लसभेगास गोलीकाण्डः मृत्यु हुनेको संख्या ५९ पुग्यो, ५२७ जना घाइते

काठमाडौं, असोज १७ । अमेरिकी प्रहरी लसभेगासमा गोलीकाण्ड मच्चाउने हत्याराको नियतको खोजी गरिरहेको छ ।

जहाँ अन्धाधुन्ध गोली प्रहार गर्दा ५९ जना मारिएका थिए भने ५ सय २७ जना घाइते भएका थिए । गोलीकाण्डबारे अनुसन्धान गरिरहेका प्रहरीले आक्रमणकारीको घरबाट थप हातहतियार पनि फेला पारिएको जनाएको छ ।

६४ वर्षीय आक्रमणकारी स्टिभन प्याडकको घरबाट १८ वटा बन्दुक, विस्फोटक पदार्थ र हजारौं राउण्ड गोली फेला पारिएको एक अधिकारीले जनाए । प्याडकले लास भेगस शहरस्थित एउटा होटलको ३२ औं तल्लामा रहेको कोठाबाट त्यहाँ नजिकै आयोजित एक सांगीतिक कार्यक्रम हेर्न भेला भएका भीडमाथि गोली बर्साउँदा ५ सय २७ जना घाईते भएका छन् ।

आधुनिक अमेरिकी इतिहासमै सबैभन्दा खराब गोलीकाण्ड भनिएको उक्त घटनाको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निन्दा गरेका छन् ।

उनले एकता र शान्तिका लागि अपील गर्दै गोलीकाण्डलाई दुष्टताले भरिपूर्ण क्रियाकलाप भनेका छन् । घटनास्थलबाट थप १० वटा बन्दूक फेला पारिएको छ । गोलीकाण्ड मच्चाईंदा उक्त कन्सर्ट हेर्न २२ हजार मानिस भेला भएका थिए । प्रहरीले घेरेपछि हत्यारा आफैले पनि आत्महत्या गरेका थिए ।

घटनाको आतंकवादी संलग्नता पुष्टी भएको छैन । यद्यपि, आईएसले भने घटना आफूले गराएको दावी गरेको छ ।

चितवन क्षेत्र नं. ३ बाट चुनाव लड्ने प्रचण्डकाे घाेषणा

चितवन, असोज १० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी केन्द्रीय व्यवस्थापिका संसदको निर्वाचन चितवन क्षेत्र नं. ३ बाट लड्ने प्रचण्डको घोषणा गरेका छन् । प्रेस सेन्टर नेपाल चितवन साखाले आज भरतपुर विमानस्थलमा गरेको कार्याक्रममा प्रचण्डले आउँदो चुनावमा आफु क्षेत्र नम्बर ३ बाट उठ्ने घोषणा गरेका हुन । पार्टीको बैठकले गरेको निर्णय अनुसार आफु क्षेत्र नम्बर ३ बाटै उठ्न लागेको उनले जानकारी दिए । माओवादी केन्द्र एक्लै चुनाव लड्ने र स्थानीय आवश्यकता अनुसार कतिपय स्थानमा संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरुसँग तालमेल गर्न सकिने पनि प्रचण्डले बताए । प्रचण्डले चितवनबाट लड्ने घोषणा गरेपछि अरु दलका स्थानीय नेता र कार्यकर्ता समेत उत्साहित बनेका छन । दोश्रो संबिधान सभाको निर्वाचनमा अर्को क्षेत्रबाट जिते पनि सांसद र पछि प्रधानमन्त्री भएको बेला चितवनको बिकासमा प्रचण्डले उल्लेख्य भूमिका खेलेका कारण समेत उनीप्रतिको आकर्षण बढेको हो । स्थानीय तहको निर्वाचनमा चितवनका ३ वटा निर्वाचन क्षेत्रमा ३ लाख १५ हजार ९३९ मतदाता रहेका थिए । यसअघि संविधानसभाको दोस्रो निर्वाचनमा जिल्लामा दुई लाख ७३ हजार ८०३ जना मतदाता थिए । २४ राजनीतिक दलले निर्वाचन कार्यालयमा नाम दर्ता गराए पनि मुख्य प्रतिष्पर्धा भने कांग्रेस, एमाले र माओवादीबीच नै हुने देखिन्छ । क्षेत्र नम्बर ३ मा राप्रपाका विक्रम पाण्डेको प्रभाव केही देखिए पनि प्रचण्डले त्यहाँबाट उम्मेदवारी घोषणा गरे राप्रपाको अधिकांश मत प्रचण्डले पाउने चर्चा माडीमा सुनिन्छ ।  

उपत्यकाबाट दैनिक दुई लाख यात्रु बाहिरिँदै

काठमाडौँ, असाेज १० । षष्ठी, सप्तमी र अष्टमीमा सडक वर्षभरिकै सबैभन्दा बढी व्यस्त हुने – -१२ लाख मानिसले काठमाडाैँ छाडिसकेको यातायात विभागको भनाइ -काठमाडौंदेखि बाहिरिने सबै सडक–नाका सुचारु -स्तरोन्नतिको अभावमा स्थानीय सडक समस्यामा -यात्रुबाहकलाई नारायणघाट–मुग्लिङ सडक २४ घन्टा खुला मंगलबारदेखि निरन्तर तीन दिन (१०–१२ गतेसम्म) राजमार्ग र स्थानीय सडक वर्षभरमै सबैभन्दा बढी व्यस्त हुँदै छन् । यातायात व्यवसायीका अनुसार यो अवधिमा ६ लाख मानिस उपत्यकाबाट बाहिरिँदै छन् । ‘काठमाडौंमा पेसा–व्यवसाय गर्नेदेखि अधिकांश विद्यालय, क्याम्पस बिदा हुने भएकाले यो वर्षको दसैँमा घर जाने ‘पिक आवर’ सुरु हुँदै छ,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने । बिहीबारसम्म सबै यात्रुको यात्रा सफल बनाउन सकेको खण्डमा यो वर्षको दसैँ सफल भएको मानिने व्यवसायीको भनाइ छ । ‘त्यसका लागि यात्रुबसको व्यवस्थापनमा खटिरहेका छौँ,’ सिटौलाले भने । मंगलबारसम्म काठमाडौं उपत्यकाबाट बाहिरिएकामध्ये ११ लाख गन्तव्य (घर) मा पुगिसकेको र करिब १ लाख मानिस यात्रारत रहेको महासंघले जानकारी दिएको छ । यात्रुबाहक बस तथा अन्य सवारीसाधन बिहान २ बजेदेखि बेलुका ६ बजेसम्म गन्तव्यतर्फ लागिरहेका छन् । ग्रामीण क्षेत्रतर्फ गएका सवारीसाधन भने सडकको दुरावस्थाको कारण समयमा फर्कन नसक्दा ढिला भइरहेको यातायात व्यवसायीले जानकारी दिएका छन् । राजमार्गमा भने तुलनात्मक रूपमा यात्रा सहज रहेको छ । ग्रामीण भेगको यात्रा कष्टकर, ठूला सहर र सदरमुकाममा सहज यो वर्ष देशभरका अधिकांश ग्रामीण भेगमा सडकको दुरावस्थाको कारण यात्रुलाई सास्ती भइरहेको छ । कतिपय स्थानीय सडक गाडी गुडाउनसमेत कठिन हुँदा दसैँ, तिहार तथा छठलगायतका चाड मनाउन घर हिँडेकालाई समयमै गन्तव्यमा पुग्न समस्या भइरहेको विभिन्न गन्तव्यमा यात्रारत र घर पुगेका यात्रुको गुनासो छ । यातायात व्यवसायीले पनि मुख्य राजमार्ग छोडेर स्थानीय सडकलाई छुनेबित्तिकै सडक समस्या बनेको बताएका छन् । ‘यसको कारण लामो दूरीका सवारीसाधन गन्तव्यसम्म पुग्न समस्या परिरहेको छ भने फर्केर आउन पनि ढिलाइ भइरहेको छ,’ महासंघका महासचिव सिटौलाले भने । समयमा बस छुट्ने वा गन्तव्यमा नपुग्दा वृद्धा, बालबालिका, सुत्केरी, बिरामीलगायतका यात्रुको बिचल्ली हुने गरेको छ । यात्रा गर्न सहज  काठमाडौंदेखि अधिकांश जिल्ला सदरमुकाम, पोखरा, नेपालगन्ज, बुटवल, कैलाली, दीपायल, विराटनगर, हेटौँडा, मन्थली, सिन्धुली, विराटनगर, इलाम, जनकपुरलगायत सहरी क्षेत्र । यात्रा गर्न असहज  काठमाडौंदेखि अधिकांश जिल्लाका सदरमुकाम र सहरी क्षेत्रबाहेकका ग्रामीण क्षेत्र, जोमसोम, जुम्ला, अर्घाखाँची, नुवाकोट, खोटाङ, सोलुखुम्बु, जाजरकोट, संखुवासभालगायत । स्तरोन्नतिको अभावमा स्थानीय सडक समस्यामा अहिलेसम्म ५७ हजार ९९७ किलोमिटर (किमि) ग्रामीण सडक निर्माणको चरणमा छ । यस सडकमध्ये जम्मा २ हजार ४ किलोमिटर सडक मात्र कालोपत्रे गरिएको छ । यो भनेको कुल स्थानीय सडकको ४ प्रतिशत मात्र हो । यसकारण अधिकांश सडक अझै कालोपत्रे भएका छैनन् । केही ठाउँमा पानी परिरहेको कारण धुले सडकमा समस्या आएको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको भनाइ छ । विभागका महानिर्देशक जीवनकुमार श्रेष्ठ सडकलाई स्तरोन्नति गरेर कालोपत्रे गर्न सकेको खण्डमा बाह्रै महिना यात्रा सहज हुने बताए । विभागको पछिल्लो तथ्यांकअनुसार देशभरमा ग्राभेल स्तरमा रहेको स्थानीय सडक १२ हजार ८२३ किलोमिटर रहेको छ । यो कुल स्थानीय सडकको २२ प्रतिशत हो । त्यस्तै, धुले (ट्र्याक मात्र खोलेको) सडक ४२ हजार ८ सय ५ किलोमिटर रहेको छ । यो कुल सडकको ७४ प्रतिशत हो । सडक इन्जिनियर तथा यातायात व्यवसायीका अनुसार यो धुले सडक नै सबैभन्दा समस्याग्रस्त सडक हो । काठमाडौंदेखि बाहिरिने सबै सडक–नाका सुचारु यो वर्ष भाडा तिरेरै अधिकतम् २० लाख मानिस काठमाडौं उपत्यकाबाट बाहिरिने यातायात व्यवस्था विभागले जानकारी दिएको छ । विगतमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने गरेका थिए । त्यस्तै, निजी सवारीसाधनबाट पनि पाँचदेखि सात लाख मानिस उपत्यकाबाट बाहिरिने निश्चितजस्तै भएको विभागका प्रवक्ता डा. टोकराज पाण्डेले बताए । तर, चाडपर्वमा बाहिरिने यात्रुको अध्ययनमा आधारित यकिन तथ्यांक विभाग र यातायात व्यवसायी दुवैसँग छैन । बाहिरिने यात्रुमध्ये सबैभन्दा धेरैले कलंकी, नागढुंगा, मुग्लिङ नारायणघाट हुँदै पूर्व–पश्चिम राजमार्ग प्रयोग गर्नेछन् । यसबाहेक राजधानी जोड्ने अरनिको, सिन्धुली–बर्दिबास, पासाङल्हामु राजमार्ग पनि व्यस्त हुनेछन् । सबैभन्दा बढी व्यस्त हुने मुग्लिङ–नारायणघाट खण्डमा चाडपर्वको वेला खाल्डा पुर्ने काम गरिएको छ । यो वर्ष अरनिको राजमार्ग भने अन्यको तुलनामा व्यवस्थित छैन । भारतीय सहयोगमा सडक स्तरोन्नतिको काम भइरहेकाले रोकिँदै जानुपर्दा समयमै नपुग्ने समस्या रहेको अरनिको राजमार्ग बस सञ्चालन गरिरहेका रमेश बस्नेतले जानकारी दिए । यात्रुबाहकलाई नारायणघाट–मुग्लिङ सडकमा २४ घन्टा खुला नजिकिँदो चाडपर्व र मौसममा देखिएको सुधारसँगै यात्रुबाहक र साना सवारीसाधनलाई २४ घन्टा नै छोडिने भएको छ । चाडपर्वमा यात्रुबाहक सवारीसाधनको बढ्दो चाप र ती सवारीलाई प्राथमिकता दिँदै सवारी व्यवस्थापन चुस्त बनाउन मालबाहक ठूला सवारीसाधनलाई भने प्रत्येक दिन राति ८ बजेदेखि १२ बजेसम्म रोकिने भएको छ । ती सवारीसाधनलाई नारायणघाटतर्फबाट आउनेलाई भतेरी जंगल इलाकामा, काठमाडौंतर्फबाट आउनेलाई लेवाटार इलाकामा र पोखरातर्फबाट आउनेलाई आँबुखैरेनीमा रोकिने आयोजना कार्यालयले जानकारी दिएको छ । -नयाँ पत्रिकाबाट

कारबाही गर्ने प्रतिवद्धता गरेका मन्त्री मण्डलले दिए उन्मुक्ति

काठमाडौँ, असाेज १० । उपभोक्तालाई ठगेको आरोपमा २० दिनअघि सिल गरिएका दरबामार्गका विभिन्न व्यवसायीक फर्मलाई बिनाकारबाही छोडिएको भन्दै उपभोक्तावादीले विरोध जनाएका छन् । मन्त्री र उनीनिकट व्यक्तिले चलखेल गरेर व्यवसायीक फर्मलाई उन्मुक्ति दिएको उनीहरुको आरोप छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । आपूर्ति मन्त्री शिवकुमार मण्डल र आपूर्ति व्यवस्था विभागका महानिर्देशक कुमार दाहालको टोलीले २० दिन अघि अनुगमन गर्दा उपभोक्तालाई ठगी गरेको पाइएपछि ती फर्ममाथि सिल गरिएको थियो । मन्त्री मण्डलले ती फर्मलाई कालोबजारी ऐनअन्तर्गत कारबाही गर्ने प्रतिवद्धता जनाए पनि कारबाहीबीनै सोमबारदेखि सञ्चालन गर्न निर्देशन दिएका हुन् ।

संघ र प्रदेशको चुनावी चहलपहल शुरु

चितवन, ९ असोज । आगामी मंसिरमा हुन गइरहेको संघ र प्रदेशको निर्वाचनको चहलपहल यहाँ शुरु भएको छ । स्थानीय तहको निर्वाचन सकिएको केही समयमै निर्वाचन हुने भएपछि विभिन्न दलका गाउँदेखि जिल्लासम्मका नेता कार्यकर्ता आ–आफ्नो पक्षमा परिणाम पार्ने पक्षमा जुटेका छन् । त्यसो त आफ्नो नाम उम्मेदवारमा सिफारिसका लागि दौडधूप पनि शुरु भएको छ । नेपाली काँग्रेसका सभापति स्वर्गीय सुशील कोइराला निर्वाचित भएको तत्कालीन–४ नम्बर र हालको–३ नम्बर क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनमा उठ्ने जनाएपछि यहाँ चुनावी चर्चा अरु थपिएको छ । निर्वाचनमा कुन÷कुन दल कसरी मिलेर अगाडि बढ्छन्, अन्यौल रहे पनि आ–आफ्नो पार्टीभित्र आन्तरिक प्रचार भने शुरु गरेका छन् । नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार असोज १० गतेभित्र गाउँ र नगरले उम्मेदवारको सिफारिस गर्न निर्देशन गरिएको छ । असोज १३ गते क्षेत्रले जिल्लालाई सिफारिस गर्दैछ भने असोज १७ गते जिल्लाले केन्द्रलाई सिफारिस गर्दैछ । यससँगै आ–आफ्नो नाम सिफारिसमा पार्न जिल्लास्थित नेता दौडधूपमा रहेका छन् । गाउँ तहदेखि नै विभिन्न ढंगले चुनावी प्रचारलाई तीव्रता दिन थालिएको उनले बताए । स्थानीय तहमा नराम्रोगरी पराजय हासिल गरेको नेपाली काँग्रेस चितवनले संघ र प्रदेशको निर्वाचनमा गुमेको छवि फिर्ता ल्याउने गरी गृहकार्य गरिरहेको जनाएको छ । स्थानीय तहमा निकै राम्रो नतिजा ल्याउन सफल नेकपा एमाले संघ र प्रदेशको निर्वाचनमा अरु बढी उत्साहित बनेको छ । नेकपा (एमाले) चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलकाअनुसार उम्मेदवार सिफारिसका विषयमा केन्द्रको निर्देशन कुरिरहेको छ । यद्यपि वडा तहदेखि नगर हुँदै क्षेत्र र प्रदेशमा कार्यालय स्थापना गरेर प्रचार अभियान शुरु गरेको उनले बताए । निर्वाचन परिचालन कमिटी गठन गरी वडादेखि जिल्लासम्म पार्टीपंक्ति निर्वाचनमा केन्द्रीत भएको उहाँले बताउनुभयो । निर्वाचनलाई ध्यानमा राख्दै पार्टी कार्यकर्तालाई प्रशिक्षण पनि शुरु गरिएको छ । माओवादी केन्द्र चितवनका पूर्व अध्यक्ष एवं पोलिटब्युरो सदस्य यमबहादुर परियार अभियानकै रुपमा निर्वाचन प्रचार शुरु नगरे पनि तयारी भने थालिएको बताएको छ । स्थानीय तहको निर्वाचनमा भरतपुर महानगर र माडी नगरपालिकामा प्रमुख पद जित्न सफल माओवादी केन्द्र काँग्रेस वा एमालेसँगै मिलेर पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई चितवनमा निर्वाचित गर्न चाहेको छ । त्यसो त दाहाल आफैँले चितवनबाट निर्वाचनमा उठ्ने घोषणा गरिसक्नु भएको छ । पार्टीका एक नेताका अनुसार दशैँपछि मुख्यालय नै चितवनमा स्थापना गरेर दाहाल आफँै निर्वाचनमा जुट्ने तयारीमा रहेको छ । राप्रपा (प्रजातान्त्रिक) ले पनि चुनावी प्रचारलाई भित्रीरुपमा शुरु गरेको छ । देशभरमा कम मात्रै निर्वाचित सांसद भएको राप्रपाको पहिलेको चितवन क्षेत्र नं–५ मा पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले विजय हासिल गर्नुभएको थियो । सोही क्षेत्रलाई भरतपुर महानगरपालिकामा जोडेर अहिले क्षेत्र नं ३ बनाइएको छ । यो क्षेत्रबाट दाहालले निर्वाचन लड्ने जनाएपछि राप्रपा अन्यौलमा छ । यद्यपि क्षेत्र नं ३ बाट नै आफू निर्वाचन लड्ने वन तथा भू–संरक्षण मन्त्रीसमेत रहेका विक्रम पाण्डेले बताए । जिल्ला अध्यक्ष बद्री तिमिल्सिनाले असोज २५ गतेभित्र जिल्लाबाट उम्मेदवारको नाम केन्द्रमा सिफारिस गर्ने बताउनुभयो । अहिले गाउँ, नगर र क्षेत्रबाट सिफारिस हुने क्रम भइरहेको उनले बताए । केही दिनअघि पार्टीको केन्द्रीय प्रशिक्षण विभागका प्रमुख एवं महामन्त्री ध्रुवबहादुर प्रधानको उपस्थितिमा दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । चितवनलाई संघमा तीन र प्रदेशमा ६ क्षेत्रमा विभाजन गरिएको छ । यसअघि चितवन– ५ क्षेत्रमा विभाजित थियो । जिल्लाको राप्ती, खैरहनी र रत्ननगर नगरपालिका क्षेत्र नं– १ मा पर्दछ । जसको राप्ती नगरपालिका र खैरहनी नगरपालिकाका वडा नं. ३,६, ७, ८, ९, १० र ११ क प्रदेशमा प्रदेशमा पर्दछ भने खैरहनीका बाँकी वडा र रत्ननगर नगरपालिका ‘ख’ प्रदेशमा प्रर्दछ । कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका– वडा नं १ देखि ७ सम्म १०, ११, १२ र २९ वडा क्षेत्र नं. २ मा पर्दछन् । यस क्षेत्रको कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाको वडा नं १, ३ र २९ क प्रदेशमा पर्दछ भने भरतपुर महानगरपालिकाको २, ४, ५, ७, १०, ११, १२ ‘ख’ प्रदेशमा पर्दछ । क्षेत्र नं ३ मा भरतपुर महानगरपालिकाका बाँकी वडा र माडी नगरपालिका प्रर्दछ । भरतपुर महानगरपालिका–६, ८, ९, १५ देखि २० सम्म, २६, २७, २८ ‘क’ प्रदेशमा र भरतपुर महानगरपालिकाका बाँकी वडा र माडी नगर पालिका ‘ख’ प्रदेशमा पर्दछन् । दोस्रोचरणको निर्वाचनमा परेको चितवनमा कात्तिक १६ गते मनोनयन दर्ता गरिँदै छ ।

कार्यकक्ष नपुगी बाटोबाटै हराएका सात हजार कर्मचारी खोज्न कार्यदल !

काठमाडौं, असोज ९ । स्थानीय तहमा खटिएका कर्मचारी कार्यालयमा नपुगेपछि उनीको खोजी गर्न सरकारले आइतबार उच्चस्तरीय अनुगमन टोली गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा सामान्य प्रशासन मन्त्रालयका उपसचिव र महालेखा नियन्त्रक कार्यालयका उपसचिव सदस्य रहेको अनुगमन टोली गठन गरेको हो । सामान्य प्रशासन मन्त्रालयका अनुसार सरकारले विभिन्न मन्त्रालय र निकायबाट देशभरका स्थानीय तहमा १२ हजारभन्दा धेरै कर्मचारी खटाए पनि करिब ५ हजार कर्मचारीमात्र कार्यालयमा पुगेका छन् । बाँकी ७ हजार कर्मचारी कहाँ छन् सम्बन्धित सरकारी अधिकारीलाई कुनै जानकारी छैन । खटाइएको कार्यालयमा नपुगेका कर्मचारी खोजी गर्न र अवस्था पत्ता लगाउन अनुगमन टोली गठन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट

मिर्गौला फेर्न रु २४ लाख संकलन

काँकडभिट्टा, असोज ८ । दुवै मिर्गौला बिग्रिएर उपचारका क्रममा रहेका मेचीनगर झापाका २९ वर्षीय जगत तामाङको सहयोगका लागि रु २४ लाखभन्दा बढी रकम संकलन भएको छ । भारतको भेलोरमा मिर्गौला प्रत्यारोपणका लागि शनिबार गएका तामाङको सहयोगार्थ ‘जगत तामाङ बचाउ समिति’ले सो रकम संकलन गरेको हो । जगतलाई रकम हस्तान्तरण गरेर भेलोर पठाइसकेको समितिका संयोजक पंकजविक्रम नेम्वाङले बताए । आर्थिक अवस्था कमजोर भएका उनलाई आवश्यक उपचार गर्न सहयोग जुटाउन मेची उद्योग वाणिज्य संघका अध्यक्ष पंकजविक्रम नेम्वाङ संयोजक र गोपाल बस्नेत सदस्यसचिव रहेको करिब एक दर्जन सदस्य रहने गरी समिति गठन गरिएको थियो । समितिले मुलुकभित्र र बाहिरका नेपालीबाट सहयोग रकम संकलन गरेर रु २४ लाख ६८ हजार बैंकमा जम्मा गरेको थियो । सोही रकम पीडितलाई हस्तान्तरण गरिएको हो । जगत तामाङलाई उहाँकै कान्छी बहिनी हिरा तामाङले एउटा मिर्गौला दान गर्ने भएको छ ।

कटुवा पेस्तोल र गोलीसहित पक्राउ

कपिलवस्तु, असोज ८ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–७ बुटहनियामा कटुवा पेस्तोल र गोलीसहित एकजना आज पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बहादुरगञ्जको गस्ती टोलीले बुटहनियामा दुई वटा कटुवा पेस्तोल त्यसमा लाग्ने दुई राउण्ड बुलेटसहित भरत चौधरीलाई पक्राउ गरेको हो । चौधरी आज बिहान ४ बजे बुटहनियामा आफ्नै मिलमा पक्राउ परेका छन् । गोप्य सुराकीका आधारमा प्रहरीको गस्ती टोलीले चौधरीलाई पक्राउ गर्न सफल भएकोे इप्रका बहादुरगञ्जका प्रहरी सहायक निरीक्षक दीपेन्द्र गिरीले बताए ।

राष्ट्रपति र उपराष्ट्रपतिलाई मुद्दा नलाग्ने

काठमाडौं, असोज ८ । राष्ट्रपति र उपराष्ट्रपतिले पदीय हैसियतमा गरेका कामलाई लिएर अदालतमा कुनै मुद्धा दर्ता नहुने भएको छ । संसद्ले हालै पारित गरेको राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमि तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाा वर्तमान र पुर्वराष्ट्रपतिलाई अदालतमा कुनै मुद्धा चलाउन नपाउने व्यवस्था राखिएको छ । संसद्को सुशासन तथा अनुगमन समितिमा राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयकमा छलफल भएको थियो । विधेयकको दफा १६ मा रहको मुद्धा नचलाईने शक्र्षकमा राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो पदीय हैसियतले सम्पादन गरेका कामकारबाहीका विषयमा निज पदामा रहँदा वा सेवा निवृत्त भएपछि निजउपर कुनै अदालतमा मुद्धा चर्लाइने छैन, भन्ने उल्लेख गरिएको छ । राष्ट्रपतिको अतिथि सत्कार खर्च मासिन डेढ लाख, विदेश भ्रमण भत्ता दैनिक २ सय ५० डलर रहेको छ । -नागरिक दैनिकबाट

स्नातक तह पहिलो वर्षको भर्ना खुल्यो (सूचनासहित)

काठमाडौं, ४ भदौ । त्रिभुवन विश्वविद्यालयले स्नातक तह पहिलो वर्षको लागि भर्ना आह्वान गरेको छ । विश्वविद्यालयले बुधबार एक सूचना जारी गर्दै मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र संकायअन्तर्गतका क्याम्पसहरुमा २०७४—०७५ को लागि भर्ना आह्वान गरेको हो । सूचनाअनुसार आवेदन फाराम असोज २२ देखि कात्तिक ३० गतेसम्म वितरण हुनेछ । यस्तै कक्षा सञ्चालन मंसिर १ देखि हुनेछ ।

जनकपुरमा राजपा निक्कै अगाडी

जनकपुर उपमहानगरपालिका, धनुषा राजपा १५५१/१०७१ कांग्रेस ६१५/५१५

यसरी खसाले ट्रक त्रिशुलीमा बिमा रकम लिन

हटौंडा, असोज ३ । फिल्मी शैलीमा त्रिशूली नदीमा मालबाहक ट्रक खसालेर बिमा र कम्पनीसँग लाखौं रुपैयाँ असुल्ने एक गिरोहको प्रयास असफल भएको छ । करिब ४३ लाख रुपैयाँको नौ सय ६० कार्टुन टुबोर्ग बियर हेटौंडामा लुकाई त्रिशूली नदीमा ना ५ ख ७२९७ नम्बरको ट्रक खसाल्ने चारजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो । ट्रक साहु तथा योजनाकार हेटौंडा ३ का सन्तोष खड्का फरार रहेको मकवानपुर प्रहरी प्रमुख एसपी विकासराज खनालले बताए । उनका अनुसार गत भदौ २० गते मकवानपुरको मनहरी गाउँपालिका-५ बस्ने ट्रक चालक उज्वल कँडेल र योजनाकार हेटौँडा ३ का सन्तोष खत्री चितवनको इच्छा मनकामना गाउँपालिकास्थित जलबिरे गए । जलबिरेमा ट्रक खसाल्दा नभेटिने पत्ता लगाएपछि उनीहरूले पाँच दिनपछि भदौ २५ गते जलबिरेमा मालबाहक ट्रक दुर्घटना गराए । नवलपरासीको भेडाबारीस्थित गोर्खा ब्रुअरीबाट १४ सय कार्टुन टुबोर्ग बियर लिएर काठमाडौँ हिँडेको उक्त ट्रकबाटबाट चितवको गीतानगरमा १२ सय कार्टुन बियर पल्टी गरी हेटौंडा ल्याई लुकाएको अवस्थामा प्रहरीले बरामद गरिसकेको छ । बरामद गरिएको बियरको मूल्य करिब ३७ लाख रहेको एसपी खनालले बताए । ट्रक दुर्घटनामा परे पनि ट्रकका चालक कँडेल भने बाँच्न सफल भए । चालक कँडेलले प्रहरीलाई दिएको बयानअनुसार उनी चोटपटक देखाउन चक्कुले आफ्नो खुट्टामा घाउ बनाएर अपस्ताल भर्ना भए । सोही दिन ट्रकका नक्कली साहु हेटौंडा ११ का निर्मल सुवेदीले इलाका प्रहरी कार्यालय मुग्लिनमा ट्रक त्रिशूलीमा खसेकाले खोजिदिन र बिमाको रकम दाबीका लागि सहयोग गरिदिन अनुरोध गरे । चितवन प्रहरीले यसलाई सामान्य दुर्घटनाको रूपमा लिए पनि मकवानपुर प्रहरीलाई बिमाको रकम दाबी गर्न दुर्घटना गराइएको भन्ने सूचना आएपछि प्रहरी निरीक्षक मधु थापाको कमान्डमा घटनाको अनुसन्धान सुरु भएको थियो । प्रहरी निरीक्षक थापाका अनुसार हाल फरार रहेका ट्रकका मुख्य साहु खड्का आर्थिक रूपमा कमजोर भएपछि उनले हेटौँडा ११ का सन्तोष खत्रीमार्फत उक्त योजना तयार पारेका हुन् । ‘उनीहरूले ट्रकमा ४३ लाखबराबरको बियर लोड गर्ने, उक्त बियर चितवनमा आएर अर्को ट्रकमा सार्ने, बियर हेटौँडामा लुकाउने र दुई सय कार्टुन बियरसहितको ट्रकलाई त्रिशूलीमा खसाल्ने योजना बनाए’, थापाले भने, ‘यति गरेपछि ट्रकको बिमा पनि पाइने र साथमा ४३ लाखबराबरको बियर पनि आफ्नो हुने उनीहरूको सपना थियो ।’ प्रहरीका अनुसार उक्त योजनाका लागि ट्रक साहु खड्काका आफन्त सन्तोष खत्रीले चार चाख रुपैयाँ दिने प्रलोभनमा हेटौँडा ११ का निर्मल सुवेदीलाई नक्कली साहु बनाएका थिए । सम्झौताअनुसार खड्काले नरायणी यातायात व्यवसायी संघको प्रतिनिधिको रोहबरमा कागज गरेर ट्रक सुवेदीको नाममा गरिदिए । ‘त्यसपछि आँटिलो ट्रक चालकको खोजी भयो र पाँच लाख रुपैयाँ लिएर उक्त काम गर्न मनहरीका कँडेल तयार भए’, प्रहरी निरीक्षक थापाले भने । घटना घटाएपछि बियरलाई उनीहरूले हेटौँडा(१३ पदमपोखरीका मणिराज लामाको घरमा लुकाएर राखेको चालक कँडेलले स्वीकार गरे । मकवानपुर प्रहरी प्रमुख विकासराज खनालले पक्राउ परेका चारैजनालाई जिल्ला प्रहरी कार्यालय चितवनको जिम्मा लगाइने बताए । ‘हामीले हेटौंडाको पदमपोखरीमा लुकाइराखेको नौ सय ६० कार्टुन बियर बरामद गरेका छौं’, उनले भने, ‘ट्रक साहु सन्न्तोष खड्काको खोजी कार्य भइरहेको छ।’

नेपालमा परिवार नियोजनका साधन प्रयोगकर्ता न्यून

काठमाडौं, असोज ३ । पछिल्ला बर्ष परिवार नियोजन र यसका साधनबारे प्रचारप्रसार धेरै भएपनि १३ जिल्लामा अझै पनि यी साधनको प्रयोग न्यून रहेको पाइएको छ । ती जिल्लामा परिवार नियोजन साधन प्रयोगकर्ता ३० प्रतिशतभन्दा कम रहेको स्वास्थ्य मन्त्रालयको परिवार स्वास्थ्य महाशाखाको तथ्याकं छ । विशेष गरी गरिब समुदाय, हिमाली पहाडका दुर्गम क्षेत्र, दलित र मुस्लिम समुदायमा यसको प्रयोग न्यून देखिएको महाशाखाका निर्देशक डा. नरेश केसीले बताए । उनले भने, ती क्षेत्रमा परिवार नियोजनका साधनको उपयोगिताबारे चेतना पुगेको छैन । यसलाई शिक्षाबाट मात्रै परिवर्तन गर्न सकिन्छ । परिवार नियोजनका साधन प्रयोगले शरीरलाई कमजोर पार्ने, रोग लाग्ने, देवता रिसाउने, बाँझोपन हुनेजस्ता गलत बुझाइका कारण यसको प्रयोग बढ्न नसकेको केसीको तर्क छ । स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार नेपालमा ४३ प्रतिशत व्यक्तिले मात्र परिवार नियोजनका आधुनिक साधन प्रयोग गर्ने गरेको देखाएको छ ।

प्रचण्डको क्षेत्रमा माओवादी केन्द्रका वडाध्यक्ष प्यानल सहित विजयी

सिरहा, असोज ३ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र कर्जन्हा नगरपालिकाको वडा नम्बर १ मा वडाध्यक्षमा माओवादीका मोहन केसी प्यानल सहित विजयी भएका छन् ।

७० स्थानीय तहमा मतगणना जारी, दुर्इ वटा वडामा माअाेवादी र एकमा संघीय समाजवादी विजयी

काठमाडौं, असोज ३ । प्रदेश नम्बर दुईका आठ जिल्लाका १ सय ३६ वटा स्थानीय तहमध्य ७० वटा स्थानीय तहको मतगणना कार्य सुरु भएको छ । तीन वटा वडाकाे नतिजा सार्वजनिक हुँदा दुर्इ वटा वडामा माअाेवादी र एकमा संघीय समाजवादी विजयी भएका छन् ।  सिरहाको कर्जन्हा नगरपालिका वडा नं. १ को अध्यक्षमा माओवादी केन्द्रका मोहनबहादुर खत्री ३४२ मत ल्याएर विजयी भएका छन्। धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ को अध्यक्षमा माओवादी उम्मेदवार विजयी भएका छन्। र्लाहीको बरहथवा नगरपालिकाको – १८ मा संघीय समाजवादी फोरमका प्यानलसहित विजयी भएको छ । वडा अध्यक्षमा मुलेश्वर राय प्यानलसहित विजयी  भएका हुन् । बाँकी ६० स्थानीय तहको मतगणना कार्य पनि सुरु गर्ने तयारी भइरहेको निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त विवरणमा उल्लेख छ । सम्बन्धित स्थानीय तहका राजनीतिक दलहरुसँग समन्वय गरेर मतगणना सुरु गर्ने तयारी भइरहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । राजविराज नगरपालिकाको वडा नं. १५ का राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उम्मेदवारको निधन भएकाले यो वडामा असोज ५ गते मतदान भएपछि मात्रै राजविराज नगरपालिकाको मतगणना कार्य सुरु हुने पनि आयोगले जनाएको छ ।

‘जनकारबाही’ भन्दै वडा सदस्यलाई मोसो

नुवाकोट, असोज १ । नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले नुवाकोटका एक वडा सदस्यलाई जनवारवाहीको नाममा कालोमोसो दलेका छन् । नेपाली काँग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित शिवपुरी गाउँपालिका वडा नं ४ सिक्रेका वडा सदस्य उद्धवबहादुर थापालाई पदीय जिम्मेवारी पूरा नगरेको र शक्तिको दुरुपयोग गरेको भन्दै शुक्रबार राति मोसो दलेर दुव्र्यवहार गरेका छन् । कालोमोसो दलेपश्चान ‘जनकारबाही’ गरेको भन्दै नेकपाका जिल्ला सेक्रेटरी सागर तिमिल्सिनाको हस्ताक्षरमा एक विज्ञप्ति सार्वजनिक गरिएको छ । पूर्व प्रहरी हवल्दारसमेत रहेका थापालाई घरमै बसिरहेको समयमा कालोमोसो दलेका हुन् । थापाले गाउँमा सञ्चालन गरेको औषधि पसल अवैध रहेको र त्यसबाट बिरामीको स्वास्थ्यमाथि खेलबाड गरेको र आव २०६३/६४ मा झोलुङ्गे पुल निर्माणका लागि निर्माण समितिको अध्यक्ष बनेर प्राप्त बजेट अनियमितता गरी पुलको निर्माण अझै शुरु नगरेकाले जनताबाट आएको उजुरीका आधारमा पहिलो चरणमा सचेतस्वरुप मोसो दलेको र नसच्चिए थप कारबाही गर्ने विज्ञप्तिमा उल्लेख छ । गत शुक्रबार पनि नेकपाको विद्यार्थी भ्रातृ संगठन अखिल क्रान्तिकारीले दुप्चेश्वर गाउँपालिका–१ स्थित इन्द्रेणी प्राविका शिक्षक रामकृष्ण श्रेष्ठलाई नियमितरुपमा विद्यालयमा अध्यापन गराउन नगएको भन्दै कारबाहीस्वरुप मोसो दलेका थिए ।