घट्यो हवाइ इन्धनको मूल्य
काठमाडौँ, मङ्सिर २१। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ ।
निगमका प्रवक्ता भानु खनालका अनुसार आज राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य घटाएको हो । निगमले हवाई इन्धनको मूल्य समायोजन गरी आन्तरिक उडानका लागि प्रतिलिटर रु ९४ बाट रु ८६ बनाइएको छ ।
यस्तै अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिहजार लिटर ८३१ अमेरिकन डलरबाट घटाएर ७५० अमेरिकी डलर बनाएको प्रवक्ता खनालले बताए ।
पेट्रोल, डिजल र मटितेलकोसमेत मूल्य घटाउने भनिए पनि निगमले त्यसमा भने कुनै निर्णय गरेन । रासस
गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । ओटावामा बुधबार आयोजित विशेष समारोहमा उनले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । ओहोदाको प्रमाणपत्र पेस गरेपछि गभर्नर जनरलसँग भएको शिष्टाचार भेटमा राजदूत पौड्यालले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट उनको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै क्यानडाका मित्रवत् जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गरेको ओटावास्थित नेपाली राजदूतावासले आज जनाएको छ । राजदूत पौड्यालले नेपाल र क्यानडाबीचको मैत्रपूर्ण सम्बन्धबारे अवगत गराउँदै लोकतन्त्रको सुदृढीकरण, द्रुत आर्थिक विकासका निम्ति नेपाल सरकारले गरेका प्रयास तथा प्राथमिकताका सम्बन्धमा जानकारी दिएका थिए । नेपालको सामाजिक–आर्थिक विकास तथा विषम परिस्थितिमा क्यानडाले अविराम सहयोग गरेकामा कृतज्ञता ज्ञापन गर्दै राजदूत पौड्यालले द्विपक्षीय व्यापार, पर्यटन, लगानी, प्रविधि हस्तान्तरण, दुवै देशका जनताबीचको सम्बन्ध विस्तार तथा दुवै पक्षलाई लाभदायक हुने आर्थिक साझेदारी अभिवृद्धि गनै क्यानडा सरकार तथा निजी क्षेत्रसँग निकट सम्पर्कमा रहेर काम गर्न आफू प्रतिबद्ध रहेको बताए । रासस
आगलागी घटनाप्रति सञ्चारमन्त्रीद्वारा दुःख व्यक्त
काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रेखा शर्माले दाङको राजपुर गाउँपालिका ७ हाडबास गाउँमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गरेकी छिन्। हाडबासमा आइतबार आगलागी हुँदा २४ घर र १० वटा गोठ जलेका थिए । घटनाप्रति दुःख व्यक्त गर्दै मन्त्री शर्माले यो पीडाको क्षणमा घरबारविहीन पीडित परिवारको राहत र पुनर्स्थापनाका लागि जुट्न सबैलाई आह्वान समेत गरिन् । गर्मीयाम सुरु भएसँगै आगलागी र डढेलोका घटनाहरु बढिरहेको, दिनहुँ जनधनको क्षति भइरहेको छ र नागरिकका घर, पशुपंक्षी लगायतका निजी सम्पत्ति, अन्नबालीसहित वन जङ्गल र जैविक विविधतामा क्षति पुगिरहेको उल्लेख गर्दै उहाँले एक प्रेस नोटमार्फत सबै पक्षलाई गम्भीर हुन पनि आग्रह गरिन् । नेपाल सरकारले मन्त्रिपरिषद् बैठकबाटै आगलागी र डढेलोका कारण भइरहेको क्षति न्यून गर्न र तत्काल आगलागी नियन्त्रण गर्न सम्बन्धित निकायलाई गम्भीरतापूर्वक क्रियाशील हुन निर्देशन दिइसकेको जानकारी गराउँदै मन्त्री शर्माले क्षति न्यूनीकरणमा सुरक्षाकर्मीसहित तिनै तहका सरकारले गम्भीतापूर्वक काम गरिरहेको बताइन् । आगलागी र डढेलो मानवीय कमजोरीबाट सिर्जित विपत् भएकाले यसबाट बच्न उच्च सतर्कता र सावधानीको विकल्प नभएको स्पष्ट गर्दै उनले आगलागी तथा डढेलोको जोखिम कायमै रहेकाले उच्च सतर्कता र सावधानी अपनाउँदै क्षति न्यूनीकरणमा जुट्न सबैमा अनुरोध गरिन्। आगलागी र डढेलोबाट थप क्षति हुन नदिन सचेतनामूलक अभियान सञ्चालनका लागि पनि उहाँले आम सञ्चारका माध्यमसहित सबैलाई आग्रह गरिन् ।
नेपाल प्रहरीकाे कमाण्डो तालिम दिक्षान्त समारोह सम्पन्न
नवलपरासी पश्चिम । नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी पश्चिममा संचालित नवौं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दिक्षान्त समारोह प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा सोही महाविद्यालयमा शुक्रबार सम्पन्न भएको छ। समारोहमा प्रहरी महानिरीक्षक कुँवरले तालिममा सहभागी प्रशिक्षार्थीहरूमध्ये तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार प्रदान गरे। प्रहरी महानिरीक्षक कुँवरले सम्बोधनको क्रममा नेपाल प्रहरीकै अत्यन्त कठिन, मानसिक र शारीरिक दुवै पक्षबाट चुनौतिपूर्ण रहेको यस तालिम सफलता पूर्वक सम्पन्न गर्ने सम्पूर्ण प्रशिक्षार्थीहरूलाई बधाई दिए। नेपाल प्रहरीले सामना गर्नुपर्ने विविध चुनौतिहरू र समस्याहरू मध्ये विशेष तवरको युक्ति तथा कलाको आवश्यकता पर्ने कार्यक्षेत्रको पहिचान गरी आवश्यक पर्ने दक्ष जनशक्ति दिक्षित गर्न यस महाविद्यालयले प्रशिक्षणमा पुर्याएको उल्लेखनीय योगदानको सराहना उनले गरे। प्रहरी महानिरीक्षक कुँवरले विविध युक्तिकला, हातहतियार र विष्फोटक पदार्थ ह्याण्डलिङ जस्ता पक्षहरूमा मात्र पोख्त नभई विशेष परिस्थितिहरू एवम् शारीरिक तथा मानसिक थकानले प्रस्तुत गर्ने चुनौतिहरूको समेत सामना गर्न योग्य विशेष क्षमताले सुसज्जित यस तालिम प्राप्त गर्ने प्रहरी कर्मचारीहरू विशेष हुने चर्चा गरे। तालिमको अवधिमा प्राप्त गरेका सीप र कौशल प्रहरीको व्यावसायिक जीवनमा मात्रै नभई व्यक्तिगत जीवनका अन्य कैयौँ पक्षमा समेत उपयोगी र लाभदायक हुने उनले उल्लेख गरे । समारोहमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाडौंका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले धन्यवाद ज्ञापन गरेका थिए। उक्त समारोहमा नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक भोला बहादुर रावलले स्वागत मन्तव्य व्यक्त गरे। समारोहमा तालिम संयोजक प्रहरी नायव उपरीक्षक हरि प्रसाद पौडेलले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ९० कार्यदिन अवधिको उक्त तालिममा प्रहरी निरीक्षक ६ जना, प्रहरी सहायक निरीक्षक १८ जना र प्रहरी जवान ९० जना गरी जम्मा १ सय १४ जनाको सहभागिता रहेको जानकारी दिए। उक्त समारोहमा प्रशिक्षार्थीहरुले इमिडियट एक्सन ड्रिल अन्तर्गत फायर एण्ड मुभ अभ्यास, होस्टेज रेस्क्यू अपरेसन डेमोन्स्ट्रेसन, स्याण्ड मोडल बिफ्रिङ, हतियार खोलजोड डेमोन्स्ट्रेसन, बाधापार डेमोन्स्ट्रेसन तथा अनआर्म कम्ब्याट समेत प्रदर्शन गरेका थिए । समारोहमा सुनवल नगरपालिकाका प्रमुख, रामग्राम नगरपालिकका प्रमुख, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, स्थानीय जन प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।
कतारका अमिर तमिमको वैशाखमा नेपाल भ्रमणकाे मिति तय
काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको २०८१ वैशाख १२ र १३ गते नेपालको भ्रमण तय भएको छ।यसअघि एक पटक स्थगन भएको उनको नेपाल भ्रमण पुन तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र स्रोतका अनुसार कतारका अमिर तमिमको नेपाल भ्रमणको समयमा नेपाल र कतारबीच नौवटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ । दुई देशबीच कूटनीतिक तालिम र शिक्षा सम्बन्धी समझदारीपत्र, सांस्कृतिक क्षेत्रमा एक–आपसमा सहयोग आदानप्रदान सम्बन्धी समझदारीपत्र, युवा तथा खेलकुदसम्बन्धी समझदारी, छापा तथा सूचना सम्बन्धी पोर्टोकल, विकास साझेदारी सम्बन्धी समझदारी, महान्यायाधिवक्ताको कार्यालय र कतारको यस्तै निकायबीच सहकार्य गर्ने समझदारीपत्र, संशोधित श्रम सम्झौता लगायतका समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ। घरेलु कामदार लैजाने र कतार प्रहरीमा नेपालीलाई लिने सम्बन्धी विषयमा पनि अहिले दुई देशबीच छलफल भइरहेको छ। कतार फन्ड फर डेभलपमेन्टबाट नेपालले सहायता लिने विषयमा पनि छलफल चलिरहेको दाबी स्रोतको छ।
संसद् व्यक्तिगत आरोप र प्रत्यारोप गर्ने थलो होइन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आरोप र प्रत्यारोप लागि सार्वभौम संसद् उपयुक्त थलो नभएको बताएका छन्। विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै संसद्मा निजी र व्यक्तिगत आक्षेप लगाउन नहुने बताए। “सरकार पुनर्गठन एउटा राजनीतिक प्रक्रिया मात्रै भए पनि कांग्रेसका केही साथीहरूले यसको अराजनीतिक व्याख्या गर्नुभयो र ममाथि निजी आक्षेप र आक्रमण गर्नुभयो,” प्रधानमन्त्री प्रचण्डले भने, “म आक्षेपहरूको प्रतिवाद गर्न चाहन्नथेँ तर निजी आरोप र प्रत्यारोपका लागि यो सार्वभौम संसद उपयुक्त ठाउँ होइन भन्ने मेरो मान्यता थियो र छ।” संसदीय रेकर्डमै रहेका आरोपको प्रतिवाद नगर्दा इतिहासमा गलत सन्देश जाने भएकाले आफूले आफ्नो पक्षका केही कुरा राख्न चाहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले कांग्रेसले कुनै बेला संसदमा उभिएर राजनेता घोषणा गरेको स्मरण गरे।
सरकारको स्रोत बढाउन विशेष पहल गरिहेका छौं : प्रधानमन्त्री
काठमाडौँ, ६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी स्रोत बढाउन सरकारले खासगरी राजस्व प्रशासनमा थप सुधार गर्ने र विदेशी सहायताको परिचालन बढाउनेतर्फ विशेष पहल गरेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले राजस्व छली, अवैध व्यापार र कारोबार नियन्त्रण गर्न अब विशेष योजनासहित सरकार कडा रुपमा प्रस्तुत हुने उल्लेख गरे। प्रधानमन्त्री प्रचण्डले अहिले अर्थतन्त्रका कतिपय परिसूचकहरू सकारात्मक रहेपनि केही क्षेत्रमा अझै समस्या रहेको भए पनि पछल्लो समय सुधारको दिशामा आगाडि बढेको बताए । “अर्थतन्त्र पूर्णरूपमा चलायमान भइसकेको छैन । एक वर्ष अघि शोधनान्तर घाटा उच्च बिन्दुमा पुगेको थियो,” प्रधानमन्त्री प्रचण्डले भने, “विदेशी मुद्राको सञ्चिति न्यून बिन्दुमा झरेको थियो । बैंकिङ क्षेत्रमा तरलताको अभाव रहेको, ब्याज दर उद्योगी–व्यवशायीले धान्न नसक्ने तहमा पुगेको र मूल्य वृद्धि पनि उच्च रहेको अवस्था थियो । तर, आज म सम्मानित सदनलाई ढुक्कले भन्न सक्छ्, अर्थतन्त्र सङ्कटमुक्त भएको छ ।” हरेक मन्त्रालयहरुसँग सार्वजनिक सेवा प्रवाह, विकास निर्माण र त्यसको प्रभावकारिताका विषयमा दिनहुँ समाधानमुखी छलफल गरिरहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा यस्ताका कार्यको सकारात्मक प्रभाव देखिने विश्वास व्यक्त गरे।
केन्द्रीय समिति अध्यावधिक गर्न रेशम चौधरीको निवेदन, अध्ययन गर्दै आयोग
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति अध्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिइएको छ । महाधिवेशनबाट सर्वसम्मत निर्वाचित अध्यक्ष रेशम चौधरीसहितको विवरण अध्यावधिकका लागि निवेदन दिएको हो। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ मा पार्टीले आफ्नो नाम, विधान, नियम, छाप, झन्डा वा चिह्नमा गरिएको परिवर्तन वा संशोधन, पदाधिकारीको हेरफेर र तोकिएबमोजिमका अरू विषयको जानकारी ३० दिनभित्र आयोगलाई दिनुपर्ने व्यवस्था रहेको छ । सोहीअनुसार नागरिक उन्मुक्तिले विवरण पेस गरेको हो । गएको पुस २७ गते कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनबाट चौधरी अध्यक्षमा निर्वाचित भएका थिए । टीकापुर घटनाका निम्ति जन्मकैद सजाय तोकिएर आममाफी पाएका चौधरी अध्यक्ष चयन भएपछि वैधानिकतामाथि प्रश्न उठाइएको छ । त्यसअघि, पार्टी अध्यक्ष रेशमपत्नी रञ्जीता श्रेष्ठ थिइन् । राजनीतिक दलसम्बधी ऐन, २०७३ को दफा १४ ले चौधरी पार्टीको सदस्य बन्न नै अयोग्य हुने कानुनविद् बताउँछन् । ऐनको दफा १४ को उपदफा (१)मा सदस्यतासम्बन्धी व्यवस्था छ । नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएको व्यक्ति सदस्य बन्न नपाउने कानुनी व्यवस्था छ । त्यसकै उपदफा २ (ख) मा उल्लेख छ, “भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारप्रसार, लागुऔषध बिक्री–वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय नपाएको ।” जिल्ला हुँदै सर्वोच्च अदालतले समेत चौधरीलाई दोषी ठहर गरेको थियो । अध्यावधिकका निम्ति प्राप्त निवेदन अध्ययनका क्रममा रहेको आयोग स्रोतले जानकारी दियो । चौधरीका विषयमा थप स्पष्ट भएर मात्र निर्णय लिने आयोगको तयारी छ ।
भारतीय गाडीबाट झण्डै २ करोड नक्कली नोट बरामद
विराटनगर, २९ माघ । प्रहरीले भारतीय नम्बर प्लेटको स्करपियो गाडीबाट एक करोड ८२ लाख ५१ हजार नक्कली नोट फेला पारेर बरामद गरेको छ । सुनसरीबाट प्रहरीले एक हजार दरका एक करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरेको हो । सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले आइतबार भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका –४ स्थित सुनसरी खोलाको पुलनजिकबाट नक्कली नोट बरामद भएको जानकारी दिए । उनका अनुसार नक्कली नोटसँगै एक जना भारतीय नागरिक पनि पक्राउ परेका छन् । सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेको थियो । शंकास्पद अवस्थाको स्कोरपियो गाडीमा खानतलासी गर्दा पछाडिको भागमा लुकाइछिपाइ ल्याइएको नक्कली नोटहरु बरामद भएको प्रहरीले जनाएको छ । बोराभित्र झोलामा राखेर ल्याइएको अवस्थामा नक्कली नोट फेला परेको प्रहरीले बताएको छ । प्रहरी स्रोतका अनुसार गाडी चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयद पनि पक्राउ परेका छन् । गाडीमा सवार अर्का व्यक्ति भने फरार छन् । गाडी भारतबाटै आएको देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरी उपरीक्षक रेग्मीले रकम बरामद भएपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
२० अंकले बढ्यो सेयर बजार, १ अर्बबढिको कारोबार
काठमाडौं । मंगलबार २३ अंकले घटेको सेयर बजार बुधबार भने २०.६७ अंकले बढेको छ । सो अंकको वृद्धिपछि नेप्से १८५० विन्दुमा कायम भएको छ । सेयर बजार बढ्दा कारोबार रकम पनि बढेको छ । मंगलबार ९५ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार १ अर्ब ८ करोडको कारोबार भयो । कुल १९५ कम्पनीको मूल्य बढ्दा ४० को मात्रै घट्यो भने ३ को स्थिर रह्यो । सबै उपसमूहका सूचक बढेका छन् । होटल तथा पर्यटन उपसमूह सबैभन्दा धेरै ३.४९ प्रतिशत बढेको छ । त्यस्तै हाइड्रोपावर उपसमूह २.३ प्रतिशत बढ्यो । अंकका आधारमा वाणिज्य बैंक समूह ३, विकास बैंक ६, फाइनान्स २०, होटल तथा पर्यटन १६७, जलविद्युत् ४५, जीवन बीमा १०९, उत्पादन ८७, माइक्रोफाइनान्स २३, निर्जीवन बीमा १२२, अन्य २५ र ब्यापाार उपसमूह २८ अंक बढे । बुद्धभूमि हाइड्रोपावर, थ्रीस्टार हाइड्रोपावर र माथिल्लो मैलुङखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । त्यस्तै थ्रीस्टार हाइड्रोपावरको ९.७, पिपुल्स हाइड्रोपावरको ९.४, सोनापुर मिनरल्सको ८.६ प्रतिशत मूल्य बढ्यो । सयपत्री हाइड्रोपावरको ८.१, स्वाभिमान लघुवित्तको ५.९ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, प्राइम कमर्सियल बैंक संस्थापक, मुक्तिनाथ विकास बैंक संस्थापक, हाथवे इन्भेस्टमेन्ट र हिमालयन डिस्टिलरी कम्पनी क्रमशः अगाडि रहे ।
बुद्ध जन्मस्थल लुम्बिनीमा प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेस (तस्बिर)
काठमाडौं। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस लुम्बिनी पुगेका छन् । नेपालको चार दिने औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र प्रधानमन्त्री प्रचण्डले लुम्बिनीमा संयुक्त रुपमा सम्बोधन समेत गरेका छन् । सम्बोधन अघि प्रधानमन्त्री र महासचिव गुटेरेसले लुम्बिनीमा शान्ति दिप प्रज्वोलन गर्नुका साथै वृक्षा रोपण समेत गरेका थिए ।
शान्ति सुरक्षाको भरपर्दो वातावरण बनाउन सरकार क्रियाशील छ : गृहमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहकार्यको संस्कृतिको सम्मान गर्दै शान्ति सुरक्षाको भरपर्दो वातावरण बनाउन सरकार क्रियाशील रहेको बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकअन्तर्गत गृह मन्त्रालयका बारेमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमानको हितको रक्षामा सरकार पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारेका हुन् । शान्ति सुरक्षाको कामलाई प्रभावकारी बनाउन सरकारकातर्फबाट कुनै पनि कसर बाँकी नराख्ने गरी तयारी गरिएको र आवश्यक पहलकदमी लिइएको उनको भनाइ छ । नेपाली जनताले लामो सङ्घर्षबाट प्राप्त गरेको राजनीतिक उपलब्धि, संविधानको रक्षा गर्न प्रभावकारी अभ्यास गर्नु जरुरी रहेको उल्लेख गर्दै उनले अराजक र गैरकानुनी गतिविधि नियन्त्रणमा क्रियाशील रहेको बताए । उनले संविधानअनुसार नेपाली नागरिकलाई नागरिकताको प्रमाणपत्र प्रदान गर्ने र नागरिकताको दुरुपयोगलाई कडाइपूर्वक नियन्त्रण गर्ने बताए। विपद् जोखिमको नियन्त्रण, राष्ट्रिय परिचयपत्रको प्रबन्ध, लागुऔषध दुर्व्यसन र अपराधको नियन्त्रण र महिला हिंसामा संलग्नलाई कडा कारबाही गर्नेलगायतका कामलाई नतिजामुखी बनाउनका लागि आन्तरिक सुशासनलाई प्रभावकारी बनाइएको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ । पञ्चायतकालदेखि नै मन्त्री र सचिवले लिँदै आएको सुराकी खर्चलाई आफूले खारेज गरेको जानकारी दिँदै गृहमन्त्री श्रेष्ठले कुनै ‘क्रसचेक’विना नै मन्त्री र सचिवले पैसा लिने कामलाई पूर्णरुपमा खारेज गरिएको स्पष्ट पारे । सामन्तवादको अवशेषका रूपमा रहेको मिटरब्याज पीडितको समस्या समाधान गर्न, संसद्कोसमेत सहयोगमा पीडितलाई न्याय दिन अधिकारसम्पन्न छानबिन आयोग गठन भई काम अगाडि बढेको उनको भनाइ छ । हाम्रो व्यक्तिगत र जैविक विवरण समेत रहने राष्ट्रिय परिचयका सम्बन्धमा एक निजी कम्पनीलाई दिने निर्णय खारेज गरिएको, नेपाली नागरिकलाई अनागरिक बनाएर विदेश पठाउनेलाई कानुनको दायरामा ल्याउने प्रक्रिया अगाडि बढाएकोसमेत उनले जानकारी दिए । ठगी, मानव बेचबिखनलगायतका संलग्न केही थुनामा रहेको र थप अनुसन्धान जारी रहेको गृहमन्त्री श्रेष्ठको भनाइ छ । आन्तरिक सुशासन प्रभावकारी बनाउन, कर्मचारी प्रशासन एवं सुरक्षा निकायमा अवाञ्छित चलखेलका आधारमा हुने पदोन्नतिलाई निरुत्साहित गरिएको र पूर्णतः शून्यमा झारिएको उनले बताए। उनले आगामी दिनमा पनि अझै व्यवस्थित र प्रभावकारीरुपमा गृह मन्त्रालयको काम कारबाहीलाई अगाडि बढाउनेमा विश्वास व्यक्त गरे । नेपाल प्रहरीमा रहेको ३० वर्षे सेवा अवधिका सम्बन्धमा नयाँ कानुनको मस्यौदामा प्रस्ताव गरिएको र छिट्टै सदनमा पेस गरिने उनले जानकारी दिए । प्रहरीभित्र तल्ला तहका कर्मचारीको पदोन्नति तथा सुविधाका सम्बन्धमा रहेको विभेदलाई अन्त्य गर्न पदोन्नतिका लागि जवान, सहायक हवल्दार र हवल्दारलाई नयाँ व्यवस्था लागू गर्न लागिएको र आवश्यक प्रस्ताव सम्बद्ध मन्त्रालयमा छलफल भइरहेको उनको भनाइ छ । शान्ति सुरक्षा र सुशासनबारेमा मन्त्रालयले स्पष्ट दृष्टिकोणका साथ काम गरेको जानकारी दिँदै अतिविशिष्ठ व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि तयार भएकोसमेत जानकारी दिए। विशिष्ठ व्यक्तिको सुरक्षामा खटिएका एक सय ९० जना नेपाल प्रहरीका र सशस्त्र प्रहरीका एक सय २६ जना गरी कूल तीन सय १६ जना फिर्ता गरिएको उनको भनाइ छ । साइबर अपराध नियन्त्रणका लागि कार्यसमूह बनाई काम गरिएको, नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको दायरामा ल्याएको उल्लेख गर्दै उनले मन्त्रालय मातहतका सबै निकायलाई शान्तिसुरक्षा र अमनचयन कायम गर्न स्पष्ट निर्देशन दिइएको बताए। यस्तै, ट्राफिक प्रहरीलगायतलाई दिने प्रोत्साहन भत्ताका सम्बन्धमा समेत मन्त्रालयले आवश्यक पहलकदमी लिइसकेको उनले सदनलाई जानकारी दिए। महिला हिंसालगायतमा शून्य सहनशीलता कायम गरी कारबाही प्रक्रिया अगाडि बढाउन स्पष्ट व्यवस्था गरिएको, कालोबजारी नियन्त्रण गर्नसमेत मन्त्रालय मातहतका निकायलाई कार्यादेशसहित परिचालन गरिएको र आगामी दिनमा थप प्रभावकारी बनाउने बताए । अनुचित लेनदेनका सम्बन्धमा कूल २३ हजार एक सय ९८ उजुरी दर्ता भएको जानकारी दिँदै उनले करिब नौ सय बराबरको उजुरीमाथि पीडितका पक्षमा निर्णय भएको दाबी गरे । राष्ट्रिय परिचयपत्र व्यवस्थापनका लागि मन्त्रालयले एकीकृतरुपमा काम कारबाही अगाडि बढाएको, देशभरका तीन सय ३९ स्थानबाट परिचयपत्रको विवरण दर्ता अगाडि बढाइएको उनले जानकारी दिए। परिचयपत्र वितरणको कामलाई पनि गति दिन लागिएको उनको भनाइ छ । परिचयपत्रलाई थप व्यावहारिक बनाउन र कामकाजी बनाउनका लागि एउटा ‘अथेन्टिकेसन प्लेटफर्म’ तयार पार्नका लागि सरकारले काम सुरु गरिसकेको उनको भनाइ छ । पछिल्लो कानुनी व्यवस्थापछि नागरिकता वितरणको कामलाई अगाडि बढाइएको र नेपाली नागरिकका सन्ततिले अब सहजरुपमा नागरिकता पाउने अवस्था बनेको उनले बताए। कारागारलाई सुधार केन्द्रमा रूपमा अगाडि बढाएको र त्यसलाई खास अर्थमा सुधार गृह बनाएरै छाडिने दृढता उनले व्यक्त गरे । बाँकेको नौवस्ता र नुवाकोटको कारागार विस्तारको कामलाई गति दिइएको उनको भनाइ छ । सांसदहरूको सुझावले बजेटको प्रभावकारी कार्यान्वयन गर्न, कतिपय अपर्याप्तलाई आगामी दिनमा परिमार्जन गर्ने आधार प्रदान गरेको उनले बताए । उनले मन्त्रालयलाई थप नागरिकमैत्री बनाउन सांसदको ध्यानाकर्षणले ऊर्जा मिलेको समेत बताए । संसद्मा उठेको जिज्ञासाले सामाजिक न्यायसहित समृद्धिको लक्ष्य हासिल गर्ने राष्ट्रिय कार्यभार पूरा गर्ने विश्वास पैदा भएको उल्लेख गर्दै उनले शान्ति सुरक्षाको प्रवर्द्धन, कानुनको परिपालना, अपराध नियन्त्रण, सेवा प्रवाह, विकास र सुशासन प्रवर्द्धनमा क्रियाशील रहने विश्वास पैदा भएको बताए। मन्त्रालय र विपद् जोखिम प्राधिकरणले प्रभावकारी काम गरेको भन्दै उनले मन्त्रालयका लागि आगामी आवका लागि रु एक खर्ब ९३ अर्ब ५६ करोड ७६ लाख बराबरको बजेट विनियोजन भएको बताए । प्राकृतिक विपत्ति न्यूनीकरणका तयारी भएको छ प्राकृतिक विपत्ति न्यूनीकरणका लागि पूर्व सूचनासहितको प्रणाली जडान गरिएको उल्लेख गर्दै उनले हालै पूर्वी नेपालमा आएको बाढी पहिरो प्रभावितका लागि आवश्यक राहतको व्यवस्था गरिएको बताए । खाद्यमान र औषधिलगायतका अत्यावश्यक सामग्रीको व्यवस्थापन गरिएको, दाङ र कैलालीमा आवश्यक तयारीको काम भइरहेको गृहमन्त्री श्रेष्ठले जानकारी दिए। तत्कालीन र दीर्घकालीन राहतको व्यवस्था गरिएको, उद्धार तथा खोजका लागि आवश्यक सामग्रीको बन्दोबस्ती गरिएको उनको भनाइ छ । सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बललाई साधन र स्रोतसहित परिचालन गरिएको, सीमा सुरक्षाका लागि ‘विओपी’ स्थापना गरिएको उनले बताए । सीमा क्षेत्रमा चोरी निकासी नियन्त्रणका लागि कडा नीति अख्तियार गरिएको जानकारी दिँदै उनले दैनिक जीवनका लागि अत्यावश्यक सामग्री आयातमा कडाइ नगरिएको र छुट दिइएको जानकारी दिए । सरकार सबै धर्मप्रति निरपेक्ष रहने नीतिका साथ अगाडि बढेको, धार्मिक स्वतन्त्रतालाई सम्मान गरिएको उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले कुनै धर्म मान्न वा नमान्न व्यक्ति स्वतन्त्र रहेपनि प्रचारात्मक अभियान चलाएर धर्म परिवर्तन गराउने कामप्रति भने सरकार गम्भीर रहेको उनले बताएका छन् । हाम्रो परम्परागत लोकतन्त्र होइन उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले बहुदलीय व्यवस्थामा रहेका अन्तर्निहित कमजोरीलाई सुधार गरेर जानुपर्ने धारणा राखे । विपक्षमा रहेकाले सरकारको विरोध गर्नुपर्ने प्रवृत्तिको सुधार गर्नुपर्ने, सरकार सत्ताजन्य स्वभावका कारण निरङ्कुश बन्न नहुने धारणा राख्दै गृहमन्त्री श्रेष्ठले नेपालमा स्थापित लोकतन्त्र परम्परागत संसदीय व्यवस्था नभएको र मौलिक चरित्रका साथ रहेको बताए । उनले यसमा रहेको कमजोरीलाई सुधार गरेर बढीभन्दा बढी जनउपयोगी बनाउनुपर्नेमा जोड दिए । गृहमन्त्री श्रेष्ठले प्रहरी बढुवामा भएको आर्थिक चलखेललाई शून्यमा झारिएको र त्यसमा शतप्रतिशत ग्यारेन्टी गर्ने बताए । एक सांसदले प्रहरी बढुवामा आर्थिक चलखेल भएको भनेर गरिएको आरोप लगाइएको उल्लेख गर्दै उनले भने, “आर्थिक चलखेललाई शून्यमा झारिएको छ । म शतप्रतिशत ग्यारेन्टी गर्छु ।” उहाँले लोकतन्त्रका नाममा विरोधका लागि विरोध गर्ने प्रवृत्ति त्याग्न र आरोपका लागि आरोप लगाउने अवस्थाको अन्त्य गर्नुपर्ने बताए। रासस
५० हजार घुससहित वडाध्यक्ष मियाँ अख्तियारको नियन्त्रणमा
काठमाडौं । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष सब्दुल मियाँ ५० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई हिरावती आधारभूत विद्यालय बकधुवाको निर्माणाधीन भवनको वडा कार्यालयबाट निर्माण सम्पन्न भएको सिफारिस दिन घुस लिएको आरोपमा पक्राउ गरेको हो। घुस रकम लिएलगत्तै आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई आज विद्यालयबाटै पक्राउ गरेको बताइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले आज प्रेस विज्ञप्ति जारी गर्दै भवन निर्माण सम्पन्न भएको सिफारिस दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले वडाअध्यक्ष मियाँलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाइएको छ ।
नेपालकाे सुरुवाती अग्रता : तीन वर्षपछि राष्ट्रिय टिमलाई सावित्राको गोल
काठमाडौं । साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा भुटानसँग प्रतिस्पर्धा गरिरहेको नेपालले सुरुवाती अग्रता लिएको छ । नेपालकी सुपरस्टार स्ट्राइकर साविधा भण्डारीले वर्षाले प्रभावित खेलको १२औं मिनेटमा डेब्यूटेन्ट अमिसा कार्कीको पासमा गोल गरी नेपाललाई अग्रता दिलाइन् । सावित्राले तीन वर्षपछि राष्ट्रिय टिमबाट गोल गरेकी हुन् । २०७६ मंसिरमा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुदयता उनी पहिलोपल्ट राष्ट्रिय टिमबाट खेलेकी हुन् र गोल गरेकी हुन् । विभागीय टोली एपीएफकी यी स्ट्राइकर राष्ट्रिय महिला लिगका क्रममा २०७७ माघमा चोटग्रस्त भएकी थिइन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को सहयोगमा कतारको चर्चित अस्पटार अस्पतालमा उपचार गराएकी हुन् । चोटबाट फर्किएर गत चैतमा राष्ट्रिय महिला लिग खेलेकी थिइन् । चोटका कारण सावित्राले बंगलादेशसँगको मैत्रीपूर्ण खेल र एसिया कप छनोट प्रतियोगिता गुमाएकी थिइन् । सावित्राले राष्ट्रिय टिमबाट ३९औं खेलमा ३९औं गोल गरेकी हुन् । ७ टिम सहभागी प्रतियोगिताको समूह बीमा नेपालसहित भुटान र श्रीलंका छन् । समूह एमा भने भारत, बंगलादेश, पाकिस्तान र माल्दिभ्स छन् ।
आईसीसीले फुकुवा गर्याे क्यानकाे कन्ट्रोल फन्डिङ
नेपाल क्रिकेट संघ(क्यान) ले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आईसीसीले कन्ट्रोल फन्डिङ् फुकुवा गरेको जनाएको छ । आईसीसीले सोमबार क्यानलाई पत्र पठाउँदै नेपाल माथि लागेको कन्ट्रोल फन्डिङ् पूर्णरुपमा हटाइसकेको र अब उप्रान्त अन्य एक दिवसीय मान्यता प्राप्त एसोसिएट देशहरुले सरह नेपालले पनि आर्थिक अनुदान र र गतिविधि गर्न पाउने क्यानद्धारा जारी विज्ञप्तिमा भनिएको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्दद्धारा हस्ताक्षरित विज्ञप्ति अनुसार आर्थिक पारदर्शितामा उत्कृष्ट कार्यसम्पादन गरेको मूल्याङ्कनको आधारमा आईसीसीले फुकुवा गरेको हो।
काठमाडौले रुचाएन काँग्रेस–एमाले, स्वतन्त्र उम्मेदवार बालेन्द्र साह विजयी
काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह उर्फ बालेन शाह विजयी भएका छन् । मतगणना सकिनुअघि नै उनले गन्न बाँकी भन्दा बढी मतान्तर बनाएर उनी विजयी बनेका हुन् । अब काठमाडौं महानगरपालिकामा १९ हजार ३२३ मत गन्न बाँकी छ भने हालसम्म काठमाडौं महानगरपालिकामा १ लाख ७१ हजार ८०२ मत गनिएको छ । साहको एमालेबाट मेयर पदका उम्मेदवार केशव स्थापितसँग २१ हजार १२१ र सत्ता गठबन्धनको साझा उम्मेदवार नेपाली काँग्रेसकी सिर्जना श्रेष्ठसँग २० हजार ३७६ को मतान्तर छ । काठमाडौं महानगरपालिकामा काँग्रेस र एमालेको बलियो संगठनलाई तोड्दै साह विजयी भएका हुन् । यस्तै उप मेयरमा भने एमालेकी सुनिता डंगोल भारी मतान्तरका साथ विजयी भएकी छन् ।