको छ । ओरालो लागेका उपसमूहमा विकास बैंक १.८१, जलविद्युत् १.७५, वित्त १.७६, निर्जीबन बीमा १२५.९७, अन्य १६.०७, लघुवित्त २०.९१, जीवन बीमा १८२.४ र सामूहिक लगानी कोष ०.१७ बिन्दु रहेका छन् । यसैगरी कारोवारका आधारमा आज नेपाल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ३० करोड २२ लाख सात हजार ४६३ बराबरको कारोवार भयो । यस्तै, नेपाल पुर्नबीमा कम्पनी रु २९ करोड ३० लाख ३३ हजार ७४१, हिमालयन डिस्टिलरी रु २८ करोड ९७ लाख सात हजार २७९, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु २३ करोड २१ लाख २१ हजार ५१६, प्राइम बैंक रु १७ करोड २१ लख दुई हजार ७०५, एनआइसि एशिया बैंक रु १४ करोड ७९ लाख ७५ हजार ८०८, प्रभु बैंक रु १३ करोड ६१ लख ६९ हजार ८५८ र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको रु १३ करोड ४४ लाख ७८ हजार ५२० बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । यस्तै कारोवारका आधारमा आज एचआइडिसिएल ९.९२, हिमालयन डिसिटलरी ९.४५, जानकी फाइनान्स ६.०२, मल्टीपर्पोज फाइनान्स कम्पनी ५.५६, महिला सहयात्रा माइक्रोफाइनान्सका लगानीकर्ताले ५.३७ प्रतिशतले कमाए । यस्तै, एनआइसि एशिया व्यालेन्स फण्ड ४.५४, सिटिजन म्युचुअल फण्ड ४.३१, गुडविल फाइनान्स ४.०७, नेशनल माइक्रोफाइनान्स ३.८५ र सानिमा जनरल इन्स्योरेन्सका लगानीकर्ताले ३.६७ गुमाए ।

राष्ट्र बैंकले १५ अर्बको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडौंः नेपाल राष्ट्र बैंकले सोमबार रु १४ अर्ब ८१ करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले सबै ट्रेजरी बिल नवीकरणका लागि बोलपत्र आह्वान गरेको छ । त्यसमा कूूल रु दुई अर्ब २३ करोड ३२ लाख ९१ दिने अवधिको हो । यस्तै रु १२ अर्ब ४७ करोड कूल १८२ दिनका लागि र रु ११ करोड भने कूल ३६४ दिनका लागि बिक्री गर्न लागिएको छ ।