रामायणले बनायो विश्व कीर्तिमान

लकडाउनको यो समयमा दूरदर्शनले आफ्नो एकदमै चर्चित शो ‘रामायण’ फेरि प्रशारण गरेको छ। पौराणिक कथामा आधारित यो कार्यक्रम सन् १९८० को दशकमा प्रदर्शनमा आएको थियो, अहिले लकडाउनमा यो टेलिभिजन श्रृंखला पुन: प्रशारण गरिएको थियो, दर्शकको दृश्य मूल्यांकन गर्दा यसको ‘भिओरसिप’ अहिले बढेको पाइएको छ।

कार्यक्रमको नयाँ रेटिङ गर्दा ‘रामायण’ ले पुरानो सबैभन्दा धेरै हेरिएको टेलिभिजन शोलाई पछाडि पारेको छ। यो भारतको मात्र हैन पूरै विश्वकै रेकर्ड हो। विश्वमा सबैभन्दा धेरै हेरिएको शो ‘गेम अफ थ्रोन्स’ को अन्तिम संस्करलाई रामायणले जितेर नयाँ रेकर्ड बनाएको हो। १६ अप्रिल सम्म यो कार्यक्रम ७ करोड ७० लाख भन्दा धेरैले हेरेका छन्। र यो कार्यक्रमा विश्वमा नै धेरै हेरिएको टेलिभिजन कार्यक्रम बनेको छ।

यो भन्दा अगाडि रेकर्ड बनाएको ‘गेम अफ थ्रोन्स’ लाई दिनमा १ करोड ९३ करोड पल्ट हेरिएको थियो।

‘रामायण’ मा स्टार अरुण गोभिल र दिपिका चिखाइला मुख्य भूमिका छन्। यस्तै गेम अफ थ्रोन्समा इमिलिया क्लार्के, लेना हेडे, माइसेई विलियम्स, सोफि टर्नर, किट ह्यारिङटोन लगायतका कलाकारहरु मुख्य भूमिकामा छन्।

रामायण रामानन्द सागरले लेखेका र निर्देशन गरेका हुन्। यो कार्यक्र पहिलोपल्ट सन् १९८७ को जनावरी २५ देखि जुलाई ३१, १९८८ सम्म प्रशारणमा आएको थियो। त्यसको केही वर्षपछि रामायण विश्वमा नै धेरै हेरिएको पौराणिक कथामा आधारित टेलिभिजन कार्यक्रम अन्तर्गत पर्छ। एजेन्सी

प्रताप दासको ‘मैले भुल गरे’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, भदौ १६ । पहिलो नेपाल आइडल प्रताप दासको आवाजमा रहेको गीत ‘मैले भुल गरे’ बजारमा सार्वजनिक भएको छ । समीर बानेम लिम्बुको शब्द तथा संगीतमा तयार पारिएको गीतलाई धनु धनु ग्याङ्मीले एरेन्ज गरेका छन । म्युजिक भिडियोमा मोडल तथा भिजे सोनिका रोकाया र जीवन राईको फिचरिङ रहेको छ । मुकेश हुमागाईँले छायाँकन गरेको भिडियोलाई अमृत चापागाईँले सम्पादन तथा जशु याक्खाले निर्देशन गरेका हुन । हेर्नुहोस भिडियो

पछिल्ला निर्वाचनमा चरम भ्रष्टाचार

काठमाडौं, चैत २८ । महालेखाले असार मसान्तसम्मको लेखापरीक्षण गर्दा निर्वाचन आयोगमा भएका सयौँ अनियमितता भेट्टाएको छ । अझ असार मसान्तपछि स्थानीय तहको तेस्रो चरणको र संघीय संसद् तथा राष्ट्रपतिको निर्वाचन भएको छ । असार मसान्तसम्म भएका अनियमितताको नमुना : १. दाताबाट आएका नौ सय थान ल्यापटप आयोगले किनेको बिल युएनडिपीले निर्वाचन सहयोग परियोजनामार्पmत ९ सय थान ल्यापटप र प्रिन्टरसहित प्राविधिक सहयोग गरेको महालेखाले उल्लेख गरेको छ । त्यस्तै, चीन सरकारबाट घडी, रबरम्याट, जेलपेन, स्केल, कैँचीलगायत ११ वटा निर्वाचन सामग्री प्राप्त भएको पनि जनाएको छ । तर, यिनै सामान आफैँ खरिद गरेको भनेर निर्वाचन आयोगले बिल पेस गरेको छ । २. महँगोलाई परिचयपत्र छाप्न दिँदा चार करोड नोक्सान आयोगले प्रतिगोटा आठ रुपैयाँ ४१ पैसा अनुमान गरी मतदाता परिचयपत्र छाप्न टेन्डर आह्वान गरेको थियो । तर, निर्धारित समयमा आएका दुईवटा कम्पनीको टेन्डर रद्द गरी दोस्रोपटक टेन्डर आह्वान गरेर आयोगले ११ रुपैयाँ २९ पैसाका दरले ठेक्का दियो । यसरी करिब एक करोड ४० लाख परिचयपत्र छाप्दा राज्यलाई चार करोड तीन लाख नोक्सान भएको छ । ३. ५० मिटरको यात्रा, प्रतिव्यक्ति दुई हजार ट्याक्सी भाडा १८ र १९ चैत ०७३ मा निर्वाचन आयोगले होटेल एल्लो प्यागोडामा निर्वाचन सुरक्षासम्बन्धी कार्यक्रम गरेको थियो । निर्वाचन आयोगको गेटबाट होटेल एल्लो प्यागोडा ५० मिटरमा छ । तर, आयोगका ३७ जना कर्मचारीले होटेलमा जाँदा अलगअलग ट्याक्सी चढेको भनेर दुई–दुई हजारका दरले भुक्तानी लिएका छन् । ४. दाताको ४० लाख लेखापरीक्षणका लागि पेस नै गरिएन आइडिया नेपालले निर्वाचन सहायताको रूपमा असार मसान्तसम्म ४० लाख ५४ हजार उपलब्ध गराएको थियो । तर, निर्वाचन आयोगले त्यसको विवरण नै लेखापरीक्षकलाई दिएको छैन । ५. एकजनालाई एक छाकमा तीन हजार आठ सयको खाजा आयोगको आफ्नै नियमअनुसार एकजना पाहुनाका लागि स्तरअनुसार १५० देखि पाँच सय रुपैयाँसम्म खाजामा खर्च गर्न मिल्छ । १० वैशाख ०७४ मा होटेल यल्लो प्यागोडामा आयोजित दलका प्रतिनिधिसँग छलफल कार्यक्रममा विभिन्न दलका १९७ प्रतिनिधि सहभागी थिए । कार्यविधिअनुसार अधिकतम ५ सय खर्च गर्दा पनि ९८ हजार रुपैयाँ खर्च हुनेमा सात लाख ५३ हजार खर्च देखाइएको छ । यसो गर्दा एक प्रतिनिधिले एक छाकमा तीन हजार ८२२ रुपैयाँको खाजा खाएका छन् । यस्ता अन्य कार्यक्रममा तीन लाख खर्च हुनुपर्नेमा १३ लाख खर्च देखाइएको छ । ६. नमुना मतपत्र छपाइमा पनि अनियमितता मतपत्र छाप्न निर्वाचन आयोगले जनक शिक्षालाई ४५७ मेट्रिक टन कागजको मूल्य र छपाइको मूल्य अलग–अलग तिर्ने सम्झौता भएको थियो । तर, नमुना मतपत्रका लागि भने कागजसहितको एकमुष्ट रकम १८ लाख ९३ हजार भुक्तान भएको थियो । तर, पछि आयोगले मतपत्र छपाइको रकम भुक्तान गर्दा नमुना मतपत्रका लागि कागज किन्न भनेर अतिरिक्त पाँच लाख ४५ हजार रुपैयाँ पनि भुक्तान गरेको छ । अनियमितता भएको छैन : अयोधीप्रसाद यादव, प्रमुख निर्वाचन आयुक्त तपाईंको नेतृत्वमा सम्पन्न भएको निर्वाचनका समयमा आयोगले आर्थिक अनुशासन कति कायम राखेको थियो ? शतप्रतिशत आर्थिक अनुशासनमा रहेर हामीले निर्वाचन सम्पन्न गराएका छौँ । यो मेरो दृष्टिकोण हो । तर, महालेखाले तयार पारेको रिपोर्टमा त भ्याएसम्म आर्थिक अनुशासन उल्लंघन गरेको देखिन्छ नि ? त्यो उहाँलाई नै सोध्नुस् । मैले रिपोर्ट हेर्न पाएको छैन । देख्न पाएको छैन । आयोगको गेटबाट ३० मिटरको दूरीमा रहेको होटेलमा जान–आउन २ हजारका दरले ट्याक्सी भाडा तिरेको बिल पेस गर्नुभएको रहेछ नि ? त्यो कुरा आर्थिक प्रशासनलाई सोध्नुस् । हामी आयोगका पदाधिकारीलाई त्यो कुरा थाहा हुँदैन । मलाई महालेखाको प्रतिवेदनमा के छ भन्ने नै थाहा छैन । खर्च कटौतीका लागि नजिकको होटेल रोजेको हो । त्यो हो भन्ने मलाई लाग्दैन । विगतका निर्वाचनको तुलनामा खर्चमा निकै मितव्ययिता अपनाएका छौँ । आफैँले नेतृत्व गरेको आयोगले करोडौँ अनियमितता गरेको पनि थाहा नहुने कार्यालय प्रमुख हुन्छ ? मेरो बुझाइमा अनियमितता नै भएको छैन । अनि मैले के थाहा पाउनुपर्ने ? मतलब, महालेखाको प्रतिवेदन नै गलत हो ? मैले प्रतिवेदन पाएको छैन । तपाईंले कसरी थाहा पाउनुभयो ? मैले त अहिलेसम्म प्रतिवेदन पाएको छैन । प्रतिवेदनमा के छ, नहेरी म प्रतिक्रिया दिन सक्दिनँ । भोलि मेरो कार्यालयमा आउनुस्, अनि कुरा गरौँला । अख्तियारले छानबिन गर्न सक्छ : नीलकण्ठ उप्रेती, पूर्वप्रमुख निर्वाचन आयुक्त निर्वाचनका क्रममा भएको आर्थिक अनियमितता छानबिन हुन नसक्ने भन्ने हुँदैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न नपाउने भन्ने छैन । प्रमुख आयुक्त र आयुक्तसहितको आयोगले गरेका नीतिगत निर्णय छानबिनमा नआउने भए पनि कार्यकारी तहमा सचिवालयबाट हुने निर्णयमाथि छानबिन र कारबाही गर्न सक्छ । सबै निर्णय आयोगबाट हुँदैनन्, त्यसैले कर्मचारी तहबाट भएका निर्णय र आर्थिक कारोबारमा अनियमितता वा बदमासी देखिएमा अख्तियारले छानबिन गर्न सक्छ । प्रमुख आयुक्तदेखि पदाधिकारीकै संलग्नता ३० वटा कार–जिप हुँदाहुँदै साढे ११ करोड खर्चेर पाँच नयाँ गाडी महालेखाका अनुसार आयोगमा कार र जिप ३०, पिकअप भ्यान १८ र ठूलो बस–१, माइक्रोबस–३ र ट्रक–३ चालू अवस्थामा छन् । तर, प्रमुख आयुक्त तथा आयुक्तहरूका लागि ११ करोड ६० लाख खर्च गरी पाँचवटा नयाँ सवारीसाधन खरिद गरिएको छ । बजेट दिग्दर्शन निर्देशिकाविपरीत यो खरिद भएको महालेखाको ठहर छ । इन्धनबापतको नगद खल्तीमा, आयोगबाट कुपन संवैधानिक निकायका पदाधिकारीहरूको रूपमा प्रमुख आयुक्तले मासिक १५० र आयुक्तले १०० लिटर इन्धनबापत नगद लिँदै आएका छन् । त्यो पैसा गोजीमा हालेर उनीहरूले आयोगबाट इन्धनबापत कुपन पनि लिँदै आएका छन् । अझ आयुक्त इला शर्माले त मासिक इन्धनको पैसा मात्र होइन, आफ्नो एउटै गाडीका लागि डिजेल र पेट्रोलको कुपन पनि लिएकी छिन् । यो अनियमितता महालेखाले औँल्याएको छ । एक लाख ७३ हजारका दरले आइफोन खरिद आयोगले ६ थान आइफोन सेभेन प्लस खरिद गरेको छ जसको बजारमूल्य अधिकतम एक लाख ३२ हजार हुन्छ । तर, आयोगलाई प्रतिफोन १ लाख ७३ हजार तिराएर किनिएका ६ मध्ये दुईवटा फोन प्रमुख आयुक्त एक्लैले बोकेका छन् । त्यस्तै, ७६ हजार ९९९ को सामसुङ ग्यालेक्सी ५७ र ३३ हजार ५२८ मूल्यको र ओप्पो ९३७ खरिद गरिएको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।

तनहूँस्थित ढोरवाराहीमा रहस्यमय प्राकृतिक ‘लहरी’

पोखरा, असोज १३ । मन्दिर छेउमै रहेको कुण्डमा पानी कम थियो । माछामा विचलन आएको जस्तो देखिन्थ्यो, केही समयमा सबै माछा पानी आउने मुहानतिर एकीकृत भएलगत्तै चट्टानको भित्रबाट पानीको ठूलो भल्को आउनासाथ व्यग्र प्रतीक्षामा रहेका पर्यटक एवं भक्तजनमा खुशियाली छायो । सयौँ वर्षदेखि ठूलो पहाडको भित्रबाट पहरो छिचोल्दै प्रत्येक दुई घण्टाको अन्तरालमा आएको पानीको भल्कोले मन्दिरको नजिकै रहेको कुण्डमा पानी भरिने र तल्लो भागमा मनोरम झरना बन्ने रहस्यमय ‘लहरी’ चल्ने सो मनोरम तथा अकल्पनीय दृश्य तनहूँ जिल्लास्थित ढोरवाराही मन्दिर परिसरको हो । ‘प्राकृतिक तथा सांस्कृतिक नयाँ गन्तव्यको पहिचान’ भन्ने नारासहित ३८औँ विश्व पर्यटन दिवसका अवसरमा पर्यटन प्रवद्र्धन सम्भाव्यता अध्ययन अवलोकनका लागि ढोरवाराही मन्दिर परिसरमा पुगेको विज्ञसहितको पोखराका पर्यटन व्यवसायी र सञ्चारकर्मीको टोलीलाई सो लहरीले भव्य स्वागत गरेको थियो । नेपाल पर्वतारोहण संघ, अन्नपूर्ण शाखाको आयोजना तथा पर्यटन बोर्ड प्रवद्र्धक र मिलेनियम ट्रेक व्यवस्थापन समितिको समन्वयमा ढोरवाराही मन्दिर परिसरमा टोली पुग्नासाथ चलेको लहरीले भरिएको कुण्ड र झरनाले स्वागत गरेको मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामराजा महतले बताए । उहाँका अनुसार लहरी (पानीको ठूलो भल) आउनुभन्दा केही समयअघि कुण्डमा रहेका माछा पानी आउने मुहानतर्फ जम्मा भएर दृश्यावलोक गर्न आउने आन्तरिक एवं बाह्य पर्यटकलाई भित्रबाट पानी आउँदैछ भन्ने सूचना गर्नु यहाँको अनौठो विशेषता रहेकोछ । कुण्डमा देवीको नाउँमा बलि तथा पञ्चबलि दिने प्रचलन परस्परागतरुपमा रहँदै आएको बताउँदै महत भन्नुहुन्छ, “बलि चढाउँदा निस्केको रगत र मासुका स–साना टुक्रा र प्राकृतिक आहारबाट त्यहाँ रहेका माछा जीवित रहन्छन्”, कुण्डका माछाले अन्न भने खाँदैनन् । विशेषगरी ढोरवाराही देवीको उत्पत्ति श्रीपञ्चमीका दिन भएकाले उक्त दिनका साथै नयाँ वर्ष र अन्य चाडपर्वका बेला भक्तजनको भीड लाग्ने गरेको छ । अन्य दिनमा पनि तीनसय भन्दा बढी भक्तजन तथा दर्शक लहरी हेर्न र कुण्डमा स्नान गर्न आउने गरेका छन्, उनले बताए । कुण्डमा रहेको ठूलो शिलामा बलि चढाउने गरिएको सो धार्मिक क्षेत्रमा दैनिक २० देखि ५० वटासम्म पाठापाठी बलि दिने गरेको र बलि दिएका जनावरको टाउको जिम्मा लिन र सरसफाइ गर्न वार्षिक रु २० लाखमा शुक्लागण्डकी नगरपालिकाले ठेक्कामा दिएको छ । ढोरवाराही देवीको उत्पत्ति कहिले भयो र लहरी कहिलेदेखि छुटेको हो भन्ने यकिन जानकारी नभए पनि मन्दिरमा नेपाल संवत् ९११ सालमा चढाएको घण्ट अहिले पनि सुरक्षित रहेको पुजारी चिरञ्जीवी लम्साल बताए । पहाडभित्र रहेको ठूलो पानीको तलाउमा छाल चल्दा पानीसँगै सो स्थानमा बाहिर निस्केको बहाव लहरी बन्ने गरेको हुनसक्ने टोलीमा संलग्न भूगोलविद् प्रा डा कृष्ण केसीको धारणा रहेको छ । यसको थप अध्ययन अनुसन्धान गर्नु आवश्यक रहेको बताउँदै उनले भने, “अनुकरणीय प्राकृतिक स्रोतको विश्वबजारमा बिक्री गरी आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धन गर्नु आवश्यक छ ।” सेतीनदी किनारामा अवस्थित रकगार्डेन, तिब्बतीयन क्याम्प, ढोरवाराही मन्दिर र रहस्यमय लहरीलाई समेटेर आन्तरिक एवं बाह्य पर्यटकका लागि एकदिने यात्राको तयारीमा जुटेको नेपाल एक्स एण्ड एक्सपिडिसन प्रालिका प्रबन्ध निर्देशक जीवन सापकोटा बताए । पृथ्वी राजमार्गखण्डको तनहुँस्थित गाछेपानीबाट सेतीनदी पार गर्दै लगभग पाँच किमी दूरीमा रहेको ढोरवाराही मन्दिरसम्म पुग्ने बाटो पक्की गर्ने कार्य भइरहेको शुक्लागण्डकी कार्यपालिका सदस्य गीता महतले जानकारी दिए । नगरपालिकाले गत आवमा रु ६० लाखको लागतमा मन्दिरस्थलसम्म बाटो विस्तार तथा एकतर्फी ढल बनाउने कार्य सम्पन्न भइसकेको बताउँदै उनले भने, “यस वर्ष रु एक करोड छुट्याएर कालोपत्र गर्ने कार्यसमेत शुरु गरिएको छ ।” रासस

नवाजुद्दीनको हट किस सिन चर्चा

असार २९ । बलिउडमा गम्भीर भूमिकाका लागि परिचित अभिनेता नवाजुद्दीन सिद्दिकीले आफ्नो आगामी फिल्म ‘बाबूमोशाय बन्दूकबाज’ मा हट किस सिन दिएका छन् । फिल्मको ट्रेलर सार्वजनिकसँगै उनले पहिलो पटक चलचित्रलाई दिएको किस सिनको सर्वत्र चर्चा हुन थालेको छ । फिल्ममा अभिनेत्री बिदिता बेगसँग नवाजको किस सिन समावेश गरिएको हो । ट्रेलर लन्च गर्ने कार्यक्रममा नवाजले पहिलोपटक यस्तो सिन दिँदा भएको अनुभव सेयर गरेका थिए । उनले यो सिन दिँदा आफू निकै नर्भस बनेको बताए । उनले भने, ‘मैले पहिलोपटक स्क्रीनमा इन्टिमेट सिन गरेको हुँ । यस्तो सिनको सुटिङ गर्दा मजा आउँदैन रहेछ, बरु मनमा अनेक प्रकारका भावहरु उत्पन्न हुँदा रहेछन् । मलाई यो सिनमा फोकस गर्न निकै गाह्रो भयो ।’ फिल्ममा नवाजका साथमा दिब्या दत्ता र बंगाली अभिनेत्री बिदिता बेगको अभिनय रहेको छ । नवाजले फिल्ममा आफ्नो चरित्र निभाउनका लागि बन्दूक चलाउने विशेष तालिम लिएका थिए ।

अमेरिकामा नेपाली बिद्यार्थीको डुवेर मृत्यु

न्यूयोर्क, बैसाख १२ ।  अमेरिकाको मिनिसोटा राज्यमा नेपाली विद्यार्थी अर्बिन थापाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । साउथवेस्ट मिनिसोटा स्टेट युनिर्भर्सिटीमा अध्ययनरत थापा पौडी खेल्ने क्रममा शनिबार नदीमा बेपत्ता भएका थिए । आइतबार मात्र उनको शव फेला परेको थियो । लमजुङको सुन्दरबजार ३ भोटेओडार स्थायी घर भएका थापा दुई बर्षअघि स्टुडेन्ट भिसामा अमेरिका गएका थिए । यो खबर आजको कान्तिपुरमा छ ।

प्रधानमन्त्रीको घोषणा १ हप्तामै कार्यान्वयन, शक्तिखोर अत्याधुनिक औद्योगिक नगरी बन्ने

काठमाडौँ, फागुन ७ । तत्कालीन विद्रोही माओवादीको जनमुक्ति सेनाको डिभिजन हेडक्र्वाटर रहेको चितवनको शक्तिखोर अत्याधुनिक औद्योगिक नगरी बन्ने भएको छ । गत मंगलबार मन्त्रीपरिषदको बैठकले औद्योगिक नगरी बनाउने निर्णय गरेसँगै शक्तिखोरको विकास औद्योगिक नगरीको रुपमा हुन लागेको हो । प्रधानमन्त्री प्रचण्डले शक्तिखोरलाई औद्योगिक नगरी बनाउने घोषणा गरेको एक हप्तामै उनको घोषणा कार्यान्वयनमा आउने भएको हो । माघ २६ गते गृह जिल्ला चितवन पुगेका प्रचण्डले चितवनलाई औद्योगिक नगरी बनाउने घोषणा गरेका थिए । चितवनबाट काठमाडौं फर्केलगत्तै प्रचण्डले उद्योगमन्त्री नवीन्द्रराज जोशीलाई बोलाएर शक्तिखोरलाई औद्योगिक नगरी बनाउने प्रस्ताव मन्त्रीपरिषदमा ल्याउन निर्देशन दिएका थिए । मन्त्रीपरिषदले सैद्धान्तिक स्वीकृति दिएको औद्यागिक नगरीको गुरुयोजना बन्न भने बाँकी नै छ । अत्याधुनिक औद्योगिक नगरीमा व्यवस्थित बत्ती, पानीको सुविधा, फोहोर संकलन र व्यवस्थापन केन्द्र, औद्योगिक सुरक्षा लगायतका औद्योगिक पूर्वाधार निर्माण गरिनेछ । नगरीमा सेवाग्राहीले सस्तो मूल्यमा औद्योगिक वस्तुको खरिदबिक्री गर्न पाउनेछन् भने सबै सेवाहरु एकीकृत रुपमा पाउनेछन् । सरकारको स्वामित्वमा रहने औद्योगिक नगरीमा स्थानीय व्यावसायीले सुलभ दरमा लिजमा जग्गा र भौतिक पूर्वाधारको उपयोग गर्न पाउनेछन् । मन्त्रीपरिषदको औद्योगिक नगरी बनाउने निर्णय भएसँगै प्रचण्डको घोषणा एक हप्तामै कार्यान्वयनमा आएको हो । शक्तिखोरमा औद्योगिक नगरी बनेपछि त्यसले देशको अर्थतन्त्रमा गुणात्मक योगदान गर्ने व्यवसायीहरुको विश्वास छ ।

मोबाइलको बजारमा आइफोन –८ सबैभन्दा महंगो हुने

एप्पलले दशौँ वाषिर्कोत्सवको अवसर पारेर सार्वजनिक गरिने भनिएको आईफोन –८ मोवाइल दुनियाँकै महंगो पर्ने भएको छ । उक्त आइफोन –८ मा कैयन् अत्याधुनिक फिचर्स तथा इनोभेटिभ डिजाइन हुनेछ । समाचारमा आएअनुसार आइफोन–८ मूल्य १ हजार डलर भन्दा बढि हुनेछ र यो एप्पलले उत्पादन गरेको अहिलेसम्मकै महंगो स्मार्टफोन हो । आइफोन–८ मा एज टू एज ओएलइडी डिस्प्ले र थ्री डी सेन्सिंग जस्ता अत्याधुनिक प्रविधि रहनेछन् । जसले यसको मूल्य अन्य आइफोन भन्दा दोब्बर हुने पक्का छ । यद्यपि एप्पलको नयाँ आइफोनको नाम आइफोन एट नै हुन्छ भन्ने पक्का छैन । यो फोन ५.८ इन्चको डिस्प्लेयुक्त हुनेछ । यसमा आइफोन सेभेन प्लसमा जस्तै डुअल लेन्स क्यामरा हुनेछ । साथै यसमा होम बटनको साटो डिस्प्लेमै टच बटन हुनेछ । त्यस्तै एप्पलले आइफोनका साइडका बटनहरुलाई पनि टच सेन्सेटिभ बटनले प्रतिस्थापित गर्नेछ । समाचार अनुसार यो बहुमूल्य आइफोनसँगै एप्पलले अरु दुई आइफोन पनि लञ्च गर्ने तयारी गरेको छ ।

सहमतिमै संशोधनको प्रस्ताव गरियाे, एमालेकाे टाउकाे दुखाई किन ?

दाङ, २२ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा फिर्ता नहुने बताएका छन् । संविधान संशोधनको प्रस्ताव दलहरुको समहतिमै गरिएको र हाल आएर एमालेले त्यसरी टाउको दुखाउन नहुने उनले बताए । सडकमा उफ्रिएर आन्दोलन गरेर संशोधन प्रस्ताव फिर्ता नहुने उनको भनाई छ । राप्ती नदीमा निर्माण गर्न लागिएको सिसाहनिया महादेव पुलको शिलान्यास कार्यक्रममा त्यहाँ पुगेका प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकाल रहुन्जेलसम्म संविधान संशोधन प्रस्ताव फिर्ता नहुने स्पष्ट पारेका छन् । अहिलेको नेपालको समस्याको निकास संविधान संशोधनबाट मात्रै संभाव रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले दलहरुको सहमतिमै संशोधनको प्रस्ताव गरिएकाले कुनै पनि हालतमा संशोधन प्रस्ताव फिर्ता नहुने जिकिर गरे । प्रचण्डले भने, ‘म प्रधानमन्त्री रहँदासम्म यो संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता हुँदैन ।’ प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले संसदमा दर्ता गरेको संशोधन प्रस्ताव राष्ट्रघाती भएको भन्दा फिर्ता गर्न दवाव दिदै आएका बेला प्रधानमन्त्रीले फिर्ता गर्न नसकिने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले अहिले आन्दोलनरत एमालेले पनि गल्ती महसुस गर्ने बताए । ‘सरकारले हिमाल पहाड तराई जोडेर एकताबद्ध गर्न खोजेको तर आफूहरुले बिखण्डन गर्न खोजेका रहेछौं’ भनेर उनीहरुलाई आफ्नो गल्ती महशुस हुने प्रधानमन्त्री प्रचण्डले बताए । उनले अहिलेको सडक आन्दोलनको कुनै औचित्य नरहेको बताउँदै उनले छलफल र सहमति बाटै समास्याको निकास खोज्न एमाले लगायतका दलहरुलाई आग्रह गरे । रु ९२ करोडको लागतमा बन्न लागेको उक्त पुलको निर्माण कार्य चार वर्षमा सकिने लक्ष्य रहेको छ । पुलको लम्बाइ ८६० मिटर रहने छ । पुल निर्माण भएपछि दाङ्का गडहवा, सिसाहनिया, राजपुरलगायतका जनतालाई आवतजावत गर्न सजिलो हुनेछ ।

दिव्यनगर स्वास्थ्य चौकीको २ तले भवनको मेयर दाहालद्धारा शिलान्यास

चितवन । पश्चिम चितवनको दिव्यनगर स्वास्थ्य चौकीको २ तले भवनको बिहिबार शिलान्यास गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संयुक्त रुपमा भवनको शिलान्यास गर्नुभयो । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुरमा रहेका अधिकांश अस्पताल सदामुकाम केन्द्रित रहेकाले जनताको घरघरमै सेवा पुराउन दिव्यनगरमा नयाँ स्वास्थ्य चौकी निर्माण गर्न लागेको बताउनुभयो । सामान्य भन्दा सामान्य उपचार गर्न १ दिनको समय लिएर सदारमुकाम जानुपर्ने विगतको अवस्था स्वास्थ्य चौकी निर्माण भएपछि हटेर जाने विश्वास व्यक्त गर्नुभयो । संघीय गणतन्त्रको मर्म र भावना अनुसार महानगरपालिकाले एक वडा एक स्वास्थ्य संस्था निर्माण गर्ने कार्यलाई निरन्तरता दिइरहेको उहाँको भनाइ थियो ।   प्रमुख दाहालले वडामा रहेका पुराना स्वास्थ्य चौकीको स्तरोन्नित गर्ने, जनशक्तिको उचित व्यवस्थापन, स्वास्थ्य चौकी नभएको ठाँउमा स्वास्थ्य चौकी निर्माण गर्ने कार्य महानगरले विगतदेखि नै गर्दै आएको जानकारी दिनुभयो । कार्यक्रममा उपप्रमुख चित्रसेन अधिकारीले निर्माणाधिन स्वास्थ्य चौकी भवनको निर्माणले यस क्षेत्रका नागरिकले प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्ने भन्दै समयमै गुणस्तरीय ढंगले निर्माण कार्य अगाडि बढाउन आग्रह गर्नुभयो । भरतपुर महानगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले  नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न यो स्वास्थ्य केन्द्र सक्षम हुने विश्वास व्यक्त गर्नुभयो । मुल्य अभिवृद्धि करसहित रु  १ करोड ६८ लाखमा ठेक्का सम्झौता भएको भवन आगामी जेठ महिनासम्म निर्माण सम्पन्न गर्नुपर्ने छ । यो भवन निर्माण भएसँगै पश्चिम चितवनवासीको घरदैलोमा थप स्वास्थ्य सेवा पाउने छन् । निर्माणको जिम्मा देउराली शर्मा जेभिले पाएको छ । स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर, बहुउद्देश्य हल, १४ वटा कोठा रहने छन् । शिलान्यास कार्यक्रम वडा अध्यक्ष ज्ञानप्रसाद खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

बक्यौता नतिरेपछि जगदम्बा स्टिलको लाइन काटियो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले जगदम्बा स्टिल उद्योगको बिजुली लाइन काटेको छ। बक्यौता र जरिवाना नतिरेको भन्दै स्टिल उद्योगमा गएराति देखि बिजुली लाइन काटिएको हो ।  जगदम्बा स्टिलका सञ्चालक शाही अग्रवालले उद्योगमा लाइन काटेको पुष्टी गरे । प्राधिकरणले यो सहित ६ वटा उद्योगहरूको लाइन काटेको छ। यसअघि रिलायन्स स्पिनिङ, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट लगायतका उद्योगमा पनि लाइन काटिसकेको छ । नेपाल विद्युत् प्राधिकरण र ६१ वटा उद्योगहरु बिच डेडिकेटेड र ट्रंक लाइनको विद्युत् बक्यौताको विषयमा विवाद चल्दै आएको छ । प्राधिकरणले डेडिकेटेड लाइनको बक्यौता र जरिवाना समयमा नतिरेको कारण बत्ती काटेको जनाएको छ। प्राधिकरणको हिसाबमा जगदम्बाले डेडिकेटेड लाइनको बक्यौता र थप २५ प्रतिशत जरिवानासहित १ अर्ब ६० करोड रुपैयाँ बुझाउन बाँकी रहेको छ। २०७२ साल माघ महिनादेखि २०७५ साल वैशाखसम्म लोडसेडिङ कायम रहेको अवधिको प्रिमियम महसुल नतिरेका उद्योगहरुको लाइन काटिएको प्राधिकरणले जानकारी दिएको छ ।

रामायण तथा बुद्ध परिपथ निर्माण र प्रवर्द्धन गर्ने सहमति कार्यान्वयनमा :  प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतका धार्मिकस्थललाई समेटेर रामायण तथा बुद्ध परिपथ निर्माण र प्रवर्द्धन गर्ने सहमति कार्यान्वयन गम्भीरतासाथ अघि बढाएको बताए। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोध्नुभएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले रामायण सर्किटलगायत शिव, बुद्ध र किरात सर्किटहरूको विकास गर्न यस वर्ष बजेट सुनिश्चित गरिएको जानकारी दिए। “नेपाल र भारतबीच १५ वटा धार्मिकस्थललाई समेटेर रामायण तथा बुद्ध परिपथ निर्माण र प्रवर्द्धन गर्ने सम्बन्धमा भएको द्विपक्षीय सहमति कार्यान्वयन गर्न सरकार गम्भीर छ,” प्रधानमन्त्री प्रचण्डले भने, “रामायण सर्किट लगायतका शिव, बुद्ध र किरात सर्किटहरुको विकास गर्न यस वर्ष बजेट सुनिश्चित गरिएको छ ।”  उहाँले जनकपुर क्षेत्रको पर्यटकीय विकासका लागि हाल ९८ वर्ष पुरानो गोपाल धर्मशाला रहेको स्थानमा नयाँ परियोजना कार्यान्वयन गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन तयार कार्यान्वयनको प्रक्रिया अघि बढेको जानकारी दिए। प्रधानमन्त्रीले देशका विभिन्न भागमा रहेका गुठी जग्गालगायत सबै प्रकारका जग्गासम्बन्धी समस्या सम्बोधन गर्न सरकार सम्बेदनशील रहेको स्पष्ट पारे ।

प्रतिनिधिसभा बैठक : सांसद्का प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभा बैठकमा बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग प्रश्नोत्तर हुँदैछ। संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।  वर्णानुक्रमअनुसार सांसदहरूले यसघि नै टिपाएका प्रश्न सोध्नेछन् भने प्रधानमन्त्रीले ती प्रश्नको जवाफ दिनेछन् । जवाफ चित्त नबुझेमा एक पटकका लागि स्पष्टिकरण प्रश्न सोध्न पाउने व्यवस्था पनि छ ।  आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले जवाफ दिने कार्यसूची छ। त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले आ—आफ्ना मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिनेछन्।

पूर्वी भूभागमा मनसुनको प्रभाव, यी चार प्रदेशमा वर्षाको हुने

काठमाडौं ।हाल देशका पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, बाँकी भूभागमा स्थानीय वायु तथा भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार अहिले कोशी, मधेश, बागमतीमा पूर्ण बदली तथा गण्डकी प्रदेशमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही तथ सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा रातिदेखि नै वर्षा जारी रहेको छ । महाशाखाका अनुसार पूर्वी नेपालका सिराहा, उदयपुर, सप्तरी, धनकुटा, सुनसरी, मोरङ र झापा आसपासको क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाले यी क्षेत्रमा भारी वर्षा हुनसक्ने भएकाले उक्त क्षेत्र भएर बहने ससाना खोलाहरूमा आकस्मिक बहाब बढ्नसक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै मधेश प्रदेशको थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज सूर्योदय बिहान ५ बजेर ८ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर २ मिनेटमा हुनेछ ।

यस्तो हुनेछ आजको मौसम

काठमाडौं । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा आज बिहान कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।  कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।  कोसी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा साथै बाँकी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ । विभागले राति कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कासी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।  कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हावाहुरीको सम्भावना छ ।