डराउँदै चलाउँदै इन्ड्राइभ राइडरहरु

काठमाडौं । गोदावरी नगरपालिका वडा नम्बर १६ ठेचोमा बाटोको छेउमा मोटरसाईकलमा बसेर प्रशान्त तामाङ मोवाइल हेरिरहेका थिए ।

इनड्राइभ एप चलाइरहेका उनी कुनै अर्डर पर्खिदै थिए । एकैछिनमा एक जना यात्रु आएर सातदोबाटो जान आग्रह गर्दै पैसा कति लाग्ने भन्नेबारे जिज्ञासा राखे ।

तामाङले मोवाइल एपमा रकम हेर्न आग्रह गर्दै आफुले अफलाईन ड्राइभ नगर्ने बताए । उनले भने, ‘इनड्राइभमा अनलाइन नै भएपनि समाउन थालेको छ भन्ने सुनेको छु, अफलाइन त झन चलाउनै भएन नी !’ 

इनड्राइभ एपमा रु. १०५ देखाएपछि त्यही पैसा दिने लिने त सहमति भयो तर तामाङले त्यसपछि मोवाइलमा एप बन्द गरे र पछाडि बस्नेलाई आग्रह गरे, ‘अहिले इनड्राइभलाई समाउने गरेको छ, प्रहरी चेकिङ भयो भने, मेरो भाइ हो, भनिदिनुस् ल !’ 

प्रशान्त तामाङ मात्रै होइन, अहिले इन ड्राइभ गर्नेहरु धेरैले यही अभ्यास गर्ने गरेका छन् । चल्ने एप पनि खुल्ला छाड्ने र बेला बेला ‘प्रयोजन विपरित सवारी चलाएको’ भन्दै दुई हजार देखि दुई हजार पाँच सय चिट काट्ने र पक्राउ सम्म गरेपछि इनड्राइभ चालकहरु दोधारमा परेको देखिन्छ । 

प्रशान्त भन्छन्, ‘कि सरकारले टिकटक जस्तै एप्स नै नचल्ने बनाए हुने, कि बन्द नै हो भने हुने, कि बेला बेला दुःख नदिए हुने ।’

गएको २२ चैतको बेलुका बौद्धको नयाँबस्तीस्थित पहेँलो पुलमा एकैपटक इन्ड्राइभ एपमार्फत राइड सेयरिङ गरेका १० जना मोटरसाइकल चालकलाई ट्राफिक प्रहरीले जनही दुई हजार रुपैयाँ जरिवाना गरेको कुरा सामाजिक सञ्जालमा रहेको उनीहरुको ग्रुपमा मार्फत सार्बजनिक भएपछि इन्ड्राइभका राइडरहरु आतंकित भएका हुन् ।

मोटरसाइकल चालकले ग्राहकसँग मोलमोलाइ गरेर अफलाइनमा राइड सेयरिङ गरेको पाएमा ट्राफिकले कारबाही गर्ने गरेपनि इनड्राइभ एपमा अनलाइनमा नै चलाउँदा पनि कारवाही भएपछि इन्ड्राइभका राइडरहरु झस्किएका छन् । 

नेपालमा २०२२ देखि सञ्चालनमा आएको इन्ड्राइभमा कमिसन दिनुनपर्ने भएपछि अर्को राइड सेयरिङ गर्ने एप ‘पठाओ’ भन्दा यो केहि सस्तो पर्ने चालक तथा यात्रु बताउँछन् । एभरेष्ट दैनिकसँगको कुराकानीमा राइडर्स ग्रुप नेपालका सचिव सागर थापा भन्छन्, ‘नेपाल राजपत्रमा प्रकाशित भएको कुरामा पनि हामीलाई बेलाबेला दुःख दिने गरिएको छ । पठाओमा कमिसनको खेल हुँदा यात्रु र राइडर दुबैलाई केही घाटा हुन्छ, तर यसमा हुँदैन ।’ 

अघिल्लो विहीबार देखि अकस्मात रुपमा आफुहरुलाई समाउन लागेको उनले बताए ।

‘भारत, पाकिस्तान, अष्ट्रेलिया कहींपनि इन्ड्राइभको अफिस छैन तर मजाले चलिरहेको छ, सचिव थापाले भने, एपमा सम्पूर्ण डकुमेन्टहरु अपडेट हुने भएकाले दर्ता नै गर्नुनपर्ने हो । तर दर्ता प्रक्रियामा भएपनि नेपालको कानूनका कारण ढिला भएको र ९० प्रतिशत काम सकिएको जानकारी पाएको छु ।’ 

पोखरामा सात सय जनाको ग्रुप भएकोमा कसैलाई नसमाइएको, ललितपुरमा पनि चासो नदिइएको तर काठमाडौंका केहि ठाउँमा दुःख दिएको थापाको भनाई छ । आफुहरुले गृहमन्त्रीका स्वकीय सचिव गृह मन्त्रालयमा कुरा गर्दा पनि अनलाईनमा चलाउन कुनै समस्या नभएको बताए पनि प्रहरीले फरक व्यवहार गरेको उनले दावी गरे ।

ट्राफिक प्रहरीले भने प्रयोजन विपरित चलाएका सवारीसाधन कारवाहीको दायरामा आउने बताएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी तथा प्रवक्ता जीवनकुमार श्रेष्ठले भने, ‘इनड्राइभ चलेको वा व्याण्ड भएको कुनै जानकारी छैन ।’ एभरेष्ट दैनिकसँग राइड सेयरिङ गर्ने एपको नाम नलिइकन उनले अगाडि भने, ‘अफलाईन चलाउने, दर्ता नभएको चलाउने वा प्रयोजन विपरित चलाउने सबैलाई कारवाही हुन्छ ।’ 

उनका अनुसार रातो प्लेट नम्बर भएका सवारीसाधनले अर्को मान्छे ओसारपसार गर्नु नै ‘प्रयोजन विपरित’ हुन्छ । त्यस अर्थमा पठाओ समेत बन्द गर्नुपर्ने हुन्छ ।

प्रहरीले कारवाही गर्न थालेपछि इनड्राइभका राइडरहरुले मोटरसाइकल अगाडि राख्ने मोवाइल स्टाण्ड झिक्ने, यात्रु पाएपछि मोवाइलमा एप्स बन्द गर्ने, यात्रुलाई आफन्त भन्न लगाउने र गन्तव्यमा पु¥याउने गरेका छन् ।

राइडर्स ग्रुप नेपालका अनुसार आंशिक समय र पुरा समय गरी अहिले नेपालमा करिब दुई लाख २५ हजार जनाले राइड गरिरहेका छन् । राइडर्स ग्रुप नेपालका सचिव थापाले सरकारी कर्मचारीले समेत अहिले कार्यालय जाँदा र फर्किदा इन्ड्राइभ गर्ने गरेको बताए ।

नेपालमा हाल पठाओ, इन्ड्राइभ, टुटल, ट्याक्सीमाण्डु लगायतका राइड सेयरिङ एप सञ्चालनमा छन् । त्यसमध्ये पछिल्लो समय इन्ड्राइभका प्रयोगकर्ता बढि रहेको राइडर्स ग्रुपको भनाई छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २०८० साउनदेखि अहिलेसम्म राइड सेयरिङ गर्ने १९ हजार बढि कारबाहीमा परेका छन् । ति मध्ये इन्ड्राइभ र अफलाईन राइडर दुबै छन् ।

तर कुनै ठाउँमा कारवाही गर्ने, कुनै ठाउँमा निर्वाध छोड्ने, एप्लिकेसन भने निर्वाध चल्न दिने गर्दा राइडर, यात्रु र नियन्त्रण गर्ने प्रहरीमै पनि अन्यौल देखिन्छ ।

यी हुन् भरतपुरका प्रमुख पर्यटकीय गन्तव्य, यस्ता छन् विषेशता

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन फागनु १८ गते नारायणी नदी किनारमा हुँदैछ । महानगरका गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रर्वद्धन गर्ने, पर्यटकको संख्या र बसाइँ अवधी वृद्धि गर्ने तथा दिगो पर्यटन विकासबाट आर्थिक समृद्धि प्राप्त गर्ने उद्देश्यले आयोजना गर्न लागिएको छ । विश्वसम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज तथा नारायणी र राप्ती नदीले घेरिएको नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य भरपतुर हो । महानगरपालिका विविध सम्पदाहरूले भरिपूर्ण छ । भ्रमण वर्षमा करिब २ लाख बाह्य तथा ५ लाख आन्तरिक पर्यटक भित्र्याउने महानगरले लक्ष्य लिएको छ । पर्यटकले भरतपुर भ्रमण गरेर यहाँका पर्यटकीय क्षेत्रहरुको अवलोकन, यहाँका सम्भावनाहरुको पहिचान, तथा बद्लिएको भरतपुरको प्रत्यक्ष अनुभूति गर्ने अपेक्षा महानगरले लिएको छ । साँस्कृतिक अनेकता, भौगोलिक विविधता, प्राकृतिक अवस्था, भू­बनोट आदिको आधारमा महानगरअन्तर्गत पर्ने प्रमुख गन्तव्यहरू यस प्रकार छन् । १. मेघौली चितवन राष्ट्रिय निकुञ्ज र दुई ठुला नदी राप्ती तथा नारायणी दुईतिरबाट घेरिएको सुन्दर पर्यटकीय नगरी मेघौली नेपालमा सर्वप्रथम जङ्गल सफारीको सुरुवात गर्ने टाइगर टप्स जङ्गल लजको प्रवेशद्वार हो । भरतपुर चौबीसकोठीदेखि २५ कि.मी. पश्चिमतर्फ वडा नं. २७ मा पर्ने मेघौली पर्यापर्यटन विकासको महत्वपूर्ण गन्तव्य हो । चार वटा सामुदायिक वनमा पाइने दुर्लभ बाघ, गैँडा तथा चराचुरुङ्गी, निर्माणाधीन राइनोपार्क, असहाय वन्यजन्तु केन्द्र, थारु सांस्कृतिक सङ्ग्रहालय, प्याराजम्पिङ्ग, पहाडी तथा आदिवासी संस्कृति, निकुञ्जमा हात्तीसयर, डुङ्गा सयर, मचान स्टे, जङ्गलवाक, जिप सफारी आदि यस क्षेत्रका प्रमुख आकर्षण तथा पर्यटकीय क्रियाकलाप हुन् । हवाइमार्ग, स्थलमार्ग तथा जलमार्गबाट सजिलै पुग्न सकिने मनोरम पर्यटकीय स्थल मेघौली सर्वप्रथम हात्तीपोलो खेलिने स्थानको रूपमा संसारभरि नै परिचित छ । चितवन राष्ट्रिय निकुञ्ज, गोलाघाट, भोजबाबा आदि नजिकैका महत्वपूर्ण गन्तव्यहरू हुन् । समुद्री सतहदेखि २२५ मी. उचाइमा अवस्थित उच्च मनसुनी हावापानी रहेको मेघौलीमा होमस्टेदेखि सुविधा सम्पन्न आरामदायी होटलको व्यवस्था छ । २. पटिहानी भरतपुर-कसरा मार्गमा वडा नं २२ स्थित कमलपोखरीमा तैरिएका विभिन्न प्रजातिका मनमोहक कमलका फूलहरूले पर्यटकलाई भरपूर आनन्द प्रदान गर्दछन् । गोही प्रजनन केन्द्र कसरा, विक्रमबाबा, निकुञ्ज, सामुदायिक वनहरू यसका नजिकै रहेका आकर्षण हुन् । सुविधासम्पन्न होटल स्थापना भएको यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकले प्राकृतिक तथा सांस्कृतिक आनन्द प्राप्त गर्न सक्दछन् । नेपाल सरकारद्वारा १०० औँ गन्तव्यमा सूचीकृत पटिहानी पर्यटन क्षेत्रमा निर्मित अम्ब्रेला टावर मानवनिर्मित थप आकर्षण भएको छ ।  निर्माणाधीन अम्ब्रेला स्ट्रिट अन्तर्गत करिब ४५० ओटा फाइवरका छातामुनिबाट १२० मिटर पैदल यात्रा गर्दा पर्यटकहरूले फरक अनुभूति प्राप्त गर्दछन् । भ्युपोइन्ट, सेल्फीगेट, रेस्टुरेण्ट, शौचालय, पार्किङ्ग, आवास लगायतका सेवाहरू उपलब्ध यस गन्तव्यमा पर्यटकहरूले प्राकृतिक वातावरणमा मनोरम  आनन्द प्राप्त गर्दछन् । ३. देवघाटधाम भरतपुरदेखि ६ कि.मी. उत्तरतर्फ त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटधाम धार्मिक महिमा बोकेको पवित्र स्थल हो । समुद्री सतहबाट २०० मी. देखि ५७५ मी. सम्मको उचाइमा अवस्थित देवघाटलाई शान्ति र आध्यात्मिक उन्नयनको उत्कृष्ट क्षेत्र मानिन्छ । चितवन र तनहूँ जिल्लातर्फ गलेश्वर आश्रम, चक्रेश्वर शिला, सीता गुफा, वशिष्ठ गुफा, हरिहर मन्दिर, महेश सन्न्यास आश्रम, राम मन्दिर, यज्ञशाला, कठस्तूप, सिद्घि गणेश, गोपीधाम, सूर्यकुण्ड, पशुपतिनाथ जस्ता धार्मिक स्थलहरू छन् । वशिष्ठ ऋषि, राजा मणि मुकुन्द सेन, प्रताप शाह, लेखनाथ पौड्याल, सिद्ध गलेश्वरबाबा जस्ता हस्तीहरूले जपतप गरी सिद्धि प्राप्त गरेको यस पुण्यभूमिको बारेमा हिमवत्खण्ड नेपाल माहात्म्यमा महादेव शङ्कर आफ्ना गणहरूका साथ यसै क्षेत्र बसेको कुरा उल्लेख छ । ४. ज्ञानेश्वर ब्लक ज्ञानेश्वर, सेतीदेवी, मझुवा र सिद्धिगणेश गरी ४ वटा सामुदायिक वन रहेको ज्ञानेश्वर ब्लक भरतपुरदेखि १० कि.मी. पश्चिममा अवस्थित छ । नारायणगढबाट १ घण्टामा डुङ्गा सयर गरेर पुग्न सकिने रमणीय क्षेत्र ज्ञानेश्वर ब्लक नारायणी नदीको किनारमा स्वच्छ एवम् शान्त रूपमा पर्यटकलाई मनोरञ्जन प्रदान गर्दै बसेको छ । ¥याफ्टिङ्ग, जङ्गल वाक, जिप ड्राइभ, मचान स्टे, पिकनिक स्पोट, वन्यजन्तु उद्धार केन्द्रमा संरक्षित मृग, अजिङ्गर, दुम्सी, बाँदर, गिनिपिग, अस्ट्रिज, लाटोकोसेरोसहितको सानो चिडियाखाना तथा स्थानीय संस्कृति अवलोकन यहाँका मुख्य पर्यटकीय आकर्षण हुन् । दुर्लभ एकसिङ्गे गैँडा, हरिण, मयुर, गिद्ध आदि विभिन्न प्रजातिका वन्यजन्तु तथा चराचुरुङ्गी अवलोकन गर्न सकिने यो क्षेत्र खुला चिडियाखानाको रूपमा विकास भैरहेको छ । यसै गरी निकटमै रहेको तीर्थस्थल शिवघाटमा रहेको शिव मन्दिर पाल्पाली राजा मुकुन्दसेन प्रथमले स्थापना गरेका थिए जहाँ पशुपतिनाथ, महादेव, सीताराम आदि मन्दिर रहेका छन् । यहाँ महाशिवरात्रीमा भक्तजनको विशेष घुइँचो लाग्दछ । ५. बीसहजार ताल भरतपुर चौबीसकोठीबाट गोन्द्राङ हुँदै ९ कि.मी. पूर्व­दक्षिणमा अवस्थित बीसहजार ताल पूर्वी चितवनबाट ल्याएको नहरको कारण निर्माण भएको हो । बाँधबाट बीसहजार फुट टाढा धेरैवटा तालहरू बनेकोले यसको बीसहजार ताल नामकरण गरिएको हो । विश्व सिमसार क्षेत्रमा सूचीकृत यो क्षेत्र जैविक विविधताले सम्पन्न छ । सौराहाको टिकौली सामुदायिक वनबाट जिप सफारी होस् वा वरण्डाभार मध्यवर्ती वनको हात्तीसयर, दुर्लभ वन्यजन्तु, बाघ, गैँडा, मृग, गोही र घुमन्ते चराहरू अवलोकन गर्न बीसहजार ताल क्षेत्र आकर्षण गन्तव्यको रूपमा परिचित छ । वन्यजन्तु कोरीडोर अन्तर्गत बरण्डाभार क्षेत्रमा पर्ने बीसहजार ताल क्षेत्र साल प्रजातिका विशाल वृक्षहरूका लागि प्रख्यात छ । चारभाइ साल, बेतघारी फरक फरक आकृतिका तालहरू, विभिन्न प्रजातिका वनस्पति, पुतली तथा माछाहरू, मगर गोही, घडियाल गोही, चराचुरुङ्गी आदि यहाँका आकर्षण हुन् । पर्यटक विश्राम स्थल, टावर, खानेपानी, शौचालय, सूचना केन्द्र निर्माण भैसकेको यस क्षेत्रमा सत्रहजार तालदेखि वाइसहजार ताल, रातमाटेताल, अठ्ठाइसहजारताल, मयुरताल, किङ्गफिसर ताल, दक्षिणकाली ताल, लक्ष्मीताल, बाटुली पोखरीसम्मको लेकसाइड सर्किट अवलोकन, जङ्गल वाक, बोटिङ्ग, जिप सफारी, गाउँ भ्रमण तथा जातीय संस्कृति अवलोकन गर्न सकिन्छ । ६. नारायणी बिच क्षेत्र नारायणी पुलदेखि गौरेश्वर मन्दिरसम्मको धार्मिक क्षेत्र, जोर कुसुम, नारायणी नदी तथा बालुवामा हुने समुद्री खेलहरू, दियालो बङ्गाला, महोत्सव स्थल यहाँका थप आकर्षण हुन् । महानगरद्वारा प्रस्तावित Water Park River Safari सहितको नारायणी बिच मोडलले मनोरञ्जनतर्फ उन्मुख पर्यटनका पारखीहरूलाई भरपूर आनन्द प्रदान गर्दछ । भरतपुर महानगरपालिका वडा नं. ३ कार्यालय नजिक निर्माण गरिएको सस्पेन्सन ब्रिज, आइलैण्ड, पिकनिक स्पोट, गैंडा, हरिणलगायत विभिन्न वन्यजन्तु तथा चराचुरुङ्गी अवलोकन, बोटिङ्ग  यहाँका प्रमुख आर्कषण हुन् । काठमाण्डौ–पोखरादेखि हवाइमार्ग, मुग्लिङ वा त्रिवेणीधामदेखि जलमार्ग तथा सडकमार्गबाट सहजै पहुँच भएको यस क्षेत्रमा घुम्न आउने पर्यटकहरूलाई बसोवासका लागि भरतपुर तथा नारायणगढ बजारमा पर्याप्त आरामदायी होटलहरू रहेका छन् । ७. चौकीडाँडा/कविलासगढी भरतपुर महानगरपालिकाको नारायणगढ बजारबाट १८ किलोमिटर पूर्वमा रहको भोर्लेबाट करिब आधा घण्टा उकालोको पैदल यात्रापछि समुद्री सतहबाट ११०० मिटरको उचाइमा रहेको चौकीडाँडा पुग्न सकिन्छ । साथै पात्लेबास हुँदै पदमार्गको मध्मबाट चौकीडाँडा पुग्न सकिन्छ । यो मार्गबाट ६ किलोमिटर छ । यो महानगरपालिकाको २९ औँ वडा हो । भरतपुर महानगरको २९ वडा यस्तो ठाँउ हो जहाँ लालीगुँरास, सुनाखरी, सुनगाभा फुल्ने गर्दछन्। महानरपालिकाले चौकी डाँडालाई हिल स्टेशनको रुपमा प्रर्वधन गर्दैछ । राजसी हिमाली श्रंखलाका मनोरम चुचुराहरु, नारायणी नदीको घुमाउरो नागबेली र समथल मैदान हेर्ने स्थलको रुपमा चौकीडाँडा विकास भएको छ । यसै वर्षदेखि चौकी डाँडामा साहसी खेल प्यारा ग्लाइडिङको सुरुवात पनि गरिएको छ । यस साहासिक खेलको माध्यमले पनि यस क्षेत्रमा पर्यटकीय गतिविधि बढ्दै गएको छ । भरतपुर महानगरपालिकाको ऐतिहासिक स्थल कविलासगढी चौकीडाँडाबाट पश्चिमतर्फ २ दशमलव ५ किलोमिटर दूरीमा पर्छ ।  कविलासगढीबाट सुन्दर र मनोरम स्थल दृश्यको रुपमा  भरतपुर बजार क्षेत्रलाई अवलोकन गर्न सकिन्छ । यो ठाँउ गुरुङ जातिको घाटु नाँचको लागि प्रख्यात छ । लोप उन्मुख चेपाङ जातिको बासस्थन रहेको यस ठाँउमा चेपाङ संस्कृति पनि हेर्न सकिन्छ । यस्तै, महानगरपालिकामा प्रमुख पर्यटकीय गन्तव्यसँगै अन्य गन्तव्यहरु जगतपुर, राइनोकुञ्ज, बाटुली पोखरी, कसरा, गोलाघाट, बागेश्वरी रहेका छन् । त्यस्तै महानगरले भरतपुर ११ को गणेशधाम, बी.पी. शान्ति नगर वन, गाँजीपुर, सिमरी टाउन, महाबौद्ध गुम्बा, राइनो ताल, धनगढा मन्दिर, चितवन प्रदर्शनी केन्द्र, बखान बहुउद्देश्य सहकारी संस्था, रानी पोखरी, प्राङ्गारिक कृषि उत्पादन सहकारी संस्था, संयुक्त राप्ती दुन सामुदायिक वन क्षेत्र रहेको छ ।

४०, ५० रुपैयाँमा जीउ बेच्न बाध्य छन् यी किशोरीहरु

सुन्दा पनि अचम्म लाग्ने याे खबर, च-रम आर्थिक अभावका कारण कलिला किशोरीहरु मात्रै ३५ रुपैयाँमा आफ्नो शरीर बेच्न बाध्य भइरहेछन् । यी किशोरीहरुले धेरै राम्रो मूल्य पाएको खण्डमा पनि मात्रै ११५ रुपैयाँ मात्रै पाउँछन् । याे राेचक खबर दक्षिणी अफ्रिकाका कैयौं क्षेत्रमा भएकाे र हुदैँ गएकाे छ । यहाँका च रम भोक-मरीबाट पी डित छन् । रोयटर्सको रिपोर्ट अनुसार मानवीय आधारमा मानिसहरुलाई सहायता पुर्याउने संस्था वर्ल्ड भिजनले भनेको छ – भोकबाट ज्यान बचाउन अंगोलामा मात्रै १२ वर्षका किशोरीहरु करिब ४५ रुपैयाँमा दे ह व्या पार गरिरहेका छन् । दक्षिणी अफ्रिकामा करिब साढे ४ करोड मानिसहरु भोक-मरीको सम स्या झे लिरहेको संयुक्त राष्ट्रसंघको रिपोर्टमा उल्लेख छ । खडेरी, बाढी र आर्थिक अवस्थाका कारण उनीहरुले यस्तो समस्या झे ल्नु परिरहेको छ । वर्ल्ड भिजन ले आफ्ना स्टाफले नै अंगो ला र जिम्बाब्बेमा दे ह व्यापार गर्ने किशोरीहरुको संख्या बढिरहेको देखेको बताएको छ । यहाँ सं कटका कारण बाल विवाहको ख तरा पनि बढिरहेको छ ।

२२ वर्षकी युवतीले अस्पतालबाट चोरिन २६ दिनको शिशु

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल परिसरबाट बच्चा चोरी भएको छ। काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका ३ घर भई काठमाडौंको कपन बस्ने २२ वर्षकी सबिना श्रेष्ठले बोकिराखेको २६ दिनको बच्चालाई एक अपरिचित महिलाले चोरेर फरार भएकी हुन्। ती अपरिचित महिलाले एक छिन बच्चा समातिदिन्छु भन्दै छलेर बच्चा लगेर फरार भएको प्रहरी जनाएको छ। उनको खोजि कार्यजारी राखेको प्रहरीले जनाएको छ। 

विश्व थाइराइड दिवस : ‘समयमा उपचार गरे जटिल बन्दैन थाइराइड’

चितवन । समयमै उपचार गरे थाइराइड रोग जटिल नबन्ने चिकित्सक बताउँछन् । यो रोगको अध्ययन अनुसन्धानसँगै उपचारमा सक्रिय इण्डोक्राइनोलोजिष्ट डा.सौरभ खतिवडा थाइराइडसम्बन्धी रोग लागेमा आत्तिनुनपर्ने तर समयमा सही उपचार गर्नुपर्ने बताउछन्। उनले भने, “समयमा उपचार गरेर थाइराइडलाई नियन्त्रणमा राख्न सकिन्छ”, भारतको नयाँदिल्लीस्थित एम्स्बाट इण्डोक्राइनोलोजिमा डिएम गरेका खतिवडा कुनै खानेकुराले थाइराइड बनाउने नभई शरीरको ‘एन्टीबडी’का कारणले हुने बताउछन् । उनले भने, “थाइराइड कुनै भाइरल इन्फेक्सनपछि दुख्ने हुन्छ । कुनै जेनेटिक कारणले हुन्छ । थाइराईडको परीक्षण र उपचार पद्धति राम्रोसँग विकास भएको छ ।” चितवन मेडिकल कलेजमा कार्यरत खतिवडा थाइराइडका कारण क्यान्सर नै भए पनि यसले मानिसको आयु नघटाउने बताउछन्। उनले भने , “थाइराइडका अरु समस्या त झनै सजिलै समाधान गर्न सकिन्छ । चिकित्सकको सल्लाहबमोजिम गर्नुपर्छ । औषधि आफैँ खान बन्द गर्नुहुँदैन । खानपान चिकित्सकले भनेमा मात्रै बार्ने गर्नुहोला ।” उनले थाइराइडका बिरामीले खानेकुरा बार्नु नपर्ने बताए । उनले समयसँगै थाइराइडसम्बन्धी रोग परिवर्तन भएको बताउँदै भने, “अहिले थाइराइड हर्मोन घट्ने वा बढ्ने शरीरको एन्टीबडीका कारणले हुने गर्दछ । त्यसकारण कुनै खानेकुराका कारण हुने होइन”, चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्नु नै उत्तम उपाय भएको उनको भनाइ छ । उनका अनुसार घाँटीको अगाडि तलपट्टी हुने सानो ग्रन्थीलाई थाइराइड भनिन्छ । यसमा दुई वटा भाग हुन्छन् । यसले शरीरलाई आवश्यक पर्ने महत्वपूर्ण हर्मोन उत्पादन गर्दछ । उक्त हर्मोन हाम्रो दैनिक जीवनमा धेरै महत्वपूर्ण छ । यो हर्मोनले बच्चाको दिमागको वृद्धि विकासदेखि वयस्क मानिसमा काम गर्ने जाँगर, स्फूर्ति, मुटुको कामका लागि, खाना पचाउने, शरीरको मोटोपनलाई सन्तुलनमा राख्ने काम गर्छ। थाइराइड हर्मोन कमी वा बढी भएमा फरक फरक लक्षण देखिने डा.खतिवडा बताउछन् । उनले भने , “थाइराइडमा कहिलेकाहीँ ट्युमर पनि पलाउँछ । ट्युमरमध्येमा सबैभन्दा सजिलै उपचार गर्न सकिने भनेको थाइराइडको ट्युमर हो । यस्तो ट्युमरको उपचार गर्दा बिरामीको आयु पनि घट्दैन ।” साधारणतया मानिसलाई थाइराइड हर्मोन घट्दा थकाइ लाग्ने, कसैकसैलाई खुट्टा सुन्निने, अनुहार फुस्रो हुने, कपाल झर्नेजस्ता लक्षण देखिने उनको भनाई छ । यस्तै बढ्दा आत्तिने, हात काप्ने, मुटु ढुकढुक हुने, गर्मी धेरै महसुस हुनेजस्ता लक्षण देखिन्छन् । थाइराइडको उपचार तीन किसिमले गरिने उनले बताए । एउटा औषधिको सेवन, दोस्रोमा झोल औषधिको प्रयोग गरेर ग्रन्थी सुकाउने र तेस्रो शल्यक्रिया गर्नुपर्ने उनी बताउछन् । तर पछिल्लो समय शल्यक्रियाभन्दा झोल औषधिको प्रयोग गरेर सुकाउने विधि धेरै प्रयोगमा आउने गरेको उनको भनाइ छ । घाँटी दुख्दैमा थाइराइड नहुने बताउँदै बताउदै उनले भने, “घाँटी दुखेमा कहिलेकाहीँ मात्रै थाइराइड हुन सक्छ । त्यसैले घाँटी दुख्दा भेट्ने भनेको नाक, कान घाँटी विशेषज्ञ चिकित्सकलाई हो ।” कहिलेकाहीँ थाइराइडबाट क्यान्सरमा परिणत हुन सक्ने उनको भनाइ छ । उनले भने “घाँटीमा गाँठागुँठीजस्ता लाग्यो भने त्यसको अल्ट्रासाउण्ड गरेर क्यान्सर हो होइन, पत्ता लगाउँछौँ । कहिलेकाहीँ ट्स्यिुको परीक्षण गरेर पनि क्यान्सर पत्ता लगाउँछौँ ।” क्यान्सर पहिचान भयो भने पनि शल्यक्रिया र रेडियोथेरापी गरेर सजिलै निको पार्न सकिने उनको भनाइ छ । थाइराइड भएको बिरामीले के खान हुन्छ, के खानु हुँदैन भन्ने धेरैलाई जिज्ञासा हुने उनको अनुभव छ । उनले भने , “समयसँग थाइराइडसम्बन्धी रोग परिवर्तन भएको छ । पहिला पहिला गलगाँडको धेरै समस्या हुन्थ्यो, त्यो समयमा काउली, बन्दा, तरुललगायतका तरकारी कम प्रयोग गर्नुपर्छ भन्ने चलन आएको थियो ।” पछिल्लो समय थाइराइड हर्मोन घट्ने वा बढ्ने शरीरको एन्टीबडीका कारणले हुने भन्दै उनले कुनै खानेकुराका कारण थाइराइड नहुने बताए । रासस

९० वर्षीय हजुरबाले गरे गर्लफ्रेण्डसँग बिहे

काठमाडौं । हिन्दी चलचित्रको एउटा चर्चित गीत छ– ना उम्र की सीमा हो, ना जनम का हो बन्धन…। बेलायतको एउटा वयोवृद्ध जोेडीले हालै गरेको निर्णय ठ्याक्कै यही गीतसँग मिल्न पुगेको छ । ९० वर्षका पुगे बेन्टन । डाँडामाथिको घाम भनेझैं कतिखेर हो संसार छोड्ने भन्ने अवस्थामा पुगेका छन् उनी । तर गत हप्ता भने उनले एउटा निर्णय गरे । ३७ वर्षदेखि सम्बन्धमा रहँदै आएकी जोने ओरिस नामक महिलासँग उनले बिहे गरे । अचम्म त के छ भने उनर्की प्रेमिका उनीभन्दा झनै जेठी छिन् । डेलिमेलका अनुसार, गत हप्ता बेलायतको समरसेटमा रहेको घर गएर ९० वर्षीय बेनेट र ९२ वर्षीय जोने ओरिसले बिहे गरे । जोने ओरिसका दुई बच्चा छन् भने ६ नातीनातिना छन् । अझ उनका दुई त पनाती नै छन् । उनले लामो समयदेखि बेनेटको प्रस्ताव अस्वीकार गर्दै आएकी थिइन । जोने ओरिसको पहिलो विवाह भने सम्बन्ध विच्छेद भएको थियो । त्यसपछि अर्को बिहे गरेपनि उनका ४२ वर्षअघि श्रीमानको मृत्यु भयो । यसपटक भने उनीहरुले प्रेम सम्बन्धलाई औपचारिक रुप दिने निर्णय गरे । को कतिखेर मर्ने हो के थाहा, त्यसअघि पति पत्नीको दर्जा पाउनु राम्रो सोचेर बिहे गरेको उनीहरुले बताए ।

जाँडरक्सी खानेलाई भव्य कार्यक्रम गरी सम्मान

तानसेन । पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिकाले बिहीबार सुन्दै अचम्म लाग्ने कार्यक्रमको आयोजना गरेको छ । पालिकाले कुलतका कारण सामाजिक रुपमा तिरस्कार हुने गरेकाहरूलाई एकै ठाउँ जम्मा पारेर भव्य कार्यक्रम गरी सम्मान गरेको हो ।  आफ्नो क्षेत्रमा रहेर जाँडरक्सीलगायत कुलतमा फसेका पुरुष तथा महिलाहरुको लगत संकलन गरी उनीहरुलाई एकै ठाउँमा भेला गरेर सम्मान गर्नुका साथै उनीहरुको भविश्य सुधार्ने योजना समेत बनाएको पालिकाले जनाएको छ । रिब्दीकोट गाउँपालिकाले बिहीबार पालिकाको सभाहलमा जम्मा गरेर नियमित जाँडरक्सी खाने सात महिला र ३३ पुरुषलाई सम्मान गरेको हो । पालिकाभरका ६५ जना कुलतमा फसेका व्यक्तिहरुको नामावली तयारी गरेर खबर गरेको भएपनि ४० जना मात्रै उपस्थित भएको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले जानकारी दिए । कार्यक्रममा सहभागीलाई न्यानो र बलियो खालको एकएक जोर ट्रयाकसुट लगाईदिएर माला र खादा पहि¥याएर सम्मान गर्नुका साथै स्वास्थ्य बिमा, उपचार र प्रशिक्षितसमेत गरिएको थियो । विपन्न श्रमिक वर्गको धेरै ठूलो लगानी कुलतमा गएको, कमाएको रकम संरक्षण नहुने मात्रै होइन स्वास्थ्यमा समेत गम्भीर असर परेको, अकालमा धेरैको ज्यान गुमेको कारण जाँडरक्सी खानेलाई होइन जाँडरक्सीलाई तिरस्कार गर्ने उदेश्यले समाजमा परिवर्तन ल्याउन यस्तो कार्यक्रमको थालनी गरेको अध्यक्षले जानकारी दिए । जाँडरक्सी खानेलाई सम्मान गरिएको हो तर जाँडरक्सी खाएको कारणले नगरिएको पालिका अध्यक्षले जानकारी दिए ।  उनका अनुसार  जाँडरक्सीको कुलतबाट बाहिर निकाल्न, स्वास्थ्य चेतना दिन, परिवार र समाजप्रतिको दायित्व बोध गराउन व्यङ्ग्यात्मक रूपमा यो कार्यक्रम गरिएको हो । अब वडागत तहमै परिवारलाई जुटाएर यसलाई निरन्तरता दिने गाउँपालिका अध्यक्षले बताए । सम्मानित हुने ४० जना सबै श्रमिक हुन् । कार्यक्रममा सहभागी धेरैले जाँडरक्सी छाड्ने प्रतिविद्धतासमेत व्यक्त गरेका छन् ।

राष्ट्रिय भूमि आयोगले माग्यो ९७ जना सर्भेक्षकका लागि दरखास्त

काठमाडौं । राष्ट्रिय भूमि आयोगले करार सेवामा कर्मचारी भर्नाका लागि दरखास्त माग गरेको छ । आयोगले सर्भेक्षक भर्नाका लागि दरखास्त आह्वान गरेको हो ।  ९७ नापी प्राविधिकहरू करार सेवामा भर्ना गर्न लागिएको आयोगले जनाएको छ ।  न्यूनतम योग्यता पुगेका इच्छुक उमेदवारले १५ दिनभित्र दरखास्त दिनसक्ने छन् । आवेदन दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ । तर, नेपाल इन्जिनियरिङ सेवा सर्भे समूहअन्तर्गत निजामती सेवा तथा संस्थान सेवाबाट अवकाश प्राप्त कर्मचारीको हकमा ६० वर्ष उमेर ननाघेको हुनु पर्नेछ ।

अजब प्रेमको गजब कथाः प्रेमिकाले बिहे गर्न नमानेपछि केटी बन्न खोजे यी युवक, परिवारले बीचमै‌ रोक्दा न केटा न केटी

नयाँ दिल्ली । प्रेममा पागल भएकाहरुले के सम्म गर्दैनन् । यस्तै अनौठो प्रेमको चर्चा अहिले दिल्लीमा भाइरल बनेको छ । ३२ वर्षीय युवक, कार्यालयमा सँगै काम गर्ने एकजना महिलासँग प्रेम हुन्छ । महिला विवाहित, श्रीमान भने दुईवर्ष अघि कोरोनाका कारण निधन भएका । युवक र ती महिलाबीच सामान्य सम्बन्ध भएपनि महिलाले बिहे नै गर्न भने मानिन् । घरमा एउटा छोरी समेत भएकी ती महिलाले उक्त युवकसँग बिहे गर्न नसकिने र बिहेको जस्तो सम्बन्ध कायम गर्न नसक्ने बताएपछि युवक तनावमा पुगे । एउटा मल्टी नेशनल कम्पनीमा काम गर्ने युवकले अन्तमा निकै ठूलो निर्णय गरे । युवतीले विवाहित भइसकेकोले अन्य पुरुषसँग प्रेम या यौनसम्बन्ध कायम गर्न भने नसकिने बताएपछि उनले आफूपनि महिला नै बन्ने निर्णय गरे । दैनिक भास्करमा प्रकाशित समाचार अनुसार, ती युवकका बुवाआमाले छोरामा एकाएक परिवर्तन आएको देखे । युवतीको जस्तो व्यवहार गर्ने, झर्किने र एक्लै रुने लक्षण छोरामा देखिएपछि उनीहरु मनोचिकित्सकहाँ पुगे । कुरा बुझ्दै जाँदा युवकले लिंग परिवर्तन गर्ने हर्मोनको सेवन गर्न थालेका रहेछन् । भोपालकी परामर्शकर्ता सरिता राजानीले युवकलाई बोलाएर कुरा गरेपछि बल्ल उनले महिला बन्नका लागि हर्मोनको सेवन गरिरहेको बताए । परामर्शका बेला युवकले बताए अनुसार, ६ महिना अघि सँगै काम गर्ने ती महिलासँग साथी हुँदै प्रेमसम्बन्ध भएको थियो । तर बिवाहको प्रस्ताव गर्दा भने ती महिलाले उनको श्रीमानले निकै माया र हेरचाह गर्ने गरेको र अन्य पुरुषलाइ श्रीमानको रुपमा हेर्न नसक्ने बताएकी थिइन । त्यसपछि युवकले आफू पनि महिला नै बनेर उनीसँग बस्न चाहने निर्णय गरेका रहेछन् । त्यसपछि परामर्शकर्ता राजानीले ती महिलालाई समेत सँगै राखेर परामर्श गरिन । र, हर्मोन थेरापी बन्द गर्ने सुझाव दिइन । तर यसले समस्या के भयो भने ती युवकभित्र पुरुष र महिला दुबै हर्मोनको विकास भयो । उनी न पुरै पुरुष नै रहेका छन् न पूर्ण महिला बन्न सकेका छन् ।

विश्वविद्यालय सुधार्ने प्रधानमन्त्रीको संकल्प : कसैलाई बन्देज नहुने गरी त्रिविको उपकुलपतिमा खुल्यो दरखास्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान भएको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले सोमबार दोस्रो पटक दरखास्त आह्वान गरेको हो । यसअघि आह्वान गरिएको सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको ब्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गर्नुपर्ने लगायत विभिन्न मापदण्ड तोकिएकी पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त सूचना सच्याउन निर्देशन दिएका थिए । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति प्रचण्डको विश्वविद्यालय सुधार गर्ने चाहान अनुसार विज्ञापनमा कसैलाई पनि बन्देज नहुने गरी फराकिलो मापदण्ड राखेर अर्को सूचना प्रकाशन भएको हो । प्रधानमन्त्रीको निर्देशनपछि समितिले यसअघिको सूचना रद्द गर्दै योग्य र इच्छुक जोसुकै उम्मेदवारले १५ दिनभित्र दरखास्त दिन सक्ने गरी सुचना जारी गरेको हो ।  

परीक्षा तयारी नोटः के हो कम्प्युटर अपरेटिङ सिष्टम, यी कति प्रकारका हुन्छन् ?

कम्प्युटर अपरेटिङ सिष्टमको परिभाषा, यसका प्रकार र यसको कार्यका बारेमा बिभिन्न प्रतियोगी परीक्षामा सोधिने गर्दछ । कम्प्युटरमा रहेका हार्डवेयर र सफ्टवेयरबीच आपसी अन्तर्सम्बन्ध र संवाद कायम गरेर कम्प्युटर प्रणालीलाई सञ्चालनका लागि सक्षम बनाउने काम अपरेटिङ सिष्टमले गर्दछ । यस्ता अपरेटिङ सिष्टम बिना हार्डवेयर र सफ्टवेयरले काम गर्न सक्दैनन । कम्प्युटर प्रणाली तथा यसका सम्पूर्ण हार्डवेयरहरूलाई नियन्त्रण तथा सञ्चालनमा ल्याउन मद्दत गर्ने प्रोग्रामहरूको समूह वा सङ्ग्रहलाई अपरेटिङ सिस्टम (operating system) भनिन्छ । अपरेटिङ सिस्टमविना कम्प्युटर सिस्टम सञ्चालन गर्न सकिँदैन । एमएस डस (MS-DOS), विन्डोज (Windows 95, 98, ME, VISTA, XP, 7, 8), Windows (2000, 2003, 2008), UNIX, LINUX, Android आदि अपरेटिङ सिस्टम हुन् । अपरेटिङका किसिमहरू :- अपरेटिङ सिस्टमय दुई प्रकारका हुन्छन् : (क) सिगल युजर अपरेटिङ सिस्टम (Single User Operating System) :- एउटा कम्प्युटर सिस्टममा इन्स्टल (install) गरिएको अपरेटिङ सिस्टमबाट एक पटकमा एउटा प्रयोगकर्ताले मात्र कार्य गर्न सक्ने कम्प्युटरलाई सिङ्गल युजर अपरेटिङ सिस्टम (single user operating system) भनिन्छ। उदाहरण : एमएस डस (MS-DOS), विन्डोज (Windows 95, 98, ME, VISTA, XP, 7) आदि। (ख) मल्टी युजर अपरेटिङ सिस्टम (Multi User Operating System) :- एउटा कम्प्युटर सिस्टममा इन्स्टल (install) गरिएको अपरेटिङ सिस्टमलाई एकै पटकमा धेरै प्रयोगकर्ताहरू (operators) ले कार्य गर्न सक्ने कम्प्युटरलाई मल्टी युजर अपरेटिङ सिस्टम (multi user operating system) भनिन्छ । उदाहरण : युनिक्स (UNIX), लिनक्स (LINUX), विन्डोज (Windows NT, 2000, 2003, 2008) आदि । अपरेटिङ सिस्टमले गर्ने मुख्य कार्यहरू :- (क) डिस्क व्यवस्थापन (Disk Management) (ख) उपकरण व्यवस्थापन (Device Management) (ग) मेमोरी व्यवस्थापन (Memory Management) (घ) फाइल र फोल्डर व्यवस्थापन (File and Folder Management) (ङ) सुरक्षा व्यवस्थापन (Security Management) (च) प्रोसेज व्यवस्थापन (छ) स्टोरेज डिभाइस व्यवस्थापन ( ज) इन्पुट, आउटपुट व्यवस्थापन अपरेटिङ सिस्टम का उदाहरणहरु :- — Microsoft Windows माइक्रोसफ्ट विन्डोज पीसी र आईबीएम संग मिल्ने उपयुक्त अपरेटिङ सिस्टम हो । माइक्रोसफ्ट विण्डोज सबैभन्दा सामान्य र प्राय धेरै प्रयोग गरिने अपरेटिङ सिस्टम हो । — Apple Mac OS Apple Mac अपरेटिङ सिस्टम केवल एप्पल कम्प्युटरमा मात्र प्रयोग गर्रिने अपरेटिङ सिस्टम macOS हो। — Ubuntu Linux Ubuntu Linux लिनक्स को एक लोकप्रिय संस्करण हो । यो पनि पीसी र आईबीएम कम्प्यूटर संग मिल्ने उपयुक्त अपरेटिङ सिस्टम हो । यो पनि पीसी र आईबीएम कम्प्यूटर दुबैमा प्रयोग भएको छ । — Google Android एन्ड्रोइड अपरेटिङ सिस्टम एन्ड्रोइड संग मिल्ने उपयुक्त फोन र ट्याबलेटहरूमा प्रयोग गरिन्छ । — iOS आईओएस iOS आईओएस अपरेटिङ सिस्टम एप्पलको आइफोन र आईप्याडमा मात्र प्रयोग भएको छ । अपरेटिङ सिस्टमले गर्ने मुख्य कार्यहरू (Functions of Operating System) (क) डिस्क व्यवस्थापन (Disk Management) (ख) उपकरण व्यवस्थापन (Device Management) (ग) मेमोरी व्यवस्थापन (Memory Management) (घ) फाइल र फोल्डर व्यवस्थापन (File and Folder Management) (ङ) सुरक्षा व्यवस्थापन (Security Management) अपरेटिङका किसिमहरू (Types of Operating System) बुटिङ (Booting) कम्प्युटर सिस्टममा सुरक्षित गरिएको अपरेटिङ सिस्टमका मुख्य मुख्य फाइलहरू मेमोरी (memory-RAM) मा लोड (load) हुनुलाई बुटिङ भनिन्छ। बुटिङका प्रकारहरू (Types of Booting): (क) कोल्ड बुट (Cold Booting) कम्प्युटर सिस्टम (computer system) लाई पावर बटन थिचेर सुचारु गर्नुलाई कोल्ड बुट (cold boot) भनिन्छ। (ख) वार्म बुटिङ (Warm Booting) कहिलेकाहीं कम्प्युटरमा काम गर्दा एक्कासि रोकिन्छ (hang), त्यस अवस्थामा कम्प्युटर सिस्टमलाई तिन ओटा संयुक्त कि (CTRL+ALT+DEL) किबोर्डमा थिचेर सुचारु गर्नुलाई वार्म बुट (warm boot) भनिन्छ।

माओवादी धारा, कम्युनिष्ट क्रान्तिकारी र परिवर्तनकारी शक्ति एकढिक्का हुन जरुरी : प्रचण्ड

कमरेड लेनिन र कम्युनिष्ट पार्टी स्थापनाको सन्दर्भ कमरेड लेनिन विश्व सर्वहारा वर्गका महान् नेता, दार्शनिक र साम्राज्यवादी युगमा माक्र्सवादलाई विकसित गर्ने एक जना प्रवद्र्धक हुनुहुन्थ्यो । उहाँले समाजवादी क्रान्ति सम्भव छ र नयाँ समाज निर्माण सम्भव छ भन्ने कुरालाई व्यवहारिक रुप दिनुभएको थियो । विश्वमै कम्युनिष्ट आन्दोलन र सर्वहारा क्रान्तिको नयाँ लहर सृष्टि गर्न उहाँको योगदान अतुलनीय र असाधारण रहेको कुरा हामी सबैलाई थाहा छ । कमरेड लेनिनकै जन्मदिन पारेर नेपालमा २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको गठन भएको हो । यसको परिवेश जसरी विश्व सर्वहारा क्रान्ति अगाडि बढ्दै थियो, दोस्रो विश्वयुद्धपछि राष्ट्रिय मुक्ति आन्दोलनहरु पनि अगाडि आउँदै थिए । त्यस्तो परिवेशमा र अझ चीनको जनवादी क्रान्ति सम्पन्न भएर विश्व शक्ति सन्तुलन नै सर्वहारा वर्गको पक्षमा जनता र क्रान्तिको पक्षमा देखा पर्न थालेको परिवेशमा र हाम्रै यस क्षेत्रमा पनि कम्युनिष्ट आन्दोलन खास गरी हिन्दुस्तानमा तेलंगना सशस्त्र विद्रोहजस्ता ऐतिहासिक विद्रोहहरु अगाडि बढ्दै गरेको निकै सकारात्मक र उत्साहवद्र्धक परिवेशमा नेपाल कम्युनिष्ट पार्टीको गठन भएको हो । यसर्थमा एउटा असाधारण क्रान्तिकारी परिवेशमा २००६ मा कम्युनिष्ट पार्टी गठन भयो । पार्टी निर्माण र पुनर्निर्माणको प्रक्रिया विकासको आफ्नो द्वन्द्वात्मक नियमअनुसार पार्टीभित्र थुप्रै वैचारिक संघर्षहरु भए, मतभेदहरु भए, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा चलेको महान विवादको असर नेपालको कम्युनिष्ट आन्दोलनमा प¥यो । र, २०१९ सालमा तेस्रो महाधिवेशन सम्पन्न भएपछि पार्टी विभाजित हुन पुग्यो । विभिन्न टुक्रामा तल तल इलाकीय स्तरमा क्रियाशील हुने स्थिति बन्यो । फेरि पछि विकासकै नियम अनुसार नै अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन र वर्गसंघर्षको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेशसँगै पार्टी पुनर्गठनका विभिन्न प्रयासहरु भए । ती प्रयासहरुमध्ये पनि तीन वटा प्रयासहरु अलि दीर्घकालीन र रणनीतिक महत्वका भए । एउटा कमरेड पुष्पलालले शुरु गरेको पार्टी पुनर्निर्माणको प्रयास, एउटा केन्द्रीय न्यूक्लियसमार्फत् चौथो महाधिवेशन हुँदै त्यो न्यूक्लियसको तर्फबाट अगाडि बढाइएको पार्टीको पुनर्निर्माणको प्रयास र अर्काे कोअर्डिनेसन केन्द्र र झापा विद्रोह हुँदै पार्टी पुनर्गठनको प्रक्रिया अगाडि आए । र त्यो प्रक्रियासँगै कम्युनिष्ट आन्दोलन फेरि उभारतिर अगाडि बढ्दै गयो । चाहे त्यो २०३६ सालको जनआन्दोलनको क्रम होस् या ०४६ सालको पञ्चायतमाथि निर्णायक आन्दोलन गर्ने ऐतिहासिक जनआन्दोलनको क्रम होस् कम्युनिष्टहरुको प्रभाव र भूमिका निकै नै प्रभावकारी हुँदै गयो । त्यसमाथि ०४६ सालको ऐतिहासिक जनआन्दोलनपछि फेरि एकचोटी पार्टी एकीकरण र पुनर्निर्माणका नयाँ प्रयास र पहलकदमीहरु अगाडि बढे । त्यसमा एउटा त माओवादी धारासँग सम्बन्धित कम्युनिष्टहरुको एकताको प्रक्रिया अगाडि बढ्यो । र, त्यो प्रक्रियाका रुपमा एकता केन्द्रको रुपमा हामी अगाडि आयौं भने अर्काेतिर माले र अन्य पार्टीहरु मिलेर एकीकृत माक्र्सवादी र लेनिनवादी भनेर अर्काे एकीकरणको प्रयास पनि भयो । त्यो प्रयाससँगै परिस्थिति जनताले चाहेजस्तो ढंगले अगाडि बढेन । नेपालमा क्रान्ति अधुरै छ, अपूरै छ । नेपाली क्रान्तिलाई नयाँ शिराबाट अगाडि बढाउन जरुरी छ भन्ने सोचका साथ माओवादी जनयुद्धको ऐतिहासिक प्रक्रिया अगाडि आयो । साथसाथै संशोधनवाद, अवसरवाद र प्रतिक्रियावादका विरुद्ध संघर्ष गर्दै क्रान्तिकारी जनआन्दोलन सृष्टि गर्ने प्रयासहरु पनि हुँदै गए । जनयुद्धकै प्रक्रियाभित्र फेरि निरंकुशताका विरुद्ध, सामन्तवादका विरुद्ध फेरि पनि सशस्त्र युद्धमा भएका र नभएका पार्टीहरुको बीचमा फेरि सहकार्यको परिस्थिति बन्यो र त्यो सहकार्यको परिस्थितिले नेपालको कम्युनिष्ट आन्दोलनमा एउटा असाधारण प्रक्रिया देखा प¥यो । जनयुद्ध र जनआन्दोलन शान्तिपूर्ण जनआन्दोलनका पक्षधर र सशस्त्र जनयुद्ध सञ्चालन गरिराखेका पार्टीहरुका बीचमा समझदारी भएर संयुक्त जनआन्दोलन र जनयुद्ध समायोजन गर्ने ऐतिहासिक र अभूतपूर्व प्रक्रिया पनि नेपालको कम्युनिष्ट आन्दोलनमा देखाप¥यो । र, यो असाधारण प्रक्रियाले नेपालमा केही चिज नितान्त नयाँ बन्यो । मैले अहिले व्याख्या गर्न सम्भव छैन । त्यो भनेको के हो भने सामन्तवादका विरुद्ध पुँजीवाद जनवादी क्रान्ति कम्युनिष्ट पार्टीको मुख्य सक्रियता र नेतृत्वमा अन्य बुर्जुवा पार्टीहरुलाई पनि सहमतिमा लिएर आधारभूत रुपमा त्यो क्रान्ति सम्भव हुन गयो । यो दुनियाँमा कमै देख्न पाइन्छ । यो क्रान्ति न हामीले विगतमा सोचेजस्तो, सामन्तवाद र साम्राज्यवाद विरोधी नयाँ जनवादी क्रान्तिका रुपमा नै सम्पन्न हुन सक्यो, न यो फेरि पूरै पुरानो प्रकारको पुँजीपति वर्गको नेतृत्वमा भएको पुँजीवादी क्रान्ति नै भयो । यो सर्वहारा वर्गको मुख्य नेतृत्व, कम्युनिष्ट पार्टीको मुख्य नेतृत्व जनयुद्धको मुख्य भूमिकासहित सामन्तवादमाथि निर्णायक प्रहार गरिएको वुर्जुवाहरुलाई पनि एक हदसम्म अंश दिएर सम्झौता गरेर गरिएको नयाँ प्रकारको क्रान्ति भयो । मलाई लाग्छ, हाम्रा बुद्धिजीवी साथीहरुले हाम्रा कम्युनिष्ट आन्दोलनका सबै नेता–कार्यकर्ताहरुले यो पक्षलाई गम्भीर रुपले विचार गर्न जरुरी छ । यो हाम्रो ऐतिहासिकता, हाम्रो विशेषता, हाम्रो मौलिकता, हामीले हासिल गरेको उपलब्धिको विशेष स्थितिको बारेमा सबैले चिन्तन मनन गर्न जरुरी छ । अहिले हामी शान्ति सम्झौतापछि संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भइसकेपछि प्रतिस्पर्धाको तरिकाद्वारा कम्युनिष्ट आन्दोलनलाई समाजवादी दिशातिर लाने कुरा गरेका छौं । र यही प्रक्रियाभित्र हामीले नै माओवादी केन्द्रकै तर्फबाट अब केही दशक सायद नेपालमा शान्तिपूर्ण प्रतिस्पर्धाको राजनीति नै अगाडि जान्छ । र वर्गसंघर्ष राजनीतिक संघर्षहरु नयाँ परिवेशमा अगाडि जान्छ भन्ने विश्वासका साथ हामीले अब कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न सक्नुपर्दछ । एमालेसँग एकता, संघर्ष र रुपान्तरण तमाम वामपन्थीहरुलाई एकढिक्का बनाएर समाजवादको आधार निर्माण गर्ने कुरातिर लाग्नुपर्छ भनेर हामीले नै प्रस्तावित गरेर वाम गठबन्धन ग¥यौं । आम नेपाली जनताले बडो उत्साहका साथ त्यसलाई अनुमोदन गरे । हामीले नै कम्युनिष्ट एकता र पार्टी एकताकोे प्रस्ताव ग¥यौं । आम नेता कार्यकर्ताहरुले बडो उत्साहका साथ त्यसलाई स्वागत गर्ने काम भयो । निर्वाचनमार्फत् जनअनुमोदित पनि भयो । र, आम नेता कार्यकर्ताहरुले एकता आजको परिस्थितिमा समाजवादी क्रान्तिका निम्ति जरुरी छ पनि भनियो । र, एउटा ठूलो प्रयोग भनौं, क्रमभंग हामीले ग¥यांै । त्यो सही थियो भन्ने दावी अहिले पनि छ । हामीले त्यसो गर्नु गलत गरेको होइन । यो राष्ट्र, वर्ग र कम्युनिष्टहरुको समग्र हितमा थियो । तर, एकाध नेतृत्वमा देखा परेको विचलनका कारण वैचारिक विचलन, सांस्कृतिक विचलन र व्यक्तिवादी विसर्जनवादी चिन्तनका कारणले त्यो महान प्रयोग सफल हुन सकेन तर, त्यो महान प्रयोग नै थियो । देशभरिका कम्युनिष्टहरुलाई एकतावद्ध गरेर अगाडि जाने प्रयोग सही थियो । त्यसमा अत्यधिक ठूलो संख्याको जनता र कम्युनिष्टहरुको समर्पण नै थियो । तर दुर्भाग्य के भयो भने पार्टी नेतृत्वमा जसलाई हामीले प्रधानमन्त्रीको रुपमा अगाडि सा¥यौं, उनमा देखापरेको गैर–माक्र्सवादी, गैर–कम्युनिष्ट चरित्र र चिन्तनका कारणले प्रवृत्तिका कारणले पार्टीभित्र अस्वस्थ संघर्षको परिस्थिति बन्यो । मैले आज पार्टी स्थापनाको दिवसको यो ऐतिहासिक दिनमा ती कुरालाई स्मरण गर्दै गर्दा के सम्झाउन चाहन्छु भने म बढो खुशी थिएँ, पार्टीको केन्द्रीय समितिकोे दोस्रो बैठक चलिराखेको थियो नेकपाको । मैले त्यसको कार्यकारी अध्यक्षता ग्रहण गर्ने र कार्यकारी अध्यक्षको हैसियतले बैठक सञ्चालन गर्ने, दस्तावेज प्रस्तुत गर्ने, निर्णय गर्ने पहल गरेको थिएँ । पाँच दिन चलेको त्यो बैठकले अब यो कम्युनिष्ट एकता सुदृढ भयो, अब नेपाली क्रान्ति नयाँ ढंगले जान्छ भन्ने विश्वास पैदा गरेको थियो । के माओवादी पृष्ठभूमिका के एमाले पृष्ठभूमिका ९० प्रतिशतभन्दा बढी नेताहरुको अनुहारमा त्यसले उज्यालो दिलाएको थियो । अब नेपालको कम्युनिष्ट राजनीति नयाँ शिराबाट अगाडि जान्छ । नेपालको समाजवादी आन्दोलन नयाँ शिराबाट अगाडि जान्छ भन्ने आत्मविश्वास सबैलाई पैदा भएको थियो । तर दुर्भाग्य ! त्यो सफलता, त्यो उत्साह, त्यो आत्मविश्वास देखेर दक्षिणपन्थी विसर्जनवादीहरु व्यक्तिवादी र अहंकारी प्रवृत्तिलाई त्यो सैह्य भएन । केन्द्रीय कमिटीको बैठकको त्यो सफलता साँच्चै उनीहरुका निम्ति आतंकजस्तै भयो । र, यो पार्टी साँच्चै एकतावद्ध भएर जाने भयो, यो पार्टीले क्रान्तिकारी चरित्र बोकेर जाने भयो र नेतृत्वको हैसियतले प्रचण्डकै नेतृत्व स्थापित हुने भयो भनेपछि त्यसै विन्दुबाट निकै ठूलो षडयन्त्र सुरु भयो । पार्टीभित्र विवाद हुनु ठूलो कुरा होइन । त्यो विवादलाई अस्वस्थता, गुटबन्दी, अराजकता र षड्यन्त्रको रुप दिइयो । र त्यो षड्यन्त्रमा कम्युनिष्ट आन्दोलनभित्रका अवसरवादी, दक्षिणपन्थी मात्रै होइन, त्यसभित्र र बाहिरका प्रतिक्रियावादीहरु पनि सामेल भए । ठूला–ठूला सेटिङहरु भए । हामीले ठूलो बहुमतद्वारा लिइएका निर्णयहरु कार्यान्वयन हुन नदिने ढंगले संवैधानिक त्यस्ता अंगहरुसँग समेत सेटिङ भएको देखाप¥यो । त्यो दुर्भाग्यपूर्ण कुरा थियो । मैले आफ्नै अनुभवबाट भन्नुपर्दा त्यो एकता सही मात्र थिएन, त्यो एकताले विस्तारै विस्तारै सकारात्मक रुप लिँदै थियो । एकता सुदृढ हुँदै थियो । त्यो समाजवादी क्रान्तितिरै जाँदै थियो । नीति र नेतृत्वको सवाल आज यो मञ्चबाट म नेकपा एमालेका ती हिजोका केन्द्रीय समितिका अत्यन्तै ठूलो संख्याका कमरेडहरुलाई स्मरण गर्न चाहन्छु । ती हजारौं कार्यकर्ता, म केन्द्रीय समितिको बैठकपछि देशव्यापी प्रशिक्षणमा गएको थिएँ । एमाले पृष्ठभूमिका नेता–कार्यकर्ताहरुले मलाई जो प्रेम विश्वास भरोसा गर्नुभएको थियो, म त्यो स्मरण गर्न चाहन्छु । एमाले भन्ने बित्तिकै सबै खतम छन् भनेर नसोच्न आग्रह गर्न चाहन्छु– त्यहाँभित्र पनि इमान्दार कम्युनिष्टहरु ठूलो संख्यामा छन् । तर हुँदो के रहेछ भने लिडरसीप भन्ने कुरा निकै ठूलो कुरा हुँदो रहेछ । लिडरसीप गलत मान्छेको हातमा गयो भने इमान्दार कम्युनिष्टहरु पनि केही समय रनभुल्लमा पर्ने या फुत्किन गाह्रो हुने हुँदो रहेछ । त्यो हामीले नेपालको कम्युनिष्ट आन्दोलनमा मात्रै होइन, विश्व कम्युनिष्ट आन्दोलनमा पनि देखेका छौं । चाहे रुसमा भएको प्रतिक्रान्तिको कुरा गरौं या अन्य पूर्वी युरोपका देशमा भएका प्रतिक्रान्तिको कुरा गरौं । लिडरसीपको कारणले नै इमान्दार कम्युनिष्टहरुको बाहुल्य तल पार्टी पङ्तिमा हुँदा हुँदै पनि लिडरसीपले गलत लाइन लिइसकेपछि इमान्दार कम्युनिष्टहरु पनि कही न कही त्यसको शिकार हुने खतरा हुँदो रहेछ । त्यसकारण म आज पार्टी स्थापना दिवसको अवसरमा सम्पूर्ण एमालेभित्रका ती इमान्दार कम्युनिष्टहरु जो साँच्चै वाम गठबन्धनको पक्षमै हुनुहुन्थ्यो– अहिले पनि हुनुहुन्छ, कम्युनिष्टहरुको एकता आवश्यक छ भन्ने ठान्नु हुन्छ, भनिराख्नुभएको छ– उहाँहरुलाई गलत प्रवृत्तिका विरुद्ध संघर्ष गर्न प्रेरणा मिलोस् । आज पार्टी स्थापना दिवसले लेनिन जयन्तीको यो ऐतिहासिक दिनले इमान्दार कम्युनिष्टहरु सबैलाई फेरि एक चोटी कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नु छ, फेरि हामीले नेपालको समाजवादी आन्दोलनलाई नयाँ चिराबाट अगाडि बढ्ने वातावरण बनाउनु छ भन्ने उत्प्रेरणा, ऊर्जा आजको दिनले सबैलाई दिओस् भन्ने भन्ने अपिल गर्न चाहन्छु । र, त्यसका लागि अझ म हिजो नेपालको जनवादी क्रान्तिलाई मौलिक ढंगले पूरा गर्न मुख्य योगदान गरेको माओवादी आन्दोलन र क्रान्तिकारी कम्युनिष्ट आन्दोलनका सबै विभिन्न धाराहरुलाई आजको दिनले सबभन्दा पहिला एकतावद्ध हुन प्रेरित गरोस् । म सबै माओवादी आन्दोलनका उपज सबै धाराका नेता कार्यकर्ताहरुलाई विशेष रुपले अपिल गर्न चाहन्छु । आउनुस्, अहिले पनि देशमा जनयुद्ध र जनआन्दोलनले स्थापित गरेका मान्यता र मुद्दाहरु उल्ट्याउने षडयन्त्र भइराखेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने र जनताको घर दैलोमा पुगेको अधिकार खोस्ने षड्यन्त्र भइराखेकै छ । अहिले पनि यो देशका महिला, दलित, आदिवासी, मधेसी, थारु, मुस्लिम लगायत उत्पीडित जनताले पाएका अधिकार र पहिचानहरु खोस्ने षड्यन्त्र रोकिएको छैन । त्यसकारण हामी सबै यो परिवर्तनका पक्षधरहरु यो परिवर्तनका निम्ति त्याग र बलिदानका कीर्तिमान कायम गर्नेहरु सबै एक ठाउँमा केन्द्रित हुन जरुरी छ । माओवादी आन्दोलन र क्रान्तिकारी कम्युनिष्टलाई विभाजित गरेर मात्रै आफ्नो प्रतिक्रियावादी सत्ताको पुनः प्राप्ति हुन सक्छ, फेरि निरंकुशता लाद्न सकिन्छ भन्ने ठान्नेहरु छन् र त्यसका निम्ति कसरत भइराख्या हो । त्यसकारण म सबै परिवर्तनमा सहभागी माओवादी र सबै कम्युनिष्ट आन्दोलनका क्रान्तिकारी नेता कार्यकर्ताहरुलाई विशेष रुपले अपिल गर्न चाहन्छु । म आज अलिकति हर्षित र खुशी छु । यो प्रक्रियामा पोहोर सालदेखि प्रतिगमन विरोधी प्रतिक्रान्ति विरोध जो आन्दोलन गर्ने र त्यसमा सहभागी हुने हामी सबैलाई अवसर भनौं एक खालको चुनौती दुईवटै थियो, हामीले त्यसलाई सदुपयोग ग¥यौं र प्रतिक्रान्ति र प्रतिगमनलाई परास्त हामीले तत्कालीन रुपमा गरेकै हो । अहिले हामी निर्वाचनको संघारमा छौं । यो निर्वाचन प्रतिगमनले जित्ने हो या अग्रगमनले । परिवर्तनका पक्षधरहरुको जीत हुने हो या परिवर्तन विरोधीहरुको । यो देशका सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्गका जनताको जीत हुने हो या ती जनतामाथि शासन गर्ने सामन्ती प्रवृत्ति र व्यक्तिवादी प्रवृत्तिको जीत हुने हो भन्ने कुराको फैसला हुँदैछ । त्यसकारण यतिबेला हामी परिवर्तनका मुद्दाहरुलाई स्थापित गर्न हाम्रा महान् सहिदहरु, बेपत्ता यौद्धाहरु, घाइते अपाङ्गहरु सबै जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन र सबै न्यायपूर्ण आन्दोलनका सहिदहरुका सपनालाई पूरा गर्न हामी एकजुट भएर यो लडाई हामीले जित्नु छ । जित्नै पर्छ । हामीले जित्दा राष्ट्रले जित्छ, मुद्दा परिवर्तनका मुद्दाले जित्छ । नेपालमा सयौं वर्षदेखि उत्पीडन, शोषण, अत्याचारमा परेका जनताको जीत हुन्छ । हामीले हाम्रा प्रतिक्रियावादीले जित्ने, प्रतिगमनले जित्ने प्रतिक्रान्तिले जित्ने स्थिति बन्ने खतरा हुन्छ । त्यसकारण पनि आजको दिन प्रतिगमनविरुद्ध एउटा नयाँ संकल्प लिने दिनको रुपमा सबै सच्चा कम्युनिष्ट क्रान्तिकारी, परिवर्तन र न्यायका पक्षधर जनताको ऐतिहासिक जिम्मेवारी हो भन्ने हामी ठान्दछौं । म सबै समक्ष यही अपिल गर्न चाहन्छु । म खुशी यसर्थ पनि छु कि विभिन्न अनुभव, ठक्करको बीचबाट फेरि एक चोटी माओवादी आन्दोलनमा नयाँ र बडो उत्साहपूर्ण धु्रवीकरणको प्रक्रिया सुरु भएको छ । दिनदिनै जसो एकाध व्यक्तिको रुपमा होइन सयौं र हजारौंको संख्यामा र संख्या मात्रै होइन संस्थागत रुपले नै हिजो अलग भएका माओवादीहरु फेरि माओवादी केन्द्रमा, मूल घरमा, मूल नेतृत्वमा जोडिने निकै प्रक्रिया आज नेपालमा सुरु भएको छ । मलाई थाहा छैन, तपाई कमरेडहरुले यो कुरालाई कत्तिको गहिरो गरी हेर्नुभएको छ ? विचार गर्नुभएको छ ? त्यो क्रम पूर्वदेखि पश्चिमसम्म सबैतिर अहिले निकै व्यापक रुपमा अगाडि बढेको छ । माओवादी धारा एकतावद्ध होऔं सुदूरपश्चिममा हिजो मात्रै ठूलो संख्यामा विगतमा विभाजित भएका नेता, कार्यकर्ताहरु संस्थाकै रुपमा पार्टीमा एकतावद्ध हुने, ध्रुवीकृत हुने निकै उत्साहको वातावरण बन्यो । कतिपय जिल्लाहरुमा हामी २०६४ तिर फर्कियौं सम्पूर्ण माओवादी क्रान्तिकारीहरु सबै एकै ठाउँमा भयौं भनेर उहाँहरुले घोषणा पनि गर्नुभयो । यो हामी सबैका लागि खुशीको कुरा हो । आज यही हलमा पनि चाहे हिजो माओवादी आन्दोलनकै क्रममा विकास भएको र विभिन्न ढंगले विभिन्न कालखण्डमा अन्यत्र अनुभव गरेर अन्ततः माओवादी केन्द्र नै सही रहेछ भनेर भर्खरै केही कमरेडहरु यहाँ पार्टी प्रवेश गर्नुभयो र उहाँसँगै अरु पनि पार्टी प्रवेश गर्नुभयो । यसको सांकेतिक तर ठूलो अर्थ र सन्देश छ भन्ने मैले ठानेको छु । विगतमा विभाजित भएर गएका बाँकी कतिपय माओवादी समूहभित्र विभाजनको औचित्य पुष्टि गर्न सकिएन, हामीले माओवादी केन्द्रलाई गाली गर्नु गलत भयो, किन गरियो ? आज यही प्रक्रियामा, यही निर्वाचनमा, यही शान्तिपूर्ण राजनीतिमा जानुपर्ने बाध्यता किन भयो भनेर निकै मार्मिक ढंगले साथीहरुले बहस गर्न थालेको सुनेको छु मैले । किन माओवादी केन्द्रलाई गाली गरियो ? किन प्रचण्डलाई गाली गरियो ? हामीले पश्चाताप गर्नुपर्दछ । हामी माओवादी केन्द्रसँग जानु पर्दछ । हामी प्रचण्ड भएको ठाउँमा जानु पर्दछ र हामीले गल्ती ग¥यौं भन्नुुपर्दछ भन्ने अरु पार्टीका साथीहरुको पनि मैले कुरा सुनिराखेको छु । यो हामी सबै सच्चा माओवादीहरुका निम्ति खुशीको कुरा हो । म यो कुरा सबैलाई जानकारी गराउँदै मैले हिजो कैलालीको एउटा ऐतिहासिक भूमिबाट सबै माओवादी क्रान्तिकारीहरुलाई एकताका निम्ति अपिल गरेको छु । आज पार्टी स्थापना दिवस र लेनिन जयन्तीको अवसरमा पुनः सबैलाई एकताका लागि अपिल गर्न चाहन्छु । हाम्रा निम्ति इतिहासमा एकपटक फेरि अवसर आएको छ, यो अवसर गुम्न दिनु हुँदैन । हामी एकढिक्का भएर निर्वाचन अभियानमा जानु छ । परिवर्तनका निम्ति त्याग र बलिदानका कीर्तिमान कायम गर्ने हाम्रा महान सहिदहरु, बेपत्ता योद्धाहरु, सबै क्रान्तिकारीहरुका सपना पूरा गर्ने अवसरको रुपमा हामीले यसलाई सदुपयोग गर्नुपर्दछ । म यही अपिल सबैसँग गर्दै फेरि एक पटक पार्टी स्थापना दिवस र लेनिन जयन्तीका अवसरमा देशभित्र र देशबाहिर रहनुभएका सम्पूर्ण श्रमजीवी जनसमुदाय, कम्युनिष्ट क्रान्तिकारीहरु र न्यायप्रेमी जनताप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । नेपाल कम्युनिष्ट पार्टीको ७३ औं स्थापना दिवस तथा १५२ औं लेनिन जयन्तीका अवसरमा पार्टी कार्यालय पेरिसडाँडा, कोटेश्वरमा आयोजित कार्यक्रमलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री प्रचण्डले गर्नुभएको सम्बोधन ।  

प्रचण्ड भन्छन्– हामीलाई एक ठाउँमा आउन अझै दुख पाउनुपर्ने हो कि !

काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले पूर्व माओवादी आन्दोलनका सबै समूहलाई नेकपामा आउन अपील गरेका छन् । प्राप्त उपलब्धिको रक्षा गरेर समाजवादको आधार तयार गर्न कुनै कुराले नरोकेको भन्दै अध्यक्ष प्रचण्डले एकबछ नभए ठूलो क्षति हुने समेत बताएका हुन । एभरेष्टदैनिकसँगको अन्तर्वार्ताका क्रममा अध्यक्ष प्रचण्डले तत्कालिन माओवादीमा भएको फूटले कसैलाई पनि लाभ नभएको बताए । विगतका समीक्षा गरेर नयाँ ढंगले अघि बढ्नुपर्नेमा उनको जोड थियो । के यो सम्भव छ ? भन्ने प्रश्नमा प्रचण्ड भन्छन् असम्भव भन्ने कुरा राजनीतिमा केही पनि हुँदैन । किनभने राजनीति भनेकै सम्भावनाको क्षेत्र हो । यसका साथै सम्भावनाको खोजी गर्ने कुरा पनि हो । पहिला दुई फरक वैचारिक स्कूलिङबाट विकास भएका यी दुई पार्टी एकता हुन्छ भन्ने पनि कसैले सोच्दैनथ्यो तर सम्भव भयो । अरु पनि धेरै त्यस्ता कुरा भए । संविधानसभा कसैलाई सम्भव लाग्दैनथ्यो तर भयो, गणतन्त्र यति छिटो आउला भनेर सोचेका थिएनन्, तर आयो । माओवादी पार्टी यति छिटै फुटला भन्ने कसैले सोचेका थिएनन तर फुट्यो । फेरी जुट्यो पनि । अब बाँकी रहेका सबै माओवादी फेरी जुट नसक्ने भन्ने छैन । प्रचण्ड भन्छनः हामीले धरातल बिर्सियौं मैले कहिलेकाहिँ के भन्ने गर्छु भने हामीले शायद अझै दुख पाउन पुग्या छैन कि ? किनभने एकचोटी माओवादीले युद्धले जुन ठूलो प्रभाव पार्यो, उत्पीडित जाति, वर्ग, क्षेत्र, लिंग र समुदायमा अधिकारका लागि विद्रोह गर्ने आन्दोलन गर्ने चेतना र जागरण लिएर आयो । संविधान र लोकतान्त्रिक गणतन्त्रको निर्माणमा सिंगो राष्यट्रलाई ल्याउने ठाउँमा माओवादीको अहम र प्रमुख भूमिका रह्यो । यसमा द्विविधमा बस्नुपर्ने कुरै छैन । त्यही कारणले हामीले यो सफलता पाएका हौं । शान्ति सम्झौता हुँदै हामी जहाँ गयौं त्यसले यो सफलता प्राप्त गर्यो । पहिलोपटकको चुनावमा पनि हामी एक्लै माओवादी प्रत्यक्ष निर्वाचनमा बहुमतमा आयौं । माओवादीले नै समानुपातिक भनेको हुनाले मात्रै अरु पार्टीको अस्तित्व त्यतिबेला बच्यो । तर त्यसबाट हिजोका हामी माओवादी भन्नेहरु सबैले धर्ती छोडियो भन्ने मलाई लाग्छ । ‘अझै धेरै हुन्थ्यो, मुख्य नेता प्रचण्डले बिगार्यो’ भन्ने कसैलाई लाग्यो । अब कसैलाई चाहि‘ अरुले अप्ठ्यारो पारेर गर्न सकेन’ भन्ने लाग्यो । तर जे होस चुनाव जितेर सरकार बनेपछि हामी पार्टीका नेता भन्नेहरुले धर्ती छोडियो । जनताको भावनालाई, जनताको आवश्यकतालाई कहिँ न कहिँ हामीले बुझनौं । राष्टिय र अन्तराष्टिय परिस्थितिको मागलाई बुझेनौं र विभाजनतर्फ गयौं । प्रचण्डको ठम्याईः अझै दुख पाउन पुगेको छैन कि ? यहाँसम्म आउँद के देखियो भने हामी विभाजित भएर न देशलाई फाइदा भएको छ, न विभाजित हुनेलाई नै फाइदा भएको छ । म समेत कसैलाई पनि फाइदा भएको छैन । शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन पनि त्यसले मद्दत पुर्याएको छैन । बरु धेरै दुख कष्ट पाएको जस्तो मैले अनुभूति गर्छु । त्यसैले साथीहरुलाई मैले कहिलेकाहिँ भन्छु– हामीले अझै दुख पाउन पुगेको छैन कि ? हामीलाई एक ठाउँमा आउन, एकता हुन अझै दुख पाउनुपर्ने हो कि ? अझै दुख, अझै क्षति भएपछि चेत आउने होला । त्यतिबेलासम्म त हामी पुरानो पीढिका नेताहरु रहन्छौं कि रहँदैनौं भन्ने चिन्ता पनि हुन्छ । प्रचण्ड प्रश्न गर्छनः एक हुन के ले रोकेको छ ? यस हिसाबले मैले किरणजी, बाबुरामजी र अहिले भूमिगतरुपमा गतिविधि गरिराख्नु भएको विप्लवजीहरुलाई आजभोली अलि बढी नै सम्झिन थाल्छु । हामी एक हुन केले रोकेको छ त ? यो परिस्थिति त एक्लैले गरेर हुने परिस्थिति त छैन । यही परिवर्तनलाई संस्थागत गर्न पनि बरु एक ठाउँमा भए पो हुन्थ्यो । हामी सँगै बसेर एक अर्कालाई कहाँ कसले कति गल्ती गरियो भनेर आलोचना आत्मालोचना गर्ने र फेरी यो जनयुद्द र जनआन्दोलनले ल्याएका उपलब्धि बचाउने अनि समाजवादको तयारी गर्नेतिर छलफल गर्न के ले रोक्या होला भन्ने लाग्न थालेको छ साँच्चै । त्यसैले म वहाँहरुसँग कुनै कृत्रिम कुरा भन्न खोजिरहेको होइन । यो देशको निम्ति, परिवर्तनका निम्ति, संघीय लोकतन्त्र संस्थागत गरेर सफल पार्नका निम्ति, अगाडि कम्युनिष्ट यात्र या समाजवाद या साम्यवादतर्फको यात्रा अगाढि बढाउन पनि सबै एक ठाउँमा उभिनु जरुरी छ । त्यसकारण मैले अलि बढी अपील गरेको कारण पनि यो हो । प्रचण्डको बुझाईः पूर्व एमालेभित्र पनि विशाल क्रान्तिकारी पंक्ति छ मैले पूर्व एमालेभित्र विशाल पंक्ति हिजो पनि देशप्रति, राष्ट्रिय स्वाधिनता, जनतन्त्रप्रति लडेका, दुखकष्ट भोगेका हजारौं हजार नेता कार्यकर्ता छन भनेरै एकता गर्दाखेरि पनि सोचेको हो । अहिले पनि मेरो अनुभव त्यही छ । त्यहाँ क्रान्तिकारी भावना भएका, कम्युनिष्ट पार्टी निर्माणका लागि गम्भीर भएका नेता कार्यकर्ताको कमी छ भन्ने होइन रहेछ भन्ने अहिले पुष्टि नै भएको मैले देख्छु । त्यसकारण यहाँ कोही पनि रहेनछन त्यसैले उही पुराना साथीहरुको साथ खोजेको होइन । मैले त वहाँहरुलाई पनि यही जोडन खोजेको हो । सबै जुटेर नयाँ समाजवादको मोडेलको खोजी गरौं र कम्युनिष्ट अन्दोलनलाई नयाँ शीराबाट अगाडि बढाऔं भन्न खोजेको हो । अहिले जुन नेकपाको अध्यक्ष म आफै पनि छु, यसप्रति, यो पार्टीप्रति भरोसा गरेर मैले सबै एक ठाउँमा आउनुपर्छ भन्न खोजेको हो ।

दिनभर जनताको काम, साँझ बिहान बारीमा

तुलसीपुर । दिनभर वडाको काममा व्यस्त । जनतासँग भेटघाट र साक्षात्कार । दिनभरको खटाइले थकान महसुस हुँदा थकाइ बिसाउने ठाउँ बनेको छ तरकारी खेती । तुलसीपुर उपमहानगरपालिका–१२ का वडाध्यक्ष खुसीराम चौधरीको बारीमा लटरम्म टमाटर फलेका छन्, प्याजका बेर्ना उम्रिदै छन् । पुर्खौदेखि तरकारी खेती गर्दै आएकाले पनि होला कचिला निवासी खुसीरामले जनप्रतिनिधि हुँदा पनि तरकारी खेतीलाई समय दिन्छन् । उनले भने, “म जनप्रतिनिधि हुँदा पनि यो काम जारी छ, यो काम दिनभरको थकान भुलाउने माध्यम पनि बनेको छ ।” वडाध्यक्ष चौधरी बिहान ४ बजे उठेर बारीमा फलेका तरकारी लिएर बजारसम्म पनि पुग्छन् । “जनप्रतिनिधि होस्, या अरु कुनै पेसा व्यवसायमा हात हालेको व्यक्तिले प्रायः खेतबारीमा काम गरेको देखिँदैन”, वडाध्यक्ष चौधरीले भने, “तर, म भने उत्पादनमा जोडिनु पर्छ, ता की यो कुराले अरुलाई पनि शिक्षा होस् भन्ने चाहन्छु ।” करिब तीन कट्ठामा उनले गोलभेँडा खेती गरेका छन् । अन्यमा खुर्सानी, प्याज, लसुन लगाएका छन् । चौधरीको २२ कट्ठा जग्गामा बर्सेनि तीन बाली खेती हुन्छ । तरकारी खेतीका हिसाबले उत्तम मानिएको कचिलामा बेमौसमी तरकारी बढी हुन्छ । उनले मंसिरदेखि वैशाखसम्म दैनिक ६० किलो गोलभेँडा निकालेर बजारमा बिक्री गर्छन् । हाल किलोको रु ३० मात्रै पर्छ । भारतीय तरकारी भित्रिदा नेपाली उत्पादनले बजार नपाउने गरेको उनको गुनासो छ । “हामीले उत्पादन गरेको तरकारीले बजार पाउँदैन्, भण्डारणका लागि ‘कोल्डस्टोर’ पनि छैन”, उनले भने, “त्यसैले सस्तो मूल्यमा कृषिजन्य सामग्री बेच्नुपर्छ ।” तरकारी बेचेर उनले वार्षिक छरसात लाख आम्दानी गर्दै आउनुभएको छ । त्यहाँ सिँचाइको पनि राम्रो प्रबन्ध छ । बबई नदीको पानी लिफ्टिङबाट निकालिएको छ भने ग्वारखोलाको पानी कुलोमार्फत लगिएको छ । जबसम्म आफू पनि उद्यमशील बन्न सकिँदैन समृद्धिका भाषणले सार्थकता नपाउने उनको भनाइ छ । “हामी धेरै समृद्ध नेपाल बनाउने भनेर भाषण गर्छौं”, उनले भने, “तर भाषणले मात्रै समृद्ध हुन सकिदैन, आफैँ पनि उद्यममा जोडिनुपर्छ ।” रासस

नर्सिङ क्षेत्रका समस्या समाधन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सिङ क्षेत्रमा आएका समस्या समाधानका लागि आयोगबाट गठित कार्यदलको प्रतिवेदनले ठोस सुझाव दिएको उल्लेख गर्दै प्रतिवेदनका सही सुझावहरूलाई कार्यान्वयनमा लैजान दिर्नेशन दिएका छन्। चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकलाई आज सम्बोधन गर्दै नर्सिङ क्षेत्रमा आएका समस्या समाधानका लागि आयोगबाट गठित कार्यदलको प्रतिवेदनले ठोस सुझाव दिएको उल्लेख गर्दै प्रतिवेदनका सही सुझावहरूलाई कार्यान्वयनमा लैजान दिर्नेशन दिएको हो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले शैक्षिक ‘कार्यतालिका’ लाई प्रभावकारी तवरले कार्यान्वयन गर्न दिर्नेशन दिए । उनले वार्षिक शैक्षिक कार्यतालिका तयारी र कार्यान्वयनमा आयोगले दिएको प्राथमिकता सराहनीय रहेको बताए। “वार्षिक शैक्षिक क्यालेण्डर तयारी र कार्यान्वयनमा आयोगले दिएको प्राथमिकता सराहानीय कार्य हो,” प्रधानमन्त्री प्रचण्डले भने, “शैक्षिक क्यालेण्डरको कार्यान्वयन गर्न म सबैलाई आग्रह गर्दछु।” प्रविधिको प्रयोगबाट आयोगले परीक्षा प्रणालीलाई थप विश्वसनीय बनाउन चाहेको आफूले पाएको उल्लेख गर्दै प्रधानमन्त्रीले परीक्षा सञ्चालन, व्यवस्थापन, अनुगमन, नियमन, पठनपाठन लगायतका क्षेत्रमा प्रविधिको अधिकतम प्रयोग अपरिहार्य हुँदै गएको बताए। सबै मिलेर चिकित्सा शिक्षा सुधारका लागि कानुनी, नीतिगत र संस्थागत सुधारहरू क्रमशः अगाडि बढाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउँदै प्रधानमन्त्री प्रचण्डले चिकित्सा शिक्षाका क्षेत्रमा देखिएका समसामयिक समस्या तथा चुनौतीहरूलाई सरोकारवालासँगको समन्वय र सहकार्यमा उपयुक्त मार्ग पहिल्याउनुपर्नेमा जोड दिए। “चिकित्सा शिक्षा अत्यन्तै महत्त्वपूर्ण र संवेदनशील विषय हो,” प्रधानमन्त्री प्रचण्डले भने, “यो मानव समुदायको स्वास्थ्यसँग जोडिएको र सबैको चासोको क्षेत्र हो, यस क्षेत्रको नियमन र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्छ ।”

जनताको सेवा गर्न वरीयता चाहिदैन : उपप्रधानमन्त्री यादव

काठमाडौं । नवनियुक्त उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनताको सेवा गर्नका लागि वरीयताले फरक नपर्ने बताएका छन् ।  आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीको शपथ ग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् ।  पटकपटक उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको तपाईंले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेपछिको वरीयतामा बस्न किन चाहनुभयो ? भन्ने सञ्चारकर्मीहरूको प्रश्नको जवाफमा उनले जनताको सेवा गर्नेलाई वरीयताको मतलब नहुने बताए । उनले ग्रासरुटमा बसेर काम गर्ने मान्छेलाई यस्ता कुराको वास्ता नहुने जवाफ दिए । उनले स्वास्थ्योपचारका लागि लामो लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्दै स्वास्थ्योपचारलाई सहज र डिजिटल प्रविधिमार्फत घरैबाट पनि चिकित्सकको समय लिनसक्ने बनाउने निर्णय गरेका छन् ।