बेलायती निकै पुरानो टूर कम्पनी थोमस कूक टाट पल्टियो, कारोबार बन्द
लन्डन । बेलायतको निकै पुरानो टूर कम्पनी थोमस कूकले अतिरिक्त रकम जुटाउन नसकेपछि टाट पल्टिएको घोषणा गरिएको छ । कम्पनीले विश्वभर गरेका छ लाख यात्रा बुकिङ पनि रद्द गरेको जनाएको छ ।
बेलायत सरकारले हाल विदेशमा यात्रारत एक लाख ५० हजार बेलायती नागरिकलाई कम्पनीको निर्णयले असर पर्ने बताएको छ ।
बेलायती नागरिक उड्डयन प्राधिकरणले थोमस कूकले आफ्नो व्यवसाय रोकेको जनाएको छ । यस कम्पनीका चार वटा विमान ग्राउन्डेड गरिएका छन् । विश्वका १६ वटा मुलुकमा रहेका २१ हजार कर्मचारीको जागिर पनि समाप्त भएको छ जसमा नौ हजार बेलायती नागरिक छन् ।
ब्रेक्जिटको अन्यौलतासँगै कम्पनीले केही महिना अघि नै बुकिङमा कमी आएको बताउँदै आएको थियो । कम्पनीमाथि ऋणको बोझ निरन्तर थपिँदै गएपछि कम्पनी नै धरासायी भएको हो ।
बेलायतको यो १७८ वर्ष पुरानो कम्पनीले आफ्नो साख जोगाउन २५ करोड अमेरिकी डलर ऋण खोजिरहेको थियो । कम्पनीले आफ्ना शेयरहोल्डर र लगानीकर्तासँग पनि यसबारेमा परामर्श गरेको थियो । थोमस कूकका विश्वभर ६०० को हाराहारीमा ट्राभल स्टोर रहेका छन् ।
कम्पनीका प्रमुख कार्यकारी पिटर फ्यान्काउजरले कम्पनीको इतिहासमा यो निकै उदास र दुःखद क्षण रहेको बताउँदै यस कम्पनीले बेलायती समेतका लाखौं व्यक्तिको यात्रालाई सहज गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
उनले जारी गरेको विज्ञप्तिमा कम्पनीलाई विश्वास गर्ने लाखौं उपभोक्ता र हजारौं कर्मचारीसँग आफूले व्यक्तिगत रुपमा क्षमा माग्न चाहेको उल्लेख गरेका छन् ।
कम्पनीको सेवा लिएका तर विदेशमा अलपत्र परेका व्यक्तिको उद्धारका लागि बेलायती नागरिक उड्डयन प्राधिकरणले विशेष व्यवस्था गर्न लागेको जनाएको छ ।
बेलायती यातायात मन्त्री ग्रान्ट श्याम्प्सले आफ्ना नागरिकको सहज उद्धारका लागि दर्जनौं चार्टर विमानको व्यवस्था गरिएको जानकारी दिए । यी चार्टर विमानले मलेसियासम्म पुगेर अलपत्र बेलायतीलाई निःशुल्क बेलायत ल्याउने उनले बताए ।
थोमस कूकका कर्मचारीसँग सम्बन्धित युनियनले बेलायत सरकार समक्ष थोमस कूकका कारण बेरोजगार भएका व्यक्तिका बारेमा सोच्न र उपयुक्त निकास निकाल्न अनुरोध गरेको छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कम्पनी जोगाउने नाममा सरकारले लगानी गर्न नसक्ने बताउँदै यस प्रवृत्तिले टाट पल्टिन लागेका कम्पनीहरु सरकारमाथि बढी आश्रित हुने खतरा हुन्छ भने । यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो ।
सशस्त्र र नेपाल प्रहरीको काममा दोहोरोपन हुन नहुने
काठमाडौं, साउन १६ । नेपाल प्रहरीको जिम्मेवारी तथा अधिकार हेरफेर गरी सशस्त्र प्रहरी बललाई थप अधिकार सम्पन्न बनाउने विषयमा बहस चुलिएको छ । यस कार्यले नेपाल प्रहरीलाई कानुनी रूपमा कमजोर बनाउनुका साथै जनपद प्रहरी र सशस्त्र प्रहरीबीच अधिकार र जिम्मेवारी निर्वाहको क्रममा ‘प्रतिस्पर्धा’ तथा सेवामा दोहोरोपन हुने तर्क सम्बद्ध अधिकारीको छ ।संघीय प्रहरी ऐन र सशस्त्र प्रहरी बल ऐन निर्माणको तयारीमा रहेकाले ती दुई सुरक्षा निकायको जिम्मेवारी र अधिकार हेरफेरका विषयमा छलफल र बहसमा दोहारोपन हटाउन केन्द्रित हुनुपर्ने भनाइ आइरहेको छ । सो विषयमा संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा समेत छलफल भएको छ । समानान्तर अर्थात् दोहोरिने अधिकार खोजेको भनाई नेपाल प्रहरीको छ भने सशस्त्र प्रहरी बलले भने २०७२ सालमा संशोधित नियमावलीमा उल्लेख कानुनी अधिकार र जिम्मेवारीलाई ऐनमा समेट्न खोजिएको प्रस्ट पारेको छ । गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण सुवेदीको संयोजकत्वमा गठित सङ्घीय सशस्त्र प्रहरी बलको नयाँ विधेयक मस्यौदा निर्माण कमिटीले सशस्त्र प्रहरीलाई पक्राउ पुर्जी जारी गर्ने, सूत्र परिचालन (सुराकी), घर तथा शरीर खानतलासी अधिकारको व्यवस्था गरेको छ । त्यस्तै, अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)मा सहभागिता, काठमाडौँ उपत्यकामा सशस्त्र मेट्रो प्रहरी सेवा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मेवारीजस्ता विषयहरू मस्यौदामा उल्लेख गरिएकोे छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई समानान्तर जिम्मेवारी प्रदान गर्दा फौजदारी न्याय प्रणाली प्रक्रिया पारदर्शी हुनेमा शङ्का उब्जेको छ । गृह मन्त्रालयका प्रवक्ता सुवेदीले शान्तिसुरक्षाको सवालमा एउटा सुरक्षा निकाय हात बाँधेर बस्ने अर्को रमिते बन्ने अवस्था आउन नदिन यस्तो व्यवस्था गर्न खोजिएको बताए । संघीय सशस्त्र प्रहरी बलको नयाँ ऐनको मस्यौदामा शङ्का गर्नुपर्ने अवस्था नभएको स्पष्ट पार्दै उनले भने, ‘अपराधीलाई नियन्त्रणमा लिने अधिकार आमनागरिकलाई त छ, सशस्त्र प्रहरी त सुरक्षा निकाय हो ।’ ‘यसमा विवाद गर्नुपर्ने विषय नै छैन, सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको व्यक्तिलाई कानुनी कारबाहीका लागि प्रहरीकै जिम्मा लगाउने हो’ उनले थप प्रस्ट पारे । सशस्त्र प्रहरी बल नियमावली २०७२ मा पक्राउ पुर्जी, सादा पोसाकमा परिचालन, उपत्यकाको सुरक्षाका लागि मेट्रो प्रहरी सेवाको व्यवस्था गरेको छ । सशस्त्र प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक सुरज श्रेष्ठका अनुसार, नियमावलीमा उल्लेख ती बुँदालाई नयाँ विधेयकमा थप्न खोजिएको हो । सशस्त्र प्रहरी बलको गठन तत्कालीन माओवादी विद्रोही समूहको नियन्त्रण र विदेशी आक्रमणबाट राष्ट्रलाई जोगाउन सेनाको सहयोगी सुरक्षा सङ्गठनका रूपमा गरी १२ वटा उद्देश्यका साथ स्थापना भएको थियो । मुलुक शान्ति प्रक्रियामा आएपछि औद्योगिक क्षेत्रको सुरक्षा, विपद् व्यवस्थापन, सीमा सुरक्षा र विशिष्ट व्यक्तिको सुरक्षा जिम्मेवारी निर्वाहलगायतका काम यसले गर्दै आएको छ । त्यसका अतिरिक्त सशस्त्र प्रहरीले चारवटा थप नयाँ अधिकारको माग गरेको छ । यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो ।
कञ्चनपुरमा धम्की दिएर छिमेकी महिलामाथि बलात्कार
कञ्चनपुर, साउन १५ । जिल्लाको बेलडाँडी गाउपालिका–२ की एक २४ बर्षिया महिलाले आफूलाई एक युवकले डराएर, धम्काई पटक–पटक बलात्कार गरेको आरोप लगाई आज बेलडाँडी प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । ती महिलाले सोही छिमेकमा बस्ने ३५ वर्षीय गणेश रावलले आफुलाई बैशाखदेखि ३ दिन पहिलासम्म जबरजस्ती करणी गरेको प्रहरीलाई बयान दिएकी छिन् । आफू, श्रीमानलाई र आफ्ना बाल बच्चालाई ज्यान मारिदिन्छु भन्ने पटक–पटक धम्की दिँदै यौन शोषण गर्ने गरेको आरोप महिला र उनका श्रीमानले लागाएका छन् । पीडित महिलाका श्रीमानले भने आफू बालबच्चा पढाउनका लागि भारत भएको बेला श्रीमतिलाई बलात्कार गर्ने गरेको कुरा श्रीमतिले भनेपछि मात्र थाह पाएको बताएका छन् । प्रहरीले आरोपीलाई प्रकाउका लागि खोज्दा आरोपी फरार भएको बेलडाँडी इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक गणेश दत्त भट्टले जानकारी गराए । उजुरीको आधारमा आफूले मेडिकलका लागि पीडित महिलालाई महेन्द्रनगर पठाएको प्रहरी नायब निरीक्षक भट्टले जानकारी गराए ।
चिन्तन: जीवन एक विकल्प
-भागवत खनाल मोहनदास करमचन्द्र गान्धी दक्षिण अफ्रिका पुगेको एक हप्ता मात्र भएको थियो । उनी रेल चढेर प्रिटोरिया जाँदै थिए । रातको समय थियो, उनी एउटा किताव पढ्दै थिए । एकजना काला अफ्रिकी निम्नस्तरीय रेल्वे कर्मचारी केही काम गर्दै थिए । यस्तैमा मोहनदासले ती कर्मचारीलाई सोधे के तपाईं नर्कमा विश्वास गर्नुहुन्छ ? कालाले तुरुन्त निसंकोच उत्तर दिए ” गर्दिन । ” मोहनदासले भने म पनि गर्दिन । तर हेर्नुस न यो कितावको क्रिश्चियन लेखक भन्छ उनीहरुलाई नर्कको अस्तित्व मान्ने आदेश छ रे । मोहनदास अरु के के भन्दै थिए रेलको त्यस कक्षमा गोराहरु पसे । एकजना गोराले मोहनदासलाई भन्यो तिमी किन गोराहरु मात्र बस्न पाउने कक्षमा बसेको ? मोहनदास बडो आनन्दले उत्तर दिन्छन, मसंग प्रथम श्रेणीको टिकट छ, यो कक्ष प्रथम श्रेणीको टिकट किन्नेको लागि हो । तर गोराले उनलाई चेतावनी दिन्छ, उनी अव आउने स्टेसनमा यो कक्ष छाडेर तृतीय श्रेणीको डिब्बामा सरुन, अन्यथा धक्का दिएर बाहिर फ्याँकिने छ । मोहनदास त्यहीं बसिरहे । गोराले उनलाई ट्रेनबाट बाहिर फ्याँकिदियो । ट्रेन सिट्ठी फुक्दै अगाडि बढ्यो । बिरानो देशको त्यो भयानक रातमा एउटा सज्जन व्यक्ति भूमिमा पछारिएको छ । झोलाका सामान र कागजपत्र असरल्ल छन् । अव कहाँ जाने कसलाई भन्ने ? न्याय पाउने कुनै सम्भावना थिएन । मोहनदास उठेर टुक्रुक्क बस्छन , विवस लाचार ! त्यसबेला उनीसंग तीनओटा विकल्प थिए । पहिलो, जे हुनु भयो चुपचाप आफ्नो काममा लाग्ने र यो घटनालाई एउटा नराम्रो सपना जस्तो मानेर बिर्सने । ट्रेनबाट फाल्ने गोरासंग फेरि भेट हुने हैन, अरु कसैले देखेको पनि छैन । दोस्रो, यस्तो अपमान सहेर बस्नुभन्दा यताको काम छोडछाड गरेर आफ्नो मातृभूमि भारत फर्कने र तेस्रो, यो अन्याय विरुद्ध लड्ने । चुपचाप यथावत बस्न मोहनदासको स्वाभिमानलाई स्वीकार थिएन । आफ्नो मातृभूमि फर्कन सकिन्थ्यो, तर त्यहाँ पनि यिनै गोराहरुको शासन थियो । जीवनको यस मोडमा उनले जुन विकल्प छाने, त्यसले संसार बदल्नेवाला थियो । त्यो कालो मध्यरातमा एउटा आविष्कार भयो अनायास, अप्रत्यासित रुपमा ! उनले तेस्रो विकल्प छाने तर त्यो अभूतपूर्व थियो । उनले अन्यायको विरुद्ध लड्न सबिनय नागरिक अवज्ञा र असहयोग आन्दोलनको माध्यमलाई छाने । समस्त संसारमा अत्याचारमा परेका न्यायकामी जनताको लागी हतियार र हिंशाबिना क्रान्ति गर्ने नया माध्यमको प्रादुर्भाव भयो त्यसै रातमा । भारत फर्केपछि उनी स्वतनत्रता आन्दोलनको प्रतीक बने । एउटा कमजोर र रोगी वृद्ध, उत्तेजक भाषण गर्न नजान्ने, भौतिक व्यक्तित्वमा समेत कुनै तेज नभएको र पोशाकको नाममा भोटो र कछाड मात्र लगाई लौरोको भरमा हिड्ने व्यक्तिको पछि पछि लागे लाखौँ जनता । यो सानो आश्चर्यको कुरा थिएन । जीवनको कठिन घडीमा सही निर्णय गर्दा गुमनाम जीवन विताउंदै आएको एउटा मामुली गुजराती मोहनदास वैश्य महात्मामा रुपान्तर भयो । संसारले युगान्तकारी उपहार पायो । प्रायः मानिसहरु आफ्नो बारेमा अरुले के सोच्दै होलान भन्ने चिन्तामा जीवन व्यतित गर्दछन । आफ्नो तर्फबाट कसैलाई कुवचन नभनियोस, कसैको चित्त दुख्ने शव्द वा कर्म नहोस, कसैको सम्पत्तिलाई नोक्सानी पुर्याउने काम नहोस र आफ्नो कारणले अरु कसैको आँशु नबगोस भन्ने कुरामा सर्वदा ध्यान पुर्याउनु पर्दछ । तर अरुले आफूलाई नराम्रो व्यक्ति भन्ला कि, कसैले कुरा काट्ला कि या कसैले आफ्नो बारेमा केही कुरा लैजाला कि या कसैको नराम्रो बनिएला कि भनेर चिन्तित हुनु भनेको आफैलाई अरुको धारणाको बन्दी बनाउनु हो । प्रतिष्ठा गुम्दछ कि भन्ने डर र चिन्ताकै कारण प्रतिष्ठा गुम्न सक्दछ । जसले आफ्नो बारेमा अरुले बनाएको धारणा सम्बन्धमा धेरै सूचना र जानकारी राख्न खोज्दछ, उसलाई दुखी हुनबाट कसैले बचाउन सक्दैन । जति धेरै सूचना, त्यति धेरै तनाव, जति थोरै सूचना त्यति नै थोरै तनाव ! धेरै सूचनाको खोजी नै शंका, झगडा र दुखको कारण हो । सवैलाई खुसी पार्न खोज्नु जस्तो मूर्खता अर्को छैन । सुप्रशिद्ध दार्शनिक लाओत्सु भन्छन राम्रो बटुवा इमान्दारीसाथ हिडीरहन्छ, कसले के भन्ला चिन्ता हुँदैन उसलाई । उसलाई गन्तव्यमा पुगिन्न कि भन्ने भय हुँदैन । जसले बुझेका छन् ती मौन छन्, जो बुझेका छैनन् तिनै हुन कराउन माहिर । मानिस भएर जन्मेपछि गुनी हुनुपर्छ, त्यागी हुनुपर्छ, सज्जन हुनुपर्छ, नैतिकवान हुनुपर्छ भनेर घरमा सिकाइन्छ, स्कूलमा सिकाइन्छ र साधुसन्त पनि यही उपदेश दिन्छन । हुनु पर्ने पनि त्यही हो । तर आफ्नो भित्री चाहनाबाट नभई जवर्जस्ती र उपदेश पालना गर्न गरिएको त्याग त्याग नभई एउटा ढोंग मात्र हो । यस्तो अवस्थाको त्यागी व्यक्ति जुन कुराको त्याग गरेको छ जीवनभर त्यही कुरासंग भयभित र त्रसित हुन्छ । त्यो तथाकथित त्यागीले पत्नी त्यागेको रहेछ भने स्त्री जातिसंग, पति त्याग गरेको भए पुरुषसंग, धन त्याग गरेको भए धनसंग र घर त्यागेको भए गृहस्थसंग तर्सिन्छ । अख्तियारले समात्ला भन्ने डरले मात्र अनियमित काम नगर्ने व्यक्ति अनियमित काम नगर्दा नगर्दै पनि अख्तियारसंग तर्सिन्छ । नियम कानूनको डरले गर्दा अनैतिक कर्म नगर्ने व्यक्तिलाई कानूनको असल पालनकर्ता भन्न सकिएला तर नैतिकवान भन्न सकिँदैन । यस्ता व्यक्ति नै हुन जसले ज्यादा नैतिकताको कुरा गर्दै हिड्छन । भयको कारण वासना र चाहनालाई जवर्जस्ती दबाएर बसेको मानिस डरपोक हुन्छ । जो नैतिक छ, ऊ स्वतः नैतिक हुन्छ । जो बिना भय र त्रास जीवन मार्गमा डटेर अगाडि बढ्छ, जो ज्ञानी र इमान्दार भएर पनि आत्मप्रशंसा गर्दैन, जो अनावश्यक अर्ति उपदेश दिंदैन र यस्तो गरियो उस्तो गरियो भन्दैन ऊ नै सच्चा जीवन जिउँछ । जो सच्चा जीवन बाँच्दछ , उसलाई न कोही समर्थक र अनुयायीको दरकार पर्दछ, न त प्रशंसा र स्तुतिको । जो आफ्नो कर्मममा अविचलित रुपमा लागिरहन्छ, जसलाई पुरस्कारको लोभ, प्रशंसाको आशा र निन्दाको डर छैन, जसलाई समाज वा राज्यको तर्फबाट केही पाइन्छ भन्ने सरोकार छैन, जसको कुनै आकांक्षा छैन उसैले जितेको छ सारा जगत । सच्चा राजनेताले काम गर्न नसक्नुको दोष अरुलाई लगाउँदैन । ऊ आफ्नै कमजोरी स्वीकार गर्दछ । भनिन्छ, जुन देशमा महत्वाकांक्षा धेरै भएका, तर काम गर्ने ढंग नभएका नेता हुन्छन त्यो देश अगाडि बढ्न सक्दैन । यस्ता खालका नेताहरु आफ्नो कमजोरी अरुको थाप्लोमा भिराएर उम्किन माहिर हुन्छन, यी अत्यन्त छट्टु र गफाडी हुन्छन । यस्ताको पिध हुँदैन, जरो हुँदैन, जग हुँदैन र आत्मवल कमजोर हुन्छ । श्री ३ महाराज चन्द्र शमशेरलाई गरीव नेपाली जनताको बेहाल सम्बन्धी जानकारी पठाए वापत कृष्ण प्रसाद कोइरालाको परिवार भारतमा निर्वासनमा थियो । बीपी कोइरालाले लेख्नु भएको छ – हाम्रो घरमा भोकभोकै बस्नु पर्थ्यो, खाना थिएन । परिवारका कोही कहाँ कोही कहाँ थिए । अखवार बेच्थे हाम्रा मान्छेहरु । अखवार बेचेर बचेको पैसाबाट कुँडो बनाउँथे, धेरै पानीमा पिठो तरकारी सवैथोक हालेर पकाएर खान्थे । मेरो भाइ थियो हरिहर, ऊ हैजाले मर्यो । उसलाई घाट लैजान कात्रो किन्ने पैसा समेत छैन । छिमेकमा एउटा नेपाली परिवार थियो । घरमा आमा मात्रै हुनुहुन्छ, पिताजी बाहिरै हुनुहुन्थ्यो । मैले पनि अखवार बेचेको छु । सुशीलको पिता बोधप्रसाद एउटा दुकानमा काम गर्नुहुन्थ्यो । बेलुका अखवार बेच्न जानुहुन्थ्यो । त्यो अवस्था थियो हाम्रो । पिताजीलाई लागेछ, अव सहन सकिँदैन । अव लेख्छु चन्द्र शमशेरलाई भनेर एउटा चिट्ठी लेख्नु भयो – अव त धेरै भयो, म आउन पाउँ भनेर । त्यो हुलाकमा खसाउन जाँदा उहाँको मन फिर्यो, चिट्ठी नखसाएरै फर्कनु भयो । जीवनको त्यस्तो विभत्स समयमा कसको मन न आत्तिएला ? सम्पन्न र इज्जतदार परिवार परदेशमा एक छाक खानाको अभावमा भौंतारिदै हिड्नु परेको छ । यो सारा दारुण अवस्था आफ्नै कारणले उत्पन्न भएको वुझ्ने घरमुली कृष्ण प्रसाद कोइरालाको मनस्थितिको अनुमान सहजै गर्न सकिन्छ । तर त्यो डगमगाइ र अत्यास धेरैबेर टिकेन, लेखिएको पत्र पत्रमंजुषाभित्र नछिर्दै चमत्कार भयो । अन्तस्करणले सम्मानपूर्ण विकल्प रोज्यो । जीवनको त्यस कठिन घडीमा पनि उहाँको विचलन थोरै समयमै समाप्त भयो, दुख दर्द र कारुणिक अवस्थामा पनि स्वाभिमान झुकेन । नियती बदलियो । नदी जस्तो सलल बग्दैन जीवन । जीवन त खहरे हो जहाँ प्रेम घृणा, सुख दुख, उत्थान पतन, आरोह अवरोह सवै अभिन्न अंग भएर आउँछन् । विरोधाभाषी तत्वहरुको संगम हो जीवन । जीवनमा यस्तो समयको पनि सामना गर्नुपर्ने हुन्छ, जहाँ अनपेक्षित निन्दा र भर्त्सनाको सामना गर्नु परोस । दोष लाग्न सधै दोषी नै हुनु पर्दैन, संयोग र नियतीले कस कसलाई बोलाएर सामना गराउँछ पूर्वानुमान गर्न गाह्रो छ । यिनै त हुन जीवनका परीक्षाहरु, यिनै अन्तरविरोध वीचमा जीवनलाई दृढ र अटल भएर बाच्न जो सक्यो उही परीक्षामा उत्तीर्ण भयो । प्राप्त परिस्थितिलाई सामना गर्दै त्यसलाई सहज रुपमा स्वीकार गरी कर्तव्य पथमा अगाडि बढ्न सक्नु नै सफलता हो । सधैभरि सुन्दर, सफल, सुखी र उपयोगी बन्नु सम्भव छैन । जसरी अरु भौतिक र सांसारिक वस्तुहरुको उपयोगिता समाप्त हुन्छ, त्यसैगरी व्यक्तिको पनि कुनै दिन उपयोगिता समाप्त हुन सक्दछ । यो जीवनको परम सत्य हो, यसको पूर्वाभाष समयमै हुनु आवश्यक छ, ताकि यस्तो परिस्थिति उत्पन्न हुँदा यसलाई सहजतापूर्वक सहन र स्वीकार गर्न सकियोस । जीवनमा सधैभरि अरुको लागि उपयोगी बनिरहने आकांक्षा पनि ठीक होइन । सदा सरल र उपयोगी हुन खोज्ने र अरुबाट सहजै प्रयोग हुने व्यक्ति वनको सोझो, सर्लक्क परेको र निरोगी सुकाठको रुख जस्तै काटिनु पर्दछ । आफै भई बाच्न, कसैको आँखा नलाग्न र एकान्तमा आफ्नो प्रकारको जीवन जिउनको लागि यदाकदा वनको त्यस्तो कुकाठ बन्न तयार हुनु पर्दछ जो बाङ्गो, गाँठागुठी परेको, र बेवास्ताको वस्तु बनोस । सुन्दर फूलको वरिपरी काँढा हुन्छन । मीठो फल भिर पाखा, कन्दरा र अग्लो वृक्षमा फल्दछ । सुन्दर ठाउँमा पुग्न धेरै जंघार पार गर्नु पर्दछ । हिमाल सुन्दर छ, तर त्यो जो कोहीको पहुँचभन्दा बाहिर छ । हिमालको सुन्दरतालाई हिमालमै गएर हेर्छु भन्यो भने त्यो मूर्खता हुन्छ । सुन्दरता टाढैबाट देखिने वस्तु हो । त्यसैले त भनिन्छ – सुन्दरता हेर्नको लागि हो, छुनको लागि हैन । मानव जीवन पनि सुन्दर छ, तर जति नजिक नजिक गयो त्यति असुन्दर हुँदै जान्छ यो । मानव जीवनमा पनि काँढा छन् । जति जति सामुन्नेमा पुग्यो तिनले घोच्ने सम्भावना बढी हुँदै जान्छ । जीवनलाई जति धेरै नजिक गएर गिजोल्न खोज्यो त्यत्ति नै त्यो सुन्दरता कुरूप र विभत्स रुपमा प्रकट हुने सम्भावना बढ्दछ । मुल्ला नसरुद्दीन एकदिन उज्यालो ठाउँमा केही खोज्दै थिए । कसैले सोध्यो, मुल्लाजी के गर्दै हुनुहुन्छ ? मुल्लाले जवाफ दिए, म मेरो हराएको औंठी खोज्दै छु । फेरी उनलाई सोधियो, औंठी कहाँ हारायो ? मुल्लाको उत्तर थियो ए हजुर हराएको त घरबाट हो । उनलाई पुनः सोधियो हराएको ठाउँमा पो खोज्नु नि, किन यता खोजिरहेको ? मुल्लाले भने घरमा अँध्यारो छ, कसरी खोज्नु ? यता उज्यालो रहेछ यहीं खोज्दै छु । मानव जीवन आफ्नो विकल्प पहिचान गर्न नसकेर यसैगरी भौंतारिई रहेको छ । जीवन त्यही दिशातिर फाल हालेर दौडिरहेको छ, जतातिर चमक र होहल्ला छ । मानिसलाई कोलाहल मन पर्छ, हराएको के हो, सत्य के हो, पाउनु पर्ने के हो, के गर्दा दिगो र खपाउ हुन्छ मतलव छैन । मानिस आफूलाई खोज्न अर्काकोमा जान्छ । मानिस आफ्नै बारेमा अर्कोलाई सोध्छ म कस्तो छु ? जव ऊ तपाईं असल मान्छे हो, तर तपाईंका मान्छे भने असल छैनन् भन्ने उत्तर पाउँछ, आफूलाई खोज्दैन ऊ, उसलाई आफ्ना मान्छेसंग रिस उठ्न थाल्छ । जीवनले सवैभन्दा कम खोजेको विषय नै ” आफू ” हो । सवै जीवनहरु अरुलाई खोजेरै बिते, बित्दैछन, आफूलाई खोज्ने चेत कसैलाई छैन । त्यसैले त जीवनहरु झुठा मानिस र झुठा कुराबाट प्रभावित हुन्छन । जो बोल्नमा माहिर छ, जो फरेवी छ, जो गफाडी छ उसैको जादु चल्छ । जीवनले यही विकल्पको पहिचान गर्न नसक्दा पिठो मजाले बिकिरहेछ, चामल कुनामा गुम्सिएर मक्किइरहेछ। शंकराचार्य काशीमा गङ्गास्नान गर्न जाँदै थिए । मणिकर्णिका घाट नजिक साँघुरो बाटोमा कथित अछुत व्यक्ति विपरित दिशाबाट आउंदै रहेछन । शंकरले उनलाई बाटो छोड्न भने, तर अछुतले शंकरलाई भने तिमी त ब्रह्म सत्य जगन्मिथ्या भन्छौ । तिम्रो र मेरो शरीर एकै तत्वले बनेको छ । यदि म अपवित्र छु भने तिमी कसरी पवित्र छौ ? यदि तिमी सच्चा छौ भने म कसरी झुठा ? म चान्डाल हुँ भने मलाई स्वीकार छ, तर तिमीले पनि आफूलाई चाण्डाल स्वीकार गर । शंकर तत्काल ती महामानवको पाउमा परे । सनातन धर्मले जातिपातिको आधारमा विभेद स्वीकार गर्दैन । तैपनि जीवन यो सत्यलाई स्वीकार गर्न अझै पनि हिचकिचाइरहेछ । विकल्पको यही दोबाटोमा नराम्रोसंग चुकेको कुरालाई मनन गरी यो कलङ्कलाई समूल पुछेमा मात्र घुसपैठ गर्नेहरुलाई जवाफ दिन सजिलो हुनेछ । अव त बुझ्नु आवश्यक छ, यी तथाकथित भेदभावहरु नमेटिदा नै फाइदा छ घुस्नेहरुलाई, बडो ठूलो निहु भएको छ यो उनीहरुलाई । शंकरको अद्वैत यस्तो दर्शन हो, जसले सवैलाई एकै ठाउमा विलय गर्दछ । जव सवै द्वैतहरुको एकै ठाउँमा मिलन हुन्छ त्यहीं अद्वैतको उदय हुन्छ । जहाँ सुख दुख, शोक हर्ष, विनय अहंकार केही रहदैन, समस्त सजीव र निर्जीव एकाकार हुन्छ्न त्यही नै हो ब्रह्म, ईश्वर या उर्जा जे भने पनि । जीवनले यो कुरा मात्र बुझ्न सके पनि सारा अहंकार र भेवाभाव सखाप हुनेछन् । सन्त कवीरको लगभग सारा जीवन काशीमा बित्यो । प्राचीन कालदेखि नै काशीमा मरियो भने सुगति प्राप्त हुन्छ, तरिन्छ भन्ने विश्वास थियो समाजमा । यतिसम्म त उचितै थियो । तर अर्को अत्यन्त अनुचित र अनैतिक भनाइको पनि प्रचार भएको थियो भारतमा, त्यो थियो मगहर भन्ने ठाउँमा मृत्यु हुने व्यक्ति कि नरकमा जान्छ कि गधा भएर जन्मन्छ । कतिसम्म अनैतिक र अनुचित हल्ला गर्न सक्छन जीवनहरु ! सोझा साझा जनता काशीमै आएर मरुन र आफ्नो कमाइ भइरहोस भन्ने मनसायले कुनै स्वार्थी पोंगा पण्डितले चलाएको हल्ला हुनुपर्छ यो । जव सन्त कवीरलाई यो कुरा थाहा भयो उनी साह्रै दुखी भए । भनिन्छ जव उनको अन्त्य अवस्था भयो उनले आफ्ना चेला र अनुयायीहरुलाई भने जसरी पनि म मगहरमै मर्न चाहन्छु । यदि मगहरमै मरेको कारण गधाको योनीमा जन्म लिनु पर्छ या नरकमा परिन्छ भने पनि मलाई स्वीकार छ । उनी मगहरमै मरे । यो ठाउँ नेपालको रुपन्देही र कपिलवस्तुको नजिकै भारतको गोरखपुरको पश्चिम दिशामा पर्दछ । यो इलाकालाई सन्त कवीर नगर जिल्ला नै कायम गरिएको छ । एउटा सन्तले मिथ्या अन्धविश्वासलाई मेटाउन जीवनका अन्तिम दिनमा जुन विकल्प रोज्यो त्यसले अन्य जीवित जीवनहरुलाई भयरहित बनाउन सहयोग गर्यो, एउटा सचेत सन्तको जीवन समाप्त हुँदा त्यो ठाउँ पवित्र भयो । प्रख्यात युनानी सन्त सुक्रातलाई सरकारको तर्फबाट तीनवटा आरोप लागेका थिए । ती थिए देवनिन्दा गरेको, नास्तिक बनेको र युवाहरुलाई भड्काएको । सुकरात भन्थे जुन व्यक्ति आज उसंग जे छ त्यसबाट सन्तुष्ट छैन ऊ भविष्यमा प्राप्त हुने वस्तुवाट पनि सन्तुष्ट हुने छैन । सुकरात धेरै जान्दथे, जति जान्दै गयो त्यति नै अरु जान्नुपर्ने कुरा थपिंदै जाने र जिज्ञासा झन् प्रवल हुँदै गएपछि उनले भनेका थिए, म एउटै कुरा जान्दछु त्यो हो म केही पनि जान्दिन । आफूमाथि लगाइएका आरोप बारे उनी भन्ने गर्थे मेरो नजरमा मैले कुनै गल्ती गरेको छैन, तर विद्यमान कानूनको नजरमा मैले गल्ती गरेको छु । उनलाई अदालतमा उपस्थित गराइयो र भनियो कि गल्ती स्वीकार गरी क्षमा माग या मृत्युदण्ड रोज । उनले माफी मागेनन किनभने उनको ब्रह्मले गल्ती गरेको कुरा स्वीकार गर्दैनथ्यो । तर राज्यको कानून उल्लङ्घन गरेको कुरामा उनी सावित थिए । उनले विषको प्याला उठाए र आफ्नै हातले विष पिएर मरे । जीवनको त्यो मोडमा उनीसंग दुई विकल्प थिए एउटा गल्ती स्वीकार गर्ने र अर्को मृत्युदण्ड स्वीकार गर्ने । उनले मृत्यु स्वीकार गरे तर गल्ती स्वीकार गरेनन । यसरी एउटा जीवन समाप्त भयो, अनि अमर भयो । उनी जहर पिएर मृत्यु वरण गरेको हुँदा अमर भए, माफी मागेर ज्यान जोगाएको भए गुमनाम मर्थे । कोही भन्छन यो जगतका आधार ईश्वर हुन, सारा चराचर जगतका नियन्ता उनै हुन, यो जीवन ईश्वरप्रदत्त जीवन हो । कोही भन्छन हैन हैन, ईश्वर भन्ने हुँदैन । हामी जुन कुरा प्रत्यक्ष रुपमा देख्न, भोग्न र अनुभव गर्न सक्दैनौं, त्यसको कुनै अस्तित्व या सत्ता छैन । धर्म भनेको सामाजिक नियम बाहेक केही होइन । यो मानव जीवन बडो जटिल छ । जतिसुकै भौतिकवादी होस्, मानव जीवनमा सुख र दुख, हर्ष र शोक, हाँसो र रोदन, आरोह र अवरोह र उत्थान र पतनको अवस्था आउनु अवश्यम्भावी छ । सत्य के हो थाहा छैन, तर आस्थाले जीवनलाई जीवन्तता दिन्छ । धार्मिक आस्था बिनाको जीवन त्यो सुक्खा मरुभूमि जस्तै हो जो दिनभरि तप्त हुन्छ र रातभरि ठण्डीको मारले पीडित । नास्तिकले पाउने र आस्तिकले पाउने सांसारिक माया एउटै हो, तर नास्तिकसंग सास्वत र अविनाशी सहाराको अभाव हुन्छ । जव एक्लै छट्पटाउने बखत आउँछ उसले पुकार्ने त्यो अज्ञात तर विश्वासिलो सहारा हुँदैन, यो अभाव ठूलो नोक्सानी हो उसको लागि । तर मानिसहरु आआफ्नो तरिकाले जेलाई धर्म मान्दछन, त्यो नै धर्म हैन । धर्मको नाममा गरिने दिक्क लाग्दा अनुष्ठानहरू र एउटै धर्मभित्रका पनि अनगिन्ती जिद्धी र अभिमानी स्वभावका सम्प्रदायहरूले जीवनलाई विकल्पको सात दोबाटोमा ल्याएर खडा गर्दछन । उराठ लाग्दा कट्टर औपचारिकता, जातीय भेदभाव र विभेद, अझै पनि अस्तित्वमा रहेको छुवाछुत आदि जस्ता कुराले धर्मलाई नै दूषित पारिरहेका छन् । आफ्नै पूजन , स्मरण र भजनका लागि मानिसले बनाएका कतिपय छुद्र नियम देखेर ईश्वर पनि पीडित होलान ! वुद्ध भन्छन पूजा गर्दैमा, भजन गर्दैमा वा फकाउँदैमा ईश्वर खुसी हुन्छन र सो नगर्दैमा रिसाउँछन् भन्ने धारणा नै गलत हो । उनी न रिसाउँछन न सस्ता कुराले प्रफुल्ल हुन्छन । ईश्वरलाई डरलाग्दो रुपमा देखाउनु ठूलो गल्ती हो, ईश्वर किमार्थ डरलाग्दा छैनन् । उनी त अवश्य पनि मनोहर, रमणीय र आनन्ददायक छन्, कोमल छन्, क्षेमाशील छन् । उनी कट्टर नियमका जन्जीरभन्दा बाहिर स्वतन्त्र छन् । सायद उनी मिजासिला, सज्जन, परोपकारी र दयालुको नजिक रहन्छन । धेरै बाठो बन्ने र चलाख बन्ने कुरा ईश्वरको दुनियामा के चल्ला र ! सायद उनी चलाखी र बठ्याइंभन्दा अलि पर स्वच्छता, शालीनता, कोमलता, परोपकार र अझ निर्दोष अज्ञानताको निकटमा छन् । त्यसैले त भनिएको छ – अष्टादश पुराणेसु व्यासस्य वचनद्वयम्, परोपकार पुण्याय पापाय परपीडनम् । जीवन कहाँ जीवन्त छ ? समाज र परिवारमा सुखी छ कि एकान्तमा ? महावीरले वुद्धले एकान्तमा भन्लान, सन्त कवीर र नानकले परिवार र समाजमा भन्लान, श्रीकृष्णले आनन्द , संगीत , प्रेम र रसमय वृन्दावनमा भन्लान । जसले जे भने पनि मानव सामाजिक प्राणी हो, विकल्पको कठिन मोडमा उसले पलायन भन्दा परिवार नै रोज्दछ । घरवाट भागेर हिड्दैमा सवै वुद्ध बन्न कहाँ सक्छन ? सक्दैनन । एउटा वुद्ध जन्मिन पाच हजार वर्ष लाग्छ । घर समाज छाडेर वुद्ध पछुताएनन, महावीर पछुताएनन . गान्धीले सत्याग्रह र सबिनय अवज्ञाको हतियार कहिलै बिसाएनन । तर युवराज देवब्रत वीचवीचमा धर्मराए, विकल्पको संबेदनशील घडीमा आफैले गरेको भीष्म प्रतिज्ञा सम्झेर बेलाबेला पछुताए, छट्पटाए । मानिस समाज र परिवारमा बस्छ, समाज र परिवार मानिसमा बस्दैन । त्यसैले मानिसले समाज र परिवारको नियम र मर्यादा पालना गर्नु श्रेयस्कर हुन्छ । ईर्ष्या, रिस र घृणाको कारण समाज वा परिवारको नियमबाट टाढा जाने व्यक्ति जति टाढा पुगे पनि ती ईर्ष्या, घृणा र रिसलाई समेत संगै लिएर जान्छ, उसले जीवनलाई अझै असहज र दुखी बनाउंछ । सम्झौता र धैर्य बिनाको जीवन दुखको सागरबाट पार हुन सक्दैन, पूर्वाग्रह र आफ्ना हठ एवं जिद्धीलाई बोकिरहने व्यक्तिले सही विकल्प रोज्न सक्दैन । यदि कुनै व्यक्ति प्राप्त परिवेशबाट अत्यन्तै खिन्न छ भने समयमै त्यसलाई त्याग गरेर छुट्टी लिनु पर्दछ । त्यसलाई त्याग गर्न नसक्ने हो भने आफ्ना पूर्वाग्रह त्याग्नु पर्दछ । दुवै कुरालाई संगै लैजान खोज्नु भनेको लामो दुखमय जीवनको रोजाइ हो । दुई डुंगामा खुट्टा राख्न खोज्ने जीवन डुब्छ । मयुरको शरीरमा एउटा खुट्टा हाँसको र अर्को खुट्टा कुखुराको राखेर मयुरलाई हिडाउन सकिन्न । सदृश्य डट कमबाट
मलेरियाका कारण मलेसियामा एक नेपालीको मृत्यु
मलेसिया, जेठ २५ । मलेसियामा मलेरियाका कारण एक नेपालीको ज्यान गएको छ । राजधानी क्वालालम्पुर स्थित कोतरायामा लामो समयदेखि व्यवसाय गर्दै आएका मोरङका सन्तोष खड्काको मलेरियाका कारण ज्यान गएको हो । उनको उपचारको क्रममा शनिवार मृत्यु भएको मलेसिया स्थित नेपाली दूतावासले जनाएको छ । कोतराया स्थित साईनो रेस्टुरेन्टका सञ्चालक खड्कालाई गत ६ तारिख चेरास अस्पतालमा भर्ना गरिएको थियो । उनको शव अस्पतालमै रहेको र आवश्यक कागजी प्रक्रिया पूरा गरि नेपाल पठाउने तयारी भईरहेको दूतावासले जानकारी दिएको छ।
प्रधानमन्त्री ओलीले गरे कम्बोडियाको राष्ट्रिय संग्रहालय अवलोकन
कम्बोडिया, वैशाख ३१ । कम्बोडियाको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार कम्बोडियाली राजदरबारको उत्तरी भागमा अवस्थित राष्ट्रिय संग्रहालय अवलोकन गरेका छन् । प्रधानमन्त्री ओली सोमबारदेखि कम्बोडियाको औपचारिक भ्रमणमा रहेका छन् । यहाँको राष्ट्रिय संग्रहालयमा १९१७ देखि १९२० सम्म माटाबाट बनाइएका परम्परागत संरचना राखिएका छन् । यो संग्रहालय खमेर वास्तुकलाका सबैभन्दा राम्रो संकलनका रूपमा रहेको बताइएको छ । यहाँ एंकरवाट नजिकै पश्चिमी मेबन मन्दिरमा सन् १९३६ मा उत्खनन गर्दा प्राप्त भएको विष्णुको काश्यमूर्ति पनि राखिएको छ । यहाँका मूर्तिमा पाँचौँदेखि आठौँ शताब्दीसम्मका भारतीय मूर्तिकला तथा त्यसको खमेर वास्तुकलामा संक्रमण देख्न सकिन्छ । यहाँ छैटौँ शताब्दीमा बनेको तथा नोम दामा प्राप्त आठ हातयुक्त हरिहरको मूर्ति पनि राखिएको छ । यहाँ एंकोरबाटमा प्राप्त शिवका नवौँदेखि १३औँ शताब्दीमा बनेका मूर्ति तथा चौथोदेखि चौँधौँ शताब्दीमा बनेका भाँडाकुँडा पनि राखिएका छन् । यहाँ कपडाका ऐतिहासिक वस्तु छन् । यहाँ राखिएको हातले बुनेको एक पछ्यौरा एक किलोमिटरभन्दा लामो छ जसलाई गिनिज बुक अफ वल्र्ड रेकर्डस प्रमाणपत्र दिएको छ।
फ्रान्ससँग दौत्य सम्बन्धको ७० वर्ष पुग्यो, दूतावासद्वारा भव्य कार्यक्रमको आयोजना गरिने
काठमाडौं । नेपाल र फ्रान्सबीच द्विपक्षीय सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठका अवसरमा दूतावासले कार्यक्रमको आयोजना गरेको छ । दूतावासका तर्फबाट प्रदान गरिएको जानकारी अनुसार, कार्यक्रममा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको विशेष उपस्थिति रहने छ । यसैगरी फ्रान्सका लागि सदभावना दूत रहेकी मिस नेपाल श्रृंखला खतिवडा समेत कार्यक्रममा सहभागी हुने दूतावासले जनाएको छ । राजधानीमा भोली शनिवार आयोजित कार्यक्रममा सेलिस्ट फ्रयान्क बर्नेडे, बिदुर राजकर्णिकार र सन्तोष भक्त श्रेष्ठको सांगितिक प्रस्तुती रहने छ । फ्रान्सले नेपालको मानवीय विकासमा लामो समयदेखि सहयोग गर्दै आएको छ । दुबै देशबीच २० अप्रिल २०४९ मा सम्बन्ध स्थापना भएको थियो । Photo: alliancefrancaise
उत्साहका साथ सकियो लगानी सम्मेलन
काठमाण्डौं, चैत १७ । आर्थिक समृद्धिको मार्ग चित्र पहिल्याउने लक्ष्यका साथ सरकारले आयोजना गरेको लगानी सम्मेलन उत्साहपूर्णरुपमा सम्पन्न भएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ सङ्कल्प पूरा गर्ने र त्यसका लागि स्वदेशी तथा विदेशी लगानीकर्ता समेत भित्र्याएर एकाध वर्षभित्रै आर्थिक उन्नतिको मार्गमा अगाडि बढ्ने लक्ष्य हासिल गर्न सम्मेलन फलदायी हुन पुगेको छ । सरकारले सम्मेलनका लागि ५० र निजी क्षेत्रका २५ गरी कूल ७७ परियोजनालाई शो केशमा राखेको थियो । सम्मेलनकै क्रममा विभिन्न १५ आयोजनाको समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस्तै १७ वटा परियोजनामा आवेदन परेको छ । त्यसमा यातायात पूर्वाधारतर्फ सात, ऊर्जातर्फ चार, कृषिका तीन, शिक्षा तथा स्वास्थ्यका दुई र ढुवानी पूर्वाधारका एक परियोजनामा लगानीका लागि लगानीकर्ताले इच्छा व्यक्त गरेका छन् । सम्मेलनमा ४० देशका ७३५ प्रतिनिधि सहभागी भएका थिए । यस्तै ३०० विदेशी कम्पनी, ६०० नेपाली सहभागी भएका थिए भने १०० वटा स्वदेशी कम्पनीले सहभागिता जनाएर सम्मेलनलाई एउटा उत्सवका रुपमा सम्पन्न गरेका छन् । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरे । उनले उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपालमा आउने लगानी र प्रतिफलको सुरक्षामा सरकार कटिबद्ध रहेको, कानूनी तथा नीतिगत सुधार गरिएको र खुला हृदयले लगानीकर्तालाई स्वागत गर्न तयार रहेको भन्दै विदेशी तथा स्वदेशी लगानीकर्ताको मन जित्ने प्रयास गरेका थिए । नेपाल लगानीका लागि ‘भर्जिन ल्याण्ड’ भन्दै सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिले लगानीका अवसरको सविस्तार वर्णन गरेका थिए । समापन समारोहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हरेक क्षेत्रमा लगानी जरुरी रहेको र त्यसका लागि सरकारले उपयुक्त वातावरण बनाएको बताउँदै ढुक्क भएर लगानी गर्न आग्रह गरेका थिए। राजनीतिक विषयमा फरकफरक अडान राख्दै आएका राजनीतिक दल, उद्योगी व्यवसायी तथा जानकारले एकै स्वरमा भनेका थिए– नेपालमा लगानी गर्न आउनुस्, हामी उच्च प्रतिफल हुने वातावरण बनाउँछौँ । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा रामशरण महतले उदार अर्थतन्त्रको शुरुआतीसँगै नेपालको निजी क्षेत्रले गरेको प्रगतिको फेहरिस्त मात्रै प्रस्तुत गर्नुभएन, नाफा कमाउन र लगानीको सुरक्षाका लागिसमेत नेपाल आउन आग्रह गर्नुभयो । कोही सत्तापक्ष थिएन, कोही प्रतिपक्ष पनि भएन, सबै नेपाली भएर एकै स्वरमा संसारभरबाट नेपालमा आएका लगानीकर्तालाई सम्बोधन गर्दै भनेका थिए–विकसित देशमा समेत सानातिना समस्या रहन्छ, त्यस्ता समस्यासमेत नेपालमा छैन । भौतिक पूर्वाधार, ऊर्जा, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा ठूलोमात्रामा लगानी जरुरी रहेको भन्दै लगानी बोर्डले आयोजनाको विशेषतासहितको प्रस्तुतिसमेत गरेको थियो । निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसङ्घका प्रतिनिधिले सरकारको भनाइमा नै होस्टेमा हैसै गर्दै खुला हृदयका साथ लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गरेका थिए । लामो राजनीतिक सङ्क्रमणपछि स्थायित्व प्राप्त गरेको नेपालले सहज लगानीका लागि पछिल्लोपटक कानूनमा गरेको सुधार, एकल सेवा केन्द्रमार्फत सेवा दिने प्रणालीको स्थापना, संस्थागत र संरचनागत सुधारले पनि लगानीमैत्री बनेको सन्देश सम्मेलनले दिएको छ । सम्मेलनमा भएका समझदारी शुरुआत मात्रै भएको भन्दै अर्थमन्त्री डा युवराज खतिवडाले केही समयभित्रै सकारात्मक प्रभाव देखिने बताए । नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको सन्देश दिएर नेपालले विश्व रङ्गमञ्चमा बेग्लै पहिचानको सञ्चारसमेत गरेको छ । सम्मेलनमा सहभागीलाई सरकारले प्रदान गरेको न्यानो आथित्वताले पनि उनीहरुलाई आकर्षित गरेको थियो । सर्वोच्च शिखर सगरमाथा र भगवान् गौतम बुद्धको जन्मस्थल नेपाल समृद्धिको यात्रामा रहेको र विश्वका लगानीकर्ताका लागि सुगमस्थल रहेको सन्देशसमेत सम्मेलनले दिएको छ । सम्मेलनकै क्रममा निर्माणमा गइसकेको अरुण तेस्रोमा वित्तीय व्यवस्थापन भएको छ । यस्तै लामो समयदेखि निर्माणमा जान इच्छुक रहेको माथिल्लो त्रिशूलीमा समेत लगानी जुट्ने सुनिश्चितता भएको छ । गैरआवासीय नेपालीसमेत मातृभूमिको विकासका लागि संस्थागतरुपमा लगानी जुटाउन प्रतिबद्ध देखिएका छन् । नेपालमा लामो समयदेखि लगानी गर्दै आएका एशियाली विकास बैंक, विश्व बैंकजस्ता संस्थाले थप लगानी गर्ने प्रतिबद्धता जनाएर सरकारको प्रयासमा सार्थक सहयोग गर्ने वचन दिएका छन् । यसले नेपालको छविसमेत उच्च बनाउन बल पुगेको छ । नेकपा नेतृत्वको वर्तमान सरकारले राजनीतिक विषयलाई भन्दा आर्थिक विकास र समृद्धिलाई केन्द्रमा राखेको, सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबैजसो दलको एउटै प्रतिबद्धता रहेको सन्दर्भमा सम्मेलनले नेपालको हित पहिल्याउने दिशामा सार्थक प्रयास गरेको छ । जस्तोसुकै ढाँचाबाट भए पनि नेपालमा लगानी गर्न आग्रह गर्ने नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्मा, नेपाल लगानीका लागि स्वर्ग जस्तै रहेको बताउने नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणादेखि छलफल शत्रमा सहभागी विज्ञलेसमेत लगानीकर्तालाई विश्वासमा लिन कुनै कसर बाँकी राखेका थिएनन् । सम्मेलनले नेपाल सुगम गन्तव्य हो, चीन र भारतजस्ता उदयमान अर्थतन्त्रको बीचमा रहनुको फाइदा सहजै लिन सक्छ भन्ने स्पष्ट र सोझो सन्देशसमेत प्रवाह गर्न सफल भएको छ । सम्मेलनका क्रममा प्रस्तुत गरिएको हुड्के, तामाङ सेलो, साकेलाले पनि नेपालको विधितालाई झल्काउने प्रयास गरेको थियो । रासस
डाटासेन्टरमा समस्या आएपछि शेयर खरिबिक्री समेत प्रभावित
काठमाडौं, चैत १४ । बुधबार शेयर दलालहरूको भेण्डर कम्पनीको डाटा सेन्टरमा समस्या आएपछि शेयर खरिदबिक्री समेत प्रभावित भएको छ । सेन्टरको फायरवाल तथा राउटरमा समस्या आएपछि बुधबार नेपाल स्टक एक्सचेन्जले साँझ ६ बजेसम्म शेयर कारोबार खुला गर्नुपरेको हो । अनलाइन कारोबार प्रणालीको ब्रोकर ट्रेड म्यानेजमेन्ट सिष्टमको पूर्वाधारमा आएको खराबीका कारण शेयर कारोबार नै रोकिएको थियो । तर, नेप्सेले उक्त समस्या समाधान भएपनि पुनःशेयर कारोबारको समय थप गरेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए । भेण्डर कम्पनीको टीएमएस प्रणालीको राउटर अर्थात फायरवालमा आएको समस्याले लगानीकर्ता सेयर कारोबारबाट वञ्चित हुनुपरेको हो । अनलाइन कारोबार प्रणाली सुरु गर्ने समयमा शेयर दलालहरूलाई डाटा सेन्टर राख्नका लागि भनिएकोमा आफैंले प्रणाली नराखी भेण्डर कम्पनीको सहायता लिइ काम गर्दै आएका छन् । सेन्टरमा आएको समस्याले ब्रोकरहरू अनलाइन प्रणालीमा लगइन हुन सकेनन् । बुधबार नेप्सेको कारोबार प्रणालीमा नभई ब्रोकर कम्पनीको डाटा सेन्टरमा समस्या आएको साउदको भनाइ छ । वैकल्पिक फयरवाल जडान भैसकेपछि कारोबार अवरुद्ध भएको एक घण्टा १० मिनेको समय नियमित समयभन्दा पछि कारोबार गरेको हो । नेप्सेको कारोबार प्रणालीमा नभई डाटा सेन्टरमा समस्या आएको हुनाले बुधबारको कारोबारमा समस्या आएको स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष भरत रानाभाटले बताए ।
एउटै सरकारी स्कुलमा एकै परिवारका ५ जना शिक्षक!
महोत्तरी, चैत ४ । महोत्तरीको सोनमा गाउँपालिका–६ मगरथानास्थित नेवालाल राष्ट्रिय आधारभूत विद्यालय एउटै परिवारका सदस्यले जागिर खाने केन्द्र बनेको छ । विद्यालयका ६ मध्ये पाँच शिक्षक र एक लेखा कर्मचारी एउटै परिवारका सदस्य हुन् । यो विद्यालय स्थानीयस्तरमा ‘पारिवारिक विद्यालय’का नामले चिनिन्छ ।प्रधानाध्यापक सीताशरण यादव स्थायी शिक्षक हुन् । उनकी छोरी संगीता यादव बालविकास कक्षाकी अस्थायी शिक्षिका हुन् । यस्तै, लेखा कर्मचारी अरविन्द यादव सीताशरणका ज्वाइँ हुन् । उनले निजी स्रोतमा जागिर खाएका छन् । अस्थायी शिक्षक वीरेन्द्र यादव र राहत शिक्षक धर्मेन्द्र यादव विद्यालयका तत्कालीन व्यवस्थापन समिति अध्यक्ष विश्वेश्वर यादवका भतिजा हुन् । जब कि प्रअ सीताशरण विश्वेश्वरका फुपूका छोरा हुन् । बालविकासकी अस्थायी शिक्षिका चन्द्रिका यादव धर्मेन्द्रकी श्रीमती हुन् । अर्की राहत शिक्षक सावित्री यादव मात्रै बेग्लै परिवारकी हुन् । तर, प्रअ सीताशरण सबै शिक्षक–शिक्षिकालाई विद्यालय व्यवस्थापन समितिकै निर्णयअनुसार प्रक्रिया पुर्याएरै राखिएको बताउँछन् । विद्यालयको अवस्था दयनीय छ । गाउँपालिकामै सबैभन्दा कमजोर छ यो स्कुल । स्थानीय तहको मातहत आइसकेपछि हामीले शिक्षा कार्यविधि बनायौँ । हाजिर मात्रै गरेर तलब खाने शिक्षकलाई कारबाही गर्न खोज्दा हामीविरुद्ध नै मुद्दा हालिएको छ । शिक्षा कार्यविधिविरुद्ध उनीहरूकै निकटका शम्भु यादवले सर्वोच्च अदालतमा मुद्दा हालेकाले उल्टै महिनामा एकपटक तारेख लिन जानुपरेको छ । ६ शिक्षक रहेको नेवालाल राष्ट्रिय आधारभूत विद्यालयमा पढ्न आउने विद्यार्थीको संख्या मुस्किलले २० पुग्छ । त्यसैले परिवारभित्रैका शिक्षक–शिक्षिका पालैपालो विद्यालय आउँछन् । नियमित २ जना मात्रै शिक्षक आउने गरेको स्थानीय बताउँछन् । प्रअ सीताशरण यादवले विद्यालयको पठनपाठन कमजोर रहेको स्वीकार गरे । ‘विद्यार्थी पढ्नै आउँदैनन् । हाम्रो स्कुलका वरिपरि निजी विद्यालय पनि छन्,’ यादवले भने । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
३७ जिल्लाको प्राथमिक नतिजा सार्वजनिक (नतिजासहित)
काठमाडौं, चैत ३ । शिक्षक सेवा आयोगले आइतबार दिउँसोसम्म कार्यरत अस्थायी शिक्षकको ३७ जिल्लाको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले आइतबार दिउँसोसम्म कुन–कुन जिल्लाको नतिजा सार्वजनिक गरेको छ? हेर्नुस्– सुर्खेतको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ओखलढुंगाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् उदयपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सोलुखुम्बको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सप्तरीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् खोटाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् प्यूठानको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सिरहाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कालिकोटको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बर्दियाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् जुम्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डोल्पाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् मोरङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बाँकेको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् जाजरकोटको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् मुगुको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दैलेखको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् तेह्रथुमको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सुनसरीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् इलामको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् झापाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् संखुवासभाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् भोजपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् धनकुटाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् हुम्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कैलालीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् पाँचथरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् अछामको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ताप्लेजुङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डोटीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बाजुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बझाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दार्चुलाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कञ्चनपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बैतडीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डडेल्धुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
ज्ञानेन्द्रले ४ खेल गुमाउने
काठमाडौं, फागुन २३ । नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले आठौं राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेशस्तरीय छनोट चरणका ४ खेल खेल्न नपाउने भएका छन् । हालै धनगढीमा सकिएको धनगढी प्रिमियर लिग (डीपीएल) का क्रममा ज्ञानेन्द्रले कप्तानी गरेको काठमाडौं गोल्डेन्सले दोस्रो क्वालिफायर खेलमा उपस्थिति नजनाएपछि प्राविधिक समितिले उनलाई कारवाहीस्वरुप ४ खेल निलम्बन गरेपछि प्रदेशस्तरीय छनोट चरणका ४ खेल खेल्न नपाउने भएका हुन् । काठमाडौंले सेमिफाइनल यात्रा तय गरेमा भने उनले फाइनल अथवा तेस्रो स्थानको खेल खेल्न पाउनेछन् । यसै महिना सम्पन्न आईसीसीको नियमअनुसार कुनैपनि टोलीले खेलमा सहभागी हुन नकारेको खण्डमा विपक्षी टोलीलाई विजयी घोषित गरिने र प्राविधिक समितिले कारवाही गर्ने प्रावधान रहेको छ । त्यसैअनुसार मल्ललाई कारवाही गरिएको अम्पायर बुद्धिबहादुर प्रधानले जानकारी दिए । ‘ज्ञानेन्द्रलाई काठमाडौं गोल्डेन्सको कप्तानको हैसियतले ४ खेलको प्रतिबन्ध गर्ने निर्णय गरेका हौं । टोलीको जिम्मेवारी कप्तानले सम्हालेका कारण नियमअनुसार नै उनलाई कारवाही गरिएको हो । यससँगै उनले घरेलु टि–२० मा ४ खेल खेल्न पाउने छैनन् । प्रशिक्षक र व्यवस्थापकको हकमा पनि हामी भविष्यमा कारवाही गर्नेछौं,’ उनले भने । डीपीएलको दोस्रो क्वालिफायरमा काठमाडौं गोल्डेन्सले प्राविधिक समितिले आफ्ना भारतीय खेलाडीलाई बलिङ गर्न प्रतिबन्ध लगाएपछि खेल बहिष्कार गरेको थियो । उक्त निर्णयको विरोधमा टोलीले खेलमा उपस्थिति जनाएन । यससँगै प्राविधिक समितले महेन्द्रनगर युनाइटेडलाई विजयी घोषित गरेको थियो । ज्ञानेन्द्रले ४ खेलको प्रतिबन्ध भोगेसँगै आठौं राष्ट्रिय खेलकुद अन्तर्गत प्रदेश–३ स्तरीय छनोटका ४ खेल गुमाउने भएका छन् । उनले शुक्रबार छनोट अन्तर्गत काठमाडौंबाट खेल्ने तयारीमा रहेका थिए । प्रतिबन्धसँगै उनले छनोटका केहि खेल गुमाउने हाम्रो खेलकुदलाई बताए । काठमाडौंले प्रदेश ३ छनोटको पहिलो खेलमा शुक्रबार नुवाकोटको सामना गर्दैछ । समूह चरणमा काठमाडौंले शनिबार चितवन र आइतबार भक्तपुरको सामना गर्दैछ । प्रतियोगिताको सेमिफाइनल खेलहरु सोमबार र फाइनल तथा तेस्रो मंगलबार हुने तालिका रहेको छ ।
दार्चुलामा जिप दुर्घटना, १ नाबालकसहित ११ जनाको मृत्यु (अपडेट)
दार्चुला, फागुन १८ । सदरमुकाम खलंगाबाट दुहु गाउँपालिका हिकिला गइरहेको जिप दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ । राति करिब ८ बजेतिर दुहु गाउँपालिका ३ राताकाठाभीरमा म १ ज २८० नम्बरको जिप सडकबाट करिब तीन सय मिटर तल खस्दा १ नाबालकसहित ११ जनाको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा एकजना गम्भीर घाइते छन् । सडकबाट तल महाकाली नदी किनारमा खसेको जिपमा चालकसहित १२ जना सवार रहेको खुल्न आएको छ । प्रहरीले घटनास्थलमा ७ जना महिला, तीन पुरुष र एक नावालकको शव फेला पारेको दार्चुलाका निमित्त प्रहरी प्रमुख रविन्द्र कठायतले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय दार्चुला र सीमा सुरक्षा गुल्म दार्चुलाको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटनास्थलबाट गाडी चालक दिपकसिंह धामीको घाइते अवस्थामा उद्दार गरिएको छ । गम्भीर घाइते चालक धामीलाई जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि जिल्ला बाहिर रिफर गरिएको अस्पतालले जनाएको छ । २०७४ वैशाखमा जिल्ला यातायात समितिको बैठकले दार्चुला-तिंकर सडकको राताकाठा भीरमा यातायात सञ्चालनका लागि अनुमति नदिने निर्णय गरेको थियो । दुहु गाउँपालिका ५ गरमोरासम्म यातायात सञ्चालन गर्न र श्रीबगडदेखि तिमुरबाटासम्मको सडक साघुरो र भीर क्षेत्र भएकोले कुनै पनि समयमा दुर्घटना हुन सक्ने भन्दै उक्त बैठकले यातायात सञ्लनमा रोक लगाएको थियो ।
ड्राेन उडाउने सम्बन्धि अाउँदैछ यस्ताे कानुन
काठमाडौंँ, माघ ८ गते । भक्तपुरको ठिमी र ललितपुरको लगनखेलबाट केही दिनअघि प्रहरीले ड्रोन जफत ग¥यो र उडाउने व्यक्ति नियन्त्रणमा परे । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार, पक्राउ व्यक्तिले घरमा लगाइएको पूजाको भिडियो खिच्न सम्वन्धित निकायको स्वीकृति नलिई ड्रोन उडाएको बयान दिए । त्यस्तै लगनखेलमा भने त्यतिकै शोखका लागि छतमा बसेर अरूलाई ड्रोन उडाउन सिकाइरहेको अबस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको थियो । ड्रोन आयात गर्नुभन्दा उडाउन स्वीकृति लिन झन्झटिलो भएकाले आफूखुशी उडाइएको भनाई ती ड्रोन चालकको छ । त्यस्तैं, स्वीकृति नलिइ ड्रोन उडाएको भन्दै सोलुखुम्बुबाट पनि प्रहरीले केही दिनअघि एक विदेशीलाई नियन्त्रणमा लिएको थियो । तर, ती विदेशीले ड्रोन उडाउनका लागि स्वीकृति लिनुपर्छ भन्ने ज्ञान नहुँदा गल्ती भएको स्वीकारेपछि नउडाउने शर्तमा उन्मुक्ति पाए । गृह मन्त्रालयका अनुसार, नेपाली आकासमा ड्रोन उडानसम्वन्धी कार्यविधि झन्झटिलो हुँदा स्वीकृत नलिई आफूखुशी ड्रोन उडाउने समस्या बढ्दै गएको छ । शान्तिसुरक्षाका दृष्टिकोणले संवेदनशील ड्रोन आपराधिक गतिविधिमा प्रयोग हुन सक्ने सम्भावना प्रवल छ । गृहका प्रवक्ता रामकृष्ण सुवेदीले ड्रोनक्यामेराको बढ्दो प्रयोगसँगै उडान कार्यविधि नै परिवर्तन गर्नुपरेको बताउनुहुन्छ । ‘विवाह–ब्रतवन्धदेखि चलचित्रको भिडियो खिच्न ड्रोन क्यामेराको प्रयोग गर्ने गरेको देखियो’ उहाँले भन्नुभयो– उडान कार्यविधि कसिलो र झन्झटिलो हुँदा आफूखुशी उडाउने समस्या बढ्यो । यसरी, आफूखुशी ड्रोन उडाउँदा हवाईस्थल, विशिष्ट ब्यक्तिको शान्तिसुरक्षामा असर पर्नुका साथै सर्वसाधारण समेत त्रास हुने गरेको भनाइ प्रहरीको छ । ड्रोन सजिलैसँग ल्याउन पाउने तर, उडान गर्न गृह मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणदेखि पुरातत्व विभागसम्मको स्वीकृति लिनुपर्ने ब्यवस्था रहेको छ । उक्त कार्यविधि पूरा गर्न कम्तिमा महिना दिन लाग्ने गरेको सेवाग्राही बताउँछन् । सम्पर्क तथा पहुँच भएकाले स्वीकृति नै लिन्छन् नभएकाले आफूखुशी उडाउँछन् । ड्रोन क्यामेराको प्रयोग आफैमा नराम्रो भने होइन, एक सुरक्षा अधिकारीले भन्नुभयो– तर, दुरुपयोग हुनसक्छ । यही समस्यालाई समाधान गर्न ड्रोन उडाउनका लागि स्थानीय निकायबाट नै स्वीकृति पाउने गरी कार्यविधि निर्माण भइरहेको जानकारी गृह प्रवक्ता सुवेदीले दिनुभयो । गृह, सञ्चार तथा सूचना प्रविधि, पर्यटन तथा नागरिक उड्डयन, वातावरण, वन्यजन्तु, राष्ट्रिय निकुञ्ज, पुरातत्व विभाग लगायत सरकारका विभिन्न निकायबाट सिफारिसपत्र ल्याउनुपर्ने हुन्छ । सोही सिफारिस कागजपत्रका आधारमा गृह मन्त्रालयले ड्रोन उडाउन स्वीकृति दिने गर्छ । पुरातात्विक, धार्मिक तथा सांस्कृतिक सम्पदा, राष्ट्रिय निकुन्ज, सुरक्षा निकायका कार्यालय, हवाईस्थल, प्रशासनिक भवन लगायतका स्थानमा ड्रोन उडाउन प्रतिवन्ध गरिएको छ । तर, कतिपयले आफूखुशी सामरिक स्थानमा समेत ड्रोन उडाउने गरेकाले नियन्त्रणमा लिई जफत गर्ने गरिएको हो । गृह मन्त्रालयका अनुसार, ड्रोन उडाउन स्वीकृतिका लागि महिनामा करीब २५ भन्दा बढी निवेदन पर्ने गरेका छन् । कार्यविधि सजिलो बनाइएमा यो सङ्ख्या बढ्न सक्ने भनाइ मन्त्रालयको छ । स्वीकृति लिएर उडाउँदा दुर्घटना नहुन सक्छ, महानगरीय प्रहरी परिसर काठमाडौंँका प्रमुख वसन्त लामा भन्नुहुन्छ–गलत कार्यमा पनि प्रयोग हँुदैन । ड्रोन क्यामेरा भित्र्याउन सामान्यतया ड्रोन चालक अनुमतिपत्र भए पुग्ने गरेको देखिन्छ । सोही अनुमतिपत्रका आधारमा ब्यक्ति तथा संस्थाले विभिन्न प्रयोजनका लागि ड्रोन क्यामेरा भित्र्याउने गरेका छन् । विकसित मुलुकमा ड्रोन क्यामेराको प्रयोग गरी विशिष्ट ब्यक्तिमाथि आक्रमणका साथै सामरिक सम्पदाको तस्वीर लिने, सुरक्षा संरचनामाथि निगरानी राख्ने र चोरीजन्य अपराध बढेसँगै नेपालमा पनि ड्रोनको दुरुपयोग हुन नदिन नयाँ कार्यविधि ल्याउन लागिएको मन्त्रालयले जनाएको छ । -देव कुँवर/गाेरखापत्र
रोल्पाली सेवा समाज मलेसियाको अधिवेशन माघमा हुँदै
उमेश बन्जाडे, क्वालालम्पुर । ‘मातृभूमिका लागि विश्वभरका रोल्पाली गोलबन्द होऔं’ भन्ने मुल नाराका साथ गठित अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज मलेसियाको प्रथम महाधिवेशन आगामी माघमा हुने भएको छ। आउँदो फेब्रुअरी १० अर्थात् माघ २७ गते अधिवेशन क्वालालम्पुरमा आयोजना गर्ने समाजको आइतबार मलेसियामा सम्पन्न बैठकले निर्णय गरेको हो। समाजका मलेसिया शाखा अध्यक्ष राजकुमार बुढा मगरको अध्यक्षता एवं केन्द्रिय उपाध्यक्ष टोपबहादुर पुन मगरको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले बोनम्यारो पिडित रोल्पाका प्रेमबहादुर पुनको उपचार र अवैधानिक रुपले मलेसिया कार्यरत रहेकै बखत मृत्यु भएका रोल्पाकै नरबहादुर पुनको शव नेपाल पठाउँदा लाग्ने सहयोग रकम संकलनका लागि सम्पूर्ण नेपालीमा आह्वान गर्ने निर्णयसमेत गरेको छ । साथै, बैठकले मलेसिया लगायतका मुलुकमा छरिएर रहेका सम्पूर्ण नेपाली मजदुरले भोग्नु परेका समस्याको निराकरणका लागि तत्पर रहन समाजमा आवद्ध सबै सदस्यलाई सचेत समेत गराएको समाजका सचीव अर्जुन घर्ती मगरले जानकारी दिए ।
खुल्ने भयो सृष्टिको रहस्य; नासाको यान पहिलोपल्ट अन्तरिक्ष बाहिर
काठमाडौँ । अमेरिकी अन्तरिक्ष एजेंसी नासाको महत्वाकांक्षी अन्तरिक्ष यान ‘न्यू होराइजन्स’ ब्रह्माण्डको सीमा बाहिर पुगिसकेको बताइएको छ । एक जनवरीका दिन नेपाली समय अनुसार बिहान ११ बजेर १८ मिनेटमा उक्त यानले सौरमंडलको बाहिरी भाग ‘कुइपर बेल्ट’मा स्थित अल्टिमा थुले नामक आकाशीय पिण्डको छेउबाट सकुशल बाहिर निस्केको नसाले बताएको छ । यान उक्त समय पृथ्वीबाट ६.५ अर्ब किलोमिटर टाढा पुगेको र त्यसले पृथ्वीमा रहेको नियन्त्रण कक्षसँग सम्पर्क स्थापित गरेको समेत बताइएको छ । यानले त्यहाबाट केही तस्बिरहरू समेत पठाएको बताइएको छ । न्यु होराइजन्सले अन्तरिक्षको पल्लो कुनाबाट पठाएको रेडियो सन्देश स्पेनको म्याड्रिडमा राखिएका नासाका विशेष एन्टेनाहरूले समातेका थिए । यस रेडियो संदेशलाई अल्टिमाबाट पृथ्वीसम्म पुग्न ६ घण्टा ८ मिनेट लागेको बताइएको छ । संकेत प्राप्त हुनासाथ जोन्स होपकिन्स विश्वविद्यालयको प्रयोगशालामा उत्सव मनाइएको थियो । के हो कुइपर बेल्ट? सौर मंडलमा सूर्यको प्रकाश नगण्य मात्रामा मात्र पुग्ने भागलाई कुइपर बेल्ट भन्ने गरिन्छ । यम ग्रह यसै क्षेत्रमा पर्दछ । यो क्षेत्रमा रहेका आकाशीय पिण्डहरू जमेको अवस्थामा रहेका छन् । यस क्षेत्रमा अर्बौंको सङ्ख्यामा ससाना पिण्डहरू रहेको बताइन्छ । साह्रै कम तापमान रहेको यस क्षेत्रमा सूर्यको प्रकाश नगण्य मात्रामा पुग्ने हुँदा रासायनिक प्रतिक्रिया समेत नगण्य मात्रामै हुने वैज्ञानिकहरू बताउँछन् । वैज्ञानिकहरूका अनुसार यी पिण्डहरूमा रासायनिक अभिक्रिया नभएकाले तत्वहरू आफ्नो मूल रुपमा नै रहेका छन् । यसबाट उनीहरूलाई तत्वहरूको आरम्भिक स्थितिबारे पत्ता लाग्नेछ । अन्तरिक्षमा मह विष्फोट अर्थात बिगब्याङको आकाशीय परिघट्ना हुनु पहिले तत्वहरूको अवस्था केकस्तो थियो भन्ने कुरा त्यहाँ अवस्थित तत्वहरूको अध्ययनबाट थाहा हुनसक्ने वैज्ञानिकहरू बताउँछन् । सृष्टिको रहस्य खुल्ने सम्भावना यस परियोजनासँग जोडिएका भारतीय वैज्ञानिक श्याम भास्करनका अनुसार अल्टिमा थुलेको खोजले सौर्यमण्डलको उत्पत्तिका रहस्य खोल्नेछ । सौर्य मण्डल बाहिर पुगेको यो नै पहिलो अन्तरिक्ष मिसन भएको बताइन्छ । अल्टिमा थूले ल्याटिन भाषाको एउटा उखान हो । यसको अर्थ संसारले थाहा नपाएको कुरा भन्ने हुन्छ । वैज्ञानिकहरूका अनुसार सौर्रीमण्डलका आठ ग्रहहरूभन्दा पर रहेको विराट र अत्यधिक चिसो स्थानमा नै साढे चार अर्ब वर्ष अगाडि सौर्यमण्डल लगायत पृथ्वीको सृष्टि कसरी भयो भन्ने कुराको रहस्य लुकेको छ । यस मिसनले सेप्टेम्बर २०२० मा अर्को तस्बिर पठाउनेछ ।