महताेकाे नेतृत्वमा कांग्रेसका दर्जनाैँ कार्यकर्ता माअाेवादीमा प्रवेश

काठमाडौं, कात्तिक १९ । भरतपुरकाे चनाैलीमा विनाेद महताेकाे नेतृत्वमा नेपाली कांग्रेसका १५ जना कार्यकर्ता माअाेवादी केन्द्रमा प्रवेश गरेका छन् ।

हिजाे मात्रै राप्रपा जिल्ला अध्यक्षसहित सिंगो जिल्ला समिति माओवादीमा प्रवेश गरेका थिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका मुख्य प्रतिस्पर्धी देखिएका राप्रपा नेपालका नेता तथा वन मन्त्री बिक्रम पाण्डेलाई ठूलो झटका लागेको छ ।

पशुपति शमशेर नेतृत्वको राप्रपा नेपाल चितवनका अध्यक्ष बद्री तिमिल्सिनासहित सिंगो जिल्ला कमिटी माओवादी केन्द्रमा प्रवेश गरेको छ ।

नव प्रवेशीहरुलाई माओवादी अध्यक्ष प्रचण्डले आज माडीमा आयोजित कार्यक्रममा माओवादी केन्द्र प्रवेश गरेका हुन ।

माडीमा आयोजित कार्यक्रममा एमाले र माओवादीका शीर्ष नेताहरूको उपस्थिति रहेको छ ।

तीन किलो चरेशसहित तीनजना पक्राउ

भीमदत्तनगर, कात्तिक १७ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले आज कैलालीको गोदावरी नगरपालिका–१ अत्तरिया बजारबाट तीन किलो २०० ग्राम लागुऔषध चरेशसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भीमदत्तनगरबाट प्रहरी नायब निरीक्षक अंक बुढाको नेतृत्वमा खटिएको टोलीले अत्तरिया बजारबाट चरेशसहित तीन जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा स्थानीयवासी सरेशराम विक, गणेश भट्टराई र यज्ञबहादुर सिंह रहेको प्रहरी नायब निरीक्षक बुढाले बताए । पक्राउ गरिएको अभियुक्त र चरेशसहित कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाएको ब्युरोले जनाएको छ ।

कार्कीद्वारा झापा १ बाट उम्मेदवारी दर्ता

भद्रपुर, कात्तिक १६ । झापा क्षेत्र नम्बर १ बात प्रतिनिधि सभाका लागि वाम गठबन्धनबाट माओवादी केन्द्रका नेताराम कार्की (सुरेन्द्र कार्की) ले उम्मेदवारी गराएका छन । त्यस्तै प्रदेश सभाका लागि (क)बाट श्रीप्रसाद मैनाली र (ख)बाट गोपाल बुढाथोकीले उम्मेदवारी दिए । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि झापा जिल्लाको सदरमुकाम चन्द्रगढीस्थित निर्वाचन अधिकृतको कार्यालयहरुमा उम्मेदवारहरुले उत्साहका साथ आ–आफ्ना मनोनया दर्ता गरिरहेका हुन । आगामी मंसिर २१ हुने सो निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसका नेता एवं पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले मनोनयन दर्ता गराएका छन । सोही क्षेत्रको प्रदेश सभाका लागि काँग्रेसबाट (क)बाट भूमिराज राजवंशी र (ख) बाट भगिरथ पोदारले उम्मेदवारी दर्ता गराउनुभएको छ । लिङ्देनको पनि उम्मेदवारी दर्ता निर्वाचन क्षेत्र नं ३ बाटै प्रतिनिधि सभाका लागि राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराउनुभएको छ । वाम गठबन्धनको तर्फबाट भएको सो उम्मेदवारीसँगै राप्रपाले झापाको कुनै पनि क्षेत्रबाट प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवारी दिएको छैन । यसैगरी, सो क्षेत्रबाट प्रदेश सभाका लागि वाम गठबन्धनबाट (क)बाट वशन्त बानियाँ र (ख) बाट पूर्णसिंह राजवंशीले उम्मेदवारी दिने भएको छ । साथै निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसका युवा नेता विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराए । भने सोही क्षेत्रका लागि प्रदेश सभाका लागि (क) बाट केशव पाण्डे र (ख)बाट अशोक पोखरेलले उम्मेदवारी दिए ।

नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज नगर्न सर्वोच्चको आदेश

काठमाडौं, कात्तिक १६ । काठमाडौं नेशनल मेडिकल कलेजलाई त्रिभुवन विश्वविद्यालयले दिएको अस्थायी सम्बन्धन खारेज नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले सम्बन्धन खारेज नगर्न आदेश दिएको हो । कलेजका सन्चालक जैनुद्धिन अन्सारीले दायर गरेको रिटमा सर्वोच्च अदालतले काठमाडौं नेशनल मेडिकल कलेजको अस्थायी सम्बन्धन खारेज गर्ने त्रिवि कार्यकारी परिषद्को गत भदौ १७ गतेको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । अन्सारी पक्षका कानुन व्यवसायीहरूको एकपक्षीय सुनुवाइका आधारमा सर्वोच्चले आदेश दिएको हो । अदालतको आदेशपछि काठमाडौं नेशनल मेडिकल कलेज त्रिविको अस्थायी सम्बन्धन पाएको मेडिकल कलेजको हैसियतमा पुगेको छ ।

एमालेका नेताले माओवादीलाई भोट मागेपछि…

जाजरकोट, कात्तिक १५ । जाजरकोटमा एमालेका नेताले माओवादी र माओवादीका नेताले एमालेका उम्मेदवारलाई भोट मागेपछि स्थानीय बासिन्दा खुशी र उत्साहित भएका छ । प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी नेता एवम् पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतलाई एमालेका पूर्वसंसद रिता रावलले संयुक्त चुनाबी सभालाई सम्बोधन गर्दै मत मागिन र वस्नेतले एमालेका करवीर शाहीलाई मतदान गर्न आग्रह गरे । सो अवसरमा सभामा उपस्थित भएका स्थानीय बासी खुशी र उत्साहित भएको देखिए । बुधबार दुवै दलका नेताले दल्लीमा भएको चुनावी सभावाट यसरी भोट हाल्न आग्रह गरिरहदा स्थानीयवासीहरु खुसीले गदगद भएका थिए । नेताहरु मञ्चमा वाम एकताको आवश्यकता र औचित्यमाथि स्पष्ट पार्दै गर्र्दा स्थानीयहरु भने स्थायी सरकार चुनाबपछि स्थानीय सरकार बनेर देश विकास हुनेमा आशावादी हुँदै थिए । यसअघिका चुनाबमा एकले अर्कालाई सक्तो सराप दिएर नथाक्ने नेताहरुका एकाएक वखान सुनेपछि स्थानीयहरु खुसी नहुँने कुरै थिएन । एउटै मञ्चवाट यसरी खुसी हुँदै गरिएको आग्रह साँच्चै वास्तविक लाग्थ्यो । नेताहरुले भाषण गरिरहँदा उनीहरु साँच्चैै गम्भीर र भावुक देखिएका थिए । नेताहरुले दुईवटा पार्टी मिलेकाले अहिले आफ्नो भोट दोव्वर भएको दावी गर्दै जित सुनिश्चित भएको बताए ।

वाम गठबन्धनको कडा विरोध गरेकाे कांग्रेसको घोषणापत्रमा के छ ?

काठमाडौँ, कात्तिक १४ । प्रमुख सत्तारुढ नेपाली काँग्रेसले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हालै भएको चुनावी गठबन्धन सत्ता स्वार्थको कम्युनिष्ट गठबन्धन भएको आरोप लगाएको छ । काँग्रेसले आज विशेष समारोहका बीच आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि पार्टीको घोषणा पत्र सार्वजनिक गर्दै कम्युनिष्ट पार्टीको वर्चस्वको सरकार बनाउने र देशमा साम्यवाद स्थापना गर्ने उद्देश्य रहेको उक्त गठबन्धनलाई सफल हुन नदिने दृढता व्यक्त गरिएको छ । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा शशांक कोइरालाले संयुक्त रुपमा सार्वजनिक गर्नुभएको उक्त घोषणा पत्रमा आगामी निर्वाचनमा कम्युनिष्ट पार्टीहरु बीच चुनावी तालमेल गर्ने, अन्ततः एउटै कम्युनिष्ट पार्टी बनाउने, कम्युनिष्ट पार्टीको वर्चस्वको सरकार बनाउने र संविधानका आधारभूत लोकतान्त्रिक मूल्य–पद्धति र शासन प्रणालीलाई संशोधन गर्दै प्रत्यक्ष राष्ट्रपतीय प्रणालीका माध्यमबाट एकदलीय कम्युनिष्ट पार्टीद्वारा सत्ता नियन्त्रण गर्ने र नेपालमा साम्यवाद स्थापना गर्ने उद्देश्य राखेको उल्लेख छ । संसारभरि असफल सिद्ध भइसकेको कम्युनिष्ट शासनलाई नेपालमा स्थापना गर्न खोजिएको कम्युनिष्ट गठबन्धनको यस्तो प्रयोग देश र जनताका लागि किमार्थ स्वीकार नहुने भन्दै काँग्रेसले पार्टीका लाखौँ ऊर्जाशील युवा र समर्थकहरुको पंक्तिले लोकतन्त्र स्थापनाका लागि सबै किसिमका निरंकुश शासन र हिंसाका विरुद्ध पटक–पटक संघर्ष गर्दै आएको अवगत गराउँदै डटेर सामना गर्ने उल्लेख गरेको छ । एमाले राष्ट्रिय एकताको बाधक, माओवादी केन्द्र अवसरवादी काँग्रेसले एमाले र माओवादी केन्द्रको वर्चस्वको सरकार रहुुञ्जेल स्थानीय तह निर्वाचनको राजनीतिक वातावरण विल्कुलै बन्न नसकेको, मधेश अशान्त र आन्दोलन कायम रहेको, आदिवासी–जनजाति, थारु आन्दोलन सम्बोधन गर्ने अग्रसरता समेत सरकारले लिन नसकेको आरोप लगाएको छ । एमालेको अदूरदर्शी नेतृत्व, असहिष्णु र आक्रामक व्यवहारका कारण संवाद र सहमतिको प्रयास समेत प्रारम्भ हुन नसकेको जनाउँदै काँग्रेसले एमाले नेतृत्वको सरकार केवल सत्ताको चरम एमालेकरण र साधन स्रोतको दूरुपयोग गर्नमा केन्द्रित रहेको घोषणा पत्रमा उल्लेख गरेको छ । यस्तो असहज परिस्थितिको अन्त्य गर्न काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्णायक अग्रसरता लिएको र फलस्वरुप स्थानीय तहको निर्वाचन सम्पन्न गर्न, मधेशका मुद्दाहरुलाई सम्बोधन गर्ने गरी संविधान संशोधन गर्न तथा संविधानको कार्यान्वयन गर्न काँग्रेस–माओवादी एवं अन्य दलहरु को संयुक्त सरकार गठन भएको घोषणा पत्रमा उल्लेख छ । “मधेश केन्द्रित दलहरुसँग संविधान संशोधनका विषयहरुमा समझदारी बन्यो, कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारद्वारा संविधान संशोधन प्रस्ताव संसदमा निर्णयार्थ पेश भयो, काँग्रेसको अग्रसरतामा संवाद र सहमतिको सार्थक प्रयासका कारण देशमा ठूलो उत्साहपूर्वक र व्यापक सहभागितासहित स्थानीय तहको शान्तिपूर्ण निर्वाचन सम्पन्न हुन सकेको काँग्रेसको ठम्याइ छ ।” एमाले संविधान निर्माणको बेलादेखि नै आफ्ना प्रतिस्पर्धी राजनीतिक दलहरुप्रति निरन्तर असहिष्णु र आक्रामक प्रवृत्तिका साथ क्रियाशील रहेको जनाउँदै काँग्रेसले मधेशको आन्दोलनलाई विखण्डनको आन्दोलन भन्दै मधेशी जनताप्रति निरन्तर अशोभनीय टिप्पणी गर्दै आएका एमाले यतिखेर अतिवाद र नक्कली राष्ट्रवादको पासोमा पर्दै गएको टिप्पणी गरेको छ । त्यस्तै पहिलो संविधानसभामा ठूलो पार्टीको भूमिका र सरकार नेतृत्वको अवसर पाएर पनि माओवादी केन्द्रको परिचय संविधान निर्माण गर्न नसक्ने, दोस्रो संविधानसभामा संविधान निर्माणको महत्वपूर्ण जिम्मेवारी र अवसर पाएर पनि संविधानसभामा ध्वंस मच्चाएर संविधान सडकबाट लेख्न उद्धत हुने, कहिले एमालेसँग सरकार बनाउने र कहिले काँग्रेससँग सरकारमै बसी प्रतिपक्षसँग गठबन्धन गर्ने गम्भीर वैचारिक विचलन र भरोसा गर्न नसकिने पार्टीको रुपमा बन्दै आएको घोषणा पत्रमा जनाइएको छ । त्यस्तै काँग्रेसले मधेश केन्द्रित दलसँग संवाद र सहकार्य तथा राप्रपा ९प्रजातान्त्रिक० र राप्रपासँग विश्वसनीय सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । काँग्रेसको नेतृत्वमा नयाँ संविधान काँग्रेसको नेतृत्वमा संविधानसभाबाट नेपालको संविधान जारी भएको घटना लामो र संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि भएको घोषणा पत्रमा उल्लेख छ । यस संविधानले लोकतन्त्र र मानवअधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गरेको छ । सात दशकदेखि बहुलवादमा आधारित बहुदलीय संसदीय लोकतन्त्रको अभ्यास गर्ने, राजनीतिक र धार्मिक स्वतन्त्रता भएको, भय र गरिबीबाट मुक्त समाज निर्माण गर्ने काँग्रेसको विचार र संकल्प नयाँ संविधानमा दृढताका साथ स्थापित भएको छ । काँग्रेसले सात दशकसम्म लोकतन्त्र र लोकतन्त्र पुनःस्थापनाका पक्षमा निरन्तर संघर्ष गर्ने नेपाली जनताको गौरवपूर्ण र दुर्लभ इतिहास रहेको भन्दै नेपालमा राष्ट्रिय पुनःजागरणको नयाँयुग प्रारम्भ गर्ने घोषणा गरेको छ । त्यसका लागि काँग्रेसले समावेशी लोकतन्त्र र मानव अधिकार, आर्थिक समृद्धिको अभियान, आध्यात्मिक–सांस्कृतिक वैभव, युवा जनशक्ति र आधुनिक नेपाल, जल, जडीबुटी र जैविक विविधता, पर्यटनको माध्यमबाट अन्तर्राष्ट्रिय परिचय, छिमेकी मुलुकसँग सम्मानजनक सम्बन्ध र सहकार्य गर्ने जनाएको छ । विगत २५ वर्षको विकास प्रतिफल काँग्रेसले घोषणा पत्रमा विगत २५ वर्षमा आफ्नो नेतृत्वमा भएको विकासको फहेरिस्त उल्लेख गरेको छ । विस २०४८ मा ४९ प्रतिशत रहेको गरिबी २०७३ मा २१ प्रतिशतमा झरेको, साक्षरता ५० बाट ९० प्रतिशत पुगेको, औषत आयु ५४ वर्षबाट ७१ वर्ष पुगेको, खानेपानीको सुविधा ३६ बाट ८४ प्रतिशत जनसंख्यामा पुगेको, सडक सात हजार ३३० किमीबाट बढेर ८१ हजार ३७१ किमी पुगेको, सिँचाइ ५ दशमलव ४ हेक्टरबाट बढेर १५ लाख हेक्टर पुगेको, टेलिफोन ७१ हजार ५६० बाट दुई करोड ७८ लाख ५० हजारमा पुगेको उल्लेख छ । विकास, दृष्टि र लक्ष्य काँग्रेसले निर्वाचनबाट विजयी भई आगामी १० वर्षमा दु्रत र फराकिलो आर्थिक वृद्धि हासिल भई अर्थतन्त्रको आकार प्रचलित मूल्यमा रु १०० खर्बको हाराहारीमा पुग्ने र लाखौँ नयाँ रोजगारी सिर्जना हुने प्रक्षेपण गरेको छ । कुल गार्हस्थ्य उत्पादनको अनुपातमा औसत पाँच प्रतिशत ९वार्षिक रु एक खर्बदेखि पाँच खर्ब० बराबरको विदेशी प्रत्यक्ष लगानी भित्रिने घोषणा पत्रमा उल्लेख छ । गरिबीको रेखामुनि रहेका जनताको हिस्सा तीन प्रतिशत भन्दा कम हुने, नेपालमा कुपोषण र भोकमरी निर्मूल हुने, प्रत्येक नेपालीको स्वास्थ्य बीमा गरिने र औसत आयु ७७ वर्ष पुग्ने उल्लेख गरेको छ । त्यस्तै १५ हजार मेगावाट भन्दा बढी ऊर्जाको उत्पादन हुनेछ । आन्तरिक खपतभन्दा बढी ऊर्जा निर्यात गरिनेछ र नेपालको अन्तर्राष्ट्रिय छवि ‘शत प्रतिशत स्वच्छ ऊर्जामा आधारित वातावरणमैत्री अर्थतन्त्र’को हुने घोषण पत्रमा उल्लेख छ । काँग्रेसले ‘काठमाडौँ–मधेश एक्सप्रेस वे’ लगायत चारदेखि छ लेनका एक हजार किमीभन्दा बढी द्रुत–मार्ग, ५०० किमीभन्दा बढी रेल्वेलाइन, ५० हजार किमी भन्दा बढी कालोपत्रे सडक संजालले राष्ट्रलाई जोड्ने महत्वकांक्षी योजना अघि सारेको छ । त्यस्तै पाँच वटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, प्रत्येक वर्ष ३२ लाख भन्दा बढी पर्यटक नेपाल भित्रिने र पचास लाख नेपालीले पर्यटन उद्योगमा प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी पाउने प्रक्षेपण गरेको छ । सामाजिक सुरक्षा भत्ता दोब्बर नेपाललाई न्यायपूर्ण एवं समतामूलक बनाउने काँग्रेसको समाजवादी नीतिको मूल ध्येय रहेको जनाउँदै काँग्रेस नेतृत्वको सरकारले शिक्षा, स्वास्थ्य क्षेत्रका सामाजिक कार्यक्रमका अतिरिक्त वृद्धवृद्धा भत्तामा वृद्धि, एकल महिला भत्ता, केटाकेटीलाई विद्यालय पठाउने महिलालाई खाजाभत्ता, पिछडिएका वर्गलाई निःशुल्क पढाइको व्यवस्था, विभिन्न घातक रोगको निःशुल्क र सहुलियतपूर्ण उपचारलगायतका जनतालाई प्रत्यक्ष लाभ पुग्ने सामाजिक सुरक्षाका कार्यक्रम कार्यान्वयनमा ल्याएको घोषणा पत्रमा उल्लेख छ । ज्येष्ठ नागरिकलाई दिइँदै आएको भत्तामा दोब्बर वृद्धि, एकल महिला, अपांग, सीमान्तकृत र पिछडिएका वर्ग एंव दलितलाई भत्ता तथा सुविधाको व्यवस्था, महिला साक्षरता कम भएका जिल्लामा प्राथमिक शिक्षामा प्रोत्साहन गर्न मासिक भत्ताको व्यवस्था, कर्णालीका जनताका लागि रोजगारीको व्यवस्था जस्ता प्रोत्साहन र सामाजिक न्यायका कार्यक्रम कांग्रेस सरकारमा हुँदा ल्याइएको स्पष्ट पारिएको छ । काँग्रेस नै किन ? घोषणा पत्रमा कम्युनिष्ट आवरणमा उदाउन खोजेको भ्रष्टचरित्रको अधिनायकवादी दुःस्वप्नलाई परास्त गर्दै असल शासन प्रत्याभूत गर्ने मध्यमार्गी लोकतन्त्रको सवलीकरणका लागि, अर्को दशक राष्ट्रिय पुनःजागरणको कालखण्ड हुने र नेपाललाई दिगो विकासमा अग्रणी, मध्यम आय भएको मुलुक बनाउन अभूतपूर्व गतिमा पूर्वाधार निर्माण एवं नीतिगत सुधारका कार्यक्रममार्फत स्वदेशी र विदेशी पुँजी परिचालन र रोजगारी सिर्जना गर्न काँग्रेसको नेतृत्व आवश्यक पर्ने उल्लेख छ । त्यस्तै विपी कोइरालाको आदर्शअनुरुप लोकतान्त्रिक समाजवादी राज्य जहाँ स्तरीय शिक्षा र स्वास्थ्य सेवालगायत चुस्त सार्वजनिक सेवा सुनिश्चित हुन्छ, त्यस्तो समतामूलक समाज स्थापना गर्दै जोखिममा बाँच्ने नेपालीहरुको संख्या न्यून हुनेगरी २१ औं शताब्दी अनुकूल सामाजिक सुरक्षा प्याकेजको महत्वकांक्षी योजना कार्यान्वयन गर्न काँग्रेस चाहिने उल्लेख छ । अगामी निर्वाचनका लागि काँग्रेसले पर्याप्त स्रोत साधन, अधिकार, क्षमता र जवाफदेहीसहितका स्थानीय, प्रादेशिक र संघीय सरकार जसले एकीकृत राष्ट्रिय अर्थतन्त्रमार्फत हिमाल, पहाड र मधेशलाई एकताको मालामा उन्नेछन्, तिनको सफल सञ्चालनका लागि तथा छिमेकी राष्ट्रहरुसँग सन्तुलित र सम्मानजनक कूटनीतिक सम्बन्ध कायम गर्दै आर्थिक अन्तर्निर्भरता, जलवायु परिवर्तन र आतंकवाद जस्ता साझा मुद्दामा सहकार्य गर्न अन्तर्राष्ट्रिय विश्वसनीयताका लागि काँग्रेस चाहिने जिकिर घोषणा पत्रमा गरिएको छ । रासस

जिप दुर्घटनामा चारजनाको मृत्यु

उदयपुर, कात्तिक १३ । उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना.१.ज.३४०४ नं.को सुमो जिप सोमबार दिउँसो २ बजे कटारी नगरपालिका–११ मा दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको छ । जिप कटारी–११ को खाँडी भन्ने ठाउँमा सडकबाट करिब ४०० मिटर तल खसेर भएको सो दुर्घटनामा जिपमा रहेका अरु ६ जना अझै नभेटिएको इलाका प्रहरी कार्यालयका प्रमुख महेन्द्रकुमार श्रेष्ठले बताए । प्रहरी घटनास्थलतर्फ गइसकेकाले घटनाको थप विवरण आउने उनले जानकारी दिए ।

कम्युनिष्टहरुले कांग्रेसलाई सिध्याउन लागें : सञ्चारमन्त्री बस्नेत

भक्तपुर, कात्तिक १३ । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले एक दलीय तानाशाह अन्त्यका लागि लोकतन्त्रवादी एक ठाउँमा संगठित हुनुपर्ने बताए । भक्तपुरमा नेपाली काँग्रेसका पूर्व सभापति रामबहादुर ठकुरीद्वारा लिखित आत्मवृतान्त ‘नलेखिएका इतिहास’ पुस्तकको आज लोकार्पण गर्दै उनले लोकतन्त्रको रक्षा, एकदलीय तानाशाह र अलोकतान्त्रिक गठबन्धनविरुद्ध सबै लोकतन्त्रवादीलाई एक ठाउँमा आउन आग्रह गरेका हुन । वाम गठबन्धनका नाममा नेपाली काँग्रेसलाई सिध्याउन खोज्ने दलसँग काँग्रेस विचलित नहुने उल्लेख गर्दै मन्त्री बस्नेतले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा काँग्रेस पहिलो पार्टी बन्ने दाबी गरे । उनले मुलुकको विकासमा नेपाली काँग्रेसले खेलेको भूमिकाको नेपाली जनताले उच्च मूल्यांकन गर्ने समय आएको बताए । कार्यक्रममा पूर्व उद्योग राज्यमन्त्री कञ्चन वादे श्रेष्ठ, पूर्व सांसद रामेश्वरप्रसाद ढुंगेल, पार्टी जिल्ला सभापति दुर्लभ थापालगायतले नेता रामबहादुर ठकुरीले प्रजातन्त्र स्थापनामा खेलेको भूमिका र योगदानको चर्चा गरे । रासस

विवेकशील साझाका संयोजक रवीन्द्रको मत माग्ने फरक शैली

काठमाडौं, कात्तिक १३ । बिहानको ९ पनि नबज्दै विवेकशील साझा पार्टीका संयोजक एवं काठमाडौं १ का उम्मेदवार रवीन्द्र मिश्र मैतीदेवी चोकमा झुल्किए । उनका पछिपछि दुई दर्जनजति कार्यकर्ताको हूल थियो । मत माग्न हिँड्ने उम्मेदवारहरूको सनातनी शैलीमा मिश्र थिएनन् । न उनको घाँटीमा माला थियो न नारा लगाइरहेका कार्यकर्ताको भीड । न झन्डा, न चर्को भाषण । चोकैको एक किराना पसलमा छिरेका मिश्रले साहुजी राजेन्द्र महर्जनलाई नमस्कार गरे । आफ्नो परिचय दिए र आफ्नै शैलीमा भने, ‘यो बाटोको धूलो खाने तपाईं हामी जनताले हो । तर उपचारमा विदेश जाने त नेताहरू नै हुन् । मिश्रको कुरा सुनेर महर्जनले टाउको हल्लाए र भने, ‘हो नि । सुख पाउने नेताले, दुस्ख पाउने जनताले ।’ बीबीसी नेपाली सेवाबाट लामो समय पत्रकारिता गरेकै कारण मिश्र सडकमा हिँड्ने धेरैका निम्ति परिचित देखिएका थिए । तर नयाँ राजनीतिक दल भएकै कारण मिश्रको दलको तराजु चुनाव चिह्न भने धेरैका निम्ति नयाँ थियो । मिश्र आफू अरू दलभन्दा फरक भएको र इमानसहितको राजनीतिका निम्ति आफूलाई मत दिन आग्रह गरिरहेका थिए । कपडा पसल गरेर बसेका सुमन श्रेष्ठ मिश्रलाई देख्नेबित्तिकै हुर्रिएर आए । ‘तपाईंको सबै कार्यक्रम सुन्ने गर्थें’ भन्दै सुमनले मिश्रलाई खादा लगाइदिए । मिश्रले तुरुन्तै त्यो खादा सुमनकै घाँटीमा लगाइदिन खोजे । उनले भने, ‘मतदाता पो ठूला मान्छे हुन् त । त्यसैले यो खादा म तपार्इंलाई नै लगाइदिन चाहन्छु ।’ तर सुमन तर्किएको तर्कियै गरेपछि मिश्रले खादा हातमा लिए । संक्षिप्त कुराकानीमा सुमनले शुभकामना मात्रै दिएनन्, देश बिग्रिन लागेको चिन्ता पनि व्यक्त गरे । कान्तिपुरसँग सुमनले भने, ‘हामीसँगैका देश कहाँ पुगिसके । हामी जहाँको त्यहीं छौं । राजनीति नसुधारेसम्म केही हुन्न ।’ आफूहरूको दल नयाँ भएको र केही गतिलो काम गर्न खोजेको भन्दै मतदातालाई बुझाउन मिश्रको धेरै समय खर्च भइरहेको थियो । उनले एक जना मतदाताको चित्त बुझाउने गरी भने, ‘सबैले हामीलाई यिनीहरू राम्रा छन् तर साना छन् भन्छन् । यसो भनेर त परिवर्तन हुँदैन नि । मत नदिई त कसरी हुन्छ रु’ मत मागिरहेका मिश्रले कसैसँग पनि विकासका ठूला कुरा र आश्वासनका भारीभरम शब्द खर्चेनन् । उनले सबैसँग एउटै कुरा भने, ‘हामी मान्छे हुनाले गल्ती त गरौंला तर बेइमानी गर्दैनौं ।’ इनु अर्यालले मिश्रका हातमा नरिवलको डल्लो दिँदै भनिन्, ‘यो सगुन भगवानको प्रसाद हो ।’ अर्यालले आफूहरूले पञ्चायतको विरोध गर्न नानीमैया दाहाललाई पनि जिताउन पछि नपरेको इतिहास सुनाउँदै भनिन्, ‘मतदाताहरू विवेक प्रयोग गर्न सक्ने भइसके ।’ बिहान ५ बजे उठेर घरदैलोमा हिँडेका मिश्र राति १० बजेतिर मात्रै घर पुग्छन् । पछिल्ला दस दिनयता बदलिएको दिनचर्याबारे सुनाउँदै मिश्रले भने, ‘मतदातासँग पर्याप्त संवादको खाँचो छ ।’ मतदातालाई नमस्ते गर्दै हिँडिरहेका मिश्रको हात पाका उमेरका शिवराम आचार्यले च्याप्प समातेर भने, ‘विस वि अल दि बेस्ट १’ मिश्रले दुई हात जोडेर नमस्ते गरे र मीठो स्वरमा भने, ‘तपाईंको आशीर्वाद लागोस् । मनैदेखि खुसी लाग्यो ।’ व्यंग्यको भावमा आचार्यले भने, ‘कस्तो खुसी मानसिक कि राजनीतिक रु’ मिश्र मुसुक्क मुस्काए मात्रै । कान्तिपुरबाट

विर्तामोड तनाब साम्य, दुईपक्षबीच यस्तो भयो सहमति

विर्तामोड, कात्तिक ११ । विर्तामोडमा शुक्रबार एक बालकको रहस्यमय मृत्युपछि विरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले चलाएको गोली लागी एक जनाको मृत्यु भएपछि उत्पन्न तनाव समाधान भएको छ । शनिबार प्रशासन र आन्दोलनकारी बीच प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु भएका नरेश थापामगरको परिवारलाई १० लाख रुपैयाँ दिने, उनकी श्रीमतीलाई अर्जुनधारा नगरपालिकामा जागिर लगाइदिने, ६ महिनाको बच्चालाई नगरपालिकाले निःशुल्क अध्ययनको व्यवस्था मिलाउने सहमति भएपछि आन्दोलन स्थगित भएको हो । बालक मृत्युको घटनामा छानबिन गरेर दोषिलाई अदालतमा मुद्दा दर्ता गर्ने र कारबाही अगाडि बढाउने, इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी राजकुमार सिलवाललाई कारबाहीको सिफारिस गर्ने र क्षति भएको सार्वजनिक सम्पत्तिको तथ्यांक संकलन गरेर क्षतिपूर्ति दिनेसमेत सहमति भएको छ । झापाको अर्जुनधारा नगरपालिका– ११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको शंकास्पद मृत्यु र त्यसपछि उत्पन्न परिस्थितिका कारण जिल्ला प्रशासन झापाले शुक्रबार दिउँसो साढे १ बजेदेखि कर्फ्यु आदेश जारी गरेको थियो । प्रशासनको कर्फ्यु आदेशपछि बिर्तामोड क्षेत्र ठप्प छ । पूर्वपश्चिम राजमार्ग पनि ठप्प छ ।

सय दिन नपुग्दै जनप्रतिनिधीहरुले दिए ५६ जना विपन्नलाई रोजगार

तस्वीर: मुसिकोट पौदी अमराई सडक खण्डको श्रृंगामा काम गर्दै उनै लेन्थ वर्करहरु ‘मासिक १० हजारका दरले तलब पाउने भएपछि अब त सजिलै छोराछोरी पाल्ने भएँ’–वडा नं.१, अरेवा गाउँकी विपन्न महिला पार्वती विकले भनिन– ‘श्रीमान लफङ्गिएर हिँडेर असाध्यै दुःख पाएकी थिएँ, जागिर दिए उनीहरुको जय होस् ।’ उनीसँगै सडकमा काम गर्दै गरेका अरु महिला र पुरुषहरुले पनि त्यहाँका जनप्रतिनिधीहरुको त्यस कार्यलाई धन्यवाद दिए । जागिर पाएकाहरुमध्ये अधिकांश दलित, अति सीमान्तकृत कुमाल, जनजाति र अति विपन्न अन्य समुदायका छन् । सन्ध्या बस्नेत गुल्मी, कार्तिक १० । गुल्मीको मुसिकोट नगरपालिकाका जनप्रतिनिधीहरुले कार्यभार सम्हालेको सय दिन नपुग्दै अति विपन्न परिवार छनौट गरी ५६ जनालाई रोजगारी प्रदान गरेका छन्। प्रत्येक वडामा ६ जना विपन्न परिवार छानेर ५६ जनालाई कार्यभार सम्हालेको सय दिन नपुग्दै सडक मर्मत सम्भार गर्ने लेन्थ वर्करको रोजगारी दिएको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले बताए । ‘मासिक १० हजारका दरले तलब पाउने भएपछि अब त सजिलै छोराछोरी पाल्ने भएँ’–वडा नं.१, अरेवा गाउँकी विपन्न महिला पार्वती विकले भनिन– ‘श्रीमान लफङ्गिएर हिँडेर असाध्यै दुःख पाएकी थिएँ, जागिर दिए उनीहरुको जय होस् ।’ उनीसँगै सडकमा काम गर्दै गरेका अरु महिला र पुरुषहरुले पनि त्यहाँका जनप्रतिनिधीहरुको त्यस कार्यलाई धन्यवाद दिए । जागिर पाएकाहरुमध्ये अधिकांश दलित, अति सीमान्तकृत कुमाल, जनजाति र अति विपन्न अन्य समुदायका छन् । नगर कार्यसमिति सदस्य प्रकाश काफ्लेले एकजना महिला, गरीब विपन्नलाई एउटामात्रै सीप प्रदान गरेर आत्मनिर्भर बनाउन लागिएको जानकारी दिए । ‘गरीब वेरोजगार छु भन्नु हुन्छ भने आउनुहोस् नगरपालिकामा’ उनले भने– ‘तपाई के सिक्नु चाहनुहुन्छ ? हामी त्यही तालिम दिने छौं र त्यही सीपलाई पुर्णतः रोजगारीमा स्थापित गरी आत्मनिर्भर बनाउने छौं ।’ उनीहरुले कार्यभार सम्हालेदेखि मुसिकोटका सवै सडक सुचारु छन् । मेयर सापकोटाले पहिलो प्राथामिकता गरीब विपन्नको उत्थानमा रहेको बताए भने– ‘हामी गरीब विपन्न लक्षित कार्यक्रमहरुलाई पहिलो प्राथामिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरेका छौं, उनीहरुलाई अबको केही वर्षभित्रैमा आत्मनिर्भर बनाउने लक्ष्य छ ।’ नगर कार्यसमिति सदस्य प्रकाश काफ्लेले एकजना महिला, गरीब विपन्नलाई एउटामात्रै सीप प्रदान गरेर आत्मनिर्भर बनाउन लागिएको जानकारी दिए । ‘गरीब वेरोजगार छु भन्नु हुन्छ भने आउनुहोस् नगरपालिकामा’ उनले भने– ‘तपाई के सिक्नु चाहनुहुन्छ ? हामी त्यही तालिम दिने छौं र त्यही सीपलाई पुर्णतः रोजगारीमा स्थापित गरी आत्मनिर्भर बनाउने छौं ।’ उनका अनुसार व्यवसायिक कृषिखेती, सिलाई बुनाई, मुसिकोट नगरपालिकाभित्र आवश्यक सबै प्राविधिक जनशक्ति उत्पादन गरेर रोजगारी दिने लक्ष्य नगरपालिकाले लिएको छ । त्यस नगरपालिकाको पहिलो नगरसभाले रोजगारमुलक धुप्रै कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको छ । कृषकहरुलाई अनुदानको व्यवस्था समेत गरेको जनाईएको छ ।  

स्थानीय निर्वाचनमा दलहरूले पाएको मतका आधारमा शीर्ष नेता कति सुरक्षित ?

काठमाडौं, कात्तिक ११ ।   निर्वाचन नजिकिएसँगै राजनीतिक दलका शीर्ष नेताको जोड-घटाउ सुरु भएको छ । कहाँ कसले बाजि मार्ला ? कुन दल कति मतले अघि छ ? कुन दल कति मतले पछि छ ? भन्ने जस्ता जिज्ञासा आम मतदातामा देखिन थालेको छ । यहाँ स्थानीय निर्वाचनमा दलहरूले पाएको मतका आधारमा राजनीतिक दलका शीर्ष नेता कति सुरक्षित छन् त्यसको लेखाजोखा गरिएको छ ।

एमाले-माओवादी गठबन्धनले १०७ क्षेत्रकाे सिट बाँडफाँड टुंग्याए

काठमाडौं, कात्तिक ११ ।  एमाले र माओवादी केन्द्रले मंसिर २१ मा हुने दोश्रो चरणको चुनावका लागि सिट बाँडफाँड अन्तिम चरणमा पुर्‍याएका छन् । दोश्रो चरणको १ सय २८ निर्वाचन क्षेत्रको बाँडफाँडबारे सम्भवतः आज (शनिवार) संयुक्त रुपमा सार्वजनिक गर्ने भएका छन् । दोश्रो चरणमा हुने प्रतिनिधिसभाका १ सय २८ निर्वाचन क्षेत्रमा दुई दलका उम्मेदवार लड्ने १ सय ७ क्षेत्रको टुंगो लागिसकेको सिट बाँडफाँड समितिका एक सदस्यले बताए । त्यसमध्ये एमालेलाई ७२ माओवादी केन्द्रलाई ३५ सिट छुट्याइएको छ । त्यहि अनुपातमा सम्बन्धित प्रदेशमा पनि सिट बाँडफाँड भएको कान्तिपुरमा खबर छ । पहिलो चरणको मंसिर १० मा हुने निर्वाचनका लागि एमालेले २१ र माओवादी केन्द्रले १६ सिटमा सहमति गरेका थिए । सोहि अनुसार उम्मेदवार मनोनयन पनि भैसकेका छन् । दुई बाम दलबीच ६० ४० प्रतिशतका आधारमा सिट विभाजन गर्ने सहमतिअनुसार सिट बाँडफाँड भएको हो ।

वामगठबन्धनलाई विजयी गराउन, युवा संघ र वाइसिएलको संयुक्त निर्वाचन परिचालन समिति

काठमाडौ‌, कात्तिक १० । पार्टी एकताको लक्ष्यसहित निर्वाचनमा तालमेल गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकटका युवा संगठनले तीन हजार एक सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेका छन् । दुवै पार्टी निकटका युवा संगठनको केन्द्रीय इञ्चार्जसहितको आजको बैठकले केन्द्र, प्रदेश र स्थानीय तहमा समेत संयुक्त रुपमा प्रचारप्रसार समिति गठन गर्ने र त्यसलाई प्रभावकारी रुपमा परिचालन गर्ने निर्णय गरेको छ । युवा संघ नेपाल र वाइसिएल नेपालको संयुक्त बैठकले दुवै संगठनका पदाधिकारी रहेको सचिवालय र दैनिक कार्य सञ्चालनका लागि दुवै अध्यक्षसहितको ११ सदस्यीय शीर्ष संयोजन समिति गठन गरेको छ । बैठकले दुवै संगठनको प्रदेश इञ्चार्ज वा प्रमुखको नेतृत्वमा जिल्लामा जिल्ला अध्यक्ष वा संयोजकको अध्यक्षतामा निर्वाचन परिचालन समिति बनाउने र जिल्ला मातहत रहेका समितिसमेत सोहीअनुसार गरिने निर्णय गरेको छ । बैठकमा युवा संघका इञ्चार्ज महेन्द्रबहादुर पाण्डेले संविधान कार्यान्वयनको महत्वपूर्ण चरणका रुपमा रहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम शक्तिलाई विजयी गराउन युवाको भूमिका महत्वपूर्ण भएकाले सोहीअनुसार कार्य क्षेत्रमा प्रस्तुत हुन आग्रह गरे । उनले नेपालको इतिहासमा आगामी निर्वाचन नयाँ कार्यभारसहितको निर्वाचन भएकाले सम्पूर्ण ध्यान केन्द्रित गर्न आह्वान गरे । वाइसिएलका इञ्चार्ज मणि थापाले कुनै पनि आग्रह वा पूर्वाग्रहभन्दा माथि उठेर इतिहासको आवश्यकता पूरा गर्दै वामपन्थी गठबन्धनलाई विजयी गराउनु आजको प्रमुख कार्यभार रहेको बताए । उनले नेपालका युवाको प्रमुख दुई संगठनले जनतालाई संगठित गर्दै निर्वाचनलाई शतप्रतिशत रुपमा सफल बनाउनुपर्नेमा जोड दिए । युवा संघका अध्यक्ष राजीव पहारीले निर्वाचनलाई केन्द्रमा राखेर दुवै संगठन परिचालित हुने बताए । वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटाले युवाकै प्रयासमा मुलुकमा ठूलाठूला राजनीतिक परिवर्तन भएकाले त्यसलाई संस्थागत गर्ने महत्वपूर्ण अवसर आएको छ भने ।

घुस खाने आरोपमा एक असई र दुई ट्राफिक प्रहरी जवान निलम्बित

 काठमाडौ, कात्तिक १० ।  चालकहरूसँग घुस लिएको आरोपमा तीनजना ट्राफिक प्रहरी निलम्बनमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक असई र दुई जवानलाई बुधाबार निलम्बन गरेको हो । निलम्बनमा पर्नेमा असई चूणामणि पोखरेल, जवानद्वय रणबहादुर माल र जालन्धर बाँस्तोला छन् । उनीहरू तीनैजना रंगेहात घुससहित पक्राउ परेका हुन् । थानकोट तथा नागढुंगा क्षेत्रमा कार्यरत ट्राफिक प्रहरीविरुद्ध उजुरी आएपछि ट्राफिक महाशाखाका डिआइजी सर्वेन्द्र खनालले महाशाखाबाट सादा पोसाकमा छड्के पठाएका थिए । त्यस क्रममा चालकहरूसँग लिएको घुस रकमसहित उनीहरू पक्राउ परेका थिए । महाशाखाले निलम्बनमा गरी उनीहरूमाथि कारबाही अघि बढाएको छ। यो घटनापछि नागढुंगा र थानकोट प्रभागमा कार्यरत सबै ट्राफिक प्रहरीलाई महाशाखाले तानेको छ । इन्चार्जसहित नागढुंगामा कार्यरत १६, थानकोटमा कार्यरत १५ जनालाई महाशाखामा सरुवा गरिएको हो । त्यस्तै, कलंकी प्रभागमा कार्यरत नौजना ट्राफिक पनि महाशाखामा तानिएका छन् । लामो समयदेखि कार्यरत ट्राफिक प्रहरीलाई बदमासीको आशंकामा महाशाखाले तानेको हो । ट्राफिक प्रहरीमा नागढुंगा र थानकोटमा सरुवाका लागि धेरै सोर्सफोर्स चल्ने गरेको छ । धेरै सोर्सफोर्स आएपछि नै वास्तविकता बुझन् डिआइजी खनालले अनुसन्धान गरी कारबाही सुरु गरेका हुन् ।

यो वर्ष १ खर्ब ८ अर्बको धान उत्पादन हुने

काठमाडौं, कात्तिक ९ । यो वर्ष १ खर्ब ८ अर्ब रुपैयाँ बराबरको धान उत्पादन हुने भएको छ । गत वर्षभन्दा ४ अर्ब रुपैयाँ धेरैको धान फलेको हो । अहिलेसम्मको इतिहास तोड्दै यो वर्ष सबैभन्दा धेरै धान उत्पादन हुने कृषि विकास मन्त्रालयले अनुमान गरेको छ । आर्थिक वर्ष २०७३/०७४ मा १ खर्ब ४ अर्ब रुपैयाँ बराबरको धान उत्पादन भएको थियो । चालु आर्थिक वर्ष २०७४/०७५ मा अहिलेसम्मको रेकर्ड तोडेर करिब ५४ लाख टन धान फल्ने मन्त्रालयले प्रक्षेपण गरेको छ । गत वर्षको तुलनामा १ लाख ७० हजार टन उत्पादन बढ्ने छ । गत आर्थिक वर्ष ५२ लाख ३० हजार टन धान फलेको थियो । –नागरिक दैनिकबाट