काम गरेको त देखाउनु त पर्यो नि !

काठमाडौं, असार २८ । आर्थिक वर्षको अन्त्यतिर काम गर्ने प्रवृत्तिले राजधानीको जोरपाटीले पनि स्थान पाएको छ । गोकर्णेश्वर नगरपालिका जोरपाटी वडा नं.५ स्थित जोरपाटी ओरालोदेखि लामा पेट्रोल पम्पसम्म मुल सडकमा भईरहेको निर्माण कार्य ।

तस्वीरः सन्तोष सुवेदीको फेसबुकबाट ।

प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा जर्मनीमा ७६ प्रहरी घाइते

बर्लिन, असार २३ । जर्मनीमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा दर्जनौं प्रहरी घाइते भएका छन् । हैम्बर्ग शहरमा हुन लागेको जी–२० सम्मेलनको पूर्व सन्ध्यामा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा ७६ जना प्रहरी घाइते बनेका हुन् । प्रदर्शनकारीतर्फ पनि उत्तिकै संख्यामा घाइते भएका छन् । हजारौं संख्यामा रहेका प्रदर्शनकारीको र्‍याली रोक्न प्रहरीले हस्तक्षेप गरेपछि घटना हिंसात्मक बनेको हो । प्रहरीले भने कालो पहिरनमा रहेका करीब एक हजार प्रदर्शनकारीले मुखमा रहेको पट्टी हटाउन नमानेपछि कारवाही गर्नुपरेको जनाएको छ । क्रुद्ध बनेका प्रदर्शनकारीले गाडीमा आगजनी गर्नुका साथै तोडफोडसमेत गरेका छन् । प्रदर्शनकारीलाई सम्मेलनस्थल जानबाट रोक्नकै लागि सरकारले २५ हजार प्रहरी तैनाथ गरेको थियो । यता शिखर सम्मेलनमा जुटेका जी–२० का नेताहरुबीच भने थुप्रै विषयमा मतभेद देखिएको छ । खासगरी जलवायु परिवर्तन र व्यापार जस्ता विषयमा ठूलो असमझदारी छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जलवायुसम्बन्धी पेरिस सम्झौता नमान्ने बताएपछि यसले ठूलो हलचल ल्याएको छ । यसै विषयमा ट्रम्प र जर्मन चान्सलर एञ्जेला मर्केलबीच अलग्गै छलफलसमेत भएको छ । यसैबीच यही सम्मेलनका क्रममा ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनसँग राष्ट्रपतिका हैसियतमा पहिलो पटक भेट गर्दैछन् ।  

अर्थ मन्त्रालयको निर्देशन : जनप्रतिनिधिले तत्काल तलब नपाउने

काठमाडौं, असार २१ ।  स्थानीय तहका जनप्रतिनिधिलाई मासिक १५ देखि ६० हजार रुपैयाँसम्म पारिश्रमिक दिने गृहकार्य अर्थ मन्त्रालयले रोकिदिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गरेको सुविधा प्रस्ताव रोक्दै अर्थ मन्त्रालयले मंगलबार अर्को निर्देशन दिएको हो । अर्थले जारी गरेको स्थानीय तहमा बजेट तर्जुमा, कार्यान्वयन, आर्थिक ब्यवस्थापन तथा सम्पत्ति हस्तानतरणसम्बन्धी निर्देशिका मा स्थानीय तहका जनप्रतिनिधको सुविधासम्बन्धी कानुनी ब्यबवस्था प्रदेशसभाले गर्ने उल्लेख छ ।, कान्तिपुरमा खबर छ ।

बलिउडका कुन कलकारले कति पाश्रिमिक लिन्छ ?

एजेन्सी, असार २० । धेरैको चासोे हुन्छ आफ्नो मनपर्ने कालकारका बारेमा धेरै जानकारी लिने । त्यसैलाई ख्याल गर्दै हामीले आज यहाँ भारती सिनेनगरीका नाम चलेका अभिनेता(नायक)ले एउटा सिनेमामा अभिनय गरेबापत कति पारिश्रमिक लिन्छन भनेबारेमा केही कलाकारका बारेमा जानकारी दिदैं छौंः अमिताभ बच्चन उमेरले ७५ को नजिक भएपनि अमिताभ बच्चनले कयौँ युवा अभिनेता भन्दा बढी आफ्नो पारिश्रमिक लिन्छन् । भूमिका अनुसार उनले आफ्नो पारिश्रमिक निर्धारण गर्ने गरेका छन् । उनी प्रति फिल्म १२ देखि १५ करोड लिन्छन् । आमिर खान यिनले चाहे भने ५० देखि ६० करोडसम्म पारिश्रमिक लिन सक्छन् । तर यिनी चलचित्रको नाफामा भागीदार बन्छन् र बढी नै कमाउँछन् । यिनी चलचित्रको नाफाबाट ८० प्रतिशतसम्म भाग लिन्छन् । ‘दंगल’ जस्तो चलचित्र गरेपछि उनले १५० करोड बढी कमाइ गरेका थिए । उनको चलचित्र हिट हुन्छ भन्ने आमिरलाई थाहा हुन्छ । त्यसैले यिनी पारिश्रमिकको साटो पार्टनरशीप लिन्छन् । शाहरुख खान शाहरुख खानको पारिश्रमिक तलमाथि भइरहन्छ । करण जोहर र आदित्य चोपडाको चलचित्रमा काम गर्दा उनी पारिश्रमिक सोद्धैनन् । जति पाउँछन् उती राख्छन् । यद्यपि उनको पारिश्रमिक ४० देखि ४५ करोडसम्म छ । उनी पनि आमिरको अनुसरण गर्दै मुनाफामा आफ्नो भाग खोज्छन् । चलचित्रको मार्केटिङका माध्यमद्वारा पनि उनी करोडौँ कमाउँछन् । कयौँ चलचित्रमा उनले सय करोडभन्दा माथि पनि कमाइ गरेका छन् । सलमान खान सलमान खान चलचित्रको कमाइमा हिस्सा लिन्छन् । उनको चलचित्रको कमाइमा ७० देखि ८५ प्रतिशतसम्म भागीदारी हुन्छ । ‘सुल्तान’ बाट उनले १०० करोडभन्दा बढी कमाइ गरे । यद्यपि पारिश्रमिककै कुरो गर्दा उनी ६० करोडसम्म उपलब्ध छन् । ऋतिक रोशन थोरै मात्र चलचित्र गर्ने ऋतिक रोशनको पारिश्रमिक ३० देखि ४० करोडका बीचमा छ । कयौँ पटक यिनले योभन्दा पनि बढी पारिश्रमिक लिएका छन् । अजय देवगन अजय देवगन चलचित्रको बजेटका अनुसार आफ्नो पारिश्रमिक तोक्छन् । उनी आफ्नो पारिश्रमिक ३० देखि ४० करोडका बीचमा राख्छन् । अक्षय कुमार पारिश्रमिक लिने विषयमा अक्षय कुमार सबैभन्दा अघि छन् । ४० देखि ५० करोडसम्म यिनको पारिश्रमिक छ । कहिले काहीँ नाफामा आफ्नो हिस्सा समेत लिन्छन् । जस्तै ‘जोली एलएलबी२’ मा यिनले पारिश्रमिकबाहेक नाफामा हिस्सा लिएर ५५ करोडभन्दा बढी कमाए । ‘एयरलिफ्ट’ मा काम गर्दा उनले निकै कम पारिश्रमिक लिएका थिए । रणवीर सिंह ‘बाजीराव मस्तानी’ अघि रणवीर सिंह तीनदेखि पाँच करोड प्रति चलचित्र उपलब्ध थिए । तर, चलचित्रको सफलतापछि रणवीर सिंहले आफ्नो पारिश्रमिक तीन गुणा बढाएका छन् । अब उनले प्रति चलचित्र १० करोड ९भारतीय रुपैयाँ० पारिश्रमिक लिन्छन् । वरुण धवन वरुण धवनको अहिलेसम्म आठ वटा चलचित्र प्रदर्शनमा आयो । उनलाई कुनै पनि चलचित्रबाट घाटा भएको छैन । उनको चलचित्रको पारिश्रमिक पाँचदेखि सात करोड थियो । तर, ‘बद्रीनाथ की दुल्हनिया’ पछि उनको पारिश्रमिक १० देखि १२ करोड पुगेको छ ।

बुटवल उपमहानगरपालिकाकाे ताजा मतपरिणाम

रूपन्देही, असार २० ।  बुटवल उपमहानगरपालिकाकाे  ताजा मतपरिणाम :  मेयर एमाले –१७१७७ कांग्रेस  –१४५८२ उपमेयर एमाले –१८८०३ नेपाली कांग्रेस – १०२४४

भीषण वर्षाका कारण जलेश्वर–जनकपुर सडकखण्ड अवरुद्ध अवरुद्ध

महोत्तरी गौशाला, असार २० । महोत्तरी जिल्लामा गएराति परेको भीषण वर्षाका कारण जिल्लाको मुख्य बाटो जलेश्वर–जनकपुर सडकखण्ड अवरुद्ध भएको छ । रातभरिको भीषण वर्षाका कारण जिल्लाको जलेश्वर–जनकपुरसहित जलेश्वर–मटिहानी, जलेश्वर–भिट्ठामोड, जलेश्वर–सम्सी, जलेश्वर–रौजालगायतका बाटो पनि अवरुद्ध भएको छ । जिल्लाका प्रायः सबै बाटामा स्तरोन्नतिका काम भइरहेका कारण ठाउँठाउँमा खाल्डाखुल्डी भएकाले ती खाल्डाखुल्डीमा पानी जमेर यातायातका साधन चलाउन नसकिने भएको छ । सबै बाटोमा माटाका थुप्रा यततत्र रहेकाले पानी परेपछि सबैतिर हिलैहिलो भएर यातायातका साधन फस्ने र दुर्घटना हुने डर भएकाले बाटो अवरुद्ध भएको छ । भीषण वर्षाका कारण हिलो र पानी जमेर कुनै पनि बाटोमा बस, जिप, ट्र्याक्टर, ट्रक, टेम्पु, अटोरिक्सा र मोटरसाइकलसमेत चलाउने अवस्था नभएपछि जिल्लाका सबै बाटो अवरुद्ध भएको हो । यसैबीच, जिल्लाभित्रको एकमात्र जलेश्वर–बर्दिवास पक्की बाटो भएकाले सो बाटो भने अवरुद्ध नभएको तथा बाटो सुचारु नै रहेको देखिएको छ ।

एमाले अध्यक्ष ओलीको गृहजिल्लामा माओवादी केन्द्रको अग्रता

झापा, असार १९ । नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृहजिल्ला झापाको गौरीगञ्ज गाउँपालिकामा नेकपा माओवादी केन्द्रले करिब चारसय मतअन्तरले अग्रता लिइरहेको छ । माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार विद्यानन्द राजबंशीले २८ सय मत ल्याई अग्रस्थानमा छन भने नेपाली कांग्रेसका फुलमति राजबंशीले २४ सय मत ल्याई उनलाई पछ्याइरहेकी छन् ।

मोरङको दुइवटा नगरपालिका प्रमुखमा काँग्रेस, उपप्रमुखमा एमाले

विराटनगर, असार १९ । मोरङको दुईवटा नगरपालिकामा प्रमुख पदमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । जिल्लाको उत्तरी भेगका लेटाङ–भोगटेनी नगरपालिकाको प्रमुखमा काँग्रेसका शङ्कर राईले छ हजार ६५६ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भूपेन्द्र लावतीले छ हजार ३५१ मत प्राप्त गरे । उपप्रमुखको पदमा एमालेकी कृष्णकुमारी निरौलाले छ हजार ८०९ मत प्राप्त गरी विजयी भए । सोहीअनुरुप, वडा नं ४, ६, ७ र ८ मा काँग्रेस, वडा नं १, २, ५ र ९ मा एमालेले वडाअध्यक्षसहित जित हात पारेको छ भने वडा नं ३ मा एक जना खुल्ला सदस्यबाहेक अन्य सबै पदमा काँग्रेसले जित हात पारेको छ । यसैगरी रतुवामाई नगरपालिकाको प्रमुखमा काँग्रेसका रवीन राईले नौ हजार ८९५ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका टेकेन्द्र पोमुले आठ हजार १५० मत प्राप्त गरे । उपप्रमुखको पदमा एमालेकी दयामन्त चुडालले आठ हजार ३७२ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी फूलवती गोडीले आठ हजार ३१३ मत प्राप्त गरे । मोरङको आठ नगरपालिकामध्ये दुईवटा र आठ गाउँपालिकामध्ये एउटाको निर्वाचनको परिणाम सार्वजनिक भएको छ । अन्य स्थानीय तहमा मतगणना भइरहेको छ ।

शान्तिपूर्ण रुपमा दोश्रो चरणको निर्वाचन सम्पन्न, के के भयो दिनभरी ?

काठमाडौं, असार १४ । स्थानीय तहको दोश्रो चरणको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र मधेस केन्द्रीत राष्ट्रिय जनता पार्टीले बहिस्कार आव्हान गरेपनि मतदानमा कुनै अप्रिय घटना भने हुन पाएन । बिहान ७ बजेदेखि शुरु भएको निर्वाचनमा मतदाताहरु उत्साहित भएर मतदान गरेका छन् । देशका कतिपय क्षेत्रमा वर्षाले समस्या उत्पन्न गरेपनि मतदाताहरु छाता ओढेर लाइनमा बसेको देखिन्थे । मतदानका क्रममा कञ्चनपुरको भृकुटी मतदान केन्द्र र दाङको तुलसीपुरमा सुतली बम विष्फोट गराईपनि त्यसले मतदानमा भने असर गरेन । यसबाहेक केही अन्य स्थानमा भेटिएका बमहरु नेपाली सेनाले डिस्पोजल गरेको थियो । बझाङ र अछाममा अशक्त नागरिकलाई मतदान गर्ने विषयमा नेपाली कांग्रेस र एमालेबीच झडप भयो । यसैगरी रोल्पा नगरपालिकाको वडा नं. १० भनभने मतदान केन्द्रमा विप्लव माओवादीका समर्थकहरुले मतपत्रमा एसिड हालेर मतपेटिकामा खसालेपछि १०–१५ मत जलेका थिए । सर्वदलीय बैठकले जलेका मतहरु बदर गरी बाँकी मत गणना गर्ने र मतदान सुचारु गर्ने निर्णय गरेका थिए । आजको निर्वाचनमा लाइनमा लागेकै बेला दमक र पाल्पामा दुईजना बृद्धको मृत्यु भएको छ । छिटपुट सामान्य घटनाबाहेक निर्वाचनमा हिंसा हुन पाएन । कपिलबस्तु, रुपन्देही, झापा, सुनसरीलगायतका संवेदनशील मानिएका स्थानमा समेत निर्वाचनमा उल्लेख्य सहभागिता रह्यो । प्रधानमन्त्री शेरबहादुर देउबाले असीग्राम मावि मतदान केन्द्रबाट मतदान गरेका थिए । डडेल्धुराबाट फर्किंदै गर्दा प्रधानमन्त्रीको सुरक्षामा रहेको गाडी सहजपुरमा दुर्घटना भएको थियो । निर्वाचन आयोगले अपरान्ह चार बजेसम्म ६२ प्रतिशत मत खसेको आधिकारिक जानकारी दिएको छ ।

छाता ओढेर लाइनमा मतदाता (तस्वीरमा)

झापामा निर्वाचनको उत्साहबीच मतदाताहरु मतदान केन्द्रमा ओइरिएका छन् । बिहानैदेखि लगातार वर्षा भइरहेपनि मतदाताहरु छाता ओढेर लाइनमा लागेका छन् । झापाको खुदनाबारी मतदानस्थलको दृश्य । तस्वीरः रुद्र भट्टराई

६ वर्षदेखि अन्धकार गाउँ

अछाम, असार १० । सदरमुकाम मंगलसेन अन्धकार रहेका बेला आर्थिक वर्ष २०५७-०५८ सालबाटै झिलिमिली बिजुली चम्किने मंगलसेन नगरपालिका १३ बस्तीको डाँडिगडे गाँउ विगत ६ वर्षदेखि अन्धकार छ । १२ किलोवाट क्षमताको चाईराखोला लघुजलविद्युत आयोजनामार्फत डाँडिगडे गाँउका २०० घरधुरीले ७-८ वर्ष मज्जैले बिजुली बाले । तर मेसिनमा सामान्य खरावी आँउदा अवरुद्ध बनेको विद्युत सेवा ६ वर्षसम्म सुचारु हुन नसक्दा अहिले गाँउवासी अन्धकारमै बस्न बाध्य छन । ग्रामीण उर्जा विकास परियोजनामार्फत १२ लाख अनुदान र ७ लाखको जन श्रमदानबाट बनेको उक्त बिद्युतको पावर हाउसमा रहेको मुख्य मेसिनमा २०६८ मा सामान्य खरावी आएको थियो । तर मर्मतका लागि अपरेटरको नपाँउदा तत्कालिन अवस्थामा मर्मत गर्न नसकिएको र हाल आएर आयोजना पूर्णरुपमा ध्वस्त भईसकेको स्थानिय हिक्मत बोगटीले बताए । अब मर्मतभन्दा पनि आयोजनालाई नयाँ निर्माण गर्नुपर्ने अवस्था रहेको उनको भनाई छ । साँफेबगर सम्म मात्रै सडक पुगेका बेला डाँडिगडेका जनताले सिमेन्टदेखि मेसिन र अन्य सबै पार्टपूर्जा श्रमदानमा बोकेर ल्याएको स्मरण गर्दै स्थानिय राम बहादुर मिझार भन्छन- ‘आयोजना सामान्य मर्मत समेत हुन नसक्दा गाँउ नै अन्धकार भयो ।’ अहिले गाँउलेले श्रमदानमै गाडेका सालका पोलहरु भाँचिएको र बिद्युत तार पनि चुडिएको अवस्थामा छन । सदरमुकाम अन्धकारमा हुने बेला झिलिमिलि भएको गाँउमा सामान्य खराबीलाई समेत मर्मत गर्न नसक्दा पुरानै दुःख दोहोरिएको स्थानीय बताँउछन । बालबालिका पढ्न, मिल सञ्चालन गर्न लगायतका कार्यमा विद्युत हुदा सहज भएपनि अहिले गाँउ पुरानै अवस्थामा फर्किसकेको छ । बेला बेलामा उक्त बिद्युत आयोजनाका लागि मर्मत स्टमेट तयार पारिए पनि कुनै निकायवाट पहल हुन नसकेको गाविस सामाजिक परिचालक मिन बहादुर बोगटीको भनाई छ। अब नयाँ बनाउन र मर्मत गर्न बराबर लगानी लाग्ने भएकाले मर्मत भन्दापनि नयाँ निर्माणका लागि सरोकारवालाले पहल गर्नुपर्ने उनको भनाई छ ।    

काठमाडौंका मेयरले आफ्ना प्रतिनिधिहरुलाई मोवाइल किनिदिने निर्णय फिर्ता

काठमाडौँ, असार १० । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ३२ वटै वडाका अध्यक्ष तथा नगर कार्यपालिकाका ८ सदस्यसमेतलाई मोबाइल सेट किन्न ३० हजार रुपैयाँ दिने निर्णय हाललाई स्थगित गरेको बताएका छन् । मेयर शाक्यले आज जारी गरेको प्रेस विज्ञप्तिका अनुसारआफू र उपमेयरलाई मोबाइल किन्ने निर्णय यथावत राख्ने तर अन्यहरुका लागि भने उक्त निर्णय स्थगित गरिएको बताएका हुन् । मंगलबार बसेको नगरकार्यपालिकाको दोस्रो बैठकमार्फत मेयर शाक्यले गरेको ‘प्रतिनिधिहरुलाई मोवाइल किनिदिने निर्णयको’ सामाजिक सञ्जाल तथा चौतर्फी आलोचना भएको थियो ।

आश्रय र नागरिक सहायता कक्ष भवन निर्माण सुरु

म्याग्दी, असार १० । समुदायको अगुवाइमा बेनीस्थित जिल्ला प्रहरी कार्यालय परिसरमा हिंसामा परेका महिला तथा बालबालिकाको लागि आश्रय र नागरिक सहायता कक्ष भवन निर्माण सुरु भएको छ । स्थानीयवासीबाट आर्थिक र भौतिक सामग्री सहयोग जुटाएर निर्माण गरिने भवनमा सहायता कक्ष र आश्रयस्थलका दुई वटा छुट्टाछुट्टै कक्ष रहनेछन् । ६ लाख २७ हजार लागत अनुमान गरिएको भवन डेढ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले बताउनुभयो । हिंसामा परेका महिला तथा बालबालिकाको सहज वातावरणमा उजुरी तथा गुनासो व्यवस्थापन र अनुसन्धान सहज बनाउन नागरिक सहायता कक्ष बनाउन लागिएको प्रनाउ खड्काले उल्लेख गर्नुभयो । यसैगरी ग्रामीण क्षेत्र र टाढाबाट आउने लक्षित समुदायलाई एक रातसम्म आश्रय सुविधा दिइने छ । आश्रयस्थल भएपछि प्रहरी कार्यालयमा उजुरी तथा गुनासो गर्नका लागि होटलमा बास बस्नेगरी बेनी आउने पीडितलाई सहज हुने अपेक्षा गरिएको छ । प्रहरी कार्यालयले सूचना शाखामा नागरिक सहायता कक्ष सञ्चालन गरेको छ भने जिल्लामा पीडितको लागि आश्रय दिने सङ्घ संस्था नहुँदा समस्या भएको छ । भवन निर्माणका लागि सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष श्यामलाल न्यौपानेको संयोजकत्वमा ९ सदस्यीय समिति गठन भएको छ । आगामी ४५ दिनभित्र भवन सम्पन्न गरेर प्रयोगमा ल्याउने लक्ष्य छ । भवन निर्माणका लागि बजारवासीसँग संस्थागत र व्यक्तिगत रुपमा सहयोगको आह्वान गरिएको कोषाध्यक्ष ज्योति लामिछाने पौडेलले बताउनुभयो ।

आठ जिल्लाका भूकम्पपीडितलाई ट्याक्सीको नम्बर प्लेट वितरण कार्य सकिँदै

काठमाडौं असार ९ । ८ वटा जिल्लाका ४ सय ९७ जना भुकम्पपीडितलाई सरकारले शनिबार ट्याक्सीको नम्बर प्लेट वितरण गर्दैछ । यातायात ब्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेका अनुसार शनिबार काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, धादिङ, ओखलढुंगा, गोरखा र रसुवाका पीडितलाई कोटाअनुसार ट्याक्सीको नम्बर प्लेट वितरण गरिने भएको छ । हिजो सिन्धुपाल्चोकका २ सय ५३, दोलखाका २ सय १४ र सिन्धुलीका ४६ गरी ५ सय १३ पीडित परिवारलाई ट्याक्सीको नम्बर प्लेट वितरण गरेको विभागले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत वर्ष साउन भूकम्पबाट अति प्रभावित १४ जिल्लाका पीडितलाई ट्याक्सी किन्न आवेदन माग गरेको थियो । १ हजार ५ सय ट्याक्सीका लागि १ लाख ४८ हजारभन्दा बढी आवेदन परेको विभागले जनाएको छ ।

तीज कोशेली ‘आहा रेलुमै’ सार्वजनिक

गत वर्षभन्दा यो वर्ष धेरै गायक गायिकाहरुले तीज गीतमा पुरानो लयलाई प्राथमिकता दिएका छन, हरितालिका तीज आउन अझै करिब २ महिना बाँकी रहेपनि तीज गीत बजारमा सार्वजनिक हुन थलिसकेका छन् । अर्घदर्बार फिल्मसले बजार व्यवस्थापन गरेको तथा अविरल फिल्मसले दृश्य निर्माण गरेको गीत गीत ‘आहा रेलुमै’ आजैदेखि सार्वजनिक भएको छ । रेलुमै पुरानो लय हो त्यो पनि करिब १०० वर्ष पुरानो, जुन नेपालको पश्चिमाञ्चल विकास क्षेत्रमा गाइने अत्यन्तै चर्चित भाका हो । यो भाकालाई संकलन गरेका छन् । लोक तथा दोहोरी गायक बसन्त लम्सालले । हजुर आमा र गाउका पुराना व्यक्तित्वहरुको सल्लाह सुझाव अनुसार नै शब्द तयार गरी गीत तयार परेको बताउने लम्सालले अहिलेसम्म करिब २ दर्जनभन्दा बढी गीत बजारमा आइसकेका छन् भने ‘आहा रेलुमै’ मा बसन्त लम्साल र चेतना थापाको स्वर रहेको छ, विष्णु भट्टराईको निर्देशन सम्पादन रहेको भिडियोमा सगुन शर्माको श्रृँगार रहेको छ भने हेमन्त खनाल, देवु खनाल, दिव्या, मिना, कुलचन्द्र, किशोर, मेनुका लगायतको अभिनय देख्न सकिन्छ भने नृत्य निर्देशन किशोर थापाको रहेको छ ।

अस्थायी शिक्षकको मागप्रति राजपाको ऐक्यबद्धता

काठमाडौँ, असार ७ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले अस्थायी शिक्षकको माग पूरा हुनुपर्ने भन्दै अनशनस्थल भद्रकालीमा पुगी आज ऐक्यबद्धता जनाउनुभएको छ । सामान्य प्रक्रिया पूरा गरेर कार्यरत सबै अस्थायी शिक्षकलाई स्थायी हुनुपर्ने माग गर्दै अस्थायी शिक्षक सङ्घर्ष समितिले यही असार २ गतेदेखि आमरण अनशनका कार्यक्रम जारी राखेको छ । राजपा अध्यक्ष मण्डलका ठाकुर, अनिलकुमार झालगायतले अनशनस्थलमा पुगी माग पूरा हुनुपर्ने बताउनुभएको हो । अध्यक्ष ठाकुरले शिक्षकका समस्याबारेमा आफूले प्रधानमन्त्री र शिक्षामन्त्रीसँग कुरा गरेर माग सम्बोधन गर्न आग्रह गरेको र उहाँहरुले सकारात्मक जवाफ दिनुभएको बताउनुभयो । सो स्थलमा छ दिनदेखि पाँच शिक्षक अनशनमा छन् ।रासस