मानव तस्करको सेटिङमा खेलाडीका रुपमा रुस जान लागेका १४ जना फिर्ता

काठमाडौं, भदौ ७ । मानव तस्करको सेटिङमा फसेर खेलाडीका रुपमा रसिया हिँडेका १४ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले फर्काइदिएको छ ।

काठमाडौंस्थित रसियाली दूतावासबाट भिसा पाएका उनीहरुलाई विमानस्थल अध्यागमन कार्यालयले साउन २५ मा फिर्ता (अफलोड) गरेको हो ।

मानव तस्करले जनही कम्तीमा ३ लाख लिई ती युवालाई मस्को पु¥याउन सेटिङ गरेको स्रोतले बतायो । मस्को पुगेपछि उतैका मानव तस्करलाई थप रकम दिएर अन्य युरोपेली देश छिराउने सर्त थियो ।

अध्यागमनले ती युवासँग राष्ट्रिय खेलकुद परिषदको पत्र नभएपछि अफलोड गरेको हो ।,अन्नपूर्ण पोस्टमा खबर छ ।

गाडी डुबेर गर्भवतीसहित ६ जनाको मृत्यु

रौतहटमा गाडी डुबेर गर्भवतीसहित ६ जनाको मृत्यु भएको छ । प्रसुतीका लागि लौकाहाबाट राजपुर अस्पतालमा जाँँदै गरेको जीप बाढीले बाटो कटान गरेको जानकारी नहुँदा डुबेको हो । राजपुर अस्पताल भन्दा सय मिटर पर बिहान ३ बजेतिर भारतीय नम्बरको जीप डुब्दा गर्भवती महिलासहित ६ जनाको मृत्यु भएको प्रहरी उपरिक्षक यज्ञ विनोद पोखरेलले बताए । File photo

गरिबीको रेखामुनि रहेकाको जीवनस्तर माथि उठाइने: मन्त्री बस्नेत

काठमाडौँ, साउन २८ । सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले गरिबीको रेखामुनि रहेकाकोे जीवनस्तर माथि उठाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । नेपाली काँग्रेस गोकर्णेश्वर नगर समितिले आज नयाँपाटीमा आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रममा उहाँले भन्नुभयो – “देशभर दर्ता भएका ३४ हजार सहकारीमार्फत कार्यक्रम सञ्चालन गरी गरिबीका रेखामुनि रहेकाका २१ दशमलव ६ प्रतिशत नागरिकको जीवनस्तर माथि उठाइने छ ।” मन्त्री बस्नेतले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न आर्थिक समुन्नतिका कार्यक्रममार्फत गरिबी निवारण गरिनुपर्नेमा जोड दिदैं सहकारीलाई विश्वसनीय बनाउन शेयरधनी केही पनि होइनन्, सबै सञ्चालक हुन् भन्ने सोचलाई हटाउनुपर्छ भन्नुभयो । “लोकतान्त्रिक अभ्यास गरी सहकारी चलाइनुपर्छ, सहकारी डुबाउनेलाई रु एक हजार ५०० कारबाही गरेर उन्मुक्ति दिने विद्यमान कानूनी व्यवस्थालाई परिवर्तन गर्न सहकारी ऐन संशोधनको चरणमा छ”, उहाँले भन्नुभयो– “बचत र लगानीमा मात्र सहकारी सीमित हुँदा जनताको करोडौँ बचत थन्किएकाले उत्पादनमूलक काम गरी आयआर्जन वृद्धि गर्ने गरी नीति निर्माण गरिने छ ।” मन्त्री बस्नेतले बेरोजगार युवालाई उत्पादनशील काममा लगाई युवा स्वरोजगार कार्यक्रमलाई प्रभावकारी बनाउने योजना मन्त्रालयले ल्याउन लागेको जानकारी दिदैं हालसम्म सरकारले ३५ हजार युवालाई प्रतिव्यक्ति रु दुई लाखका दरले युवा स्वरोजगार कोषबाट रकम उपलब्ध गराएको बताउनुभयो । दशजना युवाले समूह बनाई रु दुई लाखका दरले रु २० लाख लिई उत्पादनमूलक काम गरे रोजगारीका लागि खाडी मुलुकको रापमा सेकिनु नपर्ने बताउँदै उहाँले मुलुकका २५ जिल्लामा गरिब पहिचान गरी परिचय पत्र वितरणको तयारीमा सरकार रहेको जानकारी दिनुभयो । मन्त्री बस्नेत बाँकी ५० जिल्लाका गरिब घरपरिवारको पहिचान पनि छिट्टै शुरु गरिने पनि बताउनुभयो । गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले विकास निर्माणका काम आर्थिक वर्षको अन्तमा शुरु गर्दा विकास बजेट बालुवामा पानी खन्याएजस्तो भएकाले भदौदेखि नै काम गर्न लागिएको जानकारी गराउनुभयो । “नगरपालिकामा भदौदेखि नै विकास निर्माणका काम शुरु गरी फागुन मसान्तमै सम्पन्न गर्ने लक्ष्य लिएका छौँ, भदौमै काम शुरु गरी पूँजीगत बजेट फ्रिज हुन नदिने गरी काम गर्छौं”, उहाँले भन्नुभयो । कार्यक्रममा काँग्रेस गोकर्णेश्वर नगर समितिका सभापति श्रीकृष्ण ज्योति, काँग्रेस नेता लालबहादुर लामा, नगरपालिका वडा नं ८ का अध्यक्ष मनोजकुमार ढुंगाना, नगर समिति सदस्य बालकृष्ण श्रेष्ठलगायतले नगरपालिकाको विकास निर्माणका काम भदौदेखि नै शुरु गरेर आव समाप्त हुने अन्तिम महिना भुक्तानी नदिने गरी नीतिगत व्यवस्था गर्न माग गर्नुभयो । सो अवसरमा नगर समितिका तर्फबाट मन्त्री बस्नेत र नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, नगर कार्यपालिका सदस्य, नगर परिषद् सदस्यलाई सम्मान गरिनुका साथै सफल कार्यकालका लागि बधाई ज्ञापन गरिएको थियो ।

नवाज शरीफलाई निशाना बनाएर लाहौरमा ठूलो विष्फोट, ४६ घाइते

लाहौर । पनामा पेपर्स मामिलामा अदालतले अयोग्य ठहर गरेपछि राजिनामा गरेका पाकिस्तानी प्रधानमन्त्रीलाई निशाना बनाएर ठूलो विष्फोट भएको छ । पाकिस्तानको ऐतिहासिक शहर तथा शरीफको गृहनगर लाहौरको एउटा पार्किङमा राखिएको ट्रकमा सोमबार राती विष्फोट भएको पाकिस्तानी दैनिक पत्रिका डनले जनाएको छ । उक्त विष्फोटमा ४६ जना घाइते छन। चारजनाको अवस्था सिकिस्त बताइएको छ । अधिकारीहरुले उक्त ब्लाष्टको निशाना नवाज शरीफ रहेको बताएका छन् । नवाज शरीफ यही बाटोबाट सोमबार राती लाहौर जाने कार्यक्रम रहेको थियो । विष्फोट निकै ठूलो भएको र पार्किङमा राखिएका कारहरु दश पन्ध्र फीट माथि हावामा उछालिएको समेत समाचारमा उल्लेख छ । विष्फोटका कारण १५ फीट गहिरो खाडल नै परेको छ । विष्फोटबाट एक सय बढी गाडीहरु क्षतिग्रस्त भएका छन् । कतिपय नजिकका घरहरुका शीसा र छत समेत विष्फोटबाट क्षतिग्रस्त भएका छन् । विष्फोटको आवाज ४, ५ किलोमिटर टाढासम्म सुनिएको बताइन्छ ।

अस्पतालमा भाइरलका कारण बिरामीको सङ्ख्या बढ्दै

इलाम, साउन २४ । भाइरल ज्वरोका कारण अस्पतालमा बिरामीको चाप बढेको छ । बर्खायाममा फैलिने भाइरलका कारण स्वास्थ्य संस्थामा आउनेको भीड पनि बाक्लिँदै गएको छ । प्रकोप बढेपछि साविकभन्दा दोब्बरको संख्यामा स्वास्थ्य संस्थामा उपचारका लागि बिरामी आएका छन् । इलाम अस्पताललगायत चारवटा प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा पनि दिनहुँ भाइरलका बिरामीको चाप बढ्दै गएको स्वास्थ्यकर्मी बताउँछन् । स्वास्थ्य संस्थामा रुघाखोकी, ज्वरो आउने, घाँटी दुख्नेलगायतका भाइरलका बिरामीको चाप बढेको हो । इलाम अस्पतालमा मात्र उपचारका लागि दैनिक १५० बिरामी आउन थालेको हेल्थ असिस्टेन्ट गणेश रिजाल बताउनुहुन्छ । “आकस्मिक उपचारका लागिमात्र दैनिक ५०-६० जना आइरहेका छन्”, उहाँले भन्नुभयो, “ओपिडीमा त्यसको दोब्बर बिरामी आउँछन् ।” स्वास्थ्यकर्मी र औषधिको अभाव नभए पनि बिरामीलाई राखेर उपचार गराउन शय्याको अभाव भएको छ । “पचास शय्याको अस्पताल भए पनि बिरामीको चापले शय्यामा राखेर उपचार गर्न गाह्रो परेको छ”, मेडिकल अधिकृत विजय फुयाँलले भन्नुभयो, “प्रसूतिका बिरामी पनि उत्तिकै हुने र शय्या पनि भरिएकाले धेरैलाई उपचार गराउँदै घर पठाउनुपरिरहेको छ, बिरामीले आराम गर्नसमेत पाएका छैनन् ।” मौसम परिवर्तन, खानपान र दूषित पानीका कारण रोग लाग्ने स्वास्थ्यकर्मीको भनाइ छ । हावा, पानीलगायतबाट रोग सर्ने भएकाले एउटा परिवार वा समूहमा बस्ने एकजनामा रोग देखापरे अरूलाई पनि सर्छ । यस्ता बिरामीले पानी उमालेर मात्र पिउनुपर्ने, मुख छोप्नुपर्ने र झोलिलो पदार्थ धेरै खानुपर्ने स्वास्थ्यकर्मीले सुझाव दिन थालेका छन् । इलाम अस्पतालसहित प्याङ, मंगलबारे, फिक्कल र पशुपतिनगरका प्राथमिक स्वास्थ्य केन्द्रसहित स्वास्थ्य संस्थामा पनि भाइरलका बिरामीको चाप बढेको छ ।

राजपासँग मिल्ने भयो एमाले, भित्रभित्रै यस्तो तयारी

काठमाण्डु, २४ साउन– प्रमुख प्रतिपक्षी एमालेले प्रदेश–२ को स्थानीय तह चुनावमा कांग्रेसबाहेक सबै राजनीतिक शक्तिसँग तालमेल प्रयास थालेको छ । प्रारम्भिक तयारीका लागि त्यस क्षेत्रमा पुगेका केन्द्रीय नेताहरूले स्थानीय आवश्यकताअनुसार सबै दलसँग तालमेलको ढोका खुला गर्नुपर्ने निष्कर्ष निकालेका छन् । सम्बन्ध तिक्त रहेको राष्ट्रिय जनता पार्टीसँग तालमेल गर्ने एमालेको पहिलो प्राथमिकता छ । त्यहीअनुसार एमाले नेताहरूले सम्बन्ध सुधार्ने प्रयास तीव्र पारेका छन् । प्रदेश २ मा पार्टीको स्थिति मजबुत रहेको र पहिलो स्थान नै हासिल गर्ने सम्भावना रहेको ती नेताले केन्द्रलाई रिपोर्टिङ गरेका छन् । ‘राजपाले चुनावमा आउने÷नआउने अझै स्पष्ट गरिसकेको छैन तर उसलाई चुनावमा ल्याउनुपर्छ भनेर हामी पनि लागिरहेका छौं,’ प्रदेश २ को चुनावी माहोल बुझेर फर्केका एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘चुनावमा आउने भयो भने स्थानीय आवश्यकताअनुसार राजपासँग पनि तालमेल गरेर जान सकिन्छ ।’,कान्तिपुरमा खबर छ । प्रमुख प्रतिस्पर्धी दल भएकाले कांग्रेससँगको तालमेलको सम्भवना नरहेको तर अन्य जुनसुकै दलसँग मिल्ने सक्ने एमालेको धारणा छ । राजपासँगको सम्बन्ध सुधारका लागि एमाले नेताहरूले उनीहरूसँग औपचारिक छलफल जारी राखेका छन् । राजपा चुनावमा नजाँदा तराईमा लोकतान्त्रिक शक्ति नै कमजोर हुने भन्दै बहिष्कारको बाटोमा नजान एमाले नेताहरूले सुझाव दिइरहेका छन् । राजपाले उठाएको संविधान संशोधनलगायत विषयलाई चुनावपछि सम्बोधन गर्न सकिने उनीहरूले आश्वासन दिइरहेका छन् । विशेष गरी कांग्रेस र माओवादी केन्द्र गठबन्धनले राजपालाई चुनावमा सहभागी हुन नदिने षड्यन्त्र गरिरहेको भन्दै एमाले नेताहरूले उनीहरूलाई मनाउने प्रयास गरिरहेका छन् । अध्यक्ष केपी ओलीले गत साता एक सार्वजनिक कार्यक्रमबाटै राजपा नेतालाई चुनावमा सहभागी हुन नदिन कांग्रेसले नै षड्यन्त्र गरिरहेको र यो बुझेर चुनावमा आउन राजपा नेताहरूलाई ध्यानाकर्षण गराएका थिए । एमालेको प्रदेश २ को प्रारम्भिक चुनावी रिपोर्टिङअनुसार यसअघिका दुई चुनावजस्तै बहुमत स्थानमा जित्ने दाबी नेताहरूले गरेका छन् । महासचिव ईश्वर पोखरेललगायत केन्द्रीय पदाधिकारीलाई जिल्ला नै तोकेर प्रारम्भिक चुनावी तयारी र स्थानीय स्थितिबारे अध्ययन गर्ने जिम्मा दिइएको थियो । उनीहरूले त्यहाँ पुगेर भेला र बैठकहरू गरेका थिए । पार्टीको अवस्था अधिकांश स्थानमा पहिलेको भन्दा सुध्रिएको र बहुमत स्थान जित्ने आधार तयार भइसकेको आकलन उनीहरूले गरेका छन् । उम्मेदवारी चयनमा ख्याल गर्नुपर्ने र आवश्यकताअनुसार उचित तालमेल गर्न सक्दा अझै बढी सिटमा विजयी हुन सक्ने एमाले नेताहरूले आकलन गरेका छन् । पार्टीको स्थायी समिति बैठकमा प्रदेश २ पुगेर फर्केका नेताहरूले ब्रिफिङ गरिसकेका छन् । त्यही आधारमा थप रणनीति बनाइने एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । ‘महासचिव नेतृत्वको टोलीले दिएको रिपोर्टका आधारमा अब थप कार्यक्रम लिएर एमाले तराई क्षेत्रको चुनावमा अझै सक्रिय रूपमा लाग्नेछ,’ श्रेष्ठले भने । प्रदेश २ को चुनावमा सन्देश दिन स्थानीय कार्यक्रमहरूमा एमालेले अन्य दलका नेता कार्यकर्तालाई आफ्नोमा प्रवेश गराइरहेको छ । राजपा, संघीय समाजवादी फोरमलगायत दलका केन्द्रीय नेतालाई नै एमालेले प्रवेश गराउने तयारी गरेको छ । कुन दलका कुन नेता प्रवेश गराउने भन्ने उनीहरूले बाहिर ल्याएका छैनन् । तर, यसै साता मधेसकेन्द्रित दलका उच्चस्तरका नेतालाई भित्र्याउने तयारी भइरहेको एक नेताले जानकारी दिए । यसअघि एमालेले स्थानीय तहको दोस्रो चुनावअघि राजपाकै कोषाध्यक्ष रहेकी अनिता यादवलाई भित्र्याएको थियो । प्रदेश २ को चुनावलाई सन्देश दिने उद्देश्यले नै मधेसी नेताहरूलाई ल्याउने प्रयास गरिएको हो । माओवादी, नयाँ शक्तिमा गएका मधेसका पूर्वएमाले नेताहरूलाई पनि फर्काउने पहल भइरहेको पार्टी स्रोतको भनाइ छ ।

विद्यार्थी अान्दोलनका कारण विश्वविद्यालयका सबै काम ठप्प

चितवन, साउन २३ । विद्यार्थीको आन्दोलनका कारण केही वर्षअघिमात्रै स्थापना भएको कृषि तथा वन विज्ञान विश्वविद्यालयका सबै क्रियाकलाप ठप्प भएको छ । निजी क्याम्पसलाई सम्बन्धन दिन लागेको भन्दै विद्यार्थीले आन्दोलन गरेपछि कलेजका सबै काम प्रभावित भएका हुन् । गत असार ६ गतेबाट आन्दोलन गरेका विद्यार्थीले गएको सातादेखि सबै काम ठप्प पारी क्याम्पसको द्वारमै धर्ना दिएका छन् । विद्यार्थी आन्दोलनले सबै काम रोकिएको क्याम्पसका उपप्राध्यापक अनन्तप्रकाश सुवेदीले जानकारी दिनुभयो । “यसअघिका आन्दोलनमा ल्याबहरु खुल्थे, अहिले ल्याबसमेत खुल्न सकेको छैन”, उहाँले भन्नुभयो । विश्वविद्यालयले सरकारले ७ प्रदेशमा स्थापना गर्ने भनेको आंगिक क्याम्पस स्थापना गर्नुको साटो निजी कलेजलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाएको भन्दै केन्द्रीय कार्यालयमा तालाबन्दी गरेर आन्दोलन थालेको अखिल क्रान्तिकारी क्याम्पस कमिटीका अध्यक्ष विश्वास अम्गाईले बताउनुभयो । असार ६ गतेबाट आन्दोलन थालेका विद्यार्थीे समूह ९दुई अखिल क्रान्तिकारी, नेविसंघ र अनेरास्ववियु०ले केन्द्रीय कार्यालयमा तालाबन्दीसमेत गरेका छन् । विद्यार्थीको मागमा सुनुवाइ नै नगरी काठमाडौँमा बसेर थप प्रक्रिया अगाडि बढाएपछि सबै काम ठप्प पारेर सात दिनदेखि धर्नामा बसेको अध्यक्ष अम्गाईले जानकारी दिनुभयो । विश्वविद्यालयले पहिलोचरणमा नवलपरासीको गैँडाकोटमा दुईवटा, परासीमा एक, झापामा एक, इटहरीमा एक, सप्तरीमा एक सुर्खेतमा एक, टीकापुरमा एक र काठमाडौँमा एक गरी १० वटा निजी कलेजलाई सम्बन्धन दिने तयारी गरेको विद्यार्थीको भनाइ छ । करोडौँ रकम आर्थिक चलखेल गरी निजी कलेज सञ्चालनको तयारीमा विश्वविद्यालयका पदाधिकारी लागेको आरोप अम्गाईले लगाउनुभयो । विश्वविद्यालयका उपकुलपति डा ईश्वरीप्रसाद ढकालले यस विषयमा तीन वर्ष अगाडिदेखि नै विज्ञापन भएको तर अहिलेको प्रक्रिया नभएको बताउनुभयो । शिक्षा मन्त्रालयले प्रक्रिया अगाडि बढाइरहेकाले रोक्ने स्थिति भएको प्रतिक्रिया दिँदै उहाँले सम्बन्धनका लागि २४ वटा आवेदन परेकामा १४ वटाको स्थलगत अनुगमन गरेर प्रतिवेदन बुझाइएको जानकारी दिनुुभयो । उपकुलपति डा ढकालले आन्दोलन गर्नुभन्दा विद्यार्थीको पढ्न पाउने अधिकार संरक्षणमा ध्यान दिन आग्रह गर्नुभयो । । विश्वविद्यालयको सभाबाट पारित भएर विश्वविद्यालयले सातवटा आंगिक क्याम्पसको प्रक्रियासमेत अगाडि बढाएका बेला निजीलाई सम्बन्धन दिन नहुने तर्क गर्नुहुन्छ उपप्राध्यापक अनन्त सुवेदी । उक्त विश्वविद्यालय अन्तर्गत अहिले कास्कीमा एउटा आंगिक क्याम्पस, हेटौँडामा वनविज्ञान संकाय तथा केन्द्रीय कार्यालय, चितवनमा कृषि संकाय, पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय सञ्चालित छ ।

एकै व्यक्तिका ६२ थरीका आवाज (भिडियोसहित)

काठमाडौं, साउन २० । लामो समयदेखि क्यारीकेचर गर्दै आएका कलाकार सुबोध गौतमले गाईजात्रा कोसेलीस्वरुप ६२ थरीका आवाज निकालेको भिडियो सार्वजनिक गरेका छन् । कलाकार गौतमले राजनीतिक दलका नेतादेखि चलचित्रका अभिनेता र हाँस्यकलाकारको दुरुस्तै क्यारीकेचर गरेको भिडियो सार्वजनिक गरेका हुन् । उनले क्यारीकेचरमार्फत नेताहरुलाई व्यंग्य हानेका छन् । कलाकार गौतमले बालबालिका माझ लोकप्रिय मोटु पात्लु टेलिभिजन कार्यक्रमका अधिकाँस पात्रको आवाज नक्कल गरेका छन् । केहि समय घुलमील भएपछि जो कोहिको क्यारीकेचर गर्न सक्ने कलासँगै उनीसँग भएको जनावर र चराचुरुंगीको आवाज निकाल्ने क्षमतालाई पनि यस भिडियोमा देखाएका छन् । गौतम भन्छन्, ‘मानिसको आवाज वा बोल्ने हाउभाउ बुझेपछि उक्त व्यक्तिको क्यारीकेचर गर्न सजिलैसँग सक्छु । सयौँ व्यक्तिको नक्कल गर्न सकेपनि भिडियोमा भने प्रसंग मिलाएर ६२ प्रकारको मात्र आवाज समावेश गरेको छु । आउँदा दिनमा थप व्यक्तिको क्यारीकेचर पनि दर्शकमाझ प्रस्तुत गर्नेछु ।’ कलाकार गौतम लोकप्रिय हास्य टेलिश्रृंखला ‘मेरी बास्यै’मा गनगनेको भूमिकामा पनि देखिएका थिए ।

राष्ट्रिय बिमा संस्थानमा ३३ जनालार्इ रोजगारीको अवसर

काठमाडौं, साउन २० ।  राष्ट्रिय बिमा संस्थानमा ३३ जनाको लागि रोजगारीको अवसर दिने भएकाे छ । कक्षाा  १२ पासले पनि फारम भर्न सक्नेछन् । थप यहाँ हेर्न सकिन्छ ।

नेपाल–चीनबीच चार नाकाबाट क्रस बोर्डर ट्रान्समिसन लाइन निर्माण हुने

काठमाडौं, साउन २० । चारवटा नाकाबाट नेपाल–चीनबीच क्रस–बोर्डर ट्रान्समिसन लाइन निर्माण हुने भएको छ । ऊर्जा मन्त्रालयले रसुवागढी–केरुङ, तातोपानी–खासा, कोराला–तिब्बत र किमाथान्का–चेन्ताङ नाकाबाट अन्तरदेशीय ४०० केभी ट्रान्समिसन लाइन निर्माण गर्ने भएको हो । विद्युत् आयात–निर्यातका लागि चीनसँग क्रस–बोर्डर ट्रान्समिसन लाइनका लागि दुई देशबीच समझदारीपत्र (एमओयू)को मस्यौदा चीन पठाइएको ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले बताए । नेपालका तीन मुख्य नदीहरू सप्तकोसी, सप्तगण्डकी र कर्णालीलाई मुख्य आधार मानेर क्रसबोर्डर ट्रान्समिसन लाइन निर्माण हुने भएको हो । यसका लागि मुख्य चारवटा अन्तरदेशीय प्रसारण लाइन र नेपालभित्र पनि ४०० वा २२० केभी क्षमताका ट्रान्समिसन लाइनको विकास गर्ने एमओयूको मस्यौदामा उल्लेख रहेको छ।, नयाँ पत्रिकामा खबर छ । प्रधानमन्त्री शेरबहादुर देउवाको आगामी चीन भ्रमणमा यस विषयलाई एजेन्डा बनाइने ऊर्जा मन्त्रालय स्रोतले बतायो । देउवाले भदौको पहिलो साता भारत भ्रमण गर्ने तय भइसकेको छ । सो भ्रमण सकिएको केही समयपछि देउवा चीनको भ्रमणमा जाने परराष्ट्र स्रोतले जानकारी दिएको छ । भ्रमणका अवसरमा एमओयूमा हस्ताक्षर हुने सम्भावना छ । ऊर्जा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत चीनको नेसनल इनर्जी कमिसनलाई अन्तरदेशीय ट्रान्समिसन लाइन विस्तारका लागि एमओयूको मस्यौदा पठाएको थियो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पालामा चीनसँग भएको प्रारम्भिक चरणको छलफल तथा वार्तापछि नेपाल र चीनका सरकार क्रस–बोर्डर कनेक्टिभिटीका लागि सहमत भएका थिए । दुवै देशले इनर्जी कर्पोरेसन मेकानिज्म बनाएर नियमित छलफल गर्ने भनिएको थियो । तर, यो अहिले निष्क्रियप्रायः छ ।

पासपोर्ट अध्यागमनमा, पीडितलाई पीडा थप्दै दलाललाई प्रशासनकोे सहयोग

युएइ, साउन १९ । लामो समयसम्म दलालले शारिरीक र मानसिक यातना दिदै युएईमा अलपत्र बनाइ राखिएका १९ जना मध्यै १५ जनालाई यहाँ रहेका पत्रकारहरुको सहयोगमा नेपाल फर्काउन सफल भएपनि न्याय नमिल्दा पीडित झन पीडित बनेका छन । काठमाडौको ठमेलमा रहेको अर्थलाइन ट्राभल्सले विभिन्न बहानामा अध्यागमनको सेटिङ मार्फत युएई पुर्याइ अलपत्र पारेका पीडितलाई दूतावासले चासो नदिएपछि झन्डै एक हप्ता अगाडि यहाँस्थित नेपाल पत्रकार महासघ शाखा र शाखा बाहिर रहेका पत्रकारहरुले चौतर्फी दबाब दिदै उद्दार गरि नेपाल पठाएका थिए । नेपाल पुगेकै दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रै अध्यागमनले पीडित सबैको पासपोर्ट छानबिन गर्न भन्दै जफत गरेको र हालसम्म पासपोर्ट कहाँ छ र के हुदैछ भन्ने जानकारीसम्म नदिएको पीडित मध्यका एक डोटीका राजकुमार श्रेष्ठले बताए । पासपोर्ट छानबिन गर्नुपर्छ भन्दै सबैको लियो भोलिपल्ट बोलाएर केरकार गर्यो तर दलाललाई कारबाही गर्ने कुरै गरेन पर्सीपल्ट अपराध अनुसन्धान महाशाखामा पठाइयो तर त्यहाँ त उल्टै ट्राभल्ससंग सम्झौता गर्नुस भन्यो दलाललाई कारबाही गर्न प्रमाण पुगेन रे गरिबले न्याय नपाउने रहेछन नेपालमा श्रेष्ठको गुनासो छ । पाँच दिन बितिसक्दा समेत कहि कतैबाट सहयोग नपाए पछि आफूहरु गृहमन्त्री जनार्दन शर्मालाई भेट्न बुधबार सिहदरबार गएको र त्यहाँ पनि आफ्नो समस्यालाई खासै चासो नदिएको भन्दै ट्राभल्सले तलदेखि माथीसम्म सबैलाई मिलाइ सकेको रहेछ जुन यथार्थ मिडियामा राखेका थियौ त्यो सबै नेपालका मिडियाले पनि देखाएनन । हामी गरिबका छोरा कस्ले सुन्ने हाम्रो पीडा न्याय पाउने आशा अब मर्यो अर्का पीडित दाङका पदम ओलीको गुनासो छ । यता चौतर्फी दबाब दिदा समेत नेपाली दूतावास युएई भने यसबारे मौन बस्दै दलाललाई कारबाही गर्नै नसकिने बताउदै आएको छ । गोप्य स्रोतबाट प्राप्त अडियो रेकर्डमा ट्राभल्सले युएईमा पठाएको साजन भनिने प्रेम पाण्डेले पीडितलाई धम्क्याउदै दूतावासका कर्मचारी आफ्नो भएको बताएका छन । पीडित मध्ये चार जना अबैधानिक छन जसलाई दूतावासको अनुमतिका कागजपत्र बनाइ लाइफ ब्यान्ड गरि आउने अगस्ट ९ तारिख स्वदेश फर्काइने भएको छ ।

स्वदेशी तथा विदेशी लगानी बढाउनु सरकारको प्राथमिकता : प्रधानमन्त्री

काठमाडौं, साउन १९ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा स्वदेशी तथा विदेशी लगानी बढाउनु सरकारको प्राथमिकतामा रहेको बताएका छन्। ‘राष्ट्रिय व्यवसायी पहल’द्वारा बिहीबार आयोजित दोस्रो जिम्मेवार व्यावसायिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्रीले राजनीतिसँगै मुलुकको अर्थतन्त्र पनि उत्साहजनक हुँदै गएको बताए। उनले कुल गार्हस्थ्य उत्पादन बढाउने, थप रोजगारी सिर्जना गर्ने, लगानी बढाउने सरकारको प्राथमिकतामा रहेको बताए। लगानी बढाउने सम्बन्धमा कतिपय कानून संशोधन भइसकेको र केही संशोधनको प्रक्रियामा रहेको अवगत गराउँदै प्रधानमन्त्री देउवाले भने,‘हामी लगानी बढाउन प्रशासनिक र कानूनी झन्झट हटाउने तयारीमा छौँ, लगानी गर्नेलाई आवश्यक सबै सहयोग हुन्छ।’ जिम्मेवार व्यवसाय भनेको केही नाफाको अंश सामाजिक कार्यक्रममा खर्च गर्नु हो भन्दै प्रधानमन्त्रीले जिम्मेवार व्यवसायीको प्रमुख दायित्व राज्यको नियम कानून पालना गर्नु पनि रहेको बताए। प्रधानमन्त्रीले भने,‘हामी आर्थिक वृद्धिमात्र चाहन्छौँ वा स्वच्छ समतामूलक दिगो अर्थव्यवस्था चाहन्छौँ, यस सम्बन्धमा सम्मेलनले पहल गर्ने विश्वास व्यक्त गर्छु।’ जिम्मेवार व्यवसायीले सामाजिक समस्याप्रति जिम्मेवार भई गरिबी निवारण, द्वन्द्व व्यवस्थापन, आर्थिक असमानता निराकरण, वातावरणीय असन्तुलनजस्ता मुद्दा पनि सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो। कार्यक्रममा प्रधानमन्त्री देउवाले सरकारको प्रमुख दायित्व संविधानको स्वीकार्यता बढाउनु र सफल कार्यान्वयन गर्नु रहेको उल्लेख गर्दै त्यसका लागि स्थानीय तहका दुई चरणका निर्वाचन सम्पन्न भइसकेको र अन्तिम चरणको निर्वाचन आगामी असोज २ गते हुन गइरहेको जानकारी दिए। दुई दिनसम्म चल्ने सम्मेलनमा नेपाल, भारत, चीन, सिंगापुरलगायत मुलुकका सयौँ प्रतिष्ठित व्यवसायी, विभिन्न विषयका विज्ञ, अनुसन्धानकर्ता सहभागी छन्। रासस

समाजकल्याण पुगेर मन्त्री कोइरालाले भनिन, एनजीओसँग बारगेनिंङ गर्न बन्द गर्नुस्

काठमाँडौ, साउन १८ । महिला बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइरालाले गैंरसरकारी संस्थाहरूलाई उचित नियमन नभएकोले यस सम्बन्धी आवश्यक काम गर्न निर्देशन दिएकी छन । समाजकल्याण परिषदद्वारा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कोइरालाले गैंरसरकारी संस्थाहरूलाइ राज्यको दायरामा ल्याउन प्रभावकारी अनुगमन र सहजीकरण आवश्यक भएकोमा जोड दिइन । यसका लागि परिषदले समेत आफ्नो कार्यदक्षता र कार्य सम्पादनमा परिवर्तन ल्याउन उनले निर्देशन दिइन । समाज कल्याण आफू पारदर्शी र इमानदार भए मात्र गैंर सरकारी संस्थाहरूको नियमन गर्न सक्ने बताइन । समाजकल्याण परिषदको अध्यक्ष समेत रहेकी मन्त्री कोइरालाले कर्मचारी र पदाधिकारीहरूले समाजकल्याणको पवित्र उद्देश्य अनुरूप कार्यसम्पादन गर्न नसकेको गुनासो गरिन । ‘समाजकल्याण परिषदका बारेमा बाहिर राम्रो सुनीदैन,’उनले भनिन, ‘सामाजिक क्षेत्रमा आएको सहयोगको सही नियमन हुन सकेको छैन । यसलाई तत्काल ध्यान दिन जरूरी छ ।’ प्राप्त सहयोगको सही अनुगमन गर्ने र आर्थिक प्रभावमा नपरि कार्यसम्पादन हुन सके मात्रै वास्तविक लक्षित वर्गसम्म सहयोग पुग्न सक्ने उनको जिकिर थियो । उक्त अवसरमा मन्त्री कोइरालाले छिट्टै समाज कल्याण ऐन, आचारसंहिता निर्माण गरि कार्यान्वयन गरिने जानकारी समेत दिइन । ‘सबै मिलेर समाज कल्याणको मूल मर्म अनुसार समाजमा श्रोत साधन र शक्तिबाट बञ्चित जनताका लागि केही गरौं ’-उनले भनिन ।

सोलुखुम्बुमा कार्यालय सहयोगीले पढाउनुपर्ने बाध्यता

सोलुखुम्बु, साउन १४ । जिल्लाको कर्णाली भनेर चिनिने महाकुलुङ गाउँपालिका–४ मा रहेको एक विद्यालयमा कक्षासँगै विद्यार्थी संख्याको अनुपातमा शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको छ । कक्षा ८ सम्म सञ्चालित वासुकी आधारभूत विद्यालयमा ३६२ विद्यार्थीलाई पाँच शिक्षकले पढाउनु परेको छ । हिमाली जिल्ला सोलुखुम्बुमा एक शिक्षक बराबर ३० विद्यार्थी संख्या पर्ने भए पनि यहाँ एक शिक्षकको भागमा ७२ विद्यार्थीलाई पढाउनुपर्ने बाध्यता छ । विद्यालयमा इसिडी(पूर्वबाल विकास)सहित छ जनाको दरबन्दी छ । स्थायी चार तथा राहत इसिडी र कार्यालय सहयोगी एक एक गरी सात जना हुनुपर्नेमा शिक्षक चक्रबहादुर राई सात वर्षदेखि काजमा हुनुुहुन्छ । गाउँपालिकाको सुविधासम्पन्न विद्यालयका रुपमा चिनिने वीरेन्द्रज्योति मावि, सोताङमा काज सरुवा भए पनि फिर्ता नहुँदा पठनपाठनमा थप समस्या भएको विद्यालयका प्रअ खड्गबहादुर राईले बताउनुभयो । रिड नेपालले शैक्षिक गुणस्तर वृद्धिका लागि कार्यक्रम सञ्चालन गरेसँगै जिल्लामा निरन्तर विद्यार्थी मूल्यांकन प्रणालीमा क्षमता मापन गरिन्छ । प्रअ राई भन्नुहुन्छ, “शिक्षक अभावका कारण नियमित मूल्यांकन र शिक्षण सामग्री तयार पार्न समेत चुनौती छ ।” विद्यालयमा शिक्षक दरबन्दी थप गर्न जिल्ला शिक्षा कार्यालयमा बारम्बार आग्रह गरिए पनि शिक्षा कार्यालयले चासो नदिएको प्रअ राईले गुनासो गर्नुभयो । भौगोलिक विकटताका कारण नजिकमा विद्यालय नहुँदा विद्यालय क्षेत्रका विद्यार्थीको संख्या अत्यधिक भए पनि बाध्यताले बालबच्चालाई त्यही विद्यालयमा अध्यापन गराइएको अभिभावक तारा कुलुङले बताउनुभयो । शिक्षक अभावका कारण कार्यालय सहयोगीले समेत पढाइरहेका छन् ।

सरकारी अधिकारी भन्छन: राजधानीको खाल्डा पुर्न समस्यै समस्या

काठमाडौं ,साउन १४ ।  उपत्यकाका सडकका खाल्डा पुर्ने कार्यमा खानेपानीका पाइप अवरोध बनेका छन् । सडकमा खानेपानीका पाइप फुटेका कारण काममा बाधा परेको खाल्डा पुर्ने जिम्मा पाएका उच्च सरकारी अधिकारी बताउँछन् । ‘खानेपानी पाइप नभएका स्थानका खाल्डा लगभग पुरिएका छन्’, प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरेले भने, ‘कतिपय मुख्य सडकखण्डका पाइप फुटेकै कारण काम गर्न कठिन भएको अनुगमनबाट थाहा पायौं ।’ उनले शुक्रबार पनि मुख्य सडकखण्डमा पुगेर खाल्डा अनुगमन गरेको बताए,अाजको नागरिकमा खबर छ ।

‘जोवन ढल्काउने’ समाचारले माओवादीमा बबाल, आरोप प्रत्यारोपको बाढी

काठमाडौं, साउन ७ । नेकपा माओवादी केन्द्रका केही नेताहरुका बारेमा प्रकाशित समाचारले पार्टीभित्र ठूलो हलचल मच्चाएको छ । पार्टीका जिल्ला इन्चार्जसहितले रिपोर्टिङ गर्ने सचिवालयको बिस्तारित बैठकमा अध्यक्ष प्रचण्डले ‘जोवन ढल्काउने गरी बसेर पार्टी र संगठन बन्दैन’ भन्ने अभिव्यक्तिमाथि प्रकाशित समाचारलाई लिएर विवाद शुरु भएको हो । एक समाचार अनलाईनमा पार्टीका १२ जना नेताको नाम उल्लेख सहित ‘माखो नमार्ने र पार्टी सिध्याउने’ आरोप लगाउँदै समाचार प्रकाशन भएपछि यसले पार्टीभित्र आरोप प्रत्यारोप शुरु भएको हो । निर्वाचनको समीक्षा र आगामी रणनीति तय गर्ने विषयमा गत सोमबारदेखि चलिरहेको माओवादी सचिवालयको विस्तारित बैठकमा नेताहरुका विषयमा समाचार प्रकाशन भएपछि केही नेताहरुले अध्यक्ष प्रचण्डलाई नै निशाना बनाउँदै सार्वजनिक अभिव्यक्ति दिएपछि यो विषयमा झनै विवाद बढेको छ । बैठकको उद्घाटन मन्तव्यका क्रममा प्रचण्डले पार्टीभित्र गुटैगुट देखिएकोमा बताउँदै गुटहरुको विघटन गरी जनताको पार्टी बनाउन आव्हान गरेका थिए । प्रचण्डले पार्टी जनतासम्म जान नसकेको बरु गुटहरु मौलाएकोमा असन्तुष्टि व्यक्त गरेका थिए । सोही अभिव्यक्तिलाई आधार बनाएर अनलाइनले केही नेताहरुको नाम उल्लेख गर्दै “को को हुन प्रचण्डले भनेका जोवन ढल्काउने माओवादी नेता, १२ नेताको रामकहानी’ भन्ने शीर्षकमा समाचार प्रकाशन गरेको थियो । यद्यपी प्रचण्डले भने कुनै नेतालाई लक्षित नगरी पार्टीभित्रको प्रवृत्तिको आलोचना गरेका थिए । पार्टी र जनताबीचको सम्बन्ध टुटेको अवस्थामा समूह र गुट बनाएर नहुने बरु सबै नेता युद्दकालको जस्तो सक्रिय भएर जनतामाझ जानुपर्ने उनको आशय थियो । बैठक चलिरहेकै बेला एक अन्य अनलाईनमा समेत “माओवादीभित्र गुट चलाएर पार्टीलाई विघटनको खतरामा पु¥याउने को को हुन ?” भन्ने शीर्षकमा अर्को समाचार समेत प्रकाशन भएको थियो । उक्त समाचारमा समेत पार्टीका केही नेताहरुको नाम उल्लेख गरेर उनीहरुले गुट चलाएको उल्लेख गरिएको थियो । समाचार प्रकाशन भएपछि विगतमा पार्टीसँग असन्तुष्टि राखेर काभ्रेमा कालो धानको उत्पादनमा लागेका नेता लोकेन्द्र विष्टले उक्त समाचार प्रचण्डकै इशारामा लेखिएको आशयको स्टाटस आफ्नो फेसबुकमा लेखे । एकीकृत माओवादी र नेकपा माओवादीबीच एकतापछि संगठनमा सक्रिय देखिएका विष्टले ‘महाराज’ भन्ने शब्द उल्लेख गर्दै अध्यक्ष प्रचण्डलाई नै संकेत गरेर सार्वजनिक अभिव्यक्ति दिएपछि यो विषय तरंगित बनेको हो । नेता लोेकेन्द्र विष्टले सामाजिक सञ्जालमा “महाराज, यहाँकै वरिपरीबाट यहाँको र संस्थाको सारा कामकाज चौपट भइरहेछ÷हुने भो, अरुलाई दोष दिनु नर्क गएर आची तुरी हसुर्न नै हो” लेखेका थिए । लगत्तै माओवादी नेतृ सत्या पहाडीले समेत नेता शक्ति बस्नेतको समेत समाचारमा नाम उल्लेख भएपछि प्रतिक्रिया लेखिन । पहाडीले भने महाशय भनेर सम्बोधन गर्दै कर्णालीले सधैं केन्द्रको उपनिवेश नसहने आसयको अभिव्यक्ति सार्वजनिक गरेकी थिइन । विष्टले लगातार दुई अभिव्यक्ति सार्वजनिक गरेपछि प्रचण्ड सचिवालयले त्यसको खण्डन गरेको छ । सचिवालयका प्रेस संयोजक मनहरी तिमिल्सिनाले विष्टलाई लक्षित गर्दै प्रत्युत्तरमा लेखेका छन्– आफ्नो व्यक्तिगत आग्रह र द्वेषकै आधारमा ‘जोवान ढल्काउने १२ माओवादी नेता’ शीर्षकमा प्रकाशित समाचारबारे कसैमाथि अनुमानित र नियोजित आरोप लगाउनु शोभनीय हुँदैन। कसैका बारेमा कुनै कुरा भन्नू नै छ भने खुलेखाम छलफल गरिन्छ, त्यहाँ कुनै लिपापोती जरुरी छैन। सबैका गुण(दोष अवश्य छन्। तर, माओवादी आन्दोलनक, नेतृत्व र सम्पूर्ण नेताहरुप्रति हिजो पनि उच्च सम्मान थियो, आज पनि छ र भोलि पनि हुनेछ। तसर्थ, व्यक्तिगत आग्रग्रहका आधारमा कुनै एक नेताले लगाएको आरोपबाट भ्रमित नहुन सम्पूर्णमा अनुरोध छ। यो सँगै सामाजिक सञ्जालमा यो विषयमा चर्चा र टिप्पणीहरुको बाढी लागेको हो । सामाजिक सञ्जालमा ‘प्रचण्डले साँच्चिकै जनताको पार्टी बनाउन गुटहरु भत्काउन आव्हान गर्नु र लगत्तै सोही विषयमा केही नेताको नामसहित समाचार प्रकाशन हुनुलाई जोडेर पार्टी नेतृत्वमाथि नै आक्षेप लगाउन गलत भएको’ केहीले टिप्पणी गरेका छन् । कतिपयले भने पार्टीभित्र अराजकता मौलाएको र अराजकता रोक्न अध्यक्षले निष्क्रियतालाई चिनुपर्ने बताउँदा त्यसबाट तिल्मिलाउनु आवश्यक नभएको लेखेका छन् । केहीले पार्टीभित्र सबै नेताको यो वा त्योरुपमा कमजोरी भएपनि समाचारमा १२ जना नेताको मात्रै नाम उल्लेख गरिनु नियोजित भएको समेत टिप्पणी गरेका छन् । १२ जनामध्ये लोकेन्द्र विष्ट भने यसअघि पनि आलोचनामा पर्दै आएका नेता हुन । माओवादीका एकजना पोलिटब्यूरो सदस्य भने पार्टी अध्यक्षलाई नियोजित तरिकाले विवादमा ल्याउन उक्त समाचार र त्यसको बिरोध भइरहेको दावी गर्छन् । नाम उल्लेख नगर्ने शर्तमा उनले भने, “अध्यक्षलाई एकलरुपमा कुनै व्यक्तिको बिरोध गर्नुपर्ने आवश्यकता छैन । उनले प्रवृत्ति लक्षित गरेका हुन । अध्यक्षलाई यसमा मुछिनु आफ्ना कमजोरी लुकाउनु मात्रै हो । हिजो बाबुराम, किरणहरुसँग त्यति ठूलो संघर्ष चल्दा त वहाँ व्यक्तिगत आलोचनामा उत्रिनु भएन, अहिले त झन..” प्रदेश नं. ७ बाट कार्यक्रममा भाग लिन आएका एकजना जिल्ला इन्चार्ज भने प्रचण्डले जोवन ढल्काउन गरेको कुरा तीतो यथार्थ भएको बताउँछन् । “त्यहाँ १२ जना मात्रै होइन, ५० जनाको नाम लेखिनुपथ्र्यो” उनी भन्छन्, “दोश्रो चरणको निर्वाचनमा भाषण गर्ने नेता नपाउनुको पीडा हामीले भोगेका छौं । कहाँ हराएका थिए त्यतिबेला अध्यक्षको आलोचना गर्ने यी नेता ?” आक्रोश पोख्दै उनले भने । सात नम्बर प्रदेशका केही पहाडी जिल्लामा लिलामणी पोखरेल मात्रै दुइचार दिनका लागि गएको उनले बताए । “केन्द्रमा पटकपटक सहयोगका लागि अनुरोध ग¥यौं, तर न सेती महाकालीमा कालो धान फलेन, न राता स्याउ नै ।” उनले नेता विष्टप्रति संकेत गर्दै भने, “जहिले पनि सुदूरपश्चिम या कर्णाली भनेर बार्गेनिङ गरेर हुन्छ ? हिजो टाउकोमा कफन बाँध्दा कर्णाली या सुदूर भने बाँधिएको थियो र ?” सामाजिक सञ्जालमा टिप्पणीहरुको ओइरोबीच केहीले सन्तुलित प्रतिक्रिया समेत दिएका छन् । पार्टीभित्रका समस्या पार्टीभित्रै समाधान हुनुपर्ने र फरक विचार भए पनि अन्तर्पार्टी जनवादको अभ्यास गरिनुपर्नेमा सार्वजनिक आरोप प्रत्यारोपले पार्टीलाई हानी हुने आशयका टिप्पणीहरु समेत देखिन्छन् । कतिपयले यसप्रकारका समाचार प्रकाशन हुने अवस्थाको अन्त्य गर्न समेत गुटहरु भत्किएर सबै नेता सक्रियरुपमा पार्टी निर्माणमा लाग्नुपर्ने सुझाव दिएका छन् । एक फेसबुक प्रयोगकर्ताले लेखेका छन्, “यस्तो समाचार आउने अवस्था तपाई हामीले नै सिर्जना गरेको होइन र ? एमालेलाई हेर्नुस्त, कुन चैं नेताले अर्को नेताको यसरी बिरोध गरेका छन् ? सिक्नुपर्दैन ? फेसबुक छ भन्दैमा मुख आयो लेख्दिने ?” पार्टीभित्रको यो बहस अहिले बैठकमा समेत प्रवेश गरेको छ । पार्टीका शीर्ष नेताहरुले भने यसप्रकारको बहस अनावश्यक भएको बताएका छन् । केही दिन पार्टी प्रवक्ता पम्फा भुसालबारे समाचार प्रकाशित हुनु र अहिले जोवन ढल्काउने विषयमा समाचार र त्यसमाथि नेताहरुले सार्वजनिक गरिरहेका अभिव्यक्ति अराजकताको पराकाष्ठा भएको उनीहरुको ठहर छ ।