पत्रकारको श्रम अधिकारका लागि लडिरहने महासंघको प्रतिबद्धता
काठमाडौं । कान्तिपुर टेलिभिजनमा कार्यरत श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक, बिनाकारण कामबाट निष्काशन गरिएका पत्रकारको पुनर्बहाली लगायतको माग राखेर आन्दोलनरत नेपाल पत्रकार महासंघले सञ्चारसंवद्ध संघसंगठन र अधिकारकर्मीसँग अन्तरक्रिया आयोजना गरेको छ । पत्रकारको श्रम अधिकारका लागि लडिरहने महासंघले प्रतिबद्धता जनाएकाे छ ।
कार्यक्रममा पत्रकार दीपा दाहालले विगतमा कान्तिपुर रेडियोमा काम गर्दा आफुमाथि भएको यौनजन्य हिंसा र सोही घटनालाई आधार बनाएर आफूलाई कान्तिपुर टेलिभिजनबाट निकालिएको दाबी गरिन् ।
नेपाल पत्रकार महासंघमा भएको कार्यक्रममा उपस्थित सहभागीले पत्रकार दीपा दाहाल लगायतको न्यायका लागि महासंघले गरेको आन्दोलनप्रति ऐक्यवद्धता व्यक्त गर्दै आन्दोलनमा साथ रहने प्रतिवद्धता जनाइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले टुंगोमा नपुग्दासम्म पत्रकारको श्रम अधिकारका लागि महासंघ लडिरहने बताए । उनले पत्रकार दीपा दाहाल लगायतको श्रमसम्बन्धी समस्या समाधान गर्न पटकपटक पत्राचार गर्दा समेत चासो नदिएका कारण मुद्दा किनारा नलाग्दासम्म आन्दोलन नरोकिने बताए ।
महिला मानवअधिकार रक्षकहरुको राष्टिय सञ्जाल एवं ओरेकका अध्यक्ष डा.रेणु अधिकारीले पत्रकार दीपा दाहालको घटनालाई प्रतिशोधका रुपमा नभएर पत्रकार महिलालाई न्याय दिलाउने गरी स्थापित गर्न आग्रह गरिन् ।
महासंघका उपाध्यक्ष उदय जीएमले श्रमजीवी पत्रकारको मुद्दाका सवालमा महासंघ एक्लै नभएको भन्दै यो आन्दोलनले पत्रकारलाई न्याय दिलाएर छोड्ने प्रतिवद्धता व्यक्त गरे।
महासंघका महासचिव रोसन पुरीले सरकारबाट श्रमजीवी पत्रकारका नाममा सहुलियतपूर्ण ऋण लिने सवालमा कान्तिपुर मिडिया ग्रुप सबैभन्दा अगाडि भएपनि श्रमजीवी पत्रकारप्रति असहिष्णु रहेको बताएका थिए । उनले कान्तिपुर मिडियामा रहेको समस्या हल नहुँदासम्म महासंघको आन्दोलन नरोकिने बताए।
नेपाल प्रेस यूनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले पत्रकार महिलामाथि कार्य क्षेत्रमा हुने सबैखाले हिंसाका विरुद्ध एकजुट हुनुपर्ने बताए । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले महासंघले श्रमजीवी पत्रकारको सवालमा महासंघले थालेको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै सडकमै जान पनि आफ्नो संगठन पछाडि नहट्ने उल्लेख गरे ।
समाजवादी प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदीले आफ्नो संगठनले पीडित पत्रकारहरुको न्यायका लागि महासंघलाई सदैव साथ दिने प्रतिवद्धता जनाए ।
नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष तथा पूर्व सूचना आयुक्त यशोदा तिम्सिनाले पत्रकार न्याय नपाउँदासम्म महासंघले आन्दोलन रोक्न नहुने भन्दै सम्बन्धित मिडियाका नेतृत्वकर्ताहरुसँगै महासंघले छलफल चलाउनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा प्रेस संगठन नेपालका केन्द्रीय सदस्य आस्था केसी, प्रगतिशिल पत्रकार संघका पूर्वअध्यक्ष नारायण शर्मा, लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजका अध्यक्ष दामोेदर दवाडी, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, डब्लुडब्लुजेका अध्यक्ष संगीता लामा, फोनिजका अध्यक्ष गजुरधन राई, सञ्चारिक समूहका महासचिव बसन्ती बास्तोला, पूर्व कान्तिपुरकर्मी पुनम पौडेल लगायतले महासंघको आन्दोलनप्रति ऐक्यवद्धता व्यक्त गरेका थिए। उनीहरुले श्रमजीवी पत्रकारहरुको श्रमअधिकारका लागि महासंघको आन्दोलनमा सदैव साथ दिने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
चितवनको राप्ती नगरपालिकामा बर्डफ्लू संक्रमण
चितवन । चितवनको राप्ती नगरपालिकाको एउटा कृषि फर्ममा बर्डफ्लू संक्रमण देखिएको छ । राप्ती नगरपालिका–६ स्थित अनिता पशुपंक्षी कृषि फर्मका कुखुरामा संक्रमण देखिएको हो । फर्ममा कुखुरा मर्न थालेपछि माघ २५ गते नमूना संकलन गरी परिक्षण गरिएकोमा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिनुभयो । फर्ममा दुई हजार कुखुरा छन् । फर्मको दुई किलोमिटर वरपर निगरानी राख्दै बेचबिखनमा रोक लगाइने छ । संकास्पद फर्महरूको नमूना संकलन गरी परीक्षणसमेत गरिने छ । बर्डफ्लू रोकथाम तथा नियन्त्रण समिति चितवनको शुक्रबार बसेको बैठकले बर्डफ्लू नियन्त्रण नियमावली २०७८ अनुसार नियन्त्रणको काम अघि बढाउने निर्णय गरेको छ ।
को हुन् महात्मा गान्धीका हत्यारा हिन्दुवादी नाथुराम गोडसे, किन गरे त हत्या ?
नयाँ दिल्ली, माध्यमिक तहको पढाइ छोडेका नाथुराम गोडसे लुगा सिउने काम गर्थे सन् १९४८ को ज्यानुअरी ३० को साँझ नाथुराम विनायक गोडसेले मोहनदास करमचन्द गान्धीलाई नजिकैबाट गोली हानेर हत्या गरे। भारतका सबैभन्दा सम्मानित व्यक्ति महात्मा गान्धीलाई राजधानी दिल्लीस्थित एउटा प्रार्थनाबाट फर्किनै लाग्दा एकदमै नजिकैबाट गोली हानिएको थियो। अठतीस वर्षीय कट्टरवादी गोडसे दक्षिणपन्थी सङ्गठन हिन्दू महासभाका सदस्य थिए। उक्त सङ्गठनले गान्धीमाथि मुस्लिम समर्थक र पाकिस्तानप्रति नरम भएर हिन्दूहरूलाई विश्वासघात गरेको आरोप लगाएको थियो। उनीहरूले गान्धीमाथि भारत(पाकिस्तान विभाजनमा मच्चिएको रक्तपातको दोष पनि लगाएका थिए। सन् १९४७ मा ब्रिटेनबाट स्वतन्त्रता पाएपछि उक्त विभाजनबाटै भारत र पाकिस्तान अस्तित्वमा आएका थिए। एउटा अदालतले गान्धीको हत्याको एक वर्षपछि गोडसेलाई मृत्युदण्डको सजाय सुनायो। उच्च अदालतले उक्त फैसलालाई सदर गरिदिएपछि सन् १९४९ को नोभेम्बरमा गोडसेलाई मृत्युदण्ड दिइयो। उनीसँगै उनका साथी नारायण आप्टेले पनि मृत्युदण्ड पाए भने अन्य छ जनालाई जन्मकैदको सजाय दिइयो। आरएसएसका सदस्य हिन्दू महासभामा आबद्ध हुनुपूर्व गोडसे राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस)का सदस्य थिए। आरएसएस भारतको अहिलेको सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा)लाई जन्माउने मुख्य माउ सङ्गठन हो। भारतमा हिन्दू राष्ट्रवादको ९५ वर्षे अवधिमा प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं पनि लामो समयदेखि आरएसएसको सदस्य रहेका व्यक्ति हुन्। अहिले पनि उनको सरकार र बाहिर पनि आरएसएसले गहिरो तथा प्रभावशाली भूमिका खेल्छ। अहिले कसैका आदर्श दशकौँदेखि आरएसएसले गोडसेलाई “राष्ट्रपिता”का हत्याराका रूपमा “एक पतित व्यक्ति” का रूपमा चित्रित गर्दै आएको छ। गान्धीलाई भारतीयहरू सबैभन्दा सम्मानित व्यक्तित्वका रूपमा मान्ने गर्छन्। यद्यपि पछिल्ला वर्षहरूमा हिन्दू दक्षिणपन्थीहरूले गोडसेलाई आदर्शका रूपमा चित्रित गर्न र गान्धीको हत्या भएको दिनलाई खुला ढङ्गले उत्सवका रूपमा मनाउन थालेका छन्। गत वर्ष भाजपाकी एक सांसदले गोडसेलाई “देशभक्त”को सङ्ज्ञा दिएकी थिइन्। त्यसले धेरै भारतीयलाई आक्रोशित बनाएको थियो। आरएसएस भने गान्धीको हत्या गर्नुअघि नै गोडसेले उक्त सङ्गठन छाडिसकेको पुरानै अडानमा कायम देखिएको छ। यद्यपि एउटा नयाँ पुस्तकले त्यो सत्य नभएको दाबी गरेको छ। महात्मा गान्धीको शवयात्रामा जलसेनाको एउटा टोलीले सुरक्षा प्रदा गरेको थियो के काम गर्थे गोडसे? माध्यमिक शिक्षा अध्ययन गर्दागर्दै पढाइ छाडेका गोडसले महासभामा सदस्य बन्नुअघि लुगा सिउने काम गरेका थिए र फलफूल बेच्ने काम पनि गरे। महासभाको सदस्य भएपछि भने उनी उक्त संस्थाको पत्रिका सम्पादन गर्थे। अदालतमा बयानका बेला उनले एउटा अनुच्छेद पढ्न पाँच घण्टाभन्दा बढी समय लगाएका थिए। उनले महात्मा गान्धीको हत्या गर्ने कुनै पनि “षड्यन्त्र नभएको” बताएर आफ्ना साथीहरूले गलत कार्य नगरेको प्रमाणित गर्न खोजेका थिए। उनले आफ्ना नेता विनायक दामोदर सवारकरको उक्त हत्यामा कुनै मार्गनिर्देशन थियो भन्ने आरोपलाई अस्वीकार गरे। सवारकरलाई भारतमा हिन्दूत्व र हिन्दूपनको जन्मदाता मानिन्छ। सवारकरमाथि लागेका सबैखाले आरोपबाट उनलाई मुक्त गरिएको थियो तर पनि आलोचकहरू गान्धीको उग्र घृणा गर्ने उनी उक्त हत्याकाण्डमा संलग्न भएको ठान्छन्। गोडसेले अदालतमा आफूले गान्धीको हत्या गर्नु धेरै अघि आरएसएस छाडिसकेको बताएका थिए। ‘गान्धीज् अस्यासिन’ का लेखक धीरेन्द्र झाका अनुसार हुलाकका एक कर्मचारी पिता र गृहिणी आमाका छोरा गोडसे आरएसएसका एक “प्रमुख कार्यकर्ता” थिए। उनका दाबीमा गोडसेलाई उक्त संस्थाबाट हटाइएको कुनै प्रमाण देखिँदैन। अदालतको कारबाही सुरु हुनुअघि रेकर्ड गरिएको गोडसेको एउटा बयानमा उनले “हिन्दू महासभाको सदस्य बनेपछि आफूले आरएसएस छाडेकोबारे बताएका छैनन्।” यद्यपि अदालतमा बयानमा भने गोडसेले “आरएसएस छाडेपछि हिन्दू महासभाको सदस्य बनेको तर आफूले त्यसो गर्दा मौन रहेको” बताएका छन्। “गान्धीको जीवनबारे उक्त दाबी एउटा सबैभन्दा बहसयुक्त विषयका रूपमा रहेको छ,” झा भन्छन्। उनलाई “आरएसएस समर्थक” लेखकहरूले त्यसलाई प्रयोग गरेको जस्तो लाग्छ। उनीहरूले त्यसैलाई प्रयोग गर्दै “गोडसले हिन्दू महासभामा सहभागी भएपछि गान्धीको हत्यापूर्व करिब एक दशकअघिदेखि नै आरएसएससँग सम्बन्ध भङ्ग गरिसकेको” लेखेका छन्। अमेरिकी शोधकर्ता जेए करेन जुनियरका दाबीमा गोडसेले सन् १९३० मा आरएसएसको सदस्यता लिएका थिए र त्यसको चार वर्षपछि आरएसएस छाडेका थिए। तर आफ्नो दाबीका लागि उनले कुनै पनि प्रमाण पेस गरेका छैनन्। अदालतमा बहस सुरु हुनुपूर्व सार्वजनिक भएको वक्तव्यमा गोडसेले सँगसँगै दुवै संस्थामा काम गरिरहेको स्वीकारेका छन्। गोडसेका परिवारका सदस्यहरू पनि विगतमा उक्त बहसमा संलग्न भएका छन्। सन् २००५ मा मृत्यु दिवङ्गत भएका नाथुराम गोडसेका भाइ गोपालले आफ्नो दाजुले “आरएसएस नछाडेको” बताएका थिए। त्यस्तै सन् २०१५ मा गोडसेका एक नातेदारले पत्रकारहरूलाई उनले सन् १९३२ मा आरएसएसको सदस्यता लिएको र त्यसपछि कहिले पनि उनलाई “न हटाइएको न त उनले संस्था छाडेको” बताएका थिए। अभिलेखहरू केलाएका झाले ती दुई हिन्दू सङ्गठनबारे पनि प्रकाश पारेका छन्। उनी हिन्दू महासभा र आरएसएसबीच “एकमाथि अर्को खप्टिएको जस्तो र तरल सम्बन्ध” रहेको तथा विचारधारा समान रहेको देखिएको लेख्छन्। उनले त्यसलाई उजागर गर्दै लेखेका छन्, “गान्धीको हत्याका बेलासम्म ती दुई समूहबीच नजिकको सम्बन्ध रहेको र कहिलेकहीँ सदस्यता पनि एक अर्कामा खप्टिएको देखिन्छ।” के भन्छ आरएसएस? गान्धीको हत्यापछि आरएसएसलाई एक वर्षभन्दा बढी समयका लागि प्रतिबन्धित गरिएको थियो। आरएसएसले सधैँ नै गोडसेले सन् १९३० कै दशकमा उक्त सङ्गठन छाडिसकेको भनी अदालतमा दिएको बयानलाई नै दोहोर्याउने गर्छ। अदालतको फैसलाले आफ्नो सङ्गठनको उक्त हत्यामा कुनै पनि सम्बन्ध नभएको देखाइसकेको उसको तर्क हुने गर्छ। “उनी आरएसएसका सदस्य थिए भनेर भन्नु राजनीतिक उद्देश्यका लागि प्रस्तुत गरिने झुट मात्र हो,” आरएसएसका वरिष्ठ नेता राम माधवले भनेका छन्। आरएसएसका प्रभावशाली नेतामध्येका एक एमएस गोलवालकर गान्धीको हत्यालाई हत्यारा देशकै र हिन्दू पनि भएकाले त्यो “अतुलनीय त्रासदी वा त्यसभन्दा पनि बढी” भएको रूपमा वर्णन गर्छन्। हालै आरएसएस नेता एमजी वैद्यले गोडसेलाई “हत्यारा” भनेका थिए। उनले भारतका सबैभन्दा सम्मानित व्यक्तिको हत्या गरेर हिन्दूत्वकै “अपमान” गरेको बताएका थिए। विक्रम संपतजस्ता लेखक आरएसएस र हिन्दू महासभाबीच अशान्त खालको सम्बन्ध रहेकोमा विश्वास गर्छन्। उनले सवारकरबारे विस्तृत रूपमा दुई खण्डको जीवनी लेखेका छन्। उनी लेख्छन्, “हिन्दू महासभाको हिन्दूहरूको हित रक्षाका लागि स्वयंसेवकहरूको गोप्य विद्रोही समाज बनाउने निर्णयले आरएसएससँगको सम्बन्धमा कष्ट पैदा गरिदिएको थियो।” संपतका अनुसार आरएसएसले महासभाका नेता सवारकरले विश्वास गर्नेजस्तो “व्यक्ति पूजा र मूर्ति पूजा” विपरीत बाटो लिएको थियो। सवारकर भने “व्यक्ति पूजा र अतिरञ्जनामा” विश्वास गर्ने खालका थिए। अर्को पुस्तक ‘आरएसएसस् अ भ्यू टु द इन्साइड’ मा वाल्टर के एन्डरसन र श्रीधर डी दामले कसरी आरएसएसले आफ्ना पूर्वसदस्य नाथुराम गोड्से गान्धी हत्यामा संलग्न भएको कुरालाई ढाकछोप गरेको थियो भन्नेबारे चर्चा गरेका छन्। यद्यपि गोडसे आरएसएसका अंश थिए र उनले कहिल्यै पनि आरएसएस छाडेका थिएनन् भन्ने कुरामा देखिएको द्विविधा कहिल्यै मेटिएन। सन् १९४९ नोभेम्बर १५ मा फाँसी दिइनुअघि गोडसले आरएसएसको प्रार्थनाका चार पङ्क्ति वाचन गरेका थिए। “त्यसले फेरि एक पटक उनी उक्त संस्थाका सक्रिय सदस्य थिए भन्ने देखाउँछ,” झा भन्छन्, “गान्धीको हत्याबाट आरएसएसलाई अलग राख्नु भनेको इतिहासमाथिको जालसाजी हो।” (बिबिसीबाट साभार गरिएको)
सुर्खेतमा दुखद घटनाः कोठामा कोइला बालेर सुतेका आमासहित ३ बालकको मृत्यु
सुर्खेत । सुर्खेतको बिरेन्द्रनगर नगरपालिकामा निकै दुखद घटना भएको छ । नगरपालिकाको बुदबुदीमा कोइला बालेर सुतेका आमा र तीनजना बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा ३५ वर्षीया कल्पा बुढा, ९ वर्षीय छोरा निरज बुढा, ८ वर्षीय छोरा चिरञ्जीवी बुढा र ५ वर्षीय सोमराज बुढा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवंम प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले मिडियालाई दिएको जानकारी अनुसार, मृतकहरु शुक्रबार राति साढे नौ बजेतिर कोइला बालेर कोठामा सुतेका थिए । तर प्रहरीले भने अर्को दिन साँझ साढेबजेमात्र खबर पाएको थियो । घरमैं रहेका ससुरा भने शनिबार बिहानै बाहिर निस्केका थिए । शनिवार साँझ ६ बजे घर फर्किँदा बुहारी र नातिहरुलाई नदेखेपछि उनले भित्रबाट ढोका लगाएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।’ शनिबार बेलुकी साढे ७ बजेतिर घटनास्थल पुगेको प्रहरीले जनप्रतिनिधि र स्थानीयको रोहबरमा घरको ढोका फोडेर हेर्दा उनीहरु मृत अवस्थामा फेला परेका थिए । खाटमुनि कोइला बालेको देखिएको थियो । मृतक चारै जनाको मुखमा फिज थियो । कल्पाका श्रीमान कृष्णबहादुर जाजरकोट भएकाले आइतबारमात्र प्रहरीले मुचुल्का उठाई अनुसन्धान अघि बढाएको छ । मृतकहरुलाई पोष्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको छ प्रहरीले अहिल पोष्टमार्टम रिपोर्ट नआउँदासम्म घटनाको कारण बताउन नसकिने जनाएको छ ।
प्रतिक्रियावादीहरुकाे षडयन्त्र जारी छ, ढुक्क हुने अवस्था छैन- प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रमा अध्यक्ष प्रचण्डले संसद विघटनका शृंखलामार्फत लाद्न खाेजिएकाे प्रतिक्रियावादी षडयन्त्र परास्त गरेकाे भएपनि अझै ढुक्क हुन सकिने अवस्था नभएकाे बताएका छन् । नेकपा माओवादी केन्द्र र नेकपा मसाल सम्पर्क केन्द्रबीच पार्टी एकता कार्यक्रममा बाेल्दै प्रचण्डले इतिहासका उपलब्धि कुल्चिने षडयन्त्र अहिले पनि जारी रहेकाेले सचेत भइरहनुपर्नेमा उनले जाेड दिए । जनताकाे सेटिङका अगाडि प्रतिक्रियावादीकाे सेटिङ चल्दैन भन्ने प्रमाणित भएकाे बताउँदै प्रचण्डले सामन्तवादका अवशेस र दलाल पूँजिवादका एजेण्टहरुकाे चलखेल चलि नै रहेकाेले रिल्याक्स हुने अवस्था नभएकाे बताएका हुन । प्रतिक्रियावादी षडयन्त्रसँग लड्न कम्युनिष्ट शक्तिबी एकता अनिवार्य शर्त भएकाे उनले बताए । कार्यक्रममा बाेल्दै प्रचण्डले मसाल सम्पर्क केन्द्रसँगकाे एकताले पाँच दलीय गठबन्धनमा कुनै असर नपर्ने बताए । आफू माेहनबिक्रम सिंहकै स्कुलबा हुर्केकाे बताउँदै उनले पछिल्लाे समयमा माेहनबिक्रमसँग नयाँ ढंगले अघि बढ्ने विषयमा छलफल भएकाे बताए । हिजाेपनि अभिभावक हाे रअब पनि अभिभावकत्व ग्रहण गर्नुस भन्ने किसिमले सकारात्मक कुराकानी भएकाे उनकाे भनाई थियाे । मार्क्सवादलाई गतिशीलतामा बुझेर उपलब्धिकाे रक्षा गर्दै प्राप्त हुन नसकेका कुरा प्राप्तीका लागि समाजवादी क्रान्तिकाे तयारिमा अघि बढनुपर्ने बताए । नेकपा मसाल सम्पर्क केन्द्रका संयनेजकसहित ३८ जिल्ला कमिटी माओवादी केन्द्रसँग एक भएकाे हाे ।
सभामुखले बाेलाए कार्यव्यवस्था समितिकाे बैठक
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परापर्श समितिको बैठक बोलाउनु भएको छ । बैठक आज बिहान साढे ११ बजे संसद भवन नयाँबानेश्वरस्थित शंकर हलमा बोलाइएको हो । संसद् सञ्चालनका लागि आवश्यक छलफल गर्न प्रतिनिधिसभाको बैठकअघि समितिको बैठक बस्न लागेको हो । एमालेले दोस्रो पटक संसद पुनस्र्थापना भए यता हरेक बैठकमा अवरोध गर्दै आएको छ । आफुले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदहरुलाई निष्काषन नगरेसम्म संसदको अवरोध जारी राख्ने एमालेको अडान छ ।
एकीकृत समाजवादीको केन्द्रीय पार्टी कार्यालय उदघाटन
काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय उद्घाटन गरिएको छ । शुक्रबार पार्टी अध्यक्ष माधवकुमार नेपालले आलोकनगरस्थित पार्टी कार्यालय उद्घाटन गर्नुभएको हो । कार्यालय उद्घाटनको क्रममा उहाँले आफ्नो पार्टी अन्य पार्टीभन्दा फरक भएर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्रिपरिषद्लाई कहिले पूर्णता दिने भनेर पत्रकारहरुले सोधेको प्रश्नमा उनले भने ‘म प्रधान्मन्त्री भएको भए ठ्याक्कै भनिदिन्थें, आशा गरौं, यो हप्ताभित्र हुने छ ।’ उनले सरकारमा जान आफूहरु आज भने आजै, भोलि भने भोलि नै तयार रहेको पनि बताए ।
एकीकृत समाजवादीले खोल्यो पार्टी कार्यालय, आजबाट सञ्चालनमा आउने
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले आजबाट पार्टी कार्यालय सञ्चालनमा ल्याउने भएको छ । एमालेमाबाट विभाजन भएर नेको एकीकृत समावादीले काठमाडौंको नयाँबानेश्वरस्थित आलोकनगरमा केन्द्रीय कार्यालय सञ्चालनमा ल्याउने भएको हो । पार्टीका अध्यक्ष माधवकुमार नेपालले आलोकनगरस्थित पूजा थापा बस्नेतको घरमा केन्द्रीय कार्यालय रहने बताउनुभएको छ । कार्यालय आज बिहान १० बजेदेखि आरम्भ हुने नेता नेपालले बताउनुभएको छ । उहाँले सबैबाट सकारात्मक सहयोगको अपेक्षा गरेकोसमेत बताउनुभएको छ । कार्यालयको विधिवत उद्घाटन अध्यक्ष नेपालले नै गर्ने कार्यक्रम रहेको उक्त पार्टीले जनाएको छ । पार्टीले संसदीय दलमा समेत आफ्नो छुट्टै दलको कार्यालय सञ्चालनमा ल्याइसकेको छ । त्यस्तै प्रदेशसभाहरुमा समेत एकीकृत समाजवादी पार्टीले मान्यता पाइसकेको छ । गएको भदौ २ गते एमालेबाट अलग भएर एकीकृत समाजवादी बनेको हो ।
चीनको प्रतिक्रियाः अमेरिका, युके र अष्ट्रेलियाबीच भएको शान्ति सम्झौताले हतियारको दौड बढने
चीनले अमेरिका, अस्ट्रेलिया र ब्रिटेनबीच भएको नयाँ परमाणु सम्झौताको निन्दा गर्दै त्यसले क्षेत्रीय शान्ति र स्थायित्वलाई कमजोर पार्ने बताएको छ। उसले त्यसले पारमाणविक अप्रसार कार्यलाई पनि आघात पुर्याउने बताएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले अस्ट्रेलियामा परमाणु ऊर्जाबाट चल्ने पनडुब्बीसम्बन्धी प्रविधि निर्यात गर्ने अमेरिका र यूकेको निर्णयलाई “एकदमै गैरजिम्मेवार कार्य” भनेका छन्। उनले भने, “यसले गम्भीर रूपमा क्षेत्रीय शान्ति र स्थायित्वलाई हानी गर्नेछ र हतियारको दौडलाई तीव्र बनाउनेछ।” यूके, अमेरिका र अस्ट्रेलियाले गरेको उक्त परिष्कृत रक्षा प्रविधिहरू आदानप्रदान गर्ने एउटा विशेष सुरक्षा सम्झौता चीन लक्षित रहेको बताइएको छ। सम्झौताले अस्ट्रेलियालाई पहिलोपटक परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी बनाउने बाटो खुला गरिदिनेछ। ओकस भनिने उक्त सम्झौतामा आर्टिफिसिएल इन्टेलिजेन्स, क्वान्टम टेक्नोलोजी र साइबर पक्ष समेट्नेछ।
नेपाली सेनामा खुल्यो बिभिन्न पदका लागि भर्ना
नेपाली सेनाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । कार्यरथी विभाग जंगी अड्डाले सूचना जारी गर्दै विभिन्न ट्रेडका प्राविधिक पदिक तथा बिल्लादार, अमल्दार कर्मचारी र पुजारी हुद्दा पदहरुको लागि दरखास्त आव्हान गरेको हो । हेर्नुस सूचना
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
काठमाडौँ — हाल देशमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नम्बर १, प्रदेश नम्बर २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । २०७८ भदौ २१ गते (सोमबार) दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। राति: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश १, वाग्मती तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । २०७८ भदौ २२ गते (मंगलबार) दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश १, वाग्मती तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । राति: देशभर सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिमका धेरै र बाँकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । २०७८ भदौ २३ गते (बुधबार) दिउँसो: देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति: देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
माओवादी केन्द्रकाेे केन्द्रीय समिति बैठक बस्दै, प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केहीबेरपछि शुरु हुँदैछ । बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने बताइएको छ । पार्टीको कार्यदिशा स्पष्ट गर्ने, प्रतिगमन विरोधी संघर्ष र कम्युनिष्ट आन्दोलनमा देखा परेका विसर्जनवादविरुद्धको संघर्षलाई अझ दृढतापूर्वक अघि बढाउने र समाजादी क्रान्तिका पक्षधर शक्तिहरुबीच कार्यगत एकताकाे सम्भावना लगायतका विषय समेटेर प्रचण्डले प्रतिवेदन तयार गरेकाे बताइन्छ । माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार संविधानको रक्षा र कार्यान्वयनका लागि बाम–लोकतान्त्रिक गठबन्धनको सहकार्यलाई सुदृढ बनाउने लगाएतका विषय समेटेर अध्यक्ष दाहालले प्रतिवेदन तयार हिजो बसेको स्थायी कमिटी बैठकले आग्रह गरेको थियो । यस्तै हिजो माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टीको तर्फबाट सरकारमा सहभागी हुने नेताहरुको बारेमा छलफल भएन् । सरकार गठन भएको एक महिना वित्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन नसकेको भन्दै सरकारको आलोचना भइरहेपनि माओवादीले मन्त्रीको नाम अझै टुंगो लगाउन नसकेको हो । हिजोको बैठकमा अध्यक्ष प्रचण्डले सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको थियो ।
नारायणघाट–मुग्लिन सडकखण्डमा ट्रकमाथि नै खस्यो पहिरो
काठमाडौं । विगत केही दिनदेखि निरन्तर वर्षा हुन थालेपछि देशका बिभिन्न स्थानमा ठूलो क्षति भएको छ । यसैबीच नारायणघाट–मुग्लिन सडकखण्डमा रोकिराखेको ट्रकमाथि पहिरो खसेको तस्वीर भाइरल बनेको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ जलवीरे नजिकै जाममा रहेको ट्रकमाथि पहिरो खसेको हो। आज बिहान करिब ७ बजेतिर खसेको पहिरोले एकको एक छेउ पुरेको छ। पहिरोले नारायणघाटबाट मुग्लिनतर्फ सामान लिएर आउँदै गरेको ग १ ख ९९६१ नम्बरको ट्रकको आधा भाग पुरेको छ। पहिरोले यात्रुबहाक एक बसमा पनि क्षति पुर्याएको छ। बिहीबारदेखि यो सडकखण्डका विभिन्न ठाउँमा पहिरो र ठूला ढुंगा खसेका छन्। अवरूद्ध सडक खुलाउन सडक विभाग, प्रहरी र प्रशासन लागिपरेको छ। पानी परिरहेकोले चारकिलो, पाँचकिलो र दासढुंगालगायत ठाउँमा पहिरो खस्ने क्रम रोकिएको छैन। पहिरो हटाउँदै सडक सुचारू गर्ने काम भइरहेका छन्।
पूर्वमुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय
पोखरा । गण्डकी प्रदेश सरकारले पूर्व मुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । शनिबार कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन भएपछि आज बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले पूर्व मुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको हो । कार्यविधि बनाएर सुविधा निर्धारण गरिने जनाइएको छ । बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री कुमार खड्कालाई तोकेको छ । बैठकमा सरकारको आगामी नीति तथा कार्यक्रमलगायत विषयमा छलफल भएको प्रवक्ता खड्काले जानकारी दिए ।
संसद विघटन बदर गर्ने सर्वोच्चको फैसला
काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । ‘संविधानको धारा ७६ को १ अनुसारको बहुमतको प्रधानमन्त्रीले धारा ७६ को ७ अनुसार संसद् विघटन गर्ने संवैधानिक पूर्वसर्त अवस्था नभएको र प्रधानमन्त्रीले पुस ५ गते सिफारिस गरी राष्ट्रपतिले स्वीकृत गरी जारी गरेको विज्ञप्ति असंवैधानिक भएकोले संवैधानिक र कानुनी रूपमा शून्य हुने गरी बदर गरिएको छ,’ फैसला सुनाउँदै प्रधानन्यायाधीश राणाले भने । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए । यो मुद्दाका दुवै पक्षले बहस गर्नुका साथै र एमिकस क्युरीले समेत आफ्नो राय राखेका थिए । सर्वोच्च अदालतको पूर्ण पाठ आइसकेको छैन ।
शुक्रबारदेखि पुनः वर्षा र हिमपातको सम्भावना
काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावले आज वाग्मती, गण्डकी र प्रदेश नं एकमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा हुने भएको छ । पश्चिमी वायुको प्रभावले भोलिबाट देशभर मौसम बदली भई उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धको भनाई छ । शुक्रबारदेखि आइतबारसम्म देशभर आंशिकदेखि सामान्य बदली भई उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ । मौसमविद्का अनुसार पश्चिमी वायुको प्रभावले ठूलो पानी पर्ने सम्भावना नरहे पनि हिमपातका कारण तापक्रम घट्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाभित्र उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र तराईका केही भूभागमा बिहानपख हुस्सु÷कुहिरो लाग्नसक्ने हँुदा चिसो अझै रहिरहने देखिएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । हाल देशभर मौसम सामान्यतया सफा रहेको छ र तराई तथा पहाडका केही भू–भागमा हुस्सु÷कुहिरो लागेको छ । दिउँसो वाग्मती, गण्डकी र प्रदेश नं १ मा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यता सफा रहने छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव चार डिग्री र अधिकतम तापक्रम २० दशमलव तीन डिग्री सेल्सियस रहने छ । त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम शून्य दशमलव तीन डिग्री सेल्सियस रहेको छ ।