तीन वटा सम्पन्न, चार वटाको प्रगति ८० प्रतिशत माथि

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजनामध्ये चार वटाको प्रगति ८० प्रतिशतभन्दा माथि भएको बताएका छन्। 

बुधबार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवका आयोजनाहरूमध्ये तीन वटा सम्पन्न भइसकेको जानकारी दिएका छन्।

उनले चार वटाको प्रगति ८० प्रतिशत माथि, छ वटाको प्रगति ५० देखि ८० प्रतिशतसम्म र छ वटाको प्रगति ५० प्रतिशतसम्म भएको जानकारी दिए।

यसैगरी, पाँच वटाको प्रगति १० प्रतिशत मुनी रहेको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले सुनकोशी-मरिण ड्राइभर्सन द्रुत गतिमा सञ्चालनमा रहेको बताए।

यस्तो छ प्रधानमन्त्री प्रचण्डको सम्बोधनको पूर्णपाठ

राष्ट्रियसभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने

बुधबार सम्पन्न सो पार्टीको स्थायी कमिटी बैठकले फागुन अन्तिम साता हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा माओवादीले उम्मेदवारी दिने निर्णय गरेको उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए।

यी हुन् भरतपुरका प्रमुख पर्यटकीय गन्तव्य, यस्ता छन् विषेशता

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन फागनु १८ गते नारायणी नदी किनारमा हुँदैछ । महानगरका गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रर्वद्धन गर्ने, पर्यटकको संख्या र बसाइँ अवधी वृद्धि गर्ने तथा दिगो पर्यटन विकासबाट आर्थिक समृद्धि प्राप्त गर्ने उद्देश्यले आयोजना गर्न लागिएको छ । विश्वसम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज तथा नारायणी र राप्ती नदीले घेरिएको नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य भरपतुर हो । महानगरपालिका विविध सम्पदाहरूले भरिपूर्ण छ । भ्रमण वर्षमा करिब २ लाख बाह्य तथा ५ लाख आन्तरिक पर्यटक भित्र्याउने महानगरले लक्ष्य लिएको छ । पर्यटकले भरतपुर भ्रमण गरेर यहाँका पर्यटकीय क्षेत्रहरुको अवलोकन, यहाँका सम्भावनाहरुको पहिचान, तथा बद्लिएको भरतपुरको प्रत्यक्ष अनुभूति गर्ने अपेक्षा महानगरले लिएको छ । साँस्कृतिक अनेकता, भौगोलिक विविधता, प्राकृतिक अवस्था, भू­बनोट आदिको आधारमा महानगरअन्तर्गत पर्ने प्रमुख गन्तव्यहरू यस प्रकार छन् । १. मेघौली चितवन राष्ट्रिय निकुञ्ज र दुई ठुला नदी राप्ती तथा नारायणी दुईतिरबाट घेरिएको सुन्दर पर्यटकीय नगरी मेघौली नेपालमा सर्वप्रथम जङ्गल सफारीको सुरुवात गर्ने टाइगर टप्स जङ्गल लजको प्रवेशद्वार हो । भरतपुर चौबीसकोठीदेखि २५ कि.मी. पश्चिमतर्फ वडा नं. २७ मा पर्ने मेघौली पर्यापर्यटन विकासको महत्वपूर्ण गन्तव्य हो । चार वटा सामुदायिक वनमा पाइने दुर्लभ बाघ, गैँडा तथा चराचुरुङ्गी, निर्माणाधीन राइनोपार्क, असहाय वन्यजन्तु केन्द्र, थारु सांस्कृतिक सङ्ग्रहालय, प्याराजम्पिङ्ग, पहाडी तथा आदिवासी संस्कृति, निकुञ्जमा हात्तीसयर, डुङ्गा सयर, मचान स्टे, जङ्गलवाक, जिप सफारी आदि यस क्षेत्रका प्रमुख आकर्षण तथा पर्यटकीय क्रियाकलाप हुन् । हवाइमार्ग, स्थलमार्ग तथा जलमार्गबाट सजिलै पुग्न सकिने मनोरम पर्यटकीय स्थल मेघौली सर्वप्रथम हात्तीपोलो खेलिने स्थानको रूपमा संसारभरि नै परिचित छ । चितवन राष्ट्रिय निकुञ्ज, गोलाघाट, भोजबाबा आदि नजिकैका महत्वपूर्ण गन्तव्यहरू हुन् । समुद्री सतहदेखि २२५ मी. उचाइमा अवस्थित उच्च मनसुनी हावापानी रहेको मेघौलीमा होमस्टेदेखि सुविधा सम्पन्न आरामदायी होटलको व्यवस्था छ । २. पटिहानी भरतपुर-कसरा मार्गमा वडा नं २२ स्थित कमलपोखरीमा तैरिएका विभिन्न प्रजातिका मनमोहक कमलका फूलहरूले पर्यटकलाई भरपूर आनन्द प्रदान गर्दछन् । गोही प्रजनन केन्द्र कसरा, विक्रमबाबा, निकुञ्ज, सामुदायिक वनहरू यसका नजिकै रहेका आकर्षण हुन् । सुविधासम्पन्न होटल स्थापना भएको यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकले प्राकृतिक तथा सांस्कृतिक आनन्द प्राप्त गर्न सक्दछन् । नेपाल सरकारद्वारा १०० औँ गन्तव्यमा सूचीकृत पटिहानी पर्यटन क्षेत्रमा निर्मित अम्ब्रेला टावर मानवनिर्मित थप आकर्षण भएको छ ।  निर्माणाधीन अम्ब्रेला स्ट्रिट अन्तर्गत करिब ४५० ओटा फाइवरका छातामुनिबाट १२० मिटर पैदल यात्रा गर्दा पर्यटकहरूले फरक अनुभूति प्राप्त गर्दछन् । भ्युपोइन्ट, सेल्फीगेट, रेस्टुरेण्ट, शौचालय, पार्किङ्ग, आवास लगायतका सेवाहरू उपलब्ध यस गन्तव्यमा पर्यटकहरूले प्राकृतिक वातावरणमा मनोरम  आनन्द प्राप्त गर्दछन् । ३. देवघाटधाम भरतपुरदेखि ६ कि.मी. उत्तरतर्फ त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटधाम धार्मिक महिमा बोकेको पवित्र स्थल हो । समुद्री सतहबाट २०० मी. देखि ५७५ मी. सम्मको उचाइमा अवस्थित देवघाटलाई शान्ति र आध्यात्मिक उन्नयनको उत्कृष्ट क्षेत्र मानिन्छ । चितवन र तनहूँ जिल्लातर्फ गलेश्वर आश्रम, चक्रेश्वर शिला, सीता गुफा, वशिष्ठ गुफा, हरिहर मन्दिर, महेश सन्न्यास आश्रम, राम मन्दिर, यज्ञशाला, कठस्तूप, सिद्घि गणेश, गोपीधाम, सूर्यकुण्ड, पशुपतिनाथ जस्ता धार्मिक स्थलहरू छन् । वशिष्ठ ऋषि, राजा मणि मुकुन्द सेन, प्रताप शाह, लेखनाथ पौड्याल, सिद्ध गलेश्वरबाबा जस्ता हस्तीहरूले जपतप गरी सिद्धि प्राप्त गरेको यस पुण्यभूमिको बारेमा हिमवत्खण्ड नेपाल माहात्म्यमा महादेव शङ्कर आफ्ना गणहरूका साथ यसै क्षेत्र बसेको कुरा उल्लेख छ । ४. ज्ञानेश्वर ब्लक ज्ञानेश्वर, सेतीदेवी, मझुवा र सिद्धिगणेश गरी ४ वटा सामुदायिक वन रहेको ज्ञानेश्वर ब्लक भरतपुरदेखि १० कि.मी. पश्चिममा अवस्थित छ । नारायणगढबाट १ घण्टामा डुङ्गा सयर गरेर पुग्न सकिने रमणीय क्षेत्र ज्ञानेश्वर ब्लक नारायणी नदीको किनारमा स्वच्छ एवम् शान्त रूपमा पर्यटकलाई मनोरञ्जन प्रदान गर्दै बसेको छ । ¥याफ्टिङ्ग, जङ्गल वाक, जिप ड्राइभ, मचान स्टे, पिकनिक स्पोट, वन्यजन्तु उद्धार केन्द्रमा संरक्षित मृग, अजिङ्गर, दुम्सी, बाँदर, गिनिपिग, अस्ट्रिज, लाटोकोसेरोसहितको सानो चिडियाखाना तथा स्थानीय संस्कृति अवलोकन यहाँका मुख्य पर्यटकीय आकर्षण हुन् । दुर्लभ एकसिङ्गे गैँडा, हरिण, मयुर, गिद्ध आदि विभिन्न प्रजातिका वन्यजन्तु तथा चराचुरुङ्गी अवलोकन गर्न सकिने यो क्षेत्र खुला चिडियाखानाको रूपमा विकास भैरहेको छ । यसै गरी निकटमै रहेको तीर्थस्थल शिवघाटमा रहेको शिव मन्दिर पाल्पाली राजा मुकुन्दसेन प्रथमले स्थापना गरेका थिए जहाँ पशुपतिनाथ, महादेव, सीताराम आदि मन्दिर रहेका छन् । यहाँ महाशिवरात्रीमा भक्तजनको विशेष घुइँचो लाग्दछ । ५. बीसहजार ताल भरतपुर चौबीसकोठीबाट गोन्द्राङ हुँदै ९ कि.मी. पूर्व­दक्षिणमा अवस्थित बीसहजार ताल पूर्वी चितवनबाट ल्याएको नहरको कारण निर्माण भएको हो । बाँधबाट बीसहजार फुट टाढा धेरैवटा तालहरू बनेकोले यसको बीसहजार ताल नामकरण गरिएको हो । विश्व सिमसार क्षेत्रमा सूचीकृत यो क्षेत्र जैविक विविधताले सम्पन्न छ । सौराहाको टिकौली सामुदायिक वनबाट जिप सफारी होस् वा वरण्डाभार मध्यवर्ती वनको हात्तीसयर, दुर्लभ वन्यजन्तु, बाघ, गैँडा, मृग, गोही र घुमन्ते चराहरू अवलोकन गर्न बीसहजार ताल क्षेत्र आकर्षण गन्तव्यको रूपमा परिचित छ । वन्यजन्तु कोरीडोर अन्तर्गत बरण्डाभार क्षेत्रमा पर्ने बीसहजार ताल क्षेत्र साल प्रजातिका विशाल वृक्षहरूका लागि प्रख्यात छ । चारभाइ साल, बेतघारी फरक फरक आकृतिका तालहरू, विभिन्न प्रजातिका वनस्पति, पुतली तथा माछाहरू, मगर गोही, घडियाल गोही, चराचुरुङ्गी आदि यहाँका आकर्षण हुन् । पर्यटक विश्राम स्थल, टावर, खानेपानी, शौचालय, सूचना केन्द्र निर्माण भैसकेको यस क्षेत्रमा सत्रहजार तालदेखि वाइसहजार ताल, रातमाटेताल, अठ्ठाइसहजारताल, मयुरताल, किङ्गफिसर ताल, दक्षिणकाली ताल, लक्ष्मीताल, बाटुली पोखरीसम्मको लेकसाइड सर्किट अवलोकन, जङ्गल वाक, बोटिङ्ग, जिप सफारी, गाउँ भ्रमण तथा जातीय संस्कृति अवलोकन गर्न सकिन्छ । ६. नारायणी बिच क्षेत्र नारायणी पुलदेखि गौरेश्वर मन्दिरसम्मको धार्मिक क्षेत्र, जोर कुसुम, नारायणी नदी तथा बालुवामा हुने समुद्री खेलहरू, दियालो बङ्गाला, महोत्सव स्थल यहाँका थप आकर्षण हुन् । महानगरद्वारा प्रस्तावित Water Park River Safari सहितको नारायणी बिच मोडलले मनोरञ्जनतर्फ उन्मुख पर्यटनका पारखीहरूलाई भरपूर आनन्द प्रदान गर्दछ । भरतपुर महानगरपालिका वडा नं. ३ कार्यालय नजिक निर्माण गरिएको सस्पेन्सन ब्रिज, आइलैण्ड, पिकनिक स्पोट, गैंडा, हरिणलगायत विभिन्न वन्यजन्तु तथा चराचुरुङ्गी अवलोकन, बोटिङ्ग  यहाँका प्रमुख आर्कषण हुन् । काठमाण्डौ–पोखरादेखि हवाइमार्ग, मुग्लिङ वा त्रिवेणीधामदेखि जलमार्ग तथा सडकमार्गबाट सहजै पहुँच भएको यस क्षेत्रमा घुम्न आउने पर्यटकहरूलाई बसोवासका लागि भरतपुर तथा नारायणगढ बजारमा पर्याप्त आरामदायी होटलहरू रहेका छन् । ७. चौकीडाँडा/कविलासगढी भरतपुर महानगरपालिकाको नारायणगढ बजारबाट १८ किलोमिटर पूर्वमा रहको भोर्लेबाट करिब आधा घण्टा उकालोको पैदल यात्रापछि समुद्री सतहबाट ११०० मिटरको उचाइमा रहेको चौकीडाँडा पुग्न सकिन्छ । साथै पात्लेबास हुँदै पदमार्गको मध्मबाट चौकीडाँडा पुग्न सकिन्छ । यो मार्गबाट ६ किलोमिटर छ । यो महानगरपालिकाको २९ औँ वडा हो । भरतपुर महानगरको २९ वडा यस्तो ठाँउ हो जहाँ लालीगुँरास, सुनाखरी, सुनगाभा फुल्ने गर्दछन्। महानरपालिकाले चौकी डाँडालाई हिल स्टेशनको रुपमा प्रर्वधन गर्दैछ । राजसी हिमाली श्रंखलाका मनोरम चुचुराहरु, नारायणी नदीको घुमाउरो नागबेली र समथल मैदान हेर्ने स्थलको रुपमा चौकीडाँडा विकास भएको छ । यसै वर्षदेखि चौकी डाँडामा साहसी खेल प्यारा ग्लाइडिङको सुरुवात पनि गरिएको छ । यस साहासिक खेलको माध्यमले पनि यस क्षेत्रमा पर्यटकीय गतिविधि बढ्दै गएको छ । भरतपुर महानगरपालिकाको ऐतिहासिक स्थल कविलासगढी चौकीडाँडाबाट पश्चिमतर्फ २ दशमलव ५ किलोमिटर दूरीमा पर्छ ।  कविलासगढीबाट सुन्दर र मनोरम स्थल दृश्यको रुपमा  भरतपुर बजार क्षेत्रलाई अवलोकन गर्न सकिन्छ । यो ठाँउ गुरुङ जातिको घाटु नाँचको लागि प्रख्यात छ । लोप उन्मुख चेपाङ जातिको बासस्थन रहेको यस ठाँउमा चेपाङ संस्कृति पनि हेर्न सकिन्छ । यस्तै, महानगरपालिकामा प्रमुख पर्यटकीय गन्तव्यसँगै अन्य गन्तव्यहरु जगतपुर, राइनोकुञ्ज, बाटुली पोखरी, कसरा, गोलाघाट, बागेश्वरी रहेका छन् । त्यस्तै महानगरले भरतपुर ११ को गणेशधाम, बी.पी. शान्ति नगर वन, गाँजीपुर, सिमरी टाउन, महाबौद्ध गुम्बा, राइनो ताल, धनगढा मन्दिर, चितवन प्रदर्शनी केन्द्र, बखान बहुउद्देश्य सहकारी संस्था, रानी पोखरी, प्राङ्गारिक कृषि उत्पादन सहकारी संस्था, संयुक्त राप्ती दुन सामुदायिक वन क्षेत्र रहेको छ ।

लक्ष्यको ४१.९१ प्रतिशत उठ्यो राजस्व

काठमाडौं । सरकार यो वर्ष निर्धारण गरेको राजस्व संकलनको ४१.९१ प्रतिशत संकलन गर्न सफल भएको छ । चालु आ.ब.मा १४ खर्ब ७२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको सरकारले आजको मिति सम्म ६ खर्व १७ अर्ब ११ करोड रुपैंया संकलन गरी सकेको छ । आर्थिक संकटको हल्ला चलाइएको यस अवधिमा संकलन भएको राजस्वको अवस्था हेर्दा समग्र अवस्था राम्रो रहेको मान्न सकिने आर्थिक मामलाका जानकार बताउछन् । महालेखा कार्यालयको अनुसार आज मात्रै २ अर्व राजस्व संकलन भएको छ । 

यस्ता छन् मन्त्रिपरिषद्का १७ निर्णय

काठमाडौं । सरकारले गत फागुन १४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बैठकका निर्णय सार्वजनिक गरेकी हुन्। यी हुन् निर्णय 

माओवादीमा राष्ट्रियसभा अध्यक्ष नछोड्न दबाब,  निर्णय भोलि

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेताहरूले राष्ट्रियसभा अध्यक्ष पद पार्टीले छोड्न नहुने धारणा राखेका छन् ।  मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकमा अधिकांश नेताहरूले राष्ट्रियसभा निर्वाचनबारे आ–आफनो मत राख्दै अध्यक्ष पद भने पार्टीले छाडनु नहुने मत राखेका हुन् ।  माओवादी स्थायी कमिटीका नेताहरूले राष्ट्रियसभा अध्यक्ष पद पार्टीले छोड्न नहुने मत राखेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।  त्यसैगरी, बैठकमा पार्टी नेताहरूको कार्य विभाजन, भावी योजना लगायतका विषयमा पनि छलफल गरिएको छ । प्रवक्ता सापकोटाका अनुसार बैठकमा कांग्रेस महासमिति बैठकमा प्रस्तुत गठबन्धनसम्बन्धी धारणाका बारेमा पनि नेताहरूले प्रतिक्रिया दिएका थिए ।  प्रवक्ता सापकोटाले भने, 'हामीले प्रस्तुत सबै एजेन्डाहरूको बारेमा वृहत छलफल गर्‍यौं । तर फेरि त्यो निष्कर्षमा पुगिसकेको छैन । निर्णय भइसकेको छैन । छलफलको विषय तिनै हुन्, जो मैले पहिलेनै प्रस्तुत गरिसकेको छु । सबभन्दा मुख्य चाहिँ कार्य विभाजनको विषय थियो । पार्टी अभियान सञ्चालन र त्यस्तै गरेर आगामी योजनाका बारेमा आज वर्तमान राष्ट्रिय परिस्थितिबारे पनि अलिबढी छलफल भयो । यसमा राष्ट्रियसभाको अध्यक्षको निर्वाचनको बारेमा छलफल भयो । र त्यस सम्बन्धमा चाहिँ अन्तिम निर्णय भोलि हुन्छ । अधिकांशले राष्ट्रियसभाको अध्यक्ष छोड्नु हुन्न भन्ने मत राख्नुभएको छ । हालै सम्पन्न नेपाली कांग्रेस महासमिति बैठकमा चलेको चर्चाहरूको बारेमा पनि छलफल भयो ।' माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलि (बुधबार) पनि बोलाइएको छ । 

वरिष्ठ गायक आचार्यप्रति राष्ट्रिय झण्डा ओढाएर प्रधानमन्त्री प्रचण्डद्धारा अन्तिम श्रद्धाञ्जली व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ गायक एवं संगीतकार भक्तराज आचार्यप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनलाई श्रद्धान्जली दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसर पुगेका हुन् । प्रधानमन्त्रीले गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली प्रकट गरेका हुन् । प्रधानमन्त्रीसँगै नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू श्रद्धाञ्जली दिन प्रतिष्ठान पुगेका थिए ।  सोमबार निधन भएका भजन शिरोमणि, वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थिव शरीरलाई मंगलबार सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । अन्तिम श्रद्धाञ्जलीका लागि राजनीतिकर्मी, गीतसङ्गीत क्षेत्रका हस्ती, कलाकर्मी लगायतको उपस्थिति रहेको छ । आचार्यको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिँदै छ । उनको हिजो दिउँसो ८१ वर्षाको उमेरमा निधन भएको थियो । साढे चार सयभन्दा धेरै गीत गाएका भक्तराजका दर्जनौँ गीत लोकप्रिय छन् ।

नाट्य प्रज्ञा प्रतिष्ठान परिसरमा संगीतकार आचार्यलाई अन्तिम श्रद्धाञ्जली

जन्म : वि.स.२००० माघ १२ मंगलबार, निधन : वि.स. २०८० फागुन १४ सोमबार

माओवादी स्थायी समिति बैठक जारी

  काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा कार्यविभाजन र आगामी जागरण अभियानबारे छलफल प्रारम्भ भएको छ ।  बैठकमा समसामयिक राजनीतिक विषयमा र विधान अधिवेशनले लिएका निर्णयअनुसार वैज्ञानिक, वस्तुवादी र प्रभावकारी ढङ्गले कार्य सम्पादन हुने गरी नेताहरूको कार्य विभाजन गर्ने विषयमा पनि छलफल हुने  बताइएको छ । नेताहरूको कामको मूल्याङ्कनका आधारमा कार्य विभाजन गर्ने तयारी भएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

भक्तराज आचार्यको निधन, श्रद्धाञ्जलीका लागि मंगलबार नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने

जन्म : वि.स.२००० माघ १२ मंगलबार, निधन : वि.स. २०८० फागुन १४ सोमबार

किसानहरूको दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। दूग्ध विकास संस्थानले दूध खरिद गरेवापत् किसानहरूलाई दिनुपर्ने भुक्तानी तुरून्त दिन प्रधानमन्त्रीले निर्देशन दिएका छन् । सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा अर्थमन्त्री डा.प्रकाशशरण महत, कृषिमन्त्री डा.बेदुराम भुसाल र नेपाल सरकारका मुख्यसचिव डा.बैकुण्ठ अर्याललाई बोलाएर दूग्ध किसानहरूको दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।  सो क्रममा प्रधानमन्त्रीले निजी क्षेत्रबाट किसानहरूले पाउनुपर्ने भुक्तानी तुरून्त असुली गर्न र भुक्तानी नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउन दिए। प्रधानमन्त्रीले भने, 'किसानहरूले महिनौंसम्म दूधको भुक्तानी नपाउनुको कारण के हो, यसलाई गम्भीरतापूर्वक लिनुस्। निजी क्षेत्रबाट किसानहरूलाई भुक्तानी दिनुपर्ने रकमका लागि तत्काल सहजीकरण गर्नुस्।'

यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय

काठमाडौं । आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक सिंदरबारमा बस्यो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेकोे बैठकले विविध निर्णय गरेको छ । सरकारले बालकुमारी घटनाका सम्बन्धमा छानबिन गर्न गठित आयोगको सुझाव कार्यान्वयन गर्ने सम्बन्धमा प्रतिवेदन अध्ययन गर्ने जिम्मा दुई मन्त्रीलाई दिएको छ ।  आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन अध्ययन गर्न भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ रहेको समिति गठन गर्ने निर्णय गरेको हाे ।  बैठकले भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाललाई बेलायत सरकारले प्रदान गर्ने अन्तर्राष्ट्रिय मेयर अवार्ड ग्रहण गर्न स्वीकृति दिने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।  यस्ता छन् २०८० फागुन १४ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू १. प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पताल बनाउने भन्ने विषयको प्रदर्शनका क्रममा प्रहरीको गोली लागि मृत्यु भएका सर्लाही जिल्ला बरहथवा नगरपालिका वडा नम्बर ६ बस्ने मृतक जयशंकर साहको परिवारलाई आर्थिक सहायता स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने । २. सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको म्याद २०८०/११/१६ बाट लागु हुने गरी फागुन मसान्तसम्म थप गर्ने । ३. सार्वजनिक खरिद (तेह्रौं संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने । ४. बालकुमारी घटनाका सम्बन्धमा छानबिन गर्न गठित आयोगको सुझाव कार्यान्वयन गर्ने सम्बन्धमा प्रतिवेदन अध्ययन गरी २०८०/११/२० भित्र सिफारिस गर्ने गरी उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ रहेको समिति गठन गर्ने । ५. भरतपुर महानगरपालिका प्रमुख श्री रेणु दाहाललाई बेलायत सरकारले प्रदान गर्ने International Mayor Award ग्रहण गर्न स्वीकृति दिने । ६. २०८० कार्तिक १७ गते जाजरकोटलाई केन्द्रविन्दु बनाई गएको भूकम्पबाट क्षतिग्रस्त स्थानीय तहहरुलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने ।

विद्यार्थीलाई मन्त्री शर्माको आग्रह- ' जनताको अवस्था बदल्ने अभियानको नेतृत्व नयाँ पुस्ताले लिनुस्'

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनताको अवस्था बदल्ने अभियानको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्ने बताएकी छिन् ।  बलिदान दिवस तथा सहिद सप्ताहका अवसरमा अखिल क्रान्तिकारीले त्रिचन्द्र कलेजमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ पुस्ता नयाँ उत्साह र योजनाका साथ अघि बढ्नपर्ने बताइन् । माओवादीले जनयुद्ध गरेपछि २०५२ साल फागुन १४ गते तत्कालीन सरकारद्वारा दिलबहादुर रम्तेल मारिएको स्मरणमा अखिल क्रान्तिकारीले हरेक वर्षको फागुन १४ गतेलाई बलिदान दिवसको रुपमा मनाउँदै आएको छ । फागुन १४ को रम्तेले हत्यादेखि फागुन २१ को सुखानी हत्याकाण्डसम्मलाई जोडेर माओवादी केन्द्रलगायतका दलहरुले सहिद सप्ताह मनाउँदै आएका छन् ।  सोही क्रममा अखिल क्रान्तिकारीको कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी स्थायी समिति सदस्य समेत रहेकी मन्त्री शर्माले अघिल्लो पुस्ताको बलिदानका आजको पुस्ताले राजनीतिक स्वतन्त्रता प्राप्त गरेको बताइन् । ‘आजको तपाइँको पुस्ता यसकारण भाग्यमानी हो, जसले निरंकुशता भोग्नुपरेको छैन । जेल, नेल, यातना सहनुुपरेको छैन’– मन्त्री शर्माले भनिन्– ‘हिजोको पुस्ताले बगाएको आँसु, रगत र पसिनाको योगफल नै आजको संघीय लोकतान्त्रिक गणतन्त्र हो, यसकै परिणाम आजको पुस्ता स्वतन्त्रताको खुला आकाशमा रमाउन पाएको छ ।’ त्यसैले स्वतन्त्रता सेनानीको रुपमा रहेका अग्रज पुस्ताको सम्मान गर्दै नयाँ पुस्ता अबको युगको नेतृत्व लिन तयार हुनुपर्ने उहाँले स्पष्ट गर्नुभयो । ‘पुरानो पुस्ताको बलिदानका कारण राजनीतिक व्यवस्था बदलियो’– मन्त्री शर्माले भनिन्– ‘अब बदलिएको राजनीतिक व्यवस्थाको फराकिलो धरातलमा टेकेर नयाँ पुस्ताले जनताको अवस्था बदल्ने अभियानको नेतृत्व लिनुपर्छ ।’ सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान सुरु गरिसकेको जानकारी दिंदै उनले यो अभियानलाई पूरा गर्ने मुख्य अभिभारा नयाँ पुस्ताको काँधमा रहेको बताइन् । वर्तमान सरकार गठन भएपछि ठूलाठूला अनियमिताका फाइल खुलिरहेको चर्चा गर्दै मन्त्री शर्माले भनिन्– ‘कतिपयले अहिले किन धेरै काण्डहरु सार्वजनिक भइरहेका छन् भनेर पनि प्रश्न गर्ने गरेका छन् । यी काण्डका आजका होइन, वर्षौदेखि थुप्रिएका अनियमिताका फाइल खोज्ने सरकारको पहलकदमीको परिणाम नै यी काण्डहरु सार्वजनिक भइरहेका छन् ।’ विगतका राजतन्त्रकालमा कानुन सानाका लागि मात्रै भएको र शासकहरुले जे गरे पनि छुट हुने अवस्था रहेको स्मरण गराउँदै उनले अब गणतन्त्रमा सबै बराबर हुने भएकाले पनि उच्च पदस्थहरुमाथि धमाधम कानुन आकर्षित भइरहेको बताउनुभयो । ‘गणतन्त्रले स्थापित गरेको महत्वपूर्ण भाष्य भनेको गणतन्त्रमा गल्ती गर्ने छुट हुँदैन भन्ने नै हो’–उनले थपिन– ‘गल्ती गरे जोकोही पनि सजायको भागिदार हुनुपर्छ, यही नै गणतन्त्रको सार हो ।’

शान्ति सेनामा नेपालको योगदान सर्वाधिक  : राष्ट्रपति

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त राज्य अमेरिकाको अमेरिकी सेनाअन्तर्गत युनाइटेड स्टेट्स इन्डो प्यासिफिक कमाण्डरका एड्मिरल जोन सी एक्विलिनोले शिष्टाचार भेट गरे । सोमबार राष्ट्रपति भवनमा भएको उक्त भेटमा राष्ट्रपतिले नेपाल र संयुक्त राज्य अमेरिका बित कूटनैतिक सम्बन्ध स्थापना भए पश्चात दुई देशबिच मैत्रीपूर्ण र सौहाद्र्रपूर्ण सम्बन्ध सही आएकोमा खुशी व्यक्त गरे । साथै उनले विश्व शान्तिको मान्यताप्रति प्रतिबद्ध नेपाल संयुक्त राष्ट्रसंघको शान्ति सेनामा सर्वाधिक योगदान गर्ने मुलुकको रुपमा रहेको कुराले गौरवान्वित भएको बताउनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा विज्ञप्तिमा उल्लेख छ ।

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक बसिरहेको छ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही भर्खरै बैठक सुरू भएको हो। बैठक समसामयिक विषयका साथै सहसचिवको पदस्थापना लगायतका विविध विषयमा केन्द्रीत रहने बताइएको छ । 

उपनिर्वाचनको कार्यतालिका प्रकाशित, चैत २४ गते उमेदवारी दर्ता (कार्यतालिकासहित)

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । आउँदो वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्बर–२ र प्रदेशसभातर्फ बझाङ–१ ‘क’मा हुने निर्वाचनका निम्ति कार्यतालिका स्वीकृत गरिएको हो । कार्यतालिका अनुसार, यही फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरिनेछ । आउँदो चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ । दल दर्ताका निम्ति फागुन २४ देखि ३० गतेसम्मको म्याद दिई सूचना प्रकाशन गरिने सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिए । चैत २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने उनले जानकारी दिए । चैत २४ देखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन गरिनेछ । चैत २४ गते उमेदवारको मनोनयनपत्र दर्ता गरिनेछ । चैत २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिकामा उल्लेख छ ।