तीन नगरपालिकासहित छ वटै स्थानीय तहमा माओवादीको उम्मेदवार टुङ्गो

काठमाडौं, बैशाख ११ । रुकुमको मुसिकोटमा आज एक मिनिबस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

सदरमुकाम मुसिकोटबाट नुवाकोटतिर जाँदै गरेको ग१ख ४२४५ नम्बरको सो मिनिबस मुसिकोट–९ बोहोरा गाउँमा दुर्घटना भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् ।

घाइतेमध्ये पाँचको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।

व्यापारी हमालले गरे उम्मेदवारी घोषणा

धनगढी, वैशाख ८ । सात नं प्रदेशको एकमात्र उपमहानगर धनगढीमा उपमहानगरपालिकाको प्रमुखमा यहाँको उद्योगी एवम् व्यापारी गोपाल हमालले आफ्नो स्वतन्त्र उम्मेदावरी घोषणा गरेका छन् । कैलाली उद्योग वाणिज्य सङ्घ पूर्व अध्यक्षसमेत रहेका हमालले आज आयोजित सभामा धनगढीबाट विकास र समृद्धिको अभियान सुरु गर्न आफूले सो उपमहानगरको प्रमुखमा उम्मेदवारी घोषणा गरेको बताए । धनगढी उपमहानगरको प्रमुखमा औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गर्ने हमाल पहिलो व्यक्ति हुन् । उपमहानगरको प्रमुख र उप प्रमुखमा नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट उठाउने उम्मेदावारको टुङ्गो लगाइसकेको छ । सो पार्टीले प्रमुखमा रामसमझ राना र उप प्रमुखमा शान्ति अधिकारी क्षेत्रीलाई उठाउने तय गरिसकेको छ । नेपाली काँग्रेस, नेकपा एमाले राप्रपा नेकपा माले लगायतका दलले उपमहानगरको प्रमुख उप प्रमुखमा कसलाई उठाउने भन्ने टुङ्गो अझै लगाउन सकेका छैनन् । साविक सुदूरपश्चिमको मुख्य व्यापारिक केन्द्र रहेको र गएको संविधान सभाको निर्वाचनमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको विजयी क्षेत्र भएकोले पनि यो उपमहानगरको निर्वाचनलाई दलहरुले आ–आफ्नो प्रतिष्ठाको विषय बनाउने अनुमान सबैको छ ।

अब नेपाली युवा रोजगारीका लागि विदेश जानै पर्दैन : मन्त्री जोशी

काठमाडौं, वैशाख ७ । औद्योगिक क्षेत्रमा विदेशी लगानी आकर्षित गरी १० वर्षभित्र उद्योग क्षेत्रबाट १० लाख व्यक्तिका लागि रोजगारी सिर्जना गर्ने महत्वाकाङ्क्षी योजना उद्योग मन्त्रालयले सार्वजनिक गरेको छ । मन्त्रालयले विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिसँग बिहीबार आयोजना गरेको छलफलमा स्वदेशभित्र रोजगारीका विविध अवसर जुटाउन सो योजना सार्वजनिक गरेको हो । दश वर्षभित्र नेपाली युवा रोजगारीका लागि विदेश जानै नपर्ने गरी स्वदेशमै रोजगारी बढाउन एउटा स्थानीय तहमा कम्तीमा एउटा उद्योग स्थापना गर्ने गरी तयारीका साथ योजना बनाइएको उद्योगमन्त्री नवीन्द्रराज जोशीले बताए । “साना उद्योगको विकासले रोजगारी बढाउन सहयोग पुग्छ, ठूला उद्योगले रोजगारी सिर्जनाका साथै देशको आर्थिक विकासमा योगदान गर्छ, संविधान निर्माण भएपछि नेपालमा शान्ति स्थापना भएकाले लगानीको वातावरण बनेको छ, यो वातावरणमा लगानी गर्न हामी सबै मित्रराष्ट्रलाई आग्रह गर्छौं” उनले भने । लगानीकर्तालाई कानुनी रुपमा कुनै समस्या नहुने गरी नीति निर्माण गर्ने प्रतिबद्धता पनि मन्त्री जोशीले व्यक्त गरे । छलफलमा नेपालस्थित जापानी राजदूत मासासी ओगावा, फिनल्यान्डका राजदूत योर्मा सुमान्तो, ब्राजिलका राजदूत मारिया टेरेसा मेस्कुटा पेसोआ, संयुक्त अरब इमिरेट्सका राजदूत सइद हमदान अल नाक्बीलगायत अमेरिका, संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी), युरोपियन युनियन, हबिब बैंक र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का प्रतिनिधिले लगानीको वातावरण बनाउन सरकारले जग्गा प्राप्तिलाई सहज बनाउनुपर्ने, लगानीका लागि सरकारका विभिन्न निकायमा धाउनुपर्ने झन्झटलाई औद्योगिक ऐनमा भएको व्यवस्थाअनुरुप एकल विन्दु सेवाको स्थापना गरिनुपर्नेमा जोड दिए । मन्त्रालयका सचिव शङ्करप्रसाद कोइराला, सहसचिव प्रदीप कोइराला र प्रवक्ता पुरुषोत्तम नेपालले लगानीका लागि नीतगत, कार्यक्रमगत र कार्यविधिगत सुधार गर्न सुझाव सङ्कलन गर्ने उद्देश्यले नेपालमा लगानी र औद्योगिक वातावरण बनाउन कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

‘सायद २’ को ट्रेलर सार्वजनिक

काठमाडौं, वैशाख २ । बहुप्रतिक्षित नेपाली चलचित्र ‘सायद २’ को ट्रेलर सार्वजनिक गरिएको छ । नयाँ वर्षको अवसरमा ‘न्यु ईयर ईभ’ म्युजिकल नाईट कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक कार्यक्रमा चलचित्रमा सबै कलाकार तथा निर्माता सुनिल रावलको उपस्थिति रहेको थियो । कार्यक्रममा निर्माता सुनिल रावलले आफ्नो यस अघिको चलचित्र भन्दा यो चलचित्र अझै राम्रो बनेको बताए । चलचित्रका कलाकारहरुले चलचित्र निकै राम्रो बनेको भन्दै चलचित्रमा समावेश आफ आफ्नो डैलोग समेत सुनाएका थिए । ईण्टरनेसनल क्लब, सानेपामा सम्पन्न सो कार्यक्रममा दर्शकले चलचित्रको ट्रेलर हेरेपछि ट्रेलर निकै राम्रो बनेको भन्दै चलचित्र हेर्ने समेत बताएका छन् । कार्यक्रममा उपस्थिति दर्शकले ट्रेलर हेरी सके पछि ‘ओनस मोर’ भनेर हुटिंग गरेपछि ट्रेलर पुनः देखाएको छ । दुर्गिश फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्र ‘सायद २’लाई पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन् । आगामी असार ३० गते प्रदर्शन मिति तय भएको फिल्म “सायद २” को मुख्य भूमिकामा शुशिल श्रेष्ठ, निशा कार्की, स्यारोन श्रेष्ठ, अमृत ढुङ्गाना, कुशल पाण्डे तथा निर्माता सुनिल रावलको समेत अभिनय रहेको छ । नेपाली चलचित्रमा ईश्वर श्रेष्ठ र सुवास लामिछाने निर्माता तथा हेमदेव गौतम र कृष्ण प्रधान सह–निर्माताको रुपमा रहेका छन् । निर्माता सुनिल रावलले यसअघि ‘सायद’, ‘होस्टल’ र ‘होस्टल रिर्टन्स’ जस्ता सुपर हिट चलचित्र निर्माण गरिसकेका छन् ।

धनगढीमा चुनावको रन्को, यी हुन चुनावी मैदानका खेलाडी

लोकेश धामी धनगढी, चैत १८ । स्थानीय तहको मिती नजिकिएसँगै कैलालीमा चुनावको माहौल तातेको छ । हिजोआज हरेक गाँउपालिका र नगरपालिका तथा उप–महानगरपालिका निर्वाचनमय भएका छन् । पदका आकांक्षीहरु टिकटका लागि नेतासँग नियमित सम्पर्कमासमेत रहेका छन् । ७ नम्बर प्रदेशका लागि अत्यन्त महत्व राख्ने धनगढीको नगरप्रमुख र उप–प्रमुख आकाङ्क्षीहरु आफू निकट नेतासँग चर्को दौडधुप र लविङमा व्यस्त भएका छन् । झण्डै २ दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा स्थान पक्का गर्न उम्मेदवारका आकाङ्क्षीहरु कसरतमा लागेका हुन् । धनगढी ७ नम्बर प्रदेशको अघोषित प्रान्तिय राजधानी हो । यसका लागि मेयर हुने व्यक्ति प्रदेशकै प्रभावशाली मेयर हुनेछ । त्यसैले पनि सम्पूर्ण पार्टीको ध्यान र उद्देश्य एउटै छ, जसरी पनि धनगढी कब्जा गर्ने । कांग्रेसबाट मेयरका लागि सम्भावित उम्मेदवार को को छन्ः नगर सभापति नृप वड, जिल्ला पार्टी सभापति नरनारायण शाह मनु, कृष्ण महरा, पूर्व मेयर स्वर्गीय किशोर बमकी पत्नी रीता भण्डारी र हरीश खड्काको नाम चर्चामा छ । एमालेबाट मेयरका लागि सम्भावित उम्मेदवारः पूर्व सभासद एबम् बैकल्पिक केन्द्रिय सदस्य नारदमुनी राना, एमाले पार्टीका जिल्ला सचिव रण बहादुर चन्द, प्रचार प्रसार विभाग सदस्य दुर्गा प्रसाद जोशी, केन्द्रिय सल्लाहाकार दीपक देवकोटा, एमालेका युवा नेता जीवन बमसँगै पुराना नेता नन्दलाल जोशीको नाम पनि चर्चामा छ । उपमेयरमा एमालेका तर्फबाट रुक्मणी देवकोटा, कलावती जोशी, मिना बिक, सुशिला बुढाथोकी, छाया थापाको नाम चर्चामा छ । माओबादी केन्द्रबाट मेयरका लागि सम्भावित उम्मेदवारः केन्द्रिय सदस्य एवम् दुई पटक समानुपातिक उम्मेदवार रामसमझ राना, पार्टीको नगर अध्यक्ष निर्मल शाह, केन्द्रिय सदस्य राधाकृष्ण अधिकारी, केन्द्रिय सदस्य तिलक बहादुर सिंह, केन्द्रिय सल्लाहकार डिल्लीराज खड्काको नाम चर्चामा रहेको छ । माओवादीबाट उपमेयरको संभावित उम्मेदवारका रुपमा सीता पन्त, प्रेमकला सुनार, राधा मिश्र, खगेश्वरी जोशीको नाम बाहिर आएको छ । राप्रपामा दावेदार तीन जना उम्मेदवारः राप्रपाबाट मेयरका आकाँक्षी पुर्व केन्द्रिय सदस्य राजेश भण्डारी, नगर अध्यक्ष रोम स्वाँर, र पूर्व केन्द्रिय सदस्य पुष्कर भट्ट पनि दावेदारका रुपमा देखिएका छन् । यस्तै राप्रपा नेपालबाट उपमेयरमा जनक कुँवरको दावेदारी रहेको बताईएको छ । धनगढी नगरको चुनावी इतिहास हेर्दा २०४९ मा नेपाली कांग्रेसले जितेको थियो भने ०५४ मा एमालेले जित्यो । अहिले गाभिएका गाविसमध्ये फुलवारीमा एमालेको प्रभाव छ भने अन्यमा काँग्रेस र माओबादी केन्द्र बलियो छ । यद्यपि, धनगढीमा अन्य दलको तुलनामा कमजोर रहेको राप्रपा नेपालको उर्मामा बलियो उपस्थिति छ । धनगढी उपमहानगरपालिकाको चुनावमा मुख्य प्रतिस्पर्धा कांग्रेस, एमाले र माओवादी केन्द्रबीच हुने देखिएको छ । तर, राप्रपाको पनि पछिल्ले पटक अवस्था सुधारिदै गएको देखिन्छ ।

कहिले बन्छ नयाँ धरहरा ?

 काठमाडौँ, चैत १८ । पूरातत्व विभागले धरहराको पुनःनिर्माणका लागि करिब रु दुई अर्ब ८० करोडको लागत अनुमानको अध्ययन गरेको छ । विभागले नयाँ धरहराको नक्साङकन, डिजाइन र अनुमानित लागत तय गरेपछि त्यसको निर्माण सम्पन्न गर्दा सम्मको लागत अनुमान गरिएको हो । अध्ययन प्रतिवेदनअनुसार करिब ४२ रोपनी क्षेत्रफलमा फैलिएको स्थानमा निर्माण गरिने धरहरा दुईसय ४५ फिट अग्लो हुनेछ । घुम्न आउने स्वदेशी तथा विदेशीका लागि मनोरम बगैँचा तथा अन्डरग्राउन्ड पार्किङको समेत व्यवस्था गरिने भएको छ । विभागले अब बन्ने धरहरालाई पछिल्लो समय विकसित भएका प्रविधिको समेत अत्यधिक उपयोग गरी बलियो बनाउने विषयमा पनि अध्ययन गरिरहेको थियो । गतवर्ष २०७२ बैशाखको भूकम्पका कारण क्षतिग्रस्त सो सम्पदाको संरचना अहिलेको अवस्थामा कस्तो हुनुपर्ने भनेर विभागले गरेको अध्ययनमा आधुनिक सामग्रीको उपयोग गरी पुरानै शैलीमा विकास गरिने निस्कर्ष निकालिएको छ । विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार सो अध्ययन प्रतिवेदन एक साताभित्र नेपाल टेलिकमलाई हस्तान्तरण गरिनेछ, सोही प्रतिवेदनका आधारमा उक्त सम्पदा सो संस्थाले निर्माण गरिदिनेछ । टेलिकमले धरहरा पुनःनिर्माण गर्ने प्रतिबद्धता गरेलगत्तै विभागले त्यसको अध्ययन सुरु गरेको थियो । टेलिकमले सोही रकमको परिधिभित्र रही निर्माण तथा खर्च गर्नुपर्ने हुन्छ । सोही भूकम्पमा काठमाडौँ उपत्यकाका अन्य विभिन्न महत्वपूर्ण सम्पदामा समेत क्षति भएको थियो । रासस

चितुवाको आक्रमणबाट मोरङमा दुई घाइते

पथरी (मोरङ),  चैत १८ । मोरङको पथरी शनिश्चरे–५ मा बिहीबार बेलुका चितुवाको आक्रमणबाट दुईजना घाइते भएका छन् । घाइते हुनेमा पथरी शनिश्चरे–५ का ३५ वर्षीय अनिल धिमाल र सोही ठाउँका २२ वर्षीय पवन ऋषिदेव हुनुहुन्छ । साँझ ५ बजेतिर स्थानीयवासी योगेन्द्र थापाले लगाएको टिकको नर्सरी बारीमा काम गर्दै गरेका अनिललाई चितुवाले आक्रमण गरेपछि हेर्न भनी जानुभएका पवनलाई समेत आक्रमण गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीको भनाइ छ । उहाँहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीको भनाइ छ । रासस

संसद्मै जाँदैनन् पहुँचवाला सांसद

काठमाडौं, चैत १७  ।  व्यवस्थापिका–संसद्का विभिन्न बैठकमा राजनीतिक दलका जिम्मेवार नेताहरू लामो समयसम्म अनुपस्थित भएको पाइएको छ । लगातार १० वटाभन्दा बढी बैठकमा अनुपस्थित हुने नेताको संख्या बढ्दै गएको संसद् सचिवालयको रेकर्डले देखाएको छ । २१ वैशाख २०७३ मा सुरु भएको बजेट अधिवेशन अझै जारी छ । यस अवधिमा १ सय १५ सांसद लगातार १० वटाभन्दा बढी बैठकमा अनुपस्थित छन् । उपचारको समयमा संसद्लाई जानकारी गराएको भए पनि अन्य कारणमा भने संसद्लाई जानकारी नदिएको संसद् सचिवालय स्रोतको भनाइ छ । सांसदहरू विनासूचना जिल्ला भ्रमण, विदेश भ्रमण, घरायसी र पार्टी कामलगायतका कारण देखाई संसद् बैठकमा अनुपस्थित हुँदै आएका छन् । संविधानको धारा ८९ को (घ) मा सदनलाई सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित भएमा संसद्का सदस्यको स्थान रिक्त हुने व्यवस्था छ । तर, संसद् सचिवालयले संविधानको यस व्यवस्थाअनुसार काम–कारबाही चलाएको छैन । सभामुख ओनसरी घर्ती मगरले संसद्मा यसबारे कुनै सूचना अहिलेसम्म सुनाएकी छैनन् । संसद् बैठकमा धेरैपटक कोरम नपुुगेर बैठक स्थगित गरी अर्को दिनको बैठकमा महत्वपूर्ण निर्णय गर्नुपरेको छ । पछिल्लो समय शीर्ष नेताको अनुपस्थितिले बिस्तारै संसद्को ‘भ्यालु’ कम हुँदै गइरहेको छ । बैठकमा लगातार १० पटकभन्दा बढी अनुपस्थित हुनेमा कांग्रेस सभापति शेरबहादुर देउवाको पनि नाम रहेको छ । उनी ११ साउन २०७३ देखि १६ भदौ २०७३ सम्म ११ वटा बैठकमा अनुपस्थित देखिएका छन् । कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेल पनि २१ वैशाख २०७३ देखि १३ जेठ २०७३ सम्म ११ वटा बैठकमा अनुपस्थित भएको संसद् सचिवालयको रेकर्डले देखाएको छन् । उपप्रधानमन्त्रीसमेत रहेका राप्रपा अध्यक्ष कमल थापा १३ भदौ २०७३ देखि १३ असोज २०७३ सम्म ११ वटा बैठकमा अनुपस्थित देखिएका छन् । यस्तै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव २३ वैशाख २०७३ देखि १४ असार ०७३ सम्म २४ वटा बैठक तथा ११ साउन २०७३ देखि १६ भदौ ११ बैठकमा अनुपस्थित देखिएका छन् । काँग्रेस महामन्त्री डा. शशांक कोइराला पनि २३ भदौ देखि ३० असोजसम्म ११ वटा बैठकमा तथा ५ असार २०७३ देखि १६ भदौ २०७३ सम्म ३० वटा बैठकमा अनुपस्थित देखिन्छन् । कोइराला केही समय बिरामी भएर स्वास्थ्य उपचार गराएका थिए । कांग्रेसकै नेता डा. रामशरण महत २१ वैशाख २०७३ देखि ३१ वैशाख २०७३ सम्म १० वटा बैठकमा अनुपस्थित देखिएका छन् । कांग्रेस नेता डा. शेखर कोइराला पनि १३ वटा बैठकमा अनुपस्थित देखिएका छन् । ६ असार २०७३ देखि २२ असार २०७३ सम्म उनी अनुपस्थित भएका थिए । यस्तै, मन्त्रीसमेत रहेका राप्रपा नेता दीपक बोहोरा १२ असार २०७३ देखि २५ असार २०७३ सम्म ११ वटा बैठक र ३० साउन २०७३ देखि २७ भदौ २०७३ सम्म ११ वटा बैठकमा अनुपस्थित छन् । राप्रपाकै सुशीलकुमार श्रेष्ठ २६ पुसदेखि २५ माघ २०७३ सम्म ११ बैठकमा अनुपस्थित छन् । कांग्रेस सांसद डा. आरजु देउवा पनि २१ वैशाख २०७३ देखि २५ असार २०७३ सम्म ३५ वटा बैठकमा अनुपस्थित छन् । एमालेका चन्द्रबहादुर गुरुङ ६ असार २०७३ देखि २२ असार २०७३ सम्म अनुपस्थित रहेका छन् । माओवादी केन्द्रकी तेजकुमारी पौडेल २९ वैशाख २०७३ देखि २५ असार २०७३ सम्म २८ वटा बैठकमा अनुपस्थित छन् । नेपाल परिवार दलका नेता एकनाथ ढकाल २८ वटा बैठकमा अनुपस्थित छन् । उनी ९ असोज २०७३ देखि २० पुस २०७३ सम्म अनुपस्थित रहेका हुन् । सुशासन समितिका सभापति मोहनसिंह राठौर स्वयं २५ मंसिरदेखि १९ पुससम्म लगातार ११ पटकसम्म अनुपस्थित छन् । कांग्रेस सांसद तारिणिदत्त चटौत १८ मंसिरदेखि १८ पुससम्म १३ बैठकमा र ११ असोजदेखि ३० कात्तिकसम्म १३ बैठकमा अनुपस्थित भएका छन् । कांग्रेसकै प्रदीप गिरी २१ वैशाख २०७३ देखि ३१ वैशाख २०७३ सम्म लगातार अनुपस्थित छन् । एमाले सांसद राज्य लक्ष्मी गोल्छा २४ वैशाख २०७३ देखि ८ साउनसम्म ३४ वटा बैठकमा अनुपस्थित भएकी छन् भने ११ साउनदेखि १६ भदौसम्म ११ बैठकमा अनुपस्थित देखिन्छिन् । तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव २४ वैशाख २०७३ देखि २८ जेठ २०७३ सम्म १५ बैठकमा अनुपस्थित छन् । यादव २४ साउनदेखि ३० असोजसम्मका २० बैठकमा पनि अनुपस्थित नै छन् । यस्तै, तराई–मधेस लोकतान्त्रिक पार्टीका सर्वेन्द्रनाथ शुक्ला १५ जेठ २०७३ देखि १२ असार २०७३ सम्म १३ बैठकमा अनुपस्थित छन् । तराई मधेस लोकतान्त्रिक पार्टीका विजयकुमार सिंह ६ असारदेखि ३१ असारसम्म १५ बैठकमा अनुपस्थित छन् । एमाले सांसद महिन लिम्बू १२ जेठ २०७३ देखि १६ भदौ २०७३ सम्म १७ बैठकमा अनुपस्थित छन् । एमालेकै गौरा प्रसाईं कोइराला १८ असार २०७३ देखि १८ असोज २०७३ सम्म ३१ बैठकमा अनुपस्थित देखिएकी छन् । फोरम लोकतान्त्रिक सांसद आशा चतुर्वेदी १७ साउन २०७३ देखि १६ भदौ २०७३ सम्म १० बैठकमा अनुपस्थित छन् । संघीय समाजवादी पार्टीकी काशी अली सिद्धिकी २९ वैशाखदेखि २१ जेठ २०७३ र १२ असारदेखि २९ असार २०७३ सम्म ११ बैठकमा अनुपस्थित छन् । एमाले सांसद गौरीकुमारी ओली २० भदौ २०७३ देखि ३० असोज २०७३ सम्म १२ बैठकमा अनुपस्थित छन् । स्वतन्त्र सांसद चन्द्रेश्वर झा ३१ वैशाख २०७३ देखि २९ असार २०७३ सम्म अनुपस्थित छन् । संघीय समाजवादी फोरम नेपालकी छाया शर्मा पन्त १८ जेठ २०७३ देखि १० असार २०७३ सम्म १० बैठकमा अनुपस्थित छन् । तर, उनीहरूमाथि कुनै कारबाही अघि बढेको छैन । यो खबर आजको राजधानी दैनिकमा छ ।

राजनीतिक र प्रशासनिक कारणले महासङ्घको चुनाव रोकियो

रोल्पा, चैत १६। नेपाल पत्रकार महासङ्घ रोल्पाको यही चैत ११ गते हुने भनिएको चुनाव राजनीतिक र प्रशासनिक कारण रोकिएको खुलासा भएको छ । नेपाल पत्रकार महासङ्घको ६२ औं स्थापना दिवसका अवसरमा रोल्पाको लिबाङमा आयोजित स्थानीय तहको निर्वाचनमा मिडियाको भूमिका विषयक अन्तक्र्रिया तथा चियापान कार्यक्रममा बोल्ने वक्ताहरूले यस्तो खुलासा गरेका हुन् । महासङ्घ जिल्ला शाखाका अध्यक्ष महेश न्यौपानेले यही चैत ११ गते सम्पन्न गर्ने भनिएको चुनावका लागि केन्द्रले केन्द्रीय प्रतिनिधि खटाइसकेको र अन्य जिल्लामा अधिवेशन भइरहेकै अवस्थामा चैत ७ गते प्रशासन र राजनीतिक दलका हस्तक्षेपका कारण चुनाव नगर्न दबाब आएको खुलासा गरेका छन् । जसका कारण रोल्पामा पत्रकार महासङ्घको चुनाव सम्पन्न हुन नसकेको उनले बताए । नेपाल पत्रकार महासङ्घ रोल्पाका संस्थापक अध्यक्ष काशिराम डाँगीले महासङ्घको चुनाव रोकिनुको पछाडि राजनीतिक दल र प्रशासनको हस्तक्षेप हुनु राम्रो नभएको विचार व्यक्त गरे । प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईका अनुसार निर्वाचनको आचार संहिताको कारणले पत्रकार महासङ्घको चुनाव गराउन नमिल्ने भएको हुँदा चुनाव रोकिएको बताए ।

काँग्रेस नेता हत्याको विरोधमा राजधानीमा प्रदर्शन

काठमाडौं, चैत १६ । जाजरकोटका नेपाल कांग्रेसका युवा नेता मारिएको विरोधमा राजधानीमा प्रदर्शन गरिएको छ । भेरीमालिका–३, जाजरकोटका काँग्रेसका युवा नेता रवीन्द्र शाहको हत्याको विरोधमा नेविसंघले उक्त प्रदर्शन गरेको हो । बुधबार बसेको नेविसंघको आकस्मिक बैठकले शाहको हत्याको विरोधमा प्रर्दशन गर्ने निर्णय गरेको थियो । त्रिचन्द्र कलेज अगाडि नेविसंघ नेता कार्यकर्ताले प्रदर्शन गरेका हुन्। मंगलबार राति शाहको जिल्ला सदरमुकामस्थित अस्पताल नजिकै अज्ञात समूहले ढुङ्गा प्रहार गरी हत्या गरेका थिए । हत्या कसले र किन ग¥यो भन्नेबारे अझै खुलेको छैन । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Live नेपाल र फिलिपिन्सबीचको फुटबल

काठमाडौं, चैत १५ । एफएससी एसियन कप क्वालिफायर फुटबल अन्तर्गत नेपाल र फिलिपिन्सबीचको जारी छ । ७१ मिनेटको खेल सकिँदा नेपाल २ गोलले पछि परेको छ । हेर्नुहोस् लाइभ भिडियो    

व्यापारीहरु चटामरी-बारा बनाउँदै

काठमाडौँको असन नजिक सडक छेउमा मङ्गलबार चटामरी बनाउँदै व्यापारी । तस्बिर: प्रदीपराज वन्त

बंगलादेशको आठौं विकेट पतन, कप्तान मल्लले लिए विकेट

ढाका, चैत १५ । एशियन क्रिकेट काउन्सिल इमर्जिङ कप अन्तर्गतको दोस्रो खेलमा नेपाल र बंगलादेशको खेल भइरहेको छ । कक्स बजारस्थित शेख कमल अन्तराष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर फिल्डिङ रोजेको नेपालले कसिलो बलिङ गरिरहेको छ । ४० ओभरको खेल जारी रहँदा नेपालले बंगलादेशको महत्वपूर्ण ८ विकेट लिएको छ । भने बंगलादेशले १७५ रन बनाएको छ । अाठौं विकेट कप्तान ज्ञानेन्द्र मल्लले लिएका हुन् । पाँचौं र छैटौं विकेट युवा स्टार सन्दिप लामिछानेले लिएका छन् । उनले बंगाली कप्तान मोमिनुल हक र अफिफ हुसेनको महत्वपूर्ण विकेट लिएका हुन् । पाँचौं विकेट लिने क्रममा सन्दिपले हक र नसिर हुसेनको ७८ रनको पार्टनरसीप तोड्न सफल भए । २५औं ओभरको पहिलो बलमा उनले मोमिनुललाई ६१ रनको व्यक्तिगत स्कोरमा आउट गरेका हुन् । नेपालका लागि अविनाश कर्णले सर्वाधिक ३ विकेट लिएका छन् । मोहम्मद आलमले समान १ विकेट लिएका छन् । सोमबार पाकिस्तानसँग हार बेहोरेको नेपाली टोली घरेलु टोली बंगलादेशविरुद्ध निकै कसिलो बलिङ गरिरहेको छ । कुनै समय ३९ रन बनाउँदा तीन विकेट गुमाएको बंगलादेशको इनिङ्स मोमिनल हकले उकासेका थिए । हकले सर्वाधिक ६१ रन बनाएका थिए । उनलाई सन्दीप लामिछानेले क्याच आउट गराएका हुन् । सोमबार पाकिस्तानसँग हार बेहोरेको नेपाली टोली घरेलु टोली बंगलादेशविरुद्ध निकै कसिलो बलिङ गरिरहेको छ । नेपालका लागि अविनाश कर्णले सर्वाधिक ३ विकेट लिएका छन् । सन्दीप लामिछाने, मोहम्मद आलमले समान १र१ विकेट लिएका छन् । कुनै समय ३९ रन बनाउँदा तीन विकेट गुमाएको बंगलादेशको इनिङ्स मोमिनल हकले उकासेका थिए । हकले सर्वाधिक ६१ रन बनाएका थिए । उनलाई सन्दीप लामिछानेले क्याच आउट गराएका हुन् । नेपाल सोमबार सम्पन्न पहिलो खेलमा भने पाकिस्तानको २३ वर्ष मुनिको टोलीसँग ६ विकेटले पराजित भएको थियो । नेपालका लागि दबाबपूर्ण अवस्था रहेपनि टस जितेर बलिङ रोजेका नेपाली टीमको शुरुआती प्रदर्शनले आजको खेल नेपालको पोल्टामा पर्ने संकेत देखिएको छ ।

तस्वीरमा हेर्नुस् प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीचको भेट

बेइजिङ, चैत १४। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बीच बेइजिङमा भेटवार्ता भएको छ । सोमबार अपरान्ह वेईजिङस्थित ग्रेट हल अफ दी पिपलमा चिनियाँ राष्ट्रपति सि जिनपिङ र प्धानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको हो । प्रचण्ड र राष्ट्रपति सि जिनपिङबीच दुईपक्षीय सम्वन्धबारे महत्वपुर्ण कुराकानी भएको छ । प्रधानमन्त्री र राष्ट्रपति सि जिनपिङबीच ३० मिनेट भेटवार्ता भएको थियो । भेटवार्ताका क्रममा प्रधानमन्त्रीले यसअघिको सरकारले गरेका पारवाहन र उर्जासम्बन्धी सम्झौताको प्रोटोकल, ट्रान्स बोर्डर इकोनोमिक जोन र रेलमार्गका बारेमा कुराकानी गरेका छन् । चिनियाँ राष्ट्रपति सिले नेपालका तर्फबाट उनको ड्रिम प्रोजेक्ट वान वेल्ट वान रोड परियोजनामा समर्थनको अपेक्षा राखेकोमा प्रधानमन्त्री प्रचण्डले समर्थन जनाएका छन् । prachanda-xi jing 5 prachanda-xi ping prachanda-xi jing 4 prachanda-xi jing-2 prachanda-xi jing ping-1 उनका साथमा परराष्ट्रमन्त्री प्रकाशशरण महत, राजदुत लिलामणि पौड्याल, परराष्ट्र सचिव शंकरदास बैरागी र प्रधानमन्त्रीका एक जना स्वकीय सचिव रहेका छन् । आइतवार प्रधानमन्त्री दाहालले चिनियाँ उपप्रधामन्त्री वाङ् यङस‌ंग भेटवार्ता गरेका थिए । चीनको हेनानमा भएको बोअाअो फोरममा विशेष बक्ताको रुपमा सम्बोधन गर्न प्रधानमन्त्री चैत १० गते चीन गएका हुन् । तस्वीरहरु:एभरेष्टदैनिक/ कपीराइट

तीन वर्षदेखि शव साउदीमा अलपत्र

काठमाडौं, चैत  १४।  चितवन खैरहनी नगरपालिका–१३ का सोमप्रसाद सिलवाल पाँच वर्षअघि ड्राइभिङ भिसामा रोजगारीका लागि साउदी अरब गएका थिए । उनको भिसाअनुसार दुई वर्ष काम सकेर नेपाल फर्किन एक महिना समय बाँकी थियो । एक दिन साँझ सोमप्रसादसँगै चितवनकै टीकाराम सापकोटा र प्युठानका सतिउल्लाहले मियाँ सँगै बसेर मदिरा सेवन गरे । अन्य रिसइबी के थियो खुल्न नसके पनि त्यो मध्यरात प्युठानका सतिउल्लाहले सोमप्रसादको हत्या गरेर मध्य मरुभूमिमा लगेर जलाए । तीनैजना ड्राइभिङ भिसामै साउदी पुगेकाले सतिउल्लाहले आफ्नै गाडीमा राखेर सोमप्रसादको शव मरुभूमि लगेका थिए । सो घटनामा चितवनका टीकारामको पनि सहयोग रहेको अनुसन्धानबाट खुलेपछि दुवैजना जेल सजाय कटाइरहेका छन् । आगामी असारमा सोमप्रसादको हत्या भएको तीन वर्ष पूरा हुन्छ । हत्या भएको तीन वर्षसम्म पनि सोमप्रसादको शव नेपाल ल्याउन सकिएको छैन । सोमप्रसादका दाजु नवराज सिलवाल भाइको शव नेपाल ल्याउन अहिलेसम्म धेरैपटक पहल गर्दा पनि नसकेको गुनासो गर्छन् । भाइको हत्याबारे दाजु नवराज भन्छन्, ‘घरमा बुढा बाआमा छन् । भाई नेपाल फर्किन एक महिना बाँकी थियो । नेपाल आएपछि उसको विवाह गरिदिने सोच थियो । उतै हत्या गरिदिए ।’ तीन दाजुभाइमध्ये कान्छा सोमप्रसादको हत्या भयो भने माइला वैदेशिक रोजगारीकै लागि अहिले दुबई गएका छन् । जेठा नवराज चितवनकै एक विद्यालयको गाडी चलाएर गुजारा चलाउँछन् । नवराज भन्छन्, ‘अहिलेसम्म हिन्दू परम्पराअनुसार कुनै काजकिरिया गर्न सकिएन । तीन वर्षदेखि हामीले कुनै चाडपर्व मनाएका छैनौँ ।’ सोमप्रसादको जलेको शरीरका केही हड्डी मात्रै संकलन गरेर साउदीको अस्पतालमा राखिएको छ । सोमप्रसाद हत्याको मुद्दा साउदी अदालतमा विचाराधीन छ भने हत्याका मुख्य अभियुक्त प्युठानका सतिउल्लाह र चितवनकै टीकाराम अहिले साउदी जेलमा छन् । साउदी अदालतको फैसलाअनुसार अहिले पीडक र पीडित पक्षले ब्लडमनी (हत्यापछि पीडित पक्षले पाउने क्षतिपूर्ति रकम) का लागि सहमति जनाएका छन् । पीडित र पीडक पक्ष दुवै नेपाली भएकाले ब्लडमनी लिन र दिन सहमत रहेको पत्र केही दिनअघि मात्रै मृतक सोमप्रसादका दाइ नवराजले कन्सुलर सेवा विभागमार्फत साउदी पठाएका छन् । अदालतले ब्लडमनी रकमबारे केही नबोलेकाले अहिले नै आफूले पाउनुपर्ने रकम दाबी नगरिएको मृतकका दाजु नवराजले बताए । यो खबर आजको नयाँ पत्रिकामा छ ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको वरीयतामा चर्को विवाद

काठमाडौं,  चैत १४ । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकबाट गठन भएको केन्द्रीय कार्य सम्पादन समितिको वरीयतामा चर्को विवाद देखिएको छ । आइतबारबाट केन्द्रीय कार्यालय सानेपामा सुरु कांग्रेस केन्द्रीय समितिको बैठकले पहिलो कार्य सूचिमाथि छलफल गर्दै २९ सदस्सीय केन्द्रीय कार्य सम्पाद न समिति र ४२ विभागको टुंगो लगाएको छ । गएको महाधिवेशनमा सबैभन्दा मत ल्याएका डा. शेखर कोइरालाले केन्द्रीय कार्य सम्पादन समितिको वरीयतामा आफू नअटाएको भन्दै नअताउँनुको कारण माग गरेपछि विवाद सतहमा आएको हो । कोइरालाले चार पेज लामो असहमतिपत्र केन्द्रीय समितिमा बुझाउँदै आफु नअट्नुको कारण माग गरेका छन् । वरिष्ठता विवाद टुंग्याउन गत र्कािर्तकमा नेता आनन्द प्रसाद ढुंगानाको नेतृत्वमा समिति बनेको थियो । ढुंगाना समितिको प्रतिवेदन नै नआइकन अहिले कसरी वरिष्ठहरुलाई मात्र राखेर समिति गठन गरियो ? कोइरालाले पत्रमा भनेका छन, रामचन्द्र पौडेल भन्दा खुमबहादुर खड्का कसरी कनिष्ठ भए ? कांग्रेस र तत्कालिन कांग्रेस प्रजातान्त्रिकबीच पार्टी एकीकरण भएपछि पहिलोपटक कार्य सम्पादन समिति गठन भएको हो । सभापति शेरबहादुर देउवाले पेस गरेको कार्य सम्पादन समिति गठन र विभाग गठनको प्रस्ताव आइतबारको केन्द्रीय समिति बैठकले पारित गरेपछि सोमबार टुंगो लागेको हो । यो खबर आजको राजधानी दैनिकमा छ ।