अस्थायी शिक्षकको मागप्रति राजपाको ऐक्यबद्धता

काठमाडौँ, असार ७ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले अस्थायी शिक्षकको माग पूरा हुनुपर्ने भन्दै अनशनस्थल भद्रकालीमा पुगी आज ऐक्यबद्धता जनाउनुभएको छ ।

सामान्य प्रक्रिया पूरा गरेर कार्यरत सबै अस्थायी शिक्षकलाई स्थायी हुनुपर्ने माग गर्दै अस्थायी शिक्षक सङ्घर्ष समितिले यही असार २ गतेदेखि आमरण अनशनका कार्यक्रम जारी राखेको छ । राजपा अध्यक्ष मण्डलका ठाकुर, अनिलकुमार झालगायतले अनशनस्थलमा पुगी माग पूरा हुनुपर्ने बताउनुभएको हो ।

अध्यक्ष ठाकुरले शिक्षकका समस्याबारेमा आफूले प्रधानमन्त्री र शिक्षामन्त्रीसँग कुरा गरेर माग सम्बोधन गर्न आग्रह गरेको र उहाँहरुले सकारात्मक जवाफ दिनुभएको बताउनुभयो । सो स्थलमा छ दिनदेखि पाँच शिक्षक अनशनमा छन् ।रासस

दुर्घटनामा दुई जनाको मृत्यु

लमजुङ,  असार २ । मनाङमा यात्रुवाहक जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । माथिल्लो मनाङबाट लमजुङ आउँदै गरेको ग१ज ६६०२ नम्बरको जिप मनाङको नेस्याङ गाउँपालिका स्थित पिसाङनजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप दुर्घटनामा मृत्यु हुनेमा रुकुम जिल्लाको कात्री गाविसका २५ वर्षीय विक्रम बुढा रहेका र एक जना अन्दाजी २२-२३ वर्षका युवकको घटना स्थलमै मृत्यु भएको र सनाखत हुन नसकेको प्रहरी निरीक्षक अर्जुन गहतराजले बताए । उनका अनुसार घाइते भएका १० जनालाई उपचारका लागि सदरमुकाम चामेस्थित चामे जिल्ला अस्पतालमा ल्याई उपचार भइरहेको छ । घाइतेहरू विभिन्न जिल्लाका रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त दुर्घटनाका चालक भने फरार रहेका छन् ।

कोहलीले बनाए कीर्तिमान

काठमाडौं, असार २ । भारतीय टिमका कप्तान विराट कोहलीले एक दिवसीय क्रिकेटमा सबैभन्दा छिटो ८ हजार रन बनाउने कीर्तिमान बनाएका छन् । उनले एबी डी भिलियर्स, सौरभ गांगुली, सचिन तेन्दुलकर तथा ब्रायन लारालाई पछि पार्दै कीर्तिमान आफ्ना नाममा लेखाएका हुन् । च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा बिहीबार राति बंगलादेशसँगको खेलमा नटआउट ९६ रन बनाएका विराटले इनिङका हिसाबमा यस्तो कीर्तिमान बनाएका हुन् । एक दिवसीय क्रिकेटमा बंगलादेशसँगको खेलमा विराटको एक सय ७५ औं इनिङ थियो । बंगलादेशसँगको खेलमा ७८ बलमा १३ चौकाको मद्दतमा ९६ रन बनाएका विराटले समग्रमा ८ हजार रन पूरा गर्दै कीर्तिमान बनाएका हुन् । दोस्रो स्थानमा रहेका डी भिल्लियर्सले ८ हजार रन पूरा गर्न एक सय ८२ इनिङ खेल्नु परेको थियो । यस्तै गांगुलीले दुई सय, तेन्दुल्करले दुई सय १० र लाराले दुई सय ११ इनिङमा ८ हजार रन पूरा गरेका थिए । विराटले बंगलादेशसँगको खेलमा ८८ रन बनाउँदा नै समग्रमा ८ हजार रनको आंकडा पूरा गरेका थिए । विराटले अहिलेसम्म एक दिवसीय क्रिकेटमा ८ हजार ८ रन बनाएका छन् । यसक्रममा उनले सात सय ४७ चौका र ८५ छक्का हानेका छन् । यस्तै उनले अहिलेसम्म एक दिवसीय क्रिकेटमा २७ पटक शतक तथा ४२ पटक अर्धशतक बनाएका छन् ।

उम्मेदवार मनोनयन मिति असार ४ मा

काठमाडौँ, १ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सबै दलको सहभागिता सुनिश्चितताका लागि उम्मेदवार मनोनयन दर्ता मिति दुई दिनपछि सारिने भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज सरकार र निर्वाचन आयोगका पदाधिकारीबीच भएको छलफलमा सरकारको आग्रहपछि दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनको निर्धारित यही असार २ गतेको उम्मेदवार मनोनयन दर्ता मिति असार ४ गते सार्न आयोगले सहमति जनाएको हो । मन्त्रिपरिषद्बाट निर्णय भएर आएपछि त्यसबारेमा अघि बढ्ने बैठकपछि प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले बताउनुभयो । राष्ट्रिय जनता पार्टी नेपालले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागिता जनाउने सङ्केत देखाएपछि सरकारले उम्मेदवार मनोनयन मिति यही असार ४ गते तोक्न आयोगलाई आग्रह गरेको थियो । बैठकमा सरकारले प्रदेश नं २ मा स्थानीय तहको निर्वाचन आगामी असोज २ गते तोक्न गरेको आग्रहका सम्बन्धमा भने आफूहरुको कुनै प्रतिक्रिया नरहेको उहाँले जानकारी गराउनुभयो । प्रदेश नं ३, ४ र ६ मा स्थानीय तहको निर्वाचन पहिलो चरणमा गत वैशाख ३१ गते सम्पन्न भइसकेको छ भने प्रदेश नं १, ५ र ७ मा यही असार १४ गते हुँदैछ । प्रदेश नं २ मा भने सरकारले राजपाको आग्रहअनुसार स्थानीय तहको निर्वाचन आगामी असोज २ गते तोक्ने निर्णय गरेको छ ।

अठृाइस जना मतदाता कालोसूचीमा

दाङ, जेठ ३० । विभिन्न क्षेत्र, राज्यबाट कसुरदार ठहरिएका जिल्लाका २८ जना मतदाता कालोसूचीमा परेको निर्वाचन आयोगको कार्यालय, दाङले जनाएको छ । कालोसूचीमा परेकाले मतदान गर्न पाएपनि कुनैपनि सार्वजनिक पदधारणका लागि उम्मेदवारी दिन नपाउने जिल्ला प्रशासन कार्यालय, दाङका लेखा अधिकृत बालचन्द्र गौतमले जानकारी दिए । कालोसूचीमा पर्नेमा तुलसीपुर उपमहानगरपालिकामा १५ जना, घोराही उपमहानगरपालिकामा आठजना बङ्गलाचुली गाउँपालिकामा दुईजना,राजपुर गाउँपालिकामा एकजना, शान्तिनगर गाउँपालिकामा एकजना र लमही नगरपालिकामा एकजना रहेका निर्वाचन कार्यालयले जनाएको छ ।

एक गाग्री पानीका लागि घन्टौँ हिँड्नुपर्ने बाध्यता

जाजरकोट, जेठ २९ । त्रिवेणी नलगाड नगरपालिका–४, प्यारगाराकी सुशीला सार्कीलाई एक गाग्री पानी ल्याउन दैनिक छ घन्टाको समय खर्चनुपर्छ । घर नजिक पानीको सुविधा नहुँदा सुशीला मात्र हैन प्यारगाराका ३० घरपरिवारलाई तीन घन्टा टाढाको नाउलोबाट पिउने पानी ओसार्नुपर्ने बाध्यता छ । प्यारगाराका ३० घरपरिवारका पशु, चौपायालगायतको पनि एकमात्र पानीको स्रोत हो, छिपछिपे मूलको नाउलो । यसमा पानीको स्रोत कम हुँदा गाग्री लिएर पुग्नेबित्तिकै पानी भर्न पाइँदैन । पालो कुरेर पानी भर्नुपर्दा समय बढी लाग्ने गरेको छ । “गाउँ नजिक पानीको कुनै स्रोत छैन । दुई घन्टा लगाएर पानी ल्याउनुपर्छ, पानी ओसार्दै दिन बित्छ । ५० वर्ष अघिदेखि पिउने पानीका लागि दुःख पाउँदै आएका छौँ,” स्थानीय तिलबहादुर सार्कीले भन्नुभयो- “पिउने पानीका लागि कुनै नेता र सङ्घसंस्थाले वास्ता गरेका छैनन् ।” यही नाउलोको पानी पनि कसले पहिला भर्ने भन्ने तछाडमछाड हुने गरेको उहाँले बताउनुभयो । पशु चौपाया र जङ्गली जनावरले पनि यही नाउलामै पिउने गर्दा पानी दूषित हुने गरेको उहाँले बताउनुभयो । वर्षात्को समयमा आकासे पानीको सङ्कलन गरेर खाने गरेको पनि उहाँले बताउनुभयो । बालबालिकाले समेत पढ्न नपाई पानी ओसार्नमै समय खर्चन्छन्,” उहाँले भन्नुभयो । तीन हजार मिटरको उचाइमा रहेको प्यारगारा फूलचाउली गाउँमा पानी अभावले चर्पीको प्रयोग तथा सरसफाइमा समेत कमी देखिन्छ । पानी अभावमा नवआगन्तुकलाई बास बसाउन नै लाज लाग्ने गरेको भक्तबहादुर सार्कीले बताउनुभयो । गाउँमा बनेका चर्पी प्रयोगविहीन छन् । स्थानीय बासिन्दा खोला खोल्सा र जङ्गलमा खुला शौच गर्न बाध्य भएका छन् । जसका कारण स्थानीय बासिन्दा झाडापखाला, आउँ, जुकालगायत रोगबाट पीडित हुने गरेका छन् । जिल्लाका सरकारी र गैरसरकारी निकायले बर्सेनि खानेपानी योजनामा करोडौँ खर्च गर्ने गरे पनि प्यारगारा, फूलचाउलीलगायत बस्ती भने सधैँ काकाकुल छ ।

नयाँ शक्तिबाट नगरपालिकाका मेयर लगायत सबै उम्मेदवार माओवादी केन्द्रमा

कञ्चनपुर, जेठ २१ । नयाँ शक्ति नेपालले कृष्णपुर नगरपालिकामा उम्मेदवार घोषणा गरेका मेयर लगायतको पुरै टिम माओवादी केन्द्रमा प्रवेश गरेको छ । नयाँ शक्तिले उक्त नगरपालिकाको मेयरमा सुन्दर दत्त भट्ट र उम मेयरमा जमुना रानालाई उम्मेदवार घोषणा गरेको थियो । उम्मेदवारी दर्ता नहुँदै मेयर र उममेयरका उम्मेदवारलगायत नगरपालिकाको सिँगो टिम नै माओवादी केन्द्रमा प्रवेश गरेको ७ नं. प्रदेश प्रचार प्रसार समितिका संयोजक ओम बिक्रम भाट सरलले जानकारी दिए । “यसअघि पनि त्यहाँबाट नयाँ शक्तिका दर्जनौं साथीहरुले प्रवेश गरेका हुन ।” भाटले भने, “अहिले मेयर, उपमेयरमा घोषणा गरिएका साथीलगायत अरु सबै आएका छन् ।” भाटका अनुसार, कृष्णपुरलगायत दक्षिणी क्षेत्रमा बेलौरी, पुनर्वासलगायतका क्षेत्रमा अन्य पार्टी परित्याग गरी ५ सय भन्दा बढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । अहिले केन्द्रीय नेताहरु लेखराज भट्ट, खगराज भट्टलगायत सबै चुनावी अभियानमा क्षेत्रमा खटिएका छन् । “निर्वाचनमा अहिलेकै अवस्थाले निरन्तरता पाएमा आधा जिल्ला कब्जा हुन्छ” भाटले भने, “अझै समय छ, युद्दस्तरमा लागेका छौं ।”

भरतपुरमा पुन : मतदान गर्न कांग्रेसको माग, निर्वाचन आयोगका कारण घटना घटेको आरोप

चितवन, नेपाली कांग्रेसले मतपत्र च्यातिएको वडामा पुनः मतदान गर्न माग गरेको छ । नेपाली कांग्रेस जिल्ला समिति चितवनले एक विज्ञप्ती जारी गर्दै स्थानीय तह निर्वाचन ऐन– २०७३ को दफा ४९ र ५० बमोजिम पुनः मतदान प्रक्रिया सुचारु गर्न माग गरेको हो । पार्टी सभापति जीत नारायण श्रेष्ठद्वारा जारी विज्ञप्तीमा भनिएको छ– स्थानीय निर्वाचन २०७४ अन्तर्गत भरतपुर महानगरपालिकाको मतदान २०७४ वैशाख ३१ गते सम्पन्न भई हिजो जेठ १४ गते गते राती करिब ११.३० बजे वडा नं. १९ को मतगणना भइरहेको र नेपाली कांग्रेसका उम्मेदवारहरुको विजय सुनिश्चित भइसकेको समयमा घटेको घटनाप्रति नेपाली कांग्रेस चितवन खेद व्यक्त गर्दछ । निर्वाचन आयोगमा मतगणना प्रक्रियालाई व्यवस्थित गर्न पटकपटक आग्रह गर्दा समेतव्यवस्थ्ति नगरिदिएको कराण उक्त घटना हुन पुगेको, घटनाको सत्यतथ्य जनसमक्ष ल्याउन र देषीमाथि अबिलम्ब कारवाही गर्न र उक्त वडा नं. १९ को मत परिणामलाई असर पर्ने गरी मत पत्र च्यातिएको हुँदा, नेपाली कांग्रेस जिल्ला समिति चितवनले एक विज्ञप्ती जारी गर्दै स्थानीय तह निर्वाचन ऐन– २०७३ को दफा ४९ र ५० बमोजिम पुनः मतदान प्रक्रिया सुचारु गर्न समेत जोडदार माग गर्दछौं ।

स्वाथ्य मन्त्रालयबाट ६० लाख जिल्ला अस्पताललाई

नवलपरासी,  जेठ ७ । नवलपरासीको सबैभन्दा पुरानो एक जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालले मन्त्रालयबाट विनियोजन गरेको रु ६० लाख रकमबाट मर्मत सम्भारको काम सुरु गरेको छ । अस्पतालको अन्तरङ्ग, बहिरङ्ग र आकस्मिक कक्षसहित शल्यक्रिया कक्षको मर्मत सम्भारको काम सुरु गरेको जिल्ला पृथ्वीचन्द्र अस्पताल व्यवस्थापन समिति, परासीका अध्यक्ष सन्तोषकुमार श्रीवास्तवले बताए । सरकारको निर्णयअनुसार १५ श्ययाबाट क्षमता विस्तार गरी ५० श्ययाको अनुमति पाएको जिल्ला अस्पताल यतिबेला २४सै घन्टा फार्मेसी सेवा सञ्चालन गर्ने तयारीमा जुटेको छ । अस्पतालका लागि मन्त्रालयबाट रु ६० लाख बजेट विनियोजन भएको थियो । विनियोजन भएको उक्त रकमबाट मर्मत सम्भार तथा सुधार भई चालु आवभित्रै उपलब्धिमूलक काम गरिने अस्पतालले जनाएको छ । अस्पतालभित्र दिइने सेवा सुविधाका लागि अन्यत्र जानुपर्ने बाध्यता रहेकामा उक्त रकमबाट केही राहत हुने बताइएको छ । भौतिक संरचना कमजोर भएका कारण जिल्ला अस्पताललाई व्यवस्थित गराउन आफूलाई निकै चुनौती रहेको अस्पताल व्यवस्थापन समिति, परासीका अध्यक्ष श्रीवास्तवले बताए ।

सरकारबाट बढी लाभ लिएका जनताले नै किन भाेट दिएनन् भन्नेबारे समीक्षा हुन्छ : प्रचण्ड

काठमाडौं, जेठ ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सरकार भएपछि सबैभन्दा बढी सहरका जनता नै लाभान्वित भएको र उनीहरुले नै किन भोट दिएनन् भन्ने विषयमा भने समिक्षा गरिने बताएका छन् । नेपाल टेलिभिजनबाट शनिवार प्रशारण हुने ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ मा बोल्दै प्रधानमन्त्री प्रचण्डले माओवादीले अहिले प्राप्त गरेको मत परिणाम सन्तोषजनक रहेको बताएका छन् । उनले माओवादी सरकारका पालामा विशेषतः सहरका जनता नै लाभान्वित भएको बताउँदै उनीहरुबाट नै माओवादीले कम भोट दिएकोमा कुनै असन्तुष्ट नभएको र त्यसबारे बरु माओवादीले समिक्षा गर्ने बताएका छन् । प्रधानमन्त्रीले भने, ‘मैले इतिहासको जून कालखंडमा सरकारको नेतृत्व गर्नु पर्यो, सबै दल मिलाएर संबिधान कार्यान्वयनका लागि जे गरे, त्यों सन्दर्भमा मलाई गर्व छ । माओवादीले ल्याएको मत सन्तोषजनक परिणाम मानेको छु । जनताले यो बिषयमा समीक्षया गर्लान् । मैले गरेका सबै प्रयासको असर शहर बजारमा परेको छ र लाभ पनि शहरका जनताले पाएका छन् । प्रदेश र केंद्रको निर्वाचनसम्म जनताले सही मूल्याँकन गर्ने मलाई बिस्वास छ । सरकारको कामबाट सबैभन्दा बढ़ी लाभ लिएको जनताले किन भोट दिने बिसायमा हामिले समीक्षा गरछौ ।’

म्याग्दीको मालीका गाउँपालिका ४ मा माओवादी केन्द्र विजयी

काठमाडौँ, जेठ २ । म्याग्दीको मालीका गाउँपालीका ४ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका दिलीप शेरचनले ३२८ मत ल्याएर निर्वाचित हुनुभएको छ । शेरचनका प्रतिस्पर्धी नेपाली काँग्रेसका भिजीन्द्रमान पुनले ३०६ र नेकपा एमालेका दधीलाल जैसीले १८३ मत प्राप्त गर्नुभएको छ । सदस्यहरुमा माओवादी केन्द्रका मनरुपा घर्ती, सिता श्रीपाली, उदबिर रसाईली र काँग्रेसका बलिराम सुनार निर्वाचित हुनुभएको छ । एक हजार ३३५ मतदाता रहेको ओखरबोटमा ८५२ मत खसेको थियो । ४ वटा वडाको मतगणना हुँदा मालीका गाउँपालीको अध्यक्षमा नेपाली काँग्रेसका श्रीप्रसाद रोकाले एक हजार २८७ र एमालेका बेगप्रसाद गर्बुजाले एक हजार २७२ तथा उपाध्यक्षमा काँग्रेसकी बिमला रोकाले एक हजार २८७ र एमालेकी खरमाया बिटालुले एक हजार २८० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पछिल्लो परिणाम : माओवादी केन्द्र ८, कांग्रेस ७, एमाले ६,

काठमाडौं, जेठ २ । पहिलो चरणको स्थानीय तह चुनाव भएका ३४ जिल्लामा अहिले मतगणना भइरहेको छ । अहिलेसम्म आएका अन्तिम परिणाम अनुसार माओवादी केन्द्र अघि देखिएको छ ।  प्रमुख पदमा माओवादी केन्द्र ८, कांग्रेस ७, एमाले–६ मा जितेका छन् माओवादी केन्द्रले प्रमुख जितेका ठाउँ जुम्लाको गोठिचौर गाउँपालिका – हरिबहादुर भण्डारी, डोल्पाको जगदुल्ला गाउँपालिका – नरसिंह रोकाया, हुम्लाको ताजाकोट गाउँपालिका – बागदल मल्ल, डोल्पाको मुड्केचुला गाउँपालिका – दत्तबहादुर शाही, कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका – डम्बर शाही, जाजरकोटको शिवालय गाउँपालिकामा लाल बहादुर थापा, रुकुमको चौजहारी गाउँपालिकामा शिाल शर्मा, जुम्लाको हिमा गाउँपालकामा राजबहादुर शाही विजयी भएका छन् । नेपाली कांग्रेस प्रमुख जितेका ठाउँ मनाङको नारफु गाउँपालिका – मिङमानर छिरिङ लामा (निर्विरोध)मुस्ताङको लोमान्थाङ गाउँपालिका – सुवर्णकुमार विष्ट बाग्लुङको तमानखोला गाउँपालिका – जोकलाल बुढा मनाङको नोसाङ गाउँपालिका – चन्द्रबहादुर घले नेकपा एमाले प्रमुख जितेका ठाउँ डोल्पाको से फोक्सुण्डो गाउँपालिका – टाँसी तुञ्दुप गुरुङ (निर्विरोध)डोल्पाको काइके गाउँपालिका – अंगद रानामनाङको चामे गाउँपालिका – लोकेन्द्र घलेमनाङको नेस्याङ गाउँपालिका – कान्छा घले मुस्ताङको घरपजोङ गाउँपालिका – असबहादुर थापास्याङ्जाको फेदीखोला गाउँपालिका – घनश्याम सुवेदी

भरतपुर महानगरपालिकाको प्रारम्भिक नतीजा सार्वजनिक

चितवन, १ जेठ । चितवनको भरतपुर नगरपालिकाको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । दिनभरी विवाद भएपछि मतगणना साँझबाट सुरु भएको थियो । भरतपुरमा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको छ भने एमाले एक्लै भिड्दैछ । यस्तो छ नतिजा मेयर एमाले (देवी ज्ञवाली)-४९ माओवादी (रेणु दाहाल)-४१ उपमेयर एमाले (दिब्या आचार्य)-४३ कांग्रेस (पार्वती शाह)-३६

कांग्रेस, एमाले र राप्रपाले विप्लवसँग मिलेर मतपत्र जलाएको खुलासा

कालिकोट, जेठ १ । स्थानीय तहको पहिलो चणको निर्वाचन अन्तर्गत कालिकोटको मालकोटमा माओवादी बाहेक अन्य सबै दल मिलेर मतपत्र जलाएको खुलासा भएको छ । नेकपा माओवादी केन्द्रका नेता जीवन बुढाले दिएको जानकारी अनुसार, माओवादी केन्द्रको बलियो प्रभाव रहेको मालकोटमा मतदान सम्पन्न भएपछि अन्य दलहरुले आपसी छलफल गरेर मतपत्र जलाएका थिए । “कांग्रेस, एमाले, राप्रपा र विप्लवले बैठक नै बसालेर मतपत्र जलाउने निर्णय गरेका रहेछन् ।” बुढाले जानकारी दिए, “अझ हाम्रा उम्मेदवारलाई समेत बोलाएका थिए, हामी गएनौं । पछि उनीहरुले जलाए ।” माओवादी केन्द्रको विजय सुनिश्चित हुने देखेपछि मतपत्र जलाएको उनले बताए । सो क्रममा भएको भीडन्तमा एकजनाको मृत्यु हुनुका साथै केही अन्य घाइते भएका थिए । मिडियाबाट मतपत्र जलाउने काम विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको भनिएपनि सबै दल मिलेर उक्त कार्य गरेको बुढाले बताए । घटनामा विप्लव माओवादीका ब्यासी विश्वकर्मा, एमालेका दान बहादुर बटाला, कांग्रेसका कुल बटाला घाइते भएका छन् भने राप्रपाका धनरुप बटालाको मृत्यु भएको छ । कालिकोटका तीनवटा नगरपालिका र ६ वटा गाविसमध्ये दुई वटामा मतदान स्थगित भएको छ । भर्ता गाउँपालिकामा समेत एमाले र राप्रपाले धाँधली गरेपछि मतदान स्थगित भएको बुढाले बताए । अन्य स्थानको मतगणना भने शुरु भएको छ ।

ललितपुरको कञ्जोस्यम १ मा माओवादी केन्द्र विजयी

ललितपुर, जेठ १ । ललितपुरको कञ्जोस्यम गाउँपालिका वडा नं १को अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का सन्तलाल तामाङ विजयी भएका छन् । अन्तिम मत परिणामअनुसार ३ सय ५४ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का तेजबहादुर लामाले २ सय ८० मत प्राप्त गरेका थिए । प्राप्त मत परिणामअनसार सदस्यहरुमा तामाङकै समूहका वीरबहादुर थिङ, लालबहादुर थिङ, सुमित्रा नेपाली, डोल्मा लामा विजयी भएका छन्।

लमजुङको दोर्दी– १ मा कांग्रेसको प्यानल विजयी

काठमाडौँ, जेठ १ । लमजुङको दोर्दी गाउँपालिका वडा नं. १ भारतेमा कांग्रेसको प्यानलै विजयी भएको निर्वाचन अधिकृत यादव प्रसाद पौडेलका अनुसार वडा नं. १ को वडाध्यक्षमा कांग्रेसका दरजङ गुरुङ विजयी भएका छन् । उनले ६ सय ३४ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्दी एमालेका ओम बहादुर गुरुङले ३ सय ३७ मत प्राप्त गरे । यस्तै कांग्रेसका महिला सदस्यमा इन्द्रिरा गिरी, दलित महिला सदस्य शान्ता विश्वकर्मा र खुल्ला सदस्यमा हरि बहादुर थापा, दिपक अधिकारी सहित प्यानल विजयी भएको हो । अहिले वडा नं. २ को मतगणना भइरहेको छ ।