७० स्थानीय तहमा मतगणना जारी, दुर्इ वटा वडामा माअाेवादी र एकमा संघीय समाजवादी विजयी

काठमाडौं, असोज ३ । प्रदेश नम्बर दुईका आठ जिल्लाका १ सय ३६ वटा स्थानीय तहमध्य ७० वटा स्थानीय तहको मतगणना कार्य सुरु भएको छ । तीन वटा वडाकाे नतिजा सार्वजनिक हुँदा दुर्इ वटा वडामा माअाेवादी र एकमा संघीय समाजवादी विजयी भएका छन् । 

सिरहाको कर्जन्हा नगरपालिका वडा नं. १ को अध्यक्षमा माओवादी केन्द्रका मोहनबहादुर खत्री ३४२ मत ल्याएर विजयी भएका छन्। धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ को अध्यक्षमा माओवादी उम्मेदवार विजयी भएका छन्।

र्लाहीको बरहथवा नगरपालिकाको – १८ मा संघीय समाजवादी फोरमका प्यानलसहित विजयी भएको छ । वडा अध्यक्षमा मुलेश्वर राय प्यानलसहित विजयी  भएका हुन् ।

बाँकी ६० स्थानीय तहको मतगणना कार्य पनि सुरु गर्ने तयारी भइरहेको निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त विवरणमा उल्लेख छ ।

सम्बन्धित स्थानीय तहका राजनीतिक दलहरुसँग समन्वय गरेर मतगणना सुरु गर्ने तयारी भइरहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

राजविराज नगरपालिकाको वडा नं. १५ का राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उम्मेदवारको निधन भएकाले यो वडामा असोज ५ गते मतदान भएपछि मात्रै राजविराज नगरपालिकाको मतगणना कार्य सुरु हुने पनि आयोगले जनाएको छ ।

विद्यार्थी हत्याको विरोधमा प्रदर्शन

भीमदत्तनगर, भदौ ३० । विद्यार्थी हत्याको विरोधमा कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालका स्थानीयवासीले विरोध प्रदर्शन गरेका छन् । प्रहरी र स्थानीयवासीबीच झडप हुँदा केही प्रदर्शनकारी घाइते भएका छन् । यस क्रममा प्रहरीले नौ राउण्ड अश्रुग्यास समेत प्रहार गरेको प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्दले जानकारी दिनुभयो । गत आइतबार स्थानीय महाकाली जनसेवा माध्यमिक विद्यालयमा कक्षा–८ मा अध्ययरत १३ वर्षीय तिलक चन्द विद्यालयबाट बेपत्ता भएका थिए । प्रहरीले उनको शव बुधबार राति हल्दुखाल नजिकैको खोलामा भेटाएको थियो । चन्दको हत्यामा संलग्न रहेको आशंकामा उनकै साथी आशिष अधिकारीलाई प्रहरीले पक्राउ गरेको थियो । अधिकारीले चन्दको हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन् । हत्यामा संलग्न अधिकारीको घरमा आज स्थानीयवासीले तोडफोड गरेका छन् । उनीहरुले अधिकारीको गोठमा आगजनीसमेत गरेका छन् । अहिले हल्दुखाल क्षेत्र तनावग्रस्त बनेको छ । स्थानीय प्रशासनले साँझ ८ बजेसम्मका लागि सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । चन्दको कानमा लगाएका सुनको मुन्द्राको लोभमा अधिकारीले उनको हत्या गरेको खुलेको छ । चन्दका सहपाठी आशिष अधिकारी, रमेश खड्का, विशाल चन्द र प्रकाश थापालाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक चन्दले बताउनुभयो ।

आईएमईका सेवाग्राही पर्ब बहादुरले पाए ६ लाखको जीवन बीमा

काठमाडौं, भदौ २९ ।  यसपटकको दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’ अफर अन्तर्गत पहिलो १५ दिनको जीवन बीमा आईएमई सेवाग्राही पर्ब बहादुर राईले प्राप्त गरेका छन् । सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा मलेशियास्थित रिया आईएमईबाट नेपालमा पैसा पठाउनु हुने राई भाग्यशाली विजेता छनोट भएका हुन् । भाग्यशाली विजेता राईले सिफारिस गरेको व्यक्तिले आईएमई लाइफ इन्स्युरेन्सको छ लाख बराबरको जीवन बीमा प्राप्त गर्नेछ । यही भाद्र १२ गतेदेखि संचालनमा ल्याईएको सेवाग्राहीमूखी प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशका लाखौँ सेवाग्राही सहभागी भई दैनिक ‘लक्की ड्र’ मा ९०० सय जना आईएमई पे क्यासमार्फत् पुरस्कृत भैसकेका छन् । मङ्गसिर ३ गतेसम्म १२ हप्ता संचालन हुने यस सेवाग्राहीमूखी कार्यकममा पैसा पठाउनुहुने सेवाग्राही मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा सफ्टवेयर पद्वतिमा आधारित रही विजेता छानिन्छ । आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १७ औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १५५ आईएमई सेन्टर सहित ७५ जिल्लाका ६,४०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

भारतबाट ३५ हजार खसीबोका ल्याइँदै

काठमाडौं, भदौ २९ । व्यवसायीले दशैंलाई लक्ष्य गरेर ५० करोड रुपैयाँका खसीबोका भारतबाट ल्याउने भएका छन् । यहाँको उत्पादनले नथेगेपछि भारतबाट करिब ३५ हजार खसीबोका ल्याउने तयारी गरेका छन् । उपत्यकामा दशैंतिहारमा करिब ५० हजार खसीबोका, भेडाच्याङ्ग्रा खपत हुने अनुमान छ । ३५ हजार भारतबाट ल्याए पनि बाँकी १५ हजार खसीबोका, भेडाच्याङ्ग्रा विभिन्न जिल्ला र तिब्बतबाट समेत ल्याइने छ । दशैंतिहारमा मांशाहारीले घरघरै खसीबोका काट्ने परम्पराले मासुको माग उच्च हुने भएकाले भारतबाट करिब आधा अर्बको खसीबोका ल्याउनु पर्ने चौपाया खरिदबिक्री सेवा संघले जनाएको छ । –नागरिक दैनिकबाट  

टर्कीले रुससँग विमानहरुमा प्रहार गर्न सक्ने क्षेप्यास्त्र किन्ने सम्झौतामा हस्ताक्षर गर्याे

काठमाडौं, भदौ २८ । टर्कीले रुससँग विमानहरुमा प्रहार गर्न सक्ने क्षेप्यास्त्र किन्ने विवादास्पद सम्झौतामा हस्ताक्षर गरेको छ । उक्त सम्झौताका लागि अंकाराले करिब साढे दुई अर्ब डलर रकम जम्मा गराइसकेको टर्कीका राष्ट्रपति रिसेप तैयप अर्दाेगानले बताए । रुसी एस–४०० नामक क्षेप्यास्त्र प्रणालीले ४०० किलोमिटर परसम्म उडिरहेका विमानमा निशाना लगाउन सक्ने र एकैसाथ दुई वटा क्षेप्यास्त्र प्रहार गर्दै ८० वटा निशानामा एकैपटक हान्न सक्ने छ । नेटोका सदस्य राष्ट्रमध्ये टर्कीसँग दोस्रो ठूलो सैन्य क्षमता रहेको छ । यता,अमेरिकाले टर्की र रुसबीचको सम्झौताको विरोध गरेको छ । अमेरिका र यूरोपसंग सम्बन्ध चिसिए पछि टर्कीले रुससंग नजिकिने प्रयास गरेको छ । अमेरिकाले कुर्द विद्रोहीलाई सैन्य सहयोग गरेको भन्दै एर्दोगान सरकारले आपत्ति जनाउंदै आएको छ ।

बुधबारदेखि नारायणगढ–मुग्लिन सडक चौबीसै घण्टा सञ्चालनमा

चितवन, भदौ २७ । दशैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरेर नारायणगढ–मुग्लिन सडक बुधबारदेखि चौबीसै घण्टा सञ्चालन हुने भएको छ । विस्तारका क्रममा रहेको सो सडकमा पहिरो खस्ने समस्या बढेपछि सुरक्षाका कारण गत असार २५ गतेदेखि रातका समयमा सडक रोकिँदै आएको छ । मुग्लिनतर्फबाट आउने सवारीलाई साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म तथा नारायणगढतर्फबाट जाने सवारीलाई दासढुंगामा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म रोकिँदै आएको छ । मौसममा सुधार आएसँगै चाडपर्वलाई ध्यानमा राखी रात समयमा पनि सडक खुला गर्ने निर्णय गरिएको प्रजिअ नारायणप्रसाद भट्टले बताउनुभयो । यात्रुवाहक सवारी साधनको चाप हुने समयमा मालवाहक सवारीलाई रोकेर यात्रुवाहकलाई प्राथमिकताका साथ सडक पार गराइने पनि उहाँले बताउनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्तका अनुसार राति ८ बजेदेखि १२ बजेसम्म मुग्लिनतर्फ जाने मालवाहक ट्रकलाई रामनगर नजिकै भतेरी जंगलमा र नारायणगढतर्फ आउनेलाई लेबरटारमा रोकिने भएको छ । यसबाट यात्रुवाहक सवारी साधनलाई रातका समयमा सडक पार गर्न सहज हुने छ । राति पनि पहिरो खस्न सक्ने भएकाले तत्काल सहयोगका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, आयोजना र ठेकेदार कम्पनीका प्रतिनिधिलाई तयारी अवस्थामा राखिने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यावदका अनुसार सडकमा ग्रेडर लगाएर खाल्डाखुल्डी पुर्ने, धुलो उड्ने स्थानमा पानी छर्कने, गाडी बिग्रिएमा तत्काल हटाउने, पहिरो खसेमा पन्छाउने लगायत तयारी गरिएको छ । सोका लागि प्रहरीसमेत परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार सो सडकमा मात्र तत्काल परिचालन हुनका लागि ५० नेपाल प्रहरी परिचालन गरिएको छ । मुग्लिनमा प्रहरी निरीक्षकको नेतृत्वमा इलाका प्रहरी कार्यालय तथा सिमलताल, जुगेडी र रामनगरमा प्रहरी चौकी छन् । सडक जाम हुँदा छिटो खुलाउनका लागि चार मोटरसाइकलमा आठ प्रहरी परिचालन गरिएको छ । समग्र सडकको अवस्थाबारे अनुगमन गर्न नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी सम्मिलित टोलीसमेत गठन गरिएको थापाले बताउनुभयो । कुरिनटारमा रहेको सशस्त्र प्रहरीले पनि सडकको सुरक्षाका साथै आवश्यक परेमा उद्धार गर्न तयारी हालतमा टोली राखेको छ । राजधानीबाट दशै‌ँ, तिहारसहितका चाडपर्वमा ३० लाख यात्रु बाहिरिने अनुमान छ । अधिकांशले यही बाटो प्रयोग गर्नुपर्ने हुन्छ ।

उत्तर कोरियाविरुद्ध थप कडा प्रतिबन्ध, अमेरिकाले ‘ठूलो पीडा र दुःख’ पाउने चेतावनी

काठमाडौं, भदौ २७ । अमेरिकी प्रस्तावमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियामाथि थप कडा प्रतिबन्धहरु लगाउने प्रस्तावलाई १५ सदस्य राष्ट्रले सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रसंघीय सुरक्षा परिषद्ले रुस तथा चीनलगायत १५ सदस्य राष्ट्रको सर्वसम्मतीमा उत्तर कोरियाका सबैभन्दा मुख्य आम्दानीको स्रोत मानिएको लत्ताकपडा र कच्चा तेलको निर्यातमाथि कडा प्रतिबन्ध लगाएकोे हो । उत्तर कोरियाले लगातार गरेको क्षेप्यास्त्र परीक्षणले विश्वलाई चुनौति दिएको भन्दै अमेरिकाले थप कडा प्रतिबन्धको प्रस्ताव संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा लगेपछि उक्त प्रस्तावलाई १५ सदस्य राष्ट्रले सर्वसम्मतिले पारित गरेका हुन् । नयाँ प्रतिबन्धमा उत्तर कोरियाले आफ्नो पारमाणविक कार्यक्रमका लागि जुटाउने रकम तथा इन्धनप्रति लक्षित रहेको बीबीसीुले उल्लेख गरेको छ । सोमवार ९हिजो० नै उत्तर कोरियाले संयुक्त राष्ट्रसंघमार्फत आफूविरुद्ध कडा प्रतिबन्ध लगाए अमेरिकाले ‘ठूलो पीडा र दुःख’ पाउने चेतावनी दिएको थियो । साथै, सरकारी सन्चारमाध्यम ‘रोडोङ सिन्मुन’मार्फत उत्तर कोरियाले अमेरिका आफ्नो परमाणु विकासलाई उल्ट्याउन चाहने ‘रक्तपिपाशु जनावर’ भएको आरोपसमेत लगाएको थिया । उत्तर कोरियाले केही दिनअघि मात्रै हाडड्रोजन बमको सफलपरीक्षण गरेको बताएपछि उसमाथि कडा प्रतिबन्ध लगाउन अमेरिकाले सुरक्षा परिषद्मा प्रस्ताव गरेको थियो । सुरक्षा परिषद्मार्फत चीनले उत्तर कोरियालाई अन्तर्राष्ट्रिय समुदायको अपेक्षालाई गम्भीर रुपमा लिन र आफ्नो पारमाणविक कार्यक्रम रोक्न आग्रह गरेको छ ।

सरकार मुकदर्शक, अनुदानको मल दोब्बरमा मूल्यमा बिक्री

धनगढी, भदौ २६ । कैलालीमा मलखादको बिक्री वितरणमा प्रभावकारी अनुगमन हुननसक्दा सरकारले उपलब्ध गराउँदै आएको अनुदानको मल चर्को मूल्यमा खरिद गर्नुपरेको गुनासो कृषकले गरेका छन् । अनुदानको मल सरकारले तोकेको मूल्यभन्दा झण्डै दोब्बर बढी मूल्यमा खरिद गर्नुपरेको किसानले बताएका छन् । “सरकारले किसानलाई अनुदानमा रासायनिक मलखादको व्यवस्था गरेकोछ,” कृषक वीरे चौधरीले भने– “बिक्रेताले चर्को मूल्यमा बिक्री गरिरहेका छन् ।” अनुदानको मल बिक्री वितरणको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्टट्रेडिङ कर्पोरेशनले जिल्लाका सहकारी संस्थामार्फत मलको बिक्री वितरण गर्दैआएको छ । आधिकारिक बिक्रेताबाट मात्र बिक्री गर्नुपर्ने सो मल कैलालीका एग्रोभेटलगायतका व्यापारिक पसलबाट तोकेभन्दा बढी मूल्यमा बिक्री भइरहेको छ । मलको बिक्री वितरणमा अपनाइएको प्रणाली नै गलत रहेकोले रासायनिक मलमा राज्यले दिएको अनुदान कृषक समक्ष पुग्न नसकिरहेको साल्टटे«डिङ कर्पोरेशन धनगढीका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डे बताए । कृषि सामग्री संस्थान र साल्टट्रेडिङले आ–आफ्ना अधिकृत बिक्रेतामार्फत मल बिक्रीको व्यवस्था गर्न सके कृषकले सुलभ मूल्यमा सहज ढंगले मल पाउने पाण्डेको भनाइ छ । मल बिक्री वितरणको जिम्मा पाएको यी दुई संस्थाले ५० किलो बोराको अनुदानको युरिया मल रु ८२६, डिएपी रु दुई हजार २७६ तथा पोटास रु एक हजार ६७६ बिक्री मूल्य तोकेकामा बजारमा उक्त मल युरिया प्रतिकिलो रु ३०, डिएपी रु ६० र पोटास रु ६० मा बिक्री भइरहेको छ । दुवै संस्थाले आफ्ना अधिकृत बिक्रेता (सहकारी संस्था)लाई मल बिक्री गर्दा प्रति बोरामा रु १२ देखि र ५० सम्म छुट दिने गरेको छ । सो मल बिक्री गर्दै आएका कतिपय सहकारी संस्थाले आफूखुशी मूल्य तोकेर बिक्री गर्ने गरेका किसानले बताएका छन् । कृषि सामग्री कम्पनी धनगढीका प्रमुख दुर्गाप्रसाद पाण्डे अनुदानको मलको बिक्री वितरण व्यवस्थापनबारे अनुगमन निरीक्षण गरिँदै आएको बताउछन । मल बिक्री गरी मनग्य आम्दानी गर्न पाइने भएपछि कैलालीमा मल बिक्री गर्नेतर्फ केन्द्रित भई धमाधम सहकारी संस्था स्थापना हुने क्रम बढेको छ ।

दुर्गममा भिडियो एक्स–रे सेवा शुरु

जाजरकोट, भदौ २६ । यहाँको अति दुर्गम क्षेत्रमा रहेको स्वास्थ्य संस्थामा भिडियो एक्स–रे सेवा शुरु भएको छ । जिल्लाको त्रिवेणी नलगाड नगरपालिका वडा नं ७ स्थित दल्ली स्वास्थ्य चौकीमा भिडियो एक्स–रे सेवा शुरु गरिएको हो । साविकका आठ गाविस अर्थात्, त्रिवेणी नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका ,तल्लो डोल्पा, रुकुमको पश्चिमी क्षेत्रका स्थानीयले यहाँबाट भिडियो एक्स–रे को सेवा लिन सक्नेछन् । स्वास्थ्य मन्त्रालय, जाजरकोट क्षेत्र नं १ मा सांसद शक्तिबहादुर बस्नेतको आर्थिक सहयोगबाट दल्ली स्वास्थ्य चौकीमा भिडियो एक्स–रे सेवा सञ्चालनमा आएको स्वास्थ्य चौकी दल्लीले बताएको छ । भिडियो एक्स–रे गर्नकै लागि यहाँका हजारौँ स्थानीय रुकुमको चौरजहारी, नेपालगञ्ज, सुर्खेत जानुपर्ने बाध्यता थियो । अब यहाँ एक्स–रे सञ्चालनमा आएपछि हजारौँ रुपैयाँ खर्च र दुःख हुने कार्य सदाका लागि अन्त्य भएको छ । पूर्वी क्षेत्रको केन्द्रबिन्दुका रुपमा रहेको दल्लीमा प्रभावकारी सेवा पाउने आशामा स्थानीयबासिन्दा खुुशी भएका छन् । शव परीक्षण गर्नका लागि भवन नहुँदा प्लाष्टिकभित्र राखेर शव परीक्षण हुँदै आएकामा नगरपालिकाको आर्थिक सहयोग पछि अब केही समयभित्र सुरक्षित घरभित्र शव परीक्षण हुने बताइएको छ ।

प्रचण्डले गरे खुलासा, ‘तरार्इमा चुनाव जित्न दलहरुले अार्थिक चलखेल गरेका छन्’

सिन्धुली, भदौ २६ । तेस्रो चरणको स्थानीय निर्वाचनका क्रममा चुनावी प्रचार प्रसारमा लागेका पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तराईका पुराना दलका उम्मेदवारले स्थानीय महिलाहरुलाई प्रभावित पार्नको लागि एक महिला एक साडी, साडी भित्र हजारको नोट जस्ता अभियान चलाएको पाइएको खुलासा गरेका छन् । सोमबार प्रेस सेन्टर सिन्धुलीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले दुई नम्वर प्रदेशमा हुन लागेको निर्वाचनका लागि सबै दलहरु चुनावी अभियानकै क्रममा लागिरहेका बेला तराइका पुराना दलहरुनै स्थानीयलाई आर्थिक प्रलोभन देखाएर भोट मागिरहेको खुलासा गरेका छन् । कसले यसरी बाँड्यो भन्ने पत्रकारहरुको प्रश्नको जवाफमा प्रचण्डले प्रायः पुराना पार्टीका उम्मेदवारहरु बढी रहेको बताए । तराईका कतिपय स्थानमा बहुदल आएदेखि अहिलेसम्म जसले बुथ कब्जा गर्न सक्यो उसैले मात्र चुनाव जित्ने गरेको स्थान पनि धेरै रहेकाले त्यसतर्फ गृहमन्त्री र स्थानीय प्रशासकहरुको ध्यानाकर्षण गराएको प्रचण्डले बताए । भारतसँग सिमा जोडिएका जिल्लाहरुमा वर्षाैदेखि नै बुथ कब्जा गर्ने र निर्वाचन जित्ने परिपाटी रहेको तथ्य नलुकेको उनले बताएका छन् । दुई नम्वर प्रदेशमा माओवादी ठुलो पार्टी बन्छ भन्ने पत्रकारको प्रश्नमा उनले अहिले नै यसै भन्न गर्न नसक्ने बताए । मधेसमा अहिले देखिएको निर्वाचनको माहोल, पहाडी र हिमाली जिल्लामा भन्दा पनि बढी रहेको उनको भनाई छ । ‘तराईका ८ जिल्लामा निर्वाचनमा जुन प्रकारको हुलदंगाको आशंका गरिएको थियो, त्यो सवै गलत सावित भए, तराईमा अहिले त निर्वाचनको विरोध गर्ने केही पनि जीव छैन’, पहाडमा भन्दा तराईमा निर्वाचनको सरगर्मी बढी छ, प्रचण्डले भने ‘तराई मधेसलाई राष्ट्रिय दलसँग जोड्नु आजको आवश्यकता हो ।’ असोज २ गते तेस्रो चरणको निर्वाचनबाट यस प्रदेशका जनतालाई केन्द्रिय राजनीतिसँग जोड्न सके नेपालको राष्ट्रियता दह्रो हुने दाबी गरे ।

एसिसी यु १९ एसिया कप छनाेट : थाइल्याण्डसामु नेपालकाे २८२ रनको चुनाैती

काठमाडौं, भदौ २६ – १९ वर्ष मुनिको एसिसी एसिया कप छनोटको आफ्नो पहिलो खेलमा नेपालले थाइल्याण्डलाई २ सय ८२ रनको लक्ष्य दिएको छ । मलेसियाको ओमल क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ८१ रन बनाएको हो । नेपालका अनिलकुमार साहले ९१ रन बनाए भने प्रनित थापा मगरले ५० रन बनाए । त्यस्तै, ओपनर सन्दिप सुनार ३२, रोहितकुमार पौडेल २८, आशिफ शेख २२ र कप्तान दिपेन्द्रसिंह ऐरी २१ रनमा आउट भए  । पवन शर्राफ २२ र किशोर महतो २ रनमा नटआउट रहे । १९ बल खेलेका पवनले २ छक्का सहित नटआउट २२ रन बनाए ।

अन्तरराष्ट्रिय वैज्ञानिक अनुसन्धान प्रयोगशालाको विकास गर्नुपर्ने

काठमाडौँ, भदौ २५ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालभित्रै एक अन्तर्राष्ट्रिय वैज्ञानिक अनुसन्धान प्रयोगशालाको विकास गर्नुपर्ने बताएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) को चालीसौँ प्राज्ञ सभालाई आज सम्बोधन गर्दै प्रतिष्ठानका कूलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले संसारका वैज्ञानिकलाई आमन्त्रण गर्न सकिने खालको वैज्ञानिक प्रयोगशाला स्थापना गर्न नास्टले दीघकालीन योजना ल्याउनुपर्ने बताए । “आजभोलि नाष्टले जे गरिरहेको छ, त्यो आफ्नो स्रोत र साधनको क्षमताको दृष्टिकोणमा उपलब्धिमूलक नै छ तर त्यतिमै हामीले सन्तोष मान्नुहुँदैन , प्रधानमन्त्रीले भने । नेपालमै उत्पादित युवा जनशक्तिले अन्तर्राष्ट्रिय प्रयोगशालामा अत्यन्त राम्रो काम गरिहेको सन्दर्भमा त्यस्तो प्रकृतिको काम नेपालमै सिर्जना गर्नुपर्ने बताउँदै उहाँले त्यसका लागि सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिए । प्रधानमन्त्री देउवाले नाष्टले गर्ने गतिविधि केही सानातिना अनुसन्धान र खोजमा मात्र सीमित नभएर अन्तर्राष्ट्रिय रूपमा परिचित गराउने अनुसन्धान र खोजतर्फ पनि लाग्न ध्यानाकर्षण गराए । “देशको चौतर्फी विकासको लागि विज्ञान तथा प्रविधिको क्षेत्रको चुस्त उन्नति गर्नु आवश्यक छ, आजको २१ औँ शताब्दीको यो अवसरमा हामीले देशको विकास गर्नुपर्दा कतिपय क्षेत्रमा आफ्नो मौलिक सिर्जनात्मक विकास गर्नुपर्ने देखिन्छ, त्यसका लागि प्रतिष्ठानले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ”, प्रधानमन्त्री देउवाले भने । प्रधानमन्त्री देउवाले जडीबुटी एवं बहुमूल्य प्रकृतिजन्य उपहारको सोधखोज, अनुसन्धान र प्रशोधन गरी मुलुकलाई धेरै फाइदा दिलाउनुपर्नेमा पनि उहाँले जोड दिए । प्राज्ञ सभाले चालु आव २०७४÷७५ का लागि चालु खर्चतर्फ रू १९ करोड १२ लाख ४८ हजार र पँुजीगत खर्चतर्फ रू पाँच करोड ९३ लाख ५५ हजार बजेट पारित गरेको छ ।

राष्ट्रपतिदेखि सभामुखसम्मले लबिङ गरे ‘इच्छापत्र’ रोक्न

काठमाडौं, भदौ २५ ।  कुनै पनि व्यक्तिले मृत्युपछि आफ्नो सम्पत्ति अर्को व्यक्तिको नाममा हस्तान्तरण हुने गरी ‘इच्छापत्र गरिदिने’ प्रावधानसहित संसद्को विधायन समितिले पारित गरेको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीदेखि सभामुख ओनसरी घर्तीमगरको ‘लबिङ’ ले अन्तिम समयमा संसद्मा रोकिएको छ । समितिले इच्छापत्र (बिल सिस्टम) को व्यवस्थासहित पारित गरी संसद्मा पठाएको देवानीसंहिता राष्ट्रपतिदेखि सभामुख र अन्य एनजीओकर्मीको दबाबमा पारित हुनबाट रोकिएको हो । मुलुकी ऐन प्रतिस्थापन गर्ने फौजदारीसंहिता संसद्ले सजिलै पारित गरे पनि देवानीसंहितामा ठूला ठाउँबाटै दबाब आएपछि रोकिएको समितिका सदस्य बताउँछन्  । बिल पद्धतिले सम्पत्तिमा महिलाको हक नहुने भन्दै प्रधानमन्त्री पत्नी डा. आरजु राणालगायत अन्य राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थामा आबद्धहरूले लबिङ गरेका थिए । बाबुआमाको सम्पत्तिमा महिलाले अंश पाउन लागेका बेला ‘बिल सिस्टम’ ल्याइएको भन्दै प्रधानमन्त्रीपत्नी राणालगायत एनजीओकर्मीले विधेयक रोक्न अभियान नै चलाएका थिए । संसद्मा महिला सांसदहरूको समूह (ककस) गठन गरेर त्यसको संयोजक राणा आफैं बनेकी थिइन् । महिला ककसले राष्ट्रपति भण्डारी, सभामुख घर्तीमगरदेखि तीन दलका शीर्ष नेतासँग भेटेर ‘इच्छापत्र पद्धति’ हटाउनुपर्ने अभियान सुरु गरेका थिए । महिला सांसदले अभियान नै सुरु गरेपछि तीन दलका शीर्ष नेतासमेत पछि हटेको सांसद बताउँछन् । ‘यही गर्नु थियो भने हिजो समितिमा किन संशोधन नहालेको त ? ‘समिति सभापति गंगा चौधरी सत्गौवाले असन्तुष्टि जनाउँदै भनिन्, ‘बाह्य दबाबमा विधेयकमा परिवर्तन गर्न खोजिँदै छ ।’ राष्ट्रपति भण्डारीदेखि सभामुख घर्तीमगरसम्मले इच्छापत्र पद्धति हटाउन दबाब दिएको समितिका सदस्य बताउँछन् । इच्छापत्रको व्यवस्था (बिल सिस्टम) का कारण महिलाले सम्पत्ति नपाउने हुन् कि भन्ने शंका गर्नुको अर्थ नरहेको सभापति सत्गौवाले दाबी गरिन्। ‘इच्छापत्र दिने व्यक्ति पुरुष मात्र हुन्छन् भन्ने छैन, महिला पनि हुन्छन्’, सभापति सत्गौवाले भनिन्, ‘अनावश्यक भ्रम फैलाएर विधेयक रोक्नुको कारण छैन।’ देवानीसंहिता बिहीबार नै संसद्बाट पारित गर्ने तयारी थियो । तर, शक्तिकेन्द्रको दबाब र लबिङले कार्यसूचीबाट हटाइएको थियो। समितिले पारित गरेको विधेयकमा ‘१८ वर्ष उमेर पूरा भई होस ठेगानमा रहेको कुनै पनि व्यक्तिले आफ्नो हक, भोग र स्वामित्वको सम्पत्ति आफ्नो मृत्युपछि अर्को व्यक्तिको हक, भोग र स्वामित्वमा हस्तान्तरण हुने गरी एकतर्फी रूपमा लिखत गरिदिए निजले इच्छापत्र गरेको मानिनेछ’, भन्ने व्यवस्था छ । तर, विदेशी नागरिकलाई भने इच्छापत्र गरी सम्पत्ति दिन नसकिने प्रस्ट उल्लेख छ । ‘कानुन मन्त्रालय, सर्वोच्च अदालत हुँदै संसद्मा व्यापक छलफल गरेर हामीले इच्छापत्र पद्धति ल्याएका हौं’, संविधानविद् एवं सांसद राधेश्याम अधिकारीले भने, ‘१३/१४ वर्षको अध्ययन, छलफल र विश्लेषणपछि यो व्यवस्था गरेका हौं। समितिमा कसैको विरोध नभई सर्वसम्मत रूपमा गरिएको प्रावधानलाई रोक्न खोजियो।’ इच्छापत्र पद्धतिमा महिलाले अंश नपाउने भन्ने तर्क झुटो भएको अधिकारीले दाबी गरे । समितिमा देवानीसंहिता अध्ययन उपसमितिका संयोजकसमेत रहेका उनले भने, ‘सम्पत्तिमा अंशबन्डाको झगडा कम गर्न र बुबाआमाको सम्पत्तिमा छोराछोरी भर नपरुन् र आत्मनिर्भर हुन् भन्ने उद्देश्यले यो व्यवस्था गरिएको हो ।’ विदेशमा छोराछोरी भएका कारण बाबुआमाले नेपालमा आफ्ना नाममा रहेको सम्पत्तिसमेत बेच्न नपाएको र जसको नाममा सम्पत्ति छ उसले आफ्नो सम्पत्तिको निर्णय आफैं गर्न पाओस् भनेर पनि इच्छापत्र पद्धति विधेयकमा राखिएको तर्क उनले गरे । इच्छापत्र पद्धतिले सम्पत्ति पाउने आसले पनि वृद्ध आमाबाबुको सेवा गर्न छोराछोरीलाई बाध्य बनाउने समितिका सदस्य बताउँछन् । दलका नेताले देवानीसंहितालाई तत्काल रोक्न भनेकाले इच्छापत्र पद्धति राख्ने/नराख्ने निर्णय छिटो गर्नुपर्ने अधिकारीको भनाइ छ । ‘यो संसद्को आयु नै अब थोरै छ। संसद्बाट पारित गर्न सकेनौं भने हामीले गरेको सबै मिहिनेत खेर जान्छ’, उनले भने । जन्मदेखि मृत्युसम्मका सम्पूर्ण काम समेटेर जंगबहादुर राणाका पालामा बनेको मुलुकी ऐन प्रतिस्थापन गर्न लागिएको हो । फौजदारीसंहिता पारित भए पनि देवानीसंहिता पारित नभई मुलुकी ऐन पूर्णरूपमा प्रतिस्थापन हुने छैन । –अन्नपूर्णबाट 

सुन तस्करीकाे कारण खुल्याे ?

सरकार स्थानीय तहको निर्वाचन मिति घोषणाको गृहकार्यमा सक्रिय रहेको बेला राजधानीमा तस्करीको सुन बरामद हुने क्रम ह्वात्तै बढ्यो । यसकाे कारण के हाेला ! चासाे रहनुस्वभाविक नै हाे । लामो समेदेखि निर्वाचन चर्चामै समेटिएको थियो । गत पुसमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका नेता निर्वाचनका लागि सहमत भएसँगै मिति घोषणाको गृहकार्य सुरू भयो । यहीबीच राजधानीमा भटाभट तस्करीका सुन बरामद हुन थाल्यो । सुरक्षा निकाय र निर्वाचन आयोग निर्वाचनको तयारीमा जुटेकै बेला पुस १३ गते थानकोटमा ७ किलो सुन फेला पर्‍यो । सो सुनको अनुसन्धान सकिएकै थिएन । पुस २१ मा प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले त्रिभुवन विमनस्थलबाट बाहिरिएको साढे ३३ किलो सुन फेला पार्‍यो । त्यसले राम्रै तरङ्ग ल्यायो । सरकारले आयोगलाई २०७४ वैशाख अन्तिमसम्म निर्वाचन गर्नेगरी तयारी थाल्न निर्देशन दियो । सुन बरामद हुने क्रम रोकिएन । माघ १ गते चमतीमा १५ किलो सुन बरामद भयो भने फागुन ८ मा विमानस्थलबाट डेढ किलो र चैत ७ मा रसुवामा ७ किलो सुन बरामद भयो । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन सम्पन्न भई तेस्रो चरणको निर्वाचनको तयारीकै बेला भदौ १५ गते  १५ किलो र १९ मा ८८ किलो सुन फेला पर्यो । प्रहरी अधिकारीहरू तस्करी भएको सुन मुस्किलले १० प्रतिशत मात्रै बरामद हुने स्वीकार्छन् । ९० प्रतिशत उनीहरूको पहुँच बाहिरै रहन्छ । राजनीतिक दलका लागि निर्वाचन सुबैभन्दा खर्चिलो समय हो । ‘पैसा खर्च हुने राजनीतिक गतिविधिसँगै सुन तस्करीका घटना बढ्छन् । यसलाई चुनाव खर्चसँग जोडेर हेर्नुपर्छ ।’ -मणिकरत्न शाक्य, सुन व्यवसायी ‘नेपाली बजारमा मागहनुसार सुन ल्याउन नदिने नीति कतै न कतै राजनीतिक प्रभावमा आएको देखिन्छ ।’ -हेमन्त मल्ल, पूर्वएआइजी -नागरिकबाट

शताब्दीकै शक्तिशाली भूकम्प

भदौ २३ । मेक्सिकोका राष्ट्रपति एनरिके पेनिया नियटोले आफ्नो मुलुकमा गएको भूकम्पलाई एक शताब्दी यताकै शक्तिशाली भूकम्प भनेका छन् । भूकम्पका कारण छिमेकी देश ग्वाटेमालामा पनि एक जनाको मृत्यु भएको छ उनले बताए । मेक्सिको दक्षिणी तटपारि प्रशान्त महासागरमा ८ दशमलव २ म्याग्निच्युड को शक्तिशाली भूकम्प जाँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । ८ दशमलव २ म्याग्निच्युडको उक्त भूकम्पको केन्द्रविन्दु पिजीजीपान शहरभन्दा ८७ किलोमिटर दक्षिण पश्चिमतर्फ रहेको नियटोले जनाए। युएस जीओलोजिकल सर्भेले भूकम्पको गहिराइ ७० किलोमिटर रहेको जनाएको छ। मेक्सिको सिटीमा भवनहरु जोडसँग हल्लिएका थिए र मानिसहरु आत्तिदैँ सडकमा आइपुगेका थिए भूकम्प लगत्तै मेक्सिकोका साथै छिमेकी देशहरु ग्वाटेमाला, एल साल्भाडोर, कोस्टरिका, निकारागुवा, पानामा र होन्डुरसमा सुनामीको चेतावनी दिइएको छ। मेक्सिकोमा तीन मिटरसम्मको अग्लो छाल आउन सक्ने बताइएको छ । भूकम्पको धक्का मेक्सिको सिटीमा महसुस गरिएको थियो ।त्यहाँ भवनहरु जोडसँग हल्लिएका थिए र मानिसहरु आत्तिदैँ सडकमा आइपुगेका थिए । भूकम्पको केन्द्रविन्दुभन्दा एकहजार किलोमिटर पर रहेका मेक्सिको सिटीमा एक मिनेटसम्म धक्का महसुस गरिएको थियो ।मेक्सिकोका लगभग ५ लाख नागरिकहरुले कम्पन महसुस गरेको र मृतकको संख्या बढ्न सक्ने नियटोले बताए। भूकम्पका कारण दक्षिणी मेक्सिको र पश्चिमी ग्वाटेमालामा धेरै क्षति भएको बताइएको छ ।आपत्काल घोषणा गरिएको चियापस राज्यको तटीय क्षेत्रहरुबाट मानिसहरुलाई स्थानान्तरण गरिएको थियो । यसअघि सन् १९९५ र १९८५ मा मेक्सिकोमा भूकम्प गएका थिए । बिबिसी

वर्षाले बाैद्ध स्तुपा जलमग्न (भिडियाेसहित)

भदौ २३ गते बौद्धस्थित स्तुपा परिसरमा वर्षापछि जलमग्न बनेको छ । त्यहाँ अपरान्ह ३ बजेदेखि परेको वर्षा झण्डै दुई घण्टासम्म परेको थियो । चौतर्फी जलमग्न बनेपछि सार्वसाधारणहरु घरको ओत लागेर बसेका थिए । बौद्धस्थित सडकमा समेत सवारी जाम देखिन्थ्यो । भिडियाेमा