लोकसेवाको तयारी गर्नेहरुका लागि यस्ता छन् प्रश्नहरु
० कर्मचारी सञ्चयकोषको स्थापना कहिले भएको हो ? – वि.सं २०१९
० इन्द्रलाई हात्तीजस्तै सूर्यलाई के ? – घोडा
० ‘भित्री मधेश’ लाई के पनि भनिन्छ ? – दून प्रदेश
० चीनसँग सीमाना जोडिएका जिल्लाहरु कतिवटा छन् ? – १५ वटा (चीनसँगमात्र सिमाना जोडिएका १३ वटा)
० नेपालले दक्षिण एसियाको कति प्रतिशत भूभाग ओगटेको छ ? – २.३८%
० संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको प्रधान कार्यालय कहाँ छ ? – न्यूयोर्क
० दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन अन्तर्गत कतिवटा भूपरिवेष्ठित राष्ट्र छन् ? – ३ वटा (नेपाल ,भुटान अफगानिस्तान)
० विना अक्सिजन १० पटक सगरमाथा सफल आरोहण गर्ने व्यक्ति को हुन् ? – आङरिता शेर्पा
० ‘वनराजा’ उपनामले चिनिने जाति कुन हो ? – राउटे
० उपन्यास ‘साया’ का लेखक को हुन् ? – सुविन भट्टराई
० नेपालबाट दक्षिणी ध्रुवमा पुग्ने पहिलो व्यक्ति को हुन् ? – रविन्द्र बस्नेत
० हालसम्म नेपालले कति पटक सार्क शिखर सम्मेलन आयोजना गरेको छ ? – ३ पटक
० साहित्यकार वासुदेव लुइटेललाई के भनेर चिनिन्छ ? – भुतको भिनाजु
० एटम थ्योउरीका आविष्कारक को हुन ? – जोन डाल्टन
० प्रकाश सघन माध्यमबाट बिरल माध्यममा जाँदा आवर्तित कोणको मान ९० डिग्री हुँदाको आपतित कोणलाइ के भनिन्छ ? – चरम कोण
० संयुक्त राष्ट्र संघको महासभामा सबैभन्दा बढी बोल्ने क्युवाका फिडेल क्यास्ट्रो हुन् भने सबैभन्दा कम बोल्ने को हुन् ? – दावा छिरिङ (भुटान)
एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक बस्दै
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।हिजोदेखि जारी बैठकमा आज बोल्न बाँकी रहेका नेताहरूले धारणा राख्नेछन् । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने छ। पार्टीका उपमहासचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले हिजोको बैठकमा पार्टी अध्यक्ष माधव नेपालले समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलगायत विषयमा धारणा राखेका थिए। यस्तै, महासचिव घनश्याम भुसालले आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनको तयारीसहितका एजेण्डाबारे जानकारी गराएका थिए। यसैबीच, स्थायी कमिटी बैठक पछि आजै साँझ पोलिटब्यूरो बैठक पनि बोलाइएको छ।
रास्वपाले बोलायो दलको बैठक
काठमाडौं । रास्वपा संसदीय दलको बैठक बोलाइएको छ । आज बेलुका ५ बजे बोलाइएको बैठकमा संसद्को कामकारबाहीमा पार्टीको प्रभावकारिता, विधेयकमा साझा धारणा र सरकारमा सहभागी मन्त्रीहरुले गरेका कामको सम्बन्धमा समीक्षा रास्वपाले जनाएको छ ।
विनोद चौधरीको गुनासो -'बाँसबारी जग्गामा राजनीतिकरण गरियो'
काठमाडौं ।सांसद तथा उद्यमी विनोद चौधरीले बाँसबारी जग्गाबारे राजनीतिकरण भएको गुनासो गरेका छन्।बिहीबार सरकारी वकिलको कार्यालयमा बयान दिएर बाहिरिने क्रममा सांसद चौधरीले आफू अनुसन्धानमा सघाउन मौखिक जानकारी गराएपछि आफू सोही अनुसार सरकारी वकिलको कार्यालयमा आएर सहयोग गरेको बताए । सांसद चौधरीले राज्यले आफू जत्तिको व्यक्तिमाथि समेत राजनीति गरिरहेको भन्दै नेपाल र विश्वभर रहेका नेपाली युवा, नेपालका उद्यमी, रोजगारदाता, करदाताहरुले आफ्नो मनमा कुन सन्देश लिएर लगानी गर्दछन् भन्नेकुराको हेक्का राज्यले राख्नुपर्ने बताए। उनले आफूले उद्यमी भएर काम गरेको ४५ वर्ष बितिसकेको भन्दै आफ्नो चरित्रको सर्टिफिकेट स्टन्ट गर्नेहरुलाई बुझाउन आवश्यक नरहेको बताए। सांसद चौधरीले राज्यले यस्ता गतिविधिबाट निजी क्षेत्र, उद्यमी, लगानी कर्तालाई विशुद्ध राख्न आवश्यक रहेको बताए। सांसद चौधरीले आफूलाई सरकारी वकीलको कार्यालयबाट मौखिक रुपमा उपस्थित हुन भनेपछि आफूले उपस्थिति जनाएको बताए। उनले आफू जिम्मेवार व्यक्ति, जिम्मेवार राजनीतिकर्मी भएको हैसियतले अनुसन्धानको लागि हयोग गर्न उपस्थित भएको बताए। सांसद चौधरीले ४२ वर्षअघिको बाँसबारीको कौडीको भाउमा पनि नबिक्ने जग्गालाई आधार बनाइ पब्लिक/प्राइभेट पार्टनरसिपको एउटा उत्कृष्ट मोडलको रुपमा खडा गरिएको एउटा नविनतम सोचलाई राजनीतिकरण गर्नु दुःखद् रहेको बताए। १० रोपनी जग्गाको बारेमा कुनैपनि प्रकारको कुदृष्टि राख्छ भनेर सोच्नु नै एउटा विकृत मानसिकताको उपज रहेको जिकिर गरे । सांसद चौधरीले आफूले दलगत राजनीतिलाई छोडेर विकासको राजनीति गरेको बताए। सांसद चौधरीमाथि बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा निजीकरण गरेको आरोप लागेको छ ।
पूर्व राजदूतहरूसँग परराष्ट्रमन्त्री श्रेष्ठको छलफल
काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न देशका पूर्व राजदूतसँग छलफल गरेका छन् । बुधबार सिंहदरबारस्थित मन्त्रालयमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न देशका लागि नेपालका पूर्व राजदूतसँग छलफल गरेका हुन् ।
अन्तर्राष्ट्रिय सौर्य गठबन्धन स्थापनासँग सम्बन्धित सम्झौता प्रतिनिधिसभामा पेस
काठमाडौं । प्रतिनिधिसभामा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौता पेस गरिएको छ।प्रतिनिधिसभाको सोमबारको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासँग सम्बन्धित सम्झौता पेस गरेका हुन्। सम्झौता संसद्मा पेश गर्दै मन्त्री बस्नेतले सौर्य ऊर्जा प्रविधि प्रयोग गरी सदस्य राष्ट्रहरुमा ऊर्जा पहुँच बढाउन ऊर्जा सुरक्षा सुनिश्चित गर्न, ऊर्जाको विकासलाई निर्देशित गर्न र जलवायु परिवर्तन कम गर्न भारत र फ्रान्सको संयुक्त प्रयासमा स्थापित आईएसएसँग सम्बन्धित करार सम्झौता भएको जानकारी दिए।उनले यो सम्झौताबाट नेपाललाई पनि फाइदा हुनसक्ने देखि उक्त सम्झौतामा नेपालले पनि हस्ताक्षर गरिसकेकोले आईएसएको सम्झौताको अनुमोदन गर्न संघीय संसद्मा पेश गर्ने प्रयोजनको लागि नेपाल सरकार मन्त्रिपरिषद्बाट २०८० वैशाख १९ मा स्वीकृत भएको बताए । मन्त्री बस्नेतले प्रतिनिधिसभा नियमावली, २०७९ को निमय २२५ बमोजिम अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौता संघीय संसद् प्रतिनिधिसभा समक्ष प्रस्तुत गरेका हुन् । उक्त सम्झौता अब सभाबाट पारित हुनुपर्नेछ।
प्यालेस्टाइनी राष्ट्रपति अब्बासद्वारा आर्थिक सल्लाहकारलाई प्रधानमन्त्री नियुक्त
एजेन्सी । प्यालेस्टाइन राष्ट्रपति महमुद अब्बासले आफ्ना आर्थिक सल्लाहकार मोहम्मद मुस्तफालाई प्यालेस्टिनी प्राधिकरणको नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन्। २६ फेब्रुअरीमा मोहम्मद सतेहले राजीनामा दिएपछि यो पद खाली रहेको थियो। सन् २०१४ मा इजरायलको आक्रमणपछि गाजाको पुनर्निर्माणमा मुस्तफाले महत्वपूर्ण भूमिका खेलेका थिए। गाजामा जारी युद्धपछि अमेरिकाले प्यालेस्टिनी प्राधिकरणको भूमिका परिवर्तन गर्ने योजना बनाएको बेला मुस्तफाको नियुक्ति भएको हो। गाजामा युद्ध समाप्त भएपछि हमासको सट्टा प्यालेस्टिनी प्राधिकरणले त्यहाँको सत्ताको जिम्मेवारी लिनुपर्ने अमेरिकी चाहना छ। तर, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकाको यो योजनाको कडा विरोध गरिरहेका छन्। अर्कोतर्फ गाजामा इजरायलको आक्रमण अझै रोकिएको छैन। प्यालेस्टिनी प्राधिकरणको प्रमुख राष्ट्रपति हो, जसलाई वेस्ट बैंक र पूर्वी जेरुसेलमका जनताले चुन्छन्। महमूद अब्बास सन् २००५ देखि प्यालेस्टिनी प्राधिकरणको प्रमुख छन्।
बरहथवा घटनामा आन्दोलतरत पक्ष र प्रशानसबीच ११ बुँदे सहमति
काठमाडौं । सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर ज्यान गुमाएका जयशंकर साहको परिवार र प्रशासनबीच सहमति भएको छ । आइतबार आन्दोलनरत पक्ष र प्रशासनबीच ११ बुँदे सहमति भएको हो । सहमति अनुसार गृह मन्त्रालयले गठन गरेको समितिलाई सबै पक्षले निष्पक्ष छानबिनका लागि सहयोग गर्ने, पीडित परिवारको एकजना सदस्यलाई बरहथवा नगरपालिकाले रोजगारी उपलब्ध गराउने छ । यसैगरी बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्र मधेस सरकारलाई हस्तान्तरण गर्ने, त्यस अस्पतालको नाम जयशंकर साहको नामबाट नामकरण गर्ने, अस्पताल परिसर वा स्थानीयले चाहेको स्थानमा मृतक साहको सालिक स्थापना गर्ने सहमति भएको छ । यस्तै, दोषी प्रहरी कर्मचारीलाई छानबिन गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने, मृतकलाई सहिद घोषणा गर्ने प्रक्रियाका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने सहमति भएको छ ।
रुपान्तरण अभियान उद्घाटन गर्दै प्रचण्डले भने -‘माओवादी सवैभन्दा ठूलो पार्टी बन्नेछ'(पूर्णपाठ)
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र शान्तिको नेतृत्व गर्दै माओवादी केन्द्र सवैभन्दा ठूलो पार्टी बन्ने बताएका छन् । ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानको आज केन्द्रीय कार्यालय पेरिसडाँडाबाट ६ हजार ७४३ वडामा भर्चुअल उद्घाटन गर्दैै उनले सो कुरा बताएका हुन् । अध्यक्ष प्रचण्डले माओवादी इतिहासकै चुनौतीपूर्ण अवस्थामा रहेको बताउँदै विशेष अभियानबाट पार्टी एकताबद्ध भई पार्टी फेरि बलियो बन्ने दाबी गरे । यो अभियानले संगठन निर्माण, विचारको विकास गर्नेमा अभियान महत्त्वपूर्ण हुने उनले विश्वाससमेत व्यक्त गरे । सरकारले नक्कली शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, सुन काण्डमा निष्पक्ष पूर्वक गरिएको कामले सरकारको प्रशंसा भएको प्रचण्डको जिकिर थियो । ‘माओवादी एकताबद्ध भए फेरी बलियो शक्ति बन्छ । इतिहासमै पार्टी कठिन अवस्थामा उभिएकाले विशेष अभियानले विचार र संगठन निर्माणमा महत्त्वपूर्ण हुने विश्वास लिएको छ’, उनले भने, ‘नक्कली शरणार्थी, ललिता निवास प्रकरण, सुन काण्डमा सरकारले चालेको निष्पक्ष कारबाही गरिएकाले सबैतिर प्रशंसा भइरहेको छ ।’ अध्यक्ष प्रचण्डले भने, ‘मेरो बाँकी जीवन देश र जनताको पक्षमा समर्पित गर्नेछु । समाजवादी आन्दोलनको नेतृत्व लिएर अगाडि बढ्नेछु ।’ उनले माओवादी इतिहासकै चुनौतीपूर्ण अवस्थामा रहेको बताउँदै विशेष अभियानबाट पार्टी एकताबद्ध भई माओवादी फेरि बलियो बन्ने दाबी गरे । यो अभियानले संगठन निर्माण, विचारको विकास गर्नेमा अभियान महत्त्वपूर्ण हुने उनको भनाई छ । सरकारले नक्कली शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, सुन काण्डमा निष्पक्ष पूर्वक गरिएको कामले सरकारको प्रशंसा भएको प्रचण्डको जिकिर थियो । उनले परिवर्तनलाई उल्टो गतिमा लैजाने चेष्टा भइरहेको भन्दै त्यसकाविरुद्ध सिंगो पार्टी एकताबद्ध हुन आग्रह गरे । उनले परिवर्तनलाई उल्टो गतिमा लैजाने चेष्टा भइरहेको भन्दै त्यसकाविरुद्ध सिंगो पार्टी एकताबद्ध हुन आग्रह गरे । सरकारले गरेका राम्रो कमबाट अत्तालिएकाले भ्रम छर्ने काम गरिरहेको उनको भनाइ छ । ‘एकाथरि मानिस परिवर्तनलाई उल्टो गतिमा हिँडाउन खोज्दैछन् । सरकारले गरेको राम्रो कामबाट अत्तालिएर विभिन्न भ्रम छर्ने काम भइरहेको छ । त्यसका विरुद्ध एकताबद्ध हुन सबैलाई आग्रह गर्छु’, उनले भने । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्बोधन जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको शुभारम्भको यो ऐतिहासिक अवसरमा यहाँहरू सबैमा हार्दिक अभिवादन व्यक्त गर्दछु। नेपाली जनताको बलिदानपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरूमाथि प्रहार भइरहेको र प्रतिक्रियावादी तथा पुनरुत्थानवादी शक्तिहरुले पुनः शीर उठाउने जमर्को गरिरहेको चुनौतीपूर्ण समयमा हामी यो अभियानको सुरूआत गर्न गइरहेका छौं। गत महिना सम्पन्न हाम्रो पार्टीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले देशको राष्ट्रिय एकता र स्वाधीनतालाई सुदृढ गर्ने, आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने, सामाजिक न्याय र सुशासनको कार्यक्रमलाई अझ प्रभावकारी बनाउने, जनताको विकासको आकांक्षालाई ठोस रूपमा सम्बोधन गर्न संगठन निर्माण र जनपरिचालनका कार्यक्रमहरू बनाई अभियानका रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो। पार्टीको सोही निर्णयलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न आज भदौ १६ गते देशका ६ हजार ७ सय ४३ वडाहरूबाट एकैसाथ अभियानको उद्घाटन भइरहेको छ। सर्वप्रथम म यो अभियान सफलताको शुभकामना दिँदै अभियानले पार्टीभित्र नयाँ उर्जा सिर्जना गर्ने र जनतासँगको सम्बन्धलाई पुनः बलियोसँग स्थापित गराउने विश्वास व्यक्त गर्दछु। आदरणीय जनसमुदाय, परिवर्तनको नेतृत्व गरेको हाम्रो पार्टी यतिबेला इतिहासकै चुनौतीपूर्ण अवसरका बीच खडा छ। इतिहासले हामीमाथि ठूलो जिम्मेवारी सुम्पेको छ। हाम्रो पार्टीको नेतृत्वमा भएको जनयुद्ध र १२ बुँदे समझदारीका आधारमा भएको जनआन्दोलनका बलमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समाजवादको आधार तयार पार्ने जिम्मेवारी इतिहासले हामीलाई सुम्पेको छ। परिवर्तनको रक्षा गर्दै संविधानमा उल्लेखित समाजवाद निर्माणको आधार खडा गर्ने, सुशासन, सामाजिक न्याय र सम्बृद्धिको राष्ट्रिय अभिभारा पूरा गर्ने जिम्मेवारी हाम्रै काँधमा छ। हो, इतिहासको यही अत्यन्तै गम्भीर, संक्रमणकालीन र संवेदनशील जिम्मेवारी पूरा गर्ने मोडमा हामी छौं। जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको उद्घाटन गरिरहँदा मैले के देखेको छु भने सिंगो पार्टी एकढिक्का भएर अगाडि बढने हो भने हाम्रा अगाडि खडा भएका सबै चुनौती सामना गर्न सक्नेछौँ र पार्टीलाई देशकै बलियो र भरोसायोग्य पार्टीका रूपमा रूपान्तरण गर्न सक्नेछौं। समाजवादका आधार तयार पार्ने नयाँ चरणको आन्दोलनको नेतृत्व लिन पार्टीलाई सक्षम बनाउने अठोटका साथ यो अभियानले सफलता प्राप्त गर्ने मैले विश्वास लिएको छु। आज हामी देशका सबै वडामा अभियानको नेतृत्व गर्दै भेला भएका छौँ। आजको दिन पार्टीको जीवनका लागि, देशको उज्ज्वल भविष्यका लागि र जनताका सपना पूरा गर्ने ऐतिहासिक दिनसमेत हुनेछ। जनसम्बन्धबाट पार्टी विमुख हुँदै जाने परिस्थितिसँगै सिर्जना भएको संकटलाई चिर्न समेत यो अभियानले नयाँ प्राणको काम गर्ने आशा हामीले लिएका छौँ। त्यसैले यो अभियानले एकातिर आजको युगको नेतृत्व गर्ने विचार निर्माणका लागि आधार तयार गर्नेछ भने अर्कोतर्फ त्यो नेतृत्वका लागि आवश्यक क्रान्तिकारी र सबल संगठनको निर्माण गर्नेछ। यसका साथै यो अभियानले जनतामाझ पुगेर आजको युगसापेक्ष अग्रगामी सभ्य राजनीतिक संस्कार र चिन्तनको समेत विकास गर्न मद्दत पुग्नेछ। अहिले मेरो नेतृत्वमा रहेको सरकारले सामाजिक न्यायको प्रत्याभूति, सुशासन, सार्वजनिक सेवा प्रवाहमा जनताको सहज पहुँच र विकासलाई मुख्य प्राथमिकता दिँदै काम गरिरहेको छु। सरकारले इतिहासले नै सम्झिने गरी कैयौँ साहसिक र जनपक्षीय कामहरू अघि बढाएको छ। एकपछि अर्को गर्दै सरकारबाट अघि सारिएका कामहरूले जनतामा राजनीति र व्यवस्थाप्रति नै विकास हुँदै आएको निराशा चिरेर आशा र भरोसाको वातावरण सिर्जना गरिरहेको छ। राजनीतिक र सामाजिक अराजकताको स्थानमा सकारात्मक भाष्यको निर्माण हुँदै सरकार र प्रणालीप्रतिको विश्वास बढेर गएको छ। तर हामीले आफैले गरेका राम्रा काम पनि जनतासम्म पु¥याउन सकेका छैनौँ। यो अभियानले सरकारका तर्फबाट भइरहेका जनपक्षीय कामहरुलाई समेत जनतामा सम्प्रेषण गर्दै सरकार र जनताबीचको एकता सुदृढ गर्नेछ। सरकारले गरेको नक्कली भुटानी शरणार्थी काण्डको छानविन, ललिता निवास प्रकरणमा निर्भिकतापूर्वक गरिएको कार्वाही, सुनकाण्डको निष्पक्ष छानविन जस्ता घटनाले राज्यशक्तिको दुरुपयोगमार्फत् भएका अपराधकर्मको पर्दाफास गरेको छ। मिटरब्याज पीडितहरूको पक्षमा बनाइएका कानुन, नागरिकताविहीन नेपाली नागरिकका सन्तानहरूका लागि नागरिकता ऐन निर्माण, वैदेशिक रोजगारीमा रहेका, अनौपचारिक एवम् स्वरोजगार क्षेत्रमा कार्यरत श्रमजीवीहरूका लागि गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा, राहदानी, सवारी चालक अनुमतिपत्र जस्ता दैनिक सेवा प्रवाह गर्ने कार्यालयहरूमा लाग्ने अब्यवस्थित लाइन हटाउने कदम, अस्पतालमा निशुल्क शैयाको व्यवस्थादेखि स्वास्थ्यक्षेत्रमा सुधार र सामाजिक न्यायको क्षेत्रमा गरेको पहलकदमीको सर्वत्र प्रसंशा भइरहेको छ। जनयुद्धका शहीद घोषणालाई राजपत्रमा प्रकाशन गर्नु र बाँकी रहेकाहरूलाई शहीद घोषणा, जनयुद्ध दिवसमा दिइएको सार्वजनिक विदा लगायतका निर्णयहरूले राजनीतिक आन्दोलन र परिवर्तनमा योगदान गर्नेहरूको सम्मान भएको छ। लघुवित्त पीडितहरूको आन्दोलनलाई सरकारले सम्बोधन गर्न पहल गरेको, इतिहासमा पहिलो पटक पाठ्यपुस्तक समयमै विद्यालयहरूमा पठाइएको, किसानहरूलाई रासायनिक मल समयमा उपलब्ध गराइएको, बिपन्न र असहायका निम्ति निशुल्क स्वास्थ्य सेवा प्रभावकारी तुल्याइएको, आर्थिक सुधार लगायतका कामहरूले सरकारको संकल्प र प्रतिवद्धता व्यवहारमा रूपान्तरण भएको छ। वित्तीय तथा मौद्रिक नितीको सन्तुलनमार्फत् निजि क्षेत्रलाई समेत विश्वासमा लिई सरकारले चालेका सुधारात्मक कदमबाट अर्थतन्त्र विस्तारै लयमा फर्किन सुरु गरेको छ। उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गरी अर्थतन्त्रको पुनरुत्थान तथा उच्च, दिगो समावेशी आर्थिक वृद्धि हासिल गर्ने र समष्टिगत आर्थिक स्थायित्व कायम गरी लगानीको वातावरणमा सुधार गर्न सरकार क्रियाशील छ। नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको प्रतिवेदनअनुसार, अर्थतन्त्रका सूचकांकहरू सकारात्मक दिशातर्फ उन्मुख छन्। २०८० असार मसान्तसम्म शोधनान्तर स्थिति २९० अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको छ। विदेशी विनिमय सरुञ्चिति गत वर्षको सोही अवधिको तुलनामा २६।६ प्रतिशतले वृद्धि भई १५३९ अर्ब ३६ करोड रुपैयाँ पुगेको र यसले करिब १० महिनाको वस्तु तथा सेवाको आयात धान्रुन पुग्ने अवस्था रहेको छ। विप्रेषण आयमा २१।२ प्रतिशतले वृद्धि भई १२२० अर्ब ५६ करोड पुगेको छ। जग्गाको कित्ताकाट पूर्ण रुपमा खुलाउने निर्णय भएको छ। यही भाद्र ११ गते मात्रै नेपाल राष्ट्रबैंकले लचिलो वजार नीति अनुसार चालुपुँजी कर्जासम्वन्धी मार्गदर्शन संशोधन गरेको छ। यसबाट उद्योग, व्यवसाय क्षेत्रलाई प्रत्यक्ष लाभ हुनुका साथै आन्तरिक लगानी, उत्पादन वृद्वि र बजारमा आर्थिक गतिविधि बढ्नमा सहयोग पुग्ने विश्वास गरिएको छ। यसैगरी सरकारले चालेका जनमुखी कदमहरूले जनतामा परिवर्तनप्रति असन्तोष बढाएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने तथा प्रमुख राजनीतिक दल र नेताहरूलाई बदनाम गरी राष्ट्रलाई नै असफल बनाउने षडयन्त्रहरूलाई गतिलो जवाफ दिएर जनतामा आशा जगाएको छ। जनतामा “अब चाँहि केही हुन्छ” भन्ने सकारात्मक सोंचको विकास र नयाँ आशाको सञ्चार भएको छ। यो आजको कामको परिणाम मात्र नभई नेपाली जनताको न्याय र मुक्तिको उद्देश्यमा आधारित महान जनयुद्ध र जनआन्दोलनको क्रममा खाएको मुक्ति या मृत्युको सपथ र नयाँ परिवेशमा हामीबाट गरिएको संकल्पको निरन्तरता हो। “दृढ इच्छाशक्तिका साथ अभेद्य सङ्कल्प गरे के हुँदैन र” भन्ने मान्यता आज व्यवहारमा पुष्टि भएको छ। सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा वर्तमान सरकारले गरेका कामहरूले पार्टीको आन्तरिक जीवनमा देखिएका आशंका र अविश्वासहरू पनि मेटाउँदै एकतालाई सुदृढ गर्न सहयोग पु¥याएको छ। देशभरिका जनता र कमरेडहरूमा आशा र उत्साह बढेको छ। अभियानका क्रममा यी सबै विषयहरु जनतामाझ सम्प्रेषण गर्ने र जनताका आशा, अपेक्षा, आलोचना, सुझाव तथा प्रतिक्रियालाई ग्रहण गर्दै सुशासन र सामाजिक न्यायका पक्षमा सरकारले चालेको अभियानलाई अझै सशक्त बनाइनेछ। कमरेडहरू, यी उपलब्धीका बाबजुद परिवर्तनलाई नरूचाउने, इतिहासको रथलाई उल्टो दिशामा लैजान खोज्ने र सरकारको लोकप्रियताबाट अत्तालिएका तत्वहरूले सरकारविरूद्ध घेराबन्दी गर्ने, भ्रम छर्ने, यो वा त्यो रूपमा सरकारका कामको प्रशंसा र चर्चाबाट जनताको ध्यान विमुख गर्ने षड्यन्त्रहरू भइरहेका छन्। सरकारलाई काम गर्न नदिन बिभिन्न कोणबाट भइरहेका यी हर्कतहरू गलत त छन् नै, तर, यो घेराबन्दीले झनै जिम्मेवार ढंगले सबल, सक्षम भएर क्रान्तिकारी आन्दोलनमा अविचिलित रूपमा अघि बढ्नैपर्ने कार्यभार समेत हाम्रोसामु थपिदिएको छ। त्यसैले हाम्रो अस्तित्व हामीमा नै निर्भर छ भन्ने कुरा विर्सिनु हुँदैन। हामीले कस्तो विचार विकास गर्छौं, हामीले कस्तो संगठन निर्माण गर्छौं, हामीले जनताका मुद्दाहरूलाई के–कसरी र कुनस्तरमा उठान गर्छौ, हामीले आफ्ना कमजोरीप्रति कस्तो आत्मालोचना र आत्मसमीक्षा गर्छौ, हामीले हाम्रा राम्रा कामहरूको प्रचार के कसरी गर्न सक्छौं भन्ने जस्ता कुराले हाम्रो र सिङ्गो कम्युनिस्ट आन्दोलन एवम् समाजवादी क्रान्तिको आधार तयार पार्ने आन्दोलनको भविष्य निर्भर गर्दछ। वर्तमान सरकारले गरेका लोकप्रिय र जनमुखी कामहरूबारेमा आमपार्टी पंक्ति र जनतामाझ व्यवस्थित प्रचार प्रसार गर्न नसक्दा भ्रमपूर्ण प्रचार गर्नेहरूले ठाउँ पाएकाले सरकारबाट भएका कामहरूलाई एकीकृत माध्यमबाट जनताका बीचमा पुर्याउन सिङ्गो पार्टी एकजुट भएर लाग्न जरूरी छ। यी कामलाई जनतामाझ स्थापित गर्ने जिम्मेवारी र चुनौतीसमेत तपाई हाम्रासामु छ। मैले केन्द्रीय समितिको बैठकमा समेत यो कुरामा विशेष जोड दिँदै तीन महिने अभियानका माध्यमबाट हाम्रो पार्टी आठौं महाधिवेशनको मूल स्पिरिटका आधारमा विचारको विकास, संगठन निर्माण र सांस्कृतिक रुपान्तरण गर्न सक्षम हुने विश्वास व्यक्त गरेको थिएँ। पार्टीको आठौं महाधिवेशनमा हामीले नयाँ परिस्थितिले निम्त्याइरहेको नयाँ संकटको सामना गर्न सर्वाधिक महत्वको कुरा वैचारिक–राजनीतिक स्पष्टता कायम गर्ने निष्कर्ष निकालेका थियौँ। आठौं महाधिवेशनको दस्तावेजमा सांस्कृतिक रूपान्तरणका लागि हाम्रो आजको अवस्था सुहाउँदो सांस्कृतिक क्रान्तिको प्रक्रिया अगाडि बढाउनुपर्ने प्रस्ताव गरिएको छ। यस दृष्टिबाट समाजवादको आधार तयार पार्नका लागि निश्चित योजनासहित सबै नेता र कार्यकर्ताहरू जनतासँग जोडिएर उत्पादन कार्यमा सहभागी हुनुका साथै सामूहिकरूपमा विचार, संस्कृति र समाजवाद निर्माणको विषयमा गम्भीर बहस छलफलको प्रक्रियाबाट अगाडि बढ्न जरूरी छ। अभियानका क्रममा हामीले सबै जनताका घरमा पुग्ने योजना निर्माण गरेका छौँ। यसको अर्थ हामी लाखौं जनतासँम्म पुग्नेछौँ। जनताका कुरा सुन्नेछौँ। जनताको सुझाव र आलोचना ग्रहण गर्नेछौँ। हिजो अत्यन्तै भीषण संघर्षका कठिन क्षणमा हामीलाई जनसमुदायले विश्वास गरेर साथ दिएकै कारणले हाम्रो आन्दोलनले सफलता प्राप्त गरेको हो। आज जनतासँगको सम्बन्ध कमजोर भएको स्थिति छ। तर, विर्सनै नहुने कुरा के हो भने जनता परिवर्तनको पक्षमा छन्, जनता समृद्धि चाहन्छन् र जनता सुशासन चाहन्छन्। अनि यो सँगै हामीले जनतालाई विश्वास दिलाउनुपर्दछ – नेपाली समाजको परिवर्तन र रूपान्तरण केवल माओवादीले मात्रै गर्न सक्छ। माओवादीकै नेतृत्वमा मात्रै समृद्ध नेपाल सम्भव छ। तसर्थ कमरेडहरु, जनतासँग हामीले भन्न सक्नुपर्दछः हाम्रा गल्ती कमजोरीका लागि हामी आत्मालोचित हुन चाहन्छौँ, हामी सुध्रिन चाहन्छौँ, त्यसका लागि अभियानसहित तपाईहरूको घरदैलोमा छौँ। कमरेड लेनिनले भन्नुभएको छ, ‘‘यदि तपाई इमान्दार हुनुहुन्छ भने आलोचनाबाट डराउनु हुन्न, बरु जहाँ–जहाँ जनता छन्, त्यहाँ गएर काम गर्नुपर्दछ। र आफूलाई रूपान्तरण गर्नुपर्छ। इमान्दार मानिसले मात्रै साँचो अर्थमा वास्तविक आत्मालोचना गर्न सक्छ। आदरणीय जनसमुदाय एवं कमरेडहरू, हामीले अभियानका क्रममा स्थानीय सन्दर्भमा समेत सुशासन, सार्वजनिक सेवा प्रवाहमा सहज पहुँच र सामाजिक न्यायसहितको विकासका लागि जोड दिन जरूरी छ। अहिले स्थानीय तहहरू केही श्रोत र साधनबाट सम्पन्न छन्। प्रदेशहरूमा आफ्नै सरकार निर्माण भएका छन्। हाम्रै संघर्षको फलस्वरूप केन्द्रीकृत राज्यसत्ता विकेन्द्रीत भई संघीयता कार्यान्वयनको तहमा गएको छ। तर स्थानीय तह र प्रदेशहरूले जनताको अपेक्षाअनुरूप जनताका मुद्दाहरूको सम्बोधन गर्न सकेनन्, सुशासन कायम गर्न सकेनन्, विकास निर्माणका कामहरु अघि बढाउन सकेनन् र सामाजिक न्याय कायम गर्न सकेनन् भने यसको बहानामा संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रहार गर्ने तत्वहरूले टाउको उठाउने मौका पाउनेछन्। त्यसैले अभियानकै क्रममा स्थानीय तहमा समेत जनतासँग जोडिएका सुशासन, सामाजिक न्याय र विकासका कामहरूमा पार्टीले विशेष चासो दिन जरूरी छ। मैले बारम्बार भन्दै आएको छु– अबको हाम्रो लडाईं स्थायित्वका निम्ति, समृद्धिका निम्ति, विकासका निम्ति हो। किनकि सर्वत्र हामीले विरासतमा राम्रो चीज प्राप्त गरेका छैनौं, यहाँ बेथितिको डङ्गुर छ। कुशासनका चाङ छन्, ठूला ठूला सेटिङहरू छन्। यी बेथितिहरूलाई सच्याउने, सेटिङहरू भत्काउने र देशलाई साँच्चै नै सुसंस्कृत, सभ्य र समृद्ध बनाउने लडाईंमा हामी छौँ। सरकारको नेतृत्वको नाताले मैले यो चुनौतीलाई स्वीकार गरेको छु। अब यसलाई गन्तव्यमा पु¥याउन सोहीअनुरूपको बलियो र क्रान्तिकारी पार्टी निर्माणको आवश्यकता रहेको मैले केन्द्रीय समिति बैठकमा समेत उल्लेख गरेको थिएँ। त्यसैले यो तीन महिने अभियानले सरकारले अघि बढाएको पहलकदमी र पार्टीले अघि सारेको अभियानलाई लक्ष्यमा पु¥याउन ठोस भूमिका खेल्नेछ। यहाँहरू यही स्पिरिट र क्रान्तिकारी भावनाले जनतामाझ जानुहुनेछ, बलियो क्रान्तिकारी र सबैको भरोसाको माओवादी पार्टी निर्माण गर्न सक्षम हुनुहुनेछ भन्ने विश्वास लिएको छु। कमरेडहरू, अहिले अभियानका क्रममा हाम्रो सक्रियता र जनतामाझ हामी पुग्ने अवस्थाले राजनीतिक प्रणालीप्रति जनताको गुम्दै गएको विश्वासलाई समेत फर्काउने र रूपान्तरणका लागि उर्जा प्राप्त गर्ने अवस्था सिर्जना हुनेछ। कमरेड लेनिनले भनेझैँ अत्यन्त उन्नत सिद्धान्तको आधारमा चल्ने पार्टीले मात्रै जनताको नेतृत्व गर्न सक्छ। अहिले नेपाली समाजको नयाँ चरणको क्रान्ति अर्थात समाजवादी क्रान्तिको नेतृत्व गर्न हाम्रो पार्टी यही अग्रदस्ता बन्नुपर्ने अनिवार्यता रहेकोमा पुनः जोड दिन चाहन्छु। नेपालको राजनीतिक आन्दोलन नयाँ चरणमा प्रवेश गरेको छ। पहिलो संगठित राजनीतिक आन्दोलन २००७ साल वरिपरि सम्पन्न भयो। यसले राणाशासन समाप्त ग¥यो। दोस्रो महत्वपूर्ण आन्दोलन २०४६ सालको हो, जसले निरङ्कुश पञ्चायती व्यवस्था समाप्त गर्यो। तेस्रो १० वर्षे माओवादी जनयुद्ध र १९ दिने जनआन्दोलनको अवधि थियो। जसको बलमा राजतन्त्रको अन्त्य भयो र गणतन्त्रको स्थापना भयो। अब नयाँ अर्थात् समाजवादको आधार निर्माणको चरणमा नेतृत्व गर्ने नयाँ राजनीतिक शक्ति आजको आवश्यकता हो। हाम्रै पार्टीले नेपालको वामपन्थी एवं लोकतान्त्रिक आन्दोलनको समग्र पुनर्गठन र एकीकरणको नेतृत्व गर्नुपर्छ। यसका लागि कम्युनिस्ट आन्दोलनलाई युग, समय, चेतना र नयाँ पुस्ताको सपनाहरूसँग एकाकार गर्न सक्नुपर्दछ। साधारण नेतृत्वले पार्टी बनाउँछ। साधारण नेतृत्वले सरकार बनाउँछ। साधारण नेतृत्वले चुनावको पनि नेतृत्व गर्छ। तर, विशेष नेतृत्वले मात्रै आन्दोलन बनाउँछ, इतिहास बनाउँछ र बनाउँछ नयाँ युग। त्यसका लागि हामीले आफ्नै पुनर्गठन, सबलीकरण र रचनात्मक रूपान्तरण गर्नुपर्दछ। अनि मात्र यो पार्टीले नयाँ वैचारिक र राजनीतिक संश्लेषणको आधारमा समग्र वामपन्थीहरूको एकता र सुदृढीकरणको नेतृत्व गर्नसक्छ। युगको नेतृत्व गर्ने यो अवसरलाई गुम्न दिनुहुँदैन। कमरेडहरू, मैले बारम्बार भन्दै आएको छु, मेरो जीवन संघर्ष र आन्दोलनभन्दा पर छैन। देश र जनताप्रति सर्मपित हुँदै नेपाली समाजको रुपान्तरणका लागि योगदान गर्नेबाहेक मेरो अन्य कुनै उद्देश्य पनि छैन। जीवनको युवा अवधिदेखि मेरो पूर्ण समय क्रान्ति, परिवर्तन र जनताका पक्षमा बित्यो। अब जनताले चाहेको सुशासन, समृद्धि र सामाजिक न्यायका क्षेत्रमा दृढतापूर्वक अगाडि बढ्ने प्रतिज्ञा गरेको छु। हिजो क्रान्तिको क्षणमा होस् या आज शान्तिको क्षणमा होस्, मेरा हरेक पाइला, हरेक क्षण, हरेक समय देश र जनताकै पक्षमा बितेको छ। मेरो नेतृत्वले नेपाली समाजमा के–कति परिवर्तन ल्यायो वा ल्याएन, यसको समीक्षा जनता र इतिहासले गर्ने नै छन्। मैले यो पनि भन्ने गरेको छु, अबको मेरो बाँकी जीवन नेपाली समाजको चरित्र अनुरुप वैज्ञानिक विचारको विकास गर्दै समाजवादी क्रान्तिको आधार तयार पार्नेतर्फ केन्द्रीत हुनेछ। समाजवादी क्रान्तिको तयारी गर्ने हाम्रो संकल्पसँगै हाम्रो काँधमा इतिहासले एउटा ठूलो जिम्मेवारी दिँदैछ। त्यसैले यो तीन महिने अभियान इतिहासले सुम्पेको यो जिम्मेवारीको ठोस आधार तयार पार्ने समयसमेत हो। हामीले अभियानमार्फत कस्तो विचारको विकास गर्छौं र कस्तो पार्टी निर्माण गर्छौं भन्ने कुरामा हाम्रो भविष्य, हाम्रा लाखौं नेता र कार्यकर्ताको भविष्य समेत निर्भर छ। तसर्थ, यो अभियानका क्रममा तपाइका हरेक पाइला, सोँच, चिन्तन, कार्यशैली समय हामी सबैको, नेपाली जनताको र विश्वका श्रमजीवी जनताको भविष्य निर्माणमा अघि बढ्नेछन् भन्ने विश्वास लिएको छु। आदरणीय जनसमुदाय, पार्टी रुपान्तरणको यो विशेष अभियानमा हामी तपाईको घरदैलौमा आउँदैछौं। मलाई राम्रैसँग बोध छ– माओवादी आन्दोलनसँग यहाँहरुको विशेष आत्मीयता छ, विशेष अपेक्षा छ र केही असन्तुष्टि पनि। अहिले माओवादी केन्द्रकै नेतृत्वमा सरकार बनेपछि यहाँहरुमाझ अब केही हुन्छ, श्रमजीवि जनताले देखेको सपना पुरा हुन्छन्, शोषण र विभेद अन्त्य भई सामाजिक न्यायसहितको समाजको स्थापना हुन्छ भन्ने आशा पुनः पलाएको छ। सरकारले गरेका सुशासनमुखी कामबाट राजनीतिप्रति नै भरोसा जागेको छ। हामी वाचा गर्दछौं, हाम्रा कदमहरु अग्रगमनबाट विचलित हुने छैनन्। जनताले देखेका सपना, जनताका अपेक्षा पुरा गर्ने दिशामा हाम्रो राजनीति र हाम्रो संगठन गतिशील हुनेछ। कतिपय गल्ती, कमजोरी रहेपनि इतिहासबाट पाठ सिक्दै यो अभियानमार्फत हामी जनताको बलियो, क्रान्तिकारी र भरोसायोग्य पार्टी बन्ने छौं। अभियानका क्रममा यहाँहरुको रचनात्मक र उर्जाशील सहभागिताका लागि हार्दिक अपील गर्न चाहन्छु। अन्त्यमा, सम्पूर्ण कमरेडहरू केन्द्रीय समितिको स्पिरिट र निर्णयअनुसार तोकिएको जिम्मेवारी र कार्यक्षेत्रमा खटौं, पार्टी र जनताबीच नङ–मासुको सम्बन्ध स्थापित गरौं। घेराबन्दी र चुनौतीहरू छिचोल्दै सकारात्मक भाष्य र सुनौलो भविष्य निर्माणमा केन्द्रित होऔं। समाजवादको भविष्य उज्ज्वल छ, हाम्रो जीत सुनिश्चित छ। धन्यवाद, अभिवादन।
डेङ्गुको सङ्क्रमण बढ्दै, सङ्क्रमणबाट जोगिन मन्त्रालयको आग्रह
काठमाडौं । पछिल्लो समय निरन्तर भैरहेको वर्षासँगै नेपालमा डेङ्गुका बिरामी बढ्न थालेका हुन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले डेङ्गुका बिरामी बढ्न थालेको जानकारी दिए । पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेको दाहालको भनाई छ । उनका अनुसार सन् २०२३ यता अहिलेसम्म एक हजार २४ जना मानिस डेङ्गुका कारणले बिरामी परेका छन् । यो वर्ष अहिलेसम्म सङ्क्रमणबाट सुनसरीमा एक जनाको ज्यान गएको छ । महाशाखाका अनुसार काठमाडौं ४६, ललितपुरमा १२ र भक्तपुर ३५ बिरामी भेटिएका छन् । यस्तै सबभन्दा बढी देखिएको दार्चुलामा एक सय ८७, धादिङमा एक सय ३१, सुनसरीमा ७५, कास्कीमा ६६ र म्यादीमा २९ जना डेङ्गुका बिरामी भेटिएका छन् । उनले बर्खायाम सुरु भएसँगै डेङ्गुबाट बच्न आग्रहसमेत गरे । “अहिले दैनिक पानी परिरहेको छ । परेको पानी फूलदानी, जारमा जम्मा हुन्छ अनि त्यही लामखुट्टेले फुल पार्दछ”, उनले भने, “सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्दछ ।” डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गु रोग लाग्दछ । डेङ्गुले उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदिजस्ता लक्षण देखा पर्दछन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मीयामसँगै पानी पर्न थालेपछि लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले डेङ्गु सङ्क्रमणबाट जोगिन आग्रह गरेको छ । लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न अनुरोध गरिएको छ । यस्तै मन्त्रालयले सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ । सन् २०२२ मा ५४ हजार छ सय ३० जनामा डेङ्गु देखिएको र डेङ्गुबाट ८८ जनाको ज्यान गइसकेको छ । पुस १५ गतेयता अहिलेसम्म सात सय एक जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । नेपालमा पहिलोपटक सन २००४ मा एक जनामा डेङ्गु देखिएको थियो । सन् २००५ मा भने डेङ्गुका बिरामी देखिएनन् । त्यसपछि सन् २००६ देखि डेङ्गुको सङ्क्रमण देखिँदै आएको छ ।
विप्लवसहित चार कम्युनिस्ट पार्टी छलफलमा,जनयुद्ध दिवस सँगै मनाउने
काठमाडौं। संसद् बाहिर भएका चार कम्युनिस्ट पार्टीहरूले एकताबद्ध भएर जाने विषयमा छलफल गरेका छन् । शुक्रवार काठमाडौंमा भेट भई चार पार्टी मोर्चा बन्दी गरेर जाने विषयमा छलफल गरेका हुन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा, विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी र कर्णजीत बुढामगर नेतृत्वको नेकपा माओवादी समाजवादी पार्टीहरू माओवाद मान्नेहरू एक भएर जाने विषयमा छलफल गरेका हुन् । माओवादी पृष्ठभूमि भएका र माओवाद मान्नेहरू एक ठाउँमा उभिनुपर्ने निष्कर्षमा पुगेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । चार पार्टीका नेताहरु आगामी फागुन १ गते जनयुद्ध दिवस सँगै मनाउने विषयमा समेत सहमत भएका छन् ।
एमालेद्धारा हार स्वीकार : चुनाव हार्नुको मूख्य कारण अन्तरघात
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते भएको स्थानीय तह चुनावमा एमालेकाे हार स्वीकार गरेका छन् । उनले पार्टीले हार्नुको मुख्य कारण अन्तरघात भएको बताएका छन्। बुधबार बानेश्वरस्थित संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले अन्य दलका कारण नभई एमालेकै कारण चुनाव हारिएको बताएका हुन्। ‘अरू पार्टीका कारण होइन यसपटक एमालेमा अन्तरघात भयो। यस्तो गर्न कहाँबाट सिकेछन्, यस विषयमा बृहत् रूपमा समीक्षा गरिनुपर्छ,’ ओलीको भनाइ उद्धृत गर्दै एक सांसदले भने , ‘चार महानगरमा हामीले उपमेयर जित्यौं तर मेयर जित्न सकेनौं। भकाभक उपमेयर जित्ने, मेयर हार्ने भन्ने हुँदैन।’ ओलीले माधव नेपालको पार्टीमा समेत यस्तो अन्तरघात नभएको बताए। ‘अरू पार्टीमा नभएको यस्तो अन्तरघात हाम्रो पार्टीमा मात्रै कसरी भयो हामीले खोज्नुपर्छ,’ ओलीले बैठकमा भने,‘अर्को कारण राज्यसत्ताको चरम दुरूपयोग भयो। केही ठाउँमा हाम्रा साथीहरूको हत्यासम्म भयो। लोकतन्त्रको चीरहरण गर्ने काम भयो। त्यसले पनि हाम्रो मतमा प्रभाव पार्यो।’ वैशाख ३० गते भएको निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ। अब काठमाडौं महानगरसहित ६ पालिकामा मात्र अन्तिम परिणाम आउन बाँकी छ। एमाले यसपालि दोस्रो दल बनेको छ। २०७४ को चुनावमा २९४ पालिका जितेको एमाले यसपालि २०३ पालिका मात्रै मेयर –अध्यक्ष जितेको छ। चुनावी परिणामपछि ओलीले पहिलो पटक बुधबार यसबारे प्रतिक्रिया दिएका हुन्।
सुनको मूल्य आज एक हजारले घट्यो
काठमाण्डौ – सुनको भाउ आज मंगलबार एक हजार रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ९७ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९८ हजार रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १२ सय ४५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
दूरी टाढा भएका ६० छात्रालाई साइकल वितरण गरिन मेयर रेनुले
चितवन । भरतपुर महानगरमा विपन्न र घरबाट स्कूल जान भौगोलिक दूरी टाढा भएका ६० छात्रालाई साइकल वितरण गरिएको छ । भरतपुर महानगरपालिकाले जोखिममा परेका महिलासँग मेयर कार्यक्रमअन्तर्गत साइकल वितरण गरेको हो । २ बर्ष अघिदेखि सुरु गरेको कार्यक्रम अन्र्तगत यो पटक भरतपुर वडा नम्बर १८, १९ र २० का ८ वटा विद्यालयका गरी ६० जना छात्रालाई आज साईकल वितरण गरिएको भरतपुर महानगर सामाजिक महाशाखले जनाएको छ । महानगरले हालसम्म ५ सय २४ जना छात्रालाई साईकल प्रदान गरिसकेको छ । विद्यालय शिक्षामा छात्राको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीलाई साइकल हस्तान्तरण गर्ने महानगरको अघिल्लो आर्थिक वर्षको योजनाअन्तर्गत साइकल वितरण गरिएको मेयर रेनु दाहालले जानकारी दिईन् । महानगरले यो बर्ष १० वटा वडाका २ सय जना छात्रालाई साइकल वितरण गर्ने योजना बनाएको छ। बाँकी रहेका वडाका विद्यालयलाई केही दिनमा साइकल वितरण गरिने मेयर दाहालले बताइन्।एक समारोहका विच भरतपुर महानगरकी मेयर रेनु दाहाल, उपमेयर पार्वती शाहसहितको टिमले संयुक्त रुपमा छात्राहरु पश्चिम चितवनको भीमनगर माविबाट साईकल वितरण गरेका थिए । सो अवसर बोल्दै मेयर रेनु दाहालले विकासको गतिले अगाडी बढेको भरतपुरमा शैक्षिक सुधारका लागि स्थानिय सरकारले गर्नुपर्ने शैक्षिक सुधारकै कारण ५ हजार भन्दा बढी विद्याथीृहरु सामुदायिक विद्यालयमा बढेको जानकारी दिईन् ।उनले महानगरका विद्यालयलाई छात्रामैत्री र प्रविधिमैत्री बनाउन लागिपरेको बताइन्। उनका अनुसार महानगरभित्रका सरकारी विद्यालयको शैक्षिकस्तर विकासका लागि भौतिक संरचना विकासमा धमाधम काम भइरहेको छ । यस्तै उपमेयर पार्वती शाहले विपन्न परिवारका छात्राहरुलाई लक्षित गरी गरिएको यो कार्यक्रमले छात्राहरुलाई विद्यालयमा निरन्तरता गराउन धेरै प्रभावकारी हुने बताइन्। उनले महानगरले छात्राहरुलाई नै लक्षित गरि निशुल्क रुपमा सेनेटरी प्याड वितरणदेखि स्कुल बस प्रदानसहितका शैक्षिक सुधारका आधा दर्जन बढी कामहरु गरेको बताईन् । साइकल पाएपछि छात्राहरु खुसी भएका छन् । साइकलका कारण विद्यालय जान आउन सजिलो हुने र यसले गर्दा पढाईलाई निरन्तरता दिन सहज हुने छात्राहरुले बताए। कार्यक्रममा बोल्दै छात्रा भरतपुर २० भीमचन्द्र आधारभुत विद्यालय कक्षा दुईमा अध्यनरत मन्जु परियारले साधन नहुँदा विद्यालय पुग्न ढिला हुने र कक्षा छुट्ने समस्याको अन्त्य भएको बताए ।यस्तै भरतपुर १८ भुवनवस्ती स्थित आधारभुत माध्यामिक विद्यालय कक्षा ७ मा अध्ययनरत सविना नेपालीले पनि आफुलाई मात्र होइन साइकल नभएका साथीहरुलाई पनि सहयोग गर्न पाउने अवसर प्राप्त भएको बताईन् । उनी मात्रै होईन् भरतपुर १८ गुञ्जनगर मावि कक्षा ११ मा अध्ययनरत सम्झना दुलालेको पनि खुसी उस्तै थियो । उनले साईकल प्रदान गरेकोमा मेयर रेनु दाहाल र उपमेयर पार्वती शाहलाई धन्यवाद दिदै यस्तै दिनदुखीका लागि विभिन्न काम गर्न सुझाव दिईन् । महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले महानगरको शैक्षिक सुधार नीतिले यहाँ शैक्षिक आर्कषण बढेको बताए । उनलका अनुसार महानगरले हालसम्म शैक्षिक सुधारका लागि ८० लाख बजेट छुटाउदै सुरु भएको सुधार कार्यक्रममा यो बर्ष मात्रै १७ करोड रुपैया छुटाई काम भएको बताए ।
उच्च गुणस्तरको एफएफपीथ्री मास्कले शत प्रतिशतसम्म कोरोनाबाट जोगाउन सक्ने खुलासा
स्वास्थ्यकर्मीले प्रयोग गर्ने मास्कले कोरोनाभाइरस सङ्क्रमण रोक्न महत्त्वपूर्ण भूमिका खेल्ने एक अध्ययनले देखाएको छ। ‘कोभिड सङ्क्रमण खतरा घटाउँछ केम्ब्रिज विश्वविद्यालय अस्पताल एनएचएस फाउन्डेशन ट्रस्टको अध्ययनले एफएफपीथ्री भनिने उच्च गुणस्तरको मास्कले शत प्रतिशतसम्म सुरक्षा दिने बताएको छ। तर साधारण सर्जिकल मास्क लगाउने स्वास्थ्यकर्मीमा भने तुलनात्मक रूपमा भाइरस सङ्क्रमण हुने जोखिम उच्च हुन्छ। कोभिडको नियमित परीक्षणमा सहभागीको तथ्याङ्कको आधारमा सो निष्कर्ष निकालिएको हो। यूकेको राष्ट्रिय निर्देशिकामा स्वास्थ्यरकर्मीले केही निश्चित परिस्थितिबाहेक अरूबेला सर्जिकल मास्क लगाउनुपर्ने उल्लेख छ। सर्जिकल मास्कहरूबाट पानी नछिर्ने भए पनि खुकुलो हुने भएका कारण हावामा हुने सूक्ष्म भाइरसका कणहरू स्वास्थ्यकर्मीमा प्रवेश पाउन सक्ने बताइन्छ। अध्ययनले रेड वार्डमा रहेका कोभिड बिरामीको रेखदेख गर्नेहरूमा ग्रीन वार्ड वा ननकोभिड वार्डमा काम गर्नेको तुलनामा ४७ प्रतिशतले जोखिम बढी हुने देखाएको छ। प्रमुख अनुसन्धानकर्ता डा. मार्क फेरिसले कोभिड नलागोस् भनेर अनेक उपाय गर्दा पनि अस्पतालका कर्मचारी सङ्क्रमित बन्दै आएको बताए। त्यसैले गत डिसेम्बरमा कोभिडको दोस्रो लहर सुरु हुँदा केम्ब्रिजका व्यवस्थापकहरूले रेड वार्डमा काम गर्नेहरूका लागि मास्कको गुणस्तर बढाउने निर्णय गरेका थिए। डा. फेरिसले भने, “एफएफपीथ्री प्रयोग गरे के होला भनेर हेर्न बाँकी थियो, त्यही गरियो।” एफएफपीथ्री लगाउँदा खुकुलो हुँदैन र एरोसोल फिल्टर गर्ने गरी विशेष डिजाइन गरिएको छ। यो मास्क लगाउन थालेपछि रेड वार्डमा काम गर्ने स्वास्थ्यकर्मीमा सङ्क्रमण दर ह्वात्तै घट्यो र त्यो ग्रीन वार्ड वा कोभिड बिरामी नभएका वार्डको काम गर्ने स्वास्थ्यकर्मीकै हाराहारीमा हुन पुग्यो। अध्ययनमा एफएफपीथ्री मास्कले कोभिड १९ बिरामीबाट स्वास्थ्यकर्मीमा रोग सर्ने कुरा ३१ देखि सम्भवतः १०० प्रतिशतसम्म झर्यो। जसलाई सङ्क्रमण भयो त्यो पनि अस्पतालका कारण भन्दा पनि समुदायमा रहेको सङ्क्रमणका कारण भएको हुन सक्ने देखियो। अध्ययनले तरल पदार्थ नछिर्ने सर्जिकल मास्कहरू स्वास्थ्यकर्मीलाई जोगाउन ‘अपर्याप्त’ रहेको बताएको छ। “वास्तविक प्रयोगमा आधारित अध्ययनले सर्जिकल मास्कभन्दा एफएफपीथ्री मास्क वास्तवमा प्रभावकारी भएको प्रमाण मिलेको छ,” अध्ययन समूहका सदस्य डा. माइक वीक्सले भने। उनले भने, “निश्चित रूपमा यो सानो तहमा गरिएको अध्ययन हो हामीले अन्यत्र पनि यस्तै गरेर हेर्नुपर्ने हुन्छ।” “तर परिणामका आधारमा भन्नुपर्दा सावधानी अपनाउन कोरोनाभाइरसका बिरामी हेर्ने स्वास्थ्यकर्मीलाई एफएफपीथ्री मास्क दिनु उचित हुन्छ।” केम्ब्रिज ट्रस्ट लगायत यूकेका १७ अन्य निकायले राष्ट्रिय निर्देशिका जे भए पनि पीपीईको गुणस्तर बढाउने निर्णय गरिसकेका छन्। कोभिडसम्बन्धी काम गर्ने स्वास्थ्यकर्मीलाई एफएफपीथ्री मास्क उपलब्ध गराउन ब्रिटिश मेडिकल असोशियशन, द रोयल कलेज अफ नर्सिङ र अन्य व्यावसायिक निकायले लामो समयदेखि माग गर्दै आएका छन्। यो महिनाको सुरुमा उच्च अधिकारीहरूसँग भएको बैठकमा पनि हावाले सर्ने यो रोग फैलिन रोक्न उच्च गुणस्तरका पीपीई उपलब्ध गराउन ती व्यावसायिक निकायले अनुरोध गरेका थिए। द फ्रेस एअर एनएचएस परामर्श दाता र चिकित्सकहरूले नयाँ स्वास्थ्यमन्त्री साजिद जावेदलाई खुला पत्र लेख्दै केम्ब्रिजको नयाँ अध्ययन सरकारको अहिलेको नीति परिवर्तन गर्नुपर्ने प्रमाण भएको बताएका छन्। एफएफपीथ्री मास्क सर्जिकल मास्कभन्दा अलि असजिलो लाग्ने भए पनि सर्भेहरूले कर्मचारीहरूले उच्च तहको सुरक्षा नै चाहने गरेको देखाएका छन्। स्वास्थ्य तथा सामाजिक सुरक्षा विभागका प्रवक्ताले पीपीई मापदण्ड उपलब्ध वैज्ञानिक तथ्याङ्कका आधारमा नियमित रूपमा अद्यावधिक गर्ने गरिएको बताए। -बिबिसीबाट साभार गरिएको
अन्निटा डिमेट्रिओ साइप्रसकाे पहिलो महिला सभामुखमा चयन
काठमाडौं : साइप्रसमा पहिलो पटक संसदबाट महिला सदस्य सभामुखमा चुनिनु भएको छ । सन् १९६० मा स्वतन्त्र भएको साइप्रसको दोस्रो सर्वाधिक शक्तिशाली पदमा अन्निटा डिमेट्रिओ चयन हुनु भएको छ। साइप्रसको कुल ५६ सदस्य रहेको संसदमा डिमेट्रिओले २५ मत प्राप्त गर्नु भएको थियो । सभामुखमा विजयी भएसँगै ३५ वर्षीया सांसद डिमेट्रिओले आफूले प्राप्त गरेको जिम्मेवारी पूर्ण निष्ठाका साथ पूरा गर्ने बताउँदै आफूले निष्पक्ष भूमिका निर्वाह गर्ने जानकारी दिनुभयो । साइप्रसका राष्ट्रपति निकोस अनास्तासियाडेसले डिमेट्रिओ निर्वाचित भएकामा आफूलाई निकै खुसी लागेको बताउनुभयो । उनले राष्ट्रपति पछि देशको सर्वाधिक शक्तिशाली राजनीतिक पदमा एक महिला चुनिनु देशकै लागि गर्वको विषय भएको बताउनुभयो । डिमेट्रिओ मध्य-दक्षिणपन्थी डेमोक्रेटिक पार्टीबाट सांसद हुनु भएको थियो । राष्ट्रपति अनास्तासियाडेसले पनि यही पार्टीलाई धेरै वर्षसम्म नेतृत्व दिनु भएको थियो । बेलायतको उपनिवेशबाट मुक्त भएपछिका ६१ वर्षमा धेरै महिला सदस्यहरुले राजनीतिक पद प्राप्त गरे पनि डिमेट्रिओले प्राप्त गरेको यो पद सबैभन्दा माथिल्लो हो । साइप्रसको राजनीतिमा महिलाको सहभागिता पुरुषको दाँजोमा निकै कम हुने गरेको छ । अहिले साइप्रसको १५ सदस्यीय मन्त्रीमण्डलमा तीन जना मात्र मन्त्री छन् । राष्ट्रपति अनास्तासियाडेसले अब हुने मन्त्रिपरिषद पुनर्गठनमा महिलाको सहभागिता वृद्धि गर्ने घोषणा पनि गर्नु भएको छ ।