एभरेष्ट दैनिक

पोखरामा ६ वटा सहकारी पीडितको संयुक्त प्रदर्शन

पोखरा । पोखरामा रहेका ६ वटा सहकारीका बचतकर्ताले वचत फिर्ता र आफूहरुको रकम अपचलन गर्ने सहकारी सञ्चालकलाई कारबाहीको माग गर्दै सडक आन्दोलन सुरु गरेका छन् । पोखराका सूर्यदर्शन, इमेज, शिवशिखर, बलिदानी, मित्रमिलन र विन्दवासिनी सहकारीका पीडित वचतकर्ताले संयुक्त संघर्ष समिति बनाएर सोमबार पोखरामा प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र पोखरा महानगरपालिकामा ज्ञापन पत्र समेत बुझाएका छन् । प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, गृहमन्त्री र सबैजसो दलका शीर्ष नेतालाई भेटेर समस्या सुनाउँदा पनि न्याय पाउन नसकेको भन्दै उनीहरुले एकीकृत आन्दोलन सुरु गरेका हुन् । सहकारी पीडितहरुले  ‘सहकारी ठग विदेशमा चिल्ला गाडीमा सरर, हामी पीडित यहाँ भोक, रोग र प्यासले हरर !’, ‘सहकारी पीडितलाई अझै कति दिन तड्पाउँछस् सरकार ?’ ‘जीबी राई, देवकुमार नेपालीलाई पक्राउ गर’, ‘जीबी राई कहाँ छ, रवि दाइलाई थाहा छ,’ ‘देवकुमार नेपाली कहाँ छ, रवि दाइलाई थाहा छ’, जस्ता नारा लगाउँदै सडकमा निस्किएका छन् । ६ वटा सहकारीबाट मात्र ३ अर्ब रुपैयाँ अपचलन भएको प्रहरीको भनाइ छ । ती सबै सहकारीका सञ्चालक र जिम्मेवार व्यक्तिहरु अधिकांश फरार भएको र उनीहरुलाई राजनीतिक दल र नेताहरुको संरक्षण रहेको पीडितहरुको गुनासो छ । कास्की सहकारी वचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले प्रधानमन्त्री, गृहमन्त्री र प्रमुख दलका शीर्ष नेतालाई आफूहरुको समस्या जानकारी गराउँदा पनि बेवास्ता गरेकाले सामूहिक रुपमा आन्दोलन सुरु गरेको बताए ।